विषय परिचय

गोविन्दराज भट्टराई ( २०१०) नेपाली साहित्यका प्रख्यात व्यक्तित्व हुन् । लामो समय प्राध्यापन पेसनमा आबद्ध भट्टराईको नेपाली साहित्यको क्षेत्रमा विशिष्ट पहिचान बनेको छ । सिर्जना तथा समालोचनालाई एकैसाथ अघि बढाउन तल्लीन भट्टराईको सिद्धान्त र समालोचनाका निकै महत्त्वपूर्ण कृति प्रकाशित छन् । निकै उत्कृष्ट उपन्यास लेखनबाट लोकप्रिय उपन्यासकार व्यक्तित्वका रूपमा चिनिएका भट्टराईको मुग्लान (२०३१), मणिपुरको चिठ्ठी (२०३४), सुकरातका पाइला (२०६३) र सुकरातको डायरी (२०६८) प्रकाशित छन् । उनको उपन्यासले समाजमा भएका समसामयिक विषयलाई उठाएर त्यसको परिणति समेत देखाउन सक्षम छ । उनको उपन्यासभित्र तत्कालीन समाजको प्रतिनिधित्व गर्दै बौद्धिक पात्रको मनोदशाको चित्रण गरिएको हुन्छ । यस आलेखमा उनको सुकरातको पाइला उपन्यासमा प्रयुक्त बौद्धिक पात्रद्वारा प्रस्तुत गरिएको मृत्यु चिन्तनलाई विश्लेषण गरिएको छ ।

सुकरातका पाइला (२०६३) उपन्यास दश वर्षे जनयुद्धको समयमा नेपालको परिवेशमा घटेका घटना र त्यसले जनजीवनमा प्रत्यक्ष रूपमा पारेको समस्यालाई लिएर लेखिएको उपन्यास हो । यसले त्यस समयको अनिश्चित, अन्योलपूर्ण अवस्थाका साथै युवाले भोगेको मनोदशालाई छर्लङ्ग पारेको छ । मानिस कसरी परिस्थितिको दास बन्दछ र त्यसको परिणति बाध्यकारी मृत्यु भोग्न विवश छ भन्ने यथार्थलाई उपन्यासले प्रस्टीकरण गरेको छ ।  गुरु सुकरात र चेला अनन्तको जीवन मृत्युका चिन्तन, परिवेश, परिस्थिति र परिणतिलाई उपन्यासमा चित्रण गरिएको छ । यस आलेखमा सुकरातका पाइला उपन्यासमा प्रस्तुत भएका मृत्यु चिन्तनको  विश्लेषण गरिएको छ ।

० ० ०

मृत्युसम्बन्धी अवधारणा

मानिसको जन्मपछि काल क्रमअनुसार उसको मृत्यु हुन्छ र यो सृष्टि चक्रको नियमित प्रक्रिया हो । तर मृत्युको सहजतालाई सामयिक, असहजमा भवितव्य, दुर्घटना वा आत्महत्यालाई असामयिक मृत्यु मानिएको छ । मृत्युका बोरमा विभिन्न वाङ्मय, साहित्य तथा कोशको परिभाषा यसरी प्रस्तुत भएको देखिन्छ :

नेपाली शब्द सागर र नेपाली बृहत् शब्दकोशमा मृत्यु भन्नाले मरण, निधन, स्वर्गवास, देहान्त, देहावसान, यमराज, काल, ब्रह्मा, विष्णु, माया, कलि, कामदेव, आदि भनिएको छ ।

श्रीमदभागवद् गीतामा पनि मृत्युलाई स्वाभाविक प्रक्रियाका रूपमा यसरी वर्णन गरिएको छ :

जातस्य हि ध्रुवो मृत्युध्रुवं जन्म मृतस्य च ॥(गीता २।२७।)

जन्म-मृत्युको प्रक्रियाबाट कोही छोडिन सक्दैन । जन्मेपछि अवश्य मर्नुपर्दछ ।

पूर्वीय दर्शन वाङ्मयले शरीरलाई दुई प्रकारले छुट्याएको छ । भौतिक र अभौतिक । भौतिक वा स्थूल शरीरलाई बिसाउनु वा फेर्नु मृत्यु मानिन्छ भने अभौतिक वा सूक्ष्म शरीरका रूपमा आत्मा रहको छ जसलाई अमर वस्तुको रूपमा मानिएको छ ।

मानिसको स्थूल शरीरभित्र रहेको ईश्वर तत्त्वलाई आत्मा भनिन्छ, आत्मा मानिन्छ ।  यो द्रष्टा हो, सबैको अन्तर्यामी भएर शरीरभित्र रहन्छ ।

येष आत्मेति होवाचैतदमृतमभयमेतद्ब्रम्हेति ।(छान्दोग्योपािषद)

यो जो स्वयं प्रकाशका रूपमा सबै प्राणीको शरीरमा स्फुरित भइरहन्छ । यो निर्विकार भएर कर्ता भोक्ता बन्दछ । त्यसैले मानिसको शरीर भित्रको सूक्ष्म जीवतत्त्व आत्मा हो । यो जन्म र मृत्युको चक्रबाट परिचालित छ ।

मृत्योःस मृत्युमाप्नोति य इह नानेव पश्यति (कठोपनिषद)

जीवित शरीरभित्र ईश्वर छ, जब शरीर वा देह ढल्दछ आत्मा सूक्ष्म रूपमा निस्केर र पुनः जीवनको शरीर प्रवेश गर्दछ । आत्माको शरीरभित्र पस्ने र निस्कने एउटा निश्चित प्रक्रिया र गति छ त्यसलाई सामयिक वा काल गति भनिन्छ । काल गति वा सामयिक प्रक्रियाबाट देह ढल्नु वा मृत्युमा प्राप्त हुँदा आत्मा सजिलै उन्मुक्ति हुन्छ वा मोक्षको मार्गमा जान्छ भन्ने विश्वास छ ।

अकाल वा असामयिक मृत्यु भएकाहरू प्रेतात्मा भएर विभिन्न रूप लिएर अदृश्य स्वरूपमा भड्किरहन्छन् भन्ने प्राचीन मान्यता अझै समाजमा विद्यमान छ । जसलाई गरुड पुराणमा यसरी बताइएको छ :

उत्कचं मलिनं कुब्जं निर्मसिं भीमदर्शनम्

अथ प्रेतं ददर्शासौक्षृत्तृड्म्या व्याकुलेन्द्रियम (गरुड पुराण ७/२०)

भोक र प्यासले व्याकुल इन्द्रिय भएको जीर्ण दुर्गन्धित कुब्ज अस्थिपञ्जर मात्र भएको प्रेतरूप राजाको सामुन्ने देखियो ।
त्यसैले मृत्युलाई सहज र असहज गरी दुई प्रकारमा बाँडिन्छ । मृत्युको प्रक्रिया सहज हुँदा कुनै समस्या हुँदैन तर असहज मृत्यु हुँदा त्यसबाट उत्पन्न परिस्थिति फरक हुन्छ ।

जीवनलाई बोध गर्न वा बुझ्न मृत्युलाई बुझ्नुपर्छ, जान्नुपर्छ । मृत्यु स्वतः प्राप्त हुने प्रक्रिया हो, मृत्युका बारेमा हाम्रा धर्मशास्त्र तथा वैदिक साहित्यमा चर्चा परिचर्चा भएका छन्  । महाभारत उद्योग पर्वमा सनतकुमारले मृत्युसम्बन्धी यस्तो दर्शन प्रस्तुत गरेका छन् : त्यो ज्ञानले मृत्यु भयबाट मुक्ति प्रदान गर्दछ । अतः मृत्युसम्बन्धी समग्र ज्ञानको अन्वेषण आवश्यक छ, अर्थात् मृत्यु के हो भन्नेबारे वैज्ञानिक र दार्शनिक ज्ञानको स्थापना हुनुपर्छ । मानिसमा सबैभन्दा ठुलो डर नै मृत्युको हुन्छ । मरुँला भन्ने चिन्ताले मानिस सदैव छटपटाई रहन्छ । त्यसैले मृत्युबारे छलफल गर्न मानिस डराउँछन्, यद्यपि यो भूमण्डलमा जन्मेका जति प्राणी छन् तिनको जीवनको अन्त्य अनिवार्य छ । मानव शरीरमा  हुने पाटपुर्जाले काम नगर्नु ‐भौतिक पक्ष) एक किसिमको चेतना र जीवतत्त्वको ‐चेतन पक्ष) अन्त्यलाई मृत्यु भनिन्छ तर कतिपयको चेतनाले काम गर्दागर्दै जीवतत्त्वमा रोगव्याधीले नाश पारेपछि मृत्यु स्वतः स्विकार्नु पर्छ । धेरैजसो मृत्युमा शरीररूपी पदार्थ र चेतनाको अन्त्य समान किसिमले मानिए पनि मानवमा भएको चेतना कसरी उड्छ भन्नेबारे विज्ञान तथा वैज्ञानिक  खोज तथा अनुसन्धानले पनि  निश्चित उत्तर दिन सकेको छैन । त्यसैले हरेक धर्म जात, सम्प्रदाय वर्णमा अन्तिम अवस्थामा ईश्वरप्रतिको चिन्तन पाइन्छ ।

यो संसारको सृष्टि, जीवनजगतकाे बारेमा सबैको व्याख्या विश्लेषण गर्न सक्ने शास्त्र वेद नै हो । वेद धर्मको मूल हो, आत्मा विश्वको मूल हो, शरीर धर्म साधना गर्ने मूल आधार हो । शरीर भए मात्र धर्म साधना हुन्छ । भौतिकवादीले शरीरलाई मुख्य आधार मानेका छन् भने अझ शरीरको उपयोगिता नै मूल विषय सम्झेका छन् । जब शरीर उपयोगविहीन हुन्छ त्यसको कुनै महत्त्व रहँदैन । त्यसैले होला अहिले भौतिकवादको विकासले चरम उत्कर्षमा पुगेका मुलुकले वस्तुको उपयोगजस्तै आफ्ना आफन्तको देहलाई मात्र सम्झेका हुन्छन् । देहसँग आत्माको सम्बन्ध भनेको चेतना र पदार्थ भने जस्तै हो भनिन्छ ।

शरीरकाे उपयोगिता सकिएपछि विसर्जनको बाटोमा लाग्नु त प्राकृतिक नियम हो । जुनसुकै वस्तु होस् वा शरीरको समाप्ति वा विसर्जन हुन्छ, त्यो निश्चित छ । तर अध्यात्मवादीका धारणामा देहको विसर्जनमा केही फरक छ । पशु प्राणी र  मानवको निधन एकै  होइन भनेर नै संस्कारको चलन चलेको हो । भौतिक शरीरको अन्त्यका हिसाबले उस्तै हो तर आत्मिक सम्बन्धका हिसाबले  फरक छ । भौतिकवादीहरू वस्तुको उपयोगमा विश्वास राख्छन् जसरी वस्तुको उपयोगिता सकिन्छ त्यसरी नै पिता-माताको उपयोग सकिएपछि उनलाई आफूभन्दा अलग पुर्‍याउने वृद्धाश्रम बनाउने वा आफू टाढा हुने चलन सम्पन्न देशको संस्कृतिले देखाएको छ । अझ कतिपय भौतिक सम्पन्न मुलुकमा त छोराछोरी अठार वर्ष पुगेपछि बाबुआमाबाट अनिवार्य छुट्ट्याएर राख्नुपर्ने नियममै छ भने अर्कातिर बाबुआमा पनि लामो समयसम्म सँगै बस्ने अवस्थामा हुँदैन । ‐उनीहरू बिचको सम्बन्ध पनि विच्छेद गरी छोराछोरी र प्रौढ बाबुआमाका बिचको नाता नै विलीन हुने सम्भावना हुन्छ ।) यसरी भौतिकवादी जीवन दर्शनमा आमाबाबुप्रति श्रद्धाञ्जली, स्मृति र शोक बार्ने चलन कमै छ । भौतिकवादमा शरीर नै मुख्य भएपछि आत्माको अमरत्वलाई प्रधानता दिँदैनन् । यही नै हो, अध्यात्मवादी र भौतिकवादी जीवनदर्शन बिचको फरक र संस्कारगत भिन्नता पनि ।

समग्र पूर्वीय दर्शन र उपनिषद्मा मृत्युबारे प्रशस्त चर्चा भएका छन् । परलोक र पुनर्जन्मको अवधारणा त्यो छलफलबाट निस्केको निष्कर्ष नै जीवनको अमरत्व प्राप्ति हो । जीवन मुक्तिको वेदान्त अवधारणा त्यस्तै अर्को निष्कर्ष हो । आत्माको अमरत्व पनि मृत्यु चिन्तनबाट निस्केको निष्कर्ष हो । शरीरको अन्त्य हुनु शरीरको मृत्यु हो आत्मा त अमर तत्त्व हो । शरीरको जीर्णता र  वृद्धत्वसँगै भएको मृत्युलाई नै मृत्यु भनी स्वीकार गर्न हिन्दु विज्ञानले चाहेको छैन र मान्दैन ।
देह र आत्माको स्वरूपको चर्चासँगै आत्मा र प्रेतात्माको चर्चा पनि गरिएको छ । सहज मृत्यु र असहज मृत्यु, मोक्ष र प्रेतयोनी जस्ता प्रसङ्गको उदाहरण पुराणहरूमा पाइन्छ । आत्महत्याको चर्चा पनि विभिन्न शास्त्रहरूमा लेखिएका छन् ।अतृप्त आत्मा प्रेतात्मा, किचकन्नी, भूत, प्रेत, पिशाच, काँचो वायु जस्ता असहज मृत्युबाट भएका प्रेतात्माको कुरा गरिएको हुन्छ । मृत्युका बारेमा श्रीमद्भगवद् गीतामा श्रीकृष्णले अर्जुनलाई जन्म हुनेको मृत्यु र मृत्यु हुनेको पुनर्जन्म  निश्चित छ भनी सम्झाएका छन् । वास्तवमा मृत्यु भनेको पनि यस्तै रहेछ ।

न जायते म्रियते वा कदाचिन्नायंभूत्वा भविता वा न भूय : ।
अजो नित्यः शाश्वतोयं पुराणो न हन्यते हन्यमाने शरीरे ॥ २। २०॥

वासांसि जीर्णानी यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ॥२.२२॥

जीवविज्ञानलाई विश्वास गर्ने हो भने मानव शरीरको अन्त्य हुन्छ, त्यसका वंशाणुगत अंशहरू उनका छोरा-छोरी र तिनका पनि सन्तान दर सन्तानमा जीवित हुन्छन् । पूर्वीय समाजमा उसको कर्म र सन्ततिको चर्चा गरिन्छ ।  पश्चिमी संस्कारमा जब कुनै व्यक्तिको मृत्यु हुन्छ, त्यस बेला तिनका छोरा-छोरीको सङ्ख्या गनेर सबैका माध्यममा ती दिवङ्गत व्यक्ति जीवित छन् भन्ने धारणा प्रकट गरिन्छ ।

संसारमा पुनर्जन्मका बारेमा निकै खोज र चासो देखिन्छ । समय-समयमा पत्र-पत्रिका र अन्य सञ्चार माध्यमद्वारा पूर्व जन्म र पुनर्जन्मका बारे चर्चा गरिएको हुन्छ । के मृत्युपछि पुनर्जन्म हुन्छ त ? पूर्वीय धर्मशास्त्रले त वनस्पति र हरेक जीवजन्तुको पनि पुनर्जन्म हुन्छ भन्छ । के यी कुरा सत्य हुन् ? प्रमाणित हुन सक्लान् ? हरेक जीवजन्तुको पुनर्जन्म हुन्छ, यस बारे स्पष्ट खोज अनुसन्धान गरिनुपर्छ ।

बौद्ध दर्शनमा मृत्यु चिन्तनलाई यसरी प्रस्तुत गरिएको छ,  जीवन अनित्य छ । यस विषयमा बुद्धका चार आर्य सत्यमा भन्दछन्: हे भिक्षुहरू दुख प्रथम आर्य सत्य हो, जन्म पनि दुख हो, वृद्धावस्था, मृत्यु, शोक वेदना यी सबै दुख हुन् । तर मृत्यु आफैँमा खराब होइन, यो अनिवार्य सर्त हो । चार्वाकले आत्मा मान्दैनन् नाशवान् शरीर हो समय आएपछि जान्छ भन्छन् । जैन दर्शनले मृत्युका विषयमा वैज्ञानिक धारणा राखेको छ । हामीले मृत्युका बारे दुख मान्नु पर्ने कुनै कारण छैन, यो शाश्वत नियम हो । यसलाई नकारात्मक धारणाले हेर्नुको औचित्य पनि छैन । त्यसैले हामी जसरी जन्मलाई मङ्गलका रूपमा लिन्छौँ मृत्युलाई पनि त्यसरी नै लिनुपर्दछ । गरुड पुराणमा मृत्युका बारे मनुष्यको अन्त्येष्टि विधान र पुनर्जन्मको प्रक्रियाको उल्लेख गरिएको छ । सुकरातले परलोक र पुनर्जन्मलाई विश्वास गरेका छन् ।

यसरी हेर्दा विभिन्न धर्म, दर्शन तथा विचारले आत्माको अमरत्वलाई स्वीकारेको छ । मृत्यु दर्शनले सभ्य मानिसलाई अनादि कालदेखि घच्घच्याउँदै ल्याएको छ । कृष्ण यजुर्वेद र कठोपनिषद्का मूल विषयवस्तु आफ्नै प्रकारले र चिन्तनका आधारमा मृत्युबारे गरिएको मानव इतिहासको पहिलो अभिलिखित ग्रन्थ हो । नचिकेता र यमराजबिच मृत्युबारे लामो छलफल चल्दा विद्या र अविद्या, विज्ञान र ज्ञान, सम्भूति र असमभूति, अस्तित्व र अनस्तित्व, कल्याण र करुणा तथा इहलोक र परलोक आदिको कुराकानी भएको थियो ।

त्यसै गरी अन्य विद्वान्ले मृत्युका बारेमा आआफ्ना दृष्टिकोण राखेका छन् । किर्केगार्डले अस्तित्व र वरणअन्तर्गत मृत्यु सम्बन्धमा चर्चा गरेका छन् । उनले धर्म र दर्शनको उद्भव नै मृत्युको ‐भय) बाट भएको हो भनेका छन् । किर्केगार्डले आफ्नो दर्शनलाई विषयनिष्ठ (objective) र विषयीनिष्ठ (subjective) चिन्तनबाट विश्लेषण गरेका छन् । त्यसमा पनि उनको चिन्तन मूलतः विषयनिष्ठ अथवा आत्मपरक दृष्टिकोणलाई उनले बढी रूचाएका छन् । त्यसैले उनी भन्छन् मृत्युको अर्थ आत्मपरक सत्य हो ।

त्यसकारण यसलाई आत्मपरक रूपले मात्र राम्रोसँग बुझ्न सकिन्छ । तर धेरै मानिसले मृत्युलाई वस्तुगत रूपले मात्र बुझ्दछन्  । उनका विचारमा हाम्रो शारीरिक जीवन केवल मृत्युको सततः स्थगन (postponement) मात्र हो । औसत व्यक्तिमा मृत्युचेतना (Death awareness) रहेको पाइँदैन तर मृत्यु चिन्तन भने रहेको पाइन्छ । किर्केगार्डका विचारमा युवा अवस्थामा हामीमा मृत्युसम्बन्धी कुनै ज्ञान हुँदैन, यद्यपि मृत्यु हामीसँगै साथ रहेको हुन्छ । उनले आफ्नो मृत्युसम्बन्धी विचारमा आत्माको अमर अवधारणालाई स्वीकार गरेका छन् । उनले अमरतामा विश्वास मानव जातिको डरलाग्दो मृत्यु भयको प्रतीक हो भनेका छन् । किर्केगार्डको विश्वास छ कि मृत्युको आत्मपरक सत्यलाई बुझ्नका लागि आन्तरिकता (inwardness)को आवश्यकता हुन्छ ।

हाइडेगरले मृत्युको अनुमति प्रायः सबै अस्तित्ववादी चिन्तकले जीवनको मृत्यु विषयलाई अस्तित्वपरक आधारमा व्याख्या र विश्लेषण गर्ने प्रयत्न गरेका छन् । तिनमा पनि हाइडेगरको मृत्यु चिन्तन बढी गहन, व्यापक र अस्तित्वपरक छ । उनले आफूलाई अस्तित्ववादी चिन्तकका रूपमा चिनाउन चाहेका छैनन् । तर पनि उनको दर्शन अस्तित्ववादी विचारबाट अभिप्रेरित छ । अस्तित्ववादी दर्शनमा मृत्यु चिन्तनका विषयमा चर्चा गर्दा हाइडेगरले मृत्युको अनुभूतिलाई बढी महत्त्व दिएका छन् । उनका अनुसार मृत्यु निश्चित भविष्य हो । उनका विचारमा मानव अस्तित्वको भविष्यका सम्बन्धमा यदि कुनै पूर्णता छ भने त्यो केवल मृत्यु नै अनिवार्य सर्त  हो । जीवनको क्रम यसरी नै चलेको छ ।

निवृत्त रागस्य गृहं तपोवनम्

निवृत्त भएपछि वैराग्य आउँछ त्यसपछि घर पनि वनजस्तै हुन्छ ।

तृष्णा नजीर्णा वयमेव जीर्णा

यो प्राकृतिक स्वभाव नै हो; बूढो भएपछि संसार छाड्नै पर्छ, सम्पूर्ण तृष्णालाई त्यागेर जानुपर्छ । मृत्युको यो अनुभूति सृष्टिको प्रारम्भदेखि अनादि कालसम्म रहिरहनेछ । सामान्यतया मानिसका विचारमा मृत्यु एउटा निराशाजनक विषय हो र भरसक यसलाई पन्छाउन चाहन्छ । तर कुनै सर्तमा पनि काल पन्छिँदैन, निसर्त यसलाई स्विकार्नु पर्छ अर्को विकल्प छैन र हुँदैन  पनि । मृत्युलाई विभिन्न शब्दले यसरी भनिन्छ: निधन हुनु, देहावसान हुनु, मर्नु, स्वर्गे हुनु, परलोक जानु, चोला बदल्नु, देह त्याग्नु, मुक्त हुनु, आँखा चिम्लनु, जिब्रो टोक्नु, खुत्रुक्क हुनु, मास छर्न जानु, खस्नु, खुट्टा तान्नु, चोला बदल्नु, सिलटिमुर खानु, दिन सकिनु, लम्पसार पर्नु, भोगभाग सकिनु, कालले लैजानु, दैवले लैजानु, प्राण त्याग्नु, हावा खानु, ज्यान जानु, सास फेर्न बिर्सनु, माथि जानु, परमधाम जानु, बैकुण्ठबास हुनु, दिवङ्गत हुनु, ब्रह्मलीन हुनु, चिर निद्रामा जानु जस्ता शब्द नेपाली जनजीवनमा बोलिने मृत्युसम्बन्धी लोक बोली हुन् ।

नेपाली जनजीवनमा मृत्यु भनेको ठुलो त्रासदीभित्र लुकेको विषय हो । यो कालले जसरी भोकले खरिएको सर्पले मुसालाई भेट्दा एक गाँस पार्छ त्यसै गरी प्राणी जतिलाई पनि कालले समाप्त पार्छ । काल भनेको समय हो । दिन र रातजस्तै त्यसैले जन्म र मृत्यु भनेका सिक्काका दुई पाटा हुन् । यो सामान्य प्रक्रिया नै हो सामयिक मान्दा शरीरबाट विधिगत प्रक्रियामा मृत्यु हुन्छ तर असामान्य प्रक्रिया, आत्महत्या, दुर्घटना तथा भवितव्यबाट मृत्यु हुँदा भने त्यो मोक्षका लागि भड्किरहन्छ, प्रेत बन्छ भन्ने लोक विश्वास पनि छ । यसरी असामयिक वा भवितव्यबाट भवितव्यबाट मृत्युवरण गरेकाहरू प्रेतात्मा बन्दछन् ।

तर प्रेतात्माका बारेमा भन्नुपर्दा असामयिक मृत्यु वा दुर्घटनाबाट मृत्यु हुँदा प्रक्रियामा त्रुटि हुन्छ र आत्माले आफ्नो सही मार्ग समात्न सक्दैन एउटा जीवको शरीरबाट त निस्कन्छ तर त्यसको गतिमा रोकावट हुने हुनाले त्यो प्रेतात्मा वा दुष्टात्मा भएर अदृश्य वायु रूपमा यत्रतत्र घुम्दछ भन्ने मान्यता समाजमा आज पनि विद्यमान छ ।

यसरी सहज वा असहज, सामयिक वा असामयिक, काल गति वा आत्महत्या तथा स्थूल र सूक्ष्म शरीरको मृत्युका बारेमा गरिएका गहन चिन्तन वा धारणालाई आधार मानेर गोविन्दराज भट्टराईको सुकरातको डायरी उपन्यासमा प्रयुक्त मृत्यु चिन्तनलाई यहाँ प्रस्तुत गरिएको छ ।

० ० ०

सुकरातको डायरी उपन्यासमा मृत्युचिन्तन

नेपालको एक प्रतिनिधि गाउँ नर्फोकबाट आफ्नो सुन्दर भविष्य निर्माणको सपना बोकेर राजधानी उर्फ काठमाडौँ पसेको पात्र अनन्तको परिवृत्तमा लेखिएको यस उपन्यासमा मातृभूमिको सुन्दरताको वर्णन र बाल्यकालमा बिताएका सुखद घटनासँगै प्रेमिका पूर्णिमासँगको बिछोडबाट कथानक सुरु भएको छ ।

सुन्दर भविष्य निर्माणका लागि अघि बढ्ने क्रममा अन्योलग्रस्त मनोदशा र भोलिका चिन्ताका कारण भयानक डरलाग्दो मृत्यु भयलाई उपन्यासमा यसरी प्रस्तुत गरिएको छ :

ऊ त्यसै गरी निसास्सिएर उकालै उकालो कुदिरहेको थियो । माथिमाथि पातलपारिदेखि ठूलाठूला आवाजहरू आउन थाले । हजार वटा बिजुलीले आकाश चिरे, हजार वटा वज्र एकै चोटि खस्न थाले । सारा नर्फोक थर्र थर्र काम्यो । … कोही चिच्याएजस्तो पनि । कसरी त्यो डाँडापारिबाट त्यति टाढाको यो चित्कार र रोदन क्रन्दन यहाँसम्म आयो होला ? ऊ सम्झन खोजिरहेको थियो । तर यो भयावह परिस्थितिले गर्दा ऊ झसङ्ग भएर ब्युँझियो (पृ.६)।

यसरी गाउँबाट सहर जाने सपनाको अनिश्चित परिणामको भयबाट ग्रस्त मनस्थितिबाट यस प्रकारको सपना देखिएकोले यहाँ मृत्यु भयको सपना देखिएको छ ।  अनन्तभित्र एक प्रकारको डर रहेको यस सपनाबाट प्रस्ट भएको छ ।
अनन्त गाउँ छोडेर सुन्दर भविष्यको सपना बोकेर सहर पस्ने निधो भइसके पछि बिछोड वा वियोगले तर्सिएकी पूर्णिमामा पनि त्यस्तै डरलाग्दो सपनाको पुनरावृत्ति भएको छ जुन उपन्यासमा यसरी वर्णन गरिएको छ :

आज पनि एउटा डरलाग्दो सपना देखेँ । म यही ढुङ्गामाथि थिएँ जगर बगर ढाकेर काली खोलामा बाढी आयो । ढुङ्गा-मुढा, काठ-पात बगिरहेका थिए । कालो लेदो पतपताइरहेको थियो र पारि तर्छु भनेर तिमी तल ओर्लियौ । म भन्दै थिए-त्यो साँघुबाट तरौँ अनन्त, म पनि सँगै आउँला । तर तिमीले सुनेनौ, त्यो कालो निलो असमेल नदीमा पस्यौ । तिम्रो घाँटीसम्म पानीले छोपिसकेको थियो…(पृ.९)।

यसरी बिछोड पछि भेट हुँदैन र एक्ला एक्लै तड्पिनु पर्छ भन्ने मनोदशाबाट ग्रस्त पूर्णिमाले पनि मृत्यु भएको सपना देखेकी छन् ।

गाउँबाट सुन्दर सपना बोकेर नाइट बसको यात्रामा पनि अनन्त मृत्यु भयबाट उम्कन सकेको छैन, ऊ भित्रको कमजोरी मनोबल र मृत्यु चिन्तनले ऊ निकै डराएको छ । बसको सिटमा हुँदा पनि उसलाई मृत्युको निकै डर लागिरहन्छ । ‘त्यति बेला ऊ मनमनै डराउँथ्यो – यस्तो तीव्र गतिमा चल्दा गाडी कतै ठोकिने हो कि, कतै खस्ने हो कि ? फेरि ऊ निदाइरह्यो, रातभरि निदाइरह्यो’ (पृ.११)।

सहरमा रहँदा बस्दा गाउँको सम्झनासँगै देशका विभिन्न भेगमा भएका भयावह समाचारबाट ऊ भित्र परिवारको बिछोडको डरसँगै मृत्युको पिडाले निकै बिथोलिरहेको थियो  । आफ्नो अनिश्चित भविष्य र युद्धको अभिघातले उसको जीवनप्रति वितृष्णा जन्माइरहेको प्रसङ्गलाई यसरी अभिव्यक्त गरिएको छ :

मानिसलाई बिस्तारै रेटिएका, परिवारको सामुन्नेमा टुक्रा टुक्रा पारेर छिनालिएका, रुखमा झुन्डाइएका, बन्दुकले उडाइदिएका, गाउँनिकाला गरिएका, आवतजावत अवरुद्ध गरिएका, लुटपाटका, चन्दाका, भयसिर्जनाका, आगलागीका, आतङ्कका विध्वंसका समाचार दिनदिनै आउँथे । देशका समाचारले अनन्त भित्रभित्रै भत्किन्थ्यो । मानवता भत्किरहेको देखेर ऊ दुखित हुन्थ्यो (पृ.२७) ।

युद्धमा भएका हत्या हिंसाबाट आघात परेर अनन्त बिस्तारै निराशातिर लागेको कुरालाई माथिको परिवेशबाट बुझ्न सकिन्छ ।  आफ्नै मुलुकभित्र आफ्ना आफन्त र स्वजन तथा  आम मान्छेहरू मारिएका र काटिएर घटनाबाट आम मान्छे त्यसप्रति वितृष्णा जागेको अवस्थालाई उपन्यासमा वर्णन गर्दै मानवता भत्केको चित्रण यहाँ गरिएको छ ।

आफ्ना इच्छा, रहर वा आकाङ्क्षा पूरा गर्ने अनगिन्ती बाटो र सम्भावना खोज्दा खोज्दै कुनै लक्ष्य वा गन्तव्य देख्न नसकेको अवस्थामा अनन्तमा काठमाडौँ अँध्यारो मात्र लाग्दछ । निरसताको चरम बिन्दुमा गुग्नै आँटेको अनन्त भित्र सहर काल कोठरीको आभास हुन थाल्दछ यहाँ कुनै सम्भावना नदेखी  ऊ काठमाडौँलाई अँध्यारो अनुभूत गर्न पुग्दछ :

त्यो काठमाडौँ अँध्यारो थियो बादलले ढाकिएको औँसीको रातजस्तै । उसले त्यहाँ पुगेपछि कसैले समातेर कुनै बाटो देखाइदेला जस्तो ठानेको थियो तर काठमाडौँ निकास बन्द कोठाभित्र सुताउँथ्यो, झोक्राउँथ्यो, उम्लिन्थ्यो, पोखिन्थ्यो । त्यसले व्यक्तिलाई चिन्दैनथ्यो, सभ्यताको लय पक्रेर दिनदिनै त्यो नौलो हुँदै थियो । देशबाहिरका पीडाको भाषा यसले बुझ्दैनथ्यो । त्यहाँ सबै कुरा थियो, तर एउटै कुरा थिएन -त्यो हो , समवेदना(पृ.३३) ।

यसरी बिस्तारै बिस्तारै जीवनप्रतिको वितृष्णा र निराशताले ऊ मृत्युपट्टि नजिकिँदै गइरहेको चिन्तन यहाँ प्रस्तुत भएको छ । देशभित्रको हत्या, हिंसा र काटमारको बिचमा राजदरबार हत्याकाण्डमा राजपरिवारको दुखद अन्त्यले झन् निराशाहरू बढ्दै गइरहेका थिए । अनेक शङ्का उपशङ्का भ्रमभित्रको भ्रमबिच रहेको त्यस घटनाबाट उत्पन्न परिस्थितिलाई मृत्यु चेतनाबाट यसरी हेरिन्छ :

आखिर कोही पनि मृत्युभन्दा माथि छैन । हाम्रा मृत्युपछि भए पनि सबै कुरा उजागर हुने नै छन् । हिजो संसारमा भएका सारा घटना र दुर्घटनापछिका षड्यन्त्रहरू एक दिन उजागर भएकै छन् । हाम्रो देशको इतिहास पनि यस्ता अनेकौँ राता टाटाले बनेको छ । तर हामी कति निरीह छौं ! हामी कुनै सत्यलाई कतैबाट पनि हेर्न नपाइ कसरी छेलिएका हुन्छौँ (पृ.६१)। 

यसरी अनायासै घटेको दरबार हत्याकाण्ड कसले किन गर्यो भन्ने अनुत्तरित प्रश्नका बिच मृत्यु र निरीह मान्छेको अवस्थाको चित्रणद्वारा मृत्युको भिन्न अवस्थाको चित्रण गरिएको छ । अनन्तमा झन् निरसता जगाउन यसले काम गरेको देखिन्छ ।

आफ्नो निस्सारताबोध जीवनका मार्गदर्शनका लागि प्रोफेसर सुकरातसँगको भलाकुसारीमा मृत्युका बारेमा सुकरात यसरी प्रस्तुत भएका छन् :

सृष्टिको आँखामा, ईश्वरको आँखामा प्रकृतिको आँखामा । सबैको शिरमा मृत्यु समान छ भने सबैका मानवीय इच्छा, आकाङ्क्षा र संवेगहरू उस्तै छन् भने को हुनसक्छ मलाई आदेश गर्ने ? मलाई लाग्छ त्यो व्यक्ति त्यही मात्र हुन सक्छ जसले यो क्षणभङ्गुर जीवनमा बर्बर शक्ति सञ्चय गर्न सक्यो, त्रासको खेती गर्न सक्यो बिनाकारण मैले भनेको आदेश तैँले पालना गर्नै पर्छ भन्यो । त्यस्ता शठताको उत्तर छैन, मूढताको दबाई छैन । तर पनि स्वतन्त्र अस्तित्वको रूपमा व्यक्तिले हार्नु हुँदैन, कसैसित हार्नुपर्ने कारण छैन (पृ.६३) ।

सबैका लागि मृत्यु समान भएकाले कोहीले पनि मृत्युसँग जित्दैन र हार्न पनि सक्दैन भन्ने समन्वयपूर्ण चिन्तन यहाँ आएको छ ।

देशभित्र भइरहेको आन्तरिक द्वन्द्व र त्यसको परिणाम स्वरूप भइरहेका मृत्युका अनकन घटना मध्ये पूर्वी पहाडमा घटेको मृत्यु लीलाको चित्रण उपन्यासमा यसरी आएको छ । हृदय विदारक यस घटनामा  ‘एउटी अर्धमृत आमा दैलोको सङ्घारमा लडेकी थिइन् उठाउने कोही थिएनन्, बालक दूध चुसिरहेको थियो । लासहरू यत्रतत्र थिए । सडकहरू रक्ताम्मे थिए । मरिसकेकाहरू सोतर भएर लडेका थिए । मर्न बाँकीहरू छटपटाइरहेका थिए । बमले उडेका घरहरू छाना बेगरका

पर्खाल मात्रै अडिएका थिए । कति दनदनाइरहेका थिए कति धुवाइरहेका’ पृ.६७ ।

यसरी द्वन्द्वमा चपेटामा परेका आम नागरिकको भयावह अवस्थालाई चित्रण गर्दै आफ्नो जन्मेको ठाउँ छोडी भाग्नु परेको र बाँच्नका लागि गरिएका प्रयत्नको अवस्था यसरी देखाइएको छ । मृत्युको भयबाट टाढिन, बाँच्नका लागि पनि निकै कठिन परिस्थिति भएकाले बरु विदेश गएर दुई छाकको जोरजाम गर्न सकिएला कि भन्ने मनस्थिति बनाएको अनन्तले प्रोफेसर सुकरातसँग बिदेसिन चाहेको कुरा यसरी व्यक्त गरेको छ :

म आफूलाई विवश युवक ठान्दछु । तपाईंको कतै सम्पर्क भए भनसुन गरिदिनु पर्‍यो । म संसारमा भएका निकृष्टतम पेसा रोज्न तयार छु ।  यो रगतमा लटपटिएको सधैँ भय र त्रासले निलेको भूमिमा भन्दा अन्यत्र कतै गएर निर्भय बाँच्न चाहन्छु, बरु कतै स्वतन्त्र भएर मर्न तयार छु । यहाँ न जीवन आफ्नो  हातमा छ न मृत्यु । मेरो गाउँमा सिपाहीका स्वास्नीहरू काटिए, आर्मीका आमाहरू घर निकाला भए, मिलिसियामा लाग्न हिँडेका युवतीहरू बास बसेकै ठाउँमा मारिए, विद्यालय हिँडेका नानीहरू अपहृत भए…अब जीवन पनि मृत्यु सरह छ त्यसैले म यो देश छोड्न चाहन्छु (पृ.७५) ।

यसरी देशको विकराल अवस्था र मृत्युको डरले अनन्त बिदेसिन चाहेको कुरालाई प्रस्तुत गरिएको छ । अनेकौँ सम्भावना बिच पनि कुनै अवसर नपाए पछि बाँच्नका लागि गरिने अनेकाैँ प्रयत्नमध्ये अनन्तमा मर्नु भन्दा बहुलाउनु निको भन्ने लोकोक्तिको प्रयोग गर्ने चाहना देखिएकाले ऊ मिलिसिया बन्न चाहेको प्रसङ्ग उपन्यासमा यसरी आएको छ :

अब म धेरै निराश भइसकेँ  । म त्यही गर्न चाहन्छु काका । हातमा बन्दुक लिएपछि म अलिकति शक्तिको साझेदार हुनेछु  अलिकति उन्माद र अन्धतामा चढ्नेछु । बेलाबेला त्रासदी सिर्जेर म अर्को संसारमा प्रवेश गर्न चाहन्छु । म शिक्षामा, संस्कृतिमा, राजनीतिमा आफ्नो प्रतिबिम्ब देख्न चाहन्थेँ । आज त्यतातिर ठ्याम्मै केही देख्न छोडेँ । मर्नुभन्दा बहुलाउनु चाहन्छु । त्यो आत्महत्या भन्दा राम्रो विकल्प हुन्छ कि विक्रम काका ? (पृ.१०२) । 

विक्रम काकासँगको भेटपछिको कुराकानीमा अनन्तले यसरी आफूभित्र देखिएको निराशालाई क्षणिक आशामा बदल्ने कोसिसका रूपमा यो सन्दर्भ आएको देखिन्छ ।

जीवनको सार नदेखिएकाले अब स्वेच्छा मृत्यु उर्फ आत्महत्याको विकल्प केही नरहेकोले मृत्युलाई सहज बनाउन अनकन उदाहरण दिने क्रमसँगै मृत्युको अनेक प्रसङ्गमध्ये यो एक प्रकारको आत्महत्या गर्नु हुँदैन भन्दै जीवन र जगत्मा बाँच्नु पर्ने अनकन उदाहरणमा समन्वयवादी विचारका रूपमा अनन्तले सोधेको जीवन तत्त्व र अस्तित्वमा सुकरातले प्रस्तुत गरेको सन्दर्भ यस्तो छ:

यो तत्त्व विचार हो, किनभने विचार नै जीवन हो, मानिस त्यसैले अडेको छ । एउटा विचार र अर्को बिचमा छनोट गर्ने स्वतन्त्रता भनेको जीवन र जीवनबिचको छनोट हो , मन पर्ने छान र बाँच भन्ने हो । तर आज, मृत्यु र मृत्युबिचमा एउटा छनोट गर्नुपर्ने बाध्यता छ  । तिमी यो सिद्धान्त मन परेन भने तुरुन्तै मर्छौ, मन पर्‍यो भने भन्दा पनि चाँडै मर्छौ । यो चक्र चलिरहन्छ । यसले कहिल्यै जीवन जोगाउँदैन किनभने यसले सधैँ मृत्यु उधिनिरहन्छ (पृ.१४१)।

मर्नु वा आत्महत्या गर्नु समस्याको समाधान होइन बाँच्ने प्रयत्नमा लाग्नुपर्छ । मृत्यु स्वतः प्राप्त हुने कुरो हो त्यसप्रति झुकाव वा चिन्तन गरिराख्नु जरुररत छैन भन्ने सुकरातको विचार यहाँ प्रस्तुत भएको देखिन्छ ।

गाउँबाट विस्थापित भएर सहर पसेका दुई पात्र भक्तमान र चित्राखरको विदेश जाने सपनामा बज्रपात परेपछि साहुको ऋण घरपरिवार सम्झेर मृत्युको विकल्प नभएको भन्नु र अचानक टिभीमा एउटै पासोमा दुई जनाको आत्महत्याको समाचारले अनन्त झन् बिथोलिएको छ । स्वयम्भुको जङ्गलमा देखिएको यो घटना र उनीहरूले गरेका कुराकानीको सन्दर्भलाई स्मरण गराएको छ । मृत्युको अर्को रूप यसरी प्रस्तुत भएको छ :

एउटा ठुलो पिपलको हाँगाबाट तुर्लुङ्ङ झरेको डोरीमा दुई जना झुन्डिएर मरेका थिए । तस्बिरमा हेर्दा तिनीहरूका अनुहार फुलेर निला, नचिनिने भएका थिए । अनन्तले निध्याएर हेर्‍यो, तर चिन्न सकेन । उसलाई अनायासै भक्तमानर चित्राखर बोलेका सम्झना भयो, अब हाम्रो विदेश जाने सपना डढेर खरानी भयो, अब हामी घर फर्किन पनि सक्दैनौँ । दुवै जना एकै ठाउँ पासो लागेर मरे भयो (पृ.१६७) ।

यसरी आत्महत्याको कल्पना गर्दै अघि बढेको अवस्थामा निरस भएको बेला पूर्णिमाको अनायासै देखिएको बीभत्स मृत्युको घटनाले अनन्तमा झन् निस्सारता देखिएको छ र आफूलाई झनझन दुर्बल बनिरहेको अनुभूत गरेको छ :

व्यक्तिदेखि राष्ट्रको दुर्भाग्य चिन्ताले छोपिरहेको बेला पूर्णिमाको बीभत्स मृत्यु भएको दृश्यले गर्दा म मनमनै विक्षिप्त बन्न थालेको छु । जब सुन्छु अब कहिल्यै  हाम्रो भेट हुँदैन, मेरो मुटुमा ठुलो पैरो जान्छ र म लड्न खोज्छु । यो कुसमयमा जन्म भएछ । कुसमयमा बाँचिएछ यति सुन्दर राष्ट्रमा चारैतिर मृत्यु र  निराशा देख्छु, भय र सन्त्रास देख्छु । मानिस उपायहीन  भएको देख्छु  । यसले मलाई पनि मर्ने प्रेरणा दिइरहेको छ किनभने यहाँ जीवनको कुनै अर्थ देख्न छोडेको छु ।
यसरी मृत्युको घटनाले आफूभित्र जन्मिएको निराशा र मृत्युतर्फ उन्मुखतालाई प्रस्ट पारेको छ  । लामो समयको सुकरातको सङ्गतमा पनि जीवनप्रतिको सकारात्मक विचार नआएको र शून्यतातर्फ लागेको अनन्तमा आत्महत्याको निचोडमा पुगेको तर सुकरातले सम्झाउन खोजेको कुरालाई यसरी प्रस्तुत गरिएको छ :

सुकरातले फेरि सम्झाउन खोज्यो, तर शून्यमा ओर्लिएको अनन्तले उल्टै प्रश्न गर्‍यो । म अब यो रोग समाप्त पार्न चाहन्छु । म मृत्यु रोज्न चाहन्छु । मृत्यु खोज्न चाहन्छु । मलाई मानव इतिहासमा आत्महत्या गर्ने ठुला ठुला पुरुषको नाम बताइदिनोस्, ठुला ठुला नारीहरूको नाम बताइदिनुहोस् (पृ.१८४)।

अनन्तको जीवेषणा अन्त्य भइसकेको र मृत्युऐषणा अघि बढिसकेको यो अवस्थाले कुनै पनि तरिका वा पद्धतिबाट मर्न उपाय खोजेको देखिन्छ । मर्नु कायरता होइन स्वनिर्णय हो । मानिसले आफ्नो जीवनको निर्णय आफैँ गर्न पाउँछ भन्ने अठोटका साथ अघि बढेको अनन्तले सुकरातले हाँसीहाँसी विष पिएको प्रसङ्गलाई मनमा वरण गरेको छ ।  आत्महत्या गर्ने निश्चित गरिसकेपछि पूर्णिमाको मृत्युको दुखद खबर सुनाउन आएकी सोफियासँग गरेको कुराकानी तथा उसको दिनचर्या र शैली पनि बदलिएको अवस्थालाई उपन्यासमा यसरी प्रस्तुत गरिएको छ :

मृत्यु त्यसै राम्रो । त्यसमाथि आफन्तको वा प्रियजनको ता झन् राम्रो । मलाई धेरै राम्रो लागिरहेछ । किनभने एउटा मृत्युले सयौं भोगेका, अदृश्य पीडाहरू, दुखान्त लीलाहरू, सयौँका अपहरण, बिछोड, निर्वासन, निष्कासन, आदिले उत्पन्न गरेका चिन्तन देख्नु, सुन्नु पर्दैन र अन्य प्रकारका मृत्युहरू देख्नु पर्दैन । त्यो त एकदम राम्रो खबर हो । म त्यो सुनेदेखि नै खुसी छु पृ.१९६ ।

यसरी मृत्युलाई सहज र सामान्य तरिकाले लिनु र आफू पनि त्यसैतर्फ उन्मुख हुनुले अनन्तको मृत्युप्रतिको सरल र सहज चिन्तन अभिव्यक्त भएको छ ।

विश्वका कति ठुला मानिसले कसरी मृत्युवरण गरे र मृत्युको सहज तरिका के हो ? भन्ने खोजीमा अनन्तले अनेकौँ पुस्तकहरू खोजेर पढेको र डायरीमा टिपेका प्रसङ्गसहित मृत्यु चिन्तन यसरी प्रस्तुत भएको छ:

जीवनको महान् दुखान्त भनेको मृत्यु होइन,
परन्तु जीवित छँदा हामीभित्र जुन कुराको मृत्यु हुन्छ , त्यो हो ।
मभित्र के मरेको थियो ?
कहिले मरेको थियो ? (पृ.२००)

र अन्त्यमा मोतेंका विचारलाई आत्मसात् गर्दै उसले उद्धृत गरेको छ:

मृत्यु एउटा मात्रै रोगको होइन, सारा रोगहरूको एक मात्र अचुक औषधी हो । मृत्यु अत्यन्तै सुरक्षित स्थान हो । यसदेखि डराउनु हुँदैन बरु यसको खोजी गर्नुपर्दछ  (पृ.२०६) ।

जगत् मृत्युको मैदान रहेछ, हाम्रा लेखक-चिन्तक-दार्शनिकहरू अधिकांश मृत्यु चिन्तनमै छन् । यो उपायविहीन रहस्यको चिन्तनमा जति डुबे पनि कुनै अन्त्य भेटिएन (पृ.२०९)

जीवनप्रतिको कुनै रस नदेखेपछि मृत्यु नै एक मात्र विकल्प भन्ने सारसँगै उसले मृत्युलाई सहज तरिकाबाट वरण गरेको छ । मृत्युलाई सरल र सहज अन्त्य मानेर उसले मृत्यु चिन्तनसँगै स्थूल शरीरलाई त्यागेको घटना उपन्यासमा चित्रण गरिएको छ ।

० ० ०

निष्कर्ष 

उपन्यासमा आफ्नो सुन्दर भविष्य निर्माणका लागि अनकन सपना बोकेर सहर पसेका युवाहरूको अवस्थाको प्रतिनिधि पात्रको रूपमा अनन्तको उपस्थिति रहेको छ । नेपालको राजनीति र त्यसले प्रयोग गरिएका युवा शक्तिको चर्चा पनि गरिएको छ । उपन्यासभित्र अनन्तले भोगेका दुखद घटनासँगै युद्धकालीन समयमा देशले भोगेको परिवेशको चित्रण गरिएका छन् । सोझासाझा गाउँले द्वन्द्वका चपेटा परेका र विस्थापित हुनुपरेको र श्रम बेच्न बिदेसिन खोज्दा टाठा बाठाबाट ठगिएको र आत्महत्याको बाटो रोज्न बाध्य पारिएको देखिन्छ । अनकन सम्भावना बोकेर हिँडेको अनन्त पात्र सकारात्मक सोच भएका सुकरात गुरुको समीपतामा रहँदा पनि जीवनप्रतिको ऐषणा अन्त्य भई आत्महत्याबाट जीवन उत्सर्ग गरेको कुरालाई विभिन्न चिन्तनबाट मृत्युको प्रक्रिया र वैश्विक घटना प्रस्तुत गर्दै महान् दार्शनिक सुकरातले हेमलेक विष सेवन गरेर मृत्युवरण गरेको बाटोतर्फ यस उपन्यासको पात्र अनन्त उन्मुख भएको प्रसङ्गमा उपन्यासको शीर्षकीकरण भएको छ ।

सन्दर्भ सामग्री 

आचार्य श्रीराम शर्मा (२०६१) १०८ उपनिषद्, सातौं संस्क., हरिद्वारः ब्रह्मावर्चस् ।

भट्टराई गोविन्दराज (२०६३) सुकरातका पाइला, काठमाडौं : ओरिएन्टल पब्लिकेसन ।

रिसाल शिवगोपाल (२०६८) मृत्युविज्ञान, काठमाडौं : रवि पराजुली र अन्य ।

गरुड पुराण

श्रीमद्भगवद् गीता