कसलाई केको पिर, कसलाई केको, अफिसका मेरा सहकर्मी डेभिडलाई अर्कै पिर ।
वास्तवमा पिरको रूप र रङ्ग, आकार र प्रकार मात्र फरक हो, पिरचाहिँ भगवान्ले सबैलाई बाँड्न कहीँकतै चुकेका छैनन् है !
“आज पुलिसथाना पुगियो, बुझ्यौ ?” सहकर्मी साथी डेभिडले खुइय्या… गर्दै कुरा थाले । म सुन्न तयार भएँ ।
साथी एकदम रमाइला खालका छन् । उसको र मेरो क्युबिकल आमनेसामने छ । ऊ घरिघरि मेरो क्युबिकलमा आएर मलाई जोक्स र रमाइला कुराहरू सुनाउने गर्छन् । उसको कुरा सुनेर म हाँस्छु । कहिले बुझेर हाँस्छु, आधाआधी त बुझ्दिनँ, तैपनि हाँस्छु । यत्तिकै नबुझेर हाँस्नुको मजै अर्को, हैन त साथीहरू ?
उसले कुरोको थालनी गर्दा नगर्दै सोधिहालेँ– “किन, के भयो र ?”
“के हुनु ? उही मेरो आमाको चर्तिकला नि !” उसले आफ्नो आमाको गुनासो सुनायो ।
“के गर्नुभयो र आमाले ?” मैले जिज्ञासा राखेँ ।
वर्णन गर्न लाग्यो उसले– “आमा अलि कमजोर र रोगग्रस्त हुनुभएकाले आफ्नो घरमा एक्लै बस्न गाह्रो मान्नुभएको थियो । त्यसैले घरनजिकैको सिनियर होममा सर्ने आमाको इच्छाअनुसार घर सार्न गएको थिएँ… ।”
उसको भनाइबाट– पहिले आमाको इच्छाअनुसार आमाको घर बेचेछन् साथीले, गाडीचाहिँ हजुरआमाले नातिनीलाई उपहार दिए । सिनियर होमको खर्च र उपचार क्यालिफोर्निया राज्यसरकारको सुविधा, सामाजिक सुरक्षा भत्ता र पेन्सनले पुग नपुग हुने कुरो मैले बुझेँ ।
“आमाको चर्तिकला भनूँ कि अरूको भनूँ !” उसले आमाको बाँकी कथालाई बीचमै रोक्यो ।
“के भयो ? खुलेर भन न !” मलाई खुलदुली लाग्न थाल्यो ।
उसले घटना सुनाउँदै गयो–
“आमाको घर सर्ने क्रममा एक जना मान्छेले हामीलाई, हाम्रो गाडीलाई पिछा गऱ्यो । निकैबेर पिछा गरेकाले त्यसलाई तर्साउन गाडी पुलिसथानाछेउ पार्क गर्न लगेँ । पिछा गर्ने मान्छे पुलिसथानाभित्र पस्यो र केही बेरपछि पुलिस लिएर बाहिर आयो । पुलिसले सोधपुछ छ भनेर मलाई थाना लग्यो ।”
“किन रहेछ त ?” म झन् उत्सुक बनेँ ।
“त्यो मान्छेले मविरुद्ध उजुर गरेको रहेछ ।”
“के भनेर ?” मलाई गजब लाग्यो ।
“के हुनु, उसको गर्लफ्रेन्डलाई मैले अपहरण गरेँ रे !”
उसले थप्यो– “कस्तो वाहियात मान्छे रहेछ ।”
“गर्लफ्रेन्ड ? को ?” नबुझेर आश्चर्यका साथ सोधेँ ।
“को हुनु ? मेरी आमा ।” रहस्योद्घाटन गऱ्यो उसले– “मेरी आमाको ब्वायफ्रेन्ड रहेछ त्यो लम्फु त !”
“अनि…” म हेरेको हेऱ्यै भएँ ।
“मेरो बाउ हो र त्यो, मलाई के मतलब त्यसको !” मेरै अघि क्रोधित बन्यो डेभिड– “आमाका लागि पो सिनियर होमको व्यवस्था गरिदिएको ।”
“के भन्दै थियो त ऊ ?”
“अरू के भन्थ्यो ? ऊ पनि सँगै बस्छु भन्छ ।”
“अनि… ।”
“त्यसले भनेर हुन्छ ? मैले भनिदिएँ– तेरो गर्लफ्रेण्ड हो भने र तैँले सक्छन् भने लगेर पाल् मेरी आमालाई !”
“के भन्यो त उसले ?”
“के बोल्थ्यो त्यसपछि त त्यो लम्फु !” साथीले आफ्नो कथाव्यथा सुनायो ।
एकछिन चुप भएपछि साथीले फेरि कुरो थाल्यो, “आमाबाबुको प्रेमप्रसङ्गमा हामी सन्तानहरूले दखल दिनु मनासिव त हैन, तर कहिलेकहीँ त्यस्तो कार्य पनि गर्नुपर्दो रहेछ जीवनमा ।… मैले सिनियर होमका कर्मचारीहरूलाई पनि भनिदिएँ– त्यो लम्फुले मेरी आमा भेट्न खोजे भेट्न नदिनू !” साथी कम्ताका त रहेनछन् ।
आमाबाबुले अनेक कारण देखाएर आफ्ना सन्तानहरूको प्रेमसम्बन्धमा भाँजो हालेको, सम्बन्ध टुटाएको–छुटाएको कथा त धेरै सुनिएको हो । यस्तो कथामा छोराछोरीका बारेमा ब्वायफ्रेन्ड लम्फु छ, बकम्फुसे छ, सुकुलगुन्डा छ, बेजातको छ वा गर्लफ्रेन्ड गतिली छैन भन्ने किस्सा सामान्य नै हो, ती सबैले सुनिआएकै हो तर यसरी आमाको ब्वायफ्रेन्डको किस्साचाहिँ मैलै पहिले कहिल्यै सुनेको थिइनँ । तपाईँहरूले कतै सुन्नुभएको थियो कि ? गजब मखुला पासा ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।