कपिल लामिछाने नेपाली आख्यान क्षेत्रका चर्चित एवम् मूर्धन्य व्यक्तित्व हुन् । नेपाली लघुकथाको क्षेत्रमा उनको उल्लेख्य स्थान छ ।
लामिछाने सफल समालोचक, बालकथाकार, अनुसन्धानदाता मात्र नभएर एक चर्चित र र सिद्धहस्त लघुकथाकार पनि हुन् ।
प्रवृत्तिगत आधारमा लामिछाने आधुनिक कालखण्डका प्रगतिवादी एवं सामाजिक यथार्थवादी लघुकथाकारको रूपमा परिचित छन् ।
सर्वप्रथम २०३४ सालमा बनारसबाट प्रकाशन हुने कल्याणी पत्रिकामा ‘कामना’ शीर्षकको कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा प्रवेश गरेका लामिछानेले विभिन्न विधामा कलम चलाए पनि उनको मुख्य रुचिको विधाचाहिँ लघुकथा रहेको देखिन्छ ।
वि सं २०४४ देखि लघुकथा लेखन सुरु गरेका लामिछानेका हालसम्म २०५४ मा ‘अन्यथा’, २०६१ मा ‘जलमानव’, २०६८ मा ‘बोन्साइ’, २०७५ मा ‘विस्थापन’ र २०७९ मा ‘अणिमा’ गरी पाँच वटा लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् ।
‘अन्यथा’ लामिछानेको पहिलो लघुकथा सङ्ग्रह हो । यो लघुकथा सङ्ग्रह वि सं २०५४ सालमा प्रकाशित भएको हो । उनका प्रकाशित पाँच वटा लघुकथा सङ्ग्रहमध्ये यो पहिलो र सबैभन्दा ‘अन्यथा’ उत्कृष्ट लघुकथा सङ्ग्रह मानिन्छ ।
००००
लघुकथा सङ्ग्रहको संरचना
अटो साइजको आकारमा रहेका ‘अन्यथा’ लघुकथा सङ्ग्रहमा ३९ लघुकथाहरू सङ्ग्रहित छन् र यसको प्रकाशन कलासदन, भैरहवावाट भएको हो । यसमा भूमिका साहित्यकार मोदनाथ प्रश्रितले लेखेका छन् । उनले यस सङ्ग्रहलाई सूत्रकथाको संज्ञा पनि दिएका छन् । कथाकार स्वयम्ले भने यस सङ्ग्रहलाई मसिना कथाहरूको सँगालो भनेको पाइन्छ ।
यसमा समावेश भएका सम्पूर्ण लघुकथाहरूमा तत्कालीन समयमा देखिएका सामाजिक, राजनीति,प्रशासनिक, शैक्षिक आदि विविध क्षेत्रमा देखिएका विकृति, विसङ्गतिप्रति तीव्र रूपमा व्यङ्ग्य गरी लेखिएको पाइन्छ ।
कथानक
कपिल लामिछानेले यसमा जीवन जगत्मा घटेका चर्चित घटनाक्रमलाई मात्र समावेश गरेका छैनन् । अपितु त्यसभित्र हामीले महत्त्व नदिएका तर हाम्रो जीवनमा घटिरहने घटना-विशेषलाई पनि आख्यानीकरण गरी आलोचनात्मक यथार्थवादी विचारमा आधारित रही व्यङ्ग्यात्मक शैली अपनाई लघुकथाको सिर्जना गरेका छन् ।
यस सङ्ग्रहभित्रका लघुकथाहरूमा पचास दशकको आरम्भका दिनहरूमा नेपाली समाजको राजनीतिक, सामाजिक, सांस्कृतिक अवस्था, घटना, परिघटनाले मुख्य विषयको रूपमा स्थान पाएका छन् ।
यसको पहिलो लघुकथा ‘भेदनीति’ र अन्तिम कथा ‘हेडेक’ हो । त्यस्तै सबभन्दा लामो कथामा ‘अनिणर्ति’ र छोटो कथामा ‘बाग्मती, ‘पाप र पापी’ आएका छन् । सूत्रकथामा चाहिँ ‘हेडेक’, ‘जिउँदो दुश्मन’, ‘कुप्राहरूको देश’, ‘चुनाउ र नेता’ गरी पाँच वटा लघुकथा रहेका छन् ।
कथासङ्ग्रहमा सामाजिक विषयवस्तुलाई आधार बनाई लेखिएका लघुकथाहरूमा ‘समझदारी’, ‘भोक’, ‘सांस्कृतिक आदानप्रदान’, ‘ह्यालमेट’, ‘माग्ने’, ‘विषाक्त’, ‘भोटे कुकुर’, ‘अनिणर्ति’, ‘कुप्राहरूको देश’, ‘गोलाप्रथा’, ‘अभियान’, ‘समस्या’, ‘स्वार्थ र सङ्गठन’, ‘चिकित्सा’, ‘सभा सुर्ती र ताली’, ‘योग्यता’, ‘अनुसरण’, ‘हाकिम सा’पको पङ्चुआलिटी’, ‘बाग्मती’, ‘पाप र पापी’, ‘शब्दयद्ध’ र ‘उपकृत-अपकृत’ रहेका छन् ।
‘सांस्कृतिक आदानप्रदान’ लघुकथामा नेपालीहरूको ढिलासुस्ती गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । ‘समझदारी’मा दुवै दम्पतीको बिहे पूर्व अरूसँगै हार्दिक प्रेम भए पनि दुवैले बिहेपछि आफ्नो दाम्पत्य जीवनमा समझदारी गरी बसेको कथानक छ । ‘ह्यालमेट’मा ठुलाठालु र पहुँचवालाको मात्र काम गर्ने कर्मचारी प्रवृत्तिको चित्रण गरिएको छ ।‘विषाक्त’मा मानिसहरूको परपीडक प्रवृत्तिप्रति तिखो व्यङ्ग्य गरिएको देखिन्छ ।
‘अनुसरण’ लघुकथाभित्र पुर्खाहरूले देखाएको बाटोको अनुसरण नगरी आफ्नै विचारको अनुसरण गर्ने तीन भाइहरूको चित्रण छ । त्यस्तै सामाजिक कथाभित्रकै अर्को कथा ‘समस्या’ र ‘हाकिम सा‘पको पङ्चुआलिटी’ लघुकथामा ढिलासुस्ती गर्ने कर्मचारी वा नेपाली नागरिकप्रति सटीक व्यङ्ग्य गरी लेखिएको छ ।
‘समस्या’ कथामा चाकडी गर्ने कर्मचारीको माध्यमबाट प्रशासनिक क्षेत्रमा हुने विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गरिएको छ । सामाजिक विषयमा रहेका यी कथाहरूले सामाजिक जीवनमा देखा परेका नकारात्मक कुराहरूको पर्दाफास गर्ने प्रयास गरेका छन् ।
‘सभ्यता’ सामाजिक विषयवस्तुमा आधारित रहेको लघुकथा हो । यस लघुकथामा ‘म’पात्रका आफ्ना मित्र के. शर्माका ज्येष्ठ पुत्रको विवाहमा जाँदा मित्रको ज्येष्ठ पुत्रले आफ्नो काकालाई पाखे भनी जन्तीमा सामेल नगराउने कुरा गरेको के. शर्माले भाइलाई सिधै भन्दा दुःख लाग्ने भएकाले कफीमा स्लिपिङ् ट्याबलेट राखी खुवाएको र जन्ती जाने बेलामा सुतेको छ भनेको ‘म’ पात्रले सुन्छन् । त्यसपछि कथाको अन्त्य भागमा ‘सभ्यता’को वास्तविक अर्थ खोज्न थालिएको छ ।
अन्यथा लघुकथा सङ्ग्रहभित्र नेपाली राजनीति क्षेत्रलाई विषयवस्तु बनाई लेखिएका कथाहरूमा एजेन्ट, कमनिष्ट, भेदनीति, झन्डाबाहक, समाजवादी नेता, इस्यु, चुनाव, सांसद मित्र, नेता, हेडेक, ढाल र सभा सुर्ती र ताली रहेका छन् ।
‘एजेन्ट’ कथा साम्राज्यवादको विरोध गर्ने मान्छेको कथा हो । विरोधलाई शान्त पार्न खोज्ने व्यक्ति नै नाजवाफ भएर जानुपर्ने घटना यस लघुकथामा आएको देखिन्छ । ‘कमनिस्ट’मा राजनीतिक पूर्वाग्रहका कारण योग्यताको अपहेलना गर्ने नेता प्रवृत्ति प्रस्तुत गरिएको पाइन्छ ।
‘झन्डाबाहक’मा चुनाव जितेपछि जनताको मान गर्ने नेताको व्यवहारप्रति तीखो रूपमा व्यङ्ग्य गरिएको छ । ‘इस्यु’मा सत्ता पाउन आफ्नै कार्यकर्ता मारेर पनि अर्को सङ्गठनमाथि दोष थोपरेर लाभ लिनेहरूको व्यवहार माथि व्यङ्ग्य गरिएको छ ।
लामिछानेले राजनीतिक विषयवस्तुसँग सम्बन्धित रही पचासको दशकमा नेपालको राजनीतिमा देखा परेका विकृति, विसङ्गति एवम् नकारात्मक दृश्यहरूलाई यी लघुकथा मार्फत प्रस्तुत गरेका छन् ।
राजनीतिक विषयलाई प्रतिनिधि गर्ने लघुकथामा क्रम स्थान उनन्तीसमा ‘कमिनिस्ट’ लघुकथामा आएको छ । लघुकथाकारले राजनीतिक क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिलाई यस लघुकथामार्फत व्यक्त गरेका छन् । यस लघुकथामा प्रशासनमा हुने राजनीतिक कारणले भेदभाव निम्त्याउने प्रसङ्गलाई व्यङ्ग्य गरिएको छ । कमनिस्ट भएकाले जागिर नपाएको देखाई अरू पार्टीप्रति तीखो आलोचनात्मक व्यङ्ग्य प्रहार गरिएको छ ।
‘स्यालको स्वर्गयात्रा’ लघुकथा लौकिक विषयवस्तुमा रहेको छ । यो कथा लोककथामा आधारित रही प्रस्तुत गरिएको छ । यस कथाको आयाम पनि लघुत्तम रहेको छ । सबभन्दा माथि चढेको स्यालले यो कल्पना मात्र हो जस्तो माने पनि एउटा घैँटो थपे स्वर्ग देखिन्छ भनेपछि तल रहेको स्यालले हामीभन्दा पहिला उसले स्वर्ग देख्ने भयो भनी एउटा घैँटोमा लातले हान्छ ।यसरी माथि रहेको एउटा स्याल मर्छ । त्यही स्वर्ग पुग्छ । यसरी समाजमा देखिने विकृति विसङ्गतिलाई यस लघुकथामा प्रस्तुत गरिएको छ ।
पौराणिक विषयवस्तु अँगाली लेखिएको ‘फटाहा राजकुमार’ हो । यसको कथावस्तु घाइते हाँस र बुद्धबिचको संवादबाट अघि बढ्छ । बुद्धले घाइते हाँसलाई हातमा सुमसुम्याउन खोज्दा हाँसले तिमीले माया गर्न सक्दैनौँ किनभने तिमी स्वयम् आफ्नो प्राण त्यागी पत्नी र मुटुको टुक्रा जस्तो छोरालाई छोडेका छौ भनेपछि बुद्ध रुन थाल्छन् । यस लघुकथाको कथानक यतिमा नै सीमित रहेको छ । यस लघुकथाको कथानक पनि रैखिक ढाँचामा रहेको छ ।
मनोवैज्ञानिक विषयवस्तुलाई आधार मानी लेखिएका लघुकथामा ‘भोटे कुकुर’ र ‘चिन्ता’ हुन् । ‘भोटे कुकुर’मा युवतीले भोटे कुकुरलाई हेरेको तर म पात्र आफूलाई हेरेको सम्झेको पछि कुकुरलाई हेरेको थाहा भएको छ । यसरी भ्रमयुक्त मानसिकतालाई यस लघुकथाको कथानक बनाई प्रस्तुत गरिएको छ ।
त्यस्तै ‘चिन्ता’ कथामा श्रीमान् श्रीमतीको संवाद रहेको छ । मानसिक रोगीको उपचार मनोवैज्ञानिक तरिकाबाट भयो भने अन्तमा निको हुने कुरा यस लघुकथामा प्रस्तुत भएको छ । मनोवैज्ञानिक विषयमा रहेको ‘भोटेकुकुर’ कथामा मुख्य पात्र ‘म’ को मनमा आएका कुरा प्रस्तुत गरिएको छ । म पात्रले भर्खर किनेको भोटे कुकुर साथमा लिई बिहानको भ्रमणमा निस्केको हुन्छ । त्यही समय बाटोमा एउटी राम्री युवती पनि बिहानी भ्रमण गर्दै हुन्छिन् । युवतीले पटक पटक ‘म’ पात्रतर्फ हेर्दा म पात्रलाई आफूलाई हेरेको सम्झी आँखा झिम्काउन खोज्दा युवतीले त ‘म’ पात्रको कुकुरलाई हेरेको कुरा थाहा हुन्छ । यसरी म पात्र भ्रममा परेकाले छिटो छिटो घर फर्किएको र उसको मनमा द्वन्द्व चलेको देखिन्छ । यो कथा पनि रैखिक ढाँचामा रचिएको छ ।
अन्तमा राष्ट्रप्रेमको भावनामा ओतप्रोत भएका लघुकथामा ‘विकासको मुहान’ र ‘माटो’ रहेका छन् । माटो कथामा देशको माटो प्रति जनताले देखाउने माया प्रस्तुत गरिएको छ भने ‘विकासको मुहान’ लघुकथामा चाहिँ महाकाली सन्धिलाई विषयवस्तु बनाएर देशप्रतिको माया जगाइएको छ ।
राष्ट्रिय भावनाले ओतप्रोत रहेको लघुकथा ‘माटो’ हो । यस कथाको क्रम स्थान अट्ठाइसौँमा आएको छ । यस कथामा राष्ट्र प्रेमको भावना प्रशस्त मात्रामा प्रकट भएको छ । ‘माटो’ कथामा नागरिक एकले कसको मुटुमा के छ ? भनी प्रश्न गर्नु, त्यसको उत्तरमा क्रमशः दुईले रगत, तीनले कान्छीको माया, चारले उच्च विचार, पाँचले उद्देश्य, छले आमाको माया छ भन्छन्, तर सातले चाहिँ मेरो मुटुमा अलिकति माटो छ भनेपछि शिर निहुराउनुले यस लघुकथा राष्ट्रियताको भाव झल्केको देखिन्छ । यस लघुकथालाई नाटकीय शैलीमा अगाडि बढाइएको छ ।
यसरी लेखकले रोचक कथानकहरूलाई रोचक तरिकाले प्रस्तुत गरेका छन् ।
चरित्रचित्रण
सम्पूर्ण कथामा कम पात्रहरूको प्रयोग गरिएका छन् । सबै पात्रहरू, साङ्केतिक, प्रतीकात्मक र वैयक्तिक स्वभावको प्रतिनिधित्व गर्ने खालका छन् । मानवीय, मानवेतर दुवै खालका पात्रहरूको प्रयोगले पनि लघुकथालाई थप सशक्त र प्रतीकात्मक बनाएका देखिन्छ । मानव समाजमा घट्ने घटनाहरू र घटना घटाउने पात्रहरूको स्वभाव र अनुभवलाई जीवन्त रूपमा चित्रण गर्न सक्ने पात्रहरूको प्रयोग यी लघुकथामा रहेको पाइन्छ ।
परिवेश
अन्यथा लघुकथा सङ्ग्रहको समग्र परिवेश वर्तमानको समसामयिक बहुलवादी र विविधतापूर्ण परिवेशबाट टाढा छैन कि बरु त्यसको नजिक रही लघुकथा लेखिएको छ । सम्पूर्ण लघुकथाहरूको परिवेश सीमित रहेको छ । सानो परिवेशलाई समेटी लेखिएका उनका लघुकथाका घटना र विषयको छनोट फरक फरक भए पनि उत्कृष्ट रहेका छन् ।
भाषाशैली
अन्यथा लघुकथा सङ्ग्रहका सबै कथाहरूको कथानक रैखिक ढाँचामा नै संरचित भएकाले पनि भाषाशैली सबैले बुझ्ने स्पष्ट खालको रहेको छ । लघुकथामा रहेका उनन्चालीस वटै कथाका कथानक आदि, मध्य र अन्त्यको क्रममा रहेका छन् । यी कथाहरूमा व्यङ्ग्यात्मक र प्रतीकात्मक रूपमा शब्दहरूको प्रयोग गरी समाजमा देखा पर्ने विकृति-विसङ्गति र विडम्बनाको भण्डाफोर गरेका छन् ।
व्यङ्ग्य र प्रतीकात्मक रूपमा कथा लेखे पनि स्पष्ट सरल र सबैले बुझ्ने खालको भाषालाई कथाकारले खोजी खोजी प्रयोग गरेको देखिन्छ ।
दृष्टिबिन्दु
कपिल लामिछानेको अन्यथा (२०५४) लघुकथा सङ्ग्रहमा आन्तरिक र बाह्य दुवै दृष्टिबिन्दुको प्रयोग गरेका छन् । उनले प्रकृति, मानव, मानवेतर प्राणी साथमा मूर्त, अमूर्त सबै पात्रलाई समावेश गरी कथालाई अघि बढाएका छन् । यस सङ्ग्रहका प्रायः जसो लघुकथाहरूमा आन्तरिकभन्दा बाह्य दृष्टिबिन्दुको बढी प्रयोग गरिएको छ भने केही लघुकथामा आन्तरिक र बाह्य दृष्टिबिन्दुको पनि मिश्रण गरी कथानक सिर्जित गरिएको छ ।
उद्देश्य
सामाजिक र राजनीतिक जीवनमा देखिएका विकृति, विसङ्गति, अन्याय, अत्याचार, दमन र शोषणको सूक्ष्म बिम्ब र प्रतीकहरूमार्फत चित्रण गर्दै समाजलाई सुमार्गमा अभिमुख गराउनु नै यस सङ्ग्रहको मुख्य उद्देश्य रहेको छ ।
निष्कर्ष
समग्रमा भन्नुपर्दा लघुकथाकार कपिल लामिछानेले आजको व्यस्त समाजका मानिसहरूलाई छोटो समयमै पढेर आख्यानात्मक स्वाद दिँदै जीवन र जगतकाे मूल्य बोध गराउन सक्ने लघुकथाहरूको रचना गरेका छन्।
कौतूहलपूर्ण लेखन, प्रतीकको यथेष्ट प्रयोग, बिम्बात्मक प्रस्तुति, विषयगत विविधता, प्रस्तुतिगत नवीनता, छोटो आयाम, सरल, सहज र सम्प्रेष्य भाषा, व्यङ्ग्यात्मकता, यथार्थ चित्रण, मानवीय र मानवेतर पात्रको प्रयोग उनले गरेका छन् । सामाजिक परिवेश, संवेदना र पीडाको स्वरको अभिव्यक्ति, सामाजिक जीवनको सघन, सरल र सटिक चित्रको प्रस्तुति, प्रतीकात्मक शैली, समाज चेतना र जागरणको सन्देश उनका लघुकथामा पाइन्छ ।
यस अर्थमा अन्यथा लघुकथा सङ्ग्रह अत्यन्तै उत्कृष्ट र पठनीय कृतिका रूपमा रहेको छ भने कपिल लामिछाने एक सफल लघुकथाकार देखिन्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।