तामाकोसी, त्यो सुनकोसी

त्यो गिरि फोरी बहने रोसी

मेरो हृदयको तिम्रो चित्र

पारिरहन्छ हरदम पवित्र     

        मेरो प्यारो ओखलढुङ्गा !

सम्भवतः कवि सिद्धिचरणको यो उद्गार नसुन्ने कोही नेपाली साहित्यानुरागी नहोलान् । ‘नोष्टाल्जिया’ अतीतको एक मिठो प्रेम र अनुभूतिको संस्मरण हो, र कविको  प्यारो ओखलढुङ्गाको उद्गारमा पनि नोष्टाल्जियाले प्रशस्त काम गरेको छ । साथै, पुरै कवितामा ओखलढुङ्गा मात्र नभई परोक्षमा रामेछाप, सिन्धुली, काभ्रे र काठमाडौँ उपत्यका अटाएको छ । कताकति दोलखा र सिन्धुपाल्चोक पनि त्यहाँ लुकेको छ ।

तामाकोसी नदी दोलखाबाट रामेछाप हुँदै खुर्कोट पुग्दा सुनकोसी नदीमा मिल्दछ । ओखलढुङ्गाले वास्तवमा सग्लो ‘तामाकोसी’ भेट्दैन । खुर्कोटपछि पनि कोसीलाई सुनकोसी नै भनिन्छ, यस अर्थमा ओखलढुङ्गाले सुनकोसीसँग भने पैठाजोरी आज पनि खेलिरहेको छ ।

सिन्धुलीले पनि मौलिक तामाकोसीको धार बोक्न पाउँदैन । तर यो हकको उपयोग भने रामेछाप र दोलखाले भरपुर गर्दछ । यता सुनकोसीको प्रवर्षणले भने काभ्रे र सिन्धुलीको भूगोललाई जलाधार बनाएको छ ।

अब कुरा रह्यो रोसीको, जसलाई नदी होइन रोसी खोला भनेर चिनिन्छ र यसले काभ्रेको सग्लो भूगोललाई मात्रै चिन्दछ । ललितपुर जिल्लाको एकाध खोल्सा-कन्दाराको गन्ध रोसीतर्फको पानीढलोमा मिसिएको छ भन्दा अत्युक्ति चैँ हुँदैन ।

मान्छेको सभ्यताको जननी नदी नै हो, जसलाई सिन्धु, नाइल हुँदै गंगा र ह्वाङ्ग-हो जस्ता विश्वका ठुला नदी सभ्यताले पुष्टि गरेको छ । यो अर्थमा काभ्रेको जनजीवन एवं सभ्यता रोसी र सुनकोसीमा अन्तर घुलित छ । अधिकांश दक्षिण काभ्रे प्रवर्षणको वाङ्मय र भूगोलको सम्मिश्रणको साक्ष्यमा रोसी खोला बगेको छ ।

वास्तवमा युगकविले ओखलढुङ्गालाई मात्र नभएर ओखलढुङ्गाबाट उपत्यका आउजाउ गर्ने भूगोललाई समेत चित्रित गरेका छन् । उनले उपत्यकालाई भने मरुस्थलको उपमा दिएका छन् । बाँकी ओखलढुङ्गा पश्चिम उपत्यकासम्मको भूगोललाई भने हृदय पवित्र गराउने साक्ष्यका रूपमा प्रस्तुत गरेका छन् । उनको हृदयमा बस्ने चित्र र हरदम हृदय पवित्र पार्ने प्राकृतिक छटामा रोसी समेत अटाएको छ । आखिर रोसी किन अटायो होला, म यही प्रश्नको उत्तर रोसीको भूगोलको अन्वेषण गर्दै खोज्ने कोसिसमा छु ।

नेपाली साहित्य र वाङ्मयलाई रोसीको छालमा लपेट्ने युगकवि एक्ला सर्जक होइनन् । रोसी धेरै सर्जकहरूको काव्य, स्मृति, कथा र संस्मरणमा समावेश छ । मैले पछिल्लो पढेको ‘रोसी’ लेखिएका सिर्जनाहरूमा युवराज नयाँघरेको नियात्रा ‘रोसीका हजार छाल’ हो । कति यस्तै रोसीका स्मृति, कथा वा संस्मरणहरू मेरा लागि अप्राप्य र अज्ञात होलान्, तर जगतका लागि भने अपार्य नै छन् भन्ने बुझेको छु ।

यता रोसीका किंवदन्तीहरू पनि रोचक भेटिन्छन् । कुनै समयका पाटन र पनौतीका राजाहरू सधैँ फुलचाेकी देवीको दर्शन गर्न जान्थे । फुलचाेकी पर्वतबाट पानीको मुहान निस्केको थियो । देवीले दुवै राजासँग प्रसन्न भई सुन र चाँदीको फूल चढाउन अनुरोध गरिन् । साथै जसले छिटो ल्याउनेछ उसैको राज्यमा नदी बगाइ दिने बचन दिइन्फ। पाटनका राजासँग भने कुशल कालिगढहरु थिए, र उनी खुसीले गदगद फूलहरू लिन फर्किए । तर पनौतीका राजासँग त्यस्ता कालिगढहरू थिएनन् न त प्रशस्त मात्रामा सुन चाँदी ।

त्यसैले राजा चिन्तित भएर लोकको सामुन्नेमा आफ्नो विवशता प्रकट गर्न बाध्य भए । तर लोकले सुनको सट्टामा तोरीको फूल र चाँदीको सट्टामा मुलाको फूल चढाउन बिन्ती गरे, र राजाले पनि त्यसै गरे । साँच्चै नै तोरी फूलहरू सुनौला देखिए र मुलाको फूल चाँदी लहरझैँ चम्किए । यो देखेर देवी प्रसन्न भइन् र नदी पनौतीतर्फ बगाइन् । तोरी र मुलाको फूलहरू वास्तवमा परिश्रमको द्योतक थिए र भूमि सिञ्चनको लागि नदीको आवश्यकता देवीले ठहर्याइन् ।

यता पाटनका राजाले सुन र चाँदीको फूलहरू बनाई किस्तीमा राखेर देवीकहाँ पुगे, तर देवीले पनौतीमा पानी पठाइसकेको राजाले थाहा पाएँ। राजाले आफूलाई उचित वर दिनुपर्ने प्रार्थना गरे । फुलचाेकी देवीले पनौती तर्फको पठाइएको पानीको आधा जति मात्रा गोदावरीमा पठाइदिइन् । यो अर्थमा फुल्चोकीको पूर्वी पानीढलोको भन्दा आधा बरावर पानी पश्चिम पानीढलो गोदावरीमा बग्ने मान्यता छ ।

ललितपुरको फुलचाेकी नै रोसीको उद्गम विन्दु मानिन्छ । अर्थात् फुल्चोकी र काभ्रेका महाभारत लेकको पूर्व–दक्षिण पानीढलो रोसी हो । बनेपादेखि साँगा-नाला प्रवर्षणको पानीढलो पनि रोसी हो ।

उद्गम स्थल फुलचाेकी मान्दा रोसीले नागबेली बनेर ४५ किलोमिटरको भन्दा बढीको बाटो तय गर्दछ। उद्गम स्थल पुण्यमातालाई मान्ने हो गणना झन् लामो हुन जान्छ।

रोसी नदी पूर्व दक्षिण हुँदै बगेको देखिन्छ । फुलचोकी बाट झरेका खोल्साहरूमा ससाना खोला मिसिँदै आएको रोसीमा पनौती पुग्दा साँगा-नाला-बनेपा हुँदै आएको पुण्यमाता खोला मिसिन्छ । त्यसपछि पनि क्रमशः सयरन, लटके, दाप्चे, चारङ्गे, कोटा, भ्याकुरे लगायत खोलानाला मिसिडी दुम्जामा पुगेर सुनकोसी मै मिल्छ ।

रोसी आफै खोला मात्र नभई धेरै प्रधानता बोकेको छ । कृषिका धेरै उर्वरभूमिहरूलाई सिञ्चन गर्दै अगाडि बढेको छ । बनेपादेखि बल्थलीसम्मको उपत्यका फाँट सिञ्चन गर्ने मुख्य आधार रोसी नै हो । त्यसभन्दा अगाडि पनि रोसीले किनारका अनगिन्ती फाँटहरूलाई सिञ्चाइ गरेको छ । रोसी प्रवर्षण क्षेत्रका प्राकृतिक छटाहरू ज्यादै मनमोहक छन् । साँच्चै भीमकाय महाभारत गिरीहरूलाई फोरेरै रोसी अगाडि बढेको छ ।

रोसी कै किनारमा धेरै ऐतिहासिक स्थल र देवस्थलहरू छन् । बनेपा, पनौती देखि दुम्जासम्म पुग्दा सङ्ख्याको  गिन्ती साध्ये छैन । पनौती जस्तो सम्पदायुक्त ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण शहर र इन्द्रेश्वर मन्दिर सहितको त्रिवेणी सङ्गम रोसीले समेटेको छ । रोसी-पुण्यमाताको यो सङ्गममा नै १२ वर्षे मेला लाग्दछ, जसलाई पनौती मकर मेला भनिन्छ  ।

पनौतीबाट अगाडि रोसीले अर्को ऐतिहासिक शहर खोपासीलाई एक फन्को मारेको छ । वि.सं.२०३० सालदेखि चौबिस सय किलोवाट जलविद्युत् रोसीले दिएको थियो, जुन नेपालको तेस्रो पुरानो विद्युत् परियोजना हो ।

रोसी किनार जति अगाडि बढ्यो उति रमणीय भेगहरू भेटिन्छन् । महाभारत डाँडाको फेदी नै फेदी हुँदै रोसीले प्राकृतिक रूपले सुन्दर, दर्शनीय र पहाडका रुमानी शृङ्खलाहरू पार गर्दछ । प्राकृतिक सौन्दर्यभित्र पनि फाँटहरू, झरनाहरू र साँघुरा गल्छीहरू समेत अटेका छन् । रोसीको तीन धारेको झरना बाहुबली झरनाको रूपमा प्रसिद्ध छ ।

पछिल्लो राज्यको संरचना अनुसार रोसीको नामबाट हाल रोसी गाउँपालिका समेत स्थापित भएको छ । यो गाउँपालिकाको भूगोलले भने कुल रोसीको धारलाई करिब तिस किलोमिटर जति मात्र सँगाल्ने अनुमान छ ।

युगकविको समय मात्र होइन, परापूर्व कालदेखि नै काठमाडौँ खाल्डोलाई बाहिरी संसार जोड्न रोसीको बाटो उपयोग हुन्थ्यो । अर्थात् रोसी किनार उपत्यकाको परम्परागत दक्षिण पूर्वी द्वारको रूपमा रहेको थियो । उपत्यका आउने क्रममा हालको गाँउपालिकाको केन्द्रबाट केही पश्चिम लागेपछि भने रोसी छाडेर दाप्चेडाँडो उकालो लाग्ने अवस्था थियो ।

रोसीको तल्लो तटीय क्षेत्र अर्थात् हालको रोसी गाउँपालिका यो अर्थमा ऐतिहासिक व्यापारिक नाकाको रूपमा रहेको थियो । वि.सं. १८५४ मा रणबहादुर शाहले चरंगेफेदिमा चेक पोइन्ट तोकेका थिए । उक्त चेक पोइन्टमा व्यापारीहरूद्वारा ओसारपसार हुने सामानहरूको खरिद बिक्रीमा कर उठाउने अधिकार सहित टक्सारी र भन्सारीको व्यवस्था भएको थियो। उनीहरूले तामा, फलाम, सिसा, मैन, चिराइता, कुथी, जटामाशी, अलैँची, कपास, तेजपात र कागजमा विक्रेता र खरिदकर्ता दुवैबाट एक प्रतिशत कर उठाउँदथे ।

रोसीका तल्लो तटीय बस्तीहरूले पनि प्रशस्त सामाजिक र ऐतिहासिक महत्त्व बोकेको देखिन्छ । यस क्षेत्रमा रहेका प्राचीन स्मृति चिन्ह र अवशेषहरूले यो कुरा उजागर गर्दछ। हात्ती आहाल, सितापाइला, शिखरआम्बोटे, माम् ती भीमसेन हुँदै कुशेश्वरसम्म विभिन्न स्थानमा अनेक खाले अभिलेख सम्पदा र वस्तुगत अवशेषहरू भेटिएका छन् ।

रोसीको  किनार आदि मानवबस्तीको क्षेत्र हो भन्नेमा शङ्का गर्ने सुविधा छैन । अहिले पनि नेपालको लोपोन्मुख हायु जातिहरू रोसीको भूगोलमा बसोबास गरेका छन् । यो जातिका करिब १७ घर र ७० भन्दा बढी जनसङ्ख्या रोसीको भूगोलमा रहेका छन् ।

अहिलेको गाउँपालिकाले भने खहरेपाँगु, शिखरआम्बोटे हुँदै महादेवटारदेखि कटुञ्जे बेसी, मंगलटार हुँदै नेपाल थोक सम्मको भूभाग समेट्छ । रोसीको माथिल्लो भूभाग शिखरआम्बोटे महादेवटार जानको लागि नमोबुद्ध दाप्चा हुँदै जान सकिन्छ भने अन्य भूभागलाई विपि राजमार्गले समेटेको छ ।

गाउँपालिकाभित्र पनि महत्त्वपूर्ण प्राकृतिक पर्यटकीय स्थलहरू छन्, जसमा ताराखसे लेक सम्भावनाको दृष्टिकोणले उपयुक्त गन्तव्य हो । यो क्षेत्रमा विभिन्न प्रकारका नयाँ पर्यटकीय पदमार्गहरूको पुनर्स्थापना गर्न सकिने स्थिति छ । त्यसै गरी तिनधारे झरना, भूमिचुली, गढी, जुगेपानी लगायतका स्थलहरूलाई विभिन्न प्रकारले पर्यटकीय दृष्टिकोणमा समेट्न सकिन्छ । अर्थात् काठमाडौँ उपत्यका नजिकै विभिन्न किसिमका दृश्यावलोकनका लागि रोसी उपयुक्त ठाउँ हो ।

पर्यटनका अतिरिक्त सांस्कृतिक दृष्टिकोणले तामाङ समुदाय समेटेर ऐतिहासिकता, कला, संस्कृति र परम्परागत शैलीमा निर्मित प्राचीन बस्तीहरूको अध्ययनको लागि समेत गन्तव्य हुने देखिन्छ । सम्भवतः कविको हृदयलाई पुलकित बनाउँदै हरदम पवित्र पार्ने प्राकृतिक रोसीको रोशनीलाई यो भन्दा गहिरो अनुभूति गर्न चाहनेले त्यही भूगोल पैतालाले नाप्नु आवश्यक छ ।

अब भूगोलको कुरा बिट मारेर रोसीको वाङ्मयलाई एकपटक फेरी गिजोल्दै समग्र लेखको बिट मार्न उचित लाग्यो । लखेर प्रसङ्गको बिट मार्ने न हो, तर जति लेखे पनि धित चैँ मर्दो रहेनछ ।

रोसीले आफूलाई मात्र नेपाली वाङमयमा समावेश गरेको छैन, वाङमयमा दख्खल दिने धेरै स्रष्टाहरू जन्माएको छ । रोसीको पानी ढलोमै रहेर करिब साढे ६ सय वर्ष अगाडी ‘सुग्रिबशास्त्रम्’ को रचना पनौतीका तेजानन्दले गरेका थिए । त्यसपछि पनि संस्कृत भाषाका अनन्य साहित्यिक रचनाहरू जस्तै नीतिशास्त्र एवं  ज्ञानमाला जस्ता शास्त्रीय ग्रन्थहरू लेखिएको इतिहास भेटिन्छ ।

मल्लकालमा विशेषतः पनौती र बनेपा आसपास धेरै उम्दा साहित्यिक सर्जकहरू रहेको केदारनाथ प्रधानको बनेपाको शैक्षिक इतिहास र साहित्यिक सन्दर्भमा उल्लेख छ । बनेपाका  केदारनाथ प्रधान पनि आफैमा रोसी प्रवर्षणका प्रतिष्ठित साहित्यकार र इतिहासविद्  हुन् । नारी सर्जकहरूमा श्यामा दिलमाई रोसीकै समकालीन नेपाली कवयित्री हुन् । उनी उत्तरार्धमा ढुङ्खर्कबाट काठमाडौँ आई जोसमनी मतको प्रचार गर्दै चाबहिलमा सत्यधर्मकुटी सञ्चालन गरेकी थिइन्, र २००५ सालमा उनको निधन भएको थियो ।

रोसी प्रवर्षणका अन्य अग्रज वाङ्मय सर्जकहरूमा खोपासीका नरबहादुर भारती र कानपुरका गुरुप्रसाद मैनाली समकालीन मानिन्छन् । भारती साहित्यकारका अतिरिक्त संगीतज्ञ, आयुर्वेदका ज्ञाता, रसयान शास्त्री र कुशल कलिगढ समेत थिए । यता मैनाली नेपाली आधुनिक कथा जगतका अग्रणी कथाकारका रूपमा परिचित छन्  ।

रोसीको पानी पिएरै प्रेमनाथ सत्याल, जनक प्रसाद हुमागाईं, श्याम सुन्दर सैंजु, गोपाल राज मैनाली लगायत पुराना पुस्ताका सर्जकहरूले वाङ्मयलाई उन्नत बनाएका हुन्  । उल्लिखित नामहरू पुराना पुस्ताका अग्रज र प्रतिनिधिमूलक सर्जकहरूको मात्र हो  । आजको पुस्तामा रोसीको वाङमयमा जीवन्त योगदान गर्नेहरू धेरै छन्, र त्यो वाङ्मयको उन्नयनको उत्तरदायित्व उनीहरूकै हो ।

माथि लेखिएको एउटा हरफलाई दोहोर्याएर लेख्न मन लाग्यो । युगकविको हृदयलाई पुलकित बनाउँदै हरदम पवित्र पार्ने प्राकृतिक रोसीको रोशनीलाई यो भन्दा गहिरो अनुभूति गर्न चाहनेले त्यही भूगोल पैतालाले नाप्नु आवश्यक छ । निचोडमा अर्को वाक्य थप्न रहर लाग्यो, नेपाली वाङमयमा रोसीको देनलाई यो भन्दा समुच्चय देख्न चाहनेले माटोको शिरोभारो तिर्ने सङ्कल्प लिनुपर्ने रहेछ ।