विषय प्रवेश

आख्यान विधाको कान्छो प्रविधाका रूपमा विकसित छ लघुकथा । यसको चर्चा निकै अगाडिदेखि भए पनि व्यापकता पाउने काम भने पछि मात्र भएको हो । सुरु सुरुमा प्रविधात्मक प्रष्टता थिएन । प्रष्टता नहुँदा नहुँदै पनि लघुकथा लेखिएको, पढिएको र छापिएको थियो । थोरैमा धेरै भन्ने यसको विशेषताले धेरैलाई छोयो । यसैले आख्यानको यो प्रयोगलाई धेरैले रुचाए र पछ्याउँदै गए । हुन त प्रारम्भतिर यो लघुकथा नामले पनि व्यवहृत थिएन ।

सुरु सुरुमा त आख्यानको यो प्रयोगलाई प्रविधाका रूपमा चर्चा पनि गरिएन किनकि विधागत प्रयोगले प्रविधा बन्ने सौभाग्य प्राप्त गर्न लेखनमा, पठनमा, प्रकाशनमा, प्रसारणमा पनि व्यापकता पाउनुपर्थ्यो । यी सबै कुरामा व्यापकता प्राप्त गरे पछि यसले प्रविधागत स्वीकृति पनि पायो । आज यो लोकप्रिय प्रविधाका रूपमा स्थापित छ ।

आज लघुकथा लेख्नेहरूको सङ्ख्यात्मक उपस्थिति लोभलाग्दो किसिमले बढेको छ । व्यक्तिगत तथा सामूहिक सङ्ग्रहहरू प्रकाशनको क्रम पनि बाक्लिँदै छ । अधिकांश पत्रपत्रिकाहरूले लघुकथाका विशेषाङ्कहरू पनि छाप्न थालेका छन् । लघुकथाकै नाममा खुलेका सामाजिक सञ्जाल समूहहरूले पनि लघुकथा लेखनको सङ्ख्या वृद्धिमा सराहनीय काम गरिरहेका छन् । पढ्नेहरू, लेखिएका लघुकथामा छलफल गर्नेहरू र समालोचना गर्नेहरू पनि उल्लेख्य सङ्ख्यामा बढेका छन् ।

छोटो बसाइमा पढ्न मिल्ने भएर पनि होला अनि प्रभावोत्पादक प्रविधा भएर पनि होला यसको लोकप्रियता चुलिँदै गएको छ । यो लघुकथाको विकासमा राम्रै फड्को हो । तर यति हुँदा हुँदै पनि यसको लेखनमा मानकको प्रश्न जति उठ्नु पर्ने हो उठेको छैन । मानकभन्दा अमानक लेखाइहरू बढेका छन् । प्रतिभा भएका लघुकथाकारमा पनि साधना र लगनको अभाव खड्किएको छ । यो चुनौतीलाई कम गर्दै लैजान अबका दिनहरूमा लेखकले, प्रकाशकले, लघुकथाका अभियन्ताहरूले मानकको अभियानलाई सशक्त ढङ्गले अगाडि बढाउन आवश्यक छ । यो लघु आलेख लघुकथामा मानकको अभियानलाई सघाउ पुगोस् भन्ने उद्देश्यले तयार पारिएको हो ।

लेखनमा जीवन्तता

युगौँ युगसम्म लेखन बासी नहुनु, नित्यनूतन बनिरहनु लेखनको जीवन्तता हो । लेखनको जीवन्तताले रचनालाई सदासर्वदा बचाइराख्छ । जीवन्त नभएका लेखनलाई लेखनका क्षेत्रमा अखबारी लेखन भनी खिस्याइन्छ । अखबार भनेको समाचार पत्र हो । अरबी भाषाबाट नेपालीमा भित्रिएको अखबार शब्दमा ई प्रत्यय लागेर बनेको अखबारी शब्दले अखबार सम्बन्धी भन्ने अर्थ दिन्छ । अखबारमा लेखिने लेखन अखबारी लेखन हो । छिट्टै बासी भइसक्ने विशेषताले अखबारी लेखन चिनिने गर्छ । अर्थात् लेखनको क्षणभङ्गुरता । साहित्यमा अखबारी लेखनको शैली वर्जित छ । लेखकहरूले अखबारी लेखन र साहित्यलाई बुझ्न नसक्दा साहित्यमा पनि अखबारी लेखन पसेको छ । पसेको मात्र होइन धेरैको साहित्य नामका रचना अखबारी लेखनमा फसेको पनि छ । भोलि जेसुकै होस् तत्काल वाहवाही पाउने नाममा साहित्यमा अखबारी लेखनको अतिक्रमण बढ्दो छ । सोसल मिडियाहरूले पनि यो प्रवृत्तिलाई मलजल गरिरहेका छन् ।

कालीदास आज पनि लेखनमा जीवन्त छन् । होमर बाँचेका छन् – इलियड र ओडिसीमा । डिभाइन कमेडीमा दाँते अनि मुनामदनमा देवकोटा आज पनि तन्दुरुस्त छन् । सम, माधव घिमिरे आआफ्ना रचनामा जिउँदा नै छन् आज पनि । लेखनको जीवन्तता भनेको लेखन मानक हुनुको प्रमाण हो । कालीदास, होमर, दाँते, देवकोटा, सम, घिमिरे आज पनि जिउँदो बनिराख्नु उनीहरूको लेखन जीवन्त अनि सार्वकालिक हुनुको प्रमाण हो । साहित्यका अन्य विधा र प्रविधामा जस्तै सार्वकालिकता र जीवन्तताको प्रश्न लघुकथाबाट पनि छुट्टिएर रहन सक्दैन । लघुकथालाई पनि सार्वकालिकता र जीवन्तताले नै मानक बनाइराख्छ ।

मानक र यसको उपादेयता

मानक भनेको एउटा स्तर हो । कुन विधा कस्तो स्तरमा रहनुपर्छ भन्ने मोटामोटी खाकालाई साहित्यमा मानक भनिन्छ । साहित्यका विधा र प्रविधाहरूका आआफ्नै मानक धर्काहरू हुन्छन् । साहित्यमा मानकको धर्को निर्माण गर्दा लेखनलाई नै आधार बनाइन्छ । यसैले मानकको धर्कामा लेखकको समकालीनता प्रतिबिम्बित हुन्छ । विधा र प्रविधाका छुट्टाछुट्टै मानक धर्काहरू हुने हुँदा एउटाको मानक धर्को अर्कालाई काममा नआउन सक्छ । भनेको मतलब कवितामा कोरिएको मानकको धर्को उपन्यासका लागि काम नलाग्न सक्छ वा अपुग हुन सक्छ । अनि उपन्यासका लागि उल्लेख गरिएको मानक विन्दुहरू कथा अनि लघुकथाका लागि अनावश्यक ठहर्न सक्छन् ।

मानक अपरिवर्तनीय र रूढ भने हुन्न, फेरिइरहन्छ । पहिला पहिला खण्डकाव्यको मानकमा ‘पात्रहरू उच्च कुलीन हुनुपर्छ, राजा महाराजाका कथा हुनुपर्छ, छन्दमा लेखिनुपर्छ’ भन्ने थियो । किनकि त्यतिखेर त्यही मानक थियो । तर आज त्यो मानक भत्किएको छ । लेखनमा आउने नव प्रयोगले नै पुरानो मानकलाई भत्काउँछ र नयाँ मानक खडा गरिदिन्छ । प्रतिभाशाली लेखकहरूले नयाँ मानक स्थापना गरिरहन्छन् ।

साहित्यका विधा उपविधालाई भड्किएर अन्यत्र बग्न नदिन त्यसमा एउटा मोटामोटी मानक रेखा खिचिएको हुन्छ । मानक रेखा अलिखित रूपमा नै रहन पनि सक्छ र लिखित रूपमै आउन पनि सक्छ । नियम, सिद्धान्त आदि जे जे नामले पुकारे पनि त्यो मानक रेखा नै हो । खिचिएको मानक रेखाबाट अलिकति पनि दायाँबायाँ गर्नुहुन्न भन्ने नियम चाहिँ साहित्यमा बन्दैन र बनाउनु पनि हुँदैन । यदि यस्तो नियम बनाइयो भने साहित्यमा यान्त्रीकरणको जन्म हुन्छ । यान्त्रीकरणले लेखकीय स्वतन्त्रतालाई डस्छ । अर्थात् जहाँ यान्त्रीकरण हुन्छ त्यहाँ स्वतःस्फूर्तता सकिन्छ । साहित्यमा स्वतःस्फूर्तता भनेको अत्यावश्यक सर्त हो ।

०००

लघुकथालाई मानक बनाउने उपकरण

लघुकथालाई मानक बनाउने उपकरणहरूलाई मोटामोटी रूपमा यसप्रकार उल्लेख गर्न सकिन्छ

१. विषय :

लघुकथाका लागि उपयोगमा आउने विषयवस्तुहरू अनगिन्ती छन् । धुलाको कणदेखि विश्व ब्रह्माण्डसम्मका सन्दर्भहरू विषय बन्न सक्छन् लघुकथाका लागि । विषयवस्तुका सन्दर्भहरू अलिकति पल्टाएर हेरौँ त – मान्छे छ, समाज छ, देश छ, विश्व छ । यी सबैमा अस्तव्यस्तता पनि छ । विसङ्गति छन्, विकृतिको थुप्रो छ । विसङ्गति र विकृतिमै छन् – अनाचार, दुराचार र पापाचार पनि । नगण्य नै सही सदाचार पनि नभएको होइन । नातावाद, कृपावाद पनि छन् । यहीँ छन् – छद्मभेषी चरित्र । आशा छ, निराशा छ । धर्म छ, दर्शन छ र धर्म भित्रै पनि छन् – नगण्य सुकृती अनि असरल्ल विकृतिका जालाहरू पनि । ज्ञान अनि विज्ञान छ ! जात छन्, जाति छन्, संस्कृति छन्, संस्कार छन् । विभेद छ, खुट्टा तान्ने प्रवृत्ति छ । शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय जस्ता कुराहरू पनि छन् ।

हरेकभित्र असल र खराब छन् । प्रकृति छ – यसको पनि उपयोग छ, दोहन छ । सुशासन र कुशासनका कुराहरू पनि छन् । लोभ छ, लालच छ । यी सबै कुराहरूमा जोडिएको छ मान्छे । विषय त कति छन् कति लेखनका लागि तर यी भित्र पनि के के लेख्ने र कसरी लेख्ने भन्ने कुरा हुन्छ । छान्न जाने गहकिला कुरा पनि आउँछन् लेखनमा र छान्न नजाने पन्याला बन्छन् लेखाइहरू ।

छानिएका विषयवस्तु र त्यसका सन्दर्भहरू गहकिलो हुँदाहुँदै पनि गन्थनमन्थनको जोडजाडले लघुकथालाई जीवन्त र मानक हुनबाट रोक्छ । लघुकथा लेखकले एउटा कुरा के बुझ्नुपर्छ भने लघुकथा भनेको ठट्टा होइन, चुटकिला होइन, मान्छेका भँडास पोख्ने ठाउँ होइन । लघुकथाले सामूहिकता बोल्नुपर्छ, कुण्ठा होइन, विकासको मार्गदर्शन गर्नुपर्छ विनाश होइन, आशा बाँड्नुपर्छ निराशा होइन । लेखनको पनि गन्तव्य र लक्ष्य हुन्छ, यो प्रस्ट र सबैका हित सापेक्ष हुनुपर्छ । विषयवस्तुभित्र यी कुरा पनि जोडिएर आउँछन् । यिनै कुरा हुनु या नहुनुले लघुकथालाई मानक या अमानक बनाउँछ ।

 २. शैली :
शैली भनेको शृङ्गार प्रशाधन हो । यसले अनुभूत विषयलाई सजाई लघुकथालाई धारिलो बनाउँछ । विषय जतिसुकै ओजपूर्ण रोजे पनि समुचित शैलीले त्यसलाई सजाइएन भने लघुकथामा मानकको प्रादुर्भाव हुन सक्दैन । लघुकथा लेख्दा विधागत कला र लेखकीय कलाका बीच समन्वय कायम हुनुपर्छ । यहाँ विधागत कला भनेको लघुकथा लेखनको टेक्निकल पाटो हो । लेखकीय कला भन्नु चाहिँ लेखकीय शैली हो । लघुकथाकारले विधागत कलालाई केन्द्रमा राखी विषयवस्तुमा आफ्नो लेखकीय विशिष्ट कलालाई प्रवेश गराउँछ । लेखक सापेक्ष हुन्छ लेखकीय शैली । कुशल लेखकले लघुकथाको विधागत कलाको परम्परागत मानक धारलाई मोड्न पनि सक्छ । विधागत कलाको परम्परागत मानक धारमा परिवर्तन आउनु विधागत जीवन्तताको द्योतक हो ।

“सफल लघुकथाले शैलीको प्रखरता खोज्छ, विषयवस्तु मात्र होइन” भन्ने धारणा राख्ने विनय कसजूको विचारलाई सिरानी हालेर भन्ने हो भने लघुकथा मानक बन्न विषय मात्र काफी छैन त्यो विषयलाई न्याय गर्न सक्ने शैली पनि हुनुपर्छ । शैली विषय र लक्ष्य बीचको जोडक हो ।

लघुकथामा लघुकथाकारले विशिष्ट शिल्प योजनाको तर्जुमा गर्नुपर्छ तर शिल्प सज्जाका नाममा शिल्पाधिक्य प्रयोग भने गर्नुहुन्न । यसले लघुकथाको स्तरलाई खस्काउँछ । यसैले भनिन्छ – शिल्पको स्वभाविक प्रयोग लघुकथाको स्तर वृद्धिको सोपान हो । जस्तै ठिक्क मात्राको स्वर्णआभूषणले नारीको रूपाकर्षणलाई बढाउँछ तर एउटी नारीको शरीरमा पाँच-सात किलोको स्वर्ण आभूषण लगाइएमा त्यसले उसको रूपाकर्षणलाई खस्काउँछ । अर्को कुरा विषयवस्तुको विविधताले शैलीगत विविधताको माग गर्छ । यो कुरा लघुकथाकारले नबुझेमा लघुकथाको स्तरीयता वृद्धिमा क्षति पुगी लघुकथा मानक हुनबाट रोकिन्छ ।

३. भाषा :

साहित्यका विविध विधा प्रविधाका निम्ति छानिएको विषयलाई लेखनमा उतार्ने साधन हो भाषा । जुनसुकै साहित्यिक लेखनमा पनि बलियो भाषाको उपयोग आवश्यक छ । भाषा बलियो हुनु भनेको लेखनमा सपाट वर्णन नभई प्रतीकात्मक, ध्वन्यात्मक, आलङ्कारिक अनि व्यङ्ग्यात्मक हुनु हो । साहित्यका विधापिच्छे भाषिक प्रयोगको तौरतरीका फरक हुन्छ । लघुकथाले ओजिलो र कसिलो भाषाको चाहना राख्छ । अभिव्यक्तिमा मितव्ययिता लघुकथालाई मानक बनाउने सूत्र हो । लघुकथाको भाषा जमेको हिउँझैँ नभई सङ्लो र कञ्चन जलप्रवाहझैँ हुनुपर्छ ।

सुन्दा अनौठो मान्नु होला – लघुकथामा पनि लय हुन्छ । गीत, कविता आदिको जस्तो लय होइन । त्यसमा त भावात्मक लय हुन्छ । लघुकथामा भने विचारको लय हुनुपर्छ । लघुकथामा विचारको लय बसाउने काम भाषाको हो । अति भावुकता व्यक्त गर्ने भाषाको प्रयोग लघुकथामा वर्जित छ । आयामगत रूपमा लघुतम भएका कारण यसले वर्णनात्मकता र विवरणात्मकता खोज्दैन । यसले त भाषाको सूत्रात्मक र चित्रात्मक प्रयोगलाई औधी रुचाउँछ । भाषिक सरलता, स्वतःस्फूर्तता र शब्दचयन प्रतिको गम्भीरता लघुकथामा हुनै पर्ने गुण हुन् किनकि यिनीहरू लघुकथाका प्राणतत्व हुन् । आडम्बरी र कृतिम भाषा लघुकथाका लागि त्याज्य कुरा हुन् ।

लघुकथाकारले जतिसुकै दरो विषयवस्तु छाने पनि भाषाको प्रयोगमा ध्यान दिइएन भने लघुकथाको प्रभावकारिता र जीवन्तता कमजोर बन्छ । यी पक्षहरू कमजोर हुनु भनेको लघुकथा मानक नबन्नु हो ।

यो कुरा लघुकथा लेख्नेले राम्ररी बुझ्नु पर्छ कि घटना मात्र लघुकथा होइन । विशिष्ट भाषा शैलीको उपयोगबिनाको घटना वर्णन त अखबारी लेखन हो । घटना जोर्नु मात्र लघुकथा हो भन्ने बुझाइ मानक लघुकथा लेखनको बाधा हो, ठुलो कमजोरी हो । अर्को कुरा घटनाको बुनाइ र खिपाइलाई ध्यान नदिई गरिने पाठकीय हौसलाले लघुकथाकारको मानक लेखाइतर्फको यात्रामा प्रत्यक्ष वा परोक्ष रूपमा नकारात्मक असर पार्छ । यसको मतलब पाठकले पनि लघुकथा पढ्दा बुनाइ र खिपाइमा चासो राख्नुपर्छ भन्ने नै हो ।

कालिक, स्थानिक र पारिस्थितिक परिवेश हुन्छन् लघुकथामा । विषयगत रूपमा आउने परिवेश अनुकूलन हुने गरी लघुकथा लेखिनु पर्छ । सय वर्ष अगाडिको परिवेश व्यक्त भएको विषयलाई आजको भाषाले न्याय गर्दैन । नागर परिवेशका लागि ग्राम्य भाषाले र ग्राम्य परिवेशका लागि नागर भाषाले लघुकथामा प्रभावकारिता भर्दैन । लघुकथाकारले लघुकथाको प्रभावकारिताका लागि पारिस्थितिक परिवेश अनुकूलित भाषिक प्रयोग गर्नु पर्छ । लेखकले भाषिक प्रयोगमा ध्यान दिनु पर्ने क्षेत्रहरू यति मात्र छैनन् । उसले त लेख्ने क्रममा वर्गीय परिवेशलाई पनि बुझ्नु पर्छ । वर्गीय परिवेश भनेको पात्रको जात, जाति, पेसा, धर्म, सम्प्रदाय, संस्कार, आर्थिक स्थिति, शैक्षिक स्थिति आदि हो ।

४. शब्द सीमा :

एउटा लघुकथाका लागि कति शब्दको सीमा चाहिन्छ त ? यो प्रश्न पनि उठेको छ लघुकथामा । लघुकथाकारहरूले र विश्लेषकहरूले पनि शब्दको मोटामोटी सीमा तोक्ने गरेका छन् । शब्द सीमा एकै छैनन्, फरक फरक छन् । कसैले २००, कसैले २५०, कसैले ३००, कसैले ५०० र कसैले १००० शब्दको सीमा छुट्याएका छन् लघुकथाका लागि । यो भन्दा अरू अरू सीमा पनि होलान् । हजारभन्दा माथिको संरचनामा लेखिने आख्यान कथा हो भन्ने धार पनि छ ।

आजकल कथा प्रतियोगिताहरूमा तलको शब्द सीमा भनेर १५०० तोक्ने गरिएको छ । लघुकथाका प्रतियोगिता र लघुकथाका विशेषाङ्क तथा सामूहिक सङ्कलनहरूमा लघुकथा माग्दा भने २५० र ३०० कै शब्दसीमा नै बढी आउने गरेका छन् । लघुकथामा एकै नभएर फरक फरक सीमा भेटिनुले पनि यो कुनै अकाट्य नियम होइन सामान्य साँध मात्र कोरिएको हो भन्ने कुरा पुष्टि हुन्छ । त्यसो भए यी आफूखुसी बनाइएका सीमाहरू गलत पो हुन् कि, यसरी सीमा लगाउनु हुन्न थ्यो कि भन्ने जिज्ञासा पनि कतिपयका मनमा उठ्छ । यसमा सन्देह गर्नु पर्दैन यी आधारहरू पनि गलत होइनन् । सीमा नतोकिँदा हुने भद्रगोलबाट प्रविधालाई जोगाउन शब्द सीमाको आधार बनाइएको हो ।

थोरैमा कति शब्दसम्मको बनाउनु पर्ला त लघुकथा ? प्रश्न त यसरी पनि आउन सक्छ । यसको सीमा छैन । थोरैमा कसैले सीमा तोकेको छैन । विश्व परिवेशको प्रयोगको कुरा गर्ने हो भने अर्नेस्ट हेमिङ्वेले ६ शब्दको लघुकथा लेखेको इतिहास छ । फ्ल्यास स्टोरी भनिएको छ त्यसलाई । पश्चिममा फ्ल्यास स्टोरी भनिएकामा त्यसलाई मोहनराज शर्माले दीप्ति वा झिल्को कथा भनी नामकरण गरेका छन् । नेपालीमा ४०/५० शब्दसीमामा पनि जबरजस्त लघुकथा लेखिएका छन् । २०० देखि २५० शब्दसीमामा त धेरैले लेखेका छन् लघुकथा । प्रभावकारी नै लेखेका छन् । ३०० शब्दसम्मको लघुकथा लेख्नेहरू त अत्यधिक नै छन् ।

नेपालीमा लघुकथा भनिएको यो प्रविधाको खास विशेषता लघुतम हो । उपन्यास र कथामा ‘लघुतम’ भन्ने विशेषता हुन्न । कवितातिर जाने हो भने मुक्तकलाई लघुतम भनिन्छ । ‘लघुतम’ विशेषता भएकैले लघुकथा लेख्दा धेरै शब्द सीमा राखेर लेखिनु हुन्न । धेरै शब्द खर्च गरेर लेख्न मन लागे कथा लेखे भइहाल्छ । लघुकथा लेखकले यो बुझ्नु पर्छ कि शब्द सङ्ख्या १५०, २००, २५०, ३०० मात्र होइन ३५०, ४००, ४५० वा ५०० शब्दलाई पनि सीमा बनाएर लघुकथा लेख्न सकिन्छ । यस्तै अरू सीमा पनि बनाउन सकिन्छ । लेख्दा एउटै सीमाको प्रयोगमा मात्र रुमलिनु पनि उपयुक्त होइन ।

यसो गरियो भने प्रयोगमा विविधता नआई सिर्जनामा अङ्कुश लाग्छ । प्रयोगमा अङ्कुश लगाउनु प्रविधागत विकासलाई अवरुद्ध गर्नु हो । मोहनराज शर्माले त एउटा अर्को प्रयोगको फाटक पनि खोलिदिएका छन् । उनी आफैँले एकै विषयमा २ शैलीको प्रयोग गरेर दुई वटा लघुकथा लेखी देखाएका छन् । जसमा शब्द सङ्ख्या निश्चित (२/२ सय) छ । यद्यपि उनले उदाहरणका रूपमा मात्र एउटा प्रयोगको उल्लेख गरेको देखिन्छ । न घटी न बढी शब्द सङ्ख्या राखेर पनि लघुकथा लेख्न सकिन्छ भन्ने उनको तर्क छ ।

लघुकथा लेख्नेले शब्द सङ्ख्याका विभिन्न आधार पक्डिएर लेखे पनि लघुकथामा मुक्तकीय झड्कालाई भने छुटाउनु हुन्न किनकि मुक्तकीय झड्का लघुकथाको खास प्रविधागत पहिचान हो ।

५. झिल्काहरू :

लघुकथाकारले लघुकथामा झिल्काहरू उत्पन्न गराउनु पर्छ । लघुकथामा झिल्काहरू प्रभावकारी वाक्य तथा उपवाक्यहरू मार्फत उत्पन्न गराइन्छ । झिल्काहरू सन्तुष्टिका द्योतक हुन् । लघुकथामा झिल्काहरू एक पटक मात्र पर्नु पर्छ कि पटक पटक भन्ने प्रश्न छ । खास यही हो भन्ने चुरो कसैबाट पनि आएको छैन । मुक्तकीय झड्का भन्ने कुरा भने आएको छ । एउटा सफल लघुकथामा ठाउँठाउँमा झिल्काहरू उत्पन्न हुँदा हुँदै अन्तसम्म पुग्दा महाझिल्का उत्पन्न हुनुपर्छ । महाझिल्काले ठुलो झड्का ल्याउँछ । चट्याङ जस्तो, मर्मभेदी । यसले पाठकलाई ‘ओहो’ को परिणतिमा पुर्‍याउँछ । त्यो परिणति भनेको झस्केको स्थिति हो । यसले लघुकथालाई सफल अनि मानक बन्ने दिशातिर लैजान्छ ।

अधिकांश लेखकहरूले लघुकथामा झिल्का र झड्काको मर्म अझै बुझिरहेका छैनन् । यो बुझाइको कमी नयाँपुराना सबैमा छ । लघुकथामा त झड्का उत्पन्न गर्नु पर्छ रे भनेका आधारमा यसको तात्पर्य नबुझी जबरजस्ती झड्का ल्याउन खोज्दा कैयौँ लघुकथाकारका रचनाहरू दुर्घटनामा पनि परेका हुन्छन् । प्रयास त हो तर असफल प्रयास । त्यसो त प्रयास नै नगरी सफलता त कहाँ पो पाइन्छ र ? अझ गरेका प्रयासहरू सबै सफल नै हुन्छन् – भन्ने पनि त होइन नि । प्रयास सफल हुन साधनाको खाँचो हुन्छ । साधनालाई व्युत्पत्तिले उजिल्याउँछ । मस्तसँग अरूका राम्रा लघुकथा पढ्नुस् । नपढी राम्रो लेख्न सकिन्न । पढ्नु अनि ज्ञान थप्नुको नाम नै व्युत्पत्ति हो ।

लघुकथा यस्तो प्रविधा हो जुन पढिसक्दा आश्चर्य मात्र होइन महाआश्चर्यसम्म पुग्नुपर्छ । आश्चर्य मान्दामान्दै महाआश्चर्य सम्मको यात्रा । यो आश्चर्यलाई कौतूहलको नाम पनि दिन सक्नुहुन्छ । या अरू केही । लघुकथा पढिसकेपछि एक पटक हल्लिनु पर्छ पाठक । हल्लिनु अर्थात् संवेदनामा झङ्कार उत्पन्न हुनु । घण्टी बजेपश्चात् आएको रननन्नको निनादजस्तो । पठनपश्चात् पाठकमा उत्पन्न हुने लघुकथाको निनाद केहीबेरसम्मै गुन्जिरहनु पर्छ । अर्थात् भनेको के हो भने लघुकथाले पाठकलाई चिन्तनको दूरतातिर लैजान सक्ने हुनुपर्छ ।

लघुकथामा लेखक र पाठक २ पक्ष हुन्छन् । लघुकथामा झिल्काहरू उत्पन्न गर्ने पक्ष भनेको लेखक नै हो । पाठक भनेको त पठनपश्चात् अनुभूत गर्ने दोस्रो पक्ष हो । लेखन अगाडि लेखक सम्बद्ध केही कुराहरू हुन्छन् । लेखकले विषय भेट्छ । भेटेका विषयले पहिलोपल्ट लेखक नै छोइन्छ । मान्नुस् – लेखन अगाडि पनि उत्पन्न हुन्छन् झिल्काहरू जुन लेखकका चेतनामा झिल्मिलाउँछ बारम्बार । चेतनामा झिल्काहरू नझल्कँदा त्यसले लघुकथाकारलाई लघुकथा लेख्ने प्रेरणातिर लैजाँदैन । बलजफती लगिहाल्यो भने पनि त्यसले न लेखकमा सन्तुष्टि ल्याउँछ न पाठक त्यस्तो लघुकथा पढेर मदहोस नै बन्छ ।

६. लघुकथाका अङ्गहरू र त्यसको व्यवस्थापन

लघुकथामा कथानकका आदि, मध्य र अन्त्यको शृङ्खला रहन्छ । यस्तो शृङ्खला उपन्यास र कथामा पनि हुन्छ । आकारमा ठुलो हुने हुँदा उपन्यासमा यो शृङ्खलाले विकसित हुने समय प्रशस्त पाउँछ । उपन्यासमा आदि र अन्त्य भागलाई एक एक वटा परिच्छेदमा र मध्य भागलाई विभिन्न परिच्छेदहरूमा फैलाउन मिल्छ । कथा भने मझौलो प्रविधा भएकाले त्यसमा यी अङ्गहरू उपन्यासमा जति फैलन पाउन्नन् । अझ लघुकथामा त यसको फैलावटलाई निकै साँघुर्‍याउनु पर्ने हुन्छ । किनकि लघुकथाको मूल सूत्र नै ‘छोटो लेख, छिटो लेख र प्रभावकारी लेख’ हो । लघुकथामा ज्यादै लघुतम संरचनामा आदि, मध्य र अन्त्यको शृङ्खला खिप्नु पर्ने भएकाले यसको लेखन चुनौतीपूर्ण पनि छ ।

लघुकथाको आदि भाग आरम्भ हो । आरम्भ भनेको विषयको उठान । यसै भागमा समस्या रोपिन्छ, समस्या अङ्कुरण हुन्छ र द्वन्द्ववीज उत्पादन हुन्छ । यसका आरम्भिक वाक्यहरू ओजिला हुनु आवश्यक छ किनकि यो पाठकको ध्यान खिच्ने अङ्ग हो । मानकको सुरुवात यही विन्दुबाट हुने भएकाले पनि लघुकथाकारले शैलीगत परिपक्वता यहीँबाट थाल्नुपर्छ । यहाँ व्याख्या चाहिन्न र विश्लेषण राखिन्न । सूत्रात्मक प्रविधि उपयोग गरिन्छ ।

आदि भागमा रोपिएको र उम्रिएको समस्याले उत्कर्षता प्राप्त गर्ने ठाउँ मध्य भाग नै हो । द्वन्द्वको उठान र विकास अनि कौतूहलको उद्भव र उत्कर्ष पनि यहीँ हुन्छ । द्वन्द्वलाई सघन बनाउने ठाउँ पनि यहीँ नै हो । द्वन्द्व जति सघन भयो त्यति नै मात्रामा पाठकभित्र हुँडलो मच्चिन्छ । पाठकभित्र जति हुँडलो र तनाव बढ्यो त्यति नै धेरै लघुकथा सफल बन्छ ।

अन्त्य भाग भनेको लघुकथाको बिट हो । यो बलियो गरी बुनिनु पर्छ । आदि र मध्य भागको सफलताले मात्र लघुकथाको मानक निर्धारण हुँदैन । यसैले यो भागमा चोटिला वाक्यहरूको उपयोग हुनुपर्छ । अन्त्य व्यवस्थापन सबै विधा प्रविधामा चाहिन्छ तर लघुकथाको अन्त्य भाग अरू विधाको जस्तो हुँदैन । लघुकथाले अन्त्य व्यवस्थापनमा विलम्ब होइन आकस्मिकता खोज्छ । आकस्मिकताले पाठकलाई खलबल्याउँछ । यहाँ पाठक जति बढी खलबलियो त्यति नै लघुकथा सफल बन्छ । यहाँ लघुकथाकारले उपदेश होइन विचारलाई स्थापित गर्नु पर्छ ।

लघुकथालाई अन्त्य गर्ने २ शैली छन् – खोल्ने शैली र छोप्ने शैली । यहाँ खोल्ने र छोप्नेको मतलब अर्थ खोल्ने र अर्थ नखोल्ने भनिएको हो । खोल्ने शैलीमा लेखकले निर्णय दिन्छ भने छोप्ने शैलीमा लेखकले निर्णय दिँदैन । खोल्ने शैलीमा आशय खोज्न पाठक घोत्लिन पर्दैन भने छोप्ने शैलीमा अर्थका लागि पाठक घोत्लिनु पर्छ । खोल्ने शैली अर्थको फोकस लघुकथाकार स्वयंले निर्धारण गर्ने शैली हो भने छोप्ने शैली लेखकले पाठकलाई दिएको गृहकार्य हो ।

भनिन्छ – पाठकको मनमाफिक धारणा बनाउने र सोचमग्न हुने अधिकारलाई खोल्ने शैलीले कुण्ठित बनाउने हुँदा राम्रो होइन । यसैले लघुकथा लेखकहरूलाई सुझाव दिँदा छोप्ने शैली नै उपयोग गर्न भनिन्छ । तर कतिपय लेखकहरूले आफ्नो उद्देश्य एकातिर र पाठकको बुझाइ अर्कोतिर हुने अवस्था रोक्न जानाजान खोल्ने शैली रोज्छन् । यो खोल्ने शैली भनेको पनि सूचीकारको सीप जस्तै हो । कपडाको डिजाइन गर्दा कति खोल्दा राम्रो र कति खोल्दा भद्दा हुन्छ भन्ने कुरा कुशल सूचीकारको सीप र अनुभवले तय गरे जस्तै एउटा कुशल लघुकथाकारले पनि समापनमा कति खोल्ने र कति छोप्ने भन्ने कुशलता देखाएमा लघुकथाको स्तरीयता घट्दैन बढ्छ । तर यो खोल्ने शैलीको उपयोग गर्दा लेखकले अत्यन्त कुशलता भने प्रदर्शन गर्नुपर्छ । यसैले यहाँ के भन्न सकिन्छ भने खोल्ने शैलीको उपयोग गर्ने हो भने लेखकले आफ्नो उद्देश्यको सङ्केत मात्र गरोस्, पाठकीय जिज्ञासाको सम्पूर्ण आयामहरू बन्द गर्ने गरी यसको प्रयोग नगरोस् ।

७. लेखनको समयसीमा

एउटा लघुकथा कति समयभित्र तयार गर्ने ? यो कुरा पनि विचारणीय छ । यसको कुनै समयसीमा त छैन । दशपन्ध्र मिनेटमै या त्यसभन्दा कम समयमै पनि जीवन्त लघुकथा लेखिन सक्छ भने लामो समय पनि लाग्न सक्छ । यसमा कुनै नियम बन्दैन । प्रतिभा र स्फुरणमा कुनै समयसीमाको बन्देज लगाउन पनि हुँदैन । कुनै बेला विषय र घटनाले कथाकार यसरी छोइन्छ कि ऊ तत्काल लेखनमा पोखिन्छ र एकै लेखनमा पनि त्यो उत्कृष्ट र कालजयी बन्न सक्छ । तर सधैँ यस्तो हुन्न । यसैले सामान्यतया विषय र घटना सूत्र प्राप्त गरेपश्चात् लेखनमा हतार नगर्नु नै राम्रो हुन्छ । विषय र घटना आरेख बिर्सिन सकिने हुँदा त्यसलाई टिपोट गरेर राखौँ ।

अनि त्यो विषयलाई कसरी प्रस्तुत गर्दा राम्रो लघुकथा बन्ला भनी समय लगाएरै सोचौँ । भाषा र प्रस्तुति शैली बारे पनि गमौँ । जति बेला त्यो विषय र घटनालाई लघुकथामा न्याय गर्न सकिन्छ त्यति बेला नै लेखौँ । लेख्न लाग्दा यो कुरा नबिर्सौँ – ‘सामान्य दैनन्दिन घटना वृत्तान्त होइन लघुकथा, यो त साहित्य हो र साहित्यमा साहित्यिक गुण आवश्यक पर्छ ।’ लेखे पछि पनि प्रकाशनमा हतार नगरौँ । पटक पटक फर्किएर हेरौँ, आवश्यक परे बारम्बार परिमार्जन गरौँ । प्रकाशन भइसकेपछि सिर्जना लेखकबाट चुँडिन्छ । त्यसपछि लेखकको प्रष्टीकरण, तर्क वितर्क आदिले कुनै काम गर्दैन । यसैले लघुकथामा जे गर्नु छ त्यो प्रकाशन अघि नै गरौँ । यी कुराहरूमा सामान्य रूपले ध्यान दिन सक्दा पनि लघुकथामा स्तरीयता बढ्न सक्छ । लघुकथामा स्तरीयताको वृद्धि मानक हो ।

८. अन्त्यमा :

लघुकथाको आकार, प्रकार, महत्त्व आदि जाँच्ने आधिकारिक स्तर, मापदण्ड वा रूप नै लघुकथाको मानक धर्को हो । यो धर्को यही नै हो भनेर मूर्त अनि समष्टि रूपमा कसैले कोरेको भेटिँदैन । अमूर्त अनि व्यष्टि रूपमा त यसबारे धेरैले बोलेका छन् ।

आकारगत लघुता र स्वतःस्फूर्तता लघुकथाका खास विशेषता हुन् भने प्रतीकात्मकता यसको प्राणतत्व हो । यति भएर पनि लघुकथा भित्र व्यङ्ग्यतत्त्वको समाविष्टि भएमा सुनमा सुगन्ध जस्तो चमत्कारिक वैशिष्ट्यको प्रविष्टि हुन गई सो रचना कालजयी अनि मानक हुन पुग्छ ।

दीर्घ कालपर्यन्त बाँचिरहने लघुकथा नै मानक लघुकथा हो । दीर्घकालसम्म बाँच्न लघुकथामा सार्वकालिकताको विशेष गुण आउनुपर्छ । सार्वकालिकता भनेको सर्जकद्वारा सिर्जत रचना समयको सीमा तोडी हिजोका समयबाट आजका समयमा अवतरण गर्नु हो । अर्थात् हिजो लेखिएको भए पनि ‘यो कथा त आजकै हो है’ भन्ने स्थिति पाठकमा उत्पन्न हुँदा सार्वकालिकताको प्रादुर्भाव हुन्छ । लेखिएको समयबाट समय समयका विन्दुहरूसँग जोड्दै जाँदा सार्वकालिक गुण भएको लघुकथाले पाठकलाई हरेक समयको जीवन्त तस्बिर देखाउँछ । हो, मानक भनेको त्यतै तिरको यात्रा हो सर्जकको । लघुकथाका लागि मात्र नभई सबै खाले सिर्जनाको लक्ष्य पनि त्यतैतिर ताकिनु आवश्यक छ ।