उकालो चढ्नु पर्दा निकै गाह्रो भयो । लगभग डेढ घन्टा निरन्तर हिँडेपछि एउटा भन्ज्याङ आइपुग्यो । वर र पीपल
सहितको चौतारी रहेछ । चौतारीमा सुस्तायौँ । डाँडाबाट घाम अस्ताउनै लागेका थिए । भन्ज्याङबाट केही पश्चिमतिर
एउटा खहरे खोलो र त्यसको पारिपट्टि बस्ती देखियो । हामीले आज त्यसै बस्तीमा बास बस्ने निर्णय गर्यौँ ।
यद्यपि हाम्रो गन्तव्य भने अझै एक दिनको पैदलयात्रामा थियो ।
चौतारीमा बसेर पसिना पुछ्दै गर्दा मैले चौतारीदेखि केही तलको बारीमा एउटा डायरी देखेँ । “हरिजी तल हेर्नुस् त,
डायरी जस्तो छ नि !” दायाँ हातको चोर औँलो डायरी भएतिर तेर्साउँदै म साथी हरितिर फर्कें ।

हरिप्रसाद जो मेरा साथी हुनुहुन्छ, हामी लगभग दुई दसकदेखि सँगै छौँ । सँगै बस्यौँ । क्याम्पस सँगै पढ्थ्यौँ ।
विभिन्न सङ्घ-संस्थामा सहकार्य गर्दै आएका छौँ । कहिलेकाहीँ फुर्सद मिलाएर सँगै घुम्न निस्कन्छौँ । अहिले पनि
त हामी गाउँतिरको घुमफिरका लागि सहयात्री बनेर यतातिर आएका छौँ ।

हरिजीले हेर्दै गर्दा म चौतारीमुनिको बाटामा गएँ । बाटामुनिको कान्लो फङ्गालेर बारीमै पुगेँ । डायरी हातमा लिएँ ।
रातो कभर । बाहिर भिजेको तर भित्रका पानाहरू ओभाना थिए । भित्र पहिलो पृष्ठमा निकै आकर्षक अक्षरमा ‘रोहन’
लेखिएको थियो । सायद् रोहन भन्ने मान्छेको डायरी थियो यो । त्यसपछि ‘मेरो कथा’ शीर्षकमा

नारायण मरासिनी

डायरीका
आधाभन्दा बढी पृष्ठहरू भरिएका थिए । बिच बिचमा उपशीर्षकहरू थिए । ती परिच्छेद वा अध्याय होलान् भन्ने
अनुमान लगाएँ । पछाडिका केही पृष्ठहरू भने खाली देखिए । म चौतारीमै आएँ । पुनः पानो पल्टाएर सुरुकै पृष्ठमा
आँखा डुलाउन थालेँ ।

“सुनाएरै पढ्नुस् न, के लेखेको रहेछ सुनौँ ।” हरिजीको आग्रहअनुरूप नै म अगाडि बढेँ–

“जीवनको अर्को नाम नै सङ्घर्ष रहेछ । विना सङघर्ष मान्छे जीवित रहन सक्दो रहेनछ । बाँच्नका लागि पनि
सङ्घर्ष अपरिहार्य रहेछ । आर्थिक रूपले कमजोर परिवारमा जन्मेको म । मलाई मेरै घरायसी आर्थिक परिवेशले
सङ्घर्षका लागि प्रेरणा दियो । घरमा थोरैको सङ्ख्यामा गाईगोरु र भैँसी थिए । तिनको स्याहारसुसार गर्थें, घाँस
काट्थेँ, कुँडोपानी गर्थें । स्कुल छुट्टी हुँदा चराउन लैजान्थेँ । पँधेरो अलि टाढा थियो । झिसमिसेमै दुई गाग्री पानी
ल्याइसकेको हुन्थेँ । मकै छर्ने समयमा मल बोकेर बारीमा पुर्याउनु पर्थ्यो, बिहानमा बोक्थेँ । गोडमेलको काम पनि
बिहानमा नै गर्थेँ । हिउँदताक कोदो टिपेर नल काट्ने काम समेत बिहानमै गर्थें । दिउँसोको मेलो जेजति छ, बिहानकै
समयमा सकेर स्कुल जान्थेँ । घरदेखि तलतिर पाखो बारी, त्यसभन्दा तल ठुलो जङ्गल । जङ्गलमुनिको फाँट
सकिएपछि स्कुल आउँथ्यो, स्कुल घरदेखि लगभग डेढ घन्टाको बाटामा थियो । मैले माध्यमिक तहको पढाइ त्यहीँबाट
पूरा गरेको थिएँ ।

एसएलसी पास भएपछि डेढ-दुई वर्षजति तीन कक्षासम्म पढाइ हुने आफ्नै गाउँको प्राथमिक स्कुलमा पढाएँ । आफूले
धेरै अध्ययन नगरी यसरी गाउँमै भुल्न हुँदैन भन्ने ठानेर स्कुलमा नभुली क्याम्पस पढ्न सहरतिर लागेँ । क्याम्पस

पढ्ने क्रममै म विद्यार्थी सङ्गठनमा सङ्गठित भएँ । क्याम्पसमा पढाइका लागि निर्देशित कोर्सभन्दा बढी
प्रगतिशील विचारका पुस्तकहरू पढ्ने भोक जाग्न थाल्यो । कयाम्पसका केही गुरुहरूबाट त्यस्ता खालका पुस्तक
पढ्ने प्रेरणा पाएको थिएँ । पुस्तकालयमा पसेर त्यस्ता पुस्तकहरू खोजीखोजी पढ्न थालेँ । अलिअलि साहित्यतिर
पनि लहसिन मन लाग्थ्यो । भेटिएका केही साहित्यिक किताबहरू पनि पढ्दै गएँ । यसै समयमा हो मैले म्याक्सिम
गोर्कीको ‘आमा’ उपन्यास पढेको । हिन्दी भाषामा अनुवाद गरिएको त्यो बडो मुस्किलले छिचोलेको थिएँ ।

क्याम्पसको पुस्तकालयमा माक्र्सवादसँग सम्बन्धित पुस्तकहरू खासै भेटिएनन् । त्यस्ता पुस्तकका लागि सम्बन्धित
साथी र अग्रज नेताहरूसँग सम्पर्क बढाएँ । क्रमशः मेरो ज्ञानको क्षितिज खुल्दै जान थाल्यो ।

पढ्दै गएपछि वर्गसङ्घर्षको महत्व बुझेँ । मैले पनि सपना देख्न थालेँ । साम्यवादको सपना । बिएको दोस्रो वर्ष पढ्दै
गर्दा पार्टी जनयुद्धमा होमियो । म पनि सामेल भएँ । भूमिगत रूपमा कामकारबाईहरू अगाडि बढाउन थालियो ।

मेरो कार्यथलो गण्डक क्षेत्रको एउटा पहाडी जिल्लामा थियो । त्यतिबेला उक्त क्षेत्रमा पूर्णकालीन सदस्य हामी जम्मा
चौध जना थियौँ । पुरानो सडेगलेको संरचनालाई ध्वस्त पारेपछि नै नवनिर्माणको बाटो खुल्छ भन्नेमा हामी विश्वस्त
थियौँ । मैले सहरबजारमा पुराना झुप्रा टहराहरू भत्काएर पछि त्यही ठाउँमा सुन्दर महलहरू बनाएको देखेको थिएँ ।
समाजको नयाँ संरचनामा पनि यही नियम लागू हुन्छ भन्नेमा म ढुक्क थिएँ ।

म खटिएको क्षेत्रमा एउटा बैङ्क थियो । कृषि विकास बैङ्कको उपशाखा । त्यहाँबाट गरिब किसानहरूले ऋण लिएका
थिए । उनीहरूले कुखुरापालन, पशुपालन, नगदेबाली तथा अन्य विभिन्न प्रयोजनमा ऋण लिएको भन्ने बुझेको थिएँ ।
ऋणको साँवा त परै जाओस्, ब्याज पनि तिर्न नसकिरहेको अवस्था थियो । हामी भूमिगत भएपछि गाउँका
किसानहरूसँगै हातेमालो गरी हिँडेका थियौँ । हामीलाई उनीहरूको मर्का पूरापूर थाहा थियो । हामी उनीहरूलाई
ऋणबाट मुक्त गराउन चाहन्थ्यौँ । गरिब ऋणीहरूका बैङ्कका कागजात जलाउन चाहन्थ्यौँ । अर्को कुरा हामीले
सशस्त्र युद्ध थालेका थियौँ । शोषक, फटाहाहरूलाई कारबाई गरी पीडितहरूलाई न्याय दिलाउने काममा लागेका थियौँ
र त्यसका लागि हतियारको आवश्यकता थियो । हामी हतियार सङ्कलनका क्रममा पनि थियौँ । हामीले पार्टीको
नीतिबमोजिम नै साँझको समयमा त्यस बैङ्कमा गई बैङ्कको सुरक्षागार्डको बन्दुक खोस्ने र भित्रका कागजात बाहिर
निकाली जलाइदिने योजना बनायौँ ।

योजनाअनुसार मेरै कमाण्डमा हामी चौध जना बैङ्कको पर्खालतिर छरियौँ । बैङ्कको यो उपशाखा जिल्ला
सदरमुकामभन्दा केही टाढै थियो । आवतजावतका लागि सुविधायुक्त बाटो थिएन । सदरमुकामबाट खच्चरले सामान
ओसार्थ्यो । त्यही सामानबाट यहाँको बजार चलेको थियो । बजार त्यति ठुलो पनि थिएन । जम्माजम्मी बिस-बाइस
घर हुँदा हुन् ! बैङ्क रहेभन्दा अन्दाजी तिन सय मिटर जति पूर्व प्रहरी चौकी थियो । बिचमा कुनै ढुङ्गाले र कुनै
टिनले छाएका दोकानघरहरू थिए । जनयुद्धको थालनीको समय । हामी एकैसाथ पर्खालबाट भित्र छिर्यौँ । सुरक्षा
गार्डको बन्दुक खोस्ने जिम्मा मेरो थियो । ऊ मभन्दा निकै बलियो रहेछ । खोसाखोस गर्दागर्दै उसले चिच्याउन
थाल्यो । वरिपरिका मान्छे दौडँदै आएको देखियो । अलिक परबाट प्रहरी पनि हामीतिरै दौडिरहेका देख्यौँ ।
काम सम्पन्न गर्न सकेनौँ । हामी भाग्यौँ । भाग्ने क्रममा मेरो निधार पर्खालको ढुङ्गामा नराम्रोसँग ठोक्कियो । तर
पनि मैले दौडन छोडिन । देब्रे हातले निधारको चोट अँठ्याउँदै एकोहोरो दौडिरहेँ । बिचमा दुई-तिनपटक बन्दुक
पड्केको आवाज सुनिएको थियो । पछाडि फर्कंदै नफर्की घरि बारीका कान्ला फड्कँदै त घरि बुट्यानहरू छिचोल्दै
सेल्टरमा पुगेँ । अँधेरी रातको समय, साँझ परिसकेकाले प्रहरीले त्यति धेरै पिछा गर्न सकेनन् । रातको एक
बजेसम्ममा हामी सबै एकत्रित भयौँ । मानवीय क्षति चाहिँ भएन । लालटिनको उज्यालामा साथीहरूले मेरो निधारको चोट हेरे । घाउ गहिरो र ठुलै पनि रहेछ । अरु उपाय थिएन, प्राथमिक उपचार गरियो । पट्टी बाँधियो । समीक्षाका
क्रममा साथीहरू सबैको मुखबाट एउटै कुरो आयो– साँझ ढलेपछिको अन्धकारमा काम सुरु गर्नु पर्नेमा हामी अलिक
पहिल्यै पुग्यौँ । समयको व्यवस्थापनमा हाम्रो कमजोरी रह्यो ।”

“बल्ल एउटा परिच्छेद सकियो हरिजी ! अझै थुप्रै परिच्छेदहरू छन् ।” कुरो रोचक भए पनि हामीलाई समयले साथ
देला जस्तो लागेन । सर्र पाना पल्टाउँदै डायरी बन्द गरेर म साथी हरितिर फर्कें ।

“घाम अस्ताइसके । अब यसरी भुल्नु हुँदैन । बाटो लागौँ, बरु बास बस्ने ठाउँमा भरे पढौँला ।” हरिजीको भनाइमा
सहमत हुँदै मैले डायरी आफ्नै झोलामा राखेँ ।

हामी उठ्यौँ । चौतारीबाट झर्यौँ र बाटो लाग्यौँ । तेर्सो तर्सो हिँडियो । ठाउँ ठाउँमा ढुङ्गा पनि छापिएको बाटो ।
बाटाको तलतिर र माथितिर पुरै जङ्गल । बिच बिचमा केही खोल्साखोल्सीहरू पनि आए । देखिएको बस्तीमा
पुग्नका लागि बाटो निकै घुमाउरो रहेछ । हिँड्दाहिँड्दै साँझ पर्यो । लेकको सेपिलो बाटो । दिउँसो केही समय
सामान्य पानी परेको थियो । घरि घरि खुट्टा चिप्लन्थे । जुका लाग्दोरहेछ । जुत्तामोजा छिचोलेर जुकाहरू भित्रै
पुग्दारहेछन् । घुँडाभन्दा माथि पनि रगत चुस्दै गरेको एउटा जुको भेटाएँ मैले । बलैसान्ति तानेर फाल्नु पर्यो ।
हामीसँग टर्च लाइट थिएन । सामान्य मोबाइलको लाइट बालेर हिँड्न थाल्यौँ ।

आकाशमा बादल भरिए झैँ लाग्यो । चुक घोप्ट्याए जस्तो अन्धकार ! मोबाइलको उज्यालाले पुरै बाटो देखिँदैनथ्यो ।
दिउँसो पनि थुप्रै हिँडेको हुँदा निकै थाकेका थियौँ । भन्ज्याङदेखि गाउँसम्म एकाध घन्टामा त पुगिएला नि भन्ने
सोच थियो तर त्यसो भएन । नचिनेको र नबुझेको ठाउँका लागि हामीले समयको व्यवस्थापन गर्न जानेनछौँ ।
चौतारीमा बसेर डायरी पढ्दै समय फाल्नु हाम्रो कमजोरी भयो । उल्टै बाटो बिराएर गाईवस्तु चराउन लाने लेकको
पाखोतिर लागिएछ । लेकको खर्कबाट फर्केर पुनः मूल बाटामा झर्दा पनि समय धेरै नै लाग्यो । अँध्यारामा चार
खुट्टाले टेक्दै र लड्दैपड्दै हामी गाउँको मुखमा पुग्यौँ । मुखैमा एउटा विश्वकर्मा भाइको घर रहेछ । गोठलाई बारेर
बनाएको जस्तो देखिन्थ्यो घर । सुत्ने बेला भएको रहेनछ । भित्र मान्छे बोलेको सुनियो ।

“घरमा को हुनुहुन्छ ? पानी खान पाऊँ न हजुर !” मैले ढोकाको ठिक अगाडि उभिएर अलि ठुलो स्वरले आवाज
निकालेँ ।

एक जना भाइ बाहिर आए । ढोकामाथि झुन्ड्याइएको बल्ब बालेर हामीलाई नियाले । र भित्र गई एउटा स्टिलको
अम्खोरामा पानी ल्याएर शोधपुछ गरे । टाढाबाट आएकाले निकै थाकेको हुँदा हामीले एक छाक खाना र एक रात
बासका लागि खोजी गरिदिन अनुरोध गर्यौँ । उनी पुनः भित्र पसे । भित्र चूलामा सायद् उनकी श्रीमती होलिन्, आगो
ताप्दै थिइन् । मझेरीमा लहरै तिनचार जना केटाकेटी सुतेका देखिए । भाइ टर्च लिएर बाहिर निस्के ।

गाउँको बीचतिर पर्ने हेडसरको घरमा खान र बास बस्न पाइने सम्भावनाको कुरो गर्दै हामीलाई अगाडि लगाएर भाइ
आफू चाहिँ टर्च लाइट देखाउँदै पछि पछि लागे । बाटो हिँड्दै जाँदा रोजगारीको सिलसिलामा तीन वर्षसम्म साउदी
अरब बसेर एक हप्ता अगाडि मात्रै आफू घर फर्केको कुरा उनले सुनाए ।

हामी हेडसरको घरमा पुग्यौँ । घर पुरानै खालको जस्तो लाग्यो । रात छिप्पिसकेको थियो । खानपिन सकेर जहान
परिवारका अरु सदस्य सबै सुतिसकेका रहेछन् । हेडसर मात्रै रेडियो सुन्दै बसेका । एक रात बासका लागि
अनुनयविनय गर्यौँ । भोकले आत्तिएका हामीले भुर्लुक्क गुन्द्रुक उमालिदिए मात्रै हुन्छ, अरु केही बनाउनु पर्दैन भन्दै एक छाक खानाका लागि पनि अनुरोध गर्यौँ । सहयोगी नै रहेछन् । उनले हाम्रो अनुरोधलाई सहजै स्वीकार गरे ।

हामीलाई पुर्याउन आएका भाइ आफ्नै घरतिर फर्के । यसपछि हेडसरले मझेरीमा रहेको ओदानमा आगो फुक्न थाले
। हातगोडा धोएर हामी पनि ओदान नजिकैको गुन्द्रीमा बसेर आगो ताप्न थाल्यौँ । गफको सिलसिला अगाडि बढ्यो
। उनी आजभन्दा अट्ठाइस-तिस वर्षपहिले गाउँकै प्राविमा हेडसर रहेछन् ।

“पढाएको भनेकै त्यही डेढ-दुई साल हो । त्यसपछि भने म कहिल्यै पनि स्कुलको मास्टर बनिन ।” उनले छड्कँदै
गरेको भात चलाउँदै भने । अगाडि थपे, “काम गर्नुपर्छ । काम गर्दैमा सानो को हुन्छ र ? सुतिसकेकी श्रीमतीलाई
उठाएर भात पकाउन लगाउनुभन्दा त म आफैले पकाउँदा राम्रो भयो नि हैन र ?” प्रश्नसूचक उनको कुरामा हामीले
पनि सही थाप्यौँ । उनले हामीलाई रक्सी पिउने नपिउने बारेमा पनि सोधे । हामीले नपिउने कुरा गर्यौँ ।

उनले हामीलाई बोल्नै दिएनन् भने पनि हुन्छ । निकै बोलक्कड रहेछन्, एकोहोरो बोलिरहे । बिच बिचमा हामीले पनि
सही थाप्ने काम गरिरह्यौँ । उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका रहेछन् ।

विगतमा केही समय पार्टीमा आफूले जिल्लाकै नेतृत्व गरेको कुरा पनि बताउन भ्याए । निकै वर्ष पार्टीमा खटिँदा
पनि केन्द्रले आफूलाई नहेरेको गुनासोसमेत गरे ।

“पार्टीले एकपटक सभासद्का लागि चुनाव लड्ने टिकट त दिएको थियो तर साथीहरूले नै विश्वासघात गरेपछि के को
जित्नु नि !” उनले आफ्नो राजनीतिक विगतलाई सम्झे । “हुल्याहाहरूले जिल्ला पार्टीबाट मेरो नेतृत्व पनि खोसे ।”

गुनासोका साथमा केही आक्रोश पनि पोखे उनले ।
भात पाक्यो । हामी भात खान बस्यौँ । पस्केर दिए उनले । हामीले भात खाँदै गर्दा पनि उनले आफ्नै कुरालाई
अगाडि बढाए, “अब पूर्णकालीन बनेर काम गर्न सकिँदैन भन्ने लाग्यो । घरमा बुढी आमा, श्रीमती, छोराछोरी ।
सबैबाट टाढिएको थिएँ । मैलै समय दिन नसकेकामा परिवार पनि चिन्तित थियो । घरव्यवहार सब अलपत्र । जहान
परिवारलाई पनि समय दिएर घर सम्हाल्नु पर्छ भन्ने ठानेँ । बरु पार्टीमा आस्था राख्दै पार्टीले अह्राएको काम गर्ने,
त्यसमा पनि आफूले सक्ने र भ्याउने काम मात्र गर्ने सोच बनाएँ मैले । पार्टी शान्ति प्रक्रियामा आएदेखि
सदरमुकाममा बसेको थिएँ । अहिले त म सदरमुकाम छोडेर यहीँ आफ्नै गाउँमा बस्न थालेको छु । एउटा राम्रो खोर
बनाएर बाख्रा पालेको छु । अहिले माउ, पाठापाठी, खसीबोका सबै गरेर सत्ताइसवटा बाख्रा छन् । यही बाख्रापालनलाई
नै मैले आफ्नो पेसा बनाएको छु । श्रम त गर्नै पर्यो नि । श्रमबाट टाढिएको हुनाले नै त हामीहरू पछाडि परेका हौँ,
कि कसो सरहरू ?” हामीले सही थाप्न भ्याएकै थिएनौँ, फेरि आफ्नै कुरा बढाए उनले, “स्याउला, घाँसको पनि त्यति
दुःख छैन । वरिपरि ठुलो जङ्गल छ । लेकको खर्कतिर चरन पनि सजिलो । दिनमा बाख्रा चराउन जाने गर्छु ।
कहिलेकाहीँ चराउँदै पारिको भन्ज्याङसम्म पनि पुर्याउँछु । मलाई त अहिले यसैमा सन्तोष छ सरहरू !” यति भनेर
उनले हाम्रो अनुहारतिर पुलुक्क हेरे ।

मैले पनि मुन्टो उठाएर उनको अनुहार हेरेँ । कालो वर्णको अनुहार । भित्तामा चालिस वाटको बल्ब झुन्डिएको थियो
। त्यही उज्यालाको सहाराले मैले उनको निधारमा एउटा दाग देखे । अघि घाम अस्ताउने बेलामा पारिको भन्ज्याङमा
बसेर पढेको डायरीको याद आयो । त्यही डायरीमा पढेको थिएँ मैले, “भाग्ने क्रममा मेरो निधार पर्खालको ढुङ्गामा
नराम्रोसँग ठोक्कियो । तर पनि मैले दौडन छोडिन । देब्रे हातले निधारको चोट अँठ्याउँदै एकोहोरो दौडिरहेँ… ।”
बाटामा भेटेर राखेको मेरो झोलाको यो डायरी कतै यिनै मान्छेको त होइन ? मलाई शङ्का लाग्यो र सानो स्वरमा
सोधेँ, “तपाइँको डायरी हराएको छ र ?”

“हो त, आज दिउँसो बाख्रा चराउन जाँदा कहाँ खसेछ कुन्नि, पछि खोज्दै पनि हिँडेँ । भेटाउन सकिन । मैले निकै
मिहिनेतका साथ तयार पार्दै गरेको डायरी थियो त्यो । त्यो त मेरो जीवनको सर्वस्व नै भने पनि हुन्छ । पछि
प्रकाशन गर्ने विचारमा थिएँ । त्यही चिन्ताले त म अबेलासम्म पनि निदाउन नसकेको । बरु, किन सोध्नुभयो यो
प्रश्न ? के तपाईंले भेटाउनुभएको छ र मेरो डायरी ?” प्रश्न सोधाइसँगै उनको त्यो कालो वर्णको अनुहारमा केही चमक
आए जस्तो देखियो । मैले झोलाबाट डायरी झिकेर देखाएँ । आफ्नो हराएको डायरी देख्न पाउँदा उनी निकै खुसी भए
। मैले डायरी उनको हातमै थमाइदिएँ । यसपछि भने उनी हौसिँदै हामीलाई सुत्नका लागि बिस्तरा मिलाउन भनेर
कोठीतिर लागे ।

ज्याग्दीखोला, स्याङ्जा