दूधले जोडेको सम्बन्धलाई पनि अंशले फुटाएको किन होला ? बाँच्न सिकाउने आमाको दूध र मर्न-मार्नसम्म तयार बनाउने बाबुको अंशमध्ये ठूलो कुन होला ?

अरू बेला साँझको नौ बजेसम्म भान्सामै हराउने मेरी आमा त्यो साँझ खाना खाइनसक्दै आफ्नो कोठामा पस्नुभयो ।

साउन आँगनमा थियो । असार दलिनमा बसी घरी बाहिर त घरी भित्र हेरिबस्थ्यो । असार दलिन छोडेर आँगनमा नआएसम्म साउनलाई घरभित्र पस्ने अनुमति थिएन, त्यो उसलाई पनि थाहा थियो ।

रोपाइँको मैझारो नै त होइन, तर ठूलो रोपाइँको भने अन्तिम दिन थियो त्यो । मैझारोका लागि साँचेर राखिएको थियो ब्याड र घाँस खुट्टी । अघिल्लो साल मात्र कान्छी दिदीको विवाह भएकाले आमालाई रोपाइँमा साथ दिने घरभित्रबाट कोही थिएन । म र मेनुका त साना भइहाल्यौं । अर्मपर्म गरेर सक्नुपर्ने थियो रोपाइँ । र, ब्याड र घाँस खुट्टीलाई छोडेर सकियो पनि अर्मपर्ममै ।

हतार-हतार रोपाइँ सक्नुको मुख्य कारण भने अर्कै थियो । आमाको पेट ! अझ प्रष्ट भनिदिन्छु, आमाको पेटभित्रको मान्छे !

आमाको पेटभित्र मजस्तो मान्छे थियो या मेनुकाजस्तो ? बुवालाई थाहा थियो कि ! तर अहँ, मलाई थाहा थिएन ।

बिहानदेखि नै चर्को घाम लागेको थियो । बर्खामास बिहानै चर्को घाम लाग्यो भने बुझ्नुपर्छ – साँझसम्ममा पानी दर्किनेवाला छ । तर बिहानले साँझ पर्नु परेन । दिउँसै दुईलट पानीले दर्किन भ्याइहाल्यो । पानी जति चोटि दर्किए  पनि बर्खामास जाडोको मौसम कदापि होइन । गर्मी उर्खमाउलो नै थियो । आकाशबाट दर्किएको पानीले भने खेतका गह्रामा जमेको तातो पानीलाई शान्त बनाइरहेको हुन्थ्यो । पानी शान्त हुनु भनेको रोपार, हली तथा हल गोरोका लागि स्वर्गबराबर हो ।

त्यो दिनको रोपाइँ भने दिउँसै सकियो । साँझको पाँच बजे नै ।

बर्खाको धमाधममा साँझको पाँच बज्नु भनेको साँझ पर्नु कदापि होइन । बिहानको पाँच बजेदेखि साँझको सात बजेसम्म मेलोमै दलिनुको व्यस्ततालाई पाँच बजे नै केको साँझ पर्नु र ! तर त्यो दिनको रोपाइँ भने दिउँसै सकियो । साँझको पाँच बजे नै ।

कान्छी दिदीको बिहे भएपछिको पहिलो रोपाइँ । घरको रोपाइँ केही दिनअघि नै सकेर ठूली दिदी (फुपू दिदी) ले छोरी बाबालाई पठाइदिनुभएको थियो, आमालाई सघाउन । चियाखाजामै भए पनि सहयोग हुन्छ भनेर ।

बाबा दिदीलाई लिएर ठूली दिदी नै आउनु भएको थियो । र, फर्किनेबेलामा बाबा दिदीलाई भन्नुभएको थियो, “तँ यहीं बसेर माइजूलाई सघा । दुई जिउकी छे । आज हो कि भोलि ? थाहा छैन । चियाखाजा सघाइस् भने पनि धेरै हुन्छ ।”

हुन पनि हो, आमाको पेट गाउँमै सबैको भन्दा ठूलो भएको थियो । पेट ढल्काएर खच्याकखच्याक गर्दै हिंड्ने डेफू हजुरबाको भन्दा पनि ठूलो । खाटबाट चर्पी जान मात्र ओर्लने लिङ्देन थेतेको भन्दा पनि ठूलो । मैले डेफू हजुरबा र थेते कहिल्यै त्यसरी निहुरेको देखिन् जसरी आमा धान रोप्दा अरूसँगै मच्चिंदै निहुरिनुहुन्थ्यो । त्यति ठूलो पेटलाई कहाँ लुकाएर आमा धान रोप्नलाई निहुरिनुहुन्थ्यो कुन्नि ?

एउटा मान्छे दुई जिउको पो कसरी हुन्छ ? फेरि किन आमा नै दुई जिउको ? बुवा किन सधैं एक जिउको ? मलाई थाहा थिएन ।

पाँच बजे नै रोपाइँ सकिएकाले साँझको सात बज्दा नबज्दा हामीले त्यो साँझ खाना खाइसकेका थियौं । खाना खाइसकेपछि म, मेनुका र बाबा दिदी कि त अन्ताक्षरी खेल्दै कि त चोरपुलिस खेल्दै बीच कोठामा गुजुल्टिन्थ्यौं । आमा र बुवा तलपट्टि नै केही समय अलमलिनुहुन्थ्यो । अङ्कल भने गाउँको सयरमा वा बुवाको आदेशबमोजिम रोपार तथा हलीहरूको मेलोमेसोमा निक्लिनुहुन्थ्यो। रातको खै कति खेर फर्किनुहुन्थ्यो ? हामी निदाइसकेका हुन्थ्यौं ।

बीच कोठामा दुईवटा खाट थिए काठको । जाडोमा मेनुका र म एउटैमा सुत्थ्यौं । दुइटा सिरक खापेर । धेरै पाहुना आएमा हामी पनि बुवा र आमाको कोठा पुग्थ्यौं ।

उहाँहरूको कोठा पूर्वपट्टि थियो । बीचकोठा भएर जानुपर्ने । पश्चिमको भण्डार कोठा पनि बीचकोठा भएर जान मिल्थ्यो, जहाँ भगवान मात्र सुत्थे । बाहिरको बरण्डा कोठामा भने अ‌ङ्कलको एकछत्र राज थियो ।

बीचकोठामा बसेर हामी स्वर मच्चाइरहेकाहरूलाई आमाले झर्केर हल्ला नगर्न भनेपछि भने थाहा लाग्यो आज उहाँलाई सन्चो छैन ।

आमा कोठामा आएको केहीबेरमा बुवा पनि कोठामा छिर्नुभयो । र, आमालाई भन्नुभयो, “रामे बोलाउन गाको छ । आएपछि डाक्टर डाक्न पठाउँला । अलि दरी हो । जीउ नछोड् ।”

नभन्दै केहीबेरमै बीचकोठामा “गाह्रो भयो के हो ठूलीलाई ?” भन्दै अधिकार्नी ठूलीमा पस्नुभयो । उहाँ पूर्वको कोठामा आमाछेउ पुगेपछि बुवा बाहिर निस्कनुभयो । केहीबेरमै ढकाल्नी ठूलीमा र काफ्लेनी हजुरामा पनि आइपुग्नु भयो । र, सँगै अङ्कल पनि देखिनुभयो ।

बीचकोठामा एकअर्काको अनुहार हेर्दै बसेका बाबा दिदी, मेनुका र म नाजवाफ थियौं । पूर्वको कोठामा घरी सुक्सुकाउँदै त घरी “मरें नि !” भन्दै सीत्कार छोड्दै गरेकी आमासँग दुई ठूलीआमा र एक हजुरामा हुनुहुन्थ्यो । बुवा र अङ्कल भने घरी तल्तिर र घरी मास्तिर गरिरहनुभएको थियो ।

केहीबेरमै हामीलाई पत्ता लाग्यो । आमालाई त बेथा पो लागेछ । आमाले त अब नयाँमान्छे पो जन्माउन लाग्नुभएको रहेछ । हो, यो सबै कुराको जानकार बाबा, दिदी हुनुहुन्थ्यो । र त मेरो कान भर्न भ्याउनुभयो । के म जन्मिँदा पनि आमा यसरी नै सीत्कार काट्दै सुकसुकाउनु भएको थियो ?

समयले आठ कटाइसकेको थियो । अधिकारी ठूलीमा घरी भान्सा त घरी पूर्वकोठा गर्न थाल्नुभयो । मैले यसो ढोकाबाट चिहाएर हेरें – आमा खुटट्टालाई पसारेर छटपटिंदै हुनुहुन्थ्यो । काफ्लेनी हजुरामाले आमालाई ढाडतिरबाट आड दिनुभएको थियो भने ढकाल्नी ठूलीमा भने हात, खुट्टा तथा पेट मालिस गर्दिंदै हुनुहुथ्यो ।

“के हेर्छस् केटा ? पछि तेरी बूढीको हेर्लास्, अहिले उता जा । हेर्नु हुन्न तैंले ।” कसैले टाउकोमा प्याट्ट हान्दै भन्यो । फर्किएर हेरें । अधिकार्नी ठूलीमा हुनुहुँदो रहेछ । म साबिककै ठाउँमा आएर बसें ।

“माइजूले भाइ जन्माउनु हुन्छ कि बुइनी, भन् त किस्ने तँ ?” बाबा दिदीले सोध्नुभयो ।

“भाइ नै हुन्छ ।” मलाई जितेर मेनुकाले उत्तर दिई ।

दिदीबहिनीलाई माइत किन सधैं प्यारो हुन्छ ? मलाई थाहा छैन ।

“इस्… बुइनी हुन्छे । हेर्दै जा ।” मैले मेनुकालाई लगभग लोपाएँ । उसले मलाई प्याट्ट तिघ्रामा हिर्काई ।

“तँलाई बुइनी किन चाहिएको भन त !” बाबा दिदीको यो प्रश्न मेरा लागि थियो ।

“भाइ भयो भने झगडा पर्छ रे । बुवाको अंश पनि मबाट खोस्छ रे ! अहिले हाम्रो भएको खेत पनि त पछि अङ्कलले लानुहुन्छ रे नि है ।” मैले ठ्याक्कै यसै नभने तापनि भावार्थ यस्तै भनेको थिएँ ।

त्यो बर्खाको रोपाइँ हामीले अघिल्लो सालको भन्दा अलि बढ्ता हतारमै गरेका थियौं । त्यसका प्रमाणस्वरूप आँखैअघि अधिकारी, काफ्ले तथा पोखेलका हाँसिरहेका खेत थिए । त्यो सालको रोपाइँ गाउँमै पहिलो भएर हामीले किन सक्यौं ? कारण तपाईंलाई थाहा भइसक्यो ।

गाउँमा कुनै ज्यालादारीको काम हुँदैनथियो । अर्मपर्ममा चल्थे । हुन्थे भने पनि त्यो जमिनदार र साहु कहलिएकाहरूका लागि थियो । लाठे र रोपार साटिन्थे । हलगोरु र ब्याडे साटिन्थे । फेरि त्यो अर्मपर्म पनि एक बर्खाका लागि हुँदैनथियो, हिसाब भने अर्को बर्खा पनि ताजा रहन्थ्यो ।

हाम्रोमा हलगोरु थिए । लाठे पनि अङ्कल र बुवा । रोपार भने आमा मात्र । त्यो पनि चिया-खाजा भ्याउनु कि रोपाइँ भ्याउनु कि आज हो कि भोलि भएको पेट सम्हाल्नु ? त्यसैले हामी रोपार खोज्थ्यौं । पर्ममा । जो हलगोरु, अङ्कल र बुवाले तिर्नुहुन्थ्यो ।

हो, त्यही रोपाइँको सिलसिलामा रोपारको जत्थाले मेरो कलिलो मस्तिष्कमा भाइले अंश खोस्छ भन्ने बिउ रोपिदिएको थियो । मैले भाइ जन्मिनु भनेको अंश खोस्ने मान्छे जन्मनु हो भनेर बुझेको थिएँ । अझ भनौं, मलाई भाइप्रति वितृष्णा नै जागेको थियो । तर, कदापि मेरो आफ्नो सुद्धीले पलाएको बुद्धि थिएन त्यो ।

“अनि तँलाई चाहिँ भाइ किन चाहिएको हैं ?” दिदीले मेनुकालाई सोध्नुभयो ।

“मलाई सानो भाइ मन पर्छ।” उसको उत्तर थियो । तर सानो भाइ किन मन पर्छ भन्ने कुराको उत्तर ऊसँग थिएन । तैपनि उसको त्यो उत्तर कति सरल रहेछ ! कति गहिरो रहेछ । मलाई यति बुझ्न यतिका समय कुर्नुपर्यो ।

अहिले लाग्छ, उसका लागि म भाइ भएर पनि भाइ थिइनँ । उसले मलाई भाइ भनेर बोलाई, भाइलाई जस्तै ख्याल पनि राखी, तर दिदी हुनुको समग्र अनुभूति उसले पक्कै समेट्न पाइन । मलाई कोक्रोमा राखेर हल्लाउन पाइन । म रुँदा दिदीजस्ती भएर फकाउन पाइन । मलाई बुईमा बोकेर गाउँ घुमाउन पनि त पाइन । हो, त्यही छुटेका अनुभूति सँगाल्न पनि उसलाई भाइ चाहिएको रहेछ । एउटा माइती चाहिएको रहेछ ।

खै किन मैले भाइ मन नपर्नुको साटो बहिनी मन पर्नुको कारण भन्न सकिनँ ? किन तिहारमा मेरो घाँटीमा दुइटा सयपत्रीको माला हुन्छ भनेर उत्तर दिन सकिनँ ? मलाई थाहा छैन । तर अहिले सम्झना आउँछ ।

“मलाई पनि भाइ नै हुन्छ जस्तो लागेको छ है किस्ने । भाइ भयो भने मावली बढ्छन् । मावली बढे भने भान्जाभान्जीलाई फाइदा हुन्छ ।” मैले बाबा दिदीको कुरा बुझें तर चित्त बुझाइनँ । चाहिन त मलाई पनि बहिनी चाहिएको होइन । तर अंश खोस्ने भाइभन्दा बहिनी नै ठीक थिई त्योबेलाको मेरो बुद्धिका लागि ।

हामी कुरामै अल्झिरहेका थियौं । एकपटक आमा जोडले दबेको स्वरमा कहालिएझैं चिच्याउनुभयो । सँगसँगै जस्तो बच्चा रोएको ‘च्यार्र…’ आवाज आयो । सबैको अनुहार उज्यालो भयो । मेरो भने खै किन अँध्यारो भएको होला ?

हो, मेरो अंश खोस्न भाइ नै जन्मियो । दिदी र मेनुकाले भनेको मिल्यो । मैले न भनेकै मिल्यो न त अंश नै बच्यो ।

० ० ० ०

छोरो जन्मिए वंश बढ्छ । तर भाइ जन्मिए अंश घट्दोरहेछ ।

बुवाको वंश बढ्नु भनेको त मेरो अंश घट्नु पो रहेछ ! अंश खोस्ने मान्छेका लागि मैले खुशी किन मनाउनु ?

मेरा लागि भाइ जन्मनुको खुशीमा कुनै हर्ष थिएन । सुख थिएन । तुक थिएन ।

जन्मिनकै लागि त म आमाको पहिलो गर्भ भएर जन्मेको थिइनँ । तर बुवाको पहिलो छोरो, हजुरबाको पहिलो नाति तथा वंशको पहिलो उत्तराधिकारी भने अवश्य बनेर जन्मिएको थिएँ ।

पहिलो सन्तान भएर जन्मनु भनेको वंशको सान भएर जन्मनु होइन रहेछ । बरु सन्तानमा कान्छो नै सही, पहिलो जोत्ने भएर जन्मनु भनेको वंशको उत्तराधिकारी हुनु रहेछ । भाइ जन्मिएपछि मैले बुझेको पहिलो पाठ यही थियो । जोत्ने र पोत्ने भएर जन्म लिएपछिको यति ठूलो भेद (विभेद) बुझ्न मलाई खै किन अढाई दशक बढी कुर्नुपर्यो ? मलाई थाहा छैन ।

भाइको जन्मले मुख्यतः मबाट दुई कुरा खोसेको रहेछ । यस्ता कुरा त्यो कलिलो दिमागले कसरी बुझोस् ? मलाई बुझाइएको हो ।

हो, बालमस्तिष्क आफ्नो भएर पनि आफ्नै हुँदैन रहेछ । मालीहरूले जस्तो फल रोपिदिए, त्यसैगरी फुल्दो रहेछ । यी शब्दहरू मेरा फुलाइको कुरूपमध्ये एक फूल हो ।

भाइले मबाट वंशको उत्तराधिकारीको एकाधिकार खोस्यो, पहिलो । दोस्रोचाहिं बुवाको अंशमाथिको एकाधिकार ।

मलाई वंशको एकाधिकार गुमाउनुपर्दा कति पनि दुखेन । सानो, आँखा चिम्सा भएको मान्छेसँग म कति पनि रिसाइनँ । तर अंशमाथिको एकाधिकार गुमाएको खबर कानले थाहा पाएपछि सात दिन मैले त्यो सानो मान्छेलाई यति घृणा गरे कि, जुन आजसम्म मैले अरू कसैलाई गरेको छैन ।

घृणा त एक भावना न हो ! तर यसले किन कानसँग यतिका गहिरो सम्बन्ध राख्छ ? मलाई थाहा छैन ।

भावना र संवेदनाकै कुरा गर्ने हो भने, सानो मान्छेले मबाट के नै पो खोसेको थियो र ? जो मैले मभन्दा एक वर्षभन्दा कमले मात्र ठूली दिदी (मेनुका) बाट खोसेको थिएँ । अहिले मलाई लाग्छ, अंश खोस्नुभन्दा काख खोस्नु वा गुमाउनु दुःखको एक महाकाव्य नै हो । अर्को भनेको आमाका दुई धारा खोस्नुको पीडा झन् कस्तो हुन्छ होला ?

हो, सानो मान्छेलाई लिएर मभित्र सृष्टिकै कुरूप फूल फुलेको थियो । अझ भनौं, फुलाइएको थियो ।

ओछ्‌यानमा सुइँकाएकोसम्म थाहा नपाउने म आठ वर्षे फुच्चेले आफैं त कसरी फुलाएँ होला र अंशरूपी कुरूप फूल ? तर यो चाहिं साँचो हो, त्यही अंशको फूल मनमा बोकेर मैले त्यो सानो मान्छेलाई सबैभन्दा धेरै घृणा गरें । हिटलरले यहुदीलाई गर्नेभन्दा धेरै । प्रेमीले काँडालाई गर्नेभन्दा धेरै । जो बिलकुल मासुम थियो । जसलाई समाजको काइदाकानूनबारे कति पनि सुद्धी थिएन ।

खोस्नकै लागि त मैले मेनुकाबाट पनि जानेर केही खोसेको थिइनँ । न काखको हक न त दूधको अधिकार नै । तर त्योबेला खै किन त्यतिका हतार भएको थियो आमाबुवालाई ? फेरि खै केको फुर्सद परेर सानो मान्छे र मबीच आठ वर्षको अन्तर रहन आयो ? मलाई थाहा छैन ।

अहिले लाग्छ, यदि त्योबेला बुवाआमालाई त्यो हतार र फुर्सद नभइदिएको भए पक्का हो – मैले वंश, अंश, काख र दूधको अर्थ यतिका प्रष्टसँग बुझ्न पाउने थिइनँ । न त यसरी लेख्न नै पाउने थिएँ ।

यति सुन्दर अतीतको अनुभूति दिलाइदिने र संवेदनाको गहिराइ बुझाइदिने बुवाआमालाई लाख लाख प्रणाम !

शब्दहरू वंश, अंश, काख, सानो मान्छे वरिपरि घुमे पनि यो आलेख आमाबुवाको नाम ।

० ० ० ०

अँ, भोलिपल्ट बिहानैबाट हाम्रो घरमा भीड लाग्यो, सुत्केरी आमा र सानो मान्छेलाई हेर्न आउनेको । तर त्यो भीडले मेरो दिमागमा झन् झन् झड्का बढाइदिइरह्यो । मान्छे पातलिएसँगै म सानो मान्छेप्रति झन् झन् नकारात्मक बन्दै गए ।

आउनेहरू पहिले सानो मान्छे भएको कोठामा जान्थे । हेर्थे । गफगाफ गर्थे । र, आमालाई भन्थे, “कहाँ लुकाएर राखेका थिएउ हैं ? हिजो साँझसम्म मेलामै थेऊ । कति सजिलै जन्मायौ ?”

अनि तल्तिर ओर्लिपछि सबैले नभए पनि धेरैले मलाई भन्थे, “भाइ जन्मिएछ । तेरो आधा खेत त खाइहाल्ने भयो नि ?”

अहिले थाहा छ, यी शब्दहरू मलाई जिस्काउनका लागि बोलिएका थिए । मलाई चिढ्याउनका लागि भनिएका थिए । तर त्योबेला मलाई यस्ता कुरोको के सुद्धी ! साँच्चै, मैले सानो मान्छेलाई दुश्मन बनी घरमा आएको सम्झिएको थिएँ । र, त्यस्तो सम्झिनुमा माथिका शब्द बोल्ने आवाजहरूको देन थियो ।

खै किन मेरो बालसुलभ मनोदशाप्रति ती आवाजहरू त्यति धेरै अन्जान बनिरहे, र मेरो हविगतमा मलमको साटो चुक थपिरहे ?

साँझसम्ममा गाउँले नै सानो मान्छेलाई हेर्न भ्यायो । तर मैले भने सानो मान्छेको पहिलो च्यार्र… सुनेपछि उसलाई हेर्न जानु त दूर, पूर्वको कोठामा पाइला पनि राखिनँ । आमाले म बीचकोठामा भएको चाल पाएर दिउँसोखेर नबोलाउनु भएको पनि होइन, तर पनि म त्यस कोठामा गइनँ ।

बालहठ पनि कसरी त्यतिका पक्का हुन सक्छ ? आमाको काखले बोलाउँदा पनि दिमागलाई अंशमा गिजोलेर कसरी तर्किन सक्छ ? मलाई थाहा छैन ।

एक दिन बित्यो, दुई तीन बित्यो, गर्दै छौटौं दिन बित्यो ।

म तेस्रो दिन भने पूर्वकोठामा जानसम्म गएको थिएँ, तर पनि भाइको अनुहार भने हेरिनँ । बरु उसका कलिला ओठले फुटाउन नसकेको आमाका गानिएका दूध चुसेर उसलाई सहज बनाइदिएँ । हो, आमाको काखमा बसेर करीब पाँच वर्षपछि सानो मान्छेको कारणले मैले पुनः दूध पिएँ । तर त्यही दूधको लागि पर्खिरहेको सानो मान्छेको अनुहार भने हेरिनँ ।

दूधले जोडेको सम्बन्धलाई पनि अंशले फुटाएको किन होला ? बाँच्न सिकाउने आमाको दूध र मर्न-मार्नसम्म तयार बनाउने बाबुको अंशमध्ये ठूलो कुन होला ?

ठीक आठ वर्षअघि, मेनुकाबाट मैले काख खोसेको थिएँ । कलिलो ओठबाट दूध खोसेका थिएँ । त्यतिबेला ऊ पनि मसँग रिसाई कि रिसाइन होला ? कि मनमा घृणा र अह‌ङ्कार पाल्नका लागि छोरा नै भएर जन्मिनुपर्छ ? मलाई थाहा छैन ।

आमाको काखले सम्बन्धलाई बलियो, दूधले मनलाई निश्चल बनाउँछ । तर किन अंशले मान्छेलाई खराब बनाउँछ ?

सातौं दिनको दिन मैले सानो मान्छेको अनुहार हेरें, जब ऊ किशोर भयो ।

सातौं दिनमा पण्डितले राखिदिएको नाम जेहोस्, घरकाले सानो मान्छेको नाम किशोर राखिदिनुभयो । कृष्ण र किशोर ! दाजु र भाइ !

आमाबाबुलाई सन्तान पेटमा बसेदेखि नै आफ्नो लाग्छ । तर किन अरूलाई कोही आफ्नो लाग्न केहीसँग कतैबाट जोडिएको हुनुपर्छ ? मलाई थाहा छैन ।

(कृष्ण ढुङ्गेलको निबन्धसंग्रह ‘समयको नक्साबाहिर’बाट)