साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मलाई मन परेका १५ नियात्राकृतिहरू

हरेक नियात्राकारको अलग्गै महत्त्व हुन्छ र उनीहरूबाट साझेदारी गरिएको कथात्मक अनुभूतिलाई मूल्याङ्कन गर्न सजिलो पनि हुँदैन । तर पनि यो पंक्तिकार लामो समयदेखि यही विधामा आबद्ध रहेका नाताले आफूलाई मन परेका १५ वटा कृतिका बारेमा छोटो चर्चा गर्ने धृष्टता गरेको छु ।

Chovar Blues Mobile Size

यात्रा आफैँमा एक ‘विश्वविद्यालय’ हो । यसले त जीवनमा कति थोक सिकाउँछ, सिकाउँछ । त्यसैले कुनै पनि नियात्राकारका कृतिलाई कम आँक्न मिल्दैन । कुनैमा साहित्यिक मूल्य बढी हुन्छ भने कुनैमा पाठकलाई नै हल्लाउने अनुभूतिका तीब्रतम् प्रकम्पनहरू, कुनैमा सूचनाको प्राचुर्य हुन्छ भने कुनैमा पथप्रदर्शक बनेर अरूलाई पनि घुम्न प्रेरित गर्न सक्ने क्षमता । त्यही भएर नै हरेक नियात्राकृति महत्त्वपूर्ण हुन्छ— आफैँमा ‘महाविधा’ र ‘महासाहित्य’ भएर रहेको हुन्छ । यसो सम्झेर ल्याउने हो भने नियात्राकारहरूकै कारणले यो संसार जोडिएको देखिन्छ । कोलम्बसको यात्राले अमेरिकाको अवस्थिति पत्तो लगायो भने भास्कोडिगामाले भारतीय उपमहाद्वीपलाई युरोपसँग जोडे । मार्कोपोलोले चीनलाई पश्चिमसँग परिचित गराए भने यात्राकार इब्न बतुता त ईश्वर सरह नै पूजित भए । ह्वेन साङ, फाहियान, कावागुची, टोनी हागन, सिल्भाँ लेभी, जोसेफ तुच्ची आदि यात्रीले त विश्वभरि नै नेपालको सुवास फैलाइदिए । यसरी हेर्दा यात्रा गर्ने र त्यस यात्राका बारेमा कलम चलाउने मान्छेलाई कहिल्यै पनि कम आँक्न मिल्ने देखिँदैन । यात्राले केही न केही त दिएकै हुन्छ ।

नेपाली साहित्यमा पनि ‘नियात्रा’ निकै पुरानो विधा हो । यस विधाको पहिलो कृतिको रूपमा ‘राजा गगनीराजको यात्रा’ लाई मानिएको छ जसको प्रकाशन वर्ष वि.सं. १५५० हो भन्ने अन्वेषक पूर्णप्रकाश नेपाल ‘यात्री’ को ठम्याइ छ । त्यसैले आजका दिनसम्म आइपुग्दाको ५२९ वर्षको नेपाली यात्रासाहित्यको इतिहासमा स्वयं नेपाली यात्रासाहित्यले नै पनि निकै लामो यात्रा पार गरिसकेको अवस्था देख्न पाइन्छ ।

माथि नै भनियो कि हरेक नियात्राकारको अलग्गै महत्त्व हुन्छ र उनीहरूबाट साझेदारी गरिएको कथात्मक अनुभूतिलाई मूल्याङ्कन गर्न सजिलो पनि हुँदैन । तर पनि यो पङ्क्तिकार लामो समयदेखि यही विधामा आबद्ध रहेका नाताले आफूलाई मन परेका १५ वटा कृतिका बारेमा छोटो चर्चा गर्ने धृष्टता गरेको छु । मेरो यो स्मृति–मूल्याङ्कनसँग पाठकवर्गको मन मिल्नै पर्छ भन्ने केही छैन किनकि हरेक पाठक लेखकलाई मूल्याङ्कन गर्न स्वतन्त्र हुन्छ ।

(१) न्युजिलायण्डमा पहिलो नेपाली

शताब्दी वाङ्मय पुरुष श्री सत्यमोहन जोशीज्यू न्यूजिल्याण्ड जानका लागि नेपालबाट उड्नु र न्यूजिल्याण्डका सर एडमण्ड पर्सिभिल हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको आरोहणमा सफलता प्राप्त गर्नु ठ्याक्कै त्यही एक हप्ताको सेरोफेरोमा भएको छ । त्यसैले त्यहाँ पुग्नासाथ लेखकले “नेपाली भनेका यस्तै हुने रहेछन्” भनेर सिङ्गो देशको परिचय प्रस्तुत गर्ने अवसर पाउनु भएको छ । साहित्यिकभन्दा पनि समाजशास्त्रीय र कूटनीतिक मूल्य बढी भएको यो किताबले तत्कालीन शाखा अधिकृत र हालका संस्कृतिविद् जोशीज्यूलाई न्यूजिल्याण्ड पुग्ने र ठाउँ–ठाउँमा सम्मानित हुने पहिलो नेपाली त बनायो नै, त्यसका अतिरिक्त एक अमर नियात्राकार समेत बनाएर छोड्यो । यो भ्रमण २०१० सालमा गरिएको भए पनि लोकेश्वर प्रकाशनबाट २०४९ सालमा मात्र यो किताब छापिएकाले उहाँको नियात्राकार व्यक्तित्वले ढिलो मात्र चर्चा पाएको प्रस्टै छ । जे होस्, हाम्रोजस्तो भूपरिवेष्ठित मुलुकबाट समुद्रपरिवेष्ठित मुलुक न्यूजिल्याण्ड पुग्ने उहाँ पहिलो नेपाली हुनुभयो, एक्लै भए पनि सिङ्गै देशको परिचय दिनुभयो, तेञ्जिङ नै बनेर सम्मान पाउनुभयो र त्यो दूरदेशमा पनि मुलुकको शिर ठाडो पारेर फर्किनु भयो । त्यही भएर म यो किताबलाई जनस्तरको कूटनीतिको पहिलो कोशेढुङ्गो मान्छु र सम्मान गर्छु ।

sagarmani mobile size

(२) बेलाइततिर बरालिँदा

अहिलेका प्रखर विद्वान् डा. तारानाथ शर्मा त्यस बेला झर्रोवादको प्रवक्ता नै हुनुहुन्थ्यो र आफ्नो नाम पनि आफ्नै आन्दोलन अनुरुप नै ‘तानासर्मा’ लेख्नुहुन्थ्यो । त्यही कालमा साझा प्रकाशनले छापी बजारमा ल्याएको र २०२६ सालको मदन पुरस्कार विजेतासमेत बनेको हालसम्मको एक मात्र नियात्राकृति हो— बेलाइततिर बरालिँदा ।
यही कृतिमा सङ्ग्रहीत एउटा यात्रा ‘मेनाइ साँघुको मेला’ रत्नश्री पत्रिकामा छाप्ने प्रयोजनका लागि हुलाकबाट प्राप्त भएपछि उहाँकै बालसखा प्रा. बालकृष्ण पोखरेलले यस किसिमको लेखाइलाई ‘नियात्रा’ नाम दिइएको कुरो भूमिकाबाटै खुल्दछ । त्यसभन्दा पहिले यात्रासंस्मरण, यात्रावृत्तान्त, यात्रानिबन्ध, यात्रावर्णन, यात्रा टिपोट आदि भनिने गरेको नेपाली यात्रासाहित्याले यही कृतिको प्रकाशनपछि ‘नियात्रा’ भन्ने नाम पायो र यो शब्द खूबै चल्यो पनि । अहिले त नियात्रालेखनको बाढी नै आएको छ । आजका ती ‘नियात्रा’ शीर्षकअन्तर्गत छापिएका कृतिहरूमध्ये कति कृति वास्तविक नियात्रा भए, कति यात्राको निस्तो वर्णन मात्र भए, कति यात्राटिपोट मात्र भए र कतिले पाठकलाई केही प्रेरणा दिए वा आफ्नै गुनासो मात्र सुनाए भनेर चिन्तन गर्ने काम स्वयं लेखककै भएकाले अहिले त्यतातिर पनि नजाऊँ । तर नेपाली नियात्रा विधाको धुरी बनेर अहिलेको सारा लेखनलाई आफ्नै वरिपरि घुमाउन सक्नुचाहिँ डा. शर्माको विचित्र खुबी नै हो । उहाँका ‘नमस्ते’ र ‘जमर्काहरू’ नामका निबन्धसङ्ग्रहमा पनि बेजोडका नियात्राहरू रहेका छन् । मलाई मुलुकका दुर्गम ठाउँहरू चहार्ने बनाउनमा यी कृतिहरूको पनि हात रहेको छ भन्न पाउँदा आज पनि मलाई गर्व लाग्छ ।

(३) यात्रा किसिम किसिमका

भुवनहरि सिग्देल गद्य र पद्य दुवै धारमा उत्तिकै सशक्तताका साथ कलम चलाउन सक्ने एक दुर्लभ प्रतिभा हुनुहुन्छ तर नेपाली साहित्यजगतमा उहाँको जति ख्याति फैलिनु पर्ने हो त्यति फैलिन सकेको देखिँदैन । उहाँको अहिलेको अवस्थालाई हेर्दा कुटीमा बसेर साधनारत कुनै योगीजस्तो देखिनु हुन्छ तर जे लेख्नुहुन्छ ती सबै कृति उत्तिकै चर्चित रहेका पाइन्छन् । उहाँको यात्रा किसिम किसिमका (२०६७) पनि यस्तै एक सशक्त नियात्राकृति र जीवन्त सामयिक अभिलेख पनि हो । सिर्जना गुठीद्वारा प्रकाशित यो कृतिलाई समयको अभिलेख किन भनिएको हो भने कालिञ्चोक भगवतीको दर्शन गर्न जाँदा काठेभालुले आफ्नै पिठ्यूँमा बसेर आफ्नै आँखा झिकिदेला कि भनेर डराउनै पर्दैन अब । हेर्नोस् त, समय कहाँबाट कहाँ पुगेछ ?

(४) घामपानीको छापविडो

नेपालको पछाडि परेको भूगोलको चक्कर काटेर अहिलेका विष्णुप्रसाद शर्मा पराजुलीले जस्तै उसैबेला कलम चलाउने नियात्राकार हुन्— देविचन्द्र श्रेष्ठ । हुम्ला बोल्छ मानसरोवरमा (२०३७) का समेत लेखक रहेका श्रेष्ठले यस कृतिमा विकट हुम्ला र अहिलेको कर्णाली प्रदेशका केही स्थानहरूको दुर्लभ चर्चा गर्नुभएको छ । दुर्लभ यस अर्थमा कि रीतिथितिका ती कतिपय कुराहरू अब लोप भइसकेका छन् । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०४५ मा प्रकाशन गरिएको यो किताबले सहरलाई मात्र नेपाल ठान्ने हाम्रो मनोविज्ञानलाई पनि नराम्रोसँग हल्लाएर होसमा ल्याइदिन्छ ।

(५) विदेशको यात्रा स्वदेशको सम्झना

नेपाली यात्रासाहित्यका पाठकको सङ्ख्या बढाउनमा नियात्राकार घनश्याम राजकर्णिकारको ठूलो योगदान रहेको छ र यही योगदानकारी कृतिको नाम हो— विदेशको यात्रा स्वदेशको सम्झना । हुन त विदेश पुगेपछि सबैको मन कल्पिन्छ नै । प्रसिद्ध भनाइ नै छ— विदेशमा पुगेपछि देशको माया बढी लाग्छ । यही सूत्रानुसार आफ्नो लेखनमा देश र विदेशको भरमार तुलनाका प्रयोक्ता हुनुहुन्छ श्री राजकर्णिकार । किताबको नामले नै प्रस्ट भनेको छ कि उहाँ पाइला पाइलामा विदेशमा जे जे देख्नुहुन्छ, नेपालका त्यस्तै त्यस्तै कुरासँग तुलना गरेर पाठकलाई कुरो बुझ्न सजिलो तुल्याइदिनु हुन्छ । सरल, निश्छल र हृदयग्राही लेखनीका कारणले नै साझा प्रकाशनले २०३७ सालमा प्रकाशनमा ल्याएको यो किताब पाठकका बीचमा लोकप्रिय बनेको हो ।

(६) अनौठो मुलुक अनौठा अनुभूति

विकास अर्थशास्त्रीको हैसियतले आफू पपुआ न्यूगिनीमा कार्यरत रहेका बेला देखेका, भोगेका र कतिपय सन्दर्भमा बेहोरेका आत्मगत अनुभूतिको पेटारो हो नियात्राकार चन्द्रप्रसाद भट्टराईको यो कृति । जस्तो नामले भन्छ— त्यस्तै नै अनौठो छ यो किताब पनि । आम पाठकले कल्पनै गर्न नसक्ने गरी मान्छेको मासु खाएका मान्छेसँग लेखकले गरेको साक्षात्कार, केटी पट्याउनका लागि अर्को मान्छेलाई मारेर आफू बहादुर देखिनै पर्ने त्यहाँका विवाहाकांक्षी युवाहरूको संस्कार, ५०० भन्दा बढी भाषा र हरेक टापूमा प्रचलित भाषिक संकेतहरूको भिन्नताको चर्चाले लेखनलाई नै सार्थक पारेको हुनाले उत्कृष्ट प्रकाशनको २०७१ को कोसेलीस्वरूप आएको दुनियाँ बुझ्न सिकाउने यो किताबलाई मैले बिर्सनै नहुने किताबको सूचीमा राखेको हुँ ।

(७) बार वर्षपछि हनिमुन

डा. खगेन्द्रप्रसाद लुँइटेलको नियात्राकार व्यक्तित्व उहाँकै संगठक, भाषिक र प्राज्ञिक व्यक्तित्वले गर्दा पूरै थिचिएको छ र उहाँ आफैँले आफैँलाई पनि उचित न्याय दिन सक्नुभएको छैन भन्ने कुरो उहाँकै ‘चाउरिएको जिन्दगी’ (निबन्धसङ्ग्रह) र यही विवेच्य कृति ‘बार वर्षपछि हनिमुन’ (२०६८) पढ्दा प्रत्येक पाठकले प्रस्टै खुट्याउन सक्ने देखिन्छ । आफ्नै हनिमुन मनाउन त १२ वर्षपछि मात्र समय छुट्याउन सक्ने यी पिएचडीका पनि गुरु रहेका नियात्राकारले मौलिक र स्वतन्त्र सिर्जनाका लागि कति समय छुट्याउन सक्नु हुँदो हो— प्रश्न विचारणीय छ । संसारका अधिकांश देशको फन्को मारिसकेका यी लेखकको नियात्राका नाममा यही एउटा कृति मात्र आफ्नो लालपूर्जामा देखिएको छ । तर पनि पैरवी प्रकाशनले छापेको यो कृति यति सशक्त छ कि यो एउटैले पनि उहाँको नियात्राकार व्यक्तित्वको लिङ्गो ठड्याएको ठड्यायै छ । कृतिमा रहेका दुई भाषा विस्तारक पात्रहरू ‘क’ र ‘ख’ का बारेमा जान्नचाहिँ पाठकले कृतिभित्र प्रवेश गर्नै पर्ने हुन्छ ।

(८) दक्षिणायन

नेपाली नियात्राजगतमा लगातार कृतिहरू थापिरहनु भएकी इल्या भट्टराईका हालसम्म ४ नियात्राकृतिहरू प्रकाशित भएका देखिन्छन् । लफवराको वरिपरि, युरोप नौलो परिवेश, म त साँच्चिकै हराइछु र अहिलेको विवेच्य कृति दक्षिणायन उहाँका पैतालाले लेखेका कृतिहरू हुन् । दक्षिणायनमा मूलतः दक्षिण भारतमा अवस्थित तीर्थस्थलहरू र त्यहाँको सुन्दर प्रकृतिको चित्रण पाइन्छ । भारत भन्नेबित्तिकै हामी आम नेपालीले आफैंलाई घेरेर बसेका पश्चिम बङ्गाल, विहार र उत्तर प्रदेशलाई बुझ्ने गरेका छौँ । तर भारतको दक्षिणी भाग धेरै नै विकसित छ । डिकुरा प्रकाशनले २०७५ सालमा छापेको यो किताबमा झन्नैझन्नै युरोपकै स्तरमा पुगिसकेको भारतको यही दक्षिणी क्षेत्रमा यात्रा गर्दा देखिएका मठ–मन्दिर र अन्य अनौठा कुरालाई सविस्तार वर्णन गरेर अरूको तीर्थयात्रालाई पनि लेखकले सजिलो बनाइदिनु भएको छ ।

(९) हाराबारा 

नेपाली आत्मपरक निबन्ध र नियात्रा विधाका एक सशक्त हस्ताक्षरका रूपमा रहेका युवराज नयाँघरेले अनाम पहाडमा फनफनी, घामको चुम्बन, व्हाइटहाउसको घामपानी, डलरको डायरी, औंला औंलामा अष्ट्रेलिया, याकजी र अहिले चर्चा गर्न लागिएको कृति ‘हाराबारा’ जस्ता ७ नियात्रा कृतिहरूको सिर्जना गरिसक्नुभएको छ । रत्न पुस्तक भण्डारबाट २०७३ सालमा बजारमा ल्याइएको यस कृतिमा स्वदेश भ्रमणका पाठकलाई हाराबारा नै खेलाउने खालका संस्मरणहरू समेटिएका छन् । ३५८ पृष्ठमा फैलिएको स्वदेशभित्रको यो घुमाइमा यति विविधता छ कि पाठकले खुरुखुरु लेखकलाई पछ्याउँदै मात्रै गए पनि एउटा विश्वविद्यालयबाट दीक्षान्त गरेर निस्केको अनुभव हुनेछ ।

(१०) उडेको आकाश डुलेको धर्ती

आफ्नै कमाइले विश्व भ्रमण गर्न सक्ने हैसियत बनाएकी र पर्याप्त यायावारीय चेत पनि भएकी असाध्यै थोरै नेपाली महिलामध्येकी एक स्रष्टा हुनुहुन्छ— गीता खत्री । साहित्यका सबै विधामा कलम चलाएको देखिए तापनि कथा र नियात्रामै उहाँको राम्रो पकड रहेको पाइएको छ । ‘झोखाङदेखि मजाटलानसम्म’ बाट उठ्न सुरू भएको उहाँको नियात्राकारिताले अहिले रत्न पुस्तक भण्डारमार्फत् बजारमा आएको ‘उडेको आकाश डुलेको धर्ती’ (२०७८) सम्मको उडान भरिसकेको छ । गीता खत्रीको लेखनीको विशेषता नै हो— अरूले नदेखेका कुरा र नपुगेका ठाउँहरूमा बढी ध्यान दिनु । यही विशेषताले गर्दा यो कृतिमा पनि पाठकले जापान, बेलायत र अमेरिकाको वर्णन मात्र होइन, ल्याटिन अमेरिकी र अफ्रिकी देशहरूको पनि स्वाद चाख्न पाउछन् । पाठकले बालुवामाथिको बिहे पनि देख्छन्, बाजी पनि जित्छन्, काला अण्डा खाएर पनि फर्कन्छन् र बिजुलीको करेण्ट छोडिएको तारको घेरबारभित्र बसेर हिंस्रक जङ्गली जन्तुको प्राकृतिक लीला पनि हेर्ने अवसर पाउँछन् ।

(११) पर्खालभित्रको राजधानी

प्रत्येक शीर्षकमुनि एउटा राम्रो भनाइ राख्ने र त्यसैको आलोकमा नियात्राको गुम्फनकारितामा रमाउने नियात्राकार हुन्— डा. दामोदर पुडासैनी ‘किशोर’ । नेपाली नियात्राको मन्दिरलाई उहाँले यात्राका प्रेमिल तरंगहरू, नमेटिएका चित्रहरू, मायालु हुम्ला, सिमानाका रङ्ग सिमानाका तरङ्ग, ग्रीष्मको नीलो बतास र यहाँ सूचीकृत गरिएको पर्खालभित्रको राजधानी (२०७३) समेत गरी जम्मा ६ वटा कृतिहरू दिइसकेर अब सातौँ पनि दिने तरखरमा हुनुहुन्छ । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको यो विवेच्य कृतिमा चाहिँ उपल्लो मुस्ताङको कठिन हिम–जीवन, अद्भुत प्राकृतिक बनावट, प्रकृतिकै कलाकारिता र नेपाली पाठकले बुझ्नै पर्ने त्यस क्षेत्रको जीवनचर्यालाई काव्यात्मक भाषामा प्रस्तुत गरिएको छ । लोमान्थाङ अब आन्तरिक पर्यटकको पनि गन्तव्य बन्दै जानुमा लेखक पुडासैनीको पनि थोरै हात रहेको हुनुपर्छ भन्न हिच्किचाउनै पर्दैन ।

(१२) अनुभूतिका छालहरू

यादव खरेलको ‘समुद्रपारि’ (२०३१) र पवन आलोकको ‘युरोपको झझल्को’ (२०६७) लाई जस्तै सम्झनै पर्ने अर्को कृति हो— अनुभूतिका छालहरू (२०६५) र यसका कृतिकार हुन्— कृष्ण प्रसाईं । वि.सं २०६५ मा दुबो प्रकाशनले बजारमा ल्याएको यो कृति नै नियात्राकारको हालसम्मको एक्लो नियात्रासङ्ग्रह हो । साहित्यिक संगठकका रूपमा बढी चिनिने, जेन कविताका उपासक र ‘जरा फाउण्डेसन’ को माध्यमबाट अन्य सामाजिक कार्यमा पनि समर्पित प्रसाईंको मूल व्यक्तित्व भनेकै साहित्यिक संगठक बन्न पुग्यो र उनले नियात्राकारितालाई पटक्कै समय दिन नसकेको कुरो प्रस्टै देखिन्छ । यो विधामा यी लेखकको एउटै मात्र कृति छापिएको भएता पनि यसभित्रै उनको सिङ्गो संसार र बौद्धिकता अटाएको पाइन्छ । खप्तड, तिमीलाई सन्चै छ ? जहाँ लैनो गाई जोतिन्छ, मेरा घरमा हिमाल पस्यो जस्ता अनौठा शीर्षक राखेर नियात्रा बुन्ने प्रसाईं निःसन्देह यस क्षेत्रका एक उम्दा प्रतिभा हुन् । तर प्रसाईजी आफैँ भने कता अल्मलिइरहनु भएको छ भनेर नजिकका पाठकहरूले प्रश्न उठाए भने पनि कुनै नौलो कुरो हुनेछैन ।

(१३) देश देशावर

आफ्नै व्यावसायिक कार्यका लागि संसारको भ्रमण गर्ने र नेपाली पाठकका माझमा त्यसको अनुभव साझेदारी गर्ने लेखनचेत भएका एक सज्जन हस्ताक्षर हुन् जीवा लामिछाने जसले सरसर्ती संसार (२०७३) र देश देशावर (२०७७) जस्ता मूल्यवान् कृतिहरू नेपाली पाठकलाई समर्पित गरिसकेका छन् । सरसर्ती संसारको नामैले आफ्नो कथ्य भनेजस्तै फाइन प्रिन्टले प्रकाशन गरेको यो ‘देश देशावर’ ले पनि विदेश भ्रमणकै कथालाई पाठक–बजारमा पस्केको छ । अफ्रिकाका युद्धग्रस्त देशहरूमा अहिले भइरहेको अकल्पनीय विकासलाई लेखनीको मूल मेसो बनाएर “कङ्काल सम्याएर उभिएको विकास”, “बिर्सन खोजेको इतिहास” जस्ता विकासका मोडेललाई हामीले पनि अपनाउन सके केही हुन्थ्यो कि भन्ने अपेक्षा लेखकबाट गरिएको पाइन्छ । विकास गर्नै चाहने नेतृत्वका लागि त युद्ध स्वयं पनि पूँजी वा स्रोत÷साधनका रूपमा उभिन सक्ने रहेछ भन्ने आँखैले देखेको हाल–खबरले पुस्तक भरिएको छ । लेखक विद्वान छन्, देश–दुनियाँ देखेका छन् र उच्च व्यवस्थापकीय जिम्मेवारीमा पनि छन् । त्यसैले उनका किताब पढेर नेपालका नीति–निर्माताहरूले पनि केही सिक्न जाँगर गरे मुलुकलाई फाइदा नै हुने देखिन्छ । तर यो त नेपाल न हो— काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखानलाई यो किताबसँग जोडेर भन्ने हो भने— “जीवा लेख्दै गर्छन्, हाम्रो असारे विकास हुँदै गर्छ ।”

(१४) उपल्लो थलो

उपल्लो थलो (२०६९) जगदम्बा प्रकाशनबाट प्रकाशित पत्रकार मोहन मैनालीको एक अति नै सुन्दर र संग्रहणीय नियात्रा कृति हो । जसरी उनले ‘माण्ठा डराएको जुग’ लेखेर द्वन्द्वकालीन नेपालको इतिहासलाई साहित्यिक कलेवरमा अभिलिखित गरे, त्यसरी नै उपल्लो थलोमा आम नेपाली यात्रीहरू हत्तपत्त पुग्नै नसक्ने बुढीगण्डकीको प्रस्रवण क्षेत्र, हुम्ला र दार्चुलाका हिमाली भेगको जनजीवनको जीवन्त तस्बिर उतारेका छन् । “साहित्यलाई अलङ्कार चाहिन्छ, तर पत्रकारितालाई अलङ्कार चाहिँदैन, अहङ्कार भए पुग्छ” भन्ने यी शालीन लेखकको विनयशील लेखनलाई पछ्याउँदै जाँदा मुलुकको दुर्गम क्षेत्रको भूगोल, जनजीवन र जिन्दगीको सत्यलाई नजिकैबाट बुझ्न सकिन्छ ।

(१५) घामभन्दा पहिले
नेपाली नियात्रालेखनमा नारी स्रष्टाहरूको उपस्थिति बाक्लिँदै गएको सुखद परिवेशमा सबैभन्दा पछिल्लो समयमा उदाएकी नियात्राकार हुन् भवानी खतिवडा र उनको एक मात्र नियात्राकृति हो— शिखा प्रकाशनले २०७८ मा बजारमा ल्याएको ‘घामभन्दा पहिले’ । जसरी सरिता अर्यालले “भयभित्रको सुन्दरता” खोज्दै ‘मेरो अपहरण’ लेखिन् र प्रतिष्ठित उत्तम–शान्ति पुरस्कारबाट सम्मानित भइन्, त्यसरी नै “प्रकृतिभित्रको सुन्दरता” खोज्ने र ‘साहित्यपोष्ट उत्तम कृति पुरस्कार’ बाट सम्मानित भएकी शब्दशिल्पी हुन्— यी भवानी खतिवडाचाहिँ । छन्दकविको विशिष्ट परिचय बनाइसकेकीले भाषामाथि उनको एकदमै राम्रो पकड छ र यस कृतिभित्रका प्रकृति चित्रणका कुराहरू पढ्दा कुनै सुन्दर ‘प्राकृत पोखरा’ पढिरहेको आभास हुन्छ । हलेसी, मुक्तिनाथ, रारा, दैलेख आदिजस्ता नेपालभित्रकै धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमण गराउने यस कृतिले “पहिले देश अनि बल्ल विदेश” भन्ने आदर्श वाक्यलाई पनि सार्थक पारेको देखिन्छ । पुस्तकको नाम नै कुनै मन्त्रजस्तो राख्न सक्नुबाट पनि स्रष्टाको सिर्जनशील क्षमताको सानो झलक पाउन सकिन्छ ।

प्रतिक्रिया
Loading...