मैले उनको नामको सट्टा अनामिका शब्द प्रयोग किन गरेँ भने म उनको नामोल्लेख गर्न चाहन्न । उनको नाम किटान गर्दा उनका बारेमा नाना थरीका टीकाटिप्पणीहरू हुन सक्छन् । छहराको पानीजस्तो र उज्यालो बिहानीजस्तो उनको चरित्रमा कसैले आक्षेप लगाउन सक्छ । अहिले म सात दशक आसपास आइपुगेको छु र म चार-पाँच दशकपूर्वको स्मृति आलेखन गर्दै छु तर मेरो मनको क्यानभासमा उनको त्यति बेलाकै रूपाकृति अङ्कित छ । यति बेला पनि मेरो मनमा त्यति बेलाकै उनी प्रकट भैरहेकी छिन् । श्रीकृष्ण धर्म सम्प्रदायले श्रीकृष्णको बाल अवतारलाई मात्र आराधना गरेजस्तै म पनि उनको त्यति बेलाकै स्वरूपको स्मरण गरिरहेको छु । उनी मबाट र म उनीबाट अलग भएपछिको उनको जीवनमा हस्तक्षेप गर्न नैतिक बन्धनले निषेध गरेको छ । तपाईँ उत्सुक हुनुहुन्छ भने मेरो जीवन दुःखमय भए पनि उनको जीवन सुखमय भएको अनुमान गर्न सक्नुहुन्छ । मेरो जीवन किन दुःखमय भयो भने एउटा अप्राप्तिलाई प्राप्तिको भ्रममा बाँच्नुपऱ्यो । त्यो भ्रमबाट अझै म अमलेख हुन सकेको छैन ।

रामबाबु घिमिरे

अवगत नै छ – आजपर्यन्त मेरो लेखनको केन्द्र आत्मपरकता रहँदै आएको छ । आत्मपरकता भन्नु नै लेखकीय इमानदारी र पारदर्शिता हो तर आत्मपरकताको पनि सीमा हुँदो रहेछ । त्यो सीमा उल्लङ्घन गर्दा आफ्नो र साङ्केतिक पात्रको बदनामीको डर हुँदो रहेछ ।

म भारतीय लेखिका अमृता प्रितमजस्तो पारदर्शी हुन सकिनँ । म आफू त बदनाम हुन तयार छु तर मेरो अभिव्यक्तिबाट उनको बदनामी होस्  त्यो म किमार्थ चाहन्न किनकि, मेरै निर्णय क्षमताको अभावमा उनी मेरो जीवनबाट अस्ताएकी र अन्त कतै उदाउन पुगेकी हुन् ।

केही नितान्त व्यक्तिगत कुरा लेख्न आफूले आफैँलाई निषेधित गर्नुपर्ने परिस्थिति बन्दो रहेछ । निबन्धको शीर्षक पढ्नु नै भयो – अनामिका जीवनमा आएका कुनै-कुनै पात्र स्थायी रूपमा मनको पिँधमा बस्दा रहेछन् । मन एकाकी भएका बेला उम्रँदै, बढ्दै र झाङ्गिँदै मनैभरि फुल्दा रहेछन् । मैले अनामिका शब्दको सट्टा अरू नै शब्द प्रयोग गर्न सक्थेँ । तपाईँलाई अवगत नै छ – लेखनलाई शाब्दिक खेल पनि भनिन्छ । मैले अनामिका शब्द किन प्रयोग गरेँ भने उनलाई म अमूर्त रूपमा प्रस्तुत गर्न चाहन्छु । मलाई उनका बारेमा लेख्न मन छ तर साङ्केतिक रूपमा । त्यसो त मैले आफ्नै नाम बिर्से पनि उनको नाम बिर्सन सम्भव छैन । म चाहन्छु मेरो लेखमा उनको उपस्थित त होस् तर धूमिल रूपमा । लेख्नु छ तर मुख्य पात्रलाई लुकाउनु पनि छ । आजपर्यन्त मैले उनलाई अन्तर्हृदयमा लुकाएर राखेको छु अव्यक्त रूपमा अभिव्यक्त हुने सामर्थ्य शब्दका माहिर खेलाडीमा हुन सक्छ । रजनीश शब्दका जादुगर हुन् । भगवान् बन्ने लालसा नभएको भए उनी विवादित र दुःखित बन्नुपर्ने थिएन ।

मलाई लाग्छ, अव्यक्त रूपमा अभिव्यक्त हुन खोज्नु दुष्कर कार्य हो  तर पनि म त्यो दुष्कर कार्य गर्न उद्यत भएको छु किनकि मनमा सधैँ स्मृति पीडा बोक्नुभन्दा अभिव्यक्त हुँदा मन केही हल्का हुन्छ होला । अँ, कुनै कुरा स्पष्ट लेख्नुभन्दा छद्म रूपमा लेख्दा भाषाले त्यति साथ दिँदो रहेनछ । मेरो दीर्घकालीन भाषिक साधना यति बेला निरुपाय बनेको छ ।

कुनै युवतीलाई सोझै हेर्नु र नहेरेझैँ गरी हेर्नुको अन्तर तुलनीय बनेको छ । मैले भनिसकेँ , म लेख्न पनि चाहन्छु र नलेख्न पनि यस्तो द्वैध मानसिकताबाट मेरो अभिव्यक्तिले अस्पष्ट हुनुको क्षति बेहोर्नुपर्ने निश्चित छ । यसलाई तपाईँ मौन लेखन पनि भन्न सक्नुहुन्छ । मौनता पनि अभिव्यक्तिको एक प्रकार हो । नबोलेर धेरै कुरा भन्न सकिन्छ । मौन अभिव्यक्तिमा नारीहरू खप्पिस हुन्छन् । मेरो लेखन अस्पष्ट हुनुलाई म यसरी पनि प्रतिवाद गर्न सक्छु कि म पाठकको परिकल्पनाको असीमित सम्भावनालाई सङ्कुचन गर्न चाहन्नँ ।

अहिले म सात दशक आसपास आइपुगेको छु ।  प्रतिस्पर्धीहरूले मलाई बुढो भनी आरोप लगाउन थालेका छन् । भारती प्रशिद्ध चिन्तक  अरबिन्दले भनेका छन् – मानिस त्यो दिनबाट बुढो हुन्छ जुन दिनबाट ऊ भविष्य योजना बनाउन र सक्रिय जीवन बिताउन छोड्छ । अब अर्को घरजम गर्ने योजना नभए पनि मसँग धेरै योजना छन् – जस्तो कि म लेखनको क्षेत्रमा स्थापित हुन खोज्दै छु । अनि तपाईँलाई यो पनि थाहै होला विश्वविख्यात कवि वर्डस्वर्थले असी वर्षको उमेरमा एउटी युवतीलाई सम्बोधन गरी प्रेमपत्र लेखेको थिए । म त यति बेला प्रेमपत्र होइन स्मृतिपत्र लेख्दै छु । स्मृतिपत्रलेखनमा पनि प्रेमभाव हुन्छ; विगतप्रतिको प्रेम । मेरो अतीत भनेको मेरो जीवनी हो । यदि कसैले मेरो जीवनी लेख्दा उक्त प्रसङ्ग छुट्यो भने मेरो जीवनी अधुरो हुनेछ ।

हो, मैले प्रस्तुत निबन्ध लेखनमा अव्यक्त प्रणाली अवलम्बन  गरेको छु । त्यसो गर्नु मैले आफूलाई ढाकछोप गर्नु हो । अर्को कुरा ती पुराना मान्छेहरू यदि कसैलाई हाम्रो जीवनको त्यो अविस्मरणीय प्रसङ्गको अलिकति पनि हेक्का छ भने तिनीहरूले पनि ठम्याउन नसकून् र उनीहरूलाई पनि अनामिका भनेको तिनै परम सुन्दरी यौवना हुन् कि हुन् कि झैँ मात्र लागोस् ।