“परमात्मतत्त्वको वैज्ञानिक तवरमा निरुपणसमेत गरिएको आत्मज्ञानलाई कोरा सिद्धान्तका रूपमा मात्र नलिएर आदर्श जीवनपद्धतिका रूपमा नै स्थापित गरिनुपर्दछ” भन्ने श्रीकृष्णको मत रहेको तथ्य श्रीमद्भगवद्गीतामा सर्वत्र दृष्टिगोचर हुन्छ । त्यसैले यो ज्ञान अथवा विद्या (जसलाई वेदान्त पनि भन्ने गरिन्छ) सबै विद्या एवं सृष्टिका रहस्यहरूको पनि ‘राजा’ भएको यथार्थ श्रीकृष्णले अभिव्यक्त गरेका छन् । यो विद्या अत्युत्तम अनि परम वैज्ञानिक रहेको बताउँदै श्रीकृष्ण भन्दछन्ः
“राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् ।
प्रत्यक्षवगमं धम्र्यं सुसुखं कर्तुमव्ययम्” ।।भ.गी.९(२)।।
मनव जीवनको व्यावहारिक पक्षलाई समेत दृष्टिगत गरेर बोधगम्य अनि स्वयंमा नै प्रत्यक्षरूपमा नै प्रयोगयोग्य रहेको छ यो ज्ञान । धर्मानुकूल छ यो । लगनशील भएर लाग्ने व्यक्तिहरुका लागि सुलभ अनि सुपथ छ आत्मज्ञानको मार्ग । चित्तशुद्धि हुनासाथै खुल्दछ यसको द्वार । आत्मसाक्षात्कार गराएर जीवनमुक्त नै गराउने भएपछि त यसलाई स्थायी फल दिने अद्वितीय विद्या नभने के भन्ने र ?
सर्वप्रथम त सबै प्राणीहरुमा चेतनतत्त्वका रुपमा रहेको आत्मालाई नै चिन्नुपर्यो । आत्मचैतन्यविना त मानव देह प्रकृतिका जड अवयवहरुको निर्जीव पिण्डका रूपमा मात्र रहने तथ्य बुझ्नुपर्यो । त्यो ‘म’ (प्राणीहरुमा रहेको चेतना) अर्थात् आत्मतत्त्वको बोध भएपछि नै त्यस जीवनप्रकाशक आत्माको पनि मूल स्राेत परमात्मा (जसलाई श्रीकृष्णले ‘म’ भनेका छन्) लाई चिन्न सकिन्छ । आत्मज्ञानको परमलक्ष्य नै त्यही परमात्मतत्वको संप्राप्ति हो । सबै प्राणी अनि ती सबको निवास यो सृष्ट जगतको आधारका रूपमा रहेका परमात्मा सर्वव्यापक छन् । तर उनको सर्वव्यापकता भने अव्यक्तावस्थामा नै निहित छ । अझ अविनाशी छ त्यो परमात्मतत्त्व, अनि फेरि निराकार छ । उदाहरणका लागि, माटोको भाँडोको रचनाको स्राेत माटो अनि वाष्प इन्जिनको शक्तिको स्राेत वायु अव्यक्त भइकन पनि सर्वव्यापक रहेको स्वयंसिद्ध तथ्य रहे झैँ नै परमात्मतत्त्वको सर्वव्यापकताको पनि प्रमाण दिन सकिन्छ । त्यसैले श्रीकृष्ण भन्दछन् कि ‘म’ (परमात्मतत्त्व) मा नै सम्पूर्ण जगत आधारित छ ।
“मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना ।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः” ।।भ.गी.९(४)।।
यो कुरालाई अझै स्पष्ट पार्न उनी वायु एवं आकाशको उदाहरण दिन्छन् । जसरी संसारभर विचरण गर्ने वायु सदा आकाशमा नै स्थित रहेको हुन्छ, त्यसैगरी नै सबै प्राणी अनि तिनको जगत परमात्मामा नै अवस्थित रहेको हुन्छ ।
“यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान् ।
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय ” ।।भ.गी.९(६)।।
प्रकृतिका जड अवयवहरुमा चेतनाको सञ्चार गरेर सम्पूर्ण सृष्टिको रचना पटक पटक परमात्माले नै गरेका हुन्छन् भन्ने घोषणा पनि श्रीकृष्ण गर्दछन्ः
“प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात्” ।।भ.गी.९(८)।।
अनि त्यही परमात्मतत्त्वको अध्यक्षतामा नै यो चराचर जगतको उत्पत्ति भइरहेको हुन्छ ।
“मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते” ।।भ.गी.९(१०)।।
वेदकर्म, कर्मकाण्ड आदिका यज्ञविधि अनि पितृकर्महरुमा अर्पण गरिने अन्नजल, औषधी, मन्त्र, हवन, अग्नि आदि सबैको स्राेत एवं सारतत्त्व आत्मा (अनि परमात्मा) नै भएको दृष्टान्त जारी राख्दछन् श्रीकृष्ण । सम्पूर्ण जगतको माता, जनक, अनि पितामहकै स्वरूपमा रहेका परमात्मा ओमकारकै रूपमा नै रहेका छन् । अनि वेदरुपी ज्ञान पनि उनी नै हुन्, यही नै श्रीकृष्णको उद्घोष छः
“पिताहमस्य जगतो माता धाता पितामहः ।
वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुरेव च” ।।भ.गी.९(१७)।।
अझ व्यापकरूपमा परमात्मतत्त्वको विवेचन गर्दै श्रीकृष्ण भन्दछन् कि सूर्यको ताप, अनि वर्षाको निग्रह गर्ने तत्त्व पनि परमात्मा नै हो । अमृत–मृत्यु एवं सत्–असत् जस्ता अवस्थाहरु पनि परमात्माका अवयव नै हुन् ।
“तपाम्यहमहं वर्षं निगृह्णाम्युत्सृजामि च ।
अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन ” ।।भ.गी.९(१९)।।
फेरि, अचम्मलाग्दो तर पनि जान्न र बुझ्नैपर्ने तथ्य भने यो छ कि, यसरी सृष्टिकार्यमा अनि जगतैभरिका प्राणीहरुका चेतनाको अविछिन्न अनि अविचलित स्राेतका रूपमा रहँदारहँदै पनि त्यसको कर्मबन्धनमा भने कदापि पर्दैनन् परमात्मा ।
“न च मां तानि कर्माणि निबध्नन्ति धनंजय ।
उदासीनवदासीनमसक्तं तेषु कर्मसु” ।।भ.गी.९(९)।।
अब यस्ता परमात्माको बारेमा जान्नका लागि अनि यस्तो महत्वपूर्ण ज्ञान हासिल गर्नका लागि अत्यावश्यक गुणचाहिँ के हो त ?
यो सम्भावित जिज्ञासाको उत्तर श्रीकृष्णले आफैँले नै दिएका छन् ।
‘श्रद्धा’ मात्र नै हो परमात्मतत्त्वलाई जान्न अनि बुझ्नका लागि आवश्यक साधन । किनकि श्रद्धाहीन व्यक्तिहरुले परमात्मतत्त्व प्राप्ति या मुक्ति हासिल गर्न कदापि सक्दैनन् ।
“अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परंतप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवत्र्मनि” ।।भ.गी.९(३)।।
श्रद्धाहीन मूर्खहरू शरीरलाई नै ‘म’ अर्थात् ‘आफू’ ठान्दछन् । तिनले आत्मतत्त्वलाई नै चिन्दैनन् भने परमात्माको त के कुरा ? त्यसैले तिनीहरु परमात्माको अनादर गर्दछन् ।
“अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् ।
परं भावमजानन्तो मम भूतमहेश्वरम्” ।।भ.गी.९(११)।।
तर, श्रद्धावान्हरुको अनन्य भक्ति एवं निरन्तर चिन्तनले मात्र पनि तिनले परमात्माको कृपा पाउन सक्दछन् किनभने त्यस्ता व्यक्तिहरुको योग (आध्यामिक शक्ति) अनि क्षेम (परमानन्द) को जिम्मा परमात्माले नै लिने गर्दछन् ।
“अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्” ।।भ.गी.९(२२)।।
यस श्लोकलाई अर्को कोणबाट पनि विश्लेषण गर्न सकिन्छ । आध्यात्मिक उन्नति चाहनेहरुले त परमात्मतत्त्वको साक्षात्कार गर्नका लागि अनन्य उपासनाद्वारा नै सिद्धि हासिल गर्न सक्ने कुरा माथि नै बताइसकियो ।
तर भौतिक उन्नति गर्न चाहनेले पनि अनन्य भावले दिनरात मिहिनेत गर्न सकेमा उसको सफलता टाढा हुँदैन भन्ने तथ्य पनि यसै उद्धरणमा पाउन सकिन्छ । सङ्कल्पशक्ति अनि कर्मशीलताले नै इच्छित वस्तुको प्राप्ति (योग) अनि प्राप्त भएको वस्तुको सुरक्षा (क्षेम) हासिल हुन सक्दछ । अहिले गीतामा श्रीकृष्णको उद्गारका रूपमा आए तापनि व्यावहारिक जीवनमा समेत धुव्रसत्यका रूपमा नै यो तथ्य रहने कुरा निर्विवाद नै छ ।
अप्राप्त वस्तुको प्राप्ति (योग) अनि प्राप्त भएको वस्तुको स्थायीत्व (क्षेम) का लागि नै जीवनमा हरदम सङ्घर्ष गरिरहेको हुन्छ मान्छे । तर निरन्तर उद्यमशील अनि कर्तव्य पथमा अडिग रही आफ्नो यथोचित कर्ममा अनन्य भावले दत्तचित्त रहने व्यक्तिको योग र क्षेमको जिम्मा स्वयं जगतका आधार परमात्माले नै लिने कुराको प्रमाण गीता नै छ । अब अरु भन्नु नै के छ र ?
जानीनजानी तर श्रद्धापूर्वक अन्य देवताहरुलाई नै पुज्नेहरुले पनि अविधिपूर्वक नै भए पनि परमात्माको नै पूजा गरेको सरह मानिने तथ्य पनि श्रीकृष्ण नै बताउँदछन् ।
“येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विता ।
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम्” ।।भ.गी.९(२३)।।
देवता पुज्नेले देवता, पितृ मान्नेले पितृ, अनि भौतिक उन्नतिको कामना गर्नेले त्यसैअनुसारकै इच्छित वैभव प्राप्त गर्ने सुस्पष्ट विचार पनि छ श्रीकृष्णको । इन्द्रियसुखका लागि देवपूजा, पारिवारिक कल्याण अनि शुद्धताका लागि पितृयज्ञ, अनि प्राकृतिक अन्वेषण एवं वैज्ञानिक खोजका लागि जिज्ञासा अनि चिन्तनको आवश्यकता रहन्छ । “जसले जे चाहन्छ, त्यही नै पाउँछ”, यो श्रीकृष्णकै नै वचन हो । अनि परमात्मतत्त्व साधनाको उद्देश्य लिएरै ध्यान गर्नेहरुले चाहिँ परमतत्त्व अनि मुक्ति नै पाउँदछन् ।
“यान्ति देवव्रता देवान्पितृन्यान्ति पितृव्रताः ।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्” ।।भ.गी.९(२५)।।
परमात्मा उपासनाका लागि भौतिक वस्तु, धनसम्पत्तिको समर्पण, फोस्रो आडम्बरपूर्वक गरिने देखावटी खर्च केहीको पनि आवश्यकता छैन । गीतामा श्रीकृष्णले नै भनेका छन् कि श्रद्धापूर्वक गरिने फल, जल, पात, फूल आदिको अर्पणले नै मात्र पनि ईश्वरलाई प्रसन्न पार्न सकिन्छ ।
“पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपह्रतमश्नामि प्रयतात्मनः” ।।भ.गी.९(२६)।।
श्रद्धाको यत्ति ठूलो महत्त्व छ कि जतिसुकै दुराचारीले नै पनि अनन्यभावले परमात्मालाई भज्दछ भने ऊ चाँडै नै धर्मात्मा बन्दछ अनि शाश्वत शान्तिको प्राप्ति गर्दछ । श्रीकृष्ण ठोकुवा नै गरिदिन्छन् कि उनको (परमात्माको) भक्तको कहिल्यै पनि नाश हुँदैन ।
“क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति ।
कौन्तेय प्रति जानीहि न मे भक्तः प्रणश्यति” ।।भ.गी.९(३१)।।
अर्जुनलाई निमित्त बनाएर श्रीकृष्ण मानवजातिलाई नै परमात्मतत्त्वको साक्षात्कार गर्नका लागि आह्वान गर्दछन् ।
“जे काम गरे तापनि, जे खाए पनि, या तप दान आदि जुनसुकै कर्म गर्दा पनि, उनलाई (परमात्मालाई) नै अर्पण गरेर मात्र गरुन्” । यसो गर्दा कसैले पनि पक्कै पनि खराब चिताउने छैन, अनि त सबै कर्म शुभकर्म अनि ज्ञानप्रदायक या मुक्तिदायक बन्ने कुरामा कुनै पनि शङ्का नै रहन्न नि ।
“यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत् ।
यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम्” ।।भ.गी.९(२७)।।
श्रीमद्भगवद्गीताको नवौं अध्यायमा यसरी विस्तारपूर्वक गरिएको आत्मज्ञानको व्याख्याको उपसंहार गर्दै श्रीकृष्ण अर्जुनलाई भन्दछन्ः
“मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः” ।।भ.गी.९(३४)।।
परमात्मामा स्थिर मन लिएर परमात्माको पूजन अनि नमस्कार गर्दै परमात्मालाई नै परमलक्ष्य बनाउन सकेमा त्यो जीवमा अवस्थित आत्माले अन्ततः परमात्मा नै प्राप्ति गर्ने हो । अर्थात्, मुक्तिमार्ग नै त्यही नै हो ।
अनि यही नै त हो आत्मज्ञान भनौँ कि वेदान्तको सार ।
धुलिखेल अस्पतालमा कार्यरत मनोचिकित्सक डा. अजय रिसाल काठमाडौं विश्वविद्यालय, मानसिक रोग विभागका सह—प्राध्यापक हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।