
साउने सिमसिम झरी परिरहेको थियो । एउटा सानो डाङ्ग्रे रुपी उत्तरतिरबाट उड्दै आयो मिजारेखोलाको तीरैतीर र जुठेल्नुमाथि थपक्क बस्यो । पहेँलो थुतुनो फिरिरिरी हल्लायो ।
कट्कट् च्यूँ च्यूँ गर्दै कराउन थाल्यो । कालो घाँटी पर्लक-पर्लक हल्लायो । कलिला खैरा पखेटा फ्याटफ्याट गर्यो र भुरुरु उडेर आँगनको डिलमा बस्यो । फेरि फुरुक्क उडेर झ्यालको देब्रे फग्लेँटोमा बस्यो, अनि निहुरी निहुरी पहेँला गाजल लगाएका आँखाले कोठाभित्र निहार्यो । भित्र दुई आमा छोरा गुडुल्किएका थिए । केही छिन एकोहोरो हेर्यो । टाउको
एकातिर ढल्काएर मधुरो आवाजमा कुट्कुट् गर्यो र फेरि भुरुरु उडेर तीरैतीर बेपत्ता भयो ।
* * *
त्यो दिन बिहानैदेखि मौसम धुम्म परेको थियो । हुन त केही दिन भयो मौसम बदली हुन थालेको । असार लाग्नै आँट्दा यसो हुनु स्वाभाविक नै हो । तर आज भने बादल अझ बढी कालो भएको छ । सिरानकोटको आडैबाट बादल सोहोरिँदै बेसीतिर मुस्लो परेर झर्दो छ ।
मिजारेखोला आज अरु दिन भन्दा बढी नै सुसाउन थालेको छ । उसका आवाज रिसाएका नागका फुँकार झैं सुनिन्थे । हुन पनि आज मिजारेखोला अरु दिन भन्दा निक्कै बढी अँध्यारिएको छ । अरु बेला सुरम्य सललल मधुर ध्वनि छर्दै बगरका ढुङ्गाहरुसँग झुत्ती खेल्दै बेसीतिर ओर्लिने खोलो आज रिसाएको छ । छिर्केमिर्के नीलोहरियो रङको घुममाथि
छड्के घाम पर्दा देखिने झिल्केमिल्के बर्को ओढेर सुलुलुलु बग्ने खोलो आज मैलो भाङ्ग्रो ओढेर धुम्धुम्ती बग्दो छ, किनारका ओसिला ढुङ्गाहरुलाई आफ्ना छालहरुले निर्घात पिट्दै ।
घुम्रेनीका दश बाह्र घर गुचमुच्च परेर बसेको छ, मिजारेखोलाको काखैमा । यस्तो लाग्थ्यो मानौं मास्तिर लेकबाट घिस्रँदै झरेको निख्खर कालो नाग घुम्रेनीका वरिपरि सर्लक्क एक फन्को मारेर भोर्लेटारतिर झरेको छ ।

बिक्रम भक्त जोशी
खोलो बस्तीको वरिपरि घुम्रिएर बग्ने हुँदा बस्तीको नाम नै घुम्रेनी रहन गयो । शुरुका बेला खोलो घुम्रिएर बग्दैनथ्यो । सोझै बग्थ्यो । तर जबदेखि खोलोको धारले देब्रे कान्लो काट्न थाल्यो, खोलोले बाटो बिरायो । घुम्रिँदै पाँच सय हात पर पुगेपछि सर्लक्क उठेको खेतको गराले खोलोलाई दायाँ हुत्यायो र फेरि शुरुकै खोलाको बाटोमा मिसायो । यसरी, घुमाउरो बग्न थालेको खोलोले छेउघरे पुनेको नौ मुरी धान फल्ने खेत खोलाआ पिँध बनायो । तर खोलोको दाहिने पट्टीको तीरमा भने बडेमानको चौर बन्यो, जहाँ पुने लगायत माथ्लो गाउँका केही टाठाबाठाले हतार हतार तारबार लगाएर जग्गामा आफ्नो कब्जा जमायो । खोलाको किनारैकिनार सिरानकोटबाट झरेका चार पाँच सुकुम्बासी परिवारले बाँसका कप्टेराले बनेको अस्थिपञ्जरमा नीला प्लास्टिकले छोपछाप गरेर लहरै झुपडी खडा गर्यो । यसरी तयार भयो नयाँ बस्ती ।
घुम्रेनीको घुर्मैलो आकाशबाट झरेका दुई चार छिँटा पानी नीलो झुपडीको छानोमा पर्दा टपर टपर आवाज निक्ल्यो । दस हात पर्तिर खोलो छम्लङ् छम्लङ् उफ्रिँँदै भोर्लेटारतिरको बाटो तताउँदै थियो । माझको झुपडीमा सन्ते चिन्तित मुद्रामा कुनामा थचारिएका थिए ।
मनमाया, उनकी बूढी, अर्को कुनामा खट्खट् गर्दै थोत्रो न थोत्रो स्टोभमा दम दिन तल्लीन थिइन् । उनीहरुका छ वर्षका छोरो, ज्ञानु, झोलिएका ग्यान्टिसले अडाउन नसकेको कट्टु एक हातले समाएर प्लास्टिकको ढोकाको कापोबाट उर्लँदो खोलो हेर्दै थिए ।
‘ज्ञान्या आमा, यसपालि भेल त पोर भन्दानि उर्ल्या पो छन्त । पोर’नि झन्डै गाको यो झुप्री । कसरी पो हुन् भग्वानले बचाइ’द्ये तेतिबेला । यो पालि बचाउलान् कि नाइँ,’ सन्तेले चिन्ता पोख्यो ।
‘केई हुन्नन्, ज्ञान्याबा। झुप्रो पाँच हात मास्तिर सार्या छम् अन्त । भेल नपस्ला,’ मनमायाले खसमलाई निश्चिन्त पार्ने कोसिस गरिन् । तर सन्तेले चित्त बुझाएनन् ।
‘हुन्त हो । क्यार्नू बाबै । मनाँ औडा रन्छ त नि । पोर बेलपर्सातको झुप्रो हाम्रै आँखा अल्तिर बग्या हैन्त ? अजै झल्झली आउँछ ।’
हुन पनि पोहोरको बाढीको झझल्कोले सन्तेलाई अझै तर्साउँछ । धन्न बचेको थियो उनको झुपडी । यसपटक त अझ डरमर्दो बादल मँडारिया’छ आकाशमा । डरले उनको मुटुमा ढ्याङ्ग्रो ठटाउँदैछ ।
हे भगवान्, कहिले पो यी दु:खका दिनबाट पार पाउँला ! सन्ते भावविह्वल बन्यो । उनका अतीत आँखा अघिल्तिर परेड खेल्न थाल्यो ।
परार त हो, उनको सिरानकोटको घरजग्गा जम्मै पहिरोले सर्लक्कै बगाएको । कति खुसहालीमा बित्दै थियो, तीनजनाको सानो सुखी परिवारका पलहरु । सानो चिटिक्कको घर, आडैमा मनग्गे खेतबारी, पछिल्तिर करेसा, सँगै जोडिएको गाईगोठ र गोठभरि वस्तुभाउ । तर सन्तेले सपनामा पनि सोचेका थिएनन् कि निमेषभरमा यी सबै अलप हुनेछन् ।
भगवानको कृपाले ज्यानसम्म जोगियो, सम्पत्ति नजोगिए पनि ।
छेउघरे पुने उनकै घर भन्दा मास्तिरका थिए । ऊ भन्दा हुनेखाने त थिएन । तर निक्कै टाठा । पाँच वर्ष काठमान्डु भासिएर फर्किँदा चतुर बनेर फर्किए । वारिपारि गाउँका ठूलाठूलालाई हातमा लिने, पार्टीका नेताहरुसँग सँगाती गर्ने, वडातिर चलखेल गर्ने, सदरमुकामतिर ठूलासाना ठेकापट्टाका काम भ्याउने गर्दागर्दै यिनी धनिकमा दरिँदै गए । घुर्मेनीमा तीन तल्ले पक्की घर बनाए । यिनको रवाफ चुलियो ।
परारको जेठ सक्किनै लाग्दा मिजारेखोला मास्तिरको रोड खुलाउने ठेक्का उसले भेट्टाएको थियो । असारमा बजेट सकाउन गरिने असारे विकासले विकास भन्दा बिनास बढी निम्त्याउँछ । उसले पनि हतार हतार जथाभावी बाटो खन्न थाल्यो । सन्तेको घरजग्गाको ठ्याक्कै मास्तिरबाट । ठेकेदार त भैगयो, इन्जिनियर पनि ऊ स्वयम् आफै । त्यस्तै ताल परे डोजर सुद्द आफै चलाउँथे । पाखैपाखो खनेको बाटोका छेउमा न टेको न पर्खाल किनकि टेको पर्खाल र ग्राभेल बिछ्याउने बजेट त ऊ आफै, सरकारी हाकिम र पार्टीकाहरु मिलिजुली डकारिसकेका थिए । रहलपहल बजेटले बनेको बाटो कुन चैं पो गतिलो हुँदो हो !
आखिर यसरी बेताले पारामा खनिएको जर्जर भिरलाई असारे दर्के पानीको भेलले अझ थिल्थिलो बनायो। भिर थेगिन सकेन र डाँडोको एक भाग सर्लक्क बग्न थाल्यो । सन्ते त्यति बेला गाई दुहुँदै थिए, जब मास्तिरबाट ढुङ्गा माटो फुर्फुरिँदै झर्न थाल्यो । ऊ चिच्याउँदै गोठबाट निक्ल्यो । आँगनमा खेल्दै गरेका छोरोलाई काँधमा जुरुक्क उचाल्यो र सँगै ट्वाल्ल परेर उभिएका स्वास्नीलाई घिच्याउँदै डाँडाको छेवैछेउ कुद्न थाल्यो । फर्केर हेर्दा ढिस्कोले उनको घरसंसार कुप्लुक्कै निल्दै गरेको देख्यो र बिस्तारै बगाउँदै मिजारेखोलामा हुलेको देख्यो । जायजेथा जति जम्मै माटो र पानीमा मिसियो । यसरी उनका दु:खका दिन शुरु भयो । ऊ सुकुम्बासी बन्यो । परिवार पाल्न गिट्टी कुट्न थाल्यो ।
चट्याङको चमकले आकाशको एक पाटो झिलिक्क पारेर उजिल्यायो । लगत्तैको बिजुलीको गड्याङ् गुडुङ् आवाजले सन्तेलाई वर्तमानमा ओराल्यो ।
साँझ पर्दा नपर्दै घुम्रेनी भन्दा उत्तरतिर सिरानकोटको थाप्लोमा विशाल पानी दर्किन थाल्यो तर अचम्म त यो भो कि रात पर्दासम्म दर्के पानीले मिजारेखोलाको भेल बढ्नु साटो घट्न पो थाल्यो । दस हात परको खोलो धकेलिँदै पन्ध्र हात पर सर्यो । किनारमा छिपछिपे पानी हल्का पाराले बग्न थाल्यो । के अचम्म यो !
भएको के थियो भन्देखिन् परार पहिरोले सोतर भएको बाटो खुलाउने काम फेरि यो पटकको बजेटमा पार्न पुने सफल भएको थियो । ऊ फेरि लागिपरेको थियो डाँडो खुर्क्याउन । नतिजा के भो भने यसपटक प्रलय नै भो । मिजारेखोला मास्तिर तीरैतीर खनेको डाँडाको ढिक्का अघिल्लो रात डल्लै खस्यो खोलामा । दुईटा डोजर पनि खोलामै पर्यो । दुईतिर डाँडाको बीच गल्छेँडो पारेर बगेको खोलो पूरै थुनियो । खोलो थुनिएर ताल बन्यो । रातभर घुम्रेनीतिर पानी बग्न पाएन । बस्तीमा भेल घट्यो ।
तर बिहानीपखसम्ममा थामिनसक्नु पानी भरिएपछि भने ताल फुट्यो । एकैपटक पानी ह्वार्ह्वार्ती निक्ल्यो र घुम्रेनीलाई निल्न तँछाडमछाड गर्दै डाँडाको बाटो ओर्ल्यो । बिहानको झिसमिसे हुँदो हो, सन्ते झसङ्ग भएर बिउँझियो । बाहिर बस्तीमा कल्याङ् मल्याङ् सुनियो । कोही आतिँदै चिच्याउँदै थिए ।
‘ओ ह्वै… सबजना उठ हौ । भेल पसो । निस्क हौ,’ आँखा मिच्दै सन्तेले मनमायालाई घच्घचाएर जगायो, ‘ज्ञान्या आमा, उठ् । बित्याँस परो । छिटो गर् । भेल पसो अरे !’
सन्तेले छोरोलाई हत्त न पत्त न्यानो स्विटर लाइदियो । डसनामुनि प्लास्टिकले जतनसाथ बेरेर राखेको गोटा पाँच हजार झिकेर गोजीमा घुसार्यो । अरु के बोक्ने के नबोक्ने – ऊ रनभुल्लमा पर्यो ।
लोग्ने अल्मलिएको देखेर मनमायाले उनको हात समाएर तान्यो, ‘आ होस्, ज्यान रहे ई भन्या जोर्दै गरम्ला । अहिलेलाई ज्यान जोगाम् ।’
हो त । सन्तेलाई मनासिब लाग्यो र बाहिर हुत्तियो । दैलो बाहिर पाईला के टेकेका थिए, दुबै खुट्टा पानीमा छम्लङ् पर्यो ।
लेदो मिसिएको धमिलो न धमिलो पानीले खोलोपट्टीको बस्तीलाई लपक्कै भिजाइसकेछ र बिस्तारै घस्रँदै दायाँ सर्दै थियो । यस्तो लाग्थ्यो कुनै विशाल कालो सर्प अजङ्गको मुख बाएर बस्तीलाई निल्दै निल्दै अघि बढ्दै थियो ।
बस्तीका सबैजना कोही पाइन्ट त कोही कुर्ता माथि सार्दै, कोही सारी उचाल्दै हिलाले ल्यास् ल्यास् परेको बाटो छिचोल्दै थिए । छिटो निस्केकाहरु दायाँपट्टीको हर्लुङे डाँडा चढ्न थालिसकेका थिए । छोरो काँधमा बोकेका सन्ते डाँडो चढ्दै गर्दा स्याँ स्याँ पर्यो । छातीको देब्रे पाटो फुट्ला झैं भयो । तर स्वास्नी चैं लाई अघि लगाएर उनी चढ्दै गए । रोकिएनन् । डाँडाको टुप्पो नपुगेसम्म रोकिएनन् ।
हर्लुङेबाट तल बस्तीमा नजर दौडाउँदा सबको होशहवास उड्यो । भर्खर छिचोलिभ्याएको बाटो भेलको पानीले डुबाइसकेको थियो । सन्तेको झुपडी आधा पानीमुनि डुबिसकेको थियो ।
प्लास्टिक बगेर कप्टेराहरु ठिङ्ङ उभिएका थिए । मनमायाले सन्तेको हात कसेर पकड्यो र रसिलो आँखाले आफ्नो बास डुब्दै गरेको हेर्यो ।
उता आफ्नो रवाफिलो तीनतले घरको भुइँ तलालाई भेलको पानीले डुबाउँदै गएको हेर्दै पुने पनि मन कुँड्याउदै थिए ।
तीनतले घर घुर्मेनी भरि उसको मात्र थियो, तब न अरुका एक तले घरहरु डुबेर खोलोभित्र बेपत्ता भैसक्दा उसका घरका दुई तला अझै सङ्लै पानीमाथि तैरिएका देखिन्थे, मानौं कुनै सानोतिनो पानीजहाज तैरिएको होस् ।
जति जति आफ्नो घर डुब्दै गएको देख्यो उति उति पुने आत्तिन थाल्यो । जब घरको भुइँ तलाबाट पानी उँभो लाग्यो, ऊ औडाहाले चटपटाउन थाल्यो ।
‘तँलाई भनेकै थिएँ, दराजाँ हाल् भनेर । जान्ने भएर दलिनाँ सिउरिने भा । अब लाइस् गहना । कत्तिन माइताँ धक्कु लाउन दिनुपर्या । नद्या भे कमसेकम दराजाँ त र’न्थ्यो । भेल सुके’सि तीँ त र’न्थ्यो । अब त भेलले बगाएर सोत्राउने भो । बडो गहना लाउन दिने भाको । तेरा किरा पर्या बुद्धि,’ आत्तिएको सुरमा पुने स्वास्नीलाई खाउँला झैं हेर्दै फत्फताउन थाल्यो ।
‘आफू नि आफू ? दराजबाट पोकै झिकेर किन खेलाइ बस्नु पर्यान्त,’ आईमाई पनि कड्की ।
‘चुप लाग् । ह्याँ औडा भैसक्यो । आफ्नो भएभरको कमाई डुब्नेभो । बर्बाद हुने भएँ,’ पुर्पुरोमा हात हालेर पुने ढिस्कोमा थ्याच्च बस्यो ।
स्वास्नी चैं निन्याउरियो । जसको भए पनि आखिर गल्ती त भएकै हो ।
कालो धनले मनमा शान्ति दिँदैन । मन पोल्छ । कति बेला के बिपत्ति आईलाग्ला भन्ने डर रहिरहन्छ । पुनेले आफूले छलकपट गरि कमाएको पैसा बैंकमा राख्न डराए । कतै कानूनी अड्चन आइपरे, उतै अड्केला भनेर भयभित जो थिए । बरु पैसोलाई सुन बनाएर आफैसँग राखे कमसेकम आफ्नो पकडमा त रहन्छ ।
यही सोचेर उसले भएभरको पैसाले सुन किन्यो । आधाको गरगहना बनायो स्वास्नीका लागि र आधा छापावाल ढिक्के बिस्कुटहरु जस्तातस्तै रहन दियो । अघिल्लो दिन मात्र स्वास्नी चैंले माइतमा पैंचो दिएको गहनाको पोको फिर्ता ल्याएकी थिइन् । दराजको सुनको पोको निकालेर एकै ठाम जतनसाथ मिसायो र बडो आनन्दी भावले हातमा लिएर खेलाउन थाल्यो
।
त्यति नै बेला पल्ला घरका बिराजेले बोलाएकोले पोको दराजमा राख्न स्वास्नीलाई अह्राएर ऊ आँगनमा झर्यो । स्वास्नी चैंको सुद्धी, घरधन्दाको चटारोमा पोकोलाई दराजमा हुल्नु साटो दलिनको कापोमा सिउरिन् र पछि उतै बिर्सिन् । भेलको त्रासमा भागाभाग हुँदा पोको उतै छुट्यो ! यसैको रन्कोले पुने रन्थनिएका थिए यति बेला ।
चिसो स्याँठले सबै कठ्याङ्ग्रिएका थिए । पानी अनवरत पर्दै थियो । ओत कतै थिएन । बिजोग व्याप्त थियो । भेल झन् झन् बढ्दै थियो । अब त पुनेको घरको पहिलो तला आधाउधी डुबिसकेको थियो । पुने बहुला सरि ओहोरदोहोर गर्दै थिए । उसको सम्पत्ति लुकेको कापो र भेल बीच अब एक घण्टाको समय बाँकी हुँदो हो । त्यसपछि ऊ पनि कँगाल ।
पुने निकै बेर एकोहोरो घोरियो । बेलामा पौडिन नसिकेकोमा थकथकायो । टाउको हल्लाई हल्लाई अनेक थोक गम्यो, अनि जर्याकजुरुक उठेर सन्ते भएतिर गयो ।
‘हेर सन्ते । मेरा कारन भनूँ कि के, तेरा घरखेत बग्यो । देख्दैछस्, अहिले मेरा घर नि बगाउन लाग्यो । मलाई सायद तेरो पाप लागेछन् बाबै । म प्रायछित गर्न चा,’ सन्ते बिना कुनै भाव कुरो सुन्दै थियो । ऊ त आफ्नो भाग्यलाई दोष दिन्थ्यो । पुनेलाई दोषी कहिल्यै ठानेनन् । तर किन प्रायश्चित गर्छु भन्छ पुने, उसले बुझ्न सकेन ।
‘यता सुन्, सन्ते । तँलाई मेरो सुत्ने कोठा थाहै छ । तँ एकताल आएकै होस् । ऊ त्यो बीचको झ्याल देख्दै छस् नि, त्यही हो,’ पुनेले औंलाले देखाएको झ्यालतिर नजर दौडायो सन्तेले ।
झ्याल ह्वाङ्गै खुल्ला थियो । पानीले झ्यालको कपाट भेट्न लागिसकेको थियो ।
स्वास्नीसँग साउती पछि ऊ फेरि बोल्यो । ‘त्यो कोठाको बीचको खाँबोसँगैको दलिनमा एउटा पोको छ । त्यसमा मेरो जिन्दगीभरको कमाई छ । त्यसमा… त्यसमा… ,’ पुने एकछिन अन्कनायो ।
‘त्यसमा सय तोला सुन छ । त्यो लिएर आइज । आधा तेरो भो,’ उसले एकै सासमा पछिल्ला तीन वाक्य टुङ्ग्यायो र लामो सास फेर्यो ।
सन्ते एकछिन ट्वाल्ल पर्यो । बिहेका बेला आधा तोला सुनको टप र एक तोलाको सिक्री मनमायालाई दिएका थिए । त्यो पनि बितेकी आमाको नासो । जुन पहिरोमा बेपत्ता भैहाल्यो। हैन ! सय तोला सुनको डल्लो कत्रो हुन्छ ? छोरोको टाउको जत्रो ? मनमायाको टाउको जत्रो ? सानामा खेल्ने भकुण्डो जत्रो ? मनमनै उनले पचास तोला सुनको मोल जोख्यो ।
मनमायालाई कति सुख दिन सक्छ त्यति सुनले ? छोरोलाई कति खुसी दिलाउन सक्छ त्यति सुनले ? सिरानकोटबाट यता झरेदेखि बास गतिलो रहेन । अब त त्यो पनि रहेन ।
गतिलो बास बन्ला त त्यति सुनले ? दुई छाक मीठो ख्वाउन सक्या हैन । मासु ख्वाउन नपाएको यस अघिको दशैंबाट हो । स्वास्नीलाई नयाँ सारी किन्दिन सक्या हैन । छोरो उही पुरानो ग्यान्टिस फुस्क्या कट्टुकै भरमा छ । जिन्दगीका सबै अभाव पूरा गर्ला त त्यति सुनले ?
सन्तेले मनमाया र ज्ञानुलाई हेर्यो । दुबै चिसोमा थुर्थुर काम्दै थिए । साह्रै निरीह । साह्रै टिठलाग्दा । मनमायालाई राम्राराम्रा लुगाले ढपक्कै सजाउने त रहर छ नि । तर उनको फाटेको चोलीले जिस्काएको त उहिल्यैदेखि हो । जीवनभर सुखी राख्ने बाचा गरि बिहे गरेको त हो नि । तर बाचा पूरा गर्न छाडेको पनि त उहिल्यैदेखि हो । छोरोको कट्टुको ग्यान्टिससम्म फेर्न सक्या हैन । बिचरो बालक कट्टु समाई समाई लाज बचाउन बाध्य छन् ।
सन्तेले अठोट गर्यो ।
‘के सोच्दैछस् ? छिटो गर् । समय धेर छैन,’ पुनेको आवाजले सन्ते झस्क्यो ।
सन्ते लुगलुग काम्दै गरेकी मनमायाका अगाडि थुचुक्क बस्यो । केही कुरो गर्यो । कुरो सुनेर मनमाया झस्की । बुढोको हात समाएर शिर बेस्सरी हल्लाई । रुन्चे अनुहार लगाएर गिड्गिडाउन लागी । बस्तीकाहरुले पनि सुने । कुरो सुनेर जिल्ल परे । यो मूर्ख्याइँ हो भन्दै उनलाई सम्झाए । तर सन्ते मानेन । स्वास्नी र छोरोलाई लामो अँगालो मार्यो र लसक लसक ओरालोतिर लाग्यो ।
‘बाचा नभुलेस्,’ जाँदाजाँदै पुनेतिर फर्केर उसले भन्यो । मनमाया डाँको छाडेर रुन थाली ।
‘ज्ञान्या आमा, सुर्ता नली । मलाई केई हुन्न । म फर्केर आम्छु । यो मेरो बाचा भो ।’
बाचा । आखिर बाचा नै त हो विश्वासको आधार । त्यही बाचाको भरमा सन्ते आफ्नो ज्यानको बाजी थाप्न तयार भो । मनमाया सम्हालिइन् । बाचा तोडिएला भन्ने विश्वास गरिन्न । बाचाको भर पर्न छोडिन्न । किनकि यो त कसैको मनमा लाइदिने भरोसाको अमूर्त ल्याप्चे न हो ।
डाँडाको फेदको बीस हात माथिबाट भेल बग्दै हुँदो हो । पुनेको घर बाहेक बस्तीको नामोनिसान बाँकी थिएन । सय हात जति पर पुनेको घरको डुब्न बाँकी भागले कुनै बेला बस्ती यहाँ थियो भन्ने जनाउ गर्दै थियो । उर्लँदो भेल एकछिन हेर्यो सन्तेले । डाँडामाथिबाट हेर्दा भन्दा नजिकबाट अझ भयावह देखियो । उ बेला यो खोलो पौडेर वारपार गर्न उसका लागि बायाँ हातको खेल थियो । तर अहिले ? यो भेलमा ?
धर्मराएको मनलाई बाँध्यो । सुनका गहनाले मनमायालाई छ्पक्कै सजाएको कल्पना गर्यो । सुकिला लुगा लगाएर स्कुल जाँदै गरेको छोरोको कल्पना गर्यो । कत्ति सुहाएको स्कुले ड्रेस छोरोलाई । ऊ मनमनै हाँस्यो । मुस्कुराउँदै आँखा चिम्ल्यो । कुलदेवतालाई याद गर्यो । र, झ्वाम्म खोलोमा फाल हान्यो ।
* * *
‘ऊ… ऊ… त्याँ र’छ । देखिस् ?’ डाँडामाथि सबैजनाको नजर खोलातिर थियो । धमिलो खोलाको भेलले एउटा सानो कृतिलाई उछाल्यो । मनमाया हेर्न नसकेर अर्कोपट्टी फर्किइन् । धारभन्दा मास्तिरबाट फाल हालेको त्यो आकृति छड्के छड्के पौडिँदै पुनेको घरसम्म बग्यो र ह्वाङ्ग खुल्ला रहेको झ्यालमा ढेपिन पुग्यो ।
‘बज्याले गरिछाड्यो,’ सन्ते झ्यालको बाटो घरभित्र छिरेको देखेर बस्तीकाहरु सबै खुसी देखिए । पुने अझ बढी खुसी देखियो । हुन पनि त्यत्रा बिधि सुनको सवाल छ ।
‘अब नअल्मली काम फते गरे हुन्थ्यो । खोलो बहुलाका छन्,’ उसले सोच्यो ।
सबैजनाको हेराई एकटक झ्यालमा अल्झिएको थियो । पाँच मिनेट बित्यो, दस मिनेट बित्यो, पन्ध्र, बीस । अहँ । आकृति झ्यालमा फर्केन । मनमाया आतिँदै ओरालोतिर फराल्न तम्तयार भयो । माहिली भाउजूले पाखुरा समाएर अँठ्याइन् । झरीको आवाज बीच उनका च्याँठिएको रुवाईले वातावरण बोझिल बन्यो । ज्ञानु ट्वाल्ल परेर आमाचैंलाई हेर्दै थिए ।
उसका आँखाको डिलबाट पानी तर्क्यो । त्यो झरीको पानी थियो कि आँसु थियो, त्यो भने छुट्टिएन ।
आधा घण्टा बित्यो । एक घण्टा बित्यो । सन्ते फर्किँदै फर्केन । पुने निराश भो, सुनको पोको जो गुम्यो । अरुले भने उसलाई दोषी ठहराए । सन्तेलाई उक्साएर मृत्युको मुखमा पुर्याएको दोष लगाए । ऊ घोसेमुण्टो लाएर रुखको ओत लाग्यो । आफ्ना कुकर्महरुको लेखाजोखा गर्यो । हुन पनि उसका कारण कतिजनाका ज्यान गए । कतिजनाको घरबार सखाप भए ।
राहतमा आएका सामान झ्वाम पारे । कतिजना खानै नपाएर मरे । उसकै ठेकेदारीमा बनेको पल्लो गाउँको पुल भत्केर नौ जना ठाउँको ठाउँ खोलामा बगेर मरे । उसका पापी नियतले खनिएका बाटोले निम्तिएका पहिराले कतिजनाको उठिबास भो । र, सन्ते पनि उसैका कारण…
‘पुने !’ ऊ झसङ्ग भएर यताउति हेर्यो । सन्ते डाँडा चढेर उतै आउँदै थियो । पुनेको हर्षको सीमा रहेन ।
‘सन्ते । मेरो भाइ । तँ बचिस् ?’ पुनेले सन्तेलाई गम्लङ अँगालो हाल्यो र सुँक्सुकाउँदै रुन थाल्यो । उसले मनको ठूलो बोझ बिसायो ।
‘किन आत्या ? म ठीक छु त !’ सन्तेले अनुहारको पानी कमिजको फेरले पुछ्यो र मुसुमुसु हाँस्यो ।
‘बरु तेरा सुनको पोको ल्याउन सकिनँ त पुने । नरिसा है ।’
‘भो । चाइन्न । तँ आइस् । त्यही ठूलो कुरो भो !’ बोल्दाबोल्दै पुनेको गला अवरुद्ध भो ।
‘ह्याँ बस् । मेरो कुरो सुन्,’ सन्तेले पुनेलाई तानेर आफूसँगै बसाल्यो, ‘कुरो यस्तो भो । दलिनको कापाँ तेरो सुनको पोको त भेट्टा’थेँ । ले’र फर्किँदै नि थेँ । तर कोठामा भेल छिरिगो । मलाई पछिल्तिरको झ्यालबाट बाहिर हुत्याइगो । पौरिंदा पौरिंदा ज्यू गलो । पोकोले त झनै गलायो । बग्दै बग्दै परै पुगीँ । सिउघाट पुग्दा छालले उचालेर कसोकसो किनाराँ पुरायो । घाइते थेँ, त्यसैले पोकोलाई घाटमुनिको ढुङ्गाको चेपोमा घुसारेँ । अहिले नि तीँ छ । लिन जालास् । ज्ञान्या आमालाई म आको भन्दे । म आज रातलाई ओत खोज्न हिंडेँ,’ सन्ते डाँडाको छेकोमा हरायो ।
‘बाचा नभुलेस् है पुने !’ नेपथ्यबाट सन्ते कराएको पुनेले सुन्यो । तर फेरि उसलाई लाग्यो कानै छेउ कोही रुँदैछ । ऊ झस्याङ्झुसुङ् भएर बिउँझ्यो । बस्तीकाहरु मनमायालाई सम्झाउँदै थिए । भेल बग्दै नै थियो । झरी पर्दै नै थियो । उसको घर झण्डै झण्डै सम्पूर्ण डुबिसकेको थियो ।
आँखा झपक्क भएछ । कस्तो सपना देखेछु । रुखमुनि घोसेमुन्टो लाएर बसेका पुनेले मनमनै सोच्यो । सबैजनाले हर्लुङे डाँडाको गज्मौरोमा जेनतेन रात गुजारे ।
भोलिपल्ट झरी निख्रियो । बस्ती पानीको मुनि अत्तो न पत्तो हराइसकेको थियो । भारी मन लिएर सबैजना कोही कता कोही कता बास खोज्न गए – सुकुम्बासी जो बनेका थिए ।
इन्तु न चिन्तु परेका मनमाया धेरै बेर हर्लुङेमै अल्झियो । के गर्ने, के नगर्ने ? किंकर्तव्यविमूढ ! विश्वास कसरी गर्नु कि सन्ते अब फर्किन्न । हिजासम्म त सँगै थियो ।
बात मार्दै थियो । तर ऊ हिँड्यो । बाचा गरेका थिए फर्किन्छु भनेर । तर बाचा लत्याएर हिँड्यो । मनमाया डाँको छोडी छोडी रुन थाली । तर बालक छोरोका लागि भएपनि आफूलाई सम्हाल्नु थियो – सम्हालिइन् । छोरो च्यापेर मिजारेखोलाको तीरैतीर दक्षिण लागिन् – कहीँ कतै खोला किनारमा मुस्कुराउँदै गरेका लोग्ने भेट्टिएला कि भन्ने आस मनमा बोकेर ।
उता पुने आत्मग्लानिको आगोमा जल्न थाल्यो । मन भत्भती पोल्यो । यसपटक साँच्चिकै प्रायश्चित गर्नु थियो उसलाई । ऊ सिउघाट लाग्यो । नभन्दै घाटको ढुङ्गाको चेपोमा उसले आफ्नो सुनको पोको भेट्टायो । आधा भाग छुट्ट्याएर अलग्गै राख्यो ।
‘धन्यवाद, सन्ते !’
उसले मनमनै भन्यो । उसको आँखाको डिलबाट खसेको एक ढिक्का आँसु घाटको पानीमा मिस्सिएर बिलायो ।
* * *
जुन बेला एउटा लास मिजारेखोलाको धमिलो पानीमा डुब्दै उत्रँदै सिउघाटबाट घोर्लेटारतिर बग्दै थियो, त्यत्ति नै खेर घाट छेउको सुरिलो रुखको टोड्कामा एक जोडी डाङ्ग्रे रुपीले एउटा बचेरो कोरल्यो । झरीमा रुझ्दै रुझ्दै त्यो डाङ्ग्रेको बच्चो एक महिनामा हुर्क्यो, अनि लगत्तै कलिलो पङ्ख फिँजाएर उत्तरतिर उडान भर्यो – मिजारेखोलाको तीरैतीर । एउटा घर
अघिल्तिर पुगेर पखेटा फड्फडाउँदै ओर्ल्यो र जुठेल्नुमाथि थपक्क बस्यो । पहेँलो थुतुनो फिरिरिरी हल्लायो । कट्कट् च्यूँ च्यूँ गर्दै कराउन थाल्यो । भुरुरु उडेर आँगनको डिलमा बस्यो । फेरि फुरुक्क उडेर झ्यालको देब्रे फग्लेँटोमा बस्यो, अनि निहुरी निहुरी कोठाभित्र चियायो । भित्र दुई आमा छोरा गुडुल्किएका थिए । केही छिन एकोहोरो हेर्यो । टाउको एकातिर ढल्काएर मधुरो आवाजमा कुट्कुट् गर्यो र फेरि भुरुरु उडेर दक्षिणतिर बेपत्ता भयो ।
कसैले आज आफ्नो बाचा पूरा गर्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










