एका देशमा एउटा बुढो पाङ्ग्रे कुकुर थियो । जीवनका धेरै हिउँद बर्खा बिताएकोले अरू कुकुरभन्दा पाङ्ग्रे अनुभवी र लोकप्रिय थियो । एक दिनको कुरा हो, कोदो टिपेर नल काटिसकेको बारीको कान्लामा पारिलाे घाममा पाङ्ग्रे मस्तसँग निदाइरहेको थियो । यत्तिकैमा खिच्चा कुकुरका एक हुल छाउरा–छाउरी पनि त्यहीँ आइपुगे । बारीलाई भुतभुते खेलेर पाङ्ग्रेले धुलाम्मे र सम्याएको थियो । छाउरा–छाउरीले उछलकुद गरेर पाङ्ग्रेको पातलो निद्रा भङ्ग गरिदिए । पाङ्ग्रेको पुच्छर टोकेर खेलकुदमा सक्रिय बनाउने साङ्केतिक निम्तो पनि गरे । ससाना खिच्चा कुकुरसँग पाङ्ग्रेले खेल्ने उमेर त छँदै थिएन । छाउरा–छाउरी माथि वर्चस्व स्थापना गर्न खिच्चा कुकुर सम्बद्ध नसुल्झिएको ऐतिहासिक सन्दर्भ सुनाउने मेलो सोच्यो ।

नभन्दै सबै छाउरा–छाउरी पाङ्ग्रेको प्रवचन सुन्न लालायित भए । र, पाङ्ग्रेले कथा यसरी सुरु गर्यो :

हेर, संसारमा हामी सबैभन्दा बढी शोषण, दमन र उत्पीडनमा परेका प्राणी हौं । हुनलाई हामी घरपालुवा जनावर भनेर नै परिचित छौं । तर अन्य घरपालुवा जनावरको तुलनामा हामी धेरै उपेक्षित र उत्पीडित छौं । गाई, गोरु, भैंसी, भेडा, बाख्रा, हात्ती, घोडाको तुलनामा हाम्रो हैसियत छँदै छैन । गधासँग पनि हाम्रो तुलना हुन सक्तैन । सत्ययुग, त्रेतायुग, द्वापरयुग बितेर कलियुग लागिसक्यो हाम्रो कुनै थातथलो ठेगान छैन । हाम्रो काम भुक्ने र सडकमा सुत्ने बाहेक केही हुन सकेको हैन । कहिलेकाहीँ त लाग्छ हामी पनि स्वाँठ पार्टीको ल्वाँठ कार्जेकर्ता हौं ।

हाम्रो परिचय :

प्राचीन इजिप्ट र पश्चिम एसियाबाट हाम्रो आधुनिक सभ्यता सुरु भएको हो । रोमन साम्राज्यको उदयसँगै हाम्रो सभ्यता सुरु भएको १२ हजार वर्ष पहिले देखिको हो । विश्वमा हामी विविध जातिका छौं । मान्छेहरू ‘होमोसेफियन’ नश्लबाट विकसित भए । हामी ‘ग्रे–ब्वाँसो’ नश्लीय परिवारबाट विकसित भयौं । यसरी उत्पत्तिको हिसाबले हाम्रो पनि ऐतिहासिक मान्यता छ । आजभन्दा २७ हजार वर्षदेखि ४० हजार वर्ष पहिले ब्वाँसोको परिवारबाट विकसित प्राणी हौं ।

तर, हाम्रै सदस्यहरूबीच पनि अनेक नश्ल सुधार गरेर एक थरीलाई उपल्लो वर्गमा विराजमान गराइएको छ । कतिपय अपराधी पकड्ने पुलिस दर्जामा छन् । फुटाऊ र राज गर भने जस्तै एक थरी नश्ल सुधार गरिएका हाम्रा दाजुभाइ अट्टालिका महलमा बस्छन् । गद्दामा सुत्छन् । पौष्टिक खान्की खान पाउँछन् । हामीलाई देखी सहँदैनन् । उनीहरू बस्ने महलको पर्खालमा ‘कुकुरदेखि होसियार’, ‘टोक्ने कुकुरदेखि सावधान’ लेखेर तिनको हैसियत बढाइन्छ । तिनीहरू गाडीमा घुम्छन् र मालिक मालिक्नीको गालामा चुम्माचाटी गर्न पाउँछन् । अर्थात् कुकुरमा पनि वर्गीय अन्तरविरोध छ ।

नैसर्गिक अधिकारमा उत्पीडन :

हामी माथि भएका उत्पीडनको कैरन गरेर साध्य छैन । हाम्रो भूमिका त मान्छेले नभने पनि गरेकै छौं । तर, तिनले हाम्रो भूमिकाको कुनै कदर गरेका छैनन् । समाजमा भएका नकारात्मक कुराको सबै भारी हामीले बोक्नै पर्छ । यति धेरै काममा तल्लीन हुँदासम्म गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता आधारभूत अधिकारबाट बेदखल भएका छौं । हामी सफाइ कर्मचारी पनि हौं । सिनो खाएर सफा गर्छौं । मान्छेको मल (गु) खाने हाम्रो प्राकृतिक नैसर्गिक अधिकार हो । हाम्रो परम्परागत खान्की ‘गु’ खान नपाओस् भनेर खुल्ला दिशामुक्त क्षेत्र अभियान चलाए । हाम्रो खान्की कङ्क्रिटको बक्साभित्र हालेका छन् । यसले गर्दा हामी घुमन्तु कुकुरमा अनिकाल छाएको सर्वविधितै छ ।

हुर्मत लिने उखान :

हामीलाई होलोहोचो देखाउन अनेक उखान रचिएका छन् । उहिले नै रचिएको र आजसम्म चलेको यी उखान संशोधन, परिमार्जनसम्म भएका छैनन् । यस्तै एउटा उखान हो, “सबै कुकुर काशी गए ‘गु’ के ले खाने ?” खुल्ला दिशामुक्त क्षेत्र अभियान अन्तर्गत पक्की पाइखाना बनेपछि यो उखानको के मतलब ? ‘कुकुरलाई घिउ पच्दैन’, यो अर्को कुकुर विरोधी उखान हो । कुकुरलाई घिउ नपच्ने थाहा हुँदाहुँदै घिउ खुवाएर हामीलाई खुइल्याउँछन् । हामीलाई धर्म–सांस्कृतिक मुन्धुमबाट अलग गर्न ‘काम छाडी कैफत, कुकुरलाई नैवेद’ रचित उखान पनि छ ।

हाम्रा जनाना कुकुर्नीलाई हुर्मत काढ्ने उखान छ । जस्तै: ‘कुकुर्नीका सातवटा पोइ मर्ने बेलामा कोही न कोही ।’ पशु जगतमा एकनिष्ठ बिहे भन्ने नै हुँदैन । तर मान्छे जगतको एक पत्निक र एक पतिकको व्यवस्थालाई नमानेर बहु–पत्निक वा बहु–पतिक व्यवहार गर्नेलाई पनि कुकुर, कुकुर्नीको संज्ञा दिन्छन् । अरू पशु जगतमा नश्ल सुधारका नाममा छानिछानी साँढे, बर, वीर लगाइन्छ । तिनीहरूको उदाहरण आउँदैन । तर कुरो चैं हाम्रै काटिन्छ । मान्छेहरू बाह्रैमास, बाह्रै महिना, चौबिसै प्रहर कामसूत्रको ध्याउन्नमा हुन्छन् । समय कु–समय रासलीला मच्चाउँछन् अनि तिनका स्वास्नी मान्छे ब्याइ भने भन्छन्, ‘कस्ती कुकुर्नी जस्तो ब्याउन सके की ?’

मान्छेहरू आफ्नो आनीबानी सुधार्दैनन् अनि हाम्रै पुच्छरलाई मिथक बनाएर भन्छन्, ‘बाह्र बर्ख कुकुरको पुच्छर ढुङ्ग्रोमा हाल्यो बाङ्गाको बाङ्गै ।’ हामी दिनरात रखबारी गर्छौं । स्याल, ब्वाँसो, चिल खेद्छौं । त्यसको हेक्का नराखी हाम्रो विपक्षमा उखान बन्यो, ‘कुकुरको काम पनि छैन, फुर्सद पनि छैन ।’

हामीलाई डरछेरुवा, काँतरको रूपमा प्रस्तुत गर्दै उखान बनेको छ, ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’, ‘भुक्ने कुकुरले टोक्दैन’, ‘कुकुर भुक्दै गर्छ हात्ती लम्किरहन्छ’, ‘बोकेको कुकुरले मृग मार्दैन’ यस्तै यस्तै । सामाजिक रूपले होच्याउने उखानहरू रचिएका छन्, ‘कुकुर जस्तो भतुवा लाग्ने’, ‘कुकुरलाई मासु पैंचो’, ‘कुकुर बिरालो’, धोबीको कुकुर घरको न घाटको’, ‘घामपानी घामपानी स्यालको बिहे कुकुर जन्ती बिरालो बाहुन’ आदि इत्यादि ।

शब्दकोशहरूमा कुकुर :

नेपाली शब्दकोशहरूमा हाम्रा बारेमा दिएका अर्थ र परिभाषा त्यत्तिकै दिक्दार लाग्दो छ । स्याल, फ्याउरोको रखबारी गर्ने मात्र उल्लेख छ । जबकी हामीहरु मान्छे जातका चोर, डाँकाको पनि उत्तिकै रखबारी र खबरदारी सूचना सम्प्रेषण गरिरहेका हुन्छौं । हत्यारा, ज्यानमाराको खोजी गर्न पनि हाम्रो घ्राण शक्तिको भरपुर उपयोग गरिरहेका हुन्छौं । तर त्यही शब्दकोशमा हाम्रो नाम जोडेर अनेक बिखालु जीव, झारपात हामीसँग दरिएको छ । ‘कुकुर झिँगो’, ‘कुकुर डाइनो’ (काँडे लहरो), ‘कुकुर मुत्ते’ (खान नहुने रुखमा हुने च्याउ), हामीले हाम्रा कान पाक्ने गरी सुन्दै आएका छौं । हाम्रा अङ्ग प्रत्यङ्ग  पनि खिसीटिउरी गर्ने नाम भएका छन्, जस्तो की ‘कुकुर दाँते’, ‘कुकुर पुच्छ्रे’ आदि । हाम्रा बानी बेहोरालाई पनि निको अर्थमा लिइन्न । ‘कुकुर डुलुवा’, ‘कुकुर भुकाइ’, ‘कुकुर मुखे’, ‘कुकुर मुत्ते’ भन्ने ननिको चलन छ । हाम्रो प्राकृतिक गुण अनुसार हामी वर्षमा एक पटक मैथुन क्रियाकर्म गर्छौं । मान्छे जस्तो बाह्रै महिना, बाह्रैमास, २४ सै प्रहर हैन । कात्तिक महिनामा हामीले गर्ने मैथुन क्रियालाई ‘कुकुर गाँठो’ भनेर अश्लील र गिज्याउने अर्थ दिइएको छ । कसै मनुवाले रतिराग, रासलीला मच्चाए उसलाई कात्तिके कुकुर भन्ने चलन छ । वर्ष दिन २४ सै प्रहर रासलीला गर्ने तिनको क्यारेक्टर चैं ढिला हुनु पर्ने हैन र ?

छनलाई हाम्रो पनि चाडपर्व छ जसलाई कुकुर तिहार भनिन्छ । तर हेपेर त्यसलाई ‘कालो कात्तिक’ भनेर नामै बिगारिएको छ । भित्ता मुतुवा भन्छन् । तर भित्ता मुतेको रहस्य तिनलाई के थाहा ? हामीलाई कात्तिके नाम जुराएका छन् । चाडमा यसो माला लगाइदिए जस्तो गरेर हड्डखुड्डी दिएर मन्साउँछन् । मान्छेहरू चाडबाडमा रसरङ्ग पिउँछन् । धेरै पिए भने कुकुरको मुत घिचेको भनेर हाम्रै मूत्रको हुर्मत लिन्छन् ।

पत्रकारिता र साहित्यको नजरमा कुकुर :

साहित्य र पत्रकारिताको नजरमा भने हाम्रो मानमनितो भए जस्तो लाग्छ । साहित्यकारले हाम्रा बारेमा अनेक साहित्य, सायरी रचेका छन् । एक जना सायरले त यतिसम्म लेखेका छन्, ‘मोहब्बत और बफादारी सीखनी है तो इन्सान से नही कुत्तौं से सिखो ।’ प्रेम र बफादारी भन्ने चिजबस्तु सिक्न त हामीलाई नै गुरु थाप्नु पर्ने रहेछ । इन्सानीयत अर्थात् मानवीयता सिक्न कुकुरबाट गुरु दीक्षा लिनु पर्ने अवस्था आएपछि मानव भन्ने चिजबस्तु नै कहाँ रह्यो र ? साहित्य लेखनमा यो त प्रतिनिधि उदाहरण मात्रै हो ।

पत्रकारिता शिक्षाको परिभाषामा पनि ‘कुकुर दीक्षा’को मूल्याङ्कन पाइन्छ । समाचार उत्पादनकै परिभाषामा भनिएको छ, ‘कुकुरले मान्छेको खुट्टा टोक्यो भने समाचार हुँदैन, तर मान्छेले कुकुरको खुट्टा टोके समाचार हुन्छ ।’ रखबारी गर्ने क्रममा हामी मान्छेको मात्रै होइन अरू जीवजन्तुको पनि खुट्टा बाँकी राख्दैनौं । हाम्रो प्राकृतिक गुण नै टोक्ने चिथोर्ने भएपछि कसरी समाचार बन्छ त ? यसरी नै पत्रकारिता जगतमा ‘वाच डग’को भूमिकालाई शिरोधार्य र अनिवार्य गरिएको छ । यसले पनि कुकुर जगतको भूमिकालाई दीक्षाको रूपमा लिएको छ । यसबाहेकका क्षेत्र विधामा त हामीहरू भुस्याहा, खिच्चा, लावारिस र खाते कुकुर हौं । हाम्रो नामै पनि काले, पाङ्ग्रे, खैरे आदि एकलख भिरेको न छ । उता बेलायती उपनिवेश भारतमा कायम हुँदा कुइरेहरूले अलिकति मानिससँग दाँजेका थिए । कलकत्ताको धरमतल्लामा रहेको भिक्टोरिया मेमोरियल हल अगाडिको पर्खालमा ‘इण्डियन एण्ड डग्स आर नट अलाउड’ लेखेर भारतीयहरूसँग कमसेकम हाम्रो तुलना गरेका थिए ।

मृत्यु र मोक्ष :

मृत्यु भनेको जीवका जीवनको समापन वा अन्त हो । देहावसान, निधन र मरण हो । तर हाम्रो मरणको कुनै मूल्य छैन । मानिसको मृत्युमा स्वर्गवास, बैकुण्ठधाम अनेक नाम दिन्छन् । मार्क्सवादीहरूले मृत्युलाई दुई चिराबाट व्याख्या गर्छन् । पहिलो गर्व गर्न लायक मानिसको मृत्युलाई हिमाल भन्दा गह्रुँगो र नालायक मान्छेको मृत्युलाई प्वाँखभन्दा हलुङ्गो भनेर वर्गीकरण गरिएको छ । तर, हाम्रो मृत्युलाई शब्दकोशहरूले ‘कुकुर मराइ’ उल्लेख गरेको छ । हाम्रो  मृत्युलाई कष्टपूर्ण मृत्यु, सारै दुःखको मरण यस्तो परिभाषा गरिएको छ । हाम्रो मृत्युवरणको कुनै असल नाम छैन । कुकुर मराइ भनिन्छ । हाम्रो मृत्युको कुनै ठेगान छैन । नगरपालिकाले बेला–कुबेला भुस्याहा कुकुर उन्मुलनको नाममा हाम्रो ‘जेनोसाइड’, ‘होलोकास्ट’ गर्छन् । रेविज फैलाएको आरोपमा उपचारको साटो सिधै मृत्युदण्ड दिइन्छ ।

मोक्ष धार्मिक सिद्धान्तमा सांसारिक संघटनबाट मु‌क्ति प्राप्त गर्ने प्रक्रिया हो । जसले आत्मा वा जीवात्माको सर्वोत्तम लक्षमा पुर्याउँछ । यसले दुःख, पीडा, र सांसारिक संकटबाट मुक्ति प्रदान गर्दछ । सांसारिक दुःखबाट मुक्ति वा स्वतन्त्रता पाउने विधि हो । तर, हाम्रो मोक्षको कुनै मूल्य छैन । हाम्रा बाउ, बाजे, बराजुबाट सुनेको एक पटक सायद द्वापर युग तीर होला युधिष्ठिरसँग एउटा कुकुर रहेछ । एक दिन यमराज युधिष्ठिरलाई स्वर्ग लैजान आएछन् । युधिष्ठिरले आफूसँग भएको कुकुरलाई पनि लैजान अनुरोध गरेछन् । तर, यमराजले कुकुरलाई स्वर्गमा प्रवेश निषेध भएको जनाउ दिए रे ।

कथाको रहलपहल :

यसरी हामीमाथि अनन्त उत्पीडनका शृङ्खलाबाट आजित भएपछि संसारभरका कुकुरहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले मुक्ति र स्वतन्त्रताको लागि आन्दोलन गर्ने निर्णय गर्यो । ‘संसार भरका खिच्चा कुकुरहरू एक हौं’ यस्तो गगनभेदी नारा लाग्यो । यसैक्रममा सशस्त्र (टोक–टाक) र निःशस्त्र (भुक–भाक) आन्दोलन उत्कर्षमा पुग्यो । संसार थर्कियो । ब्रह्माण्डका रचनाकार ब्रह्मा, विष्णु, महेशको सिंहासन हल्लियो । ब्रह्मा जी दूत बनेर वार्तामा आए । बाह्रबुँदे समझदारी भयो । समझदारीमा गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभा, संविधानसभाबाट पहिचानसहितको संघीय गणतन्त्र स्थापना गर्ने समझदारी पत्रको प्रस्तावनामा उल्लेख भयो ।

सहमति पत्रको चिर्कटो एकप्रति कुकुर नेताहरूले राखे । ब्रह्माजीले समझदारी अनुसारको व्यवस्था कार्यान्वयन गर्न सहमति पत्र बोकेर स्वर्गमा आउन आन्दोलनकारी कुकुर नेतालाई भने र अलप भए । यता कुकुरहरूलाइ  सहमति पत्र कसकसले बोक्ने भन्नेमा सकस भयो । एक अर्कामा शंका उपशंका बढ्यो । यसर्थ सबैले पालैपालो बोक्ने निधो भयो । तर, कुकुरहरूसँग बोक्ने कुनै झोला फाइल हुने कुरा भएन । सबैले पछाडि पट्टिको तिघ्रामा पालैपालो च्यापेर बोक्ने निर्णय भयो । यसरी असङ्ख्य कुकुरहरूले पालैसँग बोक्दै लैजाँदा सहमति पत्र कहाँ हरायो पत्तै भएन । जब एकदिन ब्रह्मा जीकोमा जाने दिन आयो सहमति पत्रको खोजी गर्दा खुटखबर आएन । यसर्थ अहिले पनि हामीहरू मुक्ति र स्वतन्त्रताको खातिर त्यही सहमति पत्र खोजिरहेका छौं । यसैले कुकुर कुकुर भेट हुँदा हामी कुकुरहरू पछिल्तिरको भाग हेर्ने र सुँघ्ने गर्छौ‌ं । कतै सहमतिको चिर्कटो भेटिन्छ कि भन्ने हाम्रो आश मरेको छैन । हाम्रो उत्पीडनको मुक्तिको सूत्र त्यही चिर्कटोमा छ । जुन दिन हात लाग्छ हाम्रो मुक्ति र मोक्ष हुनेछ ।

यति कथा पाङ्ग्रेले हालिसक्दा बारीको पारिलो घाममा छाउरा–छाउरीहरू उत्तानो टाङ सूर्य नारायणतर्फ फर्काएर मस्तसँग निदाइसकेका थिए ।

टिप्पणीका लागि : bhawanibaral@gmail.com