प्युठानको धर्तीमा अवतरण  गरेका घनश्याम अस्तित्व कविता, निबन्ध, कथा आदि साहित्यका विधामा कलम चलाउन पारङ्गत छन् । शिक्षण पेसामा आबद्ध उनको पहिलो कृति कवितासङ्ग्रह `चिहानमाथि महल बनाइरहेको मान्छे´ प्रकाशनको तयारीमा छ ।

आजको पुस्तक वार्तामा कविता सङ्ग्रह र विविध विषयमा रहेर कवि घनश्याम अस्तित्वसँग साहित्यपोस्टका सहकर्मी जनक कार्कीले गरेको कुराकानी प्रस्तुत छ ।

तपाईंको पहिलो कविता कृति “चिहानमाथि महल बनाइरहेको मान्छे”को आवरण सार्वजनिक भएको छ । पुस्तकको नाम एकदम बिम्बात्मक छ । चिहानमा महल बनाउनेहरू को को हुन रु चिहानमा महल किन बनाइरहेका छौँ ?

घनश्याम अस्तित्व

– दुनियाँका अधिकांश मानिसहरू चिहानमाथि महल बनाइरहेका छन् । यो वैयक्तिक र वैश्विक दुवै तहमा छ । केही मानिसहरूको बढी योगदान होला त केही मानिसहरूको कम । त्यसको परिणामलाई भने सबै मानिसहरूले सामना गरिरहनु परेको छ । मानवजातिले आविष्कार गरेका विविध कुराहरूबाट नै मानव र पृथ्वी खतरामा छन् । पृथ्वी मानिस मात्रैको, मानिसहरूमध्ये पनि केही मुट्ठी भरका मानिसहरूको कब्जामा पुग्नु सबै भन्दा बढी दुःखद कुरा हो । जङ्गलमाथि मानवको राज हुनु, आकाशमाथि मानवको राज हुनु र समुद्रमाथि पनि मानवको राज हुनु निकै घातक छ ।

आज संसारका मानिसहरूको प्रतिस्पर्धा के मा छ ?

– सबैलाई थाहा छ, धनी  बन्नमा छ । संसारको सबै भन्दा धनी मानिसहरूको नाम हरेकका मुख–मुखमा छन् । बर्नाड आर्नल्ट, एलन मस्क र बिल गेट्सका नाम साना कक्षामा पढ्दै गरेका बालबालिकादेखि वृद्ध-वृद्धासम्म सबैलाई थाहा छ । यी मानिसहरू नै संसारका अरु आठ अरब मानिसहरूको आदर्श पात्र बनेका छन् । उनीहरू पृथ्वी बचाऔँ या ध्वस्त पारौँ भन्ने हिसाबमा प्रत्यक्ष रूपमा लागेका छन् या छैनन्, छुट्टै बहसको विषय हो तर धनी बन्ने प्रतिस्पर्धा हुनु पृथ्वी र मानव दुबैका लागि खतरा छ । वर्तमान विश्वले भोगिरहेको आजको कठिन जीवनको एक मात्र कारक स्वयं मानव हो । प्रकृति या पृथ्वीलाई चिहानमा परिणत गरेर हामीले उभ्याउने या बनाउने सम्पन्नताको महल भत्किएर हामी आफै थिचिने छौ । यो सङ्ग्रहमा सङ्ग्रहित एक दुई कविताको कुरा हो, व्याख्या हो, बाँकी प्रकाशन पश्चात् कविता आफै बोल्ने छ ।

जलवायु परिवर्तनले सिङ्गो पृथ्वी आइसियुमा जाने अवस्थालाई लिएर विश्व चिन्तित नभएको होइन तर पर्याप्त ठोस कदम चाल्न अझै पनि सफल भएको देखिँदैन । हाम्रो जस्तो देशमा भने त्यतातिर कम ध्यान जाने नै भयो । अबको साहित्य पर्यावरणीय चिन्तनमा लेखिन किन जरुरी छ ?

– यहाँनेर सबै भन्दा महत्त्वपूर्ण प्रश्न के हो भने संसार कसको हातमा छ ? हामीले शक्तिशाली भनिएका देशका प्रमुखहरूको हातमा छ भन्छौँ । संयुक्त राष्ट्रसङ्घ के संयुक्त छ ? यो पनि त दुईचार देशका सरकार प्रमुखहरूको हातमा छ भन्छौँ । हो पनि ! तर ती मानिसहरू पनि पुँजीपतिहरूकै इच्छामा चल्दछन् । दुनियाँलाई कस्तो बनाउने ? त्यसको निर्णायक पनि धनाढ्यहरू हुन् । यो सबैलाई थाहा छ कि संसारका एक प्रतिशत मानिसहरूसँग अरू बाँकी ९९ प्रतिशत मानिसहरूसँग जति सम्पत्ति छ । जलवायुको यो अवस्था आउनुमा तेस्रो विश्वमा पर्ने देशहरूको सबै भन्दा कम योगदान छ तर त्यसको क्षति सबै भन्दा बढी यी देशहरूले नै भोग्नु परिरहेछ । पृथ्वीलाई आइसियुमा परिणत गर्दा नै लाभ देखे भने ती एक प्रतिशत मानिसहरूले आइसियु नै बनाइदिन्छन् । त्यसलाई रोक्ने राजनीतिक व्यवस्थाले हो, त्यता कसैको ध्यान पुगेको छैन । अब त यस्तो परिस्थिति आउन थालिसक्यो कि ध्यान पुग्ने समयमा या पर्याप्त ठोस कदम चाल्नुपर्छ भन्ने निर्णयमा पुग्दा ढिलो पो हुन्छ कि ?

– हाम्रो देशको सन्दर्भमा कुरा गर्दा संविधानमा उल्लेखित केही मौलिक हकहरू पनि पर्यावरणसँग नै जोडिएका छन् । स्वच्छ वातावरण, स्वास्थ्य र खाद्य सम्बन्धी हक पर्यावरणसँग नै जोडिएका छन् । अरू बाँकी पनि परोक्ष–अपरोक्ष रूपमा जोडिएका नै छन् । मान्छे, मान्छे भएर बाँच्न नपाएको कुरा, हेपिएका, थिचिएको कुरा एउटा बहसको विषय हो र संविधानमा उल्लेखित हकको कार्यान्वयन अर्को बहसको विषय हो । मुख्य कुरा के हो भने हक, अधिकारको लागि लडिरहँदा पर्यावरणलाई पनि सँगै अगाडी लैजान जरुरी छ ।  कुनै समय प्रकृतिको प्रशंसामा साहित्य लेखियो । प्रकृतिलाई मानवमैत्री र प्रशंसायोग्य बनाइराख्न पर्यावरणीय साहित्य या साहित्यमा पर्यावरण लेखिरहन जरुरी छ ।

यस कवितासङ्ग्रहमा तपाईं कुन समय सीमामा र कस्ता विषयमा लेखिएका कवितालाई समावेश गर्नुभएको छ ?

– जसरी मानिस अनेकानेक कुराहरूले बनेको छ, जसरी मानिस जीवनका अनेकानेक पक्षहरूसँग जोडिएको छ, सङ्ग्रहित कविताहरू पनि विविध विषयमा छन् । जीवन, जगत, प्रेम र समयसँगको अन्तर्क्रियाका उपज यी कविताहरू फरकफरक भएर फेरि पनि मान्छेमाथि नै लेखिएका हुन् । चिहानमाथि महल बनाइरहेका मान्छेहरूमाथि नै लेखिएका हुन् ।

 यो संसार विभिन्न वादहरूमा हिँडिरहेको छ । सुनेको छु तपाईं अहिले सहर त्यागेर माटोसँग रमाउन गाउँमा फर्किनुभएको छ रे !  तपाईंमा यो गाउँ, माटो र खेतीपातीको प्रेम कसरी पलायो  ?

– मलाई लाग्छ, हावा र पानीमै विष या विषादी घोलिए पछाडि अब अर्ग्यानिक  भन्ने चिज कुनै बाँकी छैन । बस्, कुरा सापेक्षताको  गर्ने हो । हाम्रो परिवार कृषि परिवार नै हो । म चाहिँ अध्ययन र अध्यापनको सन्दर्भमा करिब डेढ दशक सहरमा बसेर विगत दुई वर्षदेखि गाउँमा छु । गाउँमा अझै जीवनका अवशेषहरू पर्याप्त छन् भन्ने अनुभूत भए पछि ती कुराहरूको उत्खनन गर्दै यतै बसिरहेछु । त्यसो त गाउँ प्रेम, माटो प्रेम र खेतीपातीप्रतिको प्रेम मुर्झाएको नै थिएन ।

तर म जोतिइरहेको ठाउँमा जोत्नलाई जमिन थिएन । मैले गरिरहेको कृषि कर्म व्यावसायिक रूपमा पनि होइन । खाद्यान्नको रूपमा आफूले उपभोग गर्ने वस्तुहरू आफै उत्पादन गर्नुपर्छ भन्ने कुराबाट म प्रेरित छु । यसका दुईचार लाभहरू पनि छन् । फुर्सदको समयको सदुपयोग, खराब कुराहरूबाट दूर, स्वास्थ्य जीवन र अरूलाई प्रेरणा ।

मान्छेको आ-आफ्नै चुनावअनुसार एउटा वादलाई अनुसरण गरेर हिँड्नेको लर्को लामै छ । तपाईं कस्तो वादमा विश्वास गर्नुहुन्छ ?

– “मानवतावाद” नै मलाई सर्वश्रेष्ठ वाद लाग्छ । मानवकल्याणका लागि सिर्जित या प्रतिपादित कुनै पनि वादमा मानवता छैन भने त्यो अर्थहीन छ । म आधारभूत रूपमा द्वन्द्वात्मक भौतिकवादी नै हुँ । तर दुःखको कुरा मार्क्सवादी हुँ भन्नेहरू यस्ता भए कि उनी स्वयं हुन्थे भने आफैले पो आफैलाई कुन वादमा विश्वास गर्छु भन्दा हुन् ।

 मान्छेको जीवनमा दर्शनको ठूलो आवश्यकता हुन्छ । जीवन जगतलाई बुझ्ने उत्सुकता  प्रायः सबैमा हुन्छ नै । तपाईंले जीवन दर्शन भनेर के कसरी बुझ्नुभएको छ ?

– मलाई लाग्छ, दर्शन आवश्यकता होइन, रुचि हो । एउटा अनुच्छेदमा यसलाई प्रस्ट पार्न सकिँदैन । दर्शनलाई जीवन शैलीका रूपमा बुझ्ने हो भने आम मान्छेले बाँचिरहेको जीवनलाई कुनै दार्शनिकले आफ्नो तरिकाले परिभाषित गर्न सक्ला तर स्वयं व्यक्ति सचेत रूपमा कुनै दर्शनको अनुसरण गरिरहेको हुँदैन । जीवन दर्शनलाई ध्येय या उद्देश्यका रूपमा भन्न खोज्नु भएको हो भने संसारमा भएका मानिसहरूमध्ये अधिकांश मान्छेहरूलाई यो विषयमा चिन्तन गर्ने चेतना र फुर्सद दुवै छैन । त्यसै पनि एक कथन छ, दर्शन पेट भरिएका मानिसहरूको विषय हो । पेट नै नभरिए त दिमागमा विचारको सिर्जना कसरी हुनु ? ठिकै पनि हो । एक मनोवैज्ञानिक अब्राहम मास्लोले पनि आफ्नो आवश्यकताको शृङ्खला सिद्धान्तमा आफू, जीवन र जगतलाई बुझ्ने कुरालाई सबै भन्दा उच्च तहमा राखेका छन् । त्यो तहमा विरलै मानिसहरू पुग्दछन् ।

मेरो ध्येयका रूपमा जीवन दर्शनको कुरा गर्नुपर्दा विभिन्न दर्शन र दार्शनिकहरूले जीवनलाई कसरी बुझेका या परिभाषित गरेका छन् ? त्यसलाई बुझ्ने प्रयत्न गर्नु हो । र, अर्को कुरा म जीवन र जगतलाई कसरी बुझ्छु भन्ने हो । जीवन मृत्युलाई कसरी भव्य बनाउने भन्ने तयारी हो । जगत त एक भौतिक वस्तु हो । हामी नरहँदा पनि यो रहन सक्छ । यसलाई अर्थ दिने, अर्थपूर्ण बनाउने मान्छेले हो ।

आजको युगमा मान्छेमा प्रतिस्पर्धा छ, महत्त्वाकाङ्क्षा छ,  फ्रस्टेसन छ । जिउनुको उद्देश्य पैसा, घर, गाडी, मैथुन, अधिक खानु, मदिरा पिउनु आदि कुरामा केन्द्रित छ । यो सब सुखसुविधाका बाटो हिँड्न छोडेर एउटा कविले कविता लेखिरहेको छ, किन होला र ?

– त्यसो होइन नि, लेखन पनि एक प्रतिस्पर्धा, महत्त्वाकाङ्क्षा, सपना हो । अरू भन्दा झन् बढी फ्रस्टेड र पागल लेखकहरू छन् । कुरा यत्ति फरक हो यिनीहरू केही हदसम्म काम लाग्ने कुरा र काम गर्छन् । मान्छेका आआफ्ना जीवनउद्देश्य छन् । पछिल्लो समय अधिक खाने र मदिरा पिउने बन्द गरेको छु । जीवन निर्वाहका लागि म पनि कमाउने गर्दछु । सामान्य घर र गाडी, मैथुन गर्नु मेरा पनि आवश्यकताका विषय हुन् । फरक के छ भने  मेरो जीवनमा कविता जोडिएको रहेछ । मेरो सुख, सुविधा, सन्तुष्टि र समाज रूपान्तरणको एक गन्तव्यमा पुग्न मलाई कविताको बाटो हिँड्नै पर्दछ ।

तपाईंलाई के लाग्छ, एउटा कवि लेखनले मात्र असल हुनुपर्छ कि आचरणले पनि ?

– एउटा कवि कविता जसरी नै बाँच्नुपर्छ । समाज र यो मानव जगतलाई असल बनाउन लेख्छु भन्नेलाई व्यक्तिगत रूपमा गलत आचरण गर्न छुट छैन । समस्या त यो हो कि मानिसहरू आफ्ना खराबीहरूलाई असल प्रमाणित गर्न सङ्घर्षरत छन् । कुरा के मात्रै हो भने लामिछानेले भने जस्तै मान्छेमा मान्छेमा हुनुपर्ने गुण हुनुपर्छ । र, कविमा मान्छेमा हुनुपर्ने गुणका साथै कविता हुनुपर्छ ।

आम मान्छे र एउटा कविमा के भिन्नता हुन्छ ?

त्यस्तो खासै फरक केही होइन । हरेक मानिसहरूले विचार अभिव्यक्त गर्छन् । कविले आफूले व्यक्त गर्ने विचारलाई कलाको इन्द्रेणी थपथाप गर्छ ।

“मान्छेले सिकेर कहिले सकिन्न” भन्छन् । यहाँसम्म आउँदा धेरै कुरा सिकिसक्नु भएको छ, त्यसमध्ये केही विशेष कुरा बताउनोस् जो साँच्चिकै एउटा जीवन सुन्दर बनाउन काम लाग्छ ?

एउटा कुरा त प्रश्नमा भने झैँ सिकेर कहिल्यै सकिन्न भन्ने बुझेको छु । त्यसैमा प्रयत्नरत छु । आफूले अपनाएका र अभ्यास गरेका पुराना मान्यताहरूलाई नयाँले प्रतिस्थापन गरिरहेछु । सुकरातले भने झैँ के खराब र के असल भन्ने कुरा समाजमा होइन विवेकमा भर पर्दछ । दुनियाँलाई विवेकको आँखाले हेर्ने अभ्यास गरिरहेछु । एक पटक शून्य अवस्थामा पुगेँ । त्यसपछि बल्ल थाहा भयो, शून्यबाटै उठेर जीवनको उकालो लाग्नुमा आनन्द छ । जोन लेननले पाँच वर्षको उमेरमा जीवनको उद्देश्य के हो भनेर कक्षामा सोधिएको प्रश्नको जवाफ खुसी हुनु भने झैँ आफूलाई खुसी राख्ने हरदम प्रयत्न गर्छु । आफ्ना संवेगहरूलाई नियन्त्रण गर्न जानियो भने मान्छेले सबै भन्दा स्वतन्त्र बन्दै हरक्षण खुसी हुन्छ । खुसी हुने मान्छेले केही कुरा कुरूप देख्दैन, अरूलाई त्यस्तो पनि देख्न सक्दैन ।

तपाईंको दिनचर्या कसरी बित्ने गर्छ । केही महत्त्वपूर्ण कुरा भनिदिनुस् जसले प्रेरणा दिन सकोस् ?

– मेरो दिनचर्यामा पनि म सदैव नयाँपन खोज्छु । नयाँपन हरायो भने मान्छे दुखी बन्छ । पछिल्लो दुई वर्षदेखि चाहिँ म बिहानको समय स्वास्थ्य (योग र काम) र अध्ययनका लागि, दिउँसको समय अध्यापन र साँझको समय लेखन र भेटघाट । आवश्यकता अनुकूल फेरबदल पनि हुन्छ । फुर्सदको दिनमा यात्रा र अध्ययन । मेरो सेडुल नै ठिक समयमा ठिक कर्म ।

एउटा पर्सनल प्रश्न है ! तपाईंलाई मैले पहिलो पटक रोल्पामा भेट्दा तपाईंको पेट अलि ठूलै थियो अहिले सर्लक्क बनाउनु भएछ पेट । आजभोलि प्राय नेपाली यो भुँडी लाग्ने समस्याबाट ग्रस्त छन् । तपाईंले कसरी भुँडी घटाउनु भयो रु टिप्स बताउनोस् यसले धेरैलाई सहयोग मिलोस् ।

– हाहा…निश्चय नै । म पाँच महिनाको अवधिमा २० किलो घटेँ । उचाइ अनुरूपको तौल बनाउन अझै पाँच किलो घट्नु छ । मलाई लाग्छ, के गर्दा मोटोपन घट्छ भन्ने अधिकांशलाई थाहा छ । मैले गरेका कामलाई बुँदागत रूपमा भनौंँ :

– जानेको कुरामा दृढताकासाथ अभ्यास

-जिब्रोलाई भन्दा स्वास्थ्यलाई खानपान

-सकारात्मक चिन्तन र दृढ सङ्कल्प

-योगा र ध्यान

– बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खानपान

-मदिराको शून्य उपभोग

-कृषि कर्म

-पत्रुखानाको शून्य उपभोग

-कार्बोहाइड्रेट कम र प्रोटिन आवश्यकता अनुरूप

बाँकी केही कुरा ?

धेरै छन् । सुन्दर प्रश्नहरूका लागि तपाईं र साहित्यपोस्ट परिवारलाई धन्यवाद ।