‘स्वगृह पूज्यते मूर्ख, स्वग्रामे पूज्यते प्रभु, स्वदेश पुज्यते राजा विद्वान सर्वत्र पुज्यते’ । समाजमा यो श्लोक श्रुतिका रूपमा फैलिएको छ । राजा र विद्वानबीच तुलना नै हुँदैन । राजाले राज मात्रै गर्ने हो, दृष्टि दर्शन विद्वानको हुन्छ । राजाको शक्ति र वर्चस्व आफ्नै भौगोलिक सीमामा सीमित हुन्छ, तर विचारका सीमा हुँदैन । विद्वान विचारकहरू विचार, ज्ञान र बुद्धिका कारण सर्वत्र पूजनीय र माननीय  हुन्छन् । तर के साँच्चै विद्वान, विचारक र सर्जकहरू पुजिन्छन् त ?

इतिहास हेरौं । दार्शनिकको नाम लिने बित्तिकै सबैको दिमागमा सुकरातको नाम आइहाल्छ र लामालामा दाह्री अनि जिङ्ङ्रिङ्ग कपाल भएको आकृति टाँगिन पुग्छ । ईशापूर्व चौथो शताब्दीका यी महापुरुषलाई विश्वले दर्शनका पिता भनेर चिन्दै आएको छ, विश्वले अहिले पनि उनका विचार तथा दर्शनलाई समाज व्यवस्था सुधारको खुराकका रूपमा लिइरहेको छ ।

उनी पच्चिस सय वर्षअघि युनानको एथेन्स सडकमा यत्रतत्र घुमेर बटुवाहरूलाई भन्ने गर्थे– “मित्र तपाई एथेन्स नगरको महान् शक्तिशाली र बुद्धिमान नागरिक हुनुहुन्छ । के तपाई‌ं धन–सम्पत्ति र मान–सम्मान मात्र थुपार्न लाज मान्नु हुन्न ? तपाई नीति, सत्य र आत्माको शुद्धतालाई किन ध्यान दिनु हुन्न ?” बटुवाले आत्मा शुद्धिमा ध्यान दिन्छु भनेपछि मात्र अघि बढ्न पाउँथे । आत्माको आवाजले नराम्रो काम गर्न रोक्ने अभियानमा लागेका सुकरातलाई युवाहरूलाई भड्काएको र ईश्वरप्रति अनास्था फैलाएको अभियोगमा कारागार राखियो, मृत्युदण्ड दिइयो । एथेन्सका तर्फबाट पटकौ युद्धसमेत लडेका सुकरातको भावना आत्मिक शुद्धता थियो, त्यसैले निर्भीक थिए । सम्पूर्ण रूपमा परीक्षण नगरिएको जीवन बाँच्नु नै बेकार छ भन्ने उनको मान्यता थियो ।

एथेन्सबासीको भावना, चरित्र र कर्म सबैमा राम्रो हुनुपर्छ भन्ने आग्रह राख्थे । यो उनको अगाध राष्ट्रप्रेम थियो । उनको विचार, तर्क, विश्वास र कथाका कारण उनको अघिपछि शिष्यहरू झुम्मिरहन्थे । उनको प्रसिद्धि एथेन्सको सीमा नाघेर फैलिसकेको थियो । मृत्युदण्डबाट पनि उनी कत्ति विचलित भएनन् । उनलाई मारियो तर उनको विचार दर्शन झनै फैलिए । अन्धविश्वास र बेथितिका विषयमा उनले बोलेका कुरा, बाचेका कथा, युथाफ्राइन, क्रिटो, मिलिटससँगको वार्ता, फिडो, एचेक्राटिस, सिविस, सिम्मियास र अपोलोडोरसका कुराकानीलाई आधार मानेर अर्का महान् दार्शनिक प्लेटोले उनका विषयमा लेखेका कुराले विश्वलाई अहिले पनि मार्गदर्शन गरिरहेको छ । उनले किताब त लेखेनन्, तर वाणीका सिर्जना नै तत्कालीन शासकलाई हल्लाउने र समाजलाई सदिऔसम्म दृष्टि दिने शक्ति बने ।

शासकहरूमा आफ्नो विरोध सहने क्षमता हुँदैन भन्ने कुरा घटनाक्रमले सिद्ध गर्छ । आफूलाई ‘फर्स्ट स्टेट’ मानेर सर्वसाधारणमाथि प्रभुत्व जमाउने निरङ्कुश राजतन्त्रको विरोधमा सैयौं मुसाभन्दा एक शक्तिशाली सिंहको शासन मन पराउँछु भन्ने भोल्टेयरलाई बन्दी बनाइयो । उनकै उदारवादी सोच भएको ‘लेटर्स अफ दी इङ्लिस’ ले राज्यक्रान्ति अघि र पछि फ्रान्समा तहल्का नै मच्चाएको थियो । उदारवादका पिता मानिने जोन अफ लक आफ्ना कानुनी, राजनीतिक र सामाजिक विचारका कारण बेलायतबाट निर्वासित भै फ्रान्समा रहनु पर्यो ।

अफ्रोअमेरिकन अधिकार अभियन्ता मार्टिन लुथर किङको हत्या भयो । महिला अधिकार र समाज सुधारकी अभियानकर्मी एन्ने बेसेन्टलाई बन्दी बनाइयो । आदिवासी अधिकारका लागि आवाज उठाएका कारण भारतीय सन्त सतन स्वामीलाई ८३ वर्षको उमेरमा पनि आतङ्ककारीको आरोपमा पक्राउ गरियो । अलेकजेण्ड्रियाकी दार्शनिक, खगोलविद एवम् गणितज्ञ हाएपेसियालाई विचारदर्शनकै कारण मानव भिडले च्यातच्युत परेर फालिदियो । इटालियन दार्शनिक कवि गियारदाने ब्रुनोले पनि धार्मिक तथा वैज्ञानिक विचारका करण ज्यान गुमाए । जियन ज्याकुज रुसोका विचार दर्शनले विश्वलाई नै सुगन्धित बनाएको छ तर उनका विचारलाई धार्मिक कट्टरपन्थले सहेन, फ्रान्स र स्वीजरल्याण्डमा उनको पुस्तकमाथि प्रतिबन्ध लगाइयो, आठ वर्ष निर्वासित रहे । शब्दको शक्ति कैयन बन्दुकभन्दा शक्तिशाली हुन्छ । बन्दुकको असर त पड्किएपछि सकिन्छ, विचारको शक्ति फैलिँदै फैलिँदै अनन्त जान्छ । त्यसैले पनि विचारकहरूप्रति शासकहरू डराउने गर्दछन् र उनीहरूलाई यातना दिने बहाना खोज्छन् ।

सत्ता र शासक सबैको अभिभावक हुनुपर्नेमा पक्षपाती र निर्मम देखिएको इतिहास छ । सत्ता र शक्तिले दार्शनिक, साहित्यकार सर्जकहरूलाई कि त गुलाम बनाएर स्तुति भजनमा लगाउँछ, नसके उसको मानमर्दन मात्र होइन, निर्मम बनेर यातना दिने गर्दछ । राजा–महाराजा, सम्राट्-शासकहरू आफ्नै दरबारमा कवि सर्जक कलाकारलाई बोलाउने, उनीहरूको सिर्जनाबाट आनन्दित हुने र उनीहरूलाई सुविधा सम्मानले कब्जा गर्थे । जो सुविधा र सम्मानमा लोभिएनन् तिनहरू भने आँखाको तारो बन्थे ।

फ्रेन्च सैनिकको कारागारमा रहेका जेन जेनेटको ‘आवर लेडी अफ दी फ्लावर’ को पाण्डुलिपि नै कारागार प्रशासनले नष्ट गरिदियो । कागजका अक्षर, त्यो पनि कारागारभित्र लेखिएको त्यसमा के शक्ति थियो होला र नष्ट गरियो होला ? पुनः लेखिएको त्यस उपन्यासमा तथ्य, संस्मरण, कल्पना, स्वेरलहर, दर्शन, सौन्दर्यले पूर्ण बनी पाठकहरूको मनमा बसिरहेको छ ।

दाँतेको ‘डिभाइन कमेडी’, माकियावेलीको ‘द प्रिन्स’, मार्कोपालोको ‘मार्कोपोलको यात्रा’, मार्टिन लुुथरकिङको ‘लेटर फ्रम बर्निङ्घम जेल’, बट्रान्र्ड रस्सेलको ‘प्रिजन अफ पेसन’ बन्दी गृहमा गरिएका सिर्जना थिए । बन्दी बनाइदा पनि उनीहरूको विचार र कला बन्दी भएन । व्यक्तिगत स्वतन्त्रताका पक्षपाती रङ्गभेदविरुद्धका आन्दोलनकारी नेल्सन मण्डेलाई स्वेत शासकले स्वेत आतङ्क नै मच्चाएर २७ वर्ष बन्दी गृहमा राख्यो, स्वतन्त्रताको अनुरागलाई आफैसँग मनोलाप गरी ‘कन्भरसेशन वीथ माइसेल्फ’ आत्मकथा लेखे । उनको यो कृति विश्वकै सर्वाधिक बिक्री भएको आत्मकथा हो । कारागारमा पुस्तकालयको चलन छ तर विचारकलाई कारागार बनाइँदै आएको छ । तर विचारक भने त्यै कारागारलाई शब्दशक्तिका सिर्जनाशाला  बनाउन पुग्छन् ।

शब्द शक्ति कति धेरै हुन्छ भन्ने जागा उदाहरण युजे पोत्तर र रेज्जो सेरेसले देखाइदिए । रेज्जो सेरेसको भिगे भेलाग्नाक ‘उदास आइतबार’ बनेर प्रेमीहरूलाई आत्महत्याको शक्ति दिएजस्तै युजे पोत्तर विपन्न र दुखीहरूमा क्रान्ति जगाउने गीतकार बने । रोज्जोको भिगे भेलाग्नाकलाई बिबिसी जस्तो विचार स्वतन्त्रताको पक्षपाती संस्थाले समेत दोस्रो प्रतिबन्ध लगायो । विश्वयुद्ध भैरहेको बेला युद्धको जोस प्रेम पागलपनमा बदलिदिने आशङ्काले गीतलाई दपेटियो । उसो भए गीतमा युद्ध र प्रेमबीच युद्ध गर्ने शक्ति हुँदो रहेछ, युद्ध गीतबाट हार्दो रहेछ ।

जुलाई क्रान्तिको जवाफमा ‘भिगे लिवर्टे’ गीतमार्फत जनता जगाएका पोत्तरले पेरिस कम्युनको ब्लडी विक पछि ‘अन्तर्राष्ट्रिय गीत’ लेखेर संसारका गरिबहरूको दिमागमा क्रान्तिको बीज रोपे । तर उनै पोत्तर मातृभूमि छाडेर निर्वासनमा रहनुपर्यो । जब मातृभूमिको माटो स्पर्श गर्न फ्रान्स फर्के, गरिबीको कारण मृत्यु भयो । उनको शवयात्रामाथि तीव्र दमन भयो । संसारको सबैभन्दा शक्तिशाली गीतका सर्जक भोको पेटको वेदना र शासकीय दमनको दोहोरो सिकार बने । तर उनका गीत सर्वहारालाई शक्ति जगाउने अनन्त ऊर्जा बने । मूल्य वृद्धि, सामाजिक अन्याय र शासकीय अधिनायकत्व विरुद्ध १९८९ मा केही हजार युवा बेजिङको तियानमेन स्क्वाएरमा अहिंसावादी आन्दोलनमा उत्रिए । तर चिनिया सरकारको पिपुल्स लिरेशन आर्मीले उनीहरूमाथि चलाएको ट्याङ्कर दमनमा ती सबैले जीवनलीला समाप्त गरे ।

हजारौंका गिदीहरू माटोमा मिलाइयो, हजारौं सपनाहरूको एकसाथ हत्या गरियो । स्वर्गीय शान्तिको प्रवेशद्वार कहलिने तियानमेन स्क्वाएर अब हजारौं युवाको दमन स्थलमा दरिएको छ । दमन र हिंसाविरुद्धका कलम चलाउनेहरूले कति यातना भोगेका छन्, अरू कलमले त्यसलाई बाहिर ल्याउन सकेको छैन । तर शासकहरू यति डराएका छन् कि माटोमा मिलाइएका गिदीहरू स्वतन्त्रता र निजत्वको शक्ति बनेर उनीहरूलाई लखटिरहने छन् ।

सत्ता र शासकहरू शब्दशक्तिबाट डराएका कैयन उदाहरण छन् । १९५८ मा नोबेल  साहित्य पुरस्कार पाएका बोरिस पास्तारनाकलाई साबिक शोभियत सङ्घ सरकारले सम्मान मात्र नगरेको होइन, पुरस्कार नै फिर्ता गर्न बाध्य बनायो । पुरस्कार अस्वीकार गर्न बाध्य पारिएपछि सर्जक पास्तरनाकको प्रख्याति विश्वभरि फैलियो ।  उनको ‘डा जिभागो’ लाई जनताले प्रतिबन्ध लगाएनन्, बरु शोभियत सङ्घलाई नै जनताले प्रतिबन्ध लगाइदिए ।

प्रख्यातीको शिखर चुमेको ‘लोलिता’का सर्जक भ्लादिमिर नोबाकोभ जन्मस्थान सेन्ट पिटसवर्गबाट निर्वासित भै जर्मनी, फ्रान्स र अमेरिका बसाइँ सर्न बाध्य पारिए । दोस्रो विश्व युद्धका समयमा किल्ला संहालेर आफ्नो मातृभूमि शोभियत सङ्घका लागि युद्ध लडेका अलेक्जेण्डर साल्जेनित्सिन जोसेफ स्टालिनको विरोधी भएको आरोपमा बन्दी बनाइयो, उनका कृतिहरू प्रतिबन्ध लगाइयो, जलाइयो । कसैगरी युरोप पुर्याइएको पाण्डुलिपि प्रकाशित भएपछि उनलाई पनि नोबेल साहित्य पुरस्कार दिने घोषणा गरियो तर पुरस्कार ग्रहणका लागि स्कटहोम जान दिइएन । उनले चार वर्षपछि मात्र पुरस्कार ग्रहण गरेका थिए । ‘द गुलाग आर्किपेलागो’ प्रकाशित भएपछि त उनलाई देशद्रोहीको आरोपमा कैद नै गरियो । उनले देशद्रोह गरेको नभै राष्ट्रप्रेम, स्वतन्त्रता र निजत्वको वकालत गरेका थिए । उनी आफ्नै मातृभूमिमा आउन पनि शोभियत सङ्घको विघटन पर्खनु पर्यो ।

पूर्वीय समाजले त विभेदविरुद्ध शब्द पनि लेखेन, विचार र दर्शन पनि विभाजनमा रह्यो । त्यहाँ भएको जातीय, वर्गीय र लिङ्गीय विभेद बुझ्न याज्ञवल्क्यको भनाइ नै पर्याप्त हुन्छ । आफूसँग ससास्त्र गरिरहेकी विदुषी गार्गीलाई याज्ञवल्क्यले ‘धेरै प्रश्न नगर तिम्रो टाउको फुट्छ’ भनेका थिए । साहस गर्ने महिलालाई पूर्वीय समाजले दुस्साहसी ‘आइमाई’ मान्दै आयो । मनु, कौटिल्य, विदुर र नारद नीतिका विभेदकारी विचारहरू स्मृति, श्रुतिमा समाजभित्र गढेका छन् । सदिऔंदेखिको ‘आइमाई’लाई हेर्ने दृष्टिकोण र गर्भैदेखि सीमाङ्कन भूमिका परिमार्जन गर्ने शब्द सिर्जना नै नभएकाले सांस्कृतिक लाभ लिन महिलाहरू पछि परे । लैङ्गिक मानक र संस्कार परिमार्जनका स्वर उठ्दा समाज, शासन र स्वयम महिलाहरू पनि एकसाथ दबाउन जुरमुरिए  । भर्खरै मात्र दमित स्वरहरू शब्दका सहारा लिन थालेका छन् ।

अरू मुलुकको मात्र होइन, नेपालका शासकहरू पनि यसका अपवाद छैनन् । नेपालको पहिलो वैज्ञानिक गहेन्द्र  शमशेरलाई आफ्नै काका चन्द्रशमशेरको षड्यन्त्रमा विष पिलाइयो । उनले गेगन (गेहेन्द्र राइफल), बीरगन (बीर शमशेरको नाममा), धीरगन (जिज्यूबुबा धीर शमशेरको नाममा), तोप, मेसिन गन, कार्टिज, धान कुट्ने मिल, हावाबाट चल्ने मिल, पानीमुनि बिजुली बत्ती बनाए, मोटर गाडी पनि बनाउँदै थिए । विमान पण्डित (गोपाल पाण्डे), धातु विशेषज्ञ देवराज शाक्य, ग्रामोफोन निर्माता नरबहादुर भारती पनि चन्द्र शमशेरको यातनाको शिकार भए । राणा शासक आविष्कारबाट मात्र डराएको थिएन, शब्द र विचारबाट त यति आत्तियो कि कृष्णलालको मकैको खेती जस्ता किताबहरू प्रतिबन्धित भए । चन्द शमशेरका समयमा राणा शासन शब्द र सिर्जनाबाट निकै अत्तालियो र धेरै सर्वसाधारणले यातना पाए ।

ज्ञानको ज्योति फैलाऊँ भनेर जागरूक युवाहरूको संलग्नतामा पुस्तकालय खोलेका लक्ष्मीप्रसाद देवकोटालाई राणा सरकारले एक सय रुपैयाँ जरिवाना गर्यो । ज्ञान विचार निर्माण-प्रसारमा खेदिएका देवकोटा त्रिचन्द्र कलेजको प्राध्यापन छाडेर बनारस पुगी चेतनाको ‘युगवाणी’ फैलाउन थाले । देशभित्र प्रजातन्त्रका लागि राइफलवीर युवाहरूलाई जुरमुराउने ऊर्जा देशबाहिरबाट देवकोटाजस्ता कलमवीरहरूले दिएका थिए । शब्दशक्ति र युद्धशक्तिबाट प्रजातन्त्र स्थापना भएपछि देवकोटा आफै राजनीतिमा होमिए । दुईपटक सल्लाहकार सभामा चुनिए, प्रतिपक्षी नेता पनि बने । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला आफैले अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेको बजेटको मिहिन विश्लेषण गरी जनमुखी नभएको शब्दबाण हाने, मातृका सरकार ढल्यो । केही समय आफै शिक्षा तथा स्वायत्त शासन मन्त्री बनी कार्यकारी भूमिका गरे, उनको मन्त्रीत्व छोटो समय मात्र रह्यो ।

राजनीतिबाट निरन्तर खेदिएका देवकोटाले भने ‘केही समय राजनीतिको शौचालयमा थिएँ, अब साहित्यको भोजनगृहमा रम्छु’ । उनी निरन्तर खेदिए, शब्दबाण हान्ने कलम बोधो बनाउन खोजियो तर उनको कविताशक्ति र विचारले बेथितिलाई खेदिरह्यो । दार्शनिक र वैचारिक अभियानमा युवाहरूसँग रहे, संस्थाहरूको सिर्जना र नेतृत्व गरे । त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानको पूर्वाधार खडा गरे । उनको निरन्तरको शब्द अभियान र असाधारण प्रतिभाका कारण उनलाई पागल बनाइयो । वैयक्तिक स्वतन्त्रता, सामाजिक चेतना र स्वच्छन्दताको सौन्दर्यपरक चेत राखेबापत समकालीन समाज नै उनीमाथि खनियो र उनलाई पागल बनाइदियो । प्रतिभालाई नै पागल भनियो । पागल भन्नेहरूलाई उनले कवितामै जवाफ फर्काइदिए ः

‘जरुर साथी म पागल, यस्तै छ मेरा हाल

म शब्दलाई देख्दछु,

दृश्यलाई सुन्दछु

वासनालाई संवाद लिन्छु ।

आकाशभन्दा पातलका कुरालाई छुन्छु

ती कुरा

जसको अस्तित्व लोक मान्दैन,

जसको आकार संसार जान्दैन,…’

राणा शासनपछि प्रजातन्त्रमा पनि राजनीति र नेता नसुध्रेकाले उनीहरूप्रति पनि शब्दबाण हाने,

‘नवाफी, रवाफी कवाफी छ नेता, विलासी गिलासी सुवासी नेता

प्रजातन्त्रको ढ्वाङ रित्तो करायो, जमाना अनौठो नयाँ आज आयो’ ।

यसरी देवकोटाका शब्दबाण समाज र शासक दुवैप्रति समान थिए, त्यसैले उनलाई पागल बनाइयो । पागल बनाउनेहरू इतिहासमा कता हराए तर देवकोटाको धरहरा जत्रो व्यक्तित्व ठडिएकै छ । उनका अभिव्यक्तिको कालजयी सान्दर्भिकता छ । शासकको चारोप्रति न उनको चासो थियो न समाजले दिएको पागलपनप्रति । बिन्दास देवकोटा शब्दशक्ति सिर्जना गर्दै रहे ।

पञ्चायतका शासकहरूले ‘पञ्चायतको चाहना : शान्ति र सिर्जना’ का नाममा सर्जक विचारकहरूलाई सत्तासुविधाको चास्नीमा लटपटाइ दिए, जो यो चास्नीमा नलटपटिई निर्भीक भए, भजन मण्डलीमा रहेनन्, उनीहरूको प्रतिभाको कदर गरिएन, यातनाका शिकार भए । दरबारको नजर परेकाहरू प्रज्ञा नभए पनि प्राज्ञ बने । राजाको प्रत्यक्ष शासनमा पनि सुविधाको चास्नीमा रमाएका सर्जक–साहित्यकार, कवि–कलाकारले कलाको मर्म भुले, निजत्व र स्वतन्त्रताका पारखी चाहिँ भौतिक–मानसिक यातनाको पर्बाह नगरी सडक, डबली चोक र कागज–किताबमा शब्द र स्वरमा गुञ्जिरहे ।

नवसिर्जनाको बिउ रोप्लान् भनेर सर्जकबाट हिजो शासक र सत्ता डराएको थियो । आजभोलि सत्ता स्वादको उपयोगमा कर्पोरेट संस्थाहरू रमाउन थालेकाले सर्जकबाट कर्पोरेट संस्थाहरू डराउन थालेका छन् । आर्थिक, सामाजिक सत्ता (शक्ति)को स्वादमा रमाइरहेका संस्थाहरू सर्जक मेला र विचारको प्रायोजन गरेर शव्दशक्तिलाई आफ्नो मुठ्ठीमा पार्ने रणनीतिमा छन् । सम्मान, पुरस्कारको मञ्च–मेलाले विचार र सिर्जनालाई संस्थानीकरण गर्दै स्थायी शक्ति उपयोगको इरादामा छन् । सार्वजनिक बौद्धिक भनिएकाहरू पनि स्वार्थ र आग्रहमा लपेटिएका छन् । नजानिँदो रूपमा साहित्य, कला र विचारमाथि बजारले धावा बाल्दै छ र सच्चा सर्जक र विचारकहरू फेरि लखेटिँदै छन्, जसरी सुकरात र दाँतेहरू लखेटिएका थिए, बोइथस र ब्यूनानहरू बन्दी बनाइएका थिए ।

शब्द सिर्जना गर्ने, शब्दलाई प्रयोग गर्ने र शब्दलाई दबाउने प्रवृत्ति युगौंदेखि गतिशील छ । शासक शब्द र सिर्जना शक्तिबाट सधैँ आत्तिने गर्छ । स्वार्थी समाज र साथी–सङ्गाती ईर्ष्यामा रहन्छन् । त्यसैले विचारक र सर्जकहरू सधैँ प्रतिपक्ष बनेका छन् । शब्दशक्तिमा सत्य र सिर्जनाको तागत हुन्छ, परिवर्तन र नवनिर्माणको चाहना हुन्छ । उनीहरू सनातनी समाज र शास्त्रीय सोचबाट माथि उठेर स्वतन्त्रता र आनन्दको वकालत गर्छन् ।

साहित्य सर्जकहरू सपना देख्छन्, यदाकदा आवेश र उत्तेजनालाई कलामार्फत अभिव्यञ्जन गर्दछन् । विचारक–दार्शनिक पनि सपना देख्छन्, तर उनीहरू रणनीतिक मार्गहरू पहिल्याउने तार्किक ऊर्जामा हुन्छन् । दुवैमा सपनाहरूमा सामाजिक तागत दिने ऊर्जा हुन्छ । त्यसैले सिर्जनाको तागतबाट शासकहरू डराउने गर्छन्, सके जति शब्दलाई लखेट्छन्, अन्ततः शब्दसँग पराजित हुन्छन् ।