
‘विश्वविख्यात वैदिक वैज्ञानिक’ आचार्य कमल रिजालद्वारा लिखित पुस्तक हो। यस पुस्तकमा वेद, उपनिषद् पुराणका व्याख्याता ५९ ऋषिमुनिका देन समेटिएका छन्।
पुस्तकले वैदिक महर्षिहरूले देखाएका साधनाको मार्ग कति फराकिलो थियो भन्ने कुरालाई देखाउने काम गरेको छ। गोत्रप्रवर्तक महर्षिहरू भारद्वाज, वशिष्ठ, वत्स, कश्यप, धनञ्जय, मौद्गल्य, कौशिक, गर्ग, कौडिन्यजस्ता ऋषिमुनिका साथै सरस्वती, सीता, उर्वशी, द्रौपदी, अदिति, यमुना, सूर्यासावित्री आदि अर्चनायोग्य वैदिक मनीषीको चित्रण हुनु पुस्तकको अर्को विशेषता हो।
ज्ञानको भोक मेटाउन चाहने मानिस विश्वविख्यात वैदिक वैज्ञानिक दर्शनको पाठशालाबाट सहजै दीक्षित बन्न सक्छन्। प्राचीन ऋषिमुनिको मार्ग पछ्याउँदै ज्ञान प्राप्तिको शिखर चुम्न सक्छन्।
वैज्ञानिक र शास्त्रीय दुवै दृष्टिले उत्तिकै महŒवपूर्ण दस्ताबेजको ओजिलो ठेलीस्वरूपको यस पुस्तकभित्र गायत्री उपासना, सन्ध्यावन्दन, अध्ययन, अध्यापन, सामाजिक अनुशासन र अनुशासित जीवनको शैक्षिक मार्ग निर्देशित छ।
कृतिभित्रको पृष्ठभूमि आजको भूमण्डलीकरण र सांसारिक विकासको शिलान्यास गर्ने पौराणिक गुरुहरूको पथप्रदर्शन दर्बिलो स्तम्भ बनेर रहेको छ। हाम्रा ऋषिमुनिहरूले वेद, उपनिषद् र पुराण तथा महाभारतका सन्देशमार्फत मानव सभ्यतामा ताते गर्न नसिकाएका भए आजका मानव प्रकृतिको कुनै कुनामा ढुंगे औजार उध्याइरहेका हुन्थे।
सिकारी फिरन्ते बथानमा हुलिएर पाषाण युगीन आहारविहारमा हराइरहेका हुन्थे। तिनै आदरणीय ऋषिमुनिहरूप्रति सम्मानको गोरेटो खन्ने काम पुस्तकले गरेको छ।
शिवजीद्वारा छेदन गरिएको शिरको स्थानमा हात्तीको टाउको जोडिएका गणेशलाई प्राण भर्न सफल भएको शल्यक्रिया होस् वा रामायणकी नायिका सीताको उत्पत्ति ऋषिहरूको रक्तक्लोनबाट भएको प्रमाणले आधुनिक टेस्टट्युब बेबीप्रकरणलाई वैदिक विज्ञानकै उपज रहेछ भन्ने बुझिन्छ।
अग्निशक्ति, ऋषिहरूको सामथ्र्यशक्ति तथा वैज्ञानिकशक्तिको क्षेत्रमा पनि यस कृतिको महत्त्व झल्किन्छ। नदीनाला हल्लिने, आकाश गर्जिने तथा महासागरहरू छचल्किने वायुतत्त्वको विशेषतालाई मरुद्गणको चरित्रले सिद्ध गर्छ। भोग, अभाव, अशान्तिमाथि विजय प्राप्तिको जीवन संग्राममा अग्निशक्तिको चामत्कारिक सामथ्र्य अर्को उदाहरण हो।
संस्कृत भाषा विश्वकै प्राचीनतम भाषा मानिन्छ। विश्वका सबै भाषा परिवारमा संस्कृत भाषा भेटिनु र वेद पुराणका कुरा खुलाइनुले पनि यसको पुष्टि हुन्छ। यस अर्थमा महर्षि वाल्मीकि संसारकै आदि महाकवि हुन् भन्ने प्रमाणित हुन्छ।
वाल्मीकिको आदिम वैज्ञानिक चेतलाई अमेरिकी अनुसन्धान केन्द्र नासाले पनि प्रमाणित गरिसकेको छ। विश्वविख्यात वैदिक वैज्ञानिक ग्रन्थमा यस्तैयस्तै कुराका रसपान गर्न पाइन्छ।
ज्ञान र विज्ञानको भण्डार मानिएको यजुर्वेदका स्रोत याज्ञवल्क्य हुन् भन्ने कुरा उनकै अमर गाथाले प्रमाणित गरेको छ। भारतवर्षका नदीनालाका महिमामय गाथा पनि संग्रहभित्रको त्यत्तिकै सान्दर्भिक खुराक हो।
गण्डकीको छालमा लपेटिँदा लपेटिँदै खारिएर यहाँका शिला शालीग्राममा रूपान्तरित हुन पुग्छन्। त्रिशूलधारी शिवजीको जटाबाट निस्केर बगेकी त्रिशूली नदीको छल्को गण्डकीमा समेटिन्छ। रिडी र कालीको संगम रुरुक्षेत्रमा र काली तथा गण्डकीको संगम देवघाटमा देवताहरू स्वर्गबाट ओर्लेर आपसमा गुनगुनाउने जादुमय रहस्यले चकित बनाउँछ।
सभ्यताको सान हिमाली करेसाबारी छिचोल्दै गंगासागर उन्मुख नदीनालाका पौराणिक महिमा उत्तिकै छ। तिनै पवित्र नदीनालाका किनारमा रहेका घना जंगल, रहस्यमय गुफा र अग्ला हिमालका अमर गाथा टाकुरी चुम्दै ऋषिमुनिहरूको घुमफिर यात्राले तत्जन्य स्थान विशेषको उच्च महत्त्वलाई दशाउँछ।
वशिष्ठ, वेदव्यास, वाल्मीकि, कौशिक ऋषिहरूले यिनै गण्डकी, कोशी, कर्णाली, भागीरथी, किनारमा टहलिँदै पौराणिक भूमिका निर्वाह गरेका हुन्।
यस्तै यस्तै पृष्ठभूमिमा लेखिएको ‘विश्वविख्यात वैदिक वैज्ञानिक’ ग्रन्थभित्र आँखाले खोजेको र रोजेको समग्र सामग्री पाउन सकिन्छ। ज्ञान, विज्ञान, ब्रह्म, ब्रह्माण्डलगायत चराचर जगत् यही ग्रन्थको खुराक बनेका छन्।
राजनीति, कूटनीति, भेदनीति, अभेदनीति, संस्कार, संस्कृति, धर्म, अधर्म सबै यसैमा अटाएको छ। अमृत, विष, शान्ति, सदाचार, अनुशासन, अर्थनीति यसैमा समेटिएको छ।
कृषि, वाणिज्य, गोरक्षानीति यसैभित्र छ। विजय, पराजय, अशान्ति, अत्याचार, भ्रष्टाचार, कर्म, अकर्म, विकर्म सबै यसैमा छन्। धर्म, अर्थ, काम, मोक्ष चारै पुरुषार्थ यही सार्वभौम ग्रन्थमा छान्न सकिन्छ।
‘विश्वविख्यात वैदिक वैज्ञानिक’ संग्रहले प्राकृतिक शक्ति सन्तुलन र सांसारिक गतिविधिका साथै भुवनभाष्कर सूर्यको विशिष्टतालाई केलाएको छ। पूर्वीय दर्शनको आँखीझ्याल वेदका अर्थलाई अथ्र्याइनुका साथै ऋषिमुनिहरूका भूमिका समेटिएको सिन्धुरूपी विश्वविख्यात वैदिक वैज्ञानिक ग्रन्थ सम्पूर्ण दृष्टिले शिक्षाप्रद आध्यात्मिक खुराक हो। ५९ वटा वैज्ञानिक ऋषिका भूमिका कित्ताकाट भएअनुरूप उहाँहरूको सम्मान सम्बोधित भएको छ।
देवगुरु वृहस्पतिको वाक् चातुर्य र मेधाशक्तिको वन्दना भएको छ। चारै वेदका स्रोत एवं ब्रह्माण्ड सृष्टिकर्ता ब्रह्माजीको उच्च मूल्यांकन भएका छन्। भगवान् राम तथा कृष्णका पूर्वज मनुलाई सौर्य गाथाको संज्ञा दिइएको छ।
सूर्यवंशी राजाहरूका कुलपुरोहित वसिष्ठको उच्च स्थान छ। चराचर प्राणीलाई भरणपोषण गर्ने माता पृथ्वीको समीक्षा पुनः एकपटक केलाउन झकझक्याएको छ।
बादलको घर्षणबाट उत्पन्न हुने बिजुलीको रहस्यात्मक पक्षलाई केलाइएको छ। अन्तरिक्षयानसरह हिँड्न सक्ने सामुद्रिक जहाजको पोयोलाई उत्तिकै इमान्दारीपूर्वक केलाइएको छ।
सप्तऋषि, चन्द्रमा, तारागणलगायत जल, वायु, आकाश, पृथ्वी, अन्तरिक्ष सबैको महŒव दर्साइएकाले विश्वविख्यात वैदिक वैज्ञानिक नामक ग्रन्थलाई पूर्वीय दर्शनको सार हो भन्दा फरक पर्लाजस्तो लाग्दैन।
भाषा सिलसिलेवार, सरल प्रस्तुति, शब्द र वाक्य चयनको सान्दर्भिकता, पात्रहरूको कर्मअनुरूप प्लट चयन एवं ऋषिमुनिहरूको योगदानको विशेष हेक्काअनुरूपको कार्यसम्पादन विवरण विश्वविख्यात वैदिक वैज्ञानिक संग्रहका सबल पक्ष हुन्।
एउटै ग्रन्थमा वेद छ, उपनिषद् छ, पुराण छ, रामायण छ, महाभारत छ, गीता छ र तिनका कथाका सार र ऋषिमुनिहरूका कार्यसूचीलाई छर्लंग हुने गरी गरिएको सावधानी संग्रहका थप सबल पक्ष हुन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

