१. हेराइ
सानैदेखिको उदण्ड शेखरसँग सरिता भागिछ । टोलको सबैभन्दा खराब केटो जस्तो लाग्छ ऊ तर किन ऊसँग हिँडेकी होला । खेलकुददेखि पढाइसम्म अब्बल सरिता किन पढाइलेखाइ नभएको गुण्डासँग पछि लागी, म अचम्म मान्दछु । सँगिनीको श्रीमान् गतिलो परे पनि ईर्ष्या लाग्ने , अगतिलो परे पनि पीर लाग्ने रहेछ ।
“ ओइ थाहा पाइस्, सरिता र शेखर फर्केछ्न् नि । हिजो राती त ढोगभेट पनि फुकाएछ्न् ।” बाटोमा भेटेर रूकुले भनी ।
“सरिता कता छ त ?” मैले सोधेँ ।
“ शेखरको घरमा नै होला । त्यस्तालाई कसरी भेना भन्ने है ? झगडा र लडाइँ गर्दा अनुहारभरि खतैखत छ ।” रूकुले भनी ।
“ फोन त उठाउली नि मोरीले ।” मैले भनेँ ।
“ ट्राई गर्न एक पटक ।” भन्दै रूकु आफ्नो बाटो लागी ।
सधैं भेट हुने क्याफेमा सरितालाई बोलाएँ ।
मैले ऊसँग सोधेँ, “ के राम्रो देखेर पछि लागिस् तँ भन् त । न रुप छ , न बानी गतिलो छ , न पढेको छ, न त कुनै सीप छ । ”
उसले टोस्ट मुखमा राख्दै चम्चाले सुप सुरुप्प पारी र भनी, “ रुप चाट्न मिल्दैन किन चाहियो ? बरु हेर्न मोरी उसको हिँडाइ कस्तो भुतुक्कै बनाउनेछ । ” अचम्म मानेर म यो केटीलाई हेरिरहेँ ।
…
२. टिकटक
“राम्रो खालको माला लगाइदिनु न ।” उर्मिलाले भनिन् ।
उर्मिला गण्डकीमा लैजान ठिक्क पारेको फूलको डोलीसँगै थिइन् । पछाडिपट्टि भजन टोली थिए । मोबाइल बैनीलाई
दिएर आफ्नो भिडियो खिचाइरहेकी थिइन् ।
“ धर्म कर्तालाई ,फूल तारेर गंगालाई…” भजन घन्किरहेको थियो । गण्डकीतर्फ जान तरखरमा थिए सबै ।
“ यो उर्मिलालाई जहिले पनि सबैभन्दा राम्रो चाहिने । नखाने भए पनि तिहारमा सबैभन्दा राम्रा सेल चाहिन्छ , दशैँमा निधारको टिको लतपत भयो भनेर धोएर फेरि ऐना हेरेर मिलाएर लगाउँछे । ” भन्दै राधिका दिदीले भित्रबाट राम्रो फूलको माला दिनु भयो ।
“ टिकटक बनाउँदा राम्रो देखिन परेन त फुपू । आज गण्डकीको किनारमा कति रमाइलो हुन्छ। मज्जाले टिकटक बनाउने हो ।” उर्मिलाले भनिन् ।
…
३. सोझा कार्यकर्ता
जिल्लामा मन्त्रीको आगमनले गाउँमा पार्टीका कार्यकर्ताहरुमा उत्साह थपियो । गाउँमा आउने कार्यक्रम बनाइयो । अगुवा कार्यकर्ताको भेला बोलाइयो । मन्त्रीले सम्बोधन गर्ने भनेपछि सोझा कार्यकर्ताहरु आफ्नो काम छोडेर भेला भए । पार्टी गाउँ समितिको सचिवज्यू सदरमुकाम दौडिए मन्त्रीलाई स्वागत गर्न । लामो पर्खाइपछि सचिव एक्लै फर्किए ।
“हैन के भयो ? मन्त्रीको सवारी भएन ? ” सबैले सोधे ।
“मन्त्रीज्यूको स्वास्थ अकस्मात् खराब हुन गएछ । होटलमा आराम गरिरहनु भएको रहेछ । आउन नसक्ने खबर पठाउनु भएको छ ।” सचिवले भने ।
सोझा माहिलादाइलाई मन्त्रीको स्वास्थ्यको चिन्ता लाग्यो र भनेँ, “हाम्रा मन्त्रीलाई अस्पताल नलगेर किन होटलमा राखेका हुन् ?”
सचिवले सदरमुकामको होटलमा सुरक्षागार्डले, “व्यापारीले लन्चपार्टी दिएको अलि बढी भएछ । सबै कार्यक्रम क्यान्सिल गरिसिया छ ।” भनेको सम्झ्यो ।
उसले माइला दाइलाई तिम्रा मन्त्री मदिराले लठ्ठ छ्न् भन्न सकेन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।