रासअल खेमाको छाती चिरेर फुजेराहतर्फ अघि बढेको शेख खलिफा फ्रि वेको देब्रेतिर फुजेराह सेन्टर जेलको विशाल प्राङ्गण देखिन्छ ।

डिसेम्बर महिना, पहिलो बिहीबारको चिसो बिहान, चिया खाइसकेपछि गाडी स्टार्ट गरेर म हुइँकिएँ । कता-कताबाट मेरो हाइलक्सको सिसामा ठोकिन आएको एउटा ढुकुर, मैले गाडी रोकेर हातमा लिनासाथै यो दुनियाँ छोडेर गयो।

म बडा भारी मन लिएर अफिस पुगेँ । अरबाब(साहू) सपरिवार बेल्जियम गएको थियो । मुसलमानहरूको महान् पर्व रमजान नजिकिँदै थियो, अफिसमा कामको चाप लगातार बढिरहेको थियो । मलाई सास फेर्ने फुर्सद थिएन ।

मोबाइल घ्यार्र गऱ्यो । अरबाबको म्यासेज रहेछ । लेखेको थियो – हबिबि स्लामवालिक, कैफ हालक? कैफ सोगल?( अभिवादन प्यारे, कस्तो छ तिम्लाई? काम कस्तो चलिरहेको छ?) मैले उत्तर दिएँ- “सेन्ट्रल जेलको डेकोरेसनको टेन्डर हामीलाई पऱ्यो ।“ आधा घण्टापछि रिप्लाई आयो- “कामदार, सामान, गाडी सबै तिम्रो जिम्मामा छ, राम्रोसँग काम गर्नू । हुकुमतको ( सरकारी) काम गर्न पाउनु अहोभाग्य हो । भोलिबाटै काम सुरु गर्नू । अब्दुल्लाहलाई म्यासेज गरेको छु । भित्र जाने प्रबन्ध उसैले गर्छ । नियम पूरा पालना गर्नू । जजाक अल्लाह खैर! ( भगवानले रक्षा गरुन्)।

८८८८८८८८८

म सेन्ट्रल जेलको मुख्य गेटमा गाडीभित्र बसिरहेको छु । चारैतिर सिसीटिभी क्यामेरा ३६० डिग्रीमा घुमिरहेका छन् । वरपर हिँड्न समेत निषेधित छ ।

एकछिनपछि अब्दुल्लाह आयो । सुर्ता इजि, सुर्ता इजि – (पुलिस आयो पुलिस आयो) मेरो सुडानी कामदार सासले बोल्यो । माफी मुस्किला । (आउन दे, केही समस्या छैन) – मैले भनेँ ।

अब्दुल्लाह सहायक रहेछन् । हामी सबैको हवेइया(परिचय पत्र) लिएर इन्ट्री गरे । त्यसपछि भने – हबिबि ! कुल्लु सामान मौजुद? (तिमीलाई चाहिने सबै सामान छ ?)

मैले भनेँ – नाम नाम, मौजुद !(अँ अँ, छ ।)

उनी – लेन सा खम्सा मघ्रब, ममनू रो बर्रा । (साँझ ५ बजेसम्म बाहिर निस्किन पाउँदैनौ नि)

म – ला ला, माइ सिर बर्रा नफरात ।( नाइँ नाइँ, हामी कोही निस्किन्नौँ)

 

लेबरका पर्स, मोबाइल र सुर्तीजन्य बस्तुहरू भित्र रिसेप्सनको लकरमा छोडेर आउन आदेश दियो । सबै राखेर लकरको चाबी लिएर आयौँ र मैले गेटको स्क्यानर मेसिनमा गाडी छिराए । स्क्यानर मेसिनले हामी सबै कामदार, गाडीका कुना-कुना, हाम्रा सामान सब थोक एकैपटक स्क्यान गरेर हरियो बत्ती बालिदियो । हरियो बत्ती बलेपछि ढोका आफैँ खुल्यो । त्यसपछि अर्को चेक भयो । त्यसपछि अर्को । क्रमशः ३ ओटा चेक भए । त्यसपछि बल्ल जेलभित्र प्रवेश गरियो । मेरा साथमा एउटा सुडानी लेबर थियो । अर्को लेबर फिलिपिनो थियो । ३ जना मिस्त्री चाहिँ बिहारी मुस्लिम केटाहरू थिए। हाम्रो गाडी त्यहाँभन्दा अगाडि लैजान नमिल्ने रहेछ । सामान झिक्न सहज हुने गरी पार्किङ गरेँ ।

जेलकै गाडी चढाएर हामीलाई “महिला-सेल”मा लगियो । महिला सेलको सलाह (प्रार्थना हल) मा डेकोरेसन र सिसी क्यामेरा मर्मत गर्नुपर्ने रहेछ ।

हामी महिला कैदीहरूको कक्षमा थियौँ । ३/३ मिटरको फरकमा सिसीटिभी क्यामेरा थिए । महिलाहरूलाई केही दिन यता नआउनू भन्ने आदेश रहेछ ।

मैले नाप लिएँ । केटाहरूले सामान निकाले ।

एक जना अरबी बोल्ने महिलाले हामीलाई काम देखाइन् । कालो कपडामा सजिएकी एक जना मङ्गोलियन अनुहारकी युवती ’मइ’ (पानी) र ‘बोर्तुगल’ (सुन्तला) लिएर आइन् ।

म भारतीयलाई काम सम्झाउन हिन्दीमा बोलिरहेको थिएँ । यत्तिकैमा ती युवतीले भनिन् – “सा’प ! आप के लिए सुन्तला र पानी पठाया है, मैडम ने ।“

उनको बोलीमा नेपाली सुवास आयो । मैले भनेँ – “नानु ! हाम्रै भाषामा बोल न, म बुझ्छु नि !”

आम्मै नेपाली पो ! – उनका आँखा ठूला भए । निकै खुसी भइन् । महिनौँपछि नेपाली बोल्न पाएकोमा उनको खुसी सम्हाली नसक्नु थियो ।

सिसीटिभीले नभेट्ने ठाउँमा उभिएर परिचय मागेँ । जेलमा कसरी पऱ्यौ ? कालो कपडा किन लगाएको ?

उनले भनिन् – मलाई झुटो मुद्दामा फसाएका । अदालतले केही महिना जेल बसेर घर पठाउने भनेर सही गरायो । सही गरेपछि जेल ल्यायो । अहिले जेलमा हामी ४ जनाको छुट्टै कोठा छ । यहाँ आउनेबित्तिकै कपडा बदलिदियो । अरू लगाउन पाइँदैन, यिनैले दिन्छन् । खबुस र कुखुराको मासु खान पाइन्छ ।

“अनि घरमा खबर भयो कि नाइँ ?” – मैले सोधेँ ।

जेलमा लाउड स्पिकरमा दिउँसोको अजान भयो । सबै जना कालो कपडा ओढेर नमाज पढ्न अर्को हलतिर गएको देखियो । “यसमा नगए त कति हेलाँ गर्छन्, मन नभए नि जानुपर्छ, म गएँ है ! हजुरसँग कति बोल्ने मन छ । अब म आज यता आउन मिल्दैन, भोलि आउनुहुन्छ नि ?“ यति भनेर उनी कुदिन् ।

मैले जबाफ दिन पाइनँ ।

उनलाई कालो कपडामा देख्दा मेरो होस उडिसकेको थियो । कालो कपडा तिनीहरूलाई लगाइन्छ जो मृत्युदण्ड कुरिरहेका छन् ।

बेलुका रुम फर्किँदा मेरा हातले गाडीको स्टेरिङ समात्न मानिरहेका थिएनन् । लुकिङ ग्लासबाट घरिघरि जल्लादले मलाई नै हेरिरहेजस्तो भान भइरह्यो ।

अर्को दिन, म फेरि सेन्टर जेलको महिला सेलभित्र थिएँ । गफ गर्ने मौका मिल्यो । हेलम्बूकी रहिछन् । बुबाले अर्की लिएर हिँडेका । घरमा लाटी आमा । दाजुभाइ कोही नभएकी ।

“म सन्चै छु, ४ महिनापछि फर्किन्छु” भनेर मेरी आमालाई चिठी लेखिदिनुस् न है ! कसैले पढेर सुनाइदेला । हुन त कसले पढिदेओस् ? २/३ ओटा कुखुरा, परेवा र बाख्राबाहेक को छ र बुढी आमालाई मायाँ गर्ने ?” उनका एक एक शब्दले आँखाका डिल भत्काउँथे ।

जेलमा काम चल्दासम्म भेट भइरह्यो । उनका आँखा मलाई कुरिरहन्थे । म भारी मन लिएर जान्थेँ र समय मिलेसम्म उनका कुरा सुन्थेँ । जसरी उनी मेरो नजिक आउँथिन्, त्यसै गरी मृत्यु उनको नजिक आइरहेको थियो । उनी बेखबर थिइन् त्यसबाट । एकपटक मेरो नाम नम्बर सबै मागिन् । लेखेर दिएँ । हामीलाई पानी ल्याइदिने ट्रेकोमुनि लुकाएर ट्वाइलेटमा लगेर लुकाइछन् । डराई डराई लुकाएको कुरा सुनाएकी थिइन् ।

काम सकियो । काम सकेपछि जेलभित्र जाने अवस्था रहेन । न फोन चलाउन मिल्ने, न चिठी लेख्न मिल्ने । म बाहिर थिएँ, मन जेलभित्र थियो । समय निकै उदासलाग्दो भयो । राति २ बजेसम्म पनि निद्रा लाग्दैनथ्यो । अचम्मको डर हृदयमा छाएको थियो।

४/५ महिना यसैगरी बिते । दिनमा २ बट्टा चुरोट सकिन थाले । पीडाले रक्सी पसलसम्म पुऱ्यायो ।

म कस्तो हो कस्तो प्रेममा परेछु, थाहै भएन।

एकदिन बिहानीपख निकै डरलाग्दो सपना देखेँ । हेलम्बूको भिरालो बारीमा उनका बुबा हलो जोतिरहेका । उनकी लाटी आमा बारीमा मासचामल छरिरहेकी । उनी छेउमा बसेर मासु खाइरहेकी । म उभिएर नङ्ग काटिहेको । कसैले उनको घरको आँगन लिप्दै थियो ।

एक्कासि गाह्रो भयो, ऐँठन भएछ क्यार ! कालो छाया मेरो छातीमा बसेर थिचिरहेको थियो । म चल्न चटपटाउन सकिरहेको थिइनँ ।

अचानक, मेरो मोबाइलमा निकै चर्को घण्टी बज्यो । जुरमुरिएर उठ्न खोजेँ । कालो छाया हरायो । हतारिँदै फोन उठाएँ ।

“हबिबि ! ताल हिनी सेन्तर जेल । सुरा ! माफी ताइम“ – कुनै अरबी महिलाको अङ्ग्रेजी मिसिएको आवाज थियो ।

कपडा लगाएर कोठाबाट बाहिर निस्केँ । एकोहोरो कराइरहेका गधाहरूको कहालीलाग्दो आवाजले कुनै अनिष्टको सङ्केत गरेजस्तो लाग्थ्यो । गाडी चलाइरहेको थिइनँ, मानौँ उडाइरहेको थिएँ । १ घण्टा लाग्ने जेलको बाटो ३५ मिनेटमा पार गरिएछ । बिहान ५ बजे म जेलको गेटमा उपस्थित थिएँ।

कसैले मेरो हातमा एउटा चिठी थमाइदियो । खोलेर हेरेँ –

राज !

हृदयभरिको मायाँ !

नेपालीको मुखै नदेखी मर्छु कि भन्ने लागेको थियो, हजुरको दर्शन पाएँ । जीवन सँगै बिताउन मन थियो, भाग्यमा मृत्युदण्ड लेखेको रहेछ । अन्तिममा थाहा भयो । सायद लास र चिठी हजुरले नै पाउनुहुन्छ होला । सके यतैबाट, नभए काठमाडौँबाट लास बोकेर घरसम्म गइदिनू बिन्ती । यो देशमा हजुरबाहेक कसैलाई चिनेको छैन । आमालाई सम्झाइ-बुझाइ गरिदिनू । हेलम्बूमा जहाँ मलाई गाडिदिन्छन्, चिहानमाथि रातो लालीगुराँसको फूल चढाइदिनू । चढाउनुअघि फूलमा चुम्नू, स्पर्श मेरो गालासम्म आउनेछ ……. ।

८८८८८८८८८८

कोरोनाले काम गरिराख्न दिएन । मलाई त्यो देशैमा बस्न मन पनि थिएन । नेपाल फर्केँ ।

बेहोसीले उचालेर मलाई कहिले कोसी पुऱ्याउँथ्यो, कहिले मुक्तिनाथ । कहिले उरालिएर गोसाइकुण्ड पुग्थेँ, कहिले हलेसी ।

८८८८८८८८८

भदौका दिनहरू निकै पट्यारलाग्दा थिए । कृष्ण जन्माष्टमीको साँझ पाटन दरबार जाने विचारमा थिएँ । अबुदाबीस्थित नेपाली दूतावासले मलाई नेपालको नम्बरमा फोन गरेर खबर दियो – उनको लास आज राति साढे बजे एयर अरेबियाको फ्लाइटमा सारजाहबाट नेपाल आउँदै छ ।

बौलाहाजस्तै भएर त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल पुगेँ । घरी कफी खान्छु, घरी चिया पिउँछु । समय कटाउन निकै गाह्रो भयो । बल्लतल्ल मध्यरात्रि भयो । सारा सहर कृष्णको जन्मदिवस धुमधामले मनाउँदै छ, म उनको मृतशरीरको पर्खाइमा एयरपोर्टमा छु ।

आमाको मोबाइल नम्बरबाट एक्कासि आएको फोनमा बुबाको रुन्चे आवाज सुनियो । दमले स्याँ स्याँ गर्दै बुबा बोल्नुभो – “बाबु ! दिनभरि व्रत बसेकी आमा अहिले गाह्रो भयो भनेर बाहिर निस्केकी, पिँढीमा ढलेकी छ । सास भएजस्तो मान्दिनँ । तिमी झट्टै घर आऊ त!”

मेरो होसले ठाउँ छोड्यो । कति बेला बाहिर निस्केर गाडी खोजेँ, काठमाडौँबाट चितवन पुगेँ, थाहै भएन । घर पुग्दा आमाको निष्प्राण शरीर काखमा लिएर बुबा भित्तामा अढेस लागेर चुपचाप अश्रुगङ्गा बगाइरहनुभएको थियो । गाउँभरिका छिमेकी र आफन्तहरू आँगनमा उभिएर आमाको निष्प्राण शरीर नियालिरहेका थिए । साथीको लास बोकेर घरसम्म जान्छु भनेर निस्किएको म, आमाको लासमा काँधहाल्न रातारात घर आइपुगेको थिएँ ।

८८८८८८

घरमा गरिने सबै काम सकेर आमाको लास काँधमा हालेँ । आमाको दाहसंस्कार भयो । कोरामा बस्नुपऱ्यो । घर हेऱ्यो, आमालाई सम्झ्यो, बुबाको अवस्था हेऱ्यो, एयरपोर्टमा अलपत्र उनको शव सम्झ्यो, बस् ! साइनाइट किनेर कसैले दिए भने आँखा चिम्लेर खान र आमासँगै अनन्तमा जान मन लागिरहेको थियो ।

किरियामा बसेको पाचौँ दिन । मोबाइल चलाउन पण्डितले छुट दिएका थिए । गाग्रीबाट पानी पोखेजस्तै गरी वर्षा हुन थाल्यो । फेसबुकभरि बाढीले गाउँ नै बगाएको र पुरेको खबर भरियो ।

अचानक आँखा हेलम्बूको समाचारमा गए । पहिरो खसेर सिङ्गो गाउँ नै बगाएछ । गाउँमा भर्खर आइपुगेको लासको बाकस र बिलौना गरिरहेकी आमासहित घरै बगाएर नदीमा पुऱ्याएको खबर देखियो । खोज्दै जाँदा उनैको लास रहेछ, उनकै लाटी आमा रहिछन्, बाख्रा परेवा रहेछन् ।

यता गरुणपुराण सुरु भयो । कथामा आत्मा उडेर नरक पुग्ने भनेजस्तै मेरा सपनाहरू, उनका सपनाहरू सबै रौरव, महारौरव नरकका धुवाँका मुस्लामाथि आत्तिँदै आत्तिँदै उडिरहे…!