आज म सानो गमलामा फूल रोप्न माटो तयार पार्दै थिएँ, हातमा माटाको मिठो बास्ना आयो । मैले माटालाई सोधेँ तिमी के हौ ? बुरबुरे माटो मुसुक्क मुस्कायो र उसको उत्तर आफ्नै सुगन्धलाई सोध्न भन्यो । मैले माटाको सुगन्धलाई माटो के हो भन्ने प्रश्न गर्नासाथ ऊ मेरो अन्तर्हृदयमा पसेर भन्न थाल्यो : माटाको महिमा बुझ्नु सृष्टि, पृथ्वी र आफूलाई बुझ्नु हो । ऊ भन्दै थियो, म सुनिरहेँ ।
माटो प्राणी र वनस्पति जीवनको आधार हो । माटाबाटै जीवको उत्पत्ति हुन्छ । अस्तित्वको मूल्य आर्जन हुन्छ । उत्पादन र आविष्कारको आधार माटो हो । माटोबिना मानव अस्तित्वको कल्पना हुँदैन, राष्ट्रियता र मानवता हुँदैन । यो मानव पहिचान हो । संसारलाई जोडेर पहिचान दिने आधार हो । सबै जीव र वनस्पतिले पनि पहिचानका लागि माटाको आधार खोज्छन् । धानलाई पाँगो र खर्बुजालाई बालुवाले पहिचान दिन्छ । कमललाई हिलो र सिउँडीलाई रुखोले पहिचान दिन्छ । माटाले अनाज, दलहन, तेलहन, कन्दमूल, फलफूल, तरकारी, घाँसपात आदि दिएर जीवन चलाइदिन्छ । प्रकृतिले र मानिसले मात्र माटालाई संरक्षण गर्न सक्छन् । माटाको परिवर्तित सृष्टि केवल मानिसले गर्छ त्यसैले माटो विशेष छ । यो अस्तित्व धान्ने असली सम्पत्ति हो, विश्वको साझा सम्पदा हो । प्रकृतिबाट प्राप्त महान् उपहार हो । यसले सधैँ दिन्छ, लिन कहिल्यै जान्दैन । मानिसले माटोबाट आफू बाँचेर अरूलाई बचाउने दानप्रियता शिरोपर गर्नुपर्छ । माटालाई पहिचानको सृष्टि र सम्मानको दृष्टिले सजाउन सक्नुपर्छ ।
प्रकृतिको लगानी माटामा हुन्छ । कसैले नरोपे पनि हरियाली हुन्छ, मानिसले नपाले पनि जीव रहन्छन् । यिनको सृष्टि पनि निरन्तर हुन्छ । पारिस्थितिकी चलिरहन्छ । सृष्टिको विनाश मानव र मानवीय कार्यकलापबाट मात्र हुन्छ । मानिसले जीवनमा लगानी गर्नु छ भने माटामा गर्नुपर्छ । माटो फालिने फोहोर होइन, हाम्रो जीवनको पवित्रता हो । माटाले घर बन्छ, घर पोतिन्छ । मूर्ति बन्छ र पुजिन्छ । चन्दनका रूपमा लेपन हुन्छ । माटो जन्म र मृत्युको अनिवार्यताका रूपमा रहन्छ । माटालाई माया नगर्नेले पृथ्वी र आस्थालाई माया गर्दैन । माटो ममत्वको पहिलो स्रोत हो । यो सबै धर्म, जात र वर्गभन्दा माथिको समानता हो । आधुनिक समावेशीकरणको सिद्धान्त बीज हो । यसले सबै वर्गको सृष्टि गर्छ र अन्त्यमा सबैलाई आफैँमा समाहित गर्छ । माटालाई हेला गर्नेहरू आफैँ अपमानित हुन्छन् । संसारका सबै आधुनिक प्राप्ति माटाकै उपज हुन्, माटाकै परिवर्तित रूप हुन् । माटो यन्त्र बनेर हावामा उड्न, पानीमा तैरिन र माटामै गुड्न सक्छ । शिरमा, गलामा र नाडीमा सजिन सक्छ । हामीले जे गर्यौँ भनेर गर्व गरेका छौँ, प्रकारान्तरले त्यो माटाको प्राप्ति हो । माटो अनन्त गर्भ हो । पौरखी हात र मन माटामा खेल्छन्, रमाउँछन् र जीवनको सुवासलाई माटाको सुगन्ध झैँ सुवासित पार्छन् । अन्तर्हृदय बोलिरह्यो, मैले टेकेको धर्ती हाम्रो इतिहास, संस्कृति र सभ्यताको साक्षी हो । मेरो पहिचानको शिखर हो ।
मनले भनिरह्यो माटाको हरेक कणमा जीवनको रहस्य हुन्छ र यसको मर्म बुझाइमा जीवनको अर्थ हुन्छ । माटो सिर्जनाको सुरु र अन्तिम माध्यम हो, भविष्यको आशा हो । यसले हुर्काउन, बढाउन पोषण दिन्छ र अन्त्यमा अँगालो हालेर चिर निद्रामा लीन गराउँछ । माटामा अँध्यारो र उज्यालो दुवै विशिष्टता छन् । अँध्यारोबाट सृष्टि र उज्यालोबाट दृष्टि उजिलिन्छ । माटोबिना जीवनको फूल फुल्दैन, फल लाग्दैन, रस भरिँदैन । यो धैर्य, नम्रता, प्रतीक्षा र सन्तुष्टि सिकाउने गुरु हो, जति खोतलिन्छ, त्यति समृद्ध हुन्छ । माटो साझा आस्थामा सम्मानित छ । संसारभरका मानिसका लागि प्रिय छ ।
मानिसले आफूलाई सम्मान गर्न सिकाउने होइन, सम्मानित हुने काम गर्नुपर्छ । माटाले यही सिकाउँछ । माटाको सम्मान गर्नु आफू र देशको आत्माको सम्मान गर्नु हो । जन्मदेखि मृत्युपर्यन्त रहने जीवनको निरन्तरता हो । जन्मँदा र मर्दा पाइने आश्रयको सम्मान हो । इमान हो । अनमोल स्रोतको संरक्षण हो । माटो नष्ट हुनु मानवता नष्ट हुनु हो, राष्ट्रियता र अस्तित्व नष्ट हुनु हो । हामी आफ्नो अस्तित्व नष्ट गर्न सक्दैनौँ, माटो चिन्नु पहिलो कर्तव्य हो ।
मैले मनलाई सोधेँ माटामा गरिने लगानी के हो ? हृदय बोल्यो, माटाको लगानी भविष्यको सौन्दर्य हो । अनिश्चितताभित्रको मुस्कान हो । माटाले कहिल्यै धोका दिँदैन र बदलामा केही लिँदैन । माटामा बिउ रोप्ने हात भविष्य निर्माण गर्ने सर्जक हुन् । माटामा पोखिने पौरख अलौकिक आविष्कार हो । माटो सोच र आत्मालाई स्थिर बनाउने आत्मनिर्भरताको प्रतीक हो । जीवनको मौन सङ्गीत र फूलको सुगन्ध हो । मनोशान्तिका लागि सुन्न र आनन्दित हुन सिके पुग्छ । माटाको स्वर र सुगन्ध चिन्नेले आफूलाई अमर बनाउँछ ।
माटो जीवनको स्थायी मित्र हो । जन्मनुअघिदेखि मृत्युपछिसम्म यो मित्र नै रहन्छ । यसले सन्तुलनमा बस्न बानी पारेर श्रम र मेहनतको मूल्य सिकाउँछ । खन्दा, जोत्दा, भिजाउँदा, जलाउँदा, सार्दा, तान्दा यसले प्रतिवाद गर्दैन । प्रतिकार र प्रतिवाद त मानिसले मात्र सिकेका हुन्, माटामा यसका विशेषता छैनन् । मानव बन्न र भविष्य जोगाउन माटो पढ्नुपर्छ । माटो प्रदूषित भए मानवता कमजोर हुन्छ, पहिचान कमजोर हुन्छ । माटो संस्कृतिको पहिलो पुस्तक हो । सहनशीलताको प्रतीक हो । पैताला राख्न आधार दिने माटालाई शिरमा राख्न सिक्नुपर्छ ।
मौन र गहिरो सौन्दर्य बोक्ने माटामा पुनर्जन्मको रहस्य हुन्छ । यसले बीजलाई बोट र बोटलाई बीज बनाउन सक्छ । दुर्गन्धलाई सुगन्ध बनाउन सक्छ । पाञ्चभौतिक तत्त्व होस् वा प्रकृतिको उपहार माटो धर्म र विज्ञानको सङ्गम हो । माटो दुर्गुणनाशक औषधी हो । माटामा अद्भुत सृष्टि र सबै जीवलाई हेर्ने समान दृष्टि हुन्छ । माटो आराध्य तत्त्व हो, मनमा सजिनुपर्छ । मुटुमा विनम्रता उमार्ने कल्पवृक्ष हो, बलेँसीमा जोगिनुपर्छ । माटो नजिक जानु प्रकृतिको नजिक पुग्नु हो । सच्चा जीवन बाँच्न सिक्नु हो । आमाको वात्सल्य बुझ्न सक्नु हो ।
माटो सोचलाई स्थायित्व दिने जन्म, वृद्धि, मरणको जीवन चक्र हो । कृषिको आत्मा हो, विकासको साध्य हो । यसलाई आत्मसात् गर्नु मानवीय धर्म हो । माटाको उपयोग दिगो विकासको लक्ष्य हो । अन्न र प्राण सुरक्षा हो । भविष्य लेख्ने पुर्खाको आशीर्वाद हो । सन्ततिको मुस्कान हो । माटो समाज र जीवन जोड्ने सूत्र हो, चुँडाउनु हुँदैन । हामी माटाका सन्तान हौँ । माटामा बसेको बिउ आशाको प्रतीक र माटाको सम्मान सुरक्षित सपना हो । सपना हाम्रो संरक्षण, स्नेह र जिम्मेवारीको बोध हो । हाम्रो अस्तित्वप्रतिको सम्मान हो । आफूले आफ्नो अस्तित्व मासिएको हेर्नु आत्महत्याको प्रदर्शनी हो । प्रकृतिले जति माटो दिएको छ, त्यसलाई बढाउन वा घटाउन सकिँदैन । केवल संरक्षण गरे यसैले हाम्रा आवश्यकता पूरा गर्ने सृष्टि गर्छ । माटाले हामीलाई चाहिने सबै वस्तु दिन सक्छ केवल दृष्टि फराकिलो भए पुग्छ ।
माटो दिन जान्ने तर लिन नजान्ने प्रकृति हो । माटाको पढाइ सृष्टिको निरन्तरता र दृष्टिको क्षितिज हो । म माटो पढ्न चाहन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










