“तिमी उस्तै रहिछौ, अझ राम्री पो भइछौ । साँच्चै फुर्क्याएको होइन । पहिलोपल्ट क्याम्पसमा तिमीलाई साडीमा देख्दा मेरो मनमा जुन भाव खेलिरहेका थिए, आज यत्रो वर्षपछि भेट्दा ममा त्यस्तै भाव आइरहेका छन्‌ । म दावीका साथ के भन्न सक्छु भने तिमीमा पनि त्यस्तै भाव आइरहेका छन्‌ । हिजो ती आँखाले फ्याँक्ने अनुरागका तरङ्गहरूमा कुनै किसिमको परिवर्तन देखिरहेको छैन ।”

प्रत्युत्तरमा ऊ हाँसिदिई । लाग्थ्यो, सत्यवान्‌ सत्य बोलिरहेको छ |

६० नाघेका दुई बूढा-बूढी रत्नपार्कको एक कुनामा नोस्टाल्जिक मुडमा रोमान्स गरिरहेका थिए | बिहान खाना खाएर भेटिएका यी पाका लभर ४५ वर्षअघिका कुरा सम्झेर घरी खुशी हुन्थे, घरी दुःखेका घाउ सम्झेर सुस्केरा फाल्थे । जब नरमाइला प्रसङ्ग आउँथ्यो, ऊ केही क्षणका लागि स्थगित हुन्थ्यो । जब खुशीका क्षणहरू आउँथे, केटाकेटीझैँ बुरूक्क उफ्रिन खोज्थे ।

मध्य असारमा पनि काठमाडौँमा पानी परेको थिएन ।

घामको चर्को तापका कारण जताजता रूखको छायाँ पर्दथ्यो, जोडी उतै सर्दै जान्थ्यो, ठीक उनीहरूको भावनाजस्तै | दुई घन्टा बितिसक्दा पनि कुराले लय पत्रन सकेको थिएन । फट्याङ्ग्रा उफ्रेझैँ सावित्रीले दुःखको कुरा गर्दा सत्यवान्‌ खुशीका क्षण सम्झन्थ्यो । सत्यवान्‌ले बहादुरीको बखान गर्दा सावित्री उसका कमजोरी खोतलिदिन्थी । पहिलोपटक डेटिङ्‌ गएका टिनएजरझैँ उनीहरू घरीघरी छेउछाउमा कोही त आइपुगेन भन्दै यताउति हेर्थे । बदाम र काँक्रो बेच्नेहरू छेउ आइपुग्दा उनीहरू यसरी पर हुन्थे, मानौँ, एक-अर्कालाई चिन्दैनन्‌ ।

दुई घन्टापछि बल्ल उनीहरूको कुराले लय पक्रन थाल्यो |

“याद छ सावित्री, मैले तिमीलाई प्रेम प्रस्ताव राखेको क्षण ? सावित्रीको हात समाउँदै सत्यवानले भन्यो, “मैले त तिमीलाई लेखेका कुनै पनि शब्द अहिलेसम्म बिर्सिएको छैन |”

प्रेम प्रस्तावको कुरा सुन्दैमा सावित्रीका चाउरी गालामा लाली छायो | घोसे मुन्टोमै उसले आफ्नो आँखाबाट सरेको चश्मा साविक ठाउँमा सार्दै भनी, “यस्तै दुई-चार क्षण छन्‌, जसका कारण जिन्दगीका अप्ठ्यारा दिन पनि काट्ने साहस जाग्छ | तिमीले लेखेको तिमीले बिर्सियौ होला, मैले सम्झिरहेकी छु |

सावित्रीले नाटकको पात्रले झैँ बोल्न थाली ।

“यो पृथ्वी तिम्रो आगमनले हर्षित छ सवी, किनकि तिम्रा आँखाले उसको सौन्दय पान गर्नेछ । यो सत्य तिम्रो उपस्थितिमा पुलकित छ सवी, मेरा आँखाले तिम्रो सौन्दर्य पान गर्नेछ ।”

सावित्रीको मुखबाट पत्रको अंश सुनेर सत्यवान्‌ छक्क परेर हेरिरह्यो । उसले सावित्रीको हात अझै कसेर समात्यो । उसको पत्रको अंश ४५ वर्षपछि पनि सावित्रीलाई याद रहेछ ।

“तिमी ठीक त्यही शब्द मेरा लागि प्रयोग गर्दथ्यौ, जुन मलाई मन पर्थे । तिमी ठीक त्यही कुरा गर्दथ्यौ, जे म तिमीबाट चाहन्थेँ ।, सावित्रीले आफ्नो हात अझ सजिलो गरी समाउन दिँदै भनी, “यस्तै कुराले मलाई बाँच्न हौसला जाग्थ्यो । लाग्थ्यो, यो संसारमा मेरो आगमनको विशेष अर्थ छ ।”

प्रत्युत्तरमा सत्यवान्‌ भित्रभित्रै गद्गद्‌ भयो ।

“थाहा छ सवी, तिमीलाई पत्र लेखेर दिएको रात मैले छर्लङ्ग काटेको थिएँ । तिमीलाई दिनुअघि त्यो पत्र यति धेरै पढेको थिएँ, मलाई पूरै चिठ्ठी कण्ठस्थ भाथ्यो ।”

“मैले पनि त्यो पत्र पटकपटक पढेँ । परीक्षा छ भन्दै लालटिन बालेको बाल्यै, किताबभित्र पत्र राखेको राख्यै, सयौँपल्ट पढेँ हुँला ।”, सावित्रीले चञ्चल हुँदै भनी, “तिमीले मेरो धेरै प्रशंसा गरेका थियौ । अहिले पो थाहा हुँदै छ, त्यो प्रेमपत्रभन्दा पनि मलाई फकाउने उपक्रम पो रहेछ ।”

यसो भन्दा सावित्री केही विस्मित देखिई । सत्ययवानले सावित्रीको ढाड थप्थपायो ।

“कोमल मन थियो सवी, दाउपेच ? आउँदैनथ्यो । जे मनले देख्थ्यो, त्यही लेख्थेँ । दाउपेज जानेको भए, तिमीसँग किन टाढा हुन्थेँ ? यत्रो वर्षसम्म किन विछोडको पीड सहनुपर्दथ्यो ?”

सत्यवान्‌को रून्चे स्वर त्यो चौरको टुक्रामा छरियो ।

सत्यवान्‌को स्वरसँगै सावित्री पनि भावुक भई | एकछिन बोल्नै सकिनँ ।

“सवी, म जे महसुस गरिरहेको छु, तिमी पनि गरिरहेकी छौ ?”

“के महसुस गरिरहेका छौ ?”

“लामो बाक्लो कालो बादल फाट्यो । वर्षा हुनै लाग्यो । म यस्तै महसुस गर्दै छु ।” सत्यवानले माया लाग्दो पाराले सावित्रीलाई हेर्यो ।

“के खाउँलाझैँ गरेर हेरेको ? अहिले कोपरिदिन्छु अनि ।”
झस्कियो । अचानक सत्यवानले महसुस गर्यो, सावित्री ४५ वर्षअघिझैँ केटाकेटी नै छ । उसको पुरानो भन्ने शैलीमा कुनै फरक छैन । कुनै कुरा मन परेन भने ऊ ठाडै भनिदिन्थी, “अहिले कोपरिदिन्छु अनि !” धेरै केटाहरूले उसको नाम ‘कोपरिदिन्छु’ राखेका थिए ।

भर्खरै भेटिएका दुई दुःखी आत्मा फेरि नोस्टाल्जियामा पुगे र हाँसे ।

“हाँस्दाहाँस्दै सत्यवान्ले फेरि उसैगरी सावित्रीलाई हेर्यो । उसले फेरि “कोपरिदिन्छु अनि” भन्छी भनेर । तर उसले त्यसो भनिन । ऊ मनमनै हाँस्यो । बाल्यदिन फर्केर कहाँ आउँछ र ?

सावित्रीको शिरबाट चारवटा केश अनुहारतिर झरेका थिए। अघिदेखि ऊ त्यसलाई हटाउन चाहन्थ्यो, सकिरहेको थिएन । अलि हिम्मत गरेर अघि सर्यो र हातले विस्तारै केश हटाइदियो । सत्यवान्‌को हात जसै उसको शिरमा पुगे सावित्रीले आँखा चिम्म गरी, मानौं आशिष लिँदै छे |

“मलाई त तिमीले गुलावको फूल दिएको पनि सम्झना छ ।, सावित्रीले आँखा खोल्दै भनी, “तिमीले गुलावको फूल दिँदा मेरो मुटु नै बाहिर फुत्केलाजस्तो ढकढक गर्दै थियो । १०३ डिग्री ज्वरो नै आएको थियो होला ।”

“मैले तिमीलाई राजेश खन्ना स्टाइलले प्रेम प्रस्ताव राखेको थिएँ ।”

अनि म फूल लिएर बेस्सरी कुदेकी थिएँ । मलाई कसैले लखेटेजस्तो लाग्यो । गुलावको फूल कहाँ लुकाउँजस्तो भएको थियो |

“तिमी मबाट भाग्दै थियो, मेरो मन तिम्रो पछिपछि थियो |”

फेरि एकछिन चौर मौन भयो | केही पर बदाम बेच्ने र काँक्रो बेच्नेले गरेको कोलाहल सुनियो । दुवैले उता हेरे । किन्ने मान्छेले आफूहरूलाई देखिहाल्छन्‌ कि भनेर फेरि फनक्क फर्किए |

“के सोचिरहेकी छौ ? एक छिनपछि सत्यवानले उसका लागि परम्परागत हाँसो फ्याँक्यो । सावित्रीले देखी, १७ वर्षे किशोर हुँदा सत्यवान्‌ जसरी हाँस्थ्यो, ठीक उस्तै थियो, उसको मुस्काउने शैली । कतै पनि सम्पादन थिएन | शरीरलाई समयले सम्पादन गरेर के भो ? उनीहरूको प्रेम र व्यवहार कसले सम्पादन गर्न सकेको रहेछ र ?

“तिमीलाई हेर्दै छु । यो हाँसो नै मेरो कमजोरी हो । तिमी जसरी हाँस्छौ, मलाई लाग्छ, यो हाँसो केवल मेरो लागि मात्रै हो | मेरो निजी सम्पत्ति ।”

“मलाई डर लाग्थ्यो सवी, सबैले भन्थे, मेरो हाँसोमा एकप्रकारको मादकता छ | तिमीसँग बिछोड भएपछि मैले आफूलाई सधैं हाँस्नबाट रोकेँ ।”

“सत्य ।”, सावित्रीले सासले बोलेझैँ भनी, “हाम्रो मिलन किन हुन सकेन ?”

“किनभने सवी, हरेक प्रेम सफल हुन्छ भन्ने छैन । केही न केही अड्को हुन्छ, प्रेममा ।”

चौरमा फेरि एकछिन मौनता छायो ।

“तिमी अहिले के, सोच्छौ ? हाम्रो मिलन नभएर राम्रो भयो ?”, सावित्रीले आक्रोशित स्वरमा भनी, “हाम्रो विछोड हुनु नियति हो कि तिम्रो कमजोरी ?”

“म विगतमा के भयो सोच्न चाहन्नँ, प्रिय | बरु यसलाई यसरी भन्छु, प्रेममा विछोड भएन भने त्यसमा मिठास रहँदैन | विछोडले शक्ति जुटाउँछ, हिम्मत दिन्छ | यसले जिन्दगी जिउन मद्दत गर्छ ।”

तिमी आफ्नो कमजोरी लुकाउने प्रयास नगर, सत्य त सावित्रीको रिस शान्त भएको थिएन | भनी, “तिमीलाई के थाहा, मेरो सारा जीवन कसरी बित्यो । प्रत्येक समय बिताउन मलाई कति कठिन हुन्थ्यो । लोग्नेसँग सुत्दा कल्पना गर्थेँ, यो अपरिचित व्यक्तिको साटो सत्य भएको भए , | घुम्न निस्कँदा तिमीलाई मनपर्ने दृश्य देख्दा लाग्थ्यो, यो दृश्य किन सत्यले देखेन ।”, बोल्दाबोल्दा सावित्रीको आँखाबाट आँसु खसे । उसले चश्मा खोली, आँसु पुछी र फेरि लगाई ।

सत्यवानले यी दृश्य करूण दृष्टिले हेरिरह्यो ।

“हाम्रो प्रेमको मुनामा कीरा लाग्यो सवी । हाम्रो पिरतीको मुनालाई धेरै कीरा मिलेर खाए | हाम्रा पितापुर्खाले उमारेका गरिबीको कीराले, जात-भातका कीराले, प्रेमप्रतिको दृष्टिकोणको कीराले …।”

सावित्रीले सत्यवान्‌को मुख छोपिदिई । बोल्दाबोल्दै सत्यवान्‌ रोकियो ।

एकछिन दुवैले एकअर्कालाई नबोलीकनै हेरे ।

“आज थाहा हुँदै छ सवी, कीरा जतिसुकै बलवान्‌ हुन्‌, उसले कलिलो मुनालाई मात्र खानसक्छ । फैलिसकेको, झ्याङ्गिसकेको र हृष्टपुष्ट प्रेम दुईचार आक्रमणमा मरिहाल्दैन ।”, उसले भन्यो, “त्यसैले त आज यत्तिका दिनपछि पनि हामीबीचको आकर्षण उत्तिकै छ, मुटु उत्तिकै धड्कन्छ ।

“छोड भाषण गर्न, त्यसबेला तिमीले सानोमात्रै काम गरेको भए, मतलब मलाई भगाएको भए यस्तो अवस्था नै आउने थिएन ।”, सावित्री फेरि च्याँठ्ठिई, “बिहे गर्ने बेला भएको छैन भन्दाभन्दै मेरो विवाह भयो | तिमी लाछी थियौ सत्य, आफ्नो लाछीपनलाई सिद्धान्तको लेपनले ढाक्ने प्रयास नगर ।”

सत्यवान्‌ फेरि उसैगरी हाँस्यो, उही ४०-४५ वर्षअघिको निर्मोही हाँसो | उसलाई सावित्रीले यसरी गाली गरेको मन पर्छ । भित्र उसलाई लाग्छ, कमजोरी उसैको हो | यही कारण पहिले पनि, अहिले पनि ऊ यसैगरी टार्न खोज्छ ।

“वास्तवमा म लाछी थिएँ सवी, ममा केही कमजोरी नै थियो भन्ने कुरा अहिले स्पष्ट हुँदै छ । यसको अर्थ मेरो प्रेम त लाछी वा कमजोर होइन सवी | तिम्रो काठमाडौँको जुन केटोसँग विवाह हुँदै थियो, म गाउँले केटो, उसको बराबरी कसरी गर्न सक्थेँ र ? मुटु थिचेर तिमीलाई विदा गरेँ । त्यही बेला मैले सोचेँ, प्रेममा मिलन हुँदैन | ठूलाठूला प्रेम पनि विछोडमा टुङ्गिएका छन्‌ । मेरो असफलतालाई मैले सिद्धान्तको लेपन लगाएँ ।”

“लाछी !”, सावित्रीले आँखा तर्दै गाली गरी |

“तिमी पनि मलाई भगाएर बिहे गर भनेर कर गर्न सक्थ्यौ । बा-आमालाई म अहिले बिहे गर्दिनँ भनेर विरोध गर्न सक्थ्यौ ।”, सत्यवान्‌ गम्भीर भयो, “प्रेम मैले मात्र गरेको थिएँ र ? तिमीले गाला नदिएको भए, मेरो ओठ जोर्ने हिम्मत कहाँ हुन्थ्यो र ?”

सत्यवानले लामो सास फेर्यो । फेरि केही क्षण वरिपरिको वातावरण मौन भयो |

“सोच्यैँ, छोरी मान्छेले अघि बढ्नुहुन्न । हिजो नातिनीले हाकाहाकी आफ्नो प्रेमी घरमा ल्याएर मसँग परिचय गराउँदा मैले तिमीलाई सम्झिएकी थिएँ ।, सावित्रीले स्वीकृतिको भाषामा भनी, “आजका जस्ता दिन कहाँ थिए र सत्य ? प्रेम गरे, त्यो नै ठूलो कुरा हो | बिर्सन सकेकी छैन, यो नै ठूलो कुरा ।”

“सवी, तिमीलाई कहिलेकाहीँ मसँग भेटै नहोला भन्ने लाग्दैनथ्यो ?”

“माइती जाँदा तिम्रो खोजखबर गर्थेँ । भारततिर गयौ भन्ने सुनेँ । उतै पढ्न थाल्यौ भन्ने सुनेपछि खुशी लाग्यो । एक दिन ठूलो मान्छे बन्छौ भन्ने विश्वास थियो ।”

“मेरो प्रश्नको जवाफ यो होइन सवी !”

साँच्चै भन्ने हो भने तिमीसँग भेट्न मन थिएन । म तिमीलाई त्यहीरूपमा माया गर्न चाहन्थेँ । के थाहा, तिमीले मलाई माया गरेनौ भने, पुराना सबै कुरा बिर्सियौ भने, मेरो हृदयमा सम्हालेर राखेको ठूलो बेलुन क्षणमै फुट्न सक्थ्यो ।”

सत्यवान्‌ मज्जाले हाँस्यो |

“किन हाँसेको, त्यस्तो के भनेँ र ?”

“तिम्रो प्रतीक सुनेर । प्रेम गर्दागर्दै तिमी पनि कवि भइछौ ।”

“तिमीले बनायौ ।”

“साँच्ची, तिमीले कति वर्षपछि बिहे गर्यौ ? वैवाहिक जीवन कस्तो थियो ?”

“तिमीलाई के ढाँट्नु सवी, मलाई तिम्रा माइतीसँग साँच्चै नै रिस उठेको थियो । उनीहरूलाई हाम्रो प्रेम छ भन्ने थाहा थियो | यही कारण चाँडै तिम्रो बिहे गरिदिए ।” सत्यवानको स्वर केही कडा भयो, “तिम्रो बिहे भएपछि म ठूलो मान्छे नभईकन, तिमीभन्दा राम्री केटी बिहे नगरीकन गाउँ फर्किन्न भनेर भारत गएको हुँ | बिहे गर्दा पनि मैले तिमीभन्दा राम्री केटी बिहे गरेँ । तर सवी, जसलाई प्रेम गरिन्छ, उसैसँग बिहे गर्नु र कसैलाई देखाउन बिहे गर्नुमा धेरै फरक हुँदो रहेछ ।”

सावित्रीले ध्यान दिएर उसको कुरा सुनिरहेकी थिई |

“भिन्न परिवेशकी केटी । धनीकी छोरी । म सुखी हुन सकिनँ । म भारत हुञ्जेल खुशी हुन सकिनँ । काठमाडौँ आउन सक्तिनथेँ, तिमीसँगै भेट होला भन्ने डर पनि हुँदो हो । तिमीलाई मेरो दुःख थाहा होला भन्ने लाग्थ्यो । गाउँ पनि जान सकिनँ । त्यही भएर उतै बसियो ।”

यति भनेर सत्यवान्ले सावित्रीलाई हेर्यो । मुसुक्क हाँस्यो ।

“तिमी त बूढी भइछौ ।”

“के आफूचाहिँ तन्नेरी नै छु भन्ने ठान्छौ ?”

फेरि दुवै जना हाँसे । यो हाँसोले वरिपरिको वातावरण पनि हाँसेजस्तै भयो ।

“सवी !”

“हुँ ।”

“कहिले त्यस्तो भयो ?”

“कस्तो ?”

“तिम्रो श्रीमान्‌ !”

“पाँच वर्ष भयो !”

“तिम्री नि ?”

“मेरो त २२ वर्ष भयो !”

“२२ वर्ष एक्लै बस्यौ ।”, सावित्रीले आश्चर्य हुँदै सोधी

“बिहे गर्न सक्थ्यौ नि, सक्दैनथ्यौ र ?”

“कलिला दुई सन्तान हुर्काउनु परेन ?”

“बिहे गर्दा झन्‌ सजिलो हुन्थ्यो नि ।”

“सवी, जीवनमा एउटा प्रेम र एउटा बिहे गरेँ, दुइटै असफल भयो । जीवनमा असफल कति हुनु ?”

“कसैलाई प्रेम गरेनौ ?”

“तिमीलाई गरेँ ।”

“त्यसो भन्न खोजेको होइन । मैले अर्कि केटीको कुरा गरेको ।”

“सवि, जीवनमा एकपटक कुरा हुन्छ होइन र ? तिमीले लोग्नलार्इ माया गर्यौ र ? मलार्इ जस्तै उसलार्इ प्रेम गर्न सक्यौ ।”

प्रत्युत्तरमा एउटा हावाको झोक्का आयो र हरायो ।

सावित्री सुँक्कसुँक्क गर्न थाली ।

“मेरो जीवन पनि असफल बित्यो सत्य | मैले उनलार्इ सम्मान गरेँ, लोग्ने स्वीकार गरेँ तर प्रेमी बनाउन सकिन्ँ ।”

“सवी !”
“हु !”

“तिमी र म भागौँ, शान्ति र प्रेमका साथ जिऊँ न !”

अचानक आएको यो प्रस्ताव सावित्रीका लागि भुँइचालोजस्तै थियो ।

“हिजो भागौं भन्न सकिनँ, तिमीले भगाउ भन्न सकिनौ ।”, हात समाउँदै सत्यवानले भन्यो, “अझै समय छ सवी, बाँकी जीवन प्रेमले बिताऔँ |”

“कहाँ भगाउँछौ ?”, अचानक खित्का छाडेर हाँसी, “थाहा छ, तिम्रो आफ्नो संसार छ, मेरो आफ्नो संसार छ । कहिलेसम्म भगाउँछौ ?”

“तिम्रा छोरानातिलाई भन, म तीर्थाटन जान्छु | म पनि त्यही भन्छु । चारधाम जाने र उतै हराउने ।”

“तिमी त घोर नास्तिक थियौ । चारधाम कहाँबाट सम्झियौ | भाग्ने ठाउँ अरू छैन र ?”, सावित्री उस्तैगरी हाँस्दै थिई ।

“जब मान्छे जवान हुन्छ, उसले पखेटा उम्रेको ठान्छ । त्यो बेला म त्यस्तै थिएँ ।”, हात सुम्सुम्याउँदै सत्यवानले भन्यो, “जब परिस्थिति प्रतिकूल हुन थाल्यो, मेरो कन्ट्रोलर अर्कै छ भन्ने लाग्न थाल्यो । आजभोलि म आस्तक भएको छु ।”

सत्यवान्‌को हातबाट आफ्नो हात छुटाएर सावित्रीले घडी हेरी । साँझको छ बजिसकेको छ | उसले साडी मिलाई । सेता केश सपक्क बाँधी, चिम्टीले ।

सत्यवानले हेर्यो । कलेज पढ्दा पनि उ यसै गर्थी । उसले बुझ्थ्यो, सावित्रीको जाने बेला भयो | त्यो बेला सरकारी क्याम्पसमा युवतीलाई साडी लगाउनु अनिवार्य थियो । सत्यवानले त्यही कुरा सम्झियो ।

“साँझ हुन लाग्यो, म जान्छु ।, सावित्रीले करूण आँखाले सत्यवान्‌को आँखा, नाक, फुलेका दारी र जम्मै शरीर हेरेपछि भनी, “तिमीलाई धेरैधेरै धन्यवाद ।”

प्रत्युत्तरमा सत्यवान्‌ बोल्यो, “फेरि भोलि यहीँ भेटौँला । त्यसपछि के गर्ने सल्लाह गरौँला ।” “कस्तो सल्लाह ?”, सावित्री अनौठो स्वरमा बोली, “बिहानदेखि अहिलेसम्म हामीले कति सल्लाह गरिसक्यौँ । के बाँकी छ ?”

“सावित्री !”, सत्यवान्‌ले गम्भीर स्वरमा भन्यो, “म तिमीसँग विवाह गर्न चाहन्छु ।” सावित्री मुसुक्क मुस्काई । “अहिले छाड बिहेको कुरा, बल्ल त आज भेट हुँदै छ । बरू फोटो खिचौँ ।”

दुवै टाँसिएर बसे । सावित्रीको मोबाइलबाट दुवैले सेल्फी खिचे ।

जाँदाजाँदै सावित्रीको आँखामा आँसु थिए ।

भोलिपल्ट सावित्रीको नातिको फेसबुकमा उनीहरूको सेल्फी लोड भएको थियो । नातिले लेखेको थियो, “मेरो ग्रयाण्ड माँ अनि उनको नयाँ साथी ।”

त्यसमा सत्यवानले लाइक गरी एउटा कमेन्ट लेखेको थियो, “धन्यवाद ओजिस, तिम्रो फेसबुकका कारणले हाम्रो भेट भयो तिमीलीई धन्यवाद !”