बाजे बूढो नाति केटोसित बस्न आएका छन् सहरमा । नाति केटो पढ्यो, लेख्यो, शिक्षित भयो । आफैँ कमाउने र गरिखान सक्ने बन्यो । उसले सहरमै घरजम बसाएको छ । आफूले अतिशय स्नेह र लाडप्यार खन्याएर हुर्काएको नातिको पौरख हेर्ने पवित्र मनसुवाले बुढा गाउँबाट सहर उक्लेका हुन् । नातिलाई पनि बाको इच्छाबमोजिम छ-आठ महिना काठमाडौँमै अड्याइराख्ने धोको छ ।
कहिल्यै गाउँ नछोडेका बाजे बुढा सुरुको दुई-चार दिन त ठुलो उकुसमुकुसमा निसास्सिएजस्तो भए । यता जाऊँ घरैघर, उता जाऊँ घरैघर कतै खुल्ला ठाउँ देख्न सकेनन् । सडकमा निस्क्यो मोटरकारको ताँती छ । अरू ठाउँ हेऱ्यो घरैघर छन् । न हरियो वनजङ्गल छ कतै । न खेतबारीका फाँट देखिन्छन् कतै । छन् त हेर्दै टोपी खस्ने अग्ला-अग्ला घर छन् । मोटरगाडीको भाँभाँ ऽऽ !! भूँभूँ ऽऽ र धुलो धुँवा छ । अनि हतारमा कुदिरहेका मानिसको अथाह भेल छ ।
नातिलाई हेर्छन् । ऊ दिनभरि नै कोठाभित्र बसेर ल्यापटपमा खच्याकखच्याक खच्याकखच्याक औँला चालिरहेको हुन्छ । सहरिया जीवनको अलिकति पनि स्वाद नचाखेका बुढालाई हरेक चिज र वस्तुहरूले विस्मयको गहन तलमा खसाउने गर्छन् । सबै चिज हेर्दा र देख्ता चकित-चकित पनि छन् । कता-कता थकित-थकित छन् । उनका लागि सारा परिवेश नै नयाँ छ ।
नातिको चाल देखेर एकदिन बुढाको मनले जिज्ञासा जाहेर गऱ्यो ।
“के गर्छस् नानी ? यो अटेचीजस्तो बाक्सामा ?”
“बाक्सा होइन बा यो ! यो त कम्प्युटर हो । काखमा राखेर चलाउन मिल्ने भएकाले यसलाई ल्यापटप भनिन्छ ।”
“ल्याप्टू !” बुढाको बोलीमा विस्मय भाव घोलिएको थियो ।
“अँ ल्याप्टू !” नाति मुसुक्क हाँस्यो ।
“खचकखचक खचकखचक चौवीसै घण्टा यसमा के खेली बस्छस् !”
“अँ खेलेको होइन त । काम पो गरेको त । मेरो कामै यस्तो हो । तपाईँलाई केटाकेटी खेलेजस्तो लाग्दो हो । होइन मेरो पेसै यस्तो छ ।”
“अनि यही ल्याप्टूले खान लाउन दिन्छ त ?” बुढाले सोधे ।
“दिन्छ बा दिन्छ ! दिइरहेको छ । यो घर त यसैले बनाएको हो ।” नातिको कुराले बुढा झन् अचम्मको महासागरमा खसे ।
आफू सुत्ने कोठामा छिरेर घोरिन थाले । आफ्नै अतीतमा एकनास डुबिरहे । चिसो हिमालको काखमा अवस्थित उनको गाउँ । सरल चित्तका मेहनती मनुवाहरूको ग्रामीण बस्ती । छल, प्रपञ्च र अनन्त आपाधापीबाट दूर थियो उनीहरूको जीवन । धुँवा, धुलो र कर्कश ध्वनिबाट अछुत थिए डाँडा-पाखा-पखेराहरू ।
गाउँमा खेतीपाती गरेर बस्तुभाउ पालेर बाँच्नुको स्वादै अर्को थियो । खाने पिउने चिज आफ्नै खेतबारी र गोठमा उब्जिन्थ्यो । लाउने कपडा पनि धेरै त गाउँकै किराँत्नी आमाहरूले बुनेका घरबुना खाँडीबाट आपूर्ति हुन्थ्यो । लेकदेखि बेँसीसम्म खेती खरबन थियो । घरका ढिकुटी-ढिकुटीमा वर्षभरि खानलाई धान कोदाको जगेडा हुन्थ्यो । आँगनमा छ खोपे सात खोपे मकैको थाङ्ग्रो उभिएको हुन्थ्यो । चोयाका कोठो भरि-भरि गहुँ, जौ, फापर, तोरी सर्स्युँ माटाका लिउनले बन्द गरेर राखिएको हुन्थ्यो । धोबे धोबेमा मास, भटमास र बोडी थन्क्याएको हुन्थ्यो । सोली-सोलीमा सिन्की गुन्द्रुक, तितौरा मस्यौरा, लसुन प्याज सुरक्षण गरिएको हुन्थ्यो ।
गोठभरि गाईभैँसी, राँगागोरु र पाडाबाछा बाँधिएका थिए । ठेका भरिभरि दहीमहीको छेलोखेलो थियो । कुँडेमा दूध, हर्पेहर्पेमा घिउतेल कहिल्यै टुट्दैनथ्यो । खोरभरि भेडाब्राखाको बगाल । करेसाबारी बाह्रै महिना तरकारी र सागसब्जीले लदाबदी भरिएका हुन्थे । कोठेबारीमा कागती, सुन्तला, केरा, मेवा, खाइनसक्नु गरी लटरम्म झुल्थे ।
नातिको पौरख हेर्न र खान सहर उक्लेका बुढाबाजे एकतमासले टोलाएका छन् । नातिको तगजगको जुन विम्ब उनको स्मृतिमा कोरिएको थियो । त्यसमा विलकुल उल्टो रूप पाए । सोचाइविपरीतको दृश्यले एक हिसाबमा छाँगाबाट खसेसरह भए ।
दुइटा विशाल घरको चेपमा एउटा घर त उभिएको छ तर त्यहाँ न त गाईबस्तुको गुवाली छ । न घरभित्र कोठाचोटामा धान मकै कोदाका भकारीहरू छन् । न दूधदहीका ठेकाभाँडा छन् । न खेतबारीका टाहार फाँटहरू छन् । न दाल दलहनका सोली कोठीहरू छन् । बुढाले सोचेका केही चिज छैनन् ।
बुढाले नजरमा अङ्कित तीन ओटा चिजमात्र छन् त्यस घरमा । एउटा दुई तले पक्की घर छ । अर्को घरको पालीमा अड्याएको एउटा मटरगाडी छ र ओछ्यानमा एउटा ल्याप्टू छ । नाति केटाले यी तिनोटा चीजलाई उपयोग गरिराखेको कुरा बुढाको सूक्ष्म नजरले नियालिरहेका छन् । बिहानदेखि बेलुकासम्मै सुत्छ, बस्छ, खान्छ घरैमा । कहिलेकाहीँ ग्यारेजको गाडी निकालेर बाहिर जान्छ र घर फर्केपछि कोठामा बसेर हमेसा ल्याप्टूमा खेल्छ ।
भन्नलाई काम गरिरहेको छु भन्छ नाति तर बुढाका नजरले खचकखचक खचकखचक औँला चालेर खेलेको दृश्यभन्दा अर्को केही अन्दाज लाउन सक्तैन । काम त हामीले खेत खनेर जोतेर गरेका हुन्थ्यौँ । काम त हामीले वस्तुलाई घाँस काटेर, दूध दुहेर, मोही पारेर, गोठालो गएर गरेका हुन्थ्यौँ । काम त हामीले मेलापात लोकबेँसी र वनजङ्गल धाएर गरेका हुन्थ्यौँ । ओछ्यानमा बसी-बसी खचकखचक खचकखचक औँलामात्र चलाएर के काम चाहिँ गऱ्यो होला र यसले ? नातिको कर्मप्रति बुढाको चित्तमा गहन संशय सुसाउँछ घरी न घरी, घरी न घरी तर पनि उनी चुपचाप दृश्यहरू नियालिरहेका छन् ।
+++++ +++++ +++++
खाने बेलामा भान्साकोठामा भाग बस्छन् बुढा । काँसे थालमा फरफराउँदो बास्नादार बासमती र चनमचुर चामलको भात मिल्छ । पस्किनेबित्तिकै हरहराउँदो बास्ना उनको नाकमा ठोक्किन्छ । कालो दालसित मुछेर मुखमा हाल्दा गाउँमा खाएको भोटाङे र मार्सी धानको चामललाई बिर्साइदिन्छ । हप्ताको दुईचोटि तीनचोटि खसीकै मासुको झोलसित भात खान पाएका छन् बुढाले । डेरीकै सही गुलियो दहीले आँत भिजाउन पनि पाएकै छन् । कहिले काँही त मगमग बास्नादार घिउको तुर्को पनि भातमाथि हालिदिन्छन् । लुगाफाटो धोइदिने मान्छे आइराख्छ । बिहानदेखि बेलुकीसम्म चार टाइम दूध हालेको गुलियो चिया त्यससित स्याउ र सुन्तलाका टुक्रा, पोसिलो खालको बिस्कुट दैनिक खान पाइरहेका छन् ।
खाने बेलामा एउटा कुरो नित्य स्मरण गर्छन्– बुढेसकालमा नातिको पौरख खान सहर आएको हुँ; खान्छु मज्जाले । खाइसार कि लाइसार मरेपछि लम्पसार भन्छन् । आखिर यिनलाई यत्तिको बनाउन पनि त मैले हड्डी गालेको छु नि त । एक अनमोल तृप्तिभावले उनलाई अँगालो कस्छ । नातिको भान्सामा खाँदाखाँदै मुसुक्क मुस्कुराउँछन् ।
बुढाको कहिलेकाहीँ शरीर चिलाउँछ । नातिले एकदिन गाडीमा राखेर छाला रोग विशेषज्ञको क्लिनिकमा पुऱ्यायो । जाँच गरेर औषधि मुलो पनि गरायो । आँखा मधुरो बन्दै गएको गुनासो गरेपछि अर्कोचोटि तिलगङ्गा आँखा अस्पताल लगेर उपचार गरायो । डाक्टरले पावरवाला नयाँ चस्मा लगाइदियो । बुढालाई अरू त्यस्तो जटिल रोग केही छैन ।
औषधि खाएर मलम दलेपछि छाला चिलचिलाउने समस्या पनि समाधान भयो । नयाँ चस्मा लाउन थालेपछि आँखाको समस्या पनि दूर भयो । जे भन्यो नातिले त्यही पुऱ्याइदिएको छ । तथापि बुढाको मनको संशय भने अलिकति पनि दूर हुन सकेको छैन । त्यसै संशयले बुढालाई बेला-बेलामा पुक्कपुक्क हिर्काइराख्छ, “नाथुको न खानेपिउने खेतीबाडी छ, न आम्दानी आयस्ताका लागि गाईबस्तु छन् । ऋणपान गरेरै यो रइसी पारा गरेको होला । खोइ ! मैले यसको केही कुरा बुझ्न सकिनँ ।”
मनको कुतकुती एकदिन रोक्न सकेनन् । भात खाने बेलामा नाति बाजे आमुन्नेसामुन्ने बसेका छन् । काँसे थालमा बासमतीको हरहराउँदो बास्ना उडिरहेको छ । मनको दहबाट प्रश्नको बाफ नातिको कानमा एक्कासि ठोकिन्छ–
“कहाँ’ट आउँछ यो बासमाती चामल हँ केटा? न धानको भकारी छ घरमा, न खेती कमाइ नै छ । फेरि दही घ्यु पनि अटुट खुवा’को छस्, न ठेकाभाँडा छन्, न गाईबस्तु नै छन् । कहाँ’ट आउँछ हँ यो ?”
बाजेका प्रश्नले नाति मुसुक्क हाँस्यो र बाको जिज्ञासा शान्त गर्न बोल्यो– “सबै बजारबाट आउँछ बा ! बजारमा जे भन्यो त्यही चिज किन्न पाइन्छ !”
“ए ए ऽऽ ए ए ऽऽ” बुढाले स्वीकार सूचक ढङ्गले मुन्टो हल्लाए ।
त्यस दिन भात खाएर उठे । नाति आफ्नै काममा कोठाभित्र छिऱ्यो । खानापछि एक घण्टा सुत्ने बुढाको बानी छ । बुढा आफ्नै ओछ्यानमा गएर पल्टिए ।
बुढाको मन सोचाइका अनेक आरोह–अवरोहमा रिङ्न थाल्यो ।
“सबै बजारमा आउँछ बा ! बजारमा जे भन्यो त्यही चिज किन्न पाइन्छ !” छोराको यस उत्तरले फेरि उनलाई बेचैन गर्न थाल्यो । बजारमा किन्न त आखिर पैसा चाहियो । पैसा आउने खालको खेती व्यवसाय त केही देख्तिनँ ।
बुढाका मनमा अरू कुरा खेल्दै जान्छ; बिचरा नातिले कहाँबाट ल्याउँदो होला, यत्रो मिठोमसिनो खाने पैसा ?
उहिले आफूले पैसा हाता पारेको घटनाहरू सम्झे– कहिले धान बेचेर पैसा लिन्थे । कहिले मकै कोदो बेचेर पैसा लिन्थे । कहिले खसीबाख्रा बेचेर पैसा हात पार्थे । कहिले घिउ बेचेर पैसा लिन्थे । कहिले कुखुरा परेवा बेचेर पैसा लिन्थे । कहिले राँगागोरु बेचेर पैसा हात पार्थे । खेती किसानी गर्ने मान्छेका लागि नगदआर्जनका यिनै स्रोतहरू थिए । त्यसबाहेक पैसा हात पार्ने अरू कुनै उपाय थिएनन् ।
बुढाको हृदयमा प्रश्नको फेरि अर्को मुस्लो उठ्यो ।
“हैन केटाले पैसा चैँ कहाँबाट ल्याउँछ त हँ ? न बेच्न अन्नपात छ, न कुखुरापरेवा छन्, न बोकाबाख्रा छन् । मैले त यसलाई आपत् नै पो देखेँ त !”
बुढा हान्निँदै एक झट्कामा नातिको कोठामा पसे । ल्यापटप चलाइरहेको नातिले बाजेको अनुहार नियाल्यो ।
“बालाई सन्च भएन कि कसो ? निद्रा परेन ?”
“खोइ ! आज के भ’र हो निद्रै आएन !”
“के भयो त ? शरीरमा सन्चो भएन ?”
“के भो के भो ? मनमा अनेक कुरा खेले । तँलाई एउटा कुरा सोधूँ भनेर पो ?”
“सोध्नू न एउटा किन दसै ओटा सोध्नू न, म बताइहाल्छु नि !”
“अघि भात खाँदा सबै चिज बजारबाट आउँछ बा भनिस् । त्यो त ठिकै हो । सरहबजाराँ किन्न नपाइने चिज केही हुन्न तर बजारमा त्यसै दिन्नन् । खनखनी नखत गन्नुपर्छ । नखत चैँ तेरो कहाँबाट आउँछ हँ ! खेती कमाइ त केही देख्तिनँ त !”
बाका कुराले नाति खिलखिलाएर हाँस्यो । बुढा एक अबोध बच्चाजस्तो निर्दोष आँखाले नातिको अनुहार क्वारक्वार्ती हेरिरहेका थिए । बाले आफ्नो आठ दशक लामो जिन्दगी गाउँमै बिताए । खेतीपाती र पशुपालन कर्ममा डुबेरै वार्द्धक्यको शिखर टेके । स्वभाविक हो, उनको जिज्ञासा ।
बाजे बुढाको अबोध जिज्ञासाले नाति केही बेर अक्क न वक्क पऱ्यो । उनको आँखामा एक निर्दोष नाँचिरहेको थियो । साथै अनगिन्ती सन्देहका किरिङमिरिङ धर्साहरूले मुहार मलिन बनिरहेथ्यो ।
नाति बाजेको उमेरमा पचास वर्षको अन्तराल थियो । बाजेले उन्नाइसौँ शताब्दीको जीवन भोगेर आएका थिए । गाउँमा उनी खेतीपाती र पशुपालनकै जुगमै थिए । नाति सहरमा एक्काइसौँ शताब्दीको उत्तराधुनिक समय भोगिरहेको थियो ।
बाको कुराले उसको मन एक तमासले डाँवाडोल बन्यो । तर पनि बाको जिज्ञासा शान्त गर्नु नै थियो । छनलाई उनीहरू एउटै छतमुनि एउटै समयरेखामा बाँचिरहेका थिए तर बाजे एक शताब्दीअघिको मनःस्थितिमा थिए भने नाति एक शताब्दीपछिको मनःस्थितिमा थियो ।
पुस्तान्तरको यो जटिल विडम्बना बालाई म कसरी बुझाऊँ, उसले एकचोटि आफैँलाई सोध्यो ।
बाको गम्भीर प्रश्न उपर ठट्टा र यथार्थको भाव घोल्दै बोल्यो–
“नखत यसैबाट आउँछ बा !” ल्यापटपतिर सङ्केत गर्दै बाको मुहार हेऱ्यो ।
“हँ ! ल्याप्टूबाट नखत आउँछ !”
“हो बा ! यसमै काम गरेर त घरसंसार चलाएको छु ।”
बुढा चकित भावमा नातिको ल्याप्टू सुमसुम्याउन पुगे । नातिले बाको निर्दोष अनि बाल–सुलभ क्रीडा नियालिरह्यो ।
समाप्त
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।