हरिशरण काका पेसाले सरकारी शिक्षक हुन् । उनी सबका प्रिय छन् । फरासिलाे स्वभावका उनी जस्तासुकै कुरालाई सटिक पार्न र जस्तासुकै निरस मान्छेलाई पनि रसिक पार्न माहिर मानिन्छन् । उनका धेरै उदृतयोग्य कथनहरुमध्ये ”बुझ्यौ, जीवनको मूल उद्देश्य भनेकै चित्रगुप्तको डाटाबेसमा आफू हाई प्रोफाइलमा पर्नुपर्छ, ता कि स्वर्गमा पनि प्रथम श्रेणीको रेसोर्टकै टिकट मिलोस्’’ भन्ने सिग्नेचर कथन सबैको मनको फाेल्डरमा हुन्छ नै ।

“पूँजीवाद देश पनि विकसित, कम्युनिष्ट देश पनि विकसित, लोकतान्त्रिक देश पनि विकसित, राजा भका देश पनि विकसित छन् भने लौ अब भन्नुस्, विकास भन्या शासन गुना हुँदो रैछ कि अनुशासन गुना ?” भन्ने उनको तर्कबाट तर्किन राजनीतिका जस्तासुकै “मैँ हुँ” भन्नेलाई पनि हम्मेहम्मे नै छ । मसलादार माहौलका सर्जक उनीसँग पाँच मिनेट भेट्नु भनेको आफ्नो मन-मष्तिस्कको  शतप्रतिशत ब्याट्री चार्ज गर्नुसरह हुन्छ । सामाजिक तुलोमा हरिशरण काका एकातिर बाँकी सबै अर्कोतिर जस्तै छ ।

डा. सुवास प्याकुरेल

सुत्दा के गर्लिन्, नत्र हरबखत गगल्समा ठाटिएकी हुने जमुना काकी भने लाइफस्टाइलकी पारखी छिन् । नारी उत्थान समूह, सशक्त महिला आवाज र यस्तै यस्तै के के नामको संस्थाकी हर्ताकर्ता हुन् उनी । नारी शब्दको खेतमा कुरै कुराको मलजल गरेर उनको एनजिओले राम्रै खेतीपाती गर्ने गर्दछ । सायद काकी कार्यकर्ता नभएको पार्टी नेपालमा छैन नै होला । यता ड्रेसको रङ पनि फेरिरहन्छिन् भने उता छेपारोवाद पछ्याउँदै राजनैतिक रङ पनि फेरिरहन्छिन् । गाउँमा छँदा गोडाको यात्रा र गाडाको यात्रा गर्ने उनी अहिले आफ्नै गाडीमा यात्रा गर्न सक्नुलाई सफलताको सूचक मान्दै रोल मोडल मान्छिन् आफूले आफैँलाई । कहिलेकाहीँ त लाग्छ, खेलाडीले बललाई औँलामा घुमाए झैँ उनी आफ्नो औँलामा पृथ्वी घुमिरहेको ठान्छिन् ।

हामी केहीले काकी भने पनि उनी जमुना म्याडम नामले बढी चिनिन्छिन् । ठालु पल्टिने उनको बानीले गर्दा पहिलोचोटि एक मिनेट मात्रै देख्नेले पनि भनिदिन सक्छ कि जमुना म्याडमको मुख्य खेतीपाती राजनीति र एनजीओ हो भनेर । राजनीतिको छाता ओढेर एनजीओ चलाउने वर्गको तुलोमा जमुना म्याडम एकातिर बाँकी सबै अर्कोतिर परे झैँ लाग्छ ।

हरिशरण काका अरुका घरका समस्या समाधान गर्दै हिँडनुहुन्छ, टोलछिमेकको जस्तोसुकै इस्युमा पनि भिडनुहुन्छ तर घरको मामलामा भने यस्तो लाग्छ कि मानौँ, प्रत्येक दिन गृहप्रवेश ट्याक्स हालेपछि र म्याडमले ग्रीन लाइट बालेपछि मात्र घरभित्र छिर्नुहुन्छ । आफ्नो आम्दानी एकमुष्ट बुझाएर बेला बेलामा पाँच सय–हजार निकासा गराउँदै निजी अर्थतन्त्र थेग्नुहुन्छ रे काका । म्याडमद्वारा विनियोजित बजेटको छिस्रिक्क दायाँ बायाँ पर्यो भने म्याडमको महालेखा परीक्षण जागिहाल्छ रे । छोराछोरीले पनि अघिल्लो दिनको अडिट रिपोर्ट नबुझाएसम्म त्यस दिनको खर्च पाउँदैनन् रे ।

जमुना म्याडमको भाषण दश ठाउँमा सुनिएकामा सात ठाउँमा उस्तै नै लाग्थ्यो– यो पितृसतात्मक व्यवस्था नढालेसम्म महिलाहरु दबिएकै अवस्थामा रहनुपर्दछ ………. हाम्रो समाजमा नारीहरुलाई निरिह तुल्याइएको छ, घरको काममा मात्र भुलाइएको छ …. आदि आदि ।

एनजीओको खेतीपातीको बिउ किन्न र बिउ छर्न निक्कै कुदिरहन्छिन् जमुना म्याडम । कहिले रसुवा, कहिले रसिया, कहिले बर्दिया, कहिले जर्जिया, कहिले इटहरी, कहिले इटली गरिरहँदा हरिशरण काकाकै अन्तर्गतमा आइपुग्छ भान्छा साखाको जिम्मेवारीसमेत । खाना बनाउन नआउने नै चाहिँ हैन काकालाई । उही आम पुरुषको झैँ अलिक ढङ्ग नपुग्ने मात्रै हो । दशतिर तेल उछिट्टिनु, सरदर दिनमा एक ठाउँमा तातो तेलले पोल्नु, एक हप्ता भान्छा सम्हाले भने तीनवटा औँलामा ह्याण्डीप्लाष्ट टाँसिएको देखिनु, तरकारी काट्दा टुक्राको आकारमा प्रत्येक टुक्रामा भेदभाव हुनु, दाल पाक्यो भनेर हेर्न जाँदा प्रेसर कुकरको बिर्को नै लागेको नहुनु, राइस कुकरको स्वीच कुकपट्टि ट्याक्क पार्न छुट्नु त पुरुष भान्छाको सामान्य लक्षणहरु भइगए । आलु ताछ्न झर्को लाग्नु, नुन कि त खल्लो कि त चर्को लाग्नु पनि स्वभाविक नै भयो । दूध कतिचोटि उम्लिएर खेर गयो, कति भाँडा डढेर कालै भयो भन्ने त गनिसाध्य नि छैन, भनिसाध्य नि छैन ।

हरिशरण काका भने विश्लेषणका धनी भएकाले मनमनै गम्थे – प्रकृतिले पुरुषलाई एकखाले काम र सीप, महिलालाई अर्कैखाले काम र सीप दिएकै छ । किन मेरी बूढी र उसकै टाइपका महिलाहरु अनेक अनेक नारा रट्दै उफ्रिने होलान् ? बिहे, व्रतबन्धमा पात गाँस्ने जिम्मा महिलाको, पाल टाँग्ने जिम्मा पुरुषको किन भाको होला ? पाल टाङ्ग्ने काम महिलाले र पात गाँस्ने काम पुरुषले गर्न खोजे काम सप्रेला कि बिग्रेला ? किन रोपार महिला र बाउसे गर्ने पुरुष भएका होलान् ?

कुरै कुराको जाल बुन्न त सकिएला तर प्रकृतिको खोला थुन्न चाहिँ सकिएला कि नसकिएला ? उसै पनि माकुराको जालभन्दा कुराको जाल कडा हुन्छ भन्छन् ।

हिजो राती हरिशरण काकाले टिभीमा विदेशतिरको दृश्य खुब देखेछन् क्यारे ! सपनामा पनि त्यस्तै त्यस्तै तर्कना आएछ । आज बिहान मर्निङवाक निसक्दा पनि सायद मनमा देश विकासकै च्यानल चलेजस्तो छ । फेरि आजै उनको कुरोसँग अक्षांश–देशान्तर मिल्ने रामप्रसाद दाजु भेट हुनुभएछ मर्निङवाकको साथी बनेर । सन्चो बिसन्चो सोध्ने प्रथम फेजपछि लगत्तै सुरु भयो हिँड्दाहिँड्दैको गन्थनउर्फ रसिलो ढङ्गको वैचारिक मन्थन ।

“रामप्रसादजी, नेताहरुलाई त जुत्तै हान्न थालेछन् नि, हिजोको न्युज पढनुभो ?”

“काका, वास्तवमा त्यो जुत्ता, जुत्ता मात्रै होइन । नेताको चालचलनले जनतामा उब्जाएको जलन हो । र त्यो एउटा मात्रै जुत्ता होइन, तीन करोड नेपालीका छ करोड जुत्ता हो ।”

“हो हो, ठिक हो”, काकाले सही थपे, “तर बुझ्नुभो रामप्रसादजी, नेता भनेका त कहिले को जान्छन्, कहिले को आउँछन् ? थाहा हुन्न । आउने जाने चक्र घुमिरहन्छ । नेतालाई त कुनै न कुनै तरिकाले ठेगान लगाइहाल्छन्, पावरबाट भगाइहाल्छन् जनताले । तर कुरो हामी जनतामा पनि अड्क्याछ । खालि अधिकारको कुरो गर्यो, जिम्मेवारीको कुरै नगर्यो । समस्याको चाङ्ग देखायो, समाधानको कुरै नगर्यो  । सदाचारमा हिँडेर चारै प्रहर खट्टिनेलाई भन्दा भ्रष्टाचार गरेर चार रोपनी जग्गा र चारथरि गाडी किन्नेलाई नै गज्जब ठान्यो  । अनि कसरी विकासको ग्राफ माथि चढ्छ र देश अघि बढ्छ रामप्रसादजी ?, साइड लाइटसमेत नबाली सडकको बिच्चमै गाडी घ्याच्च रोक्ने त नेताले गरेर होइन नि ? हाम्रै  शरीरमा सोच्नुस् त, मुटुले राम्रै काम गर्यो, ठूलो आन्द्राले गरेन; चामलद्वारले काम गर्यो, मलद्वारले गरेन भने मिल्छ त कुरो ?”

काकाको कुरो निक्कै रोचक लागेछ क्यार रामप्रसादजीलाई, “काका, आज तपाईँकै कुरो सुन्नु पर्यो पूरै समय ।”

काका पनि हौसिदै थपे, “हेर्नुस्, अमेरिकामा पूँजीवाद छ, एक नम्बरको देश छ । चाइनामा उल्टो भनिएको कम्युनिजम छ, दुई नम्बरको देश छ । लोकतन्त्र भएर प्रगति गर्ने देश कति छन् कति ? अरबमा सक्रिय राजतन्त्र छ, प्रगति देख्या छैनम् र ? यो वाद र त्यो वाद भनेर नचाहिँदो विवाद र दिमाग बर्बाद गर्नुभन्दा जसरी हुन्छ विकास गर्ने भन्नेतिरै लाग्नुपर्छ । अर्थ उकासे जुन वादको पनि अर्थ हुन्छ, अर्थ नउकासे जुन वाद पनि व्यर्थ हुन्छ । देशलाई चाहिने शासनवाद हैन, अनुशासनवाद नै हो आखिर ।”

गफैगफमा काकाको घरको ढोका अगाडि पुगिसक्छन् दुबै जना । थप एक मिनेट उभिएरै कुरोको कुलो बगाइराख्छन् ।

अब भने छुट्टिन खोजे जस्तै देखियो ।

“एउटा कुरो भनौ है त ?”

“भन्नुस् न काका ।”

“सयौँ देशको कुरा गरौँ, सयौँ किताबको कुरा गरौँ, सयौँ वैज्ञानिक र दार्शनिकको कुरो सुनौँ, सयौँ घण्टा तर्क गरौँ—निष्कर्ष चैँ यही हो है – चाहिने ‘वाद’ भनेकै विकासवाद, त्यसैले विकासवादलाई  नै जिन्दाबाद ।”