आज अमेरिकामा सजिउनको झोलसँग भात खाइयो । हुन त यो सजिउनसँगको मेरो चिनजान त्यति घनिष्ट छैन । तैपनि कहिलेकाहीँ खाएको सम्झना छ । म सानोमा आमासँग झापा आउँदा आफन्तका बारीको रुखमा तन्द्रयाङ्तुन्द्रुङ लामा लामा सिमीका कोसाजस्ता झुण्डिएका देखेर सोधेकी थिएँ, ‘यो चैँ के हो नि ?’

‘सज्युन हो तिहुन खाने ।’ भुराले पाउने छोटो उत्तर थियो त्यो । त्यतिबेला भुराभुरी दिमागमा स्वाट्ट आउना साथ गइ पनि गयो । नाम नौलो भए पनि राम्रो नै लागेको थियो ।

त्योबेला होचा ठाँउमा फलेका मिठा मिठा फलफूल छाडेर कसले अग्लो रुखको चासो राखोस् ? त्यो पनि हरियो काँचो चिज, तरकारी पहिले कहिल्यै पनि नखाएको र नदेखेको कुराको । तर जसकोमा पनि सानो कोठेबारी, सबै खालका सागसब्जी र फलफूलहरू प्रशस्तै भएको अनि कोठेबारीको बारको रूपमा तिनै सजिउनका बोटहरू हुन्थे ।

जुन घरमा जाँदा पनि त्यही देखिन्थ्यो । एकदिन तान्दा भेटिने ठाँउको एउटा तानेर सानो टुप्पो भाँचेर मुखमा के हालेकी थिएँ जिब्रै पो तर्सियो । अग्लो ठाउँमा झुण्डिएको त्यो तितो र काँचोकचिलो चिजको त के कुरा रह्यो र मिठा नरिवल-मेवा छाडेर । त्यो तरकारी खानेकुरा हो भनेको नै काफी थियो ।

चन्चले भुराभुरी, कहिले कता दुगुर्यो कहिले कता । जता जता फलेका छन् मेवा, अम्बा, लिच्ची,नरिवल सुपारी इत्यादि । जे खाए पनि छुट थियो म पाहुनालाई । कहिले के कहिले के खान दिइरहनुहुन्थ्यो उहाँहरूले पनि । सुपारी चैँ त्यति मिठो लागेन, टर्राे न टर्रो । मेवा भने पहेँलै भएर पाकेको, काँचै पनि छाडिएन । ‘खाओ हए खाओ । भुरामै हो जे पनि मन पर्ने, रुच्ने र पच्ने’ भनेर हौस्याउँथे ठुलाहरू ।

भुराको जात, त्यो पनि पहाडबाट मधेश आएका आफन्तहरूले पनि कति औधि माया गरेका । यो पनि खा भन्ने त्यो पनि खा भन्ने, केही कुरामा छेकथुन थिएन । पहिलो कुरो त त्यहाँको भात-तिहुन नै कति हो मिठो, बास्नादार । पहिलोचोटि कोपीको तरकारी, मधेशका मासको दाल अनि धानका नरम नरम पाहुने भातसँग खान पाउँदा त्यो भाँडै खानुजस्तो लाग्थ्यो । मावलको भात-तिहुन त झन् के हो के ? असाध्यै मिठो । पहाडबाट आएका रुखिएका भुरा, नौलो चिज देख्दा हुरुक्क होइन्थ्यो ।

जहाँ जाँदा पनि त्यो सिमीजस्तो लामो चिज झुण्डिएको देखिन्थ्यो । झोल खानुहुन्छ भनेर सुने पनि खानचाहिँ नपाएको र त्यसको स्वादको कौतुहलता छँदै थियो ।

झापा डुलेर पहाड गएपछि अरु कुराको स्वाद जिब्रोका टाँसिए पनि सजिउन भने आँखामा मात्रै टाँसिएको थियो । पछि निकै हुर्किएर फेरि झापा आएको बेला सालबारी घरमा माइली भाउजूको भान्सामा त्यो पाकेछ ।

‘खोस्टा चपाएर थुक्नुपर्छ । यसको झोल अति राम्रो हुन्छ ।’ भन्दै मोइको सोल्लर र त्यो अलग अलग दिनुभएको थियो । तर यसपालि पनि त्यसको स्वादले जिब्रोलाई तानेन बरु चिरपरिचित सोल्लर नै प्यारो भयो ।

त्यसपछि मज्जाले सजिउन खाने मौका साह्रै परेन । खाइयो होला तर सम्झने गरी खाइएजस्तो लाग्दैन । खासमा त्यसको स्वादले आफूलाई नतानेकैले त होला, स्वाद पनि पाइएन ।

धरावासीजीको सङ्गतमा आएपछि देखेँ, झापाको कोठेबारीमा पनि रोपिएको रहेछ सजिउन । तर त्यसबेला फलेको थिएन । मैले त्यसको बारेमा जिज्ञासा राखेपछि कुराको शिलशिलामा थाहा भयो उहाँलाई त्यो निकै मन पर्ने रहेछ ।

काठमाडाैँमा बिहानीको पैदलयात्रामा भेटिएका सब्जी पसलमा उहाँका आँखाले सजिउन खोज्दथे । भेटी पनि हाल्थे कहिलेकहीँ । केही भन्नुअघि नै बोकी हाल्नुहुन्थ्यो, सुकेकै होस् वा बुढो पुरानो नै किन नहोस् । जत्तिसुकै परोस् मूल्यको पनि मतलब हुँदैनथ्यो । के भएर हो ? अरू तरकारीभन्दा यो महङ्गो नै हुन्थ्यो । तैपनि उहाँको रोजाइलाई म रोकटोक गर्दिनथेँ । दाम पनि महङ्गो मिठो पनि नहुने, मलाई भने बित्थामा पैसा खेर गएजस्तो लाग्थ्यो । गाह्रो गाह्रो मान्दै बोकेर ल्याउथेँ ल्याउन त ! मैले किन्न आनेकाने गरेँ भने नबोलीकन हिँड्नुहुन्थ्यो । एक दुईपटक त्यस्तो भएको थियो ।

सजिउन अरू सब्जीजस्तो प्रशस्त पाइँदैन पनि थियो । त्यसैले तरकारी किन्न जाँदा त्यसको खासै चासो पनि गर्दिनथेँ । आक्कलझुक्कल कहीँ देखिहाले मेरा आँखा त्यहाँ अडिन्थे । म दलाल गर्न लाग्थेँ । उहाँलाई त्यस्तो मन नपर्ने । भन्नुहुन्थ्यो खुरुक्क बोक्नु नि हौ ! एक मुठो सजिउनमा पनि के दलाली गरिरहनु । बोक्न ढिलो गरे नबोलीकन हिँड्नु हुन्थ्यो ।

मैले त्यति गम्भीर रूपमा लिएकै थिइँन उहाँको रोजाइको स्वादलाई । २०७७ सालको हिउँदमा झापा बसाइको क्रममा हामी सधैँ बिहानी पैदलयात्रामा निस्कन्थ्यौँ । तर पैदल यात्रा भन्नुमात्र थियो । घरबाट निस्किएपछि बाटामा भेटिएका इष्टमित्रसँग बोल्दैबोल्दै हिँड्दाहिँड्दै घर आइपुग्दा झण्डै भात खानेबेला टरिसकेको हुन्थ्यो । कहीँ चिया खानै पर्थ्यो र बिहान त्यहीँ बित्थ्यो । कहिले सडकछेउमा पकाइरहेका भक्का, पोलिरहेका मकै खान थाल्थ्यौँ । कहिले भने फुस्रा गफमात्र हुने, भोकले खुट्टै लुलिने । कहिले त पैदलयात्रा गएका हामी ट्याम्पो चढेर आइपुग्थ्यौँ घर । शरीरले गर्न खोजेको व्यायामभन्दा आराम बढ्ता हुन्थ्यो कहिले । मलाई भने पट्यार लाग्थ्यो त्यो हिँडाइसँग । सरासर हिँड्न पाए पो मजा । उभिँदै गफ गर्दै । उल्टै थाकिन्थ्यो । मर्निङ वाक नभई चिया खाने वाकजस्तो लाग्थ्यो ।

एकदिन बिहान घुम्दाघुम्दै कृषि थोकबजार बिर्तामोडतिर पस्यौँ । म आफ्नै सुरमा तरकारीहरू किन्दै थिएँ । उहाँ अलिक परतिर हुनुहुन्थ्यो । मलाई पर्खिरहनुभएको जस्तो लाग्यो । यताको तरकारीहरू बोकेर म उहाँको छेउमा पुगेँ ।

‘खोइ पैसा दिनु त यसको ।’

उहाँका हातमा एउटा प्लाष्टिकको झोला थियो । एकापट्टि छेउ छेउ सुकेका, पहेँलो भैसकेका आधा किलो जति सजिउन झोलामा थियो । त्यो देखेर मनमनै सोच्दै थिएँ – ‘हेर्दै पहेँलो छ फेरि सुकेको पनि छ । लौ त भनौँ भने तासिन पनि मुश्किल छ ।’ मैले अलिक नटेरेको जस्तो लागेछ क्यार उहाँलाई । मैले उहाँका कानमा पुस्फुसाएँ – ‘यो त पहेँलो भैसकेको पो छ त । लानु र ? उता अर्को दोकानमा अलिक ताजा पाउँछ होला, हेराैँला नि !’
पैसा उहाँसँग नभएकाले मलाई पर्खेर बस्नुभएको रहेछ । मैले त्यो, उहाँले लिइसकेको चिजलाई पैसा हाल्न तयार नभएको देखेपछि हातको झोला खत्रक्क त्यही सजिउनको डालीमाथि राखेर फुत्त हिँडिहाल्नु भो । पसले पनि छक्क पर्याे ।

यो अलिक राम्रो छैन लाने नै हो, राम्रै लैजाउला नि मात्र भनेकी थिएँ । लादै नलाने मन त मेरो पनि थिएन ।

उहाँ पछाडि फर्केर पनि हेर्दै नहेरी हिँडेको हिँड्यै गरेपछि म पनि अरु सब्जी केही नकिनी झोला हातमा झुण्ड्याउदै आएँ पछि पछि । उहाँ ढिलै हिँड्ने मान्छे । एकैछिनमा भेटिहालेँ । छेउमा पुगेर हेरेको, अनुहार, कान सबै राता थिए । खुन चुहिएलाजस्ता । मज्जैले रिसाइसक्नुभएको रहेछ । मसमेत घरका अरु सदस्यको पनि नाम लिँदै ठुलठुलो स्वरमा बोल्दै – ‘मैले मन पराएको कुराचाहिँ किन्नु नहुने ! मेरो स्वादको चाहिँ मोल नहुने ? तपाईँहरूले रोजेर पकाएको मात्रै खानु जहिले पनि !’ भन्दै झोक्किनु भो । ‘ऊ पनि त्यसो भन्ने ऊ पनि उसो गर्ने तपाईँ पनि यस्तो गर्ने ! मचाहिँ कहाँ जानु ?’ त्यहाँ दोहोरो बोल्ने अवस्थै थिएन । कोकोसँग कहिले कहिलेदेखिको मनमा तुष थियो सबै पोख्नुभयो । म एक भन्नु न दुई भन्नु भएँ ।

सजिउन त निहुँमात्र भएछ । मनमा त केके रहेछ केके ! ठुला ठुला कुरामात्र गरिरहने मानिसभित्र पनि साना साना कुराहरू बिझिरहेका हुँदा रहेछन् । त्यो दिन मलाई थाहा भयो– हत्तपत्त असन्तोष व्यक्त नगर्ने मानिसभित्र पनि असन्तोषको थुप्रो लागिरहेको हुँदोरहेछ ।

‘म किनिहाल्छु नि । त्यो राम्रो थिएन र पो त ! उः पर कतै पाउला नि त । त्यस्तो पहेँलपुर, तास्नसम्म पनि नमिल्ने भैसकेको थियो । त्यस्तो चिज ल्याएर कसरी खानु ? हामीले मात्र मन पराएर भएन, घरमा अरु पनि छन्, उनीहरूलाई कस्तो लाग्छ ? भरे उनीहरूबाट पनि केही प्रतिक्रिया आउला !’ भनेर सम्झाउन कोसिस गरेँ ।

‘अरुले किन पराउनु पर्यो त ? मन नपरे खाँदैनथे । म खान्थेँ नि त !’ मैले जे भने पनि उहाँ शान्त हुने मुडमा हुनुहुन्नथ्यो । उहाँको यस चिजप्रतिको छुद्दे नबुझेर मैले ठुलो आघात पुर्याएछु जस्तो लागिरह्यो । तैपनि त्योचाहिँ नराम्रो नै भएर नकिनेको कुराको अडानमा भने म छँदै थिएँ ।

बिहान घरबाट निस्किँदा बाटोभरि कत्ति रमाइला गफ गर्दै आएका हामीहरूको अब बोलचाल बन्द भएको थियो, सजिउनको पसलमा आइपुगेपछि ।

बाटाभरि देखेभेटेका पसलमा हेरिरहेँ सजिउन । मनमनमा लागिरहेको थियो–आफूलाई मन नपर्ने भए पनि उहाँले रोजेको चिज किनेको भए भइहाल्थ्यो, मचाहिँ किन जिद्धी भइकी होला ! आफैँसँग रिस उठ्यो । साह्रै नमज्जा लाग्यो । उहाँका जिद्धीसँग मैले जिद्धी गर्न नहुने थियो । जेमा पनि आफ्नै अडानमा चैँ किन रहनुपर्ने नि मलाई पनि ? मनमा अनेक कुरा खेले ।

पहिले पनि कहिलेकाहीँ उहाँले चाहेको कुरा नभए झनक्क रिसाउने गरेको थाहा थियो । ‘सरलाई त यो पो मन पर्ने रहेछ त लानूस् न ।’ भनेर फुक्र्याएर पसलेले हौस्याए उक्सिहाल्ने उहाँको बानी याद आउँथ्यो । उहाँ केटाकेटीजस्तो लाग्थ्यो कहिलेकाहीँ त ।

उहाँ सरासर हिँडिरहनुभएको थियो । म उहाँभन्दा केही पछि हिँडिरहेकी थिएँ । उहाँको हाराहारीमा हिँड्न डर-डर जस्तो पनि लागिरहेको थियो । उहाँ अझै पनि बोल्नुभएको थिएन, रिसाइरहनु भएको थियो सायद ।

सोच्दै थिएँ, त्यो आगोलाई शान्त पार्ने जडीबुटी भनेको सजिउन नै हो । मनले कामना गर्दै थियो– आज यो सजिउन भन्ने चिज लिएरमात्र जान पाइयोस् । अजिङ्गरको आहारा दैवले जुराउँछ भने झैँ हिँड्दाहिँड्दै बाटोको एउटा पसलमा दुई पावाजति सजिउन भेटेँ । त्यो अघिको भन्दा निकै कलिलो र हरियो पनि थियो । त्यो देखेपछि गाडधन नै भेटे जत्तिकै भयो । सोचेँ, जति पैसा परे पनि लान्छु । अनि भएजत्ति सबै जोख्न लगाई पैसा दिएर खुसी हुँदै बोकेँ । म पछिपछि भएकाले मतिर नफर्की हिँडिरहनुभएको उहाँले मैले त्यो किनेको देख्नु पनि भएन । मैले पनि किनेँ भनिनँ ।

घर आइपुग्दा हेर्न लायकका भएका थिए दुबैका अनुहार तनाव र थकानले । यो कुरा घरमा थाहा नपाउन् भन्ने लाग्दै थियो तर खाना पाकिसकेपछि घर भित्रिएकी मैले हातमा सब्जीको झोला बोकेको देखेर बुहारीले भनिन्– ‘यो अहिले पकाउनु पर्दैन र ? पर्खिदा पर्खिदा भोक लागिसक्यो । भात पाकेके ऐले हो त ? कति लामो यात्रा हौ !’

यो सुनेपछि उहाँले पछाडि फर्किएर पुलुक्क मेरो हातको झोला हेर्नुभो तर केही बोल्नुभएन । म मुसुमुसु हाँसेँ ।

एउटा सजिउन भाँच्दै बुहारीले मुख बिगार्दै भनिन्– ‘यो त कस्तो छिप्पेको ! सप्पै हड्डी पसेको पो रछ ।’

यहाँ पनि शब्दहीन भएँ । मनभरि अघि बाटामा घटेका कुरा ह्वारह्वार्ती आए । ऊसँग पोखेर केही थिएन । यत्ति मात्र भनेँ–  ‘उम् त्यस्तै रहेछ ।’

उहाँले आफैँ कुरा उप्काउनु भो– ‘त्यही किन्न पनि दाँतबाट पसिना छुटेका थिए आमाका ।’

कुराको बिर्को खुलेपछि त मैले पनि भन्न करै लाग्यो– ‘यो थोडी छानेर ल्याएको चिज हो र ? यसका लागि कति संघर्ष गर्नु परेको थियो कसलाई थाहा र ?’

खाना खाइसकेर केलाउन बसियो ।

‘राम्रै देखेर ल्याएको त यस्तो छ, झन् त्यो पहिलो नै ल्याएको भा त कस्तो थियो होला !’ मैले बोल्ने बहाना खोजेँ ।

जति समय लगाएर ताछे पनि भरे बेलुका पकाउँदा छेस्काले भने घोचेकै थियो । लौका ,फर्सी, बोडी, सिमीजस्ता सजिला तरकारी खाने मुखलाई छेस्काले घोचिरह्यो । झोलमात्रै खाँदा पनि तितो । खोस्टा दाँतमा पसेर हैरान । हतारमा खाने सब्जी त झन् हुँदै होइन । त्यसको महत्त्व नबुझेकी मलाई त्यो खुर्पाकै बिँड थियो ।

केही किन्न सँगै चाहिँ जानै नहुने अरुबेला पनि । जे सोचेर आएको हो त्यो थपक्क टिप्नु अनि तुरुन्तै हिँडिहाल्नु भन्नुहुन्छ । पसलमा पसेपछि त्यही छेउको चिजले आर्कर्षण गर्ला तर त्यो हेर्न मिल्दैन । अहिले त्यसका लागि आएकै होइन किन हेर्ने ? भनेर रिसाइहाल्नु हुन्छ ।

आज पनि उहाँले नै फ्रेस वर्ल्डमा तरकारी किन्दा अघि कतिबेला सजिउन टिपेर झोलामा हालिसक्नु भएछ । अहिले पनि स्वाद नमानी नमानी त्यसैको झोलसँग भात खाइरहेकी छु । अचेल जहीँ पनि यो सजिउन भन्ने कुरा देख्दा उही दिनको याद आइहाल्छ ।