हिमालहरू सुन्दर र सफा छन् । यसैले मलाई हिमाल मन पर्छ, हिमालको गाढा स्निग्धता मन पर्छ । हिमाल प्रकृतिको मनोरम कल्पना हो । प्रकृतिको मनोरम कल्पनामा यायावर बनेर अवलोकन गर्न पाउनु एउटा सुखद् अवसर हो भन्ने मलाई लाग्छ । यात्रामा चार जनाको मतो मिल्यो । यात्रीहरूका बीच मतो मिल्नु पनि यात्राको पच्चीस प्रतिशत सफलता हो भन्ने ठान्छु म । मतो नमिल्ने यात्रीहरूसँगको यात्रामा सन्तुष्टिको मात्रात्मक उपस्थितिको न्यूनता रहन्छ ।

हिमाल हाम्रो गन्तव्य भएको छ । हामी अर्थात् यात्रामा मतो मिल्ने साथी – अम्बिका, विष्णु, रामेश्वर र म । अर्थात् म को परिचय हो लक्ष्मण । चिन्नेहरूले मलाई लक्ष्मण नै भन्छन् । अलिकति परिचयको फाँद (फड्को) बढाउँछु – अम्बिका भ्रमण प्रिय मानिस हुन् र हाम्रो यात्रा टीमको जेष्ठ सदस्य । उनी हाम्रो यात्रा टीममा मात्र होइनन् हामीले भेटेका अन्य भ्रमण सदस्यमा पनि उनी दाजु यात्री नै हुन् । विष्णु उमेरले माइला र रामेश्वर साइँला यात्री हुन् । अनि म हाम्रो यात्रा टोलीको कान्छो सदस्य हुँ । तर म उमेरले कान्छो सदस्य भए पनि जोस अनि जाँगरले, फूर्ति अनि उत्सुकताले विष्णुलाई कान्छो सदस्य बनाएको छ । यात्रामा उमेर गणना गरिन्न, जोस गणना गरिन्छ । जोस यात्राको साथी हो । यही जोसले विष्णुलाई र हाम्रो टोलीका जेष्ठ सदस्य अम्बिकालाई यायावर प्रेमी बनाएको छ । हाम्रो टीममा सबैभन्दा बढी घुमेका छन् विष्णु ।

यात्रारम्भ भएको छ – २०७७ चैत ४ बाट र यात्राको समाप्ति २०७७ चैत ९ गते बिहानको समय हो । यात्राको समाप्ति लेखिहालें तर यो अलि सुहाएन कि झैं लागेको छ आफैंलाई । किनकि जीवन एउटा अविच्छिन्न यात्रा हो, यसको समाप्ति मृत्युपश्चात् मात्र हुन्छ । हामी जीवित छौं । यसैले यसलाई समाप्ति नभनेर यात्राको नैरन्तर्य भन्नुपर्छ कि जस्तो लागेको छ – एउटा अविच्छिन्नता अनि सातत्य ।

चितवन हामी चारै जनाको साझा वर्तमान हो । भनौं, वर्तमानमा यो हाम्रो गृहजिल्ला बनेको छ । हुनत यो जिल्ला हामी चारै जनाको विगत होइन । हामी भिन्न भिन्न स्थानिक विगतबाट स्थानान्तरित भएका हौं चितवनमा । हामी चारै जनाको परिचय यहीं भएको हो ।

यात्राको थालनी चितवनबाट भएको छ । चितवनस्थित पोखरा बसपार्कबाट बिहानको ११.४५ बजे हिंडिएको यात्रा पोखराको पृथ्वीाचोक, हरिचोक, हेम्जा हुँदै धम्पुस पुगेर बास बस्छ । बास बसिएको ठाउँ नयाँ चौतारी हो तर विष्णु दाइ यसलाई नयाँ चौतारी भन्न रुचाउँदैनन् । उनी यसलाई बारम्बार पुनः न्वारन गर्न चाहिरहेका छन् । माया चौतारी नामकरण भएको छ उनीबाट । त्यो ठाउँमा गुरुङ बस्ती छ । गुरुङहरू समुदायप्रेमी देखिन्छन् । एकै ठाउँमा सिलसिलाबद्ध घरहरू छन् चिटिक्कका । ढुङ्गाका छाना भएका घरहरू आँखाका स्वाद बनेका छन् । यात्राका यात्रीहरूका आँखाहरू दृश्य स्वाद चाख्ने जिब्रा हुन् । परम्परालाई धम्पुस चुनौती दिइरहेको देखिन्छ आजकल । सक्नेहरूले विस्तारै कङ्क्रिट भित्र्याइरहेका छन् धम्पुसमा । सेलोहरूमा झुम्ने धम्पुस विस्तारै डिस्को युगतिर पदार्पण गर्दै छ । स्वतन्त्रतालाई बिर्को लगाउन पनि गाह्रो छ तर जातीय इतिहास जोगाउन केही त गर्नै पर्ने हो राज्यको हातकलम चल्नेहरूबाट । तर …… हो, यही तर पछिको खाली ठाउँले समस्यामा पारेको छ आजभोलि ।

नेपालभित्र हामी नेपाली नै हौं तर ठाउँ नयाँ छ, भाषिक लवज नयाँ छ, रङ र व्यवहार कताकति पृथक् छ । हाम्रा होटलका दाइ साग भुट्छन्, दिदी भाउजूहरू सुपोमा निफन्छन्, अर्नि पकाउँछन् । मकै भुटिने, साग पकाइने, नाङ्लामा निफन्ने र खाजा पकाइने ठाउँबाट गएका हामीलाई साग भुटिने लबज हरियो अग्र्यानिक सागभन्दा स्वादिलो लाग्छ । यही त हो विविधता । हामी विविधताभित्र एक छौं । विविधताभित्रको एकता जोगिनुपर्छ । यो जातीय इन्द्रेणी हो ।

चैत ४ गते बेलुका धम्पुस टेके पछि पानी बिर्बिराउँछ । हामी संझिन्छौं एक एक थान बर्सादीलाई । हामीसँग बर्सादी छैन । हुनत पानी पर्ने समय होइन यो । तर हामीलाई यो पनि थाहा छ – पोखरा नेपालको चेरापुन्जी हो, चेरापुन्जी विश्वकै सर्वाधिक पानी पर्ने ठाउँ हो । बर्सादको समय होइन यसैले जतासुकै बर्सादीको व्यापार पनि भेटिंदैन । खाली बोरा किनेर बर्सादी बनाउने सोचको टुसा पनि पलाउन थाल्छ । तर जहाँ हामी बास बस्छौं त्यहाँ बर्सादी राखिएको रहेछ । हामी ढुक्क बन्छौं । तनाव शिथिलिन्छ ।

चैत ५ गते बिहान हाम्रो यात्राले एक एक वटा लठ्ठी खोज्छ । लठ्ठी यात्राको अर्को सहयोगी साथी हो । धम्पुसमा लठ्ठीको पनि व्यापार हुन्छ । हामी राजीखुसीमा एक सयमा ३ वटा लठ्ठी किन्छौं । जान्नेहरूले जताततै व्यवसाय देख्छन्, बाँच्न पनि जान्दछन् तर हाम्रोमा केही नदेख्ने रतन्धा आँखाहरू पनि छन्, जो सधैं विदेसै मात्र ताक्छन् । सरकारले केही गरेन भन्ने अधिकांश मुखहरू मैले के गरें भनेर कहिल्यै बोलिएको सुनिएको छैन । छरिएर रहेका सम्भावनाहरू देख्न र टिप्न सके मात्र देश बन्छ ।

धम्पुसबाट ५ गते बिहान ७.१५ बाट एक एक थान उत्साह बोकेर हिंडयौं हामी । बीचमा एक दुई ठाउँ होटलसँग जम्काभेट भएको थियो । बाटामा खच्चड, भैंसी, भ्याकुर चरासँग साक्षात्कार भयो । बिहानको ९.३० बजे पीतम देउरालीमा स्थानीय राजेन्द्र गुरुङ भेटिए । उनी होटल व्यवसायी पनि रहेछन् । गुरुङ संस्कृतिका घर मासेर कङ्क्रिट ठडिएको थियो । चहलपहल देखिएन । हामीले सोध्यौं – “यो बाटो यात्रा गर्नेहरू कमै हिंड्छन् कि क्या हो ?” तर उनले ठूलो आँगन देखाउँदै भने – “यो आँगनभरि कुहिरेहरू हुन्थे लकडाउन अघिसम्म । यो सबैभन्दा बढी हिंडिने ट्रेकिङ रुट हो ।” तर अहिले खाली थियो आँगन र अलि निराश निराश जस्ता देखिन्थे राजेन्द्र । विश्वमा कोभिडको कहरले कहाँ पो छोएन र ? कसैले कोभिडलाई नै राम्रो व्यवसाय बनाइदिए त कसैले कोभिडकै कारण हुँदाखाँदाको जागीर अनि व्यवसाय नै गुमाए । विकसित राष्ट्र र हामीमा ठूलो अन्तर छ । विदेशीहरू आफ्ना नागरिकसँग सकेको कसेर ट्याक्स लिन्छन् र प्राकृतिक आपदामा आफ्ना नागरिकको अभिभावक बन्छन् । आफ्ना नागरिकको व्यापार व्यवसाय नडुबोस् भनेर सरकार चनाखो पनि बन्छ, आपद् विपद्मा अनुदान दिन्छ आफ्ना राज्यका व्यवसायीलाई । तर हाम्रामा जनताले खोजेको र जिम्मेवारी लिनुपर्ने बेलामा राज्य म सक्दिन भनेर हात उठाउँछ ।

बाटामा हिंड्दा हिंड्दै अचानक सयौं भेडाका बथान भेटियो । भेडाका ससाना पाठाहरू निकै मायालु देखिन्थे । दुईतीन जना गुरुङ बुढाहरू चोके काठ गाडेर भेडाका घाँटी त्यसैमा अड्याई ऊन काटिरहेका थिए । ऊन काट्ने नयाँ र सजिलो प्रविधिले त्यहाँ प्रवेश पाएको थिएन । ऊन काट्ने एक जना गुरुङ बुढा निकै रसिला रहेछन् । “यो बाटो कहाँ जान्छ ?” भनेर सोध्दा बुढाले ठट्यौलो पारामा भने – “यो बाटो कहीं जाँदैन, यही रहन्छ ।” उनको आशय प्रश्न सच्याउन भनिरहेको थियो हामीलाई । त्यहीं एक विवाहिता युवती फोनमा कुरा गरिरहेकी थिई । उसको एकतर्फी सम्बादमा नै हामीले अनुमान लगाइसकेका थियौं ऊ आफ्नै परदेसिएको खसमसँग बात मार्दै छे । ऊ भन्दैथी – “छिटो आइजा, नत्र म पोइला हिंडिदिन्छु ।” युवतीको फोन वार्ताले हँसायो हामीलाई तर त्यो युवती फोनमा नेपालीका साझा पीडा बोल्दैथी । युवाहरू विहे गर्छन्, २४ दिन काउकुती लगाउँछन् र विदेश हिंड्छन् । विवाहिता नवयौवनाहरू यौवन खुम्च्याएर बस्न विवश हुन्छन् । यहींबाट कतिमा आदतको विकृति पनि सल्किएको छ, घरहरू भाँडिएका छन् । वैदेशिक रोजगारीका सबल पक्ष त छन् नै, तिनका सबल पक्षका सम्बन्धमा विचारविमर्श पनि भएका छन् तर कैयौं सामाजिक अप्ठ्याराहरूका बारेमा अध्ययन भएको छैन । यसैगरी वैदेशिक रोजगारीको लहर चलिरह्यो भने यसले अबका आउँदा दिनमा हाम्रो समाजमा कहाँ कहाँ अप्ठयारो पार्छ भनेर अध्ययन गर्न ढीला भइसकेको छ ।

गौंडा पुग्दा बिहानको १०.४० बजिसकेको थियो । गौंडा त्यस ठाउँको पुरानो नाम रहेछ । त्यस ठाउँलाई लब्ली डाँडा भन्दा रहेछन् नयाँहरू । त्यस ठाउँलाई गौंडा नै रहन दिनुपथ्र्यो । पुरानो सामाजिक, सांस्कृतिक धरोहर जोगाउने हो भने त्यो ट्रेकिङ रुटका कुनै पनि स्थानीय पुराना नाम फेरिनुहुन्न भन्ने लाग्यो । त्यो रुट हिमाल हेर्ने लक्ष्यका लािग मात्र भन्दा पनि स्थानीय परिवेश र पात्रहरूको अध्ययन केन्द्र बन्न सके त्यसले उपलब्धि देला भन्ने लाग्छ । तर नाम फेर्नेहरूमा रहेको चेतनास्तर त्यसो भन्दैनथ्यो । त्यो अनकन्टार र पातलो जनबस्ती भएका ठाउँमा यस्ता कुराको कसले निगरानी गर्ने ? निगरानी नै भएछ भने पनि त्यो दीगो हुने कि नहुने ? प्रश्नहरू धेरै उठ्न सक्छन् । गौंडामा प्रकृति सुन्दर र सुकुमार बनेकी थिई । गौंडा नामअनुसार लब्ली नै थियो । हामी प्रकृतिको मनमोहक छटा देखेर अघाइरहेका थियौं तर हाम्रो पेट भने भोकाइसकेको थियो । सानी स्कुले नानी अन्तिमाले खाना बसालिन् । खाना तयार नहुन्जेल हामीले फोटाहरू खिच्यौं । विष्णु दाइले मिलाई मिलाई फोटाहरू खिचिदिए । विष्णु दाइ लगभग ३० वर्षभन्दा बढी फोटो व्यवसाय सञ्चालन गरेका फोटो व्यवसायी हुन् । उनमा रहेको फोटो प्रेम आज पनि तन्नेरी नै देखिन्थ्यो । खानापछि लगत्तै हामी यात्राको निरन्तरतामा जुटिहाल्यौं किनकि विलम्बले यात्रामा कहिलेकाहिं जोखिम पनि निम्त्याउन सक्छ ।

बाटामा ठूला ठूला रुखहरू थिए । चारैतिर घना जंगलले ढाकेको थियो । सूर्य भित्र पस्न पनि डराउँथ्यो । दिउँसै अँध्याराको साम्राज्य बनेको थियो जंगल । हिउँ छोएर चलेको बतासको स्पर्शले भित्रैदेखि शरीरमा कम्पन ल्याएको थियो । कान, नाक र गालाहरू हिउँ नै भएका थिए । उकालामा फोक्सो खलाँतीझैं चलेको थियो । तर पनि ट्रेकिङका रमाइलामा हाम्रा मनहरू उत्ताउलिरहेका थिए । बेला बेलामा सहयात्री रामेश्वर किस्सा हाल्थे र हसाउँथे । एकले अर्कालाई उडाउने होड पनि चल्थ्यो तर हामीभित्रको आत्मीयता कत्ति पनि खुकुलिएको थिएन ।

हामी बिस्तार बिस्तार फरेस्ट क्याम्प ताकिरहेका थियौं । यो क्याम्प २५५० मीटरको हाइटमा रहेको छ । फरेस्ट क्याम्प पुग्नु अघि असिनापानी पर्न सुरु भयो । हामीले बर्सादी ओढ्यौं । बाटो चिप्लो थियो, जुत्ता भिजिसकेका थिए । ढाडमा व्याग बोकेर बर्सादीका छेउ समात्दै हिंडिरह्यौं हामी । यात्रामा जोखिम पनि थियो र एउटा असीम आनन्द पनि । खाँबो गाडेर त्रिपाल ओढाइएको ठाउँ भेटियो बाटामा । ओत लाग्यौं । जंगलका बीचमा यसरी खाँबो गाडिएका ठाउँहरू निकै नै देखिएका थिए यात्रामा । नयाँ दर्ता गरेर जग्गा कब्जा गर्ने रणनीति पनि होला यो । सँगै ओत लागेका ठाउँमा लब्ली डाँडामा मीठो खाना खुवाउने नानी अन्तिमाका बाबु भेटिए । उनी केही सहयोगी साथीहरूका साथ घरमा पानीको धारा पु¥याउन यति माथिसम्म आएका रहेछन् । स्थानीय चुनौतीको यो स्पष्ट तस्वीर हो । उनले सुनाए – “अब फरेस्ट क्याम्प नजिकै छ ।” हामीमा आशा मौलायो । अब सायद आजको बास त्यहीं होला भन्ने कल्पना ग¥यौं । हुनत अम्बिका दाइ भन्दै थिए – “फरेस्ट क्याम्प कटेर रेस्ट क्याम्पमा बास बस्न छोरीले सुझाइरहेकी छे चितवनबाट । फरेस्ट क्याम्पबाट कुनै भ्यू देखिंदैन रे । रेस्ट क्याम्प भ्यू का लागि उपयुक्त ठाउँ हो भन्छे छोरी ।” फरेस्ट क्याम्प पुग्दा थोरै समय बाँकी नै थियो यात्राका लागि । तर पानी अनि असिनाका ससाना दानाहरू बर्सिने र रोकिने क्रम भने रहिरह्यो बाटामा । “यस्तोमा अघि बढ्न हुन्न, बस्न राम्रो निर्णय हुनेछ ।” – अम्बिका दाइ भन्दै थिए । हामी पनि यही सोच्दै थियौं तर सहयात्री विष्णु भने बाटो छोट्याउने कुरामा ढीट देखिए । जीत उनकै भयो । मन र शरीरका बीच तालमेल भइरहेको थिएन । मन बास बसिसकेको थियो फरेस्ट क्याम्पमैं तर हामीले जबर्जस्ती शरीर हिंडाइरहेका थियौं रेस्ट क्याम्पतिर । यात्राका सजिलाका लागि यात्रीको मन र शरीर एकाकार हुनुपर्छ तर मनसँग चुँडिएको शरीरलाई जबर्जस्ती घिसारेर फरेस्ट क्याम्पबाट रेस्ट क्याम्पसम्म पु¥यायौं र हामीसँगै बास बसायौं हामीले हाम्रो यात्रालाई पनि ।

रेस्ट क्याम्पको पुरानो नाम चुप्रुङ रहेछ । चुप्रुङको शाब्दिक अर्थ थियो या थिएन हामीले सोधेनौं । तर मलाई लाग्छ – चुप्रुङ गुरुङ शब्द हुनुपर्छ । स्थानीय परिवेशमा गुरुङहरूको बस्ती रहेको र पुराना नामहरू गुरुङ जातिका अग्रजहरूले दिएका होलान् भन्ने लाग्यो । रेस्ट क्याम्प पुग्दा साँझको ५.१५ बजिसकेको थियो । २६०० मीटर उचाइमा रहेको त्यो क्याम्पमा पुग्नासाथ कालो चियाको न्यानो स्वागत पायौं । बेलुकी मित्र विष्णुले मोवाइलमा ट्राभल हिस्ट्रि हेरे – पहाडी ट्रेकिङ रुटमा हामीले १५ किलोमिटर हिंडेका रहेछौं धम्पुसदेखि रेस्ट क्याम्पसम्म त्यो दिन । चैत ६ गते बिहान हामीलाई माछापुच्छ्रेको दर्शनभेट मिल्यो । यो राजामहाराजाहरूले दिएको दर्शनभेटभन्दा उपल्लो दर्जाको थियो । यो दर्शनभेटका लागि बिन्तीपत्र सदर गराउनु परेन, दश ठाउँमा जीहजुरीको कोर्निस टक््रयाउनु परेन र सौगातका महँगा थाक चढाउनु पनि परेन । माछापुच्छ्रे अघिल्तिर गजधम्म बसेको पाउँदा हामीभित्रको उत्सुकता दुगुना मात्र बनेन चौगुना भयो । अघिल्लो दिनको थकान र मुटु कमाउने चीसो बिर्सियौं । फोटाहरू त्यति राम्रा आएनन् तर हाम्रा आँखाका क्यामराले मनका फ्ल्यास बालेर खिचेका अनगिन्ती तस्वीरहरू भने हाम्रा संझनाका फोल्डरहरूमा अद्यापि सुरक्षित नै छन् ।

चैत ६ गते बिहान ७.३५ बजे रेस्ट क्याम्पबाट पुनः हाम्रो यात्रा सुरु भयो । ८ बजेर २४ मिनेटमा काम्किकु डाँडाले स्वागत ग¥यो । त्यहाँ रेस्टुरेन्टको नाम पनि काम्किकु नै राखिएको रहेछ । स्थानीयलाई काम्किकुको अर्थ सोध्यौं तर उनीहरूलाई पनि अर्थको कुनै हेक्का थिएन । एक जनाले अलिकति गाँठो फुकाउन खोजे अर्थको र भने – “कु (क्यू) भनेको त भेडा हो गुरुङ भाषामा ।” तर उत्तरले सन्तुष्टि उमार्न सकेन हामीभित्र । ९.३० मा लो क्याम्प (२९७० मिटर) पुग्यौं । खुलेको माछापुच्छ्रेले हामीलाई भन्यो – “हेर म यहाँ छु । एकछिन थरक मारेर मलाई सम्पूर्णमा नियाल ।” तल रेस्ट क्याम्पबाट देखिएको भन्दा निकै आकर्षक र भलादमी देखियो माछापुच्छ्रे । हामीलाई उसले भनिरहेझैं लाग्यो – “खुला किताबको पाना हुँ म । पढ, पढ्ने जाँगर चलाऊ । तिमीभित्रको मिहिनेतले जति जाँगर देखाउँछ त्यति नै म विभिन्न पानाहरूमा निरन्तर पल्टिंदै जानेछु ।” हामी जाँगरले हिमालको पाना पल्टाउने प्रयासमा जुटिरह्यौ लगतार ।

यात्रामा पूर्व जानकारीले योजना बनाउन सघाउँछ । हामीले यात्राको सामान्य धुमिल आरेखहरू मानसपटलमा कोरिरहेका थियौं । गन्तव्य पुगेर फर्किएका र बाटामा भेटिएका यात्रीहरू, स्थानीय र होटल व्यवसायीहरूले यात्रारेख कोर्न हामीलाई सघाइरहेका थिए । सजिला असजिलाका कुरा, माथि हिउँमा पुग्दा अपनाउनुपर्ने सावधानी, हिले बाटाको दुरुहता, बास बस्ने उपयुक्त होटलको जानकारी, बीचमा खाना खान रोकिने उपयुक्त ठाउँ आदि आदिको धुमिल खाका बन्दै थियो हाम्रा हृदयका पानाहरूमा । फर्किनेहरूसँग हामीले यो पनि सोधिरहेका थियौं – “कत्तिको रमाइलो भयो ?” उनीहरू रमाइलोका क्षणहरूलाई शब्दहरूमा पूर्णतः व्यक्त गर्न सकिरहेका थिएनन् ।

हामीले कोरेका यात्रारेखअनुसार नै हामी बिहानी खानाका लागि बादल डाँडा (३३०० मिटर) मा रोकियौं । तरकारीमा यात्राभर कतै साग टुटेन । सागका मुठाहरू तलबाटै बोकिएर आउने रहेछ । तलबाट बोकिएर उक्लिंदा प्रति मुठा सागको १०० भन्दा बढी पर्ने जानकारीले स्थानीय जीवनका अप्ठ्यारा र चुनौती बुझ्न सजिलो भयो । बादल डाँडाको सबैभन्दा माथि टुप्पामा रहेको ३६० डिग्री होटल पुग्नु अगाडि अम्बिका दाइले भने – “भ्यू इज आहा, बाटो इज फिलित्त ।” अभिव्यक्तिको बान्की र सान्दर्भिक यथार्थताले घत पार्दा मजाले हाँस्यौं । लो क्याम्पबाट बादल डाँडा १.६ किलोमिटर रहेछ । वरिपरि हिमश्रृङ्खलाहरू थिए तर विस्तारै तिनलाई बादलले ढाक्न थाल्यो । ३३०० मीटरको यो बादल डाँडामा चीसो हावा हुन्हुनाइरहेको थियो । हामीले तलै अड्कल गरिसकेका थियौं – यो यात्रामा पानीले सजिलो बनाउने छैन । पानी पर्नु अघि नै आजको यात्रा टुङ्ग्याइसक्नुपर्छ भन्ने सोचेर हामी खाना खानासाथ हिंडयौं पनि ।

हाम्रो आजको गन्तव्य हाइ क्याम्पसम्म मात्र हो । हाइ क्याम्प ३५५० मिटरको उचाइमा छ । हाइ क्याम्पभन्दा माथि बासको व्यवस्था छैन तर यो क्याम्प छिचोलेर ४२०० मिटरमाथि पुगिसकेपछि मात्र हाम्रो यात्राको मुख्य गन्तव्य भेटिन्छ । बादल डाँडाबाट हाइ क्याम्प पुग्न मिटरका हिसाबले २५० मिटर मात्र छ तर क्रमशः दुरुहता बढ्दै छ । डाँडाको नाकैनाक उकालो लाग्दा दाहिनेतिर नाङ्गा पाखा छन् भने देब्रे पाखामा लाली गुराँसका बुटाहरू छन् । लालीगुराँसका बुटाहरूमा कोपिला लागेको देखिएको छ । बाटामा हिउँको मज्जा र लालीगुराँस फूलको सौन्दर्य एकसाथ देख्न सकिएन । हामीले बाटाभर हिउँको मज्जा लियौं । लगभग अबका २०÷२५ दिनका अन्तरालमा पुग्नेहरूले सायद बाटाभरि हामीले देखेजस्तो हिउँको बिस्कुन देख्न सक्ने छैनन् तर त्यतिबेला यात्रीहरू लालीगुराँसका मादकताले लठ्याइनेछन् । यो यात्रीहरूलाई खटाइ खटाइ दिने प्रेमोपहार हो यात्राको । प्रकृति त भण्डार हो सुन्दरताको । यो महान् दानवीर छ । यसैले यात्रामा प्रकृतिले यात्रीलाई जुनसुकै बेला खाली हात पठाउने छैन ।

आज तुलनात्मक रूपमा हिजोभन्दा कम हिंड्यौं । आजको ट्राभल हिस्ट्रिले ८ किलोमिटर हिंडेको देखायो । हिमाली यात्रामा यो कम हिंडाइ भने होइन । रेस्ट क्याम्पबाट ५ घण्टा लाग्छ भनिएको बाटो छिचोल्न हामीलाई ७ घण्टाभन्दा बढी समय लाग्यो । होटलहरू खाली खाली नै थिए । एकाध बाहेक विदेशी पर्यटकहरू बाटामा भेटिएनन् । २.४५ मैं हाइ क्याम्प पुग्दा हिउँको साम्राज्य देखियो । समय बाँकी नै थियो तर हाइ क्याम्पभन्दा माथि बासका लागि कुनै ठाउँ थिएन । तलबाटै हामीलाई भनिएको थियो – “गौतम थरका मानिसले चलाएको होटल छ । उसको नाम सुदिप हो । ऊ पुरानो होटल व्यवसायी हो हाइक्याम्पको ।” गौतम खोज्दै हामी गौतम कहाँ नै पुग्यौं । त्यहाँका अधिकांश होटलहरू खाली थिए तर गौतमका होटलमा अलि बढी नै यात्रीहरू भेटिए । होटलको सुविधा ठिकै हो तर तिनले यात्रीको विश्वास जितेका रहेछन् भन्ने लाग्यो । क्याम्पको बसाइमा युवतीहरू पनि मनग्गे भेटिए । हल कोठामा राउन्ड टेबुल राखिएको थियो । फलामको ठूलो चुलोमा दाउरा भरिए । फलामकै पाइपबाट धुवाँ छाना हुँदै बाहिर फ्याँकिएकाले कोठा धुवाँमुक्त बनेको थियो । कोठा क्रमशः तात्दै थियो र सँगसँगै माहोल पनि । त्यहीं भेटिए – चितवनतिर बसाइँ सरेका एक जना अधबैंसे गौतम (थर) । तिनी माथि भ्यू क्याम्पमा चिया बेच्दा रहेछन् । रसिला र रौसिला उनी सोसल मिडियाहरूमा ‘चिया काका’ का नामले भाइरल भएका कुरा पनि थाहा पायौं । गीत घन्किन र मादल बज्न थाल्यो । नानीहरू नाच्न र गाउन थाले । चिया काका रौसिए, सुदिप पनि कम रमाइला रहेनछन् । चिया काका भन्दै थिए – “असली ट्रेकिङको मज्जा भोलि पाइनेछ ।” उनको भनाइबाट हामीले लख काट्यौं – अब भोलि हिंडिने बाटो सोचे जति सजिलो हुनेछैन ।

माथि हिमाली भ्यू का लागि ४ बजे नै हिंड्नुपर्छ भनिएको थियो । विष्णु पटके यात्री भएकाले हेड लाइटको जोहो गरेका रहेछन् । उनको हेड लाइटले पनि काम गरेन । अब हामी चारै जनासँग मोबाइल थियो तर मोवाइलले कति धान्ला ? अझ माथि चीसो बढ्दै जाँदा मोबाइलको धमनी बन्द हुन्छ रे । मोबाइल अफ हुन नदिन तातो गरी लैजानुपर्छ रे । रे रे ले घेरिएर भोलिको यात्रा कस्तो र कसरी होला भन्ने कल्पना र उत्सुकतामा हामीले त्यो चीसो रात बितायौं । त्यो रात मेरा मनमा अब सकिन्न कि भन्ने भूत पनि प्रवेश गरेको थियो तर मैले त्यसलाई प्रकटमा आउन भने दिइन ।

निद्रादेवीले हामी चारै जनालाई चाँडै नै मुक्त गरिन् । ७ गते बिहान ४.१५ बजे नै उठेर भ्यू क्याम्पतिरको बाटो छोट्याउन थाल्यौं । बास बसेका यात्रीहरूमध्ये कोही अगाडि नै हिंडिसकेका थिए । अलिकति हिंड्नासाथ चिप्लिन खोजेकाले मैले जुत्तालाई मोजा लगाइदिएँ । अलि सजिलो महसुस भयो । बाटो अत्यन्त खतरापूर्ण थियो । असजिलो बाटो भएकाले मैले लाइटका लागि मोबाइल झिकिन । नझिक्नुको अर्को कारण पनि थियो – साथीको मोबाइलले काम गर्न छाड्यो भने जोगाड चाहिन्छ । अगाडि पछाडिका साथीहरूका लाइटका उज्यालामा नै हामी हिंड्दै थियौं । अँध्याराको लाइट र लाइट बोक्नेहरूको एउटा मनोविज्ञान हुन्छ । आफू सुरक्षित भएपछि मात्र जो कोहीले अर्कालाई लाइटको उज्यालो दिन्छ । यो हरमान्छेको स्वभाव हो र याथार्थता पनि । यसैले बुद्धले आफ्नो उपदेशमा भनेका थिए – ‘अप्प दीपो भव’ अर्थात् आफ्नो दियो आफैं बन । बुद्धको यो उपदेशको आशय बृहद् छ । यसले मानवीय जीवनलाई पनि स्पर्श गर्न सक्छ । बुद्धको यो उपदेश एउटा दर्शन सूत्र हो । तर जे जे भने पनि त्यो अँध्यारो बिहान मैले मेरा मित्र रामेश्वरबाट प्रशस्त उज्यालो पाएको थिएँ यात्रामा । हामी खतरनाक चुली भीरको धारधारै उक्लिरह्यौ कहिले चार हात खुट्टा टेकेर त कहिले भीरका ढुङ्गाका आडमा लपक्क टाँसिएर । हिउँले बाटाको कठिनतालाई अझ उद्दीपन गरेको थियो ।

उक्ंिलदा उक्ंिलदै हामी हिउँको थाप्लामा पुग्यौं । भ्यू क्याम्प त्यही रहेछ । स्वर्गको बार्दलीमा पुगेको आभाष भयो । हामीलाई माछापुच्छ्रे (६९९३ मिटर) चिन्न कुनै अप्ठ्यारो परेन । माछाकै पुच्छरजस्तो भएकाले पनि यसको पहिचान सहज थियो । हिमश्रृङ्खलाको एउटा लहर देखियो । चिया बेच्ने भाइले साउथ अन्नपूर्ण र हिमचुली (६४४१ मिटर) चिनाइदिए । मर्दी हिमाल (५५८७ मिटर) पनि देखियो । मर्दी हिमाल माछापुच्छ्रे हिमालसँगै लुपुक्क टाँसिएको रहेछ । अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुली, सिंग चुली, टेन्ट पिक लगायतका हिमाल चियाउने अवसर पनि पाइयो । हामी जुन थाप्लामा थियौं त्यहाँबाट हिमालहरूलाई अँगालैमा बेरेर चुम्न सकिएला कि झैं लाग्थ्यो । हामी उभिएको हिउँको थाप्लो ४२०० मिटर उचाइमा रहेको थियो । मर्दी हिमाल बेस क्याम्प पुग्न त्यो थाप्लोबाट ३०० मिटर उक्लिनुपर्छ रे । ३०० मिटर उक्लिन ५ घण्टा लाग्ने पनि सुनियो तर यथार्थता भने बुझिएन । तर अहिले हिउँ र बाटाका अप्ठ्याराका कारण बेस क्याम्पतिर जान सकिंदैन रे । हामीले यान्त्रिक क्यामरामा केही फोटाहरू खिच्यौं तर मनका क्यामरामा आँखाका लेन्स जोडेर खिचिएका हिमालका गाला र चुलीका फोटाहरू हामीसँग हजारौंका संख्यामा छन् ।

हामी उभिएको हिउँको बार्दलीबाट हिमश्रृङ्खलाहरू निकै नजिक देखिए पनि त्यो बिन्दुबाट (भ्यू पोइन्टबाट) माछापुच्छ्रेको उचाइ २७९३ मिटर, मर्दी हिमाल १३८७ मिटर, अन्नपूर्ण र हिमचुली १२४१ मिटर अझ उचो छ । यी हिमालहरू आरोहीका लागि खुला छैनन् । सुनियो – धेरै अघि एउटा विदेशी पर्यटक माछापुच्छ्रेको आधाआधिसम्म (भ्यू पोइन्टबाट) बिना इजाजत उक्लिएको थियो रे ।

एउटै यात्राबाट अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, सिंग चुली, टेन्ट पिक, गङ्गापूर्ण, गन्धर्भ चुली, माछापुच्छ्रे, मर्दी लगायतका हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यो ट्रेकिङ स्वदेशी र विदेशी सबैको रुचिकेन्द्र बनेको रहेछ । आँखाले मात्र होइन हातैले स्पर्श गर्न सकिनेजस्तो लाग्छ यहाँबाट हिमाल । एक ठाउँ धेरै स्वादको परिचय बनेको यो ट्रेकिङ रुटमा स्थानीय जीवनका रङ्गीन इन्द्रेणी नियाल्न पनि मिल्छ । यो अध्येताहरूका लागि खुला किताब हो । मर्दी पदयात्राका इतिहासमा स्विस नागरिक बेसेललाई सम्झनुपर्छ रे । उनले सन् १९५६ मा मर्दी हिमालका तस्विर खिचेपछि यो क्षेत्रको प्रचार भएको हो रे । त्यतिखेर फरेस्ट क्याम्प, लो क्याम्प र हाइ क्याम्पमा भेडा र भैंसी राख्ने खर्क थिए रे ।

भ्यू क्याम्प छाड्न मन मानिरहेको थिएन । हिमाली सुन्दरताले हामीलाई मोहनी लगाइसकेको थियो । लाग्थ्यो – हिमाल कसैका आँखामा अनुपमा कुमारी त कसैका आँखामा कुमार बनेर झल्किरहेको थियो । युवतीहरू त्यसलाई वलिष्ट कुमार देख्थे भने युवकहरू सुन्दरी परीका रूपमा त्यसलाई नियालिरहेका थिए । कसैकसैले त हिमाललाई सेता फुलेका कपाल र अनुभवी मुहारमा तपस्यारत एक सिद्ध देखिरहेका थिए होलान् । जसले जे खोज्यो त्यही भेटिने मनचिन्ते पात्र पो रहेछ हिमाल ।

हामी ओर्लियौं हाइक्याम्पतिर । नास्ता तयार पारिसकेका रहेछन् सुदिपले । खायौं । नास्तामा अहिलेसम्म स्थानीयतालाई जोगाइएको रहेछ । फापर, कोदो र मैदा मिसाएर बनाइएको रोटी नास्ताको प्रमुख आकर्षण रहेछ त्यहाँ । नेपालीहरूका लागि प्याकेजका रूपमा एक छाक खाना, कालो चिया र नास्ता तोकेका रहेछन् होटलव्यवसायीहरूले । हामीले प्रतिव्यक्ति १२०० सम्म ति¥यौं प्याकेजलाई । बाटामा खच्चडहरूले ढाडमा ग्याँसका सिलिन्डर बोकेर उक्लिएका भेटिए । सीमामा मात्र अतिक्रमण भो भन्ने सोचेका थियौं गलत रहेछ । बिहानीका खानाले त्यो दिन हामीलाई लो क्याम्पमा स्वागत ग¥यो । हावा चल्न थाल्यो, पानी प¥यो र असिनाका मसिना दानाहरू बर्सिरहे । असिनाका ससाना दानाहरू मन्दिरहरूमा चढाइने चिनी मिठाइका सेता दानाजस्ता । पानी परिरहेकाले हामी लो क्याम्पमा नै बास बस्यौं । हाम्रो ट्राभल हिस्ट्रिले देखायो – १३ किलोमिटरको यात्रा तय गरेछौं त्यो दिन । अब भोलिपल्ट यहाँबाट उक्लिएको बाटो छाडेर सिदिङतिरको बाटो झर्नुछ । सिदिङतिरको बाटो कट्न कम्तीमा पनि ३ घण्टा लाग्छ रे ।

लो क्याम्पबाट ८ गते बिहान ६.१० बाट सिदिङको ओरालो सुरु भयो । ३ घण्टा लाग्छ भनिएको बाटो काट्न हामीलाई ३ घण्टा ४२ मिनेट लाग्यो । घना जंगलभित्रको निरन्तरको ठाडो ओरालो कत्ति सजिलो थिएन । तल ओर्लिंदा व्यवसायीहरूबाट स्थानीयका लागि भनेर छुट्याइएका २ वटा जीपहरू पनि हिंडिसकेछन् । रिजर्भका लागि ५५०० भनियो । ४ जनाले ६०० मा तय गरिने यात्रालाई ५५०० तिर्न हाम्रो मन मानेन । अझ ट्रेकिङको मज्जाले हामीलाई छाडिसकेको पनि थिएन । सिदिङबाट ८ किलोमिटर हिंडेपछि बस पाइने रहेछ । हामीले जीपको मोह छाडेर हिंड्ने तय ग¥यौं ।

सिदिङको नागीमा रहेको होम स्टे ८ गतेको बिहानीको भोजनस्थल बन्यो । थाहा नपाइकनै व्यवसायीहरूमाझ हामी धेरैपटक बेचियौं । किनकि हरेक नयाँ ठाउँ पुग्नु अगाडि नै हाम्रो हुलियासहितको परिचय पुगिसकेको हुन्थ्यो । सिदिङ नागीमा खाना खाने स्थानमा त्यस्तै भयो । होम स्टे कहाँ छ भनेर माथि एउटा केटालाई सोधेका मात्र थियौं । तल झर्दा होम स्टे मालिकले खाना तयार गरिसकेको बताए । हामीलाई माथि भेटेको केटाले कमिसनमा बेचिसकेछ । तर केटाले बेचेका ठाउँमा भने हामीले खाना खाएनौं । अर्कै होम स्टे मा खाना खाएर हामी लुम्रे पुग्यौं । लुम्रेसम्म जाँदा बाटामा कालीमाटी र घलेल गाउँ भेटियो । विकासका नाममा बाटाहरू बन्दै दिए । बाटो बनाउनेहरूमा स्थानीय जिल्लाभन्दा अन्य जिल्लाका मजदुरहरू भेटिए । त्यहाँबाट पारिपट्टि देखिने सुन्दर गाउँ तक्रु र पुरन्धुम रहेछन् । दृश्य सुन्दर र मनमोहक थियो । टम्म मिलेका घर, हरिया फाँट साँच्चै लोभलाग्दा थिए । लुम्रेमा बस भेटियो । लुम्रे – हेम्जा – हरिचोक हुँदै पोखराको लेकसाइटको ६ नम्बर रोड पुगेर बास बस्यौं । त्यो दिनको ट्राभल हिस्ट्रिले भन्यो – “तिमीहरूले आज १६.३ किलोमिटरको ट्रेकिङ दूरी तय ग¥यौ ।”

यात्रा सुरु गरेको छैटौं दिन हामी आआफ्ना घरमै आइपुग्यौं । तर हाम्रो संझनामा त्यो हिउँको थाप्लो निरन्तर आइरहेछ । अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, सिंग चुली, टेन्ट पिक, गङ्गापूर्ण, गन्धर्भ चुली, माछापुच्छ्रे, मर्दी हिमालहरूले सुसेली हालेर बोलाइरहेछन् हामीलाई । हुनसक्छ – तिनले पनि हामीलाई निधारमाथि हातको छाता ओढाएर खोजिरहेका होलान् । हाम्रो मन भनिरहेथ्यो – मर्दी ! तिमी अनन्त अनन्त बाँचिरहनू, माछापुच्छ्रे ! तिम्रो सुन्दरतामा कहिल्यै आँच नआओस्, अन्नपूर्ण र हिमचुली तिमीहरूका रसिला गालाहरू कहिल्यै चाउरी नपरुन् । अब हाम्रो भेट होला या नहोला जे भए पनि गुनासो नगर । तिमीसँग मायाले आँखा जुधाउन तिम्रा प्रेमीहरू निरन्तर धाइरहनेछन् तिम्रो अस्तित्व छउन्जेलसम्म ।