विष्णु भण्डारी वर्तमान पुस्ताका सक्रिय व्यक्तित्व हुन् । उनको विद्रोहको छाल, आँधी तुफान – मुक्तकसङ्ग्रह, ब्वाँसोको अन्त्य खेल – खण्डकाव्य, कालो नाटक – लघुकाव्य, फेरि अर्को तारा खस्यो, देश जागेको बेला, घाइते ह्विचेयर – कवितासङ्ग्रह, उत्सर्ग – महाकाव्य गरी आठ कविता,काव्यसङ्ग्रह तथा पहेँलो घाम र सुनको पहाड – उपन्यास प्रकाशित भइसकेका छन् भने २०८० हाल प्रकाशित ‘अरुन्धतीको मृत्यु’ कथासङ्ग्रह हो ।
साहित्यमा मात्र हैन पत्रकारिता क्षेत्रमा पनि उनको सक्रियता उत्तिकै पाइन्छ । खोजमूलक साहित्य अन्वेषण उनको आजको विषय हो । नेपाली साहित्यमा युद्ध दर्शनको गहकिलो भारी बोकेर अघि बढिरहेका भण्डारीको ‘युद्ध साहित्य’ पुस्तकले युद्धबाट स्थापित साहित्यको बलियो जग निर्माण गरेको छ । युद्धकालीन अवस्था, त्यसले बनाएको परिवेश, युद्धले निम्त्याएको द्विविधा र युद्धको अवशेषबाट अघि बढेको जीवनचर्या र शैलीलाई साहित्यको माध्यमबाट प्रस्तुत गर्नु जो कसैका लागि सहज हुने विषय होइन । यस्तै द्वन्दकालीन समयका भोगेका, देखेका र हेरेका विषयलाई कथाका रूपमा प्रस्तुत गरेका छन् ‘अरुन्धतीको मृत्यु’मा ।
भनिन्छ प्रेम र युद्धमा सबै जायज हुन्छन् । तर त्यसलाई परिस्थिति र परिवेशले निर्धारण गर्दो हो भन्ने लाग्छ । युद्ध मानवता विरोधी चिन्तनको परिणाम हो जसले मानवताको विपक्षमा उभिएर कार्य गर्छ । त्यसैले युद्ध वा द्वन्द्वले मानवताको पक्षधरता लिँदैन । द्वन्द्व वा युद्धलाई समयले निम्त्याएको परिवेश भने पनि सामाजिक जीवनको सापेक्षतामा बुझिन्छ । शासकले शासितमाथि गरेको असमानपूर्ण व्यवहारबाट निस्केको प्रतिरोधी चेतनाका रूपमा परिभाषित पनि गरिएको पाइन्छ ।
इतिहासलाई हेर्ने हो भने धर्म, जात वा जेसुकैका नाममा गरिएका जुनसुकै युद्धले विध्वंस मात्र गरेको छ, जनधनको क्षति गरेको छ, मानवीय संवेदनामा आघात पुर्याएका छन् र समाजको गतिलाई प्रभावित गरेका छन् । युद्धकै कारण कैयौँ सभ्यता नष्ट भएका छन्, कैयौँ राष्ट्र विनष्ट भएका छन् । यस्तो विनाशकारी कार्यलाई समर्थन गर्नु भनेको मानवता विरोधी चिन्तनलाई प्रश्रय दिनु हो भन्ने लाग्छ । युद्ध पछिको अवस्था शून्य वा नीरवतापूर्ण हुन्छ नै तर युद्धपछिको समय केही नवीन सुरुवात हुन्छ ।
भन्ने हो भने युद्धकै कारणले सिर्जना भएका छन् – युद्धका इतिहास र साहित्य । त्यसैको निरन्तरता हो ‘अरुन्धतीको मृत्य’ु । वर्तमान समयमा युद्ध र युद्धसाहित्यमाथि चर्चा बहस पनि भएको छ । अन्यायपूर्ण युद्धको विरोध र न्यायपूर्ण युद्धको पक्षमा आआफ्ना विचार व्यक्त हुँदै आएका छन् । युद्धकै विभिन्न कुरालाई लिएर साहित्य लेखिंदै आएको छ । युद्धसाहित्य आधुनिक कालमा मात्र हैन सभ्यताको प्रारम्भदेखि नै लेखिंदै पौराणिक साहित्यको रचना भएका हुन् जसलाई हामी धार्मिक पुस्तक मान्ने गर्दछौं । यसैका उदाहरण हुन् – रामायण, महाभारत, ओडिसी र इलियाड । विश्वमा जति पनि उत्कृष्ट साहित्य छन् प्रायः युद्धकै विषयमा लेखिएका छन् ।
युद्ध वा द्वन्द्वकालीन साहित्य इतिहास पनि हो । द्वन्द्व वा युद्धसाहित्य युद्धकालीन घटना, मानवीय संवेदना र धनजनको क्षतिजस्ता विषयमाथि लेख्न
सकिन्छ । युद्धबाट प्रभावित व्यक्ति, परिवार, समाज, समुदाय र सिङ्गो राष्ट्रले भोगेका पीडा, त्रासदी र अभिघातमाथि पनि युद्धसाहित्य लेख्न सकिन्छ । यस्तो साहित्यमा कुनै पक्षको द्वन्द्व वा लडाइँको मात्र चित्रण गरिएको हुन्छ भन्ने हुँदैन । त्यसको कार्यकारण सम्बन्धको खोजी गरिएको हुन्छ, युद्धसाहित्यमा द्वन्द्व तथा युद्धका बेला सिर्जना भएको मानवीय सङ्कटलाई आधार बनाइएको हुन्छ । युद्धपूर्वको अवस्थाको चित्रणले युद्ध हुनुका सामाजिक र राजनैतिक कारणको जानकारी लिन सकिन्छ । युद्धपछिको यथार्थमाथि लेखिएको साहित्यले युद्धले छोडेका घाउ कस्ता थिए भनेर बुझ्न सकिन्छ ।
युद्धसाहित्यको भूमिका महत्त्वपूर्ण भए पनि तटस्थ भएर युद्धमाथि कलम चलाउनु त्यति सहज र सरल काम भने हैन । युद्धसाहित्य युद्धमा भएको क्षतिको विवरणात्मक जानकारी हुन सक्दैन, त्यहाँ मानवीय क्षति संवेदना र त्यसले निम्त्याएको परिस्थितिको चित्रण पनि हुनै पर्छ । युद्धसाहित्य युद्धको गहन अध्ययन मात्र नभएर आत्मसातीकरणको प्रक्रिया पनि हो । युद्धसाहित्यको मूल प्रवृत्ति युद्ध जनित समयको अध्ययन, विश्लेषण र संश्लेषणमा आधारित हुनुपर्छ । युद्धकालीन सामाजिक चेतना, शासकीय प्रवृत्ति, वर्गीय चरित्र र समग्रमा तत्कालीन यथार्थको गहन अध्ययनविना लेखिने युद्धसाहित्यले युद्धको वर्णन मात्र गर्छ त्यसलाई न्याय गर्न सक्दैन ।
त्यस्तै युद्धकालीन समयले भोगेको त्रासदी, युद्ध जनित घटना र मानवीय संवेदनाको गहन चिरफार हो युद्धसाहित्य । युद्ध सामाजिक, आर्थिक र राजनीतिक द्वन्द्वको परिणाम भए पनि यो सबैभन्दा बढी मानवीय संवेदना र भावनासँग जोडिएको हुन्छ । तत्कालीन समाजको संवेदनामाथि बलात् हस्तक्षेप गरी लेखिने साहित्य युद्धसाहित्य हुन सक्दैन ।
त्यस्तै यस सङ्ग्रहमा द्वन्द्वकालका केही प्रतिनिधि घटना र प्रवृत्तिलाई आधार बनाएर लेखिएका कथाहरू छन् । द्वन्द्वपछि नेपाली समाजमा भएका, देखिएका तथा युद्धको अवशेषमा यस्ता कथा हजारौं भेट्न सकिन्छ । ‘अरुन्धतीको मृत्यु’भित्र कमान्डरको शव, छापामार, गाजस प्रमुख कमरेड बलवीर, भूतघर, लुकाम पहाडमा रेडियो, जलेको गितार, विद्रोह, अरुन्धतीको मृत्यु, खाटा नबसेको घाउ, भृकुटीमा दाग, आरुको फूल, डायरी, प्रतिशोध, अध्ययन बिदा, नायक, हुँडार जस्ता कथा समेटिएका छन् । यस सङ्ग्रहका अधिकांश कथामा द्वन्द्वको परिवेश र अवशेष पाइन्छ ।
यसरी यस सङ्ग्रहमा लेखकले मीठो र आकर्षित भाषाशैलीमा प्रस्तुत गरेका छन् कि युद्धले समाजमा अनेक प्रभाव छाडेर गएको छ, विशेष गरी नकारात्मक प्रभाव । जनधनको क्षति युद्धको प्रमुख असर हो भने सामाजिक विच्छिन्नता अर्को प्रभाव हो । आन्तरिक युद्ध, खासगरी गृहयुद्धमा समाज खण्डीकरण हुने र सामाजिक सद्भाव खलबलिने हुन्छ । तर युद्धको मूल्याङ्कन त्यसले तत्काल पार्ने असरका आधारमा गरिनुहुन्न । कतिपय युद्ध तत्कालीन समयमा विध्वंसकारी देखिए पनि तिनले समाजलाई दीर्घकालसम्म दिशानिर्देश गरेका हुन्छन् ।
खास विचार र वर्गको नेतृत्वमा हुने खास युद्धका प्रभावहरू तत्काल नदेखिए पनि तिनकै आधारमा टेकेर राजनीतिक आन्दोलनहरू अगाडि बढेका हुन्छन् । पछिल्लो समय देशभित्र माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको प्रभावको अध्ययन गर्दा त्यसले उठाएको विषय र परिवर्तनलाई अनदेखा गर्न सकिन्न । बृहत् शान्ति सम्झौता, गणतन्त्रको स्थापना, सामाजिक रूपान्तरण तथा युद्धले छोडेर गएका अवशेष नै यस कथासङ्ग्रहका विषय हुन् । द्वन्द्वमा भएका विभिन्न कृत्य त्यसमा भाग लिएका पात्रको मनोगत अवस्था र जीवनशैलीलाई विषय बनाएर कथाकार भण्डारीले अरुन्धतीको मृत्यु कथासङ्ग्रह द्वन्द्वकालीन यथार्थमाथि लेखिएका कथाको सङ्ग्रह हो ।
युद्ध आफैमा नीरस र जटिल हुन्छ तर त्यसको यथार्थ बुझ्न युद्ध तथा द्वन्द्वलाई विषय बनाएर लेखिएको साहित्य अध्ययन गर्नैपर्ने हुन्छ । युद्ध वा द्वन्द्वको सत्य थाहा पाउन त्यसको वस्तुस्थिति र सत्य खोजिनुपर्छ । यस्तै विषयलाई चित्रण गरिएका छन् यस कथासङ्ग्रह अरुधन्तीको मृत्युमा । भनिन्छ द्वन्द्वमा मनोभावनाको खासै महत्त्व हुन्न, त्यहाँ लगाईको काम गरिन्छ, आदेशको कार्यान्वयन हुन्छ । युद्धमा हुन्छ त हार र जित हुन्छ, आक्रमण र प्रत्याक्रमणको भाषा हुन्छ । यस्ता विषयमा कथा लेख्नु भनेको चुनौती मोल्नु पनि हो ।
कथाकारले ‘अरुन्धतीको मृत्यु’ कथासङ्ग्रहमा मानवता विरोधी घटनाका विविध पक्ष पनि समेटेका छन् । द्वन्द्वकालमा वैरी साँधेको प्रसङ्ग, जनअदालतमा दण्ड सजायको परिपाटी, राज्य र विद्रोही पक्षको ज्यादतीजस्ता प्रसङ्ग र कसैप्रति गरेका दुर्व्यवहारजस्ता अप्रिय कुरा पनि आएका छन् । निहत्थालाई मारिएका, अङ्गभङ्ग पारिएका मृत्युका नरमाइला प्रसङ्ग पनि यस सङ्ग्रहमा प्रशस्त भेटिन्छन् । द्वन्द्वका कथामा आएका डर, त्रास, भय र कतिपयलाई विद्रोही तथा राज्य पक्षले गरेको अमानवीय व्यवहार समेटिएका छन्, तर्क दिँदा कतिपयलाई यी विषयहरू नमिठा पनि लाग्न सक्छन् तर मानवको विपक्षमा गरिएका कुकृत्यको यथार्थलाई कथामा समेटिएको पाइन्छ । युद्धले प्रताडित पारेका मानवका जीवनगाथा, शैली तथा जनयुद्धका व्यथाले आघात पारेकाहरूलाई कथाहरू आफ्नै लाग्नेछन् ।
समग्रमा देशभित्रको युद्धले पारेको अवस्था वा द्वन्द्वकालीन परिवेशको यथार्थलाई कथासङ्ग्रहले प्रस्ट्याउन सफल भएको छ ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस पठनीय, सङ्ग्रहनीयका साथै द्वन्द्व साहित्यमा रुचि राखी अनुसन्धान गर्न चाहनेहरूका लागि उपयोगी पुस्तकको मूल्य रु.३५० रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।