भानुभक्त आचार्य नेपाली साहित्यको कुलदेवता हुन् भने अगमसिंह गिरी भारतीय नेपाली साहित्यको इष्टदेवता महाकाल बाबाको थानजतिकै पुजनीय छन्, साहित्यमा रुचि लिनेहरूका लागि । कुनैबेला उनले रचेको नौ लाखे तारा उदाए, धर्तीको आकास हाँसेछ’ दार्जीलिङमा राष्ट्रिय गानजतिकै लोकप्रिय थियो, अम्बर गुरुङको स्वर र सङ्गीतमा । सायद यो गीत भारतीय नेपाली र नेपाललाई जोड्ने कडी थियो सन् साठीको दशकमा । दार्जीलिङमा भएको धेरै आन्दलोनमा उनको कविताले उत्साह र जोश दिएको थियो ।

अगम  जिन्दाबाद – लोकप्रिय कविताका निम्ति;

अगम जिन्दाबाद- जातीयताका निम्ति;

अगम जिन्दाबाद- अस्तित्वको लडाइँका निम्ति।

अगमसिंह गिरीलाई दार्जीलिङ वा भारतीय नेपाली माझ मात्र सीमित राख्नु उनको विराट कवि व्यक्तित्वको अपमान गर्नु हो । तर पनि उनी फुत्किन सक्दैन दार्जीलिङको भुगोलबाट, चौरस्ताबाट, मोहब्बत गल्लीबाट, भानुभक्त स्कुलबाट र चोकबजारबाट । अगमसिंह गिरी अगम व्यक्तित्व हुन नेपाली साहित्यको, नेपाली वाङ्मयको, नेपाली जनजीवनको । प्रसिद्ध निबन्धकार शंकर लामिछाने गिरीको निधनपछि लेख्छन्, “अन्त्यमा, मलाई एउटै कुरा भन्नु छ । गिरीज्यूलाई सधैँ दार्जीलिङको राजदुतमा गनेको छु । उहाँले असफलताको दोष जसलाई थोपारेर पनि, अवस्थाको सुधार हुने होइन । गिरीपछि नेपालीत्वको त्यो झण्डा उचाल्ने को छ, दार्जिलिङमा ? त्यसको सूचना चाहियो मलाई । गिरी त गए । अस्वित्व बाँच्छ के ? मलाई जवाफ चाहियो ।”

सायद, यो जवाफ धेरैले खोजे पनि अहिलेसम्म कोही सफल भएजस्तो लाग्दैन । किनकि गिरीको जातिप्रेम निःस्वार्थ थियो । मान, सम्मान, पद र पैसासँग जोडिएको थिएन । र, यस्तो मान्छे पाउनु बिरलै छ अहिलेको दुनियाँमा ।

अगमसिंह गिरी

अगमलाई समयमा चिन्न सकेन भन्ने धेरैको ठम्याइँ छ, सायद समयले पनि चिन्न सकेन होला । हुन त उनकै समकालीन कवि वीरेन्द्र सुब्बा पनि एक्लै गुमनाम बिते, अनि केही समय अघि लेखक/कवि कर्ण थामीले पनि साहाराबिहिन एक्लै मृत्यु वर्णन गरे । यिनीहरु जस्तै धेरै छन् लेखक/कविहरु मेचीवारि मेचीपारि, जसले साहित्य कर्म त गरे तर फल अरु कसै खाइदिए संस्थाहरुको दोकान खोलेर ।

अगमसिंह गिरीको उदय सन् चालीसको दशकको माझमा भएकाे हाे, जुनबेला भारतीय नेपाली साहित्यको दोस्रो प्रहर सुरु हुन लागेको थियो । पहिलो प्रहरमा जागरणको कविताहरु छन्दमा लेख्ने, व्याकरण लेखे, नेपाली भाषालाई  विभिन्न स्कुल र कलेजहरुको पाठ्यक्रममा राख्ने प्रयासहरु भए । दोस्रो चरण कविता र आख्ययानमा प्रयोगात्मकताबाट सुरु भयो । उपन्यासमा लैनसिंह बाङ्देलको यथार्थवाद, शिवकुमार राई र इन्द्र सुन्दासको आञ्चलिकता र कवितामा वैचारिकताको बाहुल्यता र आयामिक आन्दोलनको प्रधानता । वस्तुता र सम्पूर्णतामा केही समय अल्मलाए कवि गिरी, कवि वीरेन्द्र, कवि गुमानसिंह चामलिङहरु । तर वैचारिक तिक्तता भए पनि इन्द्रबहादुर राईले गिरीको मृत्युअघिको अन्तिम खण्डकाव्य ‘युद्ध र योद्धा’ ( सन् १९७०) को भूमिकामा उनलाई प्रथम पङ्क्तिका कवि भनेर उनको उच्चतम् मूल्याङ्कन गरे । उनको अस्तित्वको स्वीकार गरे।

“एघार वर्ष आफूसँग राखेर मात्र ‘आँसु’ (सन् १९६८) प्रकाशित गर्ने गिरीले थालेको एघार दिनभित्र आएर भन्छन्, ‘युद्ध र योद्धा’ प्रकाशित गर्छु ।,” लेख्छन् भूमिकामा इन्द्रबहादुर ।

कुनै समय उत्तर बङ्गाल विश्वविद्यालयको स्नातकोत्तरको पाट्यक्रममा समावेश भएको कविता ‘नचिनिने भएछौ’ निकै सशक्त कविता हो कवि गिरीको, भावनात्मक र वैचारिक दुबै हिसाबबाट । गिरीको वैचारिक उचाईलाई उनको अल्प शिक्षाले छेकेन ।

तिमी ता यहाँ नचिनिने भएछौ ।

गालाका रगतहरू सुकिसकेछन्

आँखाका ज्योति सब हराइसकेछन्

तिमी ता रुँदा-रुँदै निदाएको बालकजस्तो

कठोर कारागारको यातनाभोगी विरक्त बन्दीजस्तो

गाँस खोसिएको बास लुटिएको विह्वल हतभागीजस्तो

कस्तो कस्तो भएछौ,

तिमी ता यहाँ नचिनिने भएछौ ।

अतीत गौरवले धपक्क बलेको अघिको चहकिलो अनुहारमा

ग्लानिका विषाक्त रेखाहरू कोरिएछन्

पहाडका वैशाखी वनमा

तिमी जङ्गलीफूल झै हँसिलो देखिन्थ्यौ

तर अब ता चेहरामा तिम्रा

विषादका काला धर्साहरू कोरिएछन्

चोटमा भुक्नु होइन बरु सहनु सिकेछौ

अब ता अर्कै अर्कै जस्तो भएछौ,

तिमी ता यहाँ नचिनिने भएछौ ।

‘तिमी को हौ’- चिनाउन आएको होइन म

वितेका गौरव- गाथा कहन आएको होइन म

तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म

सजिलै खोसिएको गाँस

हलुकै लुटिएको बास दिलाउन आएको होइन म

छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म

निर्धा आँसुका धारा हेर्न आएको होइन म

केवल तिमी ‘तिमी’ नै हौ कि चिन्न आएको म

तर, तिमी ता यहाँ नचिनिने भएछौ ।

यो कविता गिरीको वि.स. २०१६ मा प्रकाशित ‘आत्मव्यथा’ कवितासङ्ग्रहमा समावेश छ ।

प्रा. नरेशचन्द्र खाती आफ्नो लेख, ‘नचिनिने भएछौ’ कवितामा निहित जातीय चेतमा लेख्छन्, “यो कवितामा अतितको आत्मगौरवलाई खोजी हिँडेको भावभूमि छ ।आत्मगौरवसँगसँगै मनुष्यता जस्तो आदर्शसम्म छिन्नभिन्न रहेको व्यथा छ । पशुतुल्य जातीय जीविता छ । नचिनिने भएछौमा कविको विद्रोही भावभन्दा बढ्ता जातीय चेतअन्तर्गत समवेदना प्रार्दुभित छ ।,” यो कविताले प्रतिकात्मकरुपमा नेपाललाई इङ्कित गरेको केही जानकारहरुको बुझाइ रहेकाे छ ।

उनको अर्को कविता ‘मोहब्बत गल्ली’ लक्ष्मीप्रसाद देवकोटाको ‘भिखारी’ जस्तै मार्मिक छ । देवकोटाको कविता गरिबीलाई सामान्यीकरण गरेको छ भने गिरीले दार्जीलिङको चोकबजार भित्रको मोहब्बत गल्लीमा भारी बोक्ले नाम्ले (भरिया) को दुःखदायी जीवनको वर्णन गरेका छन् ।

एक नेपाली तामाङ कुल्ली मोहब्बत-गल्लीछेउ
चाकर गर्छ गुम्म लुकाई द्रवित मुटुको भेउ
मुख जुटाउने वैभव उसको एउटा हाते गाडी
हिउँद-बर्खा खट्दछ निशदिन जीवन भार उतारी
उसको ममता स्नेह मनको जीवन रसिलो छाया
पिच्छे जाँतो त्यही गल्लीमा उसको दिलको माया”

कवि अगमसिंह गिरीको कवित्वलाई नजिकबाटै चिनेका छन् मुर्धन्य लेखक राजनारायण प्रधानले । अरु समालोचकहरुले जस्तै साहित्यको सिद्धान्त र परिवेशको कसीमा विवेचना गर्दैनन् राजनारायणले कवि गिरीको कवित्व र काव्यलाई । ‘पीडामय अभिव्यञ्जना’ लेखमा राजनारायण लेख्नछन्, “नेपाली साहित्यमा कवि गिरीको छुट्टै र बेग्लै स्थान छ र यति मार्मिक वेदना-कविताहरु लेख्ने अर्को नेपाली कवि मैले जानेको छैन । भिक्षुमा पूरै हिन्दीको छायाबाद उत्रेको देख्छौ । तर गिरीमा हामी प्रभावहरु केलाउन असमर्थ हुन्छौँ र यही उनको विशिष्टता छ । उनका कविता बौद्धिकताले भाराक्रान्त छैनन्, ह्रदयका सरल तर मार्मिक उद्गराहरु हुन् । ‘जीवन र जगतका तिता-पीडा अनुभवहरुले छातीमा गहिरो भाव पारिदिँदा शून्य-शून्यमा एक्लै गुनगुनाएका’ तिनका कविताहरमा पीडाको सुर र वेदनाको राग हामी पाउछौँ । दुःखवादको चरम उत्कर्ष उनका काव्यमा हामी पाउछौँ ।”

अगमसिह गिरी मूलतः कवि हुन्, तर ‘नौलाखे तारा गीत’ले उनलाई नेपाली समाजमा कविताले भन्दा बढी चिनायो । राजा महेन्द्रदेखि सडकमा मातेर हिँड्ने हर्के र वीरेसम्म रमाए यो गीतमा । यो गीत गिरीको मात्र होइन, अम्बरको पनि परिचय बन्यो । सिग्नेचर ट्युन बन्यो ।

नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ

शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ

नजली यहाँ झिलिली मनको तारा निभेछ

गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ

नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको

काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको

सुनको सपना आँखामा किन हो बाँधिल्यायौ नि

घरको माया बिर्सेर किन पो यहाँ आयौ नि

मुटुको रगत एउटै हो, पीरको बह बेग्लै छ

हामीलाई यहाँ चिन्यौ कि मनको चोट बेग्लै छ

नियाली हेर हामीलाई भिजेको छैन परेला

आँसुले गह भिजाए, अरूलाई निर्धा सम्झेला

बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर

अरूको सारमा हाँसेको आँसुको घुट्का पिएर

पहाडी फूल नफक्री किन पो चुँडिल्यायौ नि

मनको आगो निभाउन किन पो यहाँ आयौ नि ।

यतिका मार्मिक गीत नेपालीमा सायदै लेखे होला कसैले; देश छुने, दिल छुने, दिमाग छुने, माटो छुने । यो एउटै गीतले कवि गिरी अब्बल दर्जाको गीतकार भए । अर्को गीत ‘सुन है सुन नेपाली’ले पनि दार्जीलिङको जनजीवनमा भोग्नु परेको पीडा सरलरुपमा वर्णन गरिएको छ ।

क्षणमा ओइली जाने फूलको

कसले रचेको सृष्टि

प्रतिपल जल्ने जीवन दीपमा

विधिको निर्मम  दृष्टि

बाँच्दछ जीव प्राण कुरेर

ओइलिसकेको फूलसरि

साँझ-समिरमा एक दिन जाला

मायामा यो देह झरी

 

निर्ममताले घाउ लगायो

ह्रदय छिन्न यहाँ

विकलित उरमा फूल नरोप

स्मृतिको चिन्ह वहाँ

सानै उमेरमा पढेको यो कविताको पङ्क्ति अझै पनि ताजा छ मेरो मानसपलटमा । ‘याद’ ( वि.स. २०१२) खण्डकाव्यबाट उद्धगृत यो कविता कुनै समय पाठ्यक्रममा नै थियो । यो कवित सानै उमेरमा मृत्यवरण गरेको प्रियजनको सम्झनामा लेखिएको हो । सरल तर वैचारिक गहनता, सरस तर वेदनायुक्त ।

अगमसिंह गिरीको नेपालसँगको सम्बन्ध प्रेमिल तर तिक्ततापूर्ण रह्यो । जुन १५ सन् १९६३ मा राजा महेन्द्रको बाहुलीबाट स्वर्ण पदक पाए ‘क्रन्दन’ कवितामार्फत् । त्यही अवसरमा  ‘श्री ५ महाराजाधिराजप्रति प्रवासको सद्भावना’ कविता रेडियो नेपालको कवि गोष्ठीमा पाठ गरियो ।

“प्रवासी हुँ तर नेपाली हुँ, अभिमान लिएर आएको छु,

श्री ५ हजुरका जन्म-दिवसमा, यो सम्मान लिएर आएको छु !!

भक्तिका दुई फूल चडाउन आएको छु, मेची तरेर आएको छु”

 गाँउ फर्क अभियानलाई सफल पार्न लक्ष्मण लोहनीको शब्दमा पुष्प नेपालीले ‘ फर्क है फर्क नेपाली, तिमीलाई डाक्छ हिमाली’ गीत गाए दार्जLलिङमा । त्यसकै प्रतिउत्तरमा लेखे गिरीले ‘सुन है सुन नेपाली’ गीत ।

“नडाक हिमाल हामीलाई अस्तित्व हाम्रो बिलाउँछ

नडाक पहाढ-पखेरो जातीत्व हाम्रो निदाउँछ

आँसुको माया छरेर मण्डकी कोशी नडाक

लेकाली डाँडा नडाक महाकाली मेची नडाक

हामीले यहाँ हेर्नुछ ब्युँझेको नीलो बिहानी

सुन है सुन नेपाली, हामीलाई डाक्छ हिमाली

आँसुको बिन्ती पोखेर रगतको माया सँगाली।

अम्बर गुरुङको सङ्गीतको यो गीत विरलै सुन्न पाइन्छ आजकल । अरुको जस्तै गिरीको कालजयी गीतहरु लोप हुने क्रममा छन् ।

कवि गिरीले ‘मेचीलाई बाटो सोधेर’ कवितामा पुर्खाको देशमा आफैँ आगन्तुक भएको भाव व्यक्त गरेका छन् । सायद यो नचिनिने भएछौ कविताको अर्को पाटो हुनसक्छ । कविमा नेपालप्रति असीम माया भए पनि भौगलिक र राजनैतिक कारणले भारतमा नै सङ्घर्ष गरेर बस्नुपर्ने बाध्यता उनको गीत र कवितामा प्रचुर मात्रमा पाउछौँ ।

टिस्टा, रङ्गित र रेली

धुपीडाँडाहरू यी

परिचित–परिचित

मेरा पहाड–पखेरा यी

सपना यहाँ कुण्ठित छन् यद्यपि

बिपना यहाँ लाञ्छित छन् यद्यपि

सौन्दर्य पनि पीडामय छ

पीडामा पनि एउटा मिठास छ

विह्रवलताभित्र आनन्द

आनन्दभित्र विह्रवलता

यो विस्तीर्ण हरियालीको चियाबारी

बिर्संदै–बिर्संदै सबैलाई

जब आफ्नै ठानी देशको सँघारभित्र पस्छु म

कतै–कतै अपरिचित–अपरिचित पाउँछु आफूलाई ।

पर्यटकजस्तो पाउँछु आफूलाई ।।

विगतका धमिला छापहरू

पहिल्याउँदै–पहिल्याउँदै

शून्य/एकाकी यात्रापथमा

माटा र ढुङ्गाहरू

पहाड र भन्ज्याङहरू

सेता–सेता हिउँका चुचुराहरू

कोशी र गण्डकी

मेची र महाकाली

पुराना अमिला व्यथाहरू

बोकेर उभिन्छन्

मेरा सारा विवशता बुझेर

अनि आफ्नै ठानी जब देशको माटो कुल्चन पुग्छु म

कतै–कतै अपरिचित–अपरिचित पाउँछु आफूलाई

— पर्यटक जस्तो पाउँछु आफूलाई।।

कवि गिरीको काव्य यात्रा छन्द र सरल लेखनबाट सुरु गरेर कालान्तरमा ओजस्वी र अर्थपूर्ण कवितामा उनले निपूर्णता हासिल गरेको पाउछौँ । यसै प्रसङ्गमा चुडामणि बन्धु साझा कविताको भूमिकामा लेख्छन्,” ‘आत्मा व्यथा’, नामक कवितासङ्ग्रह र ‘नौलाखे तारा उदाए’ जस्ता गीतले उनलाई कविका रुपमा देखाएका छवि बनेपछिका गद्यकविताबाट उनमा नवीन चेत र युगबोध थपिन्दै गएको आभास पाइन्छ ।”

कवि गिरीको युगचेतनाले दार्जीलिङमा हुने स्वअस्तित्वको लडाइँहरुमा सधैँ उर्जा थपिरह्यो । कवि गिरी बितेको सात वर्षपछि छापियो उनको कवितासङ्ग्रह जलेको प्रतिबिम्बः रोएको प्रतिध्वनि । यो पुस्तकले पश्चिम बङ्गाल सरकारले दिने भानु पुरस्कार पनि प्राप्त गर्यो  । यो सङ्ग्रहको सुरुमा नै राखिएको यी पङ्क्तिले  सन् १९८६ मा थालिएको गोर्खाल्यान्ड आन्दोलनमा सबैको रगत उमाल्ने काम गरेको थियो ।

ज्यूँनै व्यर्थ तर किन

चिसो खरानी बनेर

बाँचौ एकै क्षण तर यहाँ

अग्नि-ज्वाला जलेर

गिरीमाथि धेरैले लेखे, तर राजनारायण प्रधानले जस्तो चुस्त र दुरुस्त कमैले लेखेका होलान् । राजनारायण लेख्छन्,  “म गिरीको धेरै नजिक पुगेको थिएँ । उनको ह्रदयको अन्तर-कुन्तर छामेको थिएँ । र मैले पाएँ, गिरी पहिला नेपाली हुन् र अन्तमा पनि नेपाली हुन् । उनको शरीरमा विदेशी तत्त्व पसेन, नेपाली दौरा-सुरुवाल र नेपाली टोपी उनले छोडेनन् । हाम्रा छाप्राहरु, हाम्रा चियाबारी, यो धूपीका रूखहरु, यी पाखा-पखेरा, यो देवराली-लेकाली डाँडाहरु, नेपालीका थुम्का-थुम्की सबै-सबै गिरीलाई प्यारो थियो ।”

गिरीमाथि जति लेखे पनि थोरै हुन्छ । लेखक/सम्पादक विजयकुमार राईले अगमसिंह गिरी रचनावली नामक पुस्तक सम्पादन गरेका छन् र उक्त पुस्तकको चार ठेलीमा गिरीको सम्पूर्ण कृति र उनमाथि लेखिएका लेखहरु सङ्ग्रहित छ । निर्माण प्रकाशन सिक्किमद्वारा प्रकाशित उक्त पुस्तक गिरीप्रतिको ठूलो सम्मान मात्र होइन, भावी पुस्तालाई गिरीको कवित्व चिनाउने एउटा दस्ताबेज पनि हो । विजयकुमार राईलगायत चन्द्र शर्मा (सम्पादक, हाम्रो अस्तित्व) र प्रा. सुजाता रानी राईको भागिरथ प्रयासले कवि गिरीलाई जीवित राखे, उनका कृतिहरुमार्फत् । चन्द्र शर्माले कवि गिरीको अवसान पछि ‘हाम्रो अस्तित्व’मा गिरी विशेषाङ्क निकालेर गिरीको साहित्यिक योगदानको सही मूल्याङ्कन गरेका थिए त्योबेलामा नै ।

नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले वि.स. २०६० मा कवि तथा कथाकार भाउपन्थीद्वारा लिखित कविकोश प्रकाशमा ल्यायाे । उक्त कोशमा कवि भाउपन्थी गिरीबारे लेख्छन्, “कवि गिरी गद्य र पद्य रचनाकार हुन् । उनले नेपाली राष्ट्रियताले भरिपूर्ण अनेक गीतिकविता र कवितात्मक गीत, कविता र काव्यहरु रचना गरेका छन् । उनेले चौध वर्षको सानै उमेरदेखि कविता लेख्न थालेका हुन् । आफ्ना समयका एक सशक्त कवि मानिएका अगमसिंह गिरी लामो आयु बाँच्न सकेनन् । उनको जन्म २७ दिसम्बर १९२७ र निधन  ३१ जनवरी १९७१ मा दार्जीलिङमा नै भयो । बयालीस वर्षको अल्पायु जीवन बाँचे पनि यिनले आफ्ना धेरै दीर्घजीवि कवितासङग्रह, खण्डकाव्य र गीतहरु नेपाली साहित्यको भण्डारलाई दिएर गएका छन् ।”

कवि गिरीको निकै सबल, सशक्त र चेतनामूलक खण्डकाव्य मलाई ‘युद्ध र योद्धा’ लाग्छ । गिरी प्रश्न गर्छन् – नेपालीहरुले विगतमा लडेको यु्द्धहरु कसकाे निम्ति र किन लडेका थिए ? कवि गिरीले उठाएको यो प्रश्न अहिले पनि अनुत्तरित छ- नेपालमा पनि, नेपालबाहिर पनि ।

यो खण्डकाव्यभित्रका मलाई मन परेको पङ्क्तिहरुः

 तिम्रो समर्पण थियो; सपमा थिएन

तिम्रो विर्सजन थियो; विपना थिएन

तिम्रो उत्सर्ग थियो; उद्देश्य थिएन

आकांक्षाहरुमा तिम्रा

युद्ध बोलेको थिएन

प्रज्जवल मुखाकृतिमा तिम्रो

युद्ध लिपिएको थिएन

आँखाहरुमा तिम्रा

युद्धका झरिला चाहना छरिएका थिएनन्

युद्ध त्यो, आफ्नै युद्ध थिएन तिम्रो

तिमीले त आफूभित्रको आफूलाई मारेर

आफ्नै चिहनामाथि ब्युँझनु परेको थियो

तिमीले त हत्या आफ्नै गरिसकेका थियौ

प्रहार खुकुरीको शत्रुमाथि गर्नअघि नै

स्वतन्त्रता हिमालको तिम्रो

बेचिदिएका थिए अघि नै

स्वार्थमा सामन्तीहरुले

किनिएका थियो अहो !

यो कविता प्रकाशित भएको ५० वर्षपछि पनि काठमाडौं र पोखाराको सडकभरि बिहानबिहानै बेलायती सेनामा भर्ना हुनको निम्ति  युवाहरु दौडेको देख्दा लाग्छ, नेपालीहरुको नियति नै अरुको निम्ति लड्नु रहेछ । नेपाली साहित्यमा युद्धमाथि लेखिएको यति उत्कृष्ट काव्य बिरलै होला ।

गिरीको बहुमुखी प्रतिभा, उनले साहित्यको विभिन्र विधामा कलम चलाएकोबाट नै पुष्टि हुन्छ । कथा थोरै लेखे तर राम्रा लेखे, स्वैरकल्पनाबाट धेरै पर तर समाजमा विद्यमान विकृति र विसङ्गतिको धेरै नजिक । उनको कथाकारिताबारे प्रसिद्ध कथाकार शरद छेत्री लेख्छन्, “तिनका कथाहरुमा विशेषतः समाजको चित्रण, समस्या, राजनैतिक दाउपेच असङ्लग्न सोझा पाहाडवासीको चित्रण, क्षितिजवरिपरिका अन्धकार सङ्कुचनमा शिक्षा तथा आर्थिक प्रकाशको कमीमा विवश सहआत्माको चित्कार इत्यादि समयानुकूल तत्त्वहरु एकातिर समाविष्ट छन् भने अर्कोतिर त्यस्तै कथामा रहस्योद्घाटनको चमत्कारिताले पाठकलाई प्रभावित पार्नेखालका पनि छन् ।”

कवि गिरीले कथाकार भवानी भिक्षुको कथा ‘त्यो फेरि फर्केला ?’ को नाटकीकरण गरे तापनि उनको मृत्युको ४ वर्ष पछि मात्रै मन्चन हुन पायो । यो नाटक निकै चलेको जानकारहरु बताउछन् ।

कवि गिरीले बाँचेको युग र अहिलेको युगमा एउटा फरक छ- गिरीको लडाइँ जिजीविषाको थियो, आक्रोश कवितामा थियो, कलमको लडाइँ थियो । अहिलेको लडाइँ राजनितिको लडाइँ, चलखेलको लडाइँ, खुकुरी र बन्दुकको लडाइँ । गिरीमा निष्ठा, एकचित्तता, वैचारिक एकरूपता, आत्मविश्वास, लगनशीलता, इमानदारिता थियो, त्यसैलै गिरी आदर्णिय छन् । पुज्यनीय छन् ।

गिरी सम्पादनमा पनि पोख्त थिए भन्ने कुरा उनले सम्पादन गरेको कमल, आँखा, दियालो, हाम्रो अस्तित्वलगायतका पुस्तकबाटै थाहा लाग्छ । उनले दियालोको हाँगा ३२ देखि ३७ सम्म सम्पादन गरे । नेपाली साहित्य सम्मेलनको गतिविधिमा त्यति सक्रिय नदेखिए पनि  २९ मार्व १९७० मा सम्मेलनले भाषा आन्दोलनलाई सशक्तता दिनको निम्ति एउटा उपसमिति गठन गरेर त्यसकाे सदस्यमा पारसमणि प्रधान, तुलसीबहादुर छेत्रिसँगै अगमसिंह गिरी पनि मनोनित भएका थिए । दियालो पत्रिकाको प्रवेशाङ्कमा नै गिरीको पत्करको क्रन्दन  कविता प्रकाशित भएको तथ्य फेला परेको छ । वनारशबाट प्रकाशित हुने उदयको विभिन्न अङ्कमा गिरीको कविताहरु प्रकाशित भएको पाउछौँ । पारसमणि प्रधानको सम्पादनमा प्रकाशित हुने भारतीमा त नहुने कुरै थिएन । भारतीमा ‘याद’ खण्डकाव्यको ठूलो विज्ञापन छापेको पनि देख्न सक्छौँ ।

अगमसिंह गिरीले नेपाली साहित्यलाई दिएको योगदानबारेमा सम्पूर्ण चर्चा गर्न यहाँ असम्भव छ। गिरीको काव्यसाधनालाई विषय बनाएर जीवन नामदुङले सन् १९९४ मा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि नै गरेर ‘अगमसिंह गिरीका कविताको अध्ययन र आधार’ नामक ३२५ पृष्ट लामो पुस्तकै प्रकाशित गरे ।

कवि गिरीको समावेश नभएको सायदै साहित्यिक पत्रिका होलान्, नेपालमा अनि भारतमा । उनीमाथि प्रायः नाम चलेका सबै समालोचकहरुले लेखे । उनको मूर्ति बन्यो । उनको नाममा ठूलो राशिको पुरस्कार पनि स्थापना गरियो । मेचीवारि र पारि दुबै ठाँउमा उनी पुज्यनीय छन् । यस अर्थमा उनका समकालीक साहित्यकारभन्दा उनी निकै भाग्यमानी ठहरिए ।  छोटो उमेर लिएर आएका कवि गिरी सायद उनले नै लेखेको ‘मेरो बँचाइको एक दिन’ शीर्षकको कविताले उनको जीवनलाई चरितार्थ गर्छ ।

मलाई बाँच्न यहाँ—

एउटै दिन भए पुग्छ ।

धेरै वर्ष फुलेको

अल्छी आयु

निष्क्रियताले निलेको

निश्चल/सुषुप्त/अकर्मण्य

चाहिएन बूढा दिनहरू

निदालु आकाङ्क्षा

खोक्रा उत्तेजना

अल्छे आशा

लिएर उभिने घातक क्षणहरू

दुश्चिन्ता, विरक्ति, व्यथैव्यथा

ओसारी–ओसारी ल्याउने

चाहिएन छिमलिएका थुप्रै बेलाहरू

मलाई बाँच्न यहाँ—

एउटै दिन भए पुग्छ ।

मेरा एउटै–एउटै दिन

सकारात्मक सपना बोकेर आऊन्

जीवनको शाश्वत परिपूर्णता लिएर

मेरो बँचाइलाई

अर्थ दिन आऊन्

हजार व्यर्थक्षणहरूको

लङ्गडो उपस्थितिलाई हुत्याएर

मेरो सबल अस्तित्वको

अर्थपूर्णता फुकाल्न आऊन्

स्वागत छ त्यही प्यारो एक दिनलाई

चाहिएन मलाई श्मशानका

रोदन बोकेका मुर्दा मुहूर्तहरू

मलाई बाँच्न यहाँ—

एउटै दिन भए पुग्छ ।

मैले कविताका पङ्क्तिहरू

कोरकार पारेको

एउटा अमूल्य क्षण

यदि छ भने मसँग बाँचोस्

काव्यका सुन्दर हरफहरू पढेको

एउटा रोचक मुहूर्त

यदि छ भने मसँग बाँचोस्

मैले मेरो जातिलाई सक्रिय माया जनाएको

एउटा अर्थपूर्णबेला

यदि छ भने मसँग बाँचोस्

मैले असहायहरूलाई दिएको

एउटा मिठो दिन

यदि छ भने मसँग बाँचोस्

चाहिएन मलाई सपनाहरूमै रँगाल्न लाउने

खुइलिएका दिन र नाङ्गिएका रातहरू

मलाई बाँच्न यहाँ—

एउटै दिन, फगत एउटै दिन भए पुग्छ ।