साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दुई पुस्ताका साँघु कविः भीमदर्शन रोका

धेरै पाठक र साहित्य अनुरागीहरूले भेट्दैनन् स्रष्ट्राहरू उनीहरू जीवितै हुँदा विभिन्न कारणले तर उनीहरू बारेमा जान्ने अभिलाषा भने पाठकवर्गमा जीवितै रहन्छ । नेपाली साहित्यकारहरूका जीवनी र लेखनी बारेमा सहज जानकारी नपाउनु हाम्रो दुर्भाग्य पनि हो र यो क्रम  अझै पनि जारी रहनु अर्को पीडादायी यथार्थ हो । एक महिना अघि मरुभूमिको देशबाट कवि जीवित खड्का मगर भाइले भीमदर्शन रोकाको बारेमा  लेख्न अनुरोध गर्नुभयो मलाई एउटा धटनासँग जोडेर । जीवित भाइ चैत्र २४ गते २०५९मा पशुपतिनाथ परिसरको आर्यघाटमा घुमिरहेको बेला केही साहित्यकारहरूको जमघट देखे, आश्चर्य लागेर सोधपुछ गर्दा भीमदर्शन रोकाको मलामी आएको जानकारी पाए । उनी निकै थकित थिए त्यसबेला । रोका सरको कविताबाट असाध्यै प्रभावित भएका भाइ,  रोका सरको स्थूल शरीरसँग साक्षात्कार गर्न नपाई सरले इहलिला त्याग गरेकोमा मन अमिलो बनाएर घर फर्के।

नेपाल प्रवेश पछि नै महाकवि लक्ष्मीप्रसाद देवकोटा आबध्द भएका नेपाली सांस्कृतिक मण्डल र इन्द्रेणी समूहको सदस्य रहेका भीमदर्शन रोका थोरै कविता लेखेर धेरै योगदान दिने कविमा पर्छन् । विगत केही वर्षदेखिन् भीमदर्शन रोका, शङ्कर लामिछाने र भूपि शेरचनको संयुक्त तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । उनका समकालीन पहिलो पुस्तामा लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम  थिए भने दोस्रो पुस्तमा भूपि र कृष्णभक्त श्रेष्ठ आदि ।

भीमदर्शन रोका

तीस र चालिसको दशकमा सिद्धार्थ बनस्थली स्कुल पढेका अधिकांश विद्यार्थीहरूलाई रोका सरको आकृति प्रष्ट होला तर उनलाई साक्षात्कार गर्न कवि जीवित जस्तै अरू थुप्रैले पाएनन् । रोका सरको बाहिरी बनावटको बारेमा उनको मित्र मूर्धन्य निबन्धकार ( निबन्धसम्राट् सम्बोधन त गर्दिनँ किन भने यस्ले उनको महत्तालाई कम गर्छ जस्तो लाग्छ)  शङ्कर लामिछानेले विम्ब-प्रतिविम्बमा उनको हुबहु चित्रण गरेका छन् । ” ऊ जातले मात्र मगर होइन, अनुहारले पनि, मिजासले पनि (माओत्सेतुङ्सँग खिचेको फोटोमा ऊ ठ्याम्मै भतिजा देखिन्छ।) । उसको अनुहार र त्यतिबेलाको व्यवहारअनुसार उसको हातमा कलमको सट्टा बन्दुक तथा बोलीको सट्टा गोली नै सुहाउने । परम्परागत सिपाही परिवारमा जन्मेर कविता जस्तो कोमल कला अपनाउनु र मास्टर जस्तो पेशाद्वारा जीविका चलाउनु नै उसको जीवनमा ठुलो क्रान्ति हो,” लेख्छन् । इन्द्रेणी पत्रिकाको काव्य-प्रतिष्ठानको ६ सदस्य टोलीमा लामिछानेसँग रोका पनि सदस्य र त्यहीँ भेट भएको थियो लामिछाने र रोकाको।

वि.सं. २०४३ तिर सिद्धार्थ बनस्थलीमा विज्ञान पढाउने शिक्षक सुमन लामाले एक दिन मलाई बिरामी भएका भीमदर्शन रोका सरलाई भेटाउन उनको महाराजगन्जको घरमा लगेको सम्झना आलो नै छ । सर बिरामी भएकाले धेरै भलाकुसारी गर्न त पाइएन यद्यपि पछि उनलाई धेरै पटक भेट्ने अवसर भने मिल्यो तर साहित्यको कुरा भने एकदमै कम भयो । रोका सरको सरल व्यक्तित्वबाट प्रभावित नहुने कमै होलान् । बनस्थलीमा अङ्ग्रेजी पढाउँदा उनका सहकर्मीमा प्रसिद्ध नाटककार तथा कवि मनबहादुर मुखिया पनि थिए । तर बनस्थलीमा पढाउँदा सर निकै थला परिसकेका थिए कारण उनी मस्तिष्कघातबाट थलिएर केही समय बोली नै बन्द भएको एउटा अन्तर्वातामा उनले बताएका छन् ।

भीमदर्शन रोका सरको जीवनमा सबै भन्दा ठुलो पुरस्कार महाकवि देवकोटाले उनको काव्यात्मक शक्तिबारे अङ्ग्रेजीमा लेखेका केही हरफहरू हुन् । महाकवि लेख्छन्ः

Bheem Darshan Roka is essentially an emotional poet of a very high order and writes short lyric flights of Nepali poetry, which both thrill and surprise the reader

He brings in quite a novel and original creation into Nepali.

He is an advocate of humanity and justice, with a moral courage natural to a poet of the genuine type.

भीम दर्शन रोका अनिवार्य रूपमा धेरै नै भावनात्मक कवि हुन् र नेपाली कविताहरूको छोटो गीतको उडानहरू लेख्छन्, जसले  पाठकलाई उत्साह र विस्मय दुवै दिन्छ ।

उनले धेरै नौलो र मौलिक रचनाहरू नेपाली साहित्यजगत्’मा ल्या।

उनी मानवता र न्यायका पक्षधर कवि हुन्, नैतिक साहस भएको जसमा यी कुराहरू स्वभाविकरूपमा आउँछ ।

भीमदर्शन सरलाई चर्चाको शिखरमा पुर्‍यायो  वि.सं. २०१३ सालमा छापिएको रात केवल एक प्रहर बाँकी छ शीर्षक कविताले ।

“रात केवल एक प्रहर बाँकी छ

तीन प्रहरको अन्तिम असर बाँकी छ

पश्चिममा पुगेकी एक्ली चाँदनीलाई

केवल यौटा मेरै भर बाँकी छ

रात केवल एक प्रहर बाँकी छ

कैयौँले यहाँ रातको गीत थालेथे

आफ्ना-आफ्ना ताराहरू बालेथे

तर के रह्यो र अब यहाँ

तिमी छौ, म छु र हाम्रो रहर बाँकी छ

रात केवल एक प्रहर बाँकी छ”

यो कविता प्रकाशित हुनुभन्दा एक अङ्क अगाडि इन्द्रेणीमा (दोस्रो अङ्कमा) कवि रोका कविताको प्रवृत्तको विवेचना गर्दै प्रखर एवं प्रबुद्ध समालोचक ईश्वर बराल लेख्छन्, “भीमदर्शन रोका उर्दूको खानीबाट जुहार लिएर नेपाली काव्याकाशमा झल्किन भएको छ । उहाँका कवितामा अचारको चटक्कता छ । उहाँका कवितामा एक झुल्का हुन्छ , एक उफ्राइ । त्यसैले उहाँका कविता छरिता र साना हुन्छन् । रोका विशेषतः बोलिचालिको भाषामा लेख्नु हुन्छ । यस प्रकार उहाँ फूलको मुस्काइमा तरबारको चोट दिनुहुन्छ । उँहाका कवितामा विशेषतः प्रेमील भावनाको सरसता पाइन्छ । भीमदर्शन एउटा खास किसिमको मस्ती तथा भाषाको खानी लिएर आउनुभएको छ ।” जुन बेलामा कवि रोकाले नेपाली कवितामा उर्दू र हिन्दी भाषाको प्रयोग शुरु गरे वि.सं. २०१३ सालतिर त्यही समय नेपाली भाषामा शुद्धता हुनपर्छ भन्दै तारानाथ शर्मा, वल्लभमणि दाहाल, चुडामणि रेग्मी लगायतले वनारसमा झर्रोवाद आन्दोलन शुरु गर्दै थिए ।

काठमाण्डौमा जन्म, भारतको धर्मशालामा हुर्के, अध्ययन पूरा गरे अनि नेपाल प्रवेश गरे । यस प्रसङ्गलाई निबन्धकार शङ्कर लामिछाने अति मजाका साथ लेख्छन् ‘भाक्सू धर्मशालामा हुर्केका तरुण प्रवासी नेपाली भीमदर्शन रोकालाई नेपाल आउने ढोका खुल्छ २००८ सालको विद्यार्थी सम्मेलनद्वारा । प्रतिनिधिका रूपमा उनको आगमन हुन्छ र काठमाण्डौले उनलाई यति मोहित पार्छ कि उनी फर्केर जादैनन्, बरु चार वर्षभित्र नै नेपालको प्रतिनिधित्व गर्न विदेश पो पुग्छन् ।”

कवि रोकाले आफूलाई कवि कहिल्यै ठानेनन्, त्यसैले होला उनले कविता सङ्ग्रह निकाल्ने जमर्को पनि कहिले गरेनन् । लेखक शिव रेग्मीको पहलकदमीमा साझाबाट वि.स. २०५६ सालमा प्रकाशित हुन्छ, घाम डुबी तारा नउँदाको आकाश हुँ म । कैयन् पटक शिव रेग्मीले अनुरोध गर्दा पनि छाप्न अनुमति नदिएपछि सरको धर्मपत्नी मीना रोकाको पहलमा यो प्रकाशित भयो । गरिमामा प्रकाशित एउटा लेखमा रेग्मी लेख्नछन्, “नेपाली साहित्यमा मुक्तक कविताको प्रथम प्रयोक्ता कवि भीमदर्शन रोकाका कविता सुरुमा हिन्दी र उर्दुका शब्दहरूका बाहुल्यता भएका ‘शायरी’ जस्ता लागि पनि पछिपछिका कवितामा सरल र सरस ठेट नेपाली शब्दहरू प्रयोग भएका पाइन्छन् । यो कवितासङ्ग्रहको शीर्षक भने एक्लै एक्लै उदास उदास छु म शीर्षक कविताको दोस्रो पङ्क्तिबाट लिएको हो ।

एक्लै एक्लै उदास उदास छु म

घाम डुबी तारा नउँदाएको आकाश हुँ म

हिजो जहाँ आई बसेथिन् तिनी

त्यही उजडिसकेको बास हुँ म

एक्लै एक्लै उदास उदास छु म ।

कोही नदी किनार हुँ म

सधैँ पर्खिरहने प्यार हुँ म

कतैदेखि टाढा भए पनि

कतैदेखि बिल्कुल पास छु म

एक्लै एक्लै उदास उदास छु म ।

रोका सरको कविता सरल र सरस हुन्छ, उनको मित्र कवि भूपि शेरचनको जस्तै सललल बग्ने दुरुहरहित छ कविता तर अर्का मित्र शङ्कर लामिछानेको जस्तो जटिल शैलीको निबन्धभन्दा फरक । रोका सरको जीवन शैली पनि सामान्य र सरल; कहिले मदिरापान नगर्ने, कहिलेकाहीँ हिँडेरै महाराजगन्जदेखि बालाजु बनस्थली आउने खोल्चाङखोल्चाङ गर्दै ।  सन् सत्तरीको दशकको सुरुमा नै रोगको कारणले केही समय सर आवाज बिहिन भए । सायद ‘मेरो आवाज’ शीर्षकको कविता त्यही बखत लेखेको हुनपर्छ जो कुनै पत्रिकामा छापिएको थिएन तर पछि उनको कवितासङ्ग्रहमा देखा परे ।

धेरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ

तिमी ध्यानले सुनिरहनू

त्यसमा मेरो पनि आवाज हुनेछ

फेरि झन् झन् ठूलो हुँदै जानेछ ।

आकार यसको, सूर्यमण्डलजस्तो

घामवरिपरि सभा लागेजस्तो

राती भए चन्द्रसभा

बसिरहेका तारैतारा

चक्रैचक्र

सफा शुभ

बाहिर भित्र

सप्ताहहरुमा सहिद सप्ताह

महिनाहरुमा माघ, फागुन

क्रान्तिको रङ्गरोगन

क्रान्तिको चिर आयु, आगमन ध्वनि

चिरपरिचित

मुटु ध्वनि

धातु बजेजस्तो

चोटमा चोट थपिँदा पनि

टन्न आवाज मिलेको

टन्टलापुर घाम मानौँ मध्यान्हमा बजिरहेको

बन्दै आयो टाढा टाढासम्म

दिशा एकै

लागिरह्यो युगौँयुगसम्म

नसा एकै

दुवै हात फैलाएर

तीनै सप्तक छोएर

स्वर सागरहरुको सङ्गम

ल्याइरहेको परिवर्तन

लाखौँलाखको बीचमा

मेरो आवाज छुट्टिएन भने

चिन्न पनि सकेनौ भने

खुसी हुनेछु, मिलिसकेको रहेछु

अब पीर रहेन, धेरै पर छैन

पुगिसकेछु एउटा निश्चयमा

पाकिसकेछु, झर्ने झर्ने बेलामा ।

भीमदर्शन रोका कृतिकारको रुपमा एउटै कवितासङ्ग्रह मात्र छ, त्यो पनि देवासानको केही वर्ष अघि प्रकाशित । तर रोका सरको कविताहरु अधिकांश नेपाली कवितासङ्ग्रहहरुमा समाहित छन् । साझा कवितामा उनको दुईवटा कविता समावेश छन् । उनको कविता प्रवृतिबारेमा साझा कविताका सम्पादक चुडामणि बन्धु लेख्छन्, “भीमदर्शन रोकाले नेपाली कवितालाई थोरै मात्र दिएका छन्, तापनि तिनैबाट उनको योगदान महत्त्वपूर्ण मानिएको छ । रोकाका छोटा कविताहरुमा स्वच्छन्दतावादी अनूभुतिहरु व्यक्त भएका छन् । ‘बाउँदो खाडी’, मेरो देश’, ‘परिचय,’  ‘को आँ‍उछ मेरो गीत खोस्न’ आदि कवितामा यिनै कुरा अत्यन्त सरल र आकर्षक ढङमा व्यक्त भएका छन् ।”

घाम डुबी तारा नउदाएको आकाश हुँ म कवितासङ्ग्रहको भूमिकामा समालोचक प्रा. डा. मोहन हिमांशु थापाले कवि भीमदर्शनको कविता सृजनाको कालखण्ड छुटाएको छ। उनी लेख्छन्, “कवि भीमदर्शन रोकाले २००७ सालपछिको नेपाली कविताविधामा प्रवेश गरेका छन् । उनको काव्ययात्रालाई दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो चरण २०१० देखि सुरू भएर २०१३ मा अन्त्य हुन्छ । यस समयावधिमा उनका कविताहरु ‘प्रगति’, ‘शारदा’ र ‘इन्द्रणी’ मा प्रकाशित भएका छन् । दोेस्रो २०२२ देखि २०४५ सम्मको समयावधि हो । यतिखेर उनका कविताहरु ‘रुपरेखा’, ‘कविता’ र ‘गरिमा’ मा प्रकाशित भएका हुन् । उनका तीनवटा अप्रकाशित कविताको रचनासमय २०४४ र २०४५ लाई मानिएको छ ।”

इन्द्रेणीको दोस्रो अङ्कमा छापिएको भीमदर्शन रोकाको ‘को आउँछ मेरो गीत खोस्न ?’  मलाई मन पर्ने कवितामध्येमा एक हो । उनको सुरुको कवितामा देखिएको लयात्मकता र हिन्दी-उर्दू मिश्रित शब्दहरु पछिका कवितामा कमै पाँउछौँ । मुक्तक शैलीमा लेखिएका कविताहरुमा एक किसिमको कर्णप्रिय धुन पाउछौँ, उनले बजाउने गरेको बाँसुरी जस्तै ।

को आउँछ मेरो गीत खोस्न ?

एक्लै सफरमा मेरो मीत खोस्न,

सीमा नै टपिसकेको छु मैले,

को आउँछ मेरो जीत खोस्न ?

को आउँछ मेरो गीत खोस्न ?

एक्लै सफरमा मेरो मीत खोस्न ।

वर्तमान तिम्रो छ,

भविष्य मेरो होला,

को आउँछ मेरो अतीत खोस्न ?

को आउँछ मेरो गीत खोस्न ?

एक्लै सफरमा मेरो मीत खोस्न ।

प्यार नै मेरो आरम्भ थियो,

प्यार नै मेरो अन्त होला,

को आउँछ मेरा प्रीत खोस्न,

को आउँछ मेरो गीत खोस्न ?

एक्लै सफरमा मेरो मीत खोस्न ।

प्रगतिमा वि.स. २०१० मा प्रकाशित उक्त कवितामा हिन्दी र उर्दूको प्रभाव प्रशस्त देखिन्छ । अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएकोले उनले अङ्ग्रेजी भाषाको अध्यायपन मात्रै गरेनन्, अपितु केही कविताहरु अङ्ग्रेजीमा अनुवाद गरेको जानकारी पाउछौँ । उनका विद्यार्थीहरु रोका सरले देवकोटासँगको भेट र भलाकुसारीको प्रसङ्गहरु सुनाउने गरेको कुराहरु चर्चा गर्छन् । सरको स्वस्थस्थिति ठीक नहुँदै उनको केही कविताहरुलाई गीतमा ढालेर लोचन भट्टराईले गाउनुभएको छ र एउटा गीति एल्बम बनेको छ- तारा नउदाएको आकाश

भीमदर्शन सरको कवितामा एक किसिमको चन्चलता छ, त्यो अरु कविहरुमा कमै पाइन्छ । शब्दमा निखरता, विषयवस्तु प्रवेशमा आत्मीयता र पढ्नमा लयत्मकता उनको विशेषता हो कविता लेखनमा । उनले शब्दलाई खेलाउँछन्, भावलाई नचाउँछन् । उनमा न मोहन कोइरालाको दुरुहता छ न छिन्नलताको जस्तो सरलता छ । उनी मध्यममार्गी कविको रुप उभिए नेपाली साहित्यमा ।

वि.स. १९८६ मा काठमाडौंको कालधारामा जन्मेर, भारतको धर्मशालामा शिक्षादीक्षा ग्रहण गरेर वि.स. २००८ मा नेपाल प्रवेश गर्दा नेपालको साहित्यिक वातावरण निकै उर्वारा थियो। देवकोटा, सम, रिमाल, लेखनाथको कवितामा एकछत्र राज थियो भने विश्वेश्वर, भिक्षु, गोठाले, पुस्कर शमसेर, गुरुप्रसाद मैनाली आदिले काथ र उपन्यासमा ख्याती कमाइसकेका थिए । शङ्कर लामिछाने निबन्ध लेखनमा बामे सर्दै थिए भने ह्रदयचन्द्रसिंह प्रधान स्थापित प्रायः बनिसकेका थिए । नाटकमा भने सम र रिमालबाहेक भीमनिधि तिवारीको हालीमुहाली थियो । समालोचनामा रामकृष्ण शर्मा, इश्वर बराल र यदुनाथ खनाल निकै अघि थिए । यस्तो वातावारणमा उदय भयो कवि भीमदर्शन रोकाकाे,  नँया जोश र जागर लिएर ।

हुन त नेपाली साहित्यका साहित्यकारहरुमा हिन्दी साहित्यको प्रभाव भएको आरोप पहिले पनि नआएको होइन तर भीमदर्शन सरको कवितामा उर्दू र हिन्दी साहित्यभन्दा पनि भाषाको प्रभाव प्रष्ट देखिन्छ । रोका सरको कविता सरल भए पनि जीवन दर्शन पाउछौ, रुमानी प्रेम पाउछौ, लयात्मता पाउछौ।

भीमदर्शन रोकाले अन्तर्वाता कमैलाई दिएको छन् तर कवि एवं नाटककार अशेष मल्ललाई दिएको अन्तर्वार्ता विशेष छ जुन गरिमामा छापिएको थियो । त्यस अन्तर्वातामा रोका सरको विभिन्न पक्ष उजागर भएको छन् । कविता लेखन कसरी सुरु भयो भन्ने प्रश्नमा रोका सर भन्छन्, “कविता लेखेका दिनहरू सम्झँदा त्यत्तिबेला मेरा थुप्रै हातहरू थिए भन्ने सम्झन्छु । अब त ती हातहरू घट्दै घट्दै भातदाल खाने हातमै ‘सीमित’ भएको छ । विद्यार्थी जीवनमा म भारततिर थिएँ, पन्ध्र वर्षमा छँदा पहिलो कविता उर्दूमा लेखेको थिएँ । नेपालमा आएपछि त मलाई पहाडहरूले छुन थाले, नदीले छुन थाले, मैले कविता लेख्नुका प्रेरणाहरू यी नै हुन् । मृत्यु, लास आदि–आदि कुराले मलाई कहिल्यै छोएन । पहाडको एक चोक्टा पहिरो जाँदा त्यही चोक्टा देखेर एउटा कविता जन्म्यो, यहाँका हर सौन्दर्यहरू कविताका लागि विषयहरू बन्दै गएका थिए । आठ सालतिर काठमाडौँमा एउटा ठूलो कवि सम्मेलन भएको थियो । त्यहाँ देवकोटाले पनि कविता सुनाएका थिए, त्यो कविताले मलाई ज्यादै छोएछ, पछि देवकोटाजी मलाई भेट्न म बसेको कमल होटलमा आए, कविताहरू सुनाए, म प्रभावित हुँदै गएँ, मेरो कविता लेखनले सुरूवात यसरी हुँदै गयो ।

मैले धेरै लेखेको छैन तर मलाई के कुरामा गर्व छ भने नेपाली साहित्यका महान्–महान् प्रतिभाहरूसँग मैले नजिकको सम्बन्ध गाँस्न सकेँ । देवकोटा, राम, चित्तधर, शङ्कर लामिछाने, भूपी आदि आदि … । अहिले पनि सम्झन्छु, चित्तधर बाटोमा भेट्दा लठ्ठी उजाएर ‘कविता किन लेख्न छाडिस् ? लेख् । लेख्छस् कि लेख्दैनस् ?’ भन्थे । लेख्छु भनेपछि मात्र छुट्कारा पाउँदथेँ । एक दिन चित्तधरले भनेका कुरा अहिले जस्तो लाग्छ– ‘तँ जस्तो लेख्न जान्ने भए कति लेख्थेँ लेख्थेँ; म त केवल भाषाको सेवा गरिरहेछु … ।’ त्यस दिन उनले मलाई ‘नेवारीमा पनि लेख्न सुरू गर्’ भने । मैले नेवारी आउँदैन भनेँ । त्यसो के भनेको थिएँ ‘भोलिदेखि बिहान बिहान आइज्, म नेवारी भाषा सिकाइदिन्छु’ भने तर म गइनँ ।”

सुप्रसिद्ध नृत्यकार एवं नाट्यकर्मी भैरवबहादुर थापाले निकै लामो सङ्गत गरेका पात्र हुन् भीमदर्शन रोका । जेठ २०, २०११ मा भैरव नृत्य दलको उद्धाटनमा रोका सरलाई भेटे उल्लेख गर्छन् आफ्नो पुस्तक समर्पणमा । १९ पृष्ट लामो लेखमा भैरवबहादुर थापा र रोका सर कुस्ती खेलेकोदेखि सँगै चीन भ्रमण गएको, चीनमा रोका सरले पढेको कविताको पूर्णपाठ पनि उल्लेख गरेको छ ।

डुङ्गा राखे जलमा तिमीले

हातको पतवार दिउँला ।

उत्थान—पतनको माझमा

तूफानको किनार दिउँला ।

डुङ्गा अढ्यो भने कतै

लहरको पर्दा उघार दिउँला ।

दाउ हान्न नै आए मसँग

आफ्नो सबकुछ हार दिउँला ।

यो कविताको अङ्ग्रेजी अनुवाद सुनाएको थिए रोका सरले जसको अनुवाद लक्ष्मीप्रसाद देवकोटा र रोका सर मिलेर गरेको थियो । बालचन्द्र शर्मा र रोका सर क्षेत्रपाटीमा एउटै घरमा डेरामा बस्ने गरेको थापाज्यू लेख्नुहुन्छ र त्यही चिनजानले गर्दा शर्मा शिक्षामन्त्री हुँदा सरकारी सांस्कृतिक टोलीमा रोका सर चीन गएको थियो । तर पछि शर्मा राजकीय प्रज्ञा-प्रतिष्ठानको उपकुलपति हुँदा देवकोटालाई उपकुलपति नबनाएको झोँकमा रोका प्रज्ञाको सदस्य बन्न अस्वीकर गरेको जानकरी दिनु भएको छ । यो लेखले रोका सरको अरुले नदेखेको पाटो बुझ्न निकै सहयोग गर्छ ।

भीमदर्शन सरको योगदानलाई चीरस्मरण गर्नको निम्ति सिद्धार्थ बनस्थलीका  वि.स. २०४० मा एस.एल.सी दिएका विद्यार्थीहरूले वि.स. २०६१ मा भीमदर्शन रोका स्मृतिकोष जयदेवकृष्ण श्रेष्टको अध्यक्षता गठन गरे र योग्य शिक्षकहरुलाई पुरस्कृत गर्न थाले । यो कार्यले सरले शिक्षामा दिएको लामो योगदानको कदर गरेको छ । जय देवकृष्णको पहलमा भीमदर्शन रोका सरबारेमा लेखिएको लेख रचना र सर दिएको अन्तर्वार्ताको सङ्कलन कार्य पनि गरिरहेको जानकारी पाएको छु । सरलाई सम्झने योभन्दा उत्तम माध्यम के हुन सक्छ अरू ?

प्रतिक्रिया
Loading...