खाना खाएर मैले माइकललाई आफ्नो पानीको कहानी सुनाएँ। अनि उसले हाँस्दै भन्यो- “धाराको पानी खाएको भए भैहाल्थ्यो नि। यहाँ त धाराको पानी पनि सोझै खान मिल्छ नि।”

सन् २००३ को जुन २१ तारिख शनिबारको दिन अफिसको कामको लागि म पहिलो पटक युरोप पुगेको थिएँ। युरोप कस्तो होला भन्ने कौतुहलता मनभरी सँगालेर लामो हवाइ यात्रा तय गरेर म साँझ साढे आठ बजेतिर जर्मनीको फ्र्याङ्कफर्ट ओर्लिएँ। साँझ आठ बजिसक्दा पनि सूर्यास्त भएको थिएन। जेठ असारका लामा महिनामा पनि साँझ सात बज्दा सूर्य अस्ताइसक्ने देशको नागरिक म। धर्तीको त्यो स्थानमा त्यति अबेरसम्म पनि आकाशमा सूर्य चम्किरहने रहेछ भन्ने मलाई थाहा थिएन। थाहाको त कुरो परै जाओस् मलाई कल्पना पनि थिएन।

सामान्य ज्ञानको पुस्तक घोक्दा ‘मध्यरातमा सूर्य उदाउने देश’ भनेर नर्वे भन्ने पढेको भए पनि किन त्यस्तो भएको होला भन्ने कारण खोतल्न कहिले प्रयत्न गरिएको थिएन। त्यसैले साँझको साढे आठ बजेको जर्मनीको चम्किलो आकाशले मलाई अचम्भित बनायो। तर बिरानो देशमा राति पुग्दा केही अप्ठ्यारो पो हुने हो कि भन्ने डरलाई चाहिँ त्यो उज्यालोले धेरै हदसम्म पखालिदिएको थियो। जीवनमा पहिलो पटक भोगेको त्यो विचित्रताले मलाई उत्साह र उमङ्ग दियो।

एरपोर्टबाट बाहिर निस्केर होटलसम्म जानको लागि मैले ट्याक्सी लिएँ। मर्सडिज बेन्जको आरामदायी ट्याक्सी, जीवनमा पहिलो पटक चढ्दै थिएँ। अगाडि कै सिटमा बसेँ। शरीर र मन दुवै आनन्दित भयो। युरोप भ्रमण गर्न पाएकोमा आफूलाई भाग्यमानी सम्झेँ। एक क्विन्टल जति वजन भएको देखिने सेता दाह्रो पालेको मोटो ड्राइभरले केही बोलेर इशारा गर्दै मलाई सिट बेल्ट बाँध्न भन्यो। बोली नबुझे पनि इशारा काफी थियो, सिट बेल्ट बाँधे। उसलाई अङ्ग्रेजी बोल्न नआउने रहेछ।

होटलको ठेगाना देखाएँ अनि उसले ट्याक्सी घुँइक्यायो। चिल्ला र अधिकांश खाली सडक, तीव्र गति तर निकै आरामदायी यात्रा। सडकमा देखिने सबैजसो गाडीहरू सफा देखिन्थे। बाटोको वरपर झपक्क रुखैरुख थिए। मलाई फ्र्याङ्कफर्ट भन्ने निकै ठूलो शहर होला भन्ने लागेको थियो। तर होटल पुग्दासम्म न त कुनै ठूला घर देखिए न त कुनै ठूला पसल। मानिसहरू पनि निकै कम थिए। उसले ‘एक्प्रेस वे’ बाट लगेको रहेछ त्यसैले मैले फ्र्याङ्कफर्ट शहर देख्न नपाएको रहेछु भन्ने कुरा धेरै वर्ष पछि मात्र थाहा पाएको थिएँ। ट्याक्सी एक ठाउँमा पनि रोकिएन, लगभग बीस मिनेटको यात्रा पछि एउटा गाउँ जस्तो स्थानमा पुग्यो अनि एउटा घर अगाडि गएर उभियो। मेरो होटल त्यही रहेछ। मैले त आफू बस्ने होटल शहरको बीचमा पाँच तारे गगनचुम्बी होटल होला भन्ने आशा गरेको थिएँ। चार तल्लाको त्यो सानो गाउँले होटल देखेपछि अलि खल्लो लाग्यो।

ट्याक्सीबाट ओर्लेर आफ्नो सुटकेस लतार्दै होटलभित्र पसें। एउटी बुढी आइमाईले हँसिलो मुद्रामा जर्मन भाषामा रिसेप्सनबाट मलाई स्वागत गरिन्। म हाँसे मात्र । अनि पासपोर्ट निकालेर उनलाई दिएँ। उनले पासपोर्ट हेरिन् अनि मलाई हेरेर ‘मिस्टर अधिकारी?’ भनिन्। मैले ‘येस’ भनेँ। अनि कम्प्युटरमा केही गरेर उनले मलाई साँचो निकालेर दिइन् र मलाई कोठामा कसरी जाने भनेर देखाइन्। मेरो सामान भनेको एउटा सानो सुटकेस मात्र थियो। आफै सामान लिएर साँघुरो लिफ्ट चढेर म दोश्रो तल्लाको कोठामा गएँ र ढोका खोलेर भित्र पसें।

कोठा सफा थियो। बाक्ला पर्दा लगाएका दुईतिर ठूला झ्याल अनि सफेद तन्ना ओछ्याएको एउटा ठूलो ओछ्यान। दुईवटा कुर्सी अनि ओछ्यानअगाडि टीभी। कोठा देखेपछि चाहिँ अलि मन प्रसन्न भयो। जुत्ता पनि नफुकाली उत्तानो परेर ओछ्यानमा पल्टिएँ। जीउ थकित थियो। त्यति लामो हवाइ यात्रा त्यो पनि इकोनोमी क्लासमा अनि त्यसमाथि समयान्तर।

मोबाइल हेरें साँझको दश बज्न लागेको थियो। सूर्यास्त भैसकेको थियो तर उज्यालो बाँकी नै थियो। केही खानुपर्‍यो भनेर तल गएँ। होटलकै रेस्टुरेन्टमा पसेँ, सुनसान थियो। मेनु हेरेँ सबै जर्मन भाषामा थियो। केही बुझेन। साना साना चित्र पनि थिए। खान सकिने जस्तो हेरेर एउटा चित्रको खाना मगाएँ। एकछिनमै वेटरले खाना ल्याइदियो।

सेतो पोर्सिलिनको प्लेटमा खैरो ससले धोएको एउटा चाक्लो मासुको टुक्रो थियो। छेउमा चार पाँच वटा आधा पाकेका जस्ता देखिने बोडीका त्यान्द्रा र फ्रेन्च फ्राई थियो। फ्रेन्च फ्राइ चोपेर खानको लागि पोर्सिलिनकै सानो कचौरामा रातो सस छुट्टै थियो। काँटा र चक्कुले यसो फर्काएर हेरें मासुलाई हेरें, के को मासु भन्ने पनि थाहा भएन। दाहिने हातले चक्कु र बायाँ हातले समाएर खानुपर्छ भन्ने चाहिँ सिकेर आएको थिएँ, त्यही गरें। आलुबाहेक अरू केही पनि मिठो थिएन तर भोक लागेकोले सबै सकाएँ। पानी पिउन मन लाग्यो। अङ्ग्रेजीमा वेटरसँग पानी मगाएँ। वेटर बुझेजस्तो गरेर गयो र सानो हरियो बोत्तल र एउटा शिशाको गिलास ल्याएर टेबलमा राखिदियो।

बोतलको बिर्को खोलें। ‘छुस्स’ आवाज निकाल्यो- कोकको बोत्तल खोले जस्तै गरेर। स्प्राइट त हैन भन्ने शङ्का लाग्यो। तर तिर्खा लागेकोले स्प्राइट पनि चल्छ भनेर शीशाको गिलासमा राखें, गजक्क माथिसम्म फिँज आयो अनि फिंजका फोका एक एक गर्दै फुटे। मिठो होला जस्तो देखेर एकै घुट्कीमा सिनित्तै पार्ने आशयले ठूलै घुट्को मुखमा हालें। त्यो पानी यति नमिठो लाग्यो कि मलाई निल्नु न ओकेल्नु भयो। न त त्यो हामीले पिउने सामान्य पानी थियो न त स्प्राइट या अन्य त्यस्तै पेय पदार्थ। मुख बिग्रियो। थुक्नको लागि ठाउँ खोजेँ तर कतै देखेन। वेटरलाई हेरेँ। परबाट उसले मलाई नै हेरिरहेको थियो।

हाम्रा नजर जुधेपछि ऊ मुस्कुरायो, म बिग्रको मुखमै मुस्कुराएँ। उसको त्यहाँको उपस्थितिले मलाई थुक्न झन् असम्भव भयो। अलि अलि गर्दै निलें। बोतल हेरे- ‘वासर’ लेखेको थियो। जर्मन भाषामा पानी नै हो भन्ने अर्थ लगाउन मलाई गाह्रो भएन। तर कस्तो पानी हो त्यो ? अलि अलि नुनिलो जस्तो पनि, रमरम गर्ने, फिँज आउने। त्यो ठूलो एक घुट्की निलिसकेपछि नाकै पिरो हुने गरी डकार आयो- पहिलो पटक कोक खाँदा आएको डकार जस्तै। तर जे भएपनि पानी त पानी नै रहेछ भन्ने यकिन भएपछि मैले सकी नसकी त्यो बोतलको पानी सकाएँ। त्यसमाथि पैसा पनि त परेको थियो। त्यसै फाल्न सकिनँ। तर ३३० मिलिलिटर मात्र भएकोले सकाउन त्यति गाह्रो भएन। प्यास पुरै त मरेको थिएन तर काम भने चल्यो।

खाना खाएर कोठामा फर्केर नुहाएर सुतेँ। एकैछिनमा झपक्क निद्रा लाग्यो तर मध्यरात मै ब्युँझिएँ त्यसपछि पटक्कै निद्रा लागेन-समयान्तरको असर। मुख सुख्खा भएको थियो तर पिउनको लागि पानी थिएन। कतै भेटिहाल्छ कि भनेर बत्ती बालेर कोठाभरि खोजेँ। ट्वाइलेटमा पनि खोजेँ। टीभी राखेको दराजमुनि एउटा सानो फ्रिज देखेँ, केही आशा पलायो। खोलेँ।

दुई बोतल पानी र दुई क्यान बियर थिए। तर पानी भन्ने थाहा हुँदाहुँदै पनि बोतल देखेर तर्सिएँ- त्यो बोतल पनि खाना खाँदा दिएको पानीको बोतल जस्तै थियो। खोल्नै परेन। एक क्यान जुस पनि थियो। मूल्य हेरें- लगभग तीन युरो। लोभले गर्दा आँट आएन। अनि निराश भएर ओछ्यानमा पल्टें पटक्कै निद्रा लागेन। बिहान पाँच नबज्दै पूरै उज्यालो भैसकेको थियो। फेरि अर्को नौलो अनुभूति। तर ब्रेकफास्टको समय साढे छ बजे पछि मात्र थियो। केही काम भएन। प्यासले मुख सुख्खा भएर क्यापक्याप भैसकेको थियो। ढिलो गरी गरी ब्रस गरें, फेरि नुहाएँ तै पनि छ मात्र बज्यो। आधा घण्टा कटाउन मुश्किल भयो।

बाहिर हेर्नुपर्यो भनेर अलिकति झ्यालको पर्दा अलिकति सर्काएँ। भर्खर गर्मी सुरु हुन लागेकोले जताततै हरियाली थियो। नजिकैका रूखमा चराहरू पनि देखिए। बिहानै चिरबिर गर्दै मलाई ओछ्यानमा मनोरञ्जन दिएका ती चराहरू मैले पर्दा खोल्दासम्म भने धेरै कम भैसकेका थिए, पक्कै पनि चारो खोज्न आफ्नो गुँड छोडेर पर पर गए होलान्। अनि मानिसहरूको कोलाहल पनि सुरु भैसकेको थियो जसले चराहरूको चिरबिरलाई मत्थर पनि पारेको थियो।  होटल नजिकै मानिसहरूका घर थिए। परसम्म निकै मिलाएर लगाएका गहुँका सुन्दर फाँटहरू देखिए। कुनै खेतमा गहुँका पाकेर पहेंला भैसकेका थिए भने कुनै हरिया नै थिए। ती फाँटहरूले मलाई आफ्नो गाउँमा पुर्यायो। नजिकै सानो खोला पनि थियो। खोलाको दुवैतिर मिलाएर लगाएका रुखहरू थिए। खोलाको पानी देखेपछि मेरो तिर्खा झन् बढ्यो। घडी हेरें, साढे छ बज्नै आँटेको थियो। भोक पनि लागिसकेको थियो त्यसैले ब्रेकफास्टको लागि तल ओर्लें।

ब्रेकफास्टमा पानी पाइएला कि भन्ने आशा थियो तर त्यो आशाले पनि काम गरेन। त्यहाँ पानी नै थिएन। बरु तीन थरी फलफूलका जुस थिए, दुध थियो। ब्रेकफास्टसँग सके जति फलफूल जुस खाएर प्यास मेटाउने प्रयास गरें तर पानीको प्यास जुसले नमेटाउने रहेछ। दिउँसोको खानाको पैसा बचाउन कोची कोची ब्रेकफास्ट खाएँ। त्यसले दिनभरी काम गर्‍यो। यसो बाहिर आइतबारको दिन। विदा नै थियो।

अर्को दिनदेखि अफिस जानुपर्ने थियो। यसो बाहिर निस्कनुपर्यो भनेको केही पनि हेर्ने जस्तो ठाउँ थिएन। गाउँ नै रहेछ। पसल गएर पानी किन्नुपर्यो भनेर यताउता पसल खोजेँ सबै बन्द थिए। अनि फर्केर होटलमै आएँ। रिसेप्सनमा एउटी भर्खरकी केटी थिई। ठिक्कको लामो सुनौलो कपाल, हँसिलो लामो र गोरो मुहार, हल्का मेकअप गरेकी ऊ मलाई निकै राम्री लाग्यो। बिहान बाल्कोनीमा देखेकी अर्ध नग्न युवती त्यही त हैन भन्ने शङ्का लाग्यो। थाहा थियो पक्कै ऊ हैन, तर त्यो पापी शङ्काले मेरा आँखा झुके, उसलाई सोझै हेर्न सकिनँ। उसलाई खुलेको पसल कतातिर होला भनेर सोधेँ। उसले बाहिर निस्केर मलाई ग्यास स्टेसनको पसल आइतबार पनि खुल्छ भनेर त्यसको दिशा बताइदिई।

उसले बताएको दिशातिर निस्कें। दश मिनेट जति हिँडेपछि ग्यास स्टेशन आयो। एकदम सानो पसल थियो। भित्र गएर पानी कता छ भनेर सोधें। पसलेले देखाइदियो। प्लास्टिकको एक लिटरजतिको सेतो बोतलमा नेपालमा पाइने जस्तै पानी देखेपछि मरुस्थलमा मरुद्यान नै भेटे जस्तो भयो। बाटोमै पानी पिउने आँट आएन, लाज लाग्यो अनि तुरुन्तै पानी बोकेर होटल फर्कें।

कोठाभित्र पस्ने बित्तिकै जुत्ता समेत नफुकालेर मैले बोतलको बिर्को खोलेँ। तर बिर्को खोल्दा निस्केको ‘छुस्स’ आवाजले म झस्किएँ। त्यो आवाजले मलाई झस्काउने भैसकेको थियो। अलिकति चाखें, मैले चाख्न नचाहेकै पानी थियो। दिक्क मानेर पानीको बोतल टेबलमा राखेर खाटमा पल्टें। अब जर्मनीमा बस्दासम्म ‘छुस्के’ पानी खाएर काकाकुल जस्तै दिन बित्ने भयो भनेर मैले स्वीकार गरें। त्यसपछि कतै जान पनि मन लागेन। निद्रा नलागे पनि दिनभरि ओछ्यानमा पल्टिएँ। साँझको खाना पनि होटेलकै रेस्टुरेन्टमा खाएँ। पानीको साटो कोक मगाएँ।

अर्को दिन ब्रेकफास्ट खाएर रिसेप्सनमा भनेर ट्याक्सी बोलाउन लगाएर अफिस गएँ। पहिले भेट नभएका भएपनि फोनमा या इमेलमा कुरा गरेका साथीहरू थिए। माइकललाई खोज्दै गएँ। सबभन्दा पहिले मैले ऊसँग पानीको याचना गरें।

“ग्याँस भएको कि नभएको?” उसले सोध्यो।

उसले प्रश्न सोधिनसक्दै मैले उत्तर दिएँ। माइकलको प्रश्नले मलाई यहाँ ग्यास नभएको पानी पनि हुँदो रहेछ भन्ने कुराको ज्ञात गरायो। उसले एउटा सानो बोतलमा पानी लिएर मलाई दियो। उसले मेरो आग्रह बुझ्यो कि बुझेन भन्नेमा मलाई अझै शङ्का थियो। मैले त्यति ठूलो आशा नगरी बोतलको बिर्को खोलें। मलाई तर्साउने ‘छुस्स’ आवाज आएन। तैपनि मुखमा नहाल्दासम्म मलाई पूर्ण विश्वस्त चाहिँ थिएन। मुखमा हालेपछि चाहिँ सबै शङ्का हट्यो। दुई दिन पछि बल्ल पानी मुखमा पर्‍यो। पानीको कुनै स्वाद हुन्न भनिन्छ तर त्यो पानी मलाई संसारकै सबभन्दा स्वादिलो पेय पदार्थ लाग्यो। अर्को बोत्तल पनि मागेँ र दुई दिनदेखिको तिर्खा मेटाएँ। मन र शरीर दुवै आनन्दित भए।

दिउँसोको खानामा पनि मैले ग्यास नभएको पानी मागें। खाना खाएर मैले माइकललाई आफ्नो पानीको कहानी सुनाएँ। अनि उसले हाँस्दै भन्यो- धाराको पानी खाएको भए भैहाल्थ्यो नि। यहाँ त धाराको पानी पनि सोझै खान मिल्छ नि। उसको उत्तरले म झसङ्ग मात्र भएन किन कसैलाई सोधेन होला भनेर आफ्नो मुर्खता र अज्ञानताप्रति पनि लाज लाग्यो। त्यो घटना मेरो पहिलो युरोप यात्राको अविस्मरणीय क्षण बन्यो।