‘पन्ध्र सय पचासको घाटा’ शीर्षकमा मित्र डीपी जैसीले सामाजिक सञ्जालमा लेख्नुभयो , ‘हिजो श्रीमतीजीको दाँतको उपचार गर्न जानुपर्ने थियो । घरबाट डेढ किमी टाढा भए तापनि फुटपाथ को अवस्था सम्झेर पैदल जाने आँट आएन । घरमा छोड्न नमिल्ने भएकाले दुई वर्षे नातिनीलाई पनि साथमै लिएर जानुपर्ने अवस्था थियो ।‌ पठाओ बोलाएँ । नजिकको सवारी भएकाले हत्तपत्त कसैले स्वीकार गरेन ।

एउटाले आउँछु भन्यो , तर आएन । अन्तिममा एउटा आउने भयो । एक सय पचहत्तर उठेको थियो । उसको रोदन सुरु भयो । ‘नजिक छ, पेट्रोल महँगो छ, फर्कँदा सवारी पाइन्न, मिलाएर दिनु न ।’ ल त भनेर दुई सय पचासमा कुरो मिल्यो ।’  फर्कने बेलामा पनि उही समस्या । उहाँले बिरामी श्रीमती र बालिका नातिनी देखाएर एउटालाई तीन सयमा मनाउनुभयो । तर नातिनीको हजार हालेको जुत्ता त ट्याक्सीमै छुटेछ । जनतालाई एउटा हिँड्न लायक फुटपाथसम्म दिन नसक्ने राज्यको वरिष्ठ नागरिकको व्यथा हो यो ।

मित्र डीपीको त्यही व्यथामाथि अर्का मित्र राजीव घिमिरेको टिप्पणी यस्तो थियो , ‘बुवाको (राष्ट्रकवि स्व.माधवप्रसाद घिमिरे ) उमेर ९० वर्ष  जति थियो होला । कमल पोखरीमा दाँत जँचाएर लैनचौर आउन धेरै ट्याक्सीवालाले ‘इन्टरभ्यु’  लिएर फेल गराए । बुवाले  ‘हिँडेरै जाऊँ’  भन्नुभयो । तर फुटपाथको बिजोग भएकाले मैले मानिन। अन्तमा एउटा ट्याक्सीवाला समक्ष गिडगिडाएँ, ‘बुढो मान्छे हुनुहुन्छ, लगिदिनोस् न !’  उसले बुवातिर एक पटक हेर्‍यो र म तिर फर्केर भन्यो, ‘किन बुढो भा’को त?’

फुटपाथको प्रसङ्ग उठ्दा मलाई हिन्दुस्तानको वाणारसीमा देखेको एउटा घटना याद आयो । बीएचयुको बाहिर फुटपाथमा लस्करै सब्जी बेच्नेहरूको भिड थियो । त्यसमध्ये केही वृद्ध महिलाहरू पनि थिए । त्यहाँ एउटा वृद्ध पुरुष जान्छन् र सोध्छन्  , ‘यो बथिया र सर्सिउँको   साग आफै उब्जाएको कि किनेर ल्याएको ?’  बुढिया फ्याट्टै भन्छिन् , ‘आफ्नै जमिनमा उब्जाएर ल्याएको हो । बहुतै ताजा छ ।’

पल्लोपट्टि अर्की झनै वृद्धा पनि सब्जी बेचिरहेकी थिइन् । उनी भन्छिन् ‘किन झूट बोल्छ्यौ हो बैनी ! मर्ने चोला हो । पर बाबा विश्वनाथले सुनिराखेको छ । मान्छेले बिर्सेला ,तर चित्रगुप्तले त किताबमा लेखेर राख्छ सबै हिसाब ।’  पहिली बुढिया भयभीत भइन् । भनिन् , ‘क्या करें भैया ! पापी पेटका सवाल है । इस उम्रमे भी ये सब करना पडता है ।’ बगलमा बसेर सब्जी बेचिरहेको एउटा युवकले वृद्धालाई खाउँला झैँ गरेर हेर्‍यो । ‘बुढी हो गई मगर अकड नही गई । बुढी होनेको किसने कहा था तुम्हे ?’

नेपालगन्जको कुरा हो । जीवनको पथ नाप्दा नाप्दै सत्तरी नाघेका रामचन्द्र पासी नब्बेका देखिन्छन् । उनले रिक्सा चलाउन थालेको पनि पचास वर्ष भयो । जवानीको जोसमा शरीरको ख्याल गर्ने फुर्सदै मिलेन । साँझ जति कमाएर ल्याए पनि सबै सकिन्थ्यो । यता आफ्नो उमेर घर्किंदै गयो , उता छोराहरू लाखापाखा लागे । श्रीमती बुढालाई एक्लै छाडेर जान्छु पनि नभनी अनन्तको यात्रातिर लागिन् । आज उनी पूर्णतः रित्ता छन् । संसार मानवको भिडले ठसाठस छ । किन्तु रामचन्द्रलाई एक मुठी पानी सोध्ने पनि कोही छैन । उनी बिहानभरि कोही रिक्सा चढ्ला कि भनेर कुरिरहन्छन् ।

तर जो पनि उनलाई एक नजर हेर्छ र ‘ए यसले त सक्दैन’ भन्दै तर्कन्छ । उनी भन्छन् , ‘आउनुस् न ! पुर्‍याइदिइहाल्छु ।’  उत्तर आउँछ , ‘यस्तो बुढो मान्छे थपक्क घरमा नबसेर के रिक्सा चलाइरहेको होला ?’   अपरिचित वृद्ध-वृद्धामाथि यो खालको सस्तो माया दिनमा बहुतै माहिर छौँ हामी नेपाली । कहिलेकाहीँ त दिनभरि भोकै पर्छन बरा रामचन्द्र । मैले ‘घर  कहाँ हो दादा’  भनेर सोधेको थिएँ । उनले सुक्खा आँखा उठाएर यसो हेरे । सायद बिना काम घर कहाँ हो भनेर सोध्नु मेरो असभ्यता थियो । तैपनि उनले मधुरो आवाजमा भने , ‘रौतहट’  ।

धेरै वर्षपछि जमुनाहा पारी रुपइडिहा जाने चाँजो मिल्यो । सयौँपल्ट गएको त्यो बजारको चरित्र उस्तै भए तापनि चित्र अर्कै भएछ । प्रवृत्ति उही , तर पात्र अर्कै । एउटा चल्तीको दुकान । मेरा आँखा एक परिचित व्यक्तिको खोजीमा थिए । म जवान हुँदा उनी अधबैँसे थिए । मानसपटलमा त्यही अधबैँसे रूप र रङ बसेको हुँदा म त्यही  व्यक्तित्वको खोजीमा थिएँ । गद्दीमा पुराना सेठजी थिएनन् , बरु उनकै रूप रङ र कद काठीका अर्कै मानिस थिए । मैले देखेँ , परतिर  छेउमा राखिएको कुर्सीमा एक जना दयालाग्दो अवस्थाका बुढा बसिरहेका । म नजिकै गएर उभिएँ । उनले मलाई निकै नियालेर हेरेपछि भने , ‘जै राम जी की ।’ मैले दुवै हात जोडेर अभिवादन गर्दै सोधेँ , ‘आप कैसे हैं ?’ उनी मलाई हेर्दै निर्दोष मुस्कुराए ।

सेठजी आफैले निर्माण गरेको साम्राज्यको अपदस्थ सम्राटले झैँ टुलुटुलु हेरिरहेका थिए चुपचाप चारैतिर । मेरो अभिवादनले  उनका आँखा टाठा भए । ‘मलाई सोध्ने पनि कोही छ । मेरो महत्त्व समाप्त भएको छैन’ को भाव थियो त्यहाँ । कति सस्तो थियो त्यो खुसी । एउटा पराईले दुई शब्द बोल्दा फुरुङ्ग हुने दिन आयो । परन्तु त्यो पनि छोरोलाई सह्य भएन । भन्यो ,  ‘पापा आप भीतर जाइये ।’  बुढा आज्ञाकारी बालक झैँ ‘अच्छा बेटा’  भन्दै उठे । एक जना कामदारले चलो बाबुजी भन्दै घुचेट्न थाल्यो । बुढा ‘अरे जा तो रहा हुँ । ये कैसी ज्यादती है यार’  भन्दै पाइला सार्न थाले । हेर्दाहेर्दै उनी ओझेल हुँदै गए । कामदारले भनेको आवाज आयो , ‘जीद मत करिये बाबुजी । आपको किसने कहा था कि बुढे हो जाइये !’  बचपन जस्तै हो बुढेसकाल । दुईबिच एउटा मात्र फरक छ । बालकको भविष्य हुने हुनाले ऊ महत्त्वपूर्ण हुन्छ । वृद्ध भविष्यहीन हुने हुनाले महत्त्वहीन  हुन्छ । दुकानको कामदारलाई पनि थाहा छ , साहुको पुत्रलाई भित्र लैजानुपर्‍यो भने कस्तो र पितालाई लैजानुपर्‍यो भने कस्तो व्यवहार गर्नुपर्छ ।

तेह्र चौधको थिएँ  । आमाले दिदी भेट्न झंडेवा जा भन्नुभयो । खुसी भएँ । अर्को दिन  बिहान छ बजे नै भात खाएर बाटो लागेँ । वैशाखको महिना । माडी फाँटमा पुग्दा करिब दस बज्यो । लालपाटी पुग्दा पसिना आयो । म एउटा रुखमुनि गएर बसेँ। त्यहाँ पहिल्यै नै दुई जना बुढाहरू बसेका रहेछन् । एउटा बाहुन र अर्को मगर । मगर बुढाले बाहुनलाई जिस्क्याइरहेका थिए । ‘रक्सी खाने बानी भएको भए बाजे आज पनि सबै थोक गर्न सक्थ्यो होला । रक्सी खान छैन मासु खान छैन । मोही धोकेर मात्र ज्यानमा तागत आउँछ ? यी हेर बाजे मेरा पाखुरा अझै पनि तगडा छन् ।’  उनले दाहिने हातको पाखुराको मसल देखाए । मासु झोलिएको पाखुरोले मगर बुढाको तागतको पोल खोलिरहेको थियो । तर उनमा जोस र जाँगर थियो । जीवनप्रति भरोसा र निष्ठा थियो ।

बाहुन बुढा गम्भीर देखिए । ‘तिम्रा पिता पुर्खाले खाए ,  हाम्राले त्यागे । मलाई स्वाद पनि थाहा नभएको कुराको के प्रयोजन ।’ तर केही गुमे जस्तो , केही छुटे जस्तो , मगर मित्रले जति जिन्दगीको मजा लिन नपाए जस्तो महसुस गरे झैँ देखिन्थे बाहुन बुढा । मगर  काकाले फेरि भने , ‘बाजे आज मैले अचम्मको सपना देखेँ । म असीबाट उनासी , उनासीबाट अठहत्तर हुँदै बर्सेनि एक वर्ष कान्छो हुँदै गएको रे । मेरो शरीर फुर्तिलो हुँदै गएको रे । म धेरै जोत्न र ठुलो भारी बोक्न सक्ने हुँदै गएको रे । परिवार , समाज , छिमेकी र कुटुम्बले मलाई फेरि गनिता , मनिता र खोजी गर्न थालेका रे ।’

बुढेसकालको सबैभन्दा ठुलो दुःख के हो ?  यो एक प्रश्नका अनेक उत्तर हुन सक्छन् । एक जना वृद्ध आमाले भन्नुभयो , ‘जन्म दुःख हो , रोग दुःख हो , जरा दुःख हो र मृत्यु दुःख हो ।’  यी बुद्ध वचन भनेपछि उहाँ टाढा क्षितिजतिर हेर्दै केही बेर टोलाउनुभयो । उहाँका आँखा भिजे । आमा प्रकम्पित स्वरमा बोल्नुभयो , ‘सबैभन्दा ठुलो दुःख एक्लोपन हो ।’ अर्की आमा हिम्मतिली हुनुहुँदो रहेछ । भन्नुभयो , ‘तथापि आफै खाना खान , शौचालय जान , स्नान गर्न र लुगा लगाउन सक्दासम्म  सह्य नै हुन्छ । आफन्तहरू सोच्छन् – खान दिएकै छ , लाउन दिएकै छ , बुढो भएपछि चुपचाप बसेर ईश्वरको नाम जपे भइगो । तर खान दिएको खाना कुन भावले दिएको छ भन्ने कुरा दिने हात र अनुहारको भावले नै बुझिन्छ ।’  एक जना गरिबीले पिल्सिएका कवि मनका मान्छे भन्दै थिए , ‘ धन्न भगवानको कृपाले हामी धेरै बुढो  हुँदासम्म बाँच्नु पर्दैन । छिट्टै उठाएर लैजान्छ ।’

बुढापा सबैका लागि चुनौती हो । अमिर घरमा पनि आफैले कमाएको सम्पत्तिका खातिर  कलह, अशान्ति र द्वेष भोग्नु र सहनुपर्छ । अनेक दोष लाएको सुन्नुपर्छ । आमा या बाले ‘यो गरेन त्यो गरेन ।’  समय क्रममा आफै महसुस हुन्छ कि अब त्यो समय रहेन । सामर्थ्य कमजोर हुँदै जाँदा आफन्तबाट पनि उपेक्षामा परिने सम्भावना हुन्छ । शनैः शनैः ‘आवश्यक व्यक्ति’  को सूचीबाट बाहिर पर्दै गइन्छ । एक जनाले भन्नुभयो , ‘कोही आउन्न , कसैलाई फुर्सद  छैन ।”  फुर्सदको कुरा त उहाँले शिष्टाचारवश भनेको मात्र हो । वास्तवमा बुढेसकालको सबैभन्दा ठुलो दुःख हो भरोसा टुट्नु । बुढेसकालमा सानो कुरामा पनि खुसी लाग्छ । कोही नरम बोलिदियो ,  बाहिर फेर कसैले नमस्कार सन्चै हुनुहुन्छ ? मात्रै भन्यो या बसमा चढ्दा कसैले यहाँ बस्नुस् भनेर सिट छाडिदियो भने पनि मनै फुरुङ्ग हुन्छ । कटु शब्द , उपहास , अपहेलन र व्यङ्ग्यले वृद्ध-वृद्धाको मन थिलोथिलो हुन्छ ।

जेसुकै भए तापनि खुसी हुने या दुःखी भएर आधा ज्यान बनाउने ? मामिला आफ्नै हातमा छ । खुसी हुने सूत्र आफै पहिल्याउने हो । एक जना गुनासो गर्दै थिए ‘ईश्वर नै क्रोधित भएपछि के लाग्छ ?’  यस्तो नकारात्मक सोचले बुढेसकाललाई थप जीर्ण बनाउँछ ।  हामीले एउटा कुराको हमेसा ख्याल राख्नु आवश्यक छ । त्यो के भने आफू खुसी हुन चाहनेले अरूलाई खुसी राख्न जान्नुपर्छ ।

फोकटमा ‘ल लिनुस् आमा’  भन्दै खुसी ल्याएर कसैले दिँदैन । केही न केही सकेको काम गरिदिने । काम सबैलाई प्यारो हुन्छ । आफ्नो उपयोगिताको सान्दर्भिकता पनि सिद्ध हुन्छ । कम बोल्ने , धेरै बोलेको कसैलाई पनि मन पर्दैन । जवानहरूको जमघटमा धेरै बेर नबस्ने । बिचमा फ्याट्ट नबोल्ने । आफ्नो योग्यता , जीवनमा हासिल गरेका सफलता र गरेका कार्यबारे कसैले नसोधी नभन्ने । नमागेको सल्लाह नदिने । जब आफू कर्ता-धर्ता हैन त यसो गर उसो गर भनेर किन छुच्चो हुनु ? अर्को महत्वपूर्ण कुरा हो सहनशीलता ।  खाने कुरामा लोभ नगर्ने । लोभीलाई न मान्छेले न त आफ्नै स्वास्थ्यले रुचाउँछ । एक्लोपनलाई स्वीकार गर्ने । शान्त चित्त रहने । अध्ययन ध्यान जेमा मन छ गर्ने । दिल र  दिमाग सक्रिय राख्ने । पर्याप्त निद्रा जरुरी छ ।

गीता भन्दछ , ‘दुःखको प्राप्तिमा जसको मन उद्विग्न हुँदैन र सुखको प्राप्तिमा पनि जो निस्पृह रहन्छ , जसका राग , द्वेष , भय र क्रोध नष्ट भएर समाप्त भएका छन्  , त्यस्तो  मुनि स्थिर बुद्धि कहलाउँछ ।’

मुनि बन्न सके धेरै बेस हो । मन र बुद्धिलाई स्थिर राखेर चुपचाप दुनियाँको तमासा हेर्ने र आफ्नो उमेर एवं बर्कत अनुसारको श्रम गरिरहने । बुढेसकाल हतियार बदल्ने समय हो । पुरानो तरबार थन्क्याएर धारहीन र नरम हतियार बोक्ने जमाना आयो भनेर बुझेको राम्रो । सारा इन्द्रिय शिथिल र निष्क्रिय भई जराजीर्ण भएको अवस्थामा जे प्राप्त छ त्यही गनिमत हो । वृद्ध भनेर कोही टिठाउनेवाला छैन यहाँ । प्रकृतिको नियम पनि उँधो मायाले निर्देशित छ । प्रकृतिमा  कुनै पनि प्राणीले मातापिताको स्याहार सुसार गरेको देखिएको छैन । त्यसैले धेरै छटपटाउनुको प्रयोजन छैन । कतै पढेको थिएँ, ‘उनका आँखा विवश थिए, मैले मौन उत्तर दिएको थिएँ, दुःखी नहुनुहोस्, यो दुनियाँको दस्तुर हो ।’

विकसित देशमा बुढेसकालको सुरक्षा र सेवा राज्यले गर्दछ । हाम्रो राज्यले त एउटा फुटपाथ पनि सग्लो दिन सकेन । जुन देशको फुटपाथ सुविधाजनक छैन ,  त्यस मुलुकमा राज्यले वृद्ध-वृद्धा र बालबालिकालाई सम्मान र सुरक्षा देला भनेर नसोचे हुन्छ । परन्तु अर्को उपाय पनि त छैन । जति नै काँढा उम्रेको भए तापनि हाम्रो आमाको काख यही हो ।