धर्मशास्त्र भन्छ, जगत् मिथ्या हो । तिम्रा नातागोता, तिम्रो धनसम्पत्ति, तिमीले उपभोग गरेका बस्तु र सेवा-सुविधा, तिम्रा इन्द्रियहरूले यो जगतबाट प्राप्त गर्दै गरेको सुख वा दुख सबै मिथ्या हुन् । तिम्रो शरीर मिथ्या हो । हामी आफैँ र हाम्रो परिवेशका बारेमा हाम्रा इन्द्रियहरूले हामीलाई दिएका सूचनाहरू सबै भ्रम हुन् । सत्यको खेला त यो मानव चोला उठेपछि सुरु हुन्छ भन्छ धर्म शास्त्र । सत्य के हो ? आत्मा । अर्थात्, त्यो जुन देखिँदैन, जसको तौल छैन, जसलाई आगोले पोल्दैन र पानीले भिजाउँदैन, त्यो आत्मा अमर छ र त्यही सत्य हो । खासमा यस्तो कुनै भौतिक गुणरहित चीज भ्रम हुनुपर्ने, र हामीले भोग्दै गरेको परिवेश यथार्थ । तर धर्मशास्त्र भन्छ, तिम्रो स-शरीर यात्रा क्षणभङ्गुर हो । अहिलेको शरीर त्याग गरेपछिको आत्माले अरू शरीरहरू हुँदै गर्ने निरन्तर गर्ने अनन्त यात्रा मात्रै यथार्थ हो । अर्थात्, हामीले ठानेका यथार्थ सबै भ्रम हुन्, र भ्रम ठानेको चीज संसारको एकमात्र यथार्थ हो भन्छ धर्म शास्त्र ।

साँच्चै यथार्थ भनेकै के हो ? हाम्रा वरिपरिका यथार्थहरू के-के हुन् ? धर्मशास्त्रका‌ कुरा छोडेर कोरा भौतिक दृष्टिकोणबाट हेर्दा यी यथार्थहरूलाई मापन गर्न सकिन्छ । एकजना द्रष्टा वा साक्षीको उपस्थिति नरहँदा पनि कुनै चीजबीजहरू अस्तित्वमा रहन्छन् भने ती बस्तु, चीजबीजहरू हाम्रा भौतिक यथार्थहरू हुन् । बस्तुको तौल, आकार, प्रकार, रङ् आदि आयामहरू ती बस्तुका भौतिक यथार्थहरू हुन् । तर यी भौतिक यथार्थहरू र यिनको मापन आफैँले कुनै रोमाञ्च सृजना गर्न सक्दैन । बस्तु एक ग्राम हुनु वा एक हजार केजी हुनु भन्ने कुराले, गोलो, चेप्टो वा अण्डाकार हुने कुराले, रातो, पहेँलो वा हरियो हुने कुराले निरपेक्ष हिसाबमा आफैँमा कुनै रोमाञ्च सृजना गर्दैन । रोमाञ्च सृजना हुन्छ – भावले, कल्पनाले, भ्रमले। हामी सबैलाई थाहा भएकै कुरा हो पहेँलो रङ्गको फूललाई कसैले अत्यन्त सुन्दर देख्न सक्छ कसैले बिलकुल सुन्दरतारहित । त्यही फूलको आकारले कसैलाई अत्यन्तै आकर्षित गर्न सक्छ, अर्कोको निमित्त त्यो आकार आकर्षक नहुन सक्दछ । यथार्थको अस्थिपञ्जरमा हाम्रो भावको आकृतिले ढलान गरेर लिपपोत गरेपछि मात्र हामीले कुनै बस्तुलाई राम्रो- नराम्रो, सुन्दर -असुन्दर भनेर वर्गीकरण गर्दछौँ ।

एकैछिन कोरा भौतिकवादी दृष्टिकोण छोडेर भावप्रधान भएर बिचार गरौँ । भावनाहरू भ्रम हुन् कि यथार्थ ? प्रेम, माया घृणाजस्ता भावनाहरूको वास्तविक अस्तित्व छ ? के यिनलाई मापन गर्न सकिन्छ ? निराशा, आलस्यता, अपुरो, अधुरो हुनुको भाव जसले हाम्रो जीवनयापन र दैनिकीमा ठूलो असर पारेका हुन्छन् , ती भ्रम हुन् कि यथार्थ ? यी यस्ता भावहरू हुन् जसले हामीमा देखाउने असर सामान्यदेखि गम्भीर प्रकृतिसम्मका हुन सक्छन् । मानसिक तनाव र चिन्ताको सम्बन्ध मोटोपना, मुटुरोग, अल्जाइमर रोग, ग्यास्ट्रिक मात्रै नभएर अल्पायु मरण आदि सम्ममा हुन्छ भनिन्छ । मनमा आउने यिनै संवेगहरूले मानिस डिप्रेसनमा जान सक्ने, माइग्रेनको रोगी हुन सक्ने आदि हुन सक्छ । भावहरु सही र सन्तुलित रहून् भनेर डाक्टरहरूले औषधि लेखिदिन्छन् । यस्तो ओखतीमूलोले भावहरूलाई सन्तुलित बनाउने, तनाव र चिन्ताबाट मुक्ति दिने काम समेत गर्दछ । हामीसँग उपलब्ध प्रविधिको सीमितताको कारण मापन गर्न नसकेकै कारणले मानिसको जिन्दगीमा हरदम रहने, असर पुर्याई राख्न्ने, यिनीहरुको अस्तित्व र असरलाई ओखतीमुलोबाट घटबढ समेत गर्न सकिने, यी भावहरुको अस्तित्व अस्विकार गर्न सकिएला ? खासमा जिन्दगीका असन्तुष्टि, अपर्याप्तता, अपूर्णता, लालसा, तृष्णाजस्ता वर्तमानका भावहरु जिन्दगीका यथार्थहरु नमान्न सकिँदैन । निश्चित भावहरु उत्पन्न गर्नको निमित्त दिमागको निश्चित भागमा मात्र सक्रिय हुन्छ र यस्तो सक्रियता एमआरआईबाट मापन गर्न पनि सकिन्छ भनेर वैज्ञानिकहरू भन्छन् । त्यसैले भावहरूलाई कोरा भौतिकवादी दृष्टिबाट कति ग्रामका हुन्छन् तौल गर्न त नसकिएला तर यिनको हाम्रो यथार्थसँग साह्रै नजिकको सम्बन्ध छ ।

के यथार्थ र भ्रम समयसँगै बदलिँदै जान्छ ? यथार्थ र भ्रमको वर्गीकरणमा समय आफैँ चाहिँ कता पर्ला ? समयका तीन मूल भाग हुन् भूत, वर्तमान र भविष्य । भूतकाल कुनै समयको यथार्थ भए पनि वर्तमानको निमित्त सम्झनाको बाकसमा तालाबन्दी गरेर राखिएको भ्रम हो । किनभने त्यहाँसम्मको यात्रा सम्भव हुँदैन, त्यसलाई पुनः अनुभूत गर्न पाइँदैन, त्यसमा बाँच्न सम्भव हुँदैन । त्यसरी नै भविष्यको कल्पना गर्न सक्छौँ, तर बाँच्छौ वर्तमानमा । भविष्यसम्म हामी कहिल्यै पुग्दैनौँ, यो हर समय पछाडि सरिरहन्छ‌ । त्यसैले वर्तमान यथार्थ हो, भविष्य एउटा मृगमरीचिका, एउटा भ्रम । वर्तमान जति नै निरस भए पनि भविष्य भव्य हुने आशा कल्पनाले मात्रै जिन्दगीमा तरङ्ग ल्याउन सक्छ । यसरी नै वर्तमान भव्य बाँच्दै गरेको मानिस नै किन नहोस् भविष्य धराप छ भन्ने आकलन हाम्रो दिमागले गर्यो भने मानिस भव्य वर्तमानमा नै छटपटाउन थाल्छ । मानिस भूतकालको अनुभूति सङ्गालेर थोरै वर्तमानको निमित्त र धेरै भविष्यको निमित्त बाँच्दछ । जिन्दगीको रथ सन्तुष्टि पूर्वक चलाउन भूतकाल जति भव्य बाँचेको भए पनि भविष्यप्रति आशाको झिल्कोसम्म भए पनि देखिनुपर्छ । भविष्यप्रति निराशा छ भने त्यो निराशा भव्य वर्तमानमा नै सङ्क्रमण हुन्छ र वर्तमानमा बाँचेको जिन्दगी नीरस-नीरस र उराठ लाग्दो हुन्छ । वर्तमानलाई भविष्यप्रतिको आशाले चलायमान र ऊर्जाशील बनाउँछ।

त्यसो भए आशा आफैँमा चाहिँ के हो त ? हामी सँगसँगै वर्तमानमै जीवित आशाहरू चाहिँ यथार्थ हुन् त ? आशा भन्नु नै आफूसँग वर्तमानमा उपलब्ध नभएको बस्तु, सेवा, जीवन शैली प्राप्तिको ‌लालसा हो । जस्तै आफ्नो आर्थिक, सामाजिक हैसियत वृद्धि हुने आशा, आजभन्दा भोलिको जीवनस्तर सहज र सुगम हुने आशा, आफ्नै जीवनकलामा समाज परिवर्तन हुने आशा, प्रेम पाउने आशा, कमाउने आशा, सन्तान प्राप्ति गर्ने आशा । यस्ता कैयौँ आशै- आशाको जालोले भरथेग गरिदिएको भएर मात्रै हामी वर्तमानमा सहज भएर बस्न सक्छौँ । यथार्थमा जिन्दगीले हामीले आशा गरेका कुनै चीजहरू नदिन सक्छ । हामी उत्ति नै निर्धन रहन सक्छौँ, जति अहिले छौँ। जिन्दगी वर्तमानमा जस्तै प्रेम बिहिन र नीरस बाँचिरहनु पर्ने हुन सक्छ पुरै बाँचुन्जेलसम्म । पीडा र प्रताडनाको सिलसिला चलिरहन सक्छ, पूरा जिन्दगीभर । एक पुस्तादेखि अर्को पुस्तासम्म । पुस्तौँ पुस्तासम्म । तर आशा यस्तो ऊर्जा हो जसले यी सम्भावित यथार्थहरुप्रति आँखा चिम्लिदिन सिकाउँछ, जिन्दगी सहज र सुगम हुन्छ भन्ने सकारात्मकता देखाइरहन्छ र जिन्दगीको गाडी अगाडि बढाइरहन सघाउँछ । आशा लालसा हो । लालसाले देखाएका बस्तु आफैँ वर्तमानमा उपलब्ध हुँदैनन् र त्यसैले ती बस्तु र जीवन शैली भ्रम हुन् । तर वर्तमानको भौतिक यथार्थसँग असन्तुष्ट भएर वैकल्पिक वर्तमानको कल्पना गरिरहने आशाका त्यान्द्राहरुको अस्तित्व वर्तमान यथार्थसँगै जोडिएको हुन्छ । खासमा आशाका त्यान्द्राहरु यथार्थ र भ्रमलाई जोड्ने सेतुहरु हुन्। यथार्थबाट आशाको सेतु चढ्यो भने जीवन डोर्याउन आवश्यक भ्रमको दुनियाँमा पुगिन्छ । अपूरो, अधुरो वर्तमान आशाका जन्मदाताहरू हुन् । सबै पूर्ण, सबै ठीकठाक र पाउन केही बाँकी नरहेको अवस्थामा आशा पनि बाँकी रहँदैन । र, यस्तो पुर्ण जीवन यथार्थमा एउटा रोमाञ्च बिहीन नीरस र खोक्रो जीवन बन्न पुग्छ जहाँ बाँच्ने मान्छे किन बाँच्दैछ भन्ने थाहा नपाएर निरास हुन थाल्छ। आशाले‌ डोर्याउँदै पुर्याउने मीठो भ्रमको दुनियाँमा पुग्नको निम्ति वर्तमानको कटु यथार्थ जरुरी हुने रहेछ । त्यसैले जिन्दगीका मीठा भ्रमहरूको जननी भोग्दै गरेको यथार्थ रहेछ ।

त्यसैले भावरहित, कल्पनारहित, अति धेरै यथार्थवादी जिन्दगी बाँच्नु पनि एउटा जिन्दगी निरस-निरस खेर फ्याँक्नुजस्तै हो । भ्रमहरू नै सही, केही कल्पनाशीलता रहोस् जिन्दगीमा, केही सृजनशीलता रहोस् । भ्रमहरू खासमा जिन्दगीका मीठासहरू हुन् । जुनकिरी देख्दा त्यो जुनको धुलो कसरी धरतीमा आइपुगेछ भन्ने मीठो कल्पना दिने भ्रमलाई सलाम । ताराको टिलपिल हेरेर जुनकिरीको पिलपिल सम्झाइदिने भ्रमलाई सलाम । छक्कै पर्नु, ताराको टिलपिल तिम्रो आँखासम्म आइपुग्दा चाहिँ किन छल्किन खोजेका हुन् ? ईन्द्रेणी रानी बिहानै घाममा टल्किएको शीतमा कसरी लुकेर बसेकी हुँदी रहिछन् छक्क पार्ने भ्रमलाई सलाम ।