‘बिम्ब प्रतिबिम्ब’का लेखक शङ्कर लामिछाने अहिले बिम्ब बनिसके नेपाली साहित्यका । निबन्ध विधामा लक्ष्मीप्रसाद देवकोटा पछि सर्वाधिक पढिएका लेखक हुन् – शङ्कर लामिछाने । भारतमा नेपाली पाठकहरूले धेरै मन पराएका – शङ्कर लामिछाने ।
शङ्करको विशेषतालाई परिभाषित गर्न कुनै निबन्ध सम्राट् वा निबन्धपुरुष जस्तो सस्तो उपमा वा अलङ्कारको आवश्यकता पर्दैन । शङ्करका लेखहरू नै उनको बलियो परिचय हो । शङ्करको पारिवारिक सम्बन्ध दार्जिलिङको रत्ना राईसँग गाँसिएपछि दार्जिलिङका धेरै साहित्यकारहरू उनको सान्निध्यमा आए । आउनु स्वाभाविक पनि थियो । अगमसिंह गिरि र अम्बर गुरुङ त उनको लँगौटी यार थिए ।
अम्बरको प्रसङ्गमा शङ्कर लेख्छन् ‘विम्ब-प्रतिविम्ब’मा, ”वाल्जमा बाँधिएका धुनले गीतलाई राम्रो मोड दिएका थिए । म मुग्ध भएँ । मेरा आँखामा झरेका, सुकेका पातहरू हावामा गोलो फन्को मारी वाल्जको लामो फन्को मारिरहेका देखिए । यो मान्छे कस्तो छ ? मैले सोधेको थिएँ, भावावेशमा ।”
सोझो र स्पष्ट प्रश्नको उत्तर दिन साह्रै गाह्रो हुन्छ जोसुकैलाई: भूपीजस्ता ट्याक्क मिल्ने उपमा दिन सक्नेलाई पनि । एकछिन ऊ अलमलियो अनि भन्यो, “ऊ मान्छे सायद होइन, ऊ मित्र हो; र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो; र जसका लागि कलाकार होइन, उसका लागि गायक हो; र जसका लागि ऊ गायक होइन, उसका लागि ऊ जन्मेको पनि छैन ।”
दार्जिलिङलाई माया मात्र गरेनन् शङ्करले त्यहाँका लेखकहरूलाई नेपाली साहित्यको मूलप्रवाहमा ल्याउन सेतुको काम गरे । दृष्टान्त पारिजात र पिटर कार्थक । अम्बर गुरुङ र उत्तम नेपालीले परिचय गराइदिएको थियो पिटरलाई शङ्करसँग ।
दार्जिलिङमा पढ्दा पिटरमा कुनै साहित्यिक झुकाव नदेखे पनि काठमाडौं प्रवेश पछि अचानक एउटा उपन्यास लेख्छ र भूमिका शङ्कर लामिछानेबाटै लेखिनु पर्छ भन्ने ढिपी लिन्छ ।
तर शङ्करले सर्त राखे- उपन्यास मन परे भने मात्र भूमिका लेखिदिने ।
कैयन् पटक पुनर्लेखन गर्न लगाए, एकपल्ट त हरेस नै खाए पिटरले, अब लेख्न सक्दिन भनेर । तर अन्तमा शङ्करले लेखिदिए भूमिका, र यही नै थियो अन्तिम भूमिका लेखन शङ्करको । अनि उपन्यास थियो ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ । वि.स. २०३४ सालमा साझा प्रकाशनबाट प्रकाशित यो पुस्तकले सोही वर्ष साझा पुरस्कार पाए तर शङ्करले यो पुस्तकको सफलता देख्न पाएनन् । सन् १९७५को अक्टोबर महिनाको ८ तारिख लेखिएको यो भूमिका पारिजातको ‘शिरीषको फूल’-मा लेखिएको जस्तो दार्शनिक र गाम्भीर्य नभए पनि मननयोग्य पक्कै छ ।
भूमिकामा शङ्कर लेख्छन्,”प्रत्येक ठाउँ प्रत्येक मान्छे” हेरिसकेर लाग्यो, उपन्यास गरिएभन्दा बढी सफल छ । जानेर यसमा केही प्रयोग गरिएका भने, नचिताएर केही यस्ता संयोजन स्वयं समाविष्ट भएका छन्- जसको बोध रचनाअघि रचनाकारलाई भएको भए, यस ज्ञानको बोझमा थिचिएर उनी स्वयं अलमलिने सम्भावना बढी हुन्थ्यो कि ?
जानेर उनले दार्जिलिङ शहरलाई ‘सात-आठ-कुनै’ क्यानभास; उपन्यासको काल-सीमालाई सात दिनको विभाजन; प्रमुख पात्रहरूको नामकरण गर्दा सात स्वरका ‘सा रे ग म प ध नि’-का आधारमा तिनको संयोजनको कर्ण-प्रियताको केन्द्र-बिन्दुका रूपमा नायिकाको नाम प्रिया; औंसीको निस्पट्ट अन्धकारका परिवेशमा घटित घटनाको पृष्ठभूमि ‘दिनेश’ शब्द (वा चरित्र !) के निरर्थकता र निष्क्रियता…… इत्यादि दर्शाएका छन् । आफ्नो अभिव्यक्तिको स्पष्टताका लागि रंग, ध्वनि र शब्दको प्रचुर प्रयोग गरेका छन् र छन् ती प्रयोग निकै सफल पनि । “
पिटर कार्थकसँग मेरो तीन दशकको सङ्गतमा उनले यो भूमिकाको प्रसङ्ग धेरै पटक दोहोर्याएका थिए । कुनै बेला उनकै घरमा, कुनै बेला पुतलीसडकको अनाम चमेना पसलमा ।
शङ्कर लामिछानेको अर्को प्रिय पात्र थिए अगमसिंह गिरी । ‘युद्ध र योद्धा’ खण्डकाव्यको प्रकाशनपछि अगमसिंह गिरी उनका भाइ र नाटककार मनबहादुर मुखियासँग काठमाडौं आएका थिए सन् १९७१मा पुस्तक बिक्री गर्नको निम्ति । तर यो भ्रमण भने जतिको सफल भएन । आश्वासनको भरमा आएका उनी काठमाडौंबाट निराश भएर दार्जिलिङ पुगेका । र केही समयमा नै निधन भयो उनको ।
उनको निधनको खबर सुने पछि लेख्छन् शङ्कर लामिछाने, ”अझ पनि विश्वास लाग्दैन गिरीको स्वर्गवास भयो भन्ने कुरा । एक दुःस्वप्न जस्तो भान हुन्छ र लाग्छ कता-कता, बिहानको उज्यालोमा निद्रा खुले पछि वास्तवमा उनी अझै बाँचेका छन् भन्ने यथार्थ बोध सम्भव छ ।
एक प्रकारले विचार गर्ने हो भने उनको मृत्युको दोष काठमाडौं तथा खासगरी यसको सरकारी स्तरको अनेक औपचारिक कार्य-प्रणाली तथा बेवास्ताको भावनालाई थोपरिदिए हुन्छ । प्रवासमा बस्ने नेपाली बन्धुहरू सोध्दछन्, आफ्नो मातृभूमिमा अवहेलनाको शिकार हुने छैनन् उनीहरू । र, जब अवहेलनाको शिकार हुने छैनन् उनीहरू । र, जब अवहेलनाले उनीहरूलाई मातृभूमिको मुटुमै प्रहार गर्दछ, उनीहरू निराशाको हद सीमामा पुग्दछन् । हामी जो काठमाडौंमा जन्मेर, हुर्केर, हामीलाई यस बारे बोध तथा सहिष्णुता एक द्वितीय बानी परिसकेको छ । प्रवासीको लागि यसको वेदना चर्को आघात दिने हुन्छ ।
…अन्त्यमा, मलाई एउटै कुरा भन्नु छ । गिरीज्युलाई सबै दार्जिलिङको राजदूतमा गनेको छु । उहाँले असफलताको दोष जसलाई थोपारेर पनि, अवस्थाको सुधार हुने होइन । गिरीपछि नेपालीत्वको त्यो झण्डा उचाल्ने को छ, दार्जिलिङमा, त्यसको सूचना चाहियो मलाई । गिरी त गए । अस्तित्व बाँच्छ के ? मलाई जवाफ चाहियो ।”
पारिजातको ‘शिरीषको फूल’ प्रकाशित भएर मदन पुरस्कार पाएपछि पारिजात र शङ्कर लामिछाने दुवै विवादित भए । शङ्करलाई आरोप लाग्यो उनको पारिजातसँग प्रेम थियो भनेर । पारिजातलाई आरोप लाग्यो यो उपन्यास शङ्कर लामिछानेले लेखिदिएको हो भनेर । शङ्करले त केवल दमदार भूमिका मात्र लेखिदिएको थियो ।
‘बिम्ब प्रतिविम्ब’मा शङ्कर यो प्रसङ्गलाई कोटाउँदै लेख्न पुग्छन्, ”पारिजातको ‘शिरीषको फूल’ र ‘शङ्कर लामिछाने’को भूमिका- यी दुई बेग्ला पदार्थलाई पाठकले आफ्नो मस्तिष्कमा यसरी हुँडलेको छ, आज तिनको वैयक्तिक अस्तित्व समाप्त भएको छ । आज मैले पारिजातमाथि केही लेख्न थालेँ भने त्यसलाई ‘शिरीषको फूलको’ परिशिष्ट ठान्ने भय छ । यसको शिकार हामी भइसकेका छौं ।“
शिरीषको फूलको भूमिका सायद पारिजातले नसोचेको पाटोलाई शङ्करले उजागर गरिदिएका थिए । मैले पारिजातलाई वि.स. २०३९मा लिएको एउटा अन्तर्वार्तामा वाद र सिद्धान्तलाई मध्यनजर राखेर उपन्यास लेख्नु हुन्छ भनेर सोधेको थिएँ । उनको उत्तर यस्तो थियो, ”कतैकतै त समालोचकहरूले आफ्नो पाराको वाद झुन्ड्याइदिएर कृतिहरूको मूल्याङ्कन गरिदिने गर्छन् । यो परिपाटी राम्रो होइन तथापि वाद वा दर्शनलाई मध्यनजर नराखी लेख्दै पनि कृतिहरू वाद वा दर्शनभन्दा पर भाग्न सक्तैनन् । मानव समाज र जनभावनाप्रति शतप्रतिशत इमानदार भएर कोही कलम चलाउँछन् भने यस्ता कृतिहरूमा जनताको दर्शनले प्रवेश गरेको हुन्छ तर वाद लेख्छु भने साहित्य लेख्न थालेपछि त्यो साहित्य साहित्य रहँदैन ।“
यसको प्रत्यक्ष दृष्टान्त शङ्करको भूमिका पनि हो । पारिजातले (उनी निक्कै अध्ययनशील त पक्कै हुन्) कुनै दर्शन र वाद नलेखे पनि शङ्करले लेखे यसमा । भूमिकामा उनी लेख्छन्, ”शून्यवादको मुख्य अभिव्यक्ति पारिजातले सकमबरी र सुयोगवीरका माध्यमद्वारा गरेकी छ, अझ भनौं, सुयोगवीरलाई त्यो अनुभूति प्राप्त गर्न सकमबरी एउटा साधन मात्र बनेकी छ । यसै सन्दर्भमा, सकमबरीको मृत्यु प्रत्यक्ष रूपमा वर्णन नगरी, एउटा कहिल्यै देखा नपरेकी बाहुनीको मुखबाट सुनाइदिएको पनि मीठो हुन आएको छ । प्रतीक रूपमा यो बढी सफल भएको छ ।“
अनौपचारिक भाषामा गहन विषयलाई सरल तरिकाले लेख्न सक्ने खुबी शङ्करमा व्याप्त छ । देवकोटासँग तपाईं जस्तै लेख्छु भन्दा बरु नलेख भन्ने सुझाव पाएपछि भिन्नै शैलीमा लेख्न थाले शङ्करले । उनको शैली अनुसरण कमैले गरेका छन् वा गर्न सकेका छन् । वैचारिक उच्चता भेट्ने त कुरै भएन नयाँ पुस्ताले ।
मैले शङ्करको महत्ता बोध गर्नु अगाडि नै विलय भइसकेका थिए उनी यस संसारबाट । तर उनले आफै माथि लेखेको एउटा सेल्फ पोट्रेटले शङ्करको स्वभावको सङ्केत गर्छ ।
”शङ्कर मिलनसार छ । उसको प्रभावमा या उसको सङ्गतमा परेका मानिसले नरुचाएको देखिएको छैन (पछाडि गाली गरे पनि उसले थाहा नपाएको विश्वास मनबाट डिगाएको छैन) । ऊ ज्यादै नै ठट्टा प्रिय छ । आफूलाई नै ऊ ठट्टाको विषय बनाउँछ (के गरोस् अरूहरू ठट्टा सहने लायकका अब रहेनन् !) र यसरी ऊ अरूलाई आनन्दित गर्ने प्रयास गर्दछ । मैले यस्ता अनेक अवसर देखेको छु जब ऊ आफ्नो आन्तरिक भावनालाई ठट्टाहरूको आवरणमा छोपिदिन्छ । ऊ आफ्ना मित्रहरूसँग ठट्टा गर्दछ र ऊसँग चाहिँ उसको स्वयंको भाग्य । जोगी, सन्यासी, भीखमाग्नेसँग उसलाई साह्रै चिड छ, र ऊ हाकिम हुन पुग्दछ त्यस्तै गुठीको । भाग्यले यसरी लेखेको ठट्टा जो छ वर्ष उसले सह्यो, त्यो उसको साह्रै तीतो अनुभव छ । श्री ३ सरकार गुठीको बागमतीको अड्डामा बसेर उसले छ वर्षसम्म पानी बगेको लहर गनिरह्यो ।“
अद्वितीय प्रतिभा भएको शङ्कर नेपाली साहित्यको एउटा यस्तो स्कुल हो जसलाई सबैले मन त पराउँछ तर कमैले उनको पदचाप पछ्याउने प्रयास गर्छ । उनको जस्तो अध्ययन र अनुभव (सिनेमा हलको म्यानेजरदेखि होटेलको म्यामेजरसम्म, पुस्तकालयदेखि क्युरियोसम्म) सायद कमैमा होला । अनौपचारिक भए पनि मथिङ्गल हल्लाउन सक्ने उनको जस्तो लेखनमा नयाँ पुस्तालाई आकर्षित गर्न अत्यन्त जरुरी छ । शङ्कर लेखन कार्यशाला गोष्ठी अपरिहार्य भइसकेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।