कहिलेकाहीँ नसोचेको भेट हुन्छ । जान्छु भनी कहिल्यै नसोचेको ठाउँमा पुगिन्छ । भेटिन्छ भन्ने कल्पना नगरेको मानिससँग भेट हुन्छ । त्यसैले त जिन्दगी रमाइलो बइदिन्छ । या रोमाञ्चक बनिदिन्छ जीवन यात्रा ।

यस्तै एउटा भेट दमक नजिकै ‘माङबारी’मा भयो । मिजासिला व्यवहारका साहित्यकार तथा समालोचक डा. गोविन्दराज भट्टराईसँग भएको यो भेट अहिले सम्झँदा पनि रमाइलो लाग्छ । भेटघाटको क्रममा उनीसँग निकै मिठा र फलदायी कुराकानी भए । साहित्य, जीवन, जगत्, आस्था, स्वास्थ्य लगायत विभिन्न विषयमा हामी गफियौँ ।

करिब ७० पुस्तक प्रकाशन गरिसकेका उनी आफ्नो पुर्ख्यौली घरमा बसोबास गर्ने गर्छन् । पुरानो घरलाई भत्काएर सोही घरको सर-सामान प्रयोग गरी नयाँ घर निर्माण गरिएको छ । सबै दाजुभाइलाई हुने गरी साझा किसिमको घर बा-आमाको स्मृति रहने गरी निर्माण गरिएको उनले सुनाए । यद्यपि उनी सधैँ भाङबारी मात्र नबसेर काठमाडौंमा समेत केही महिना बिताउने गर्छन् । गर्मी महिनामा काठमाडौं जाने र हिउँदमा झापा झर्ने गरेको उनले बताए । उनै डा. गोविन्दराज भट्टराईसँग भएको कुराकानीको सम्पादित अंश म यहाँ प्रस्तुत गर्न गइरहेको छु ।

तपाईँको विचारमा अबको साहित्यिक यात्रा कस्तो हुनुपर्छ ?

साहित्यको नवीन चेतनामा समाजको विभिन्न पक्षलाई हेरेर नयाँ साहित्य लेखौँ । नयाँ विचार लेखौँ । शैली तथा चिन्तन पनि नयाँ होस् । जसले समाजलाई एउटा नयाँ पथमा लैजान मदत गर्छ । पुरानो पिठो पिसेर केही पनि नयाँ आउँदैन । छन्द अलङ्कार ३/४ हजार वर्ष अघि बनेका हुन् । गजलका भाका पनि पुरानै हुन् । आज त्यसैमा जान्ने हुन खोजेर बस्नु नवीनता होइन । इँटा बनाए झैँ शब्दहरूलाई साँचामा हालेर मात्र हुँदैन । समाजमा परिवर्तन गर्ने कुराहरू ल्याउनु पर्‍यो । उत्तेजना सहित क्रान्ति गरेर, हिंसा हत्या गरेर परिवर्तन खोज्ने होइन । वैचारिक रूपमा दरिएर परिवर्तन ल्याउन जरुरी छ ।

उत्तर आधुनिक विमर्श, उत्तर आधुनिक ऐना भन्ने मेरा ग्रन्थहरूमा नव लेखकहरूलाई यस्तो शैलीले अरूले लेखेका छन् भन्ने बुझाउने प्रयत्न गरेको छु । अङ्ग्रेजी, फ्रान्सेली, जापानी अथवा कोरियन साहित्यमा नयाँ बाटाहरू यस्ता छन् भनी बताएको छु । पुरानो पिठो धेरै नपिसौं, नयाँ बाटो जाऊँ भन्ने मेरो आह्वान रहेको छ । यस्तो आह्वान गरेको ३० वर्ष जति भयो । र, यसमा सफल पनि भएको छु ।

कुनै विशेष साहित्यिक घटना भए सुनाउनु न  !

केही समयअघि साहित्य परिषद् मणिपुरले बोलाएर हामी पुगेका थियौँ । हामी १२ जनाको टोली थियो । धेरै लामो योजनापश्चात् मणिपुरमा एउटा गोष्ठी हुँदै थियो । भारत र नेपालका साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहेको गोष्ठी कुनै सम्मेलन झैँ थियो । करिब ४/५ सय मानिसको जमघट थियो ।

विभिन्न कार्यक्रममा राखिएको गोष्ठीमा साहित्यिक कार्यपत्रहरू प्रस्तुत गरिने भयो । यसको लागि मञ्चमा १२ जना बसे । तर, त्यहाँ एक जना पनि महिलाको उपस्थिति थिएन । मैले तुरुन्तै विरोध प्रकट गरेँ । ‘एक जना पनि महिला छैन भने यो हाम्रो कर्म व्यर्थ छ । यसो गर्नाले समाज बन्दैन र राम्रो उदाहरण समेत जाँदैन । महिलाहरू पनि उति नै दक्ष छन् । यसरी पुरुष मात्र अघि बढेर कहीँ पुगिँदैन । यस्तो कार्यक्रमको अध्यक्ष म हुन चाहन्न’ भन्दै मैले विरोध गरेँ । अतिथिले नै विरोध जनाएपछि उनीहरूलाई सङ्कट त पर्‍यो तर सङ्कट नपारी चेतना आउँदैन । उनीहरूले यस विषयमा विचार गरेर तुरुन्तै ३ जना महिलालाई मञ्चमा आसन ग्रहण गराए ।

यस्तै एउटा घटना आसाममा पनि घटित भयो । आसामको विश्वनाथ कलेजले २ दिने कार्यक्रममा बोलाएको थियो । त्यहाँ मेरो लेखनको नयाँ धारहरू सम्बन्धित एक सेसन राखिएको थियो । कार्यक्रम अघि बढ्दै जाँदा कार्यपत्र प्रस्तुत गर्ने समयमा १२ जना पुरुषहरू लहरै बसे । महिला त छैन ।

त्यहाँ पनि मैले महिलाको उपस्थिति नरहेकोमा विरोध जनाएँ । त्यसपछि उनीहरूले हतार-हतार गरेर ४ जना महिलालाई बोलाए र मञ्चमा बसाए । कार्यक्रम महिलाहरूले राम्रा कुराहरू राखे । त्यसपछिका दिनमा त्यहाँबाट यस्ता कुराहरू हराउँदै गए ।

यो एउटा क्याम्पेनको रूपमा चलाउनुपर्छ । दमकमा पनि कहिलेकाहीँ यस्तो हुन्छ । पुरुषले महिलालाई छेक्छन् । यसलाई राष्ट्रव्यापी नै गरेर उनीहरूलाई पनि सामान अवसर दिएर अघि बढ्नुपर्छ । साहित्यकारले व्यवहारमा पनि नवीनता देखाउनु पर्छ ।

जीवन के हो ?

जीवन एउटा सुन्दर पुष्प झैँ लाग्छ । यो सुन्दर फूलबारीमा सधैँ बास्ना चलेको छ, फुलेको छ, फलेको छ । जतिञ्जेल जीवनको अस्तित्व रहन्छ यो सुन्दर मात्र छ भन्ने मलाई लाग्छ । मलाई असुन्दर लाग्ने, बिझाउने केही पनि छैन ।

तपाईँलाई खुसी केमा मिल्छ ?

नयाँ पुस्तक प्रकाशन हुँदा मलाई सबै भन्दा बढी हर्ष लाग्ने गर्छ । सभ्यतामा मैले सानो योगदान दिएँ भन्ने लाग्छ । अहिलेसम्म मेरा ७० वटा पुस्तक प्रकाशित भइसकेका छन् । हरेक पुस्तक छापिँदा मलाई उति नै हर्ष लाग्ने गर्छ । अहिले पनि केही पुस्तकहरू प्रकाशनको लागि तयार भइरहेका छन् । किताब छाप्न ढिलो हुँदा मन कुँडिन्छ ।

सबैभन्दा बढी दुखी कहिले हुनुभएको थियो ?

मातापिता गुमाउँदा मेरो हृदय सबैभन्दा बढी विगलित भएको थियो । आफ्नो अभिभावक अब फेरि पाउँदिनँ भन्ने भावले मलाई केही वर्ष दुखी बनाएको थियो । यो उहाँहरूकै सृष्टि हो । अरू केही पनि दुख छैन ।

निद्रा लाग्छ ?

म बेलुका ८ बजेर ३० मिनेटमा ओछ्यानमा जान्छु र ३१ सम्ममा घुर्न थालिसक्छु । राती एक-दुई पटक उठ्छु । बिहान ३ देखि ४ बजे म उठिसक्छु ।

घरका काम कत्तिको गर्नुहुन्छ ?

म पहिल्यैबाट खाना बनाउन असाध्यै सिपालु थिएँ । तर, हिजोआज अलिक अल्छी भएको हुँ कि जस्तो लाग्छ । खाना बनाएर परिवारलाई ख्वाउन सक्ने भए तापनि जीवनसाथीले गर्दा अलिक अल्छी भएको हुँ जस्तो लाग्छ । पहिल्यैबाट खाना बनाउने कुरामा हाम्रो परिवारमा पुरुष अगाडी बढिहाल्ने बानी थियो ।

म सौदा गरेर ल्याउँछु । चिया पकाएर पिउँछु । खाजा बनाएर खान्छु । खानाचाहिँ अलिक भाँती पुर्‍याउनुहुन्न कि भन्ने शङ्का जीवनसाथीले लिने हुनाले बनाउँदिन । आवश्यकता अनुसार घरको काममा काँध हाल्ने गर्छु ।

पछिल्लो पटक चलचित्र कहिले हेर्नु भएको थियो ?

चलचित्र नहेरेको ३० वर्ष जति भयो । नाटक भने कहिलेकाहीँ हेर्ने गरेको छु । गुरुकुल, शिल्पी र मण्डलामा केही नाटक हेरेको थिएँ । तर, केही समयदेखि त्यो पनि हेर्न जान पाएको छैन । नाटक मलाई जीवन्त कला जस्तो लाग्छ । म कुनै-कुनै नाटकमा प्रतिक्रिया पनि दिन्छु ।

नाटक लेख्नुभएको छ ?

नाटक भने मैले लेखेको छैन । त्यसको लागि धेरै ध्यान र तपस्या चाहिन्छ । मैले हात नहालेको विधा भनेको नाटक हो । नाटकको प्रशंसक हुँदा हुँदै पनि लेखेको भने छैन । ब्रेक्थको या सेक्सपियरको नाटकको प्रशंसा गरेको छु । नेपाली नाटकहरूको समीक्षा पनि लेखेको छु तर लेख्न सकेको छैन ।

चित्रकलासम्बन्धी के भन्नुहुन्छ ?

चित्रकला सम्बन्धी मैले ८/१० वटा आर्टिकल लेखेका छु । विभिन्न चित्रकला प्रदर्शनीमा पुग्ने गरेका छु । साहित्य र कलाको अन्तरसम्बन्ध हुन्छ त्यसैले अहिलेको आधुनिक साहित्य बुझ्न चाहनेले आधुनिक कला बुझ्नुपर्छ । लैनसिंह बाङ्देलले फ्रान्स गएर कला र साहित्यको अध्ययन गरे र प्रसिद्ध पनि भए । चित्रकलाको दृष्टिकोण नभएको या चेत नभएको साहित्यकार काम लाग्दैन । त्यहाँ भएका वादहरू साहित्य तथा थिएटरसँग पनि अन्तर सम्बन्धित छन् । तर एउटा जीवन छ, समय थोरै छ । एउटा देवता पूजा गर्दा अर्को देउता रिसाउँछ । यो समस्या छ । नाटक तिर कुदौँ भने चित्रतिर समय दिन सकिँदैन ।

मलाई चित्रकलाको पनि क ख मात्र आउँछ । यद्यपि त्यसको महत्त्व तथा गहिराइ र त्यसले ल्याएका आन्दोलन साहित्यमा कसरी प्रवेश गर्‍यो भन्ने थाह छ ।

खुसी भनेको के हो ?

खुसी भनेको आफ्नै मनले उत्पन्न गर्नुपर्छ । काम आफ्नो खुसीको गर्न पाइयो भने खुसी मिल्छ । जीवनमा कला साहित्यमा लाग्नु जस्तो आनन्द अन्त छैन । दैवी चेतना भएका मान्छे मात्र कला साहित्यमा लाग्न सक्छन् जस्तो लाग्छ । खान लगाउन पुगे नपुगेको ख्याल नगरी कला साहित्यमा लाग्ने मान्छेले अमरताको काम गर्दै हुन्छ । त्यसैले यसमा लाग्न पाएकोमा म आनन्दित छु ।

भगवान् बारे के भन्नुहुन्छ ?

भगवान् आफ्नो ठाउँमा होलान्, भेटघाट हुने जोग परेको छैन । मलाई नचलाऊ तिमीलाई पनि चलाउँदिन भनेर सम्झौता गरेर बसेको छु ।

अहिले बढ्दो मानसिक समस्याको कारण के होला ?

मान्छेको हुर्काइ मै समस्या हुनाले मानसिक समस्या हुन्छ जस्तो लाग्छ । बाल्यकालबाट युवा अवस्थामा प्रवेश गर्दा नगर्दै मान्छे ढुटो हुन्छ । हाम्रो समाज रुढीगत समाज छ । मिश्रित समाज छ । अनेक चिजले चिमोटेर, चिथोरेर, दलेर एउटा मानिसको स्वरूप बिग्रिन जान्छ । युवा अवस्थामा आएपछि पनि चेत आउन गाह्रो छ । युवा अवस्थामा उमेर अनुसारको उत्तेजना, भ्रान्तिहरू र सौन्दर्य चेतनाले छोपेपछि मान्छे अन्धकारमा पसिसक्छ । उसले गर्ने बानी छोड्न सक्दैन । थाहा नपाइ मानिस फसिसक्छ । सङ्लो समाज छैन त्यसैले समाजकै समस्या हो ।

ऐना हेर्दा आफूलाई कस्तो देख्नुहुन्छ ?

धेरै ऐना हेर्न भ्याइँदैन । त्यही पनि अस्ति कहिले हेर्दा एउटा सक्रिय, दुःख गरेर पनि नहार्ने, सचेत हुन खोज्ने व्यक्ति भेटेँ ।

अब कति पुस्तक लेख्नुहुन्छ ?

मैले २१ वर्षको उमेरमा मुगलान भन्ने उपन्यास लेखेको थिएँ । त्यो मास्टरपिस नै भएको छ । भर्खरै पनि एउटा उपन्यास पूरा गरेको छु । आफूलाई सन्तुष्टि मिल्ने काम गर्न पाउनु नै भाग्यको कुरा हो । त्यसैको उज्यालो या रसले म बाँचेका छु ।

जीवनमा एउटा मात्र देउताको पूजा गर्न सकिने रहेछ । कला-साहित्य, प्रेम, कृषि आदिका रहरहरूलाई भाँच्दै, ढाल्दै, लडाउँदै लेख्ने काममा लागेको छु । सय वटा कृति बनाउँछु भनेर लागेको छु ।

मानव जीवनको सार के होला ?

मानव जीवनको सार भन्नु नै कर्तव्य हो । सबैलाई एउटै बाटो हिँड्न मुस्किल छ । धेरै अन्धकार छ । आफ्नो बाटो पत्ता लगाउन गाह्रो छ । आफ्नो बाटो पत्ता लाग्यो भने कर्ममय जिन्दगीमा लागिरहनु पर्छ ।

सम्झना आइरहने जीवनको कुनै घटना भए सुनाउनुहोस् न :

०२३ सालमा हामी पाँचथरबाट मधेस आयौँ । ०२४ सालमा पिताले यहाँ १ विगाहा जग्गा लिनुभयो । रतुवा खोलापारि ३/४ विगाहा जग्गा थियो । यताको खेती गरेर आमा बस्नुभएको थियो । पारि गोठाला, खेताला लिएर बा बस्नुभएको थियो । विद्यालय जान सजिलो होस् भनेर वारि सानो घर बनाएर बसेका थियौँ । बुवा पण्डित हुनुहुन्थ्यो । म झापाको हाई स्कुलमा पढ्थे । दाजु बनारस हुनुहुन्थ्यो, छुट्टीमा आउनुहुन्थ्यो ।

मान्छे लगाएर या आफैँ बोकेर म आमासँग धान कुटाउन मिल जान्थे । कुटाइसकेको चामल लिएर आमाले पारि जाने सोच बनाउनु भयो । आमा र म खोला पार गर्दै थियौँ । केही पर पुगेपछि खोलामा बाढी आयो । कसो कसो गरेर एउटा टापुमा पुगियो तर पारि जान सकिएन । वारि फर्किन पनि सकिएन ।

रात पर्‍यो । वारपार गर्ने उपाय भएन । त्यहीँ बस्नु पर्ने भयो । त्यसमाथि पानी पर्न थाल्यो । पानी डरलाग्दो किसिमले कराइरहेको थियो । हामीलाई मरिन्छ भन्ने भयो । चामल, लुगा सब भिजे । बिहानसम्म त्यत्तिकै बस्यौँ । उज्यालो भएपछि मान्छेहरूले वारिपारिबाट देखे । हल्ला खल्ला गरे । बा’ले मान्छेहरू भेला गरेर ल्याउनुभयो । बा’ले खर्च दिएर साहसी मान्छेलाई खोलो तर्न लगाउनु भयो र तिनै मान्छेहरूले हामीलाई तारेर पारि पुर्‍याए र बाँचियो । बा’ले खुसी भएर खोलो तार्नेलाई एक मन धान दिनुभयो ।

त्यो दिन बाँचेकाले अहिले मेरो अस्तित्व रहेको छ । होइन भने म मरेको ४० वर्ष हुने थियो ।