मलाई मेरी साथी समिताले यो कथा भनेकी थिई एक वर्षअघि । उसबेला मैले उसलाई खिल्ली उडाएँ ।
“यस्तो पनि कथा ! यस्तो पनि जीवन !…., हाहाहा ।”
“मरेकी ओइ थाँगे, रियल हो यो कथा ।” उसले साँच्चै गम्भीर भएर भनेकीथिई ।
आज म मेरो मनले, मेरो इन्द्रियले सुन्दै छु यो कथा । उसको जीवनको एउटा अनौठो अनुभूति ।
०००
पुस महिना सुरु भएको थियो । हाम्रो पढाइ पनि तीव्र गतिमा चलिरहेको थियो । बिहानीसिफ्टका कक्षाहरू थिए । छ बजेदेखि साढे दश बजेसम्म चल्थे हाम्रा कक्षाहरू । त्यो पुसमा तराईलाई त झनै हुस्सेले छ्याप्पै छोपिदिन्छ । निकै दिन भएको थियो हुस्से लागेको ।
बिहानी सत्रको पढाइ भएकाले गर्दा प्रायः धेरै साथीहरू दिउँसो जागिर खाने, पसल गर्ने, ठेक्का गर्ने, राजनीति र सामाजिक काम गर्ने गर्थेँ र त्यो सबै जनाको सहज समय थियो त्यो । त्यही भएर त्यहाँ देखिन्थ्यो साथीहरूको कोलाज, रङ्ग र साथ । त्यो अनौठो र अकल्पनीय फूलबारी थियो क्याम्पसको पढाइ । अञ्जना सहकारीमा लेखापाल थिई । विशाल गाडीको सो-रुमको कर्मचारी थियो । बन्दनाको आफ्नै रेडिमेड कपडाको पसल थियो । स्मिता ब्युटीपार्लरको मालिक्नी थिई । सूरज मोटरसाइकलको ग्यारेज सञ्चालक थियो । अरू पनि धेरै साथीहरू काममा लागिसकेका थिए । कमर्स विषय पढेर आत्मनिर्भर हुन पनि सिकिएन भने त्यो डेबिट र क्रेडिटका फर्मुला रटेर जिन्दगी कहिल्यै पनि बन्ने वाला थिएन । ती सूत्रहरू जीवनका सूत्रभन्दा फरक थिए ।
हामी जीवनलाई पैसाको कमाइसँग जोडेर हेर्ने पूरापूरी भौतिकवादी भइसकेका थियौँ । हाम्रो आफ्नै धुन थियो । आफ्नै जिन्दगी थियो । गुँडबाट भुर्र उडेको चराको बच्चाजस्तै ।
फटाफट सुरुका तीनवटा कक्षाहरू पढ्ने, अनि त्यसपछि लाग्ने गर्थ्यौँ हामी आफ्नै जिन्दगीका सूत्र बनाउन । लेखाका सूत्रलाई जिन्दगीका सूत्रमा राखेर कहिल्यै पनि हेरिएन । धुन त्यसतर्फ जाँदा पनि गएन । हामी फुर्सद हुँदा आफ्नै कामका कुरा गर्थ्यौँ । पढाइभन्दा काम प्यारो भयो, पैसा प्यारो भयो ।
हामी कोरियन जुत्ता, स्विटरमाथि ज्याकेट र टोपी लगाएर आउँथ्यौँ । हात चिसा हुन्छन् भनेर पन्जा लगाउँथ्यौँ । अनि पिरियडैपिच्छे चिया खान्थ्यौँ । त्यो हुस्से लाग्दा आनन्दको न्यानो महसुस गर्थ्यौँ । तलब आएका बेला हामी सपिङ गर्न सिलिगुरी जान्थ्यौँ । बाबुआमालाई आर्थिक रूपले बोझ घटाएका थियौँ ।
“जिन्दगी पनि डेबिट र क्रेडिटमा सकिने भयो मोरी हो ।” आरजुले गम्भीर कुरा उठाई । उसको यस्तै बानी पनि थियो ।
“कसरी ?” बन्दनालाई चित्त बुझेन ।
“तलब आयो डेबिट भयो । सबै खर्च भयो क्रेडिट भयो । आयो गयो, बस् ।”
“यही मात्र हो त जीवन ?” मैले प्रतिवाद गरेकी थिएँ साथीहरूलाई ।
“ओ दार्शनिकज्यू, अरू केही छ कि क्या हो ? कुरा त त्यस्तै आए त बा !”
म शान्त रहेँ । तिनले जीवन भनेको कमाउने र कमाएको खाने भाँडो सम्झेका छन् । जीवनलाई यन्त्र सम्झेका छन् । साथी हुन्, समर्थन गरेँ ।
“बच्ची नै छु भन्ठान्छौ कि क्या हो केटी हो आफूलाई ? तिमीहरूका पनि खोल्नैपर्छ मैले ?”
सबै शान्त रहे ।
क्यान्टिन हाम्रो मुस्कुराउने अखडा थियो । लाइब्रेरी अर्को अखडा थियो अनि अङ्ग्रेजीको कक्षा थियो सबै मुस्कानहरूलाई “म्यानेज” गर्ने किनभने अङ्ग्रेजी कक्षामा मात्र हामी जीवनका अनेक रेखाहरू कोर्थ्यौँ र तिनका प्रपञ्चहरू केलाउँथ्यौँ । सपना देख्न सिक्यौँ त्यहीँ । जीवनको भोगाइलाई व्यक्त गर्न सिक्यौँ त्यहीँ । जीवनका रङ्गहरू आउने र अस्ताउने अनुभूतिका कथाहरू सुन्यौँ त्यहीँ । विश्व संस्कृति, जीवनशैली र मानवीय प्रवृत्तिका ठुलाठुला फेहरिस्तहरू सुन्यौँ त्यहीँ । प्रेमका कुरा देख्यौँ, घृणाका कुरा देख्यौँ, मान्छेका हिजो, आज र भोलिका अन्तहीन सङ्घर्षका राप र तापहरू देख्यौँ त्यहीँ । मान्छेका कुण्ठा र असन्तुष्टिले निर्माण गरेका भत्काउनै नसकिने दिवारहरू पनि देख्यौँ त्यहीँ । मान्छेका कहिल्यै ननासिने मुस्कानहरू पनि देख्यौँ त्यहीँ । त्यो अकल्पनीय मानवता र मानवीय रूप कहीँ पनि कतै पनि नदेखेका देख्यौँ हामीले त्यहीँ ।
म सधैँजसो अङ्ग्रेजी पिरियडमा यस्तो महसुस गर्थेँ र आफैँसँग संवाद गर्थेँ । जीवनका अनपेक्षित रूप र रङ्गहरू देखेर हराउन मन लाग्थ्यो । म साथीहरूलाई पनि फरक फरक ढङ्गले देख्ने गर्थेँ । म उनीहरूलाई पढ्ने कोसिस गर्थेँ ।
म भिन्न अनुभूत गर्थेँ साथीहरूका बारेमा । ती अकल्पनीय हुन्थे ।
म कक्षामा गए पछि सधैँ सेतो सर्ट, कालो प्यान्ट र फित्ताले बाँध्ने चप्पलको साथीलाई हेर्थेँ । यो पुसको कठ्याङ्ग्रिने जाडामा पनि उसको हुलिया फेरिएको थिएन । ऊ सेतो कटनको सर्ट लाउँथ्यो । भित्रबाट एउटा पातलो हाइनेक हुन्थ्यो । चिप्लो खाले कटनकै प्यान्ट होला सायद, त्यही हुन्थ्यो हरेक दिन । फित्ताले खुट्टा बाँध्ने चप्पल लगाएको हुन्थ्यो । त्यो पनि कहिल्यै फेरिएको थिएन । उसको टाउको खुल्लै हुन्थ्यो । टोपी पनि हुँदैनथ्यो । क्याम्पसमा हरेक दिन उसको उही गेटअपमा हिउँदका पुस र माघ बित्दै थिए ।
माघ लाग्यो । हुस्सेले तराई ढाकेको महिनौँ भइसकेको थियो । पानी परेजत्तिकै पृथ्वी भिजेको हुन्थ्यो । बस्ने बेन्चहरू पानी घोप्ट्याएजत्तिकै भिजेका हुन्थे । ऊ त्यसैमा हातले पुछेर बस्थ्यो ।
उसका किताब थिएनन् । एउटा कपी बोकेको झोला मात्र हुन्थ्यो पछाडि । सबै विषयका कुरा त्यहीकपीमा लेख्थ्यो । प्रधानमन्त्रीको डायरीजस्तो, सबैकुरा एकै ठाउँमा ।
अङ्ग्रेजी कक्षा केही फरक हुन्थ्यो । किताबका लाइन हेरेर पढ्नुपर्ने अनि अभ्यास गर्नुपर्ने हुन्थ्यो । किताब अनिवार्य व्यवस्था गर्नू भन्ने सरको आदेश थियो । हामीले कसैले किन्यौँ, कसैले लाइब्रेरीबाट झिक्यौँ अनि काम गर्न थाल्यौँ तर उसको त किताब पनि थिएन ।
“ए कान्छा, तिम्रो किताब भएन?” सरको यो साझा सम्बोधन थियो ।
“………” ऊ बोलेन ।
“लाइब्रेरीबाट ल्याउनू नि किन्नलाई समस्या भयो भने ।”
“एडमिसन गरेको छैन । त्यो नगरी किताब पाइँदैन ।” उसले सरले मात्र सुन्ने गरी भन्यो तर मैले नि सुनेँ ।
“मेरो नाममा एउटा किताब निकालेर लानू । म त्यहाँ लाइब्रेरियनलाई भनिदिन्छु ।” उसले सरको मुखमा नहेरी “हुन्छ” भनिदियो ।
हाम्रो समूहका प्रायः सबैसँग किताब थियो । जब अङ्ग्रेजी कक्षा सुरु हुन्थ्यो, सरले किताब छ छैन भनेर सबैलाई हेर्नुहुन्थ्यो । ऊ फेरि एक्लै बिनाकिताब बसिरहेको हुन्थ्यो ।
“भाइ, टेक योर प्लेस बाइ हर ।” सरले उसलाई मेरा छेउ देखाएर त्यही किताब सेयर गरेर पढ्ने निर्देशन दिनुभयो ।
ऊ कहिल्यै पनि मेरा समीप बसेको थिएन । अप्ठेरो मान्दै आएर नछुने गरी बस्यो र तन्किएर हेर्न थाल्यो पाठ । मैले त्यो किताब उसैलाई सारिदिएँ र मैले मेरा लागि साथीको सहारा लिएँ ।
“पुस्तक छैन भने आज लैजाऊ । हेरेर ल्याइदिनू ।” सर गएपछि उसलाई मुख फोरेँ ।
“हैन..” ऊ जुरुक्क उठेर किताब नलिईकन पछाडि पुरानो ठाउँमै गएर बस्यो ।
त्यस्तै अर्को दिन अनलाइन सपिङका बारेमा अङ्ग्रेजी कक्षामा चर्चा गर्नुपर्ने भयो । त्यो कक्षामा अनलाइन सपिङ्ग गर्ने हामी केही साथीमात्रै थियौँ । मैले नै यसका बारेमा बताएँ । उसले मेरो मुखमा पनि हेरेन । भुईँतिर हेरेर सुनिरह्यो । उसको अन्तरङ्ग पढ्ने कोसिस गरेँ ।
ऊ शारीरिक रूपमा दुरुस्त थियो । राम्रो उचाइ भएको, गहुँगोरो थियो । कपाल ठिक्कमात्र थियो । दाह्री पलाउन थालेका थिए, काट्ने गर्थ्यो सायद । उसको रूप एउटा भव्य व्यक्तित्व भएको मान्छेको जस्तै थियो । उसको ठूलो अनि चिल्लो निधार धपधपी बलिरहेजस्तो देखिन्थ्यो तर उसको मन बलेको थिएन, ऊभित्र उज्यालो थिएन भन्ने लाग्यो ।
नबोल्नु पनि ठूलो भाषण हो भन्थे, हो रैछ । उसको भाषण कस्तो होला, कसैले सुन्ने प्रयत्न नै गरेनन् । मैले प्रयत्न गरेर पनि असफल भएँ । उसले बोलेको कमै साथीहरूले मात्र सुनेका थिए । ऊ प्रायः मौन रहन्थ्यो । मौनतामा ऊ दुनियाँ पढिरहेको छ भन्ने लाग्थ्यो । कसैसँग संवादमा रहेको पनि देखिएन ।
उसलाई साथीहरूले मजाकमा “सेतो सर्ट” भन्ने नाम राखेका थिए तर ऊ कुनै प्रतिक्रिया पनि दिँदैनथ्यो । उसको सेतो सर्ट दुर्लभ थियो त्यहाँ किनभने त्यो हुस्सेले निलेको तराईमा मान्छे सेतो सर्ट मात्र लगाएर बाँच्न सक्दैनन् । बाहिरबाट स्विटर र ज्याकेट चाहिन्छ नै तर उसलाई ती केही पनि चाहिएनन् । बिनाज्याकेट, बिनास्विटर, बिनाटोपी, बिनाजुत्ता ती दिनहरू काटिरहेको थियो ऊ ।
म उसको मन पढ्न थालेँ अलग्गैबाट तर त्यो सम्भव पनि थिएन किनभने मैले उसलाई सोध्नुपर्थ्यो । त्यो सम्भव नै थिएन । अरूले देखे भने ? ओहो, म त अप्ठेरामा पर्ने भएँ । मान्छेको हुलिया हेरेर सम्बन्ध राख्ने यो अमानवीय युगको उत्पादन न थिएँ म पनि !
यसैले मैले देखेको उसको मन र उसको भावना सही थियो कि थिएन, थाहा छैन तर मेरो मनले त्यही देख्यो सतही रूपमा र त्यही सही ठान्यो ।
म अर्थ खोज्न थालेँ, उसको शान्तपनको अर्थ, उसको सौम्यताको अर्थ, उसको निश्चिन्ताको अर्थ, उसको एकाग्रताको अर्थ । मेरो मनमा ऊप्रति रङ्गिएका बुट्टाहरू, चित्रहरू र मैले देखेका उसका अव्यक्त अभिव्यञ्जनाहरू सबै पढेर एउटा साथीको कथा लेखेर उसका जिजीविषाहरूलाई उजागर गर्ने मन पनि गरेँ, जुन सम्भव थिएन ।
तर एकपटक धेरै कुरा सोचेँ । एक जोर लुगाको अफर गरूँ । फेरि आफैँलाई सोधेँ, धत् यसको अर्थ तँलाई थाहा छ के लाग्छ ? तेरो निष्ठामाथि प्रश्न उठ्छ । ममीलाई यो कुरा सेयर गरूँ? धत्, सम्भव छैन । भनेँ भने त मैले आजसम्म उहाँहरूबाट जोगाएको भावना भत्किन सक्छ ।
०००
चैत्र महिना सुरु भयो ।
जाडो गयो ,समय फेरियो तर उसका लुगा र गेट अप फेरिएनन् सबै उही ।
मैले अन्तिम साहस गरेर मेरा अर्नालिएका साथीहरू नभएको मौका छोपी उसलाई केही कुरा सोध्ने निधो गरेँ ।
“ए अभय, तिमी मेरो फेसबुक फ्रेन्डमा एड छैनौ नि, हो ?”
“मेरो फेसबुक अकाउन्ट छैन ।”
“तिमीलाई एउटा कुरा भन्नु थियो ।”
“हैन ।” यति भनेर ऊ हिँड्यो । उसले “हैन” बाहेक अरू केही पनि बोल्दैन थियो । आज पनि यतिमै सीमित गरिदियो ।
त्यसपछिका दिनहरूमा म क्याम्पसको गेटबाट भित्र छिर्दै गर्दा सेतो सर्ट कहाँ छ भनेर हेर्थेँ; कक्षामा, क्यान्टिनमा, लाइब्रेरीमा, ग्राउन्डमा, फूलबारीमा, अफिस भवनमा तर ऊ कतै पनि देखा पर्न छाड्यो । सुरुमा त आफैँ नजर लगाएँ । कतै पनि ऊ देखा परेन ।
दुई महिना पनि बिते तर ऊ क्याम्पसमा कतै देखा परेन । मनमा धेरै प्रश्नहरू उब्जिए । किन उसलाई फेसबुकको कुरा सोधेको? सेल फोन थियो र ऊसँग ? उसले लाजको महसुस गरेको हो ?होइन । उसले अपमानको महसुस गऱ्यो । नन्सेन्स प्रश्न गरेर किन मरेकी म पड्के ?
म उकुसमुकुस भएँ । कसैलाई सोधिँन, सोध्न आँट पनि आएन । मनले सोध् भन्दै थियो । यो मनले त जे पनि भन्छ, मन सधैँ अराजक त हुन्छ नि !
प्रशान्त र उसको साथी अभयका बारेमा बोलिरहेका थिए । सुन्ने मौका मिल्यो ।
“अभय इराक गयो ।”
“ओहो, हो र ? पढाइ सक्नुपर्थ्यो । अब दुई वर्षमा बिबिएस सिद्धिन्थ्यो ।”
“एक्कासि यस्तो निर्णय गरेछ । कमाउने भो पैसा केटाले ।”
“उसलाई पैसाको आवश्यकता थियो ।”
“उसलाई पैसा नहुनुको पीडा थियो ।”
“छात्रवृत्तिमा निवेदन हाल्न पनि मानेन पोहोर साल । यसपालि खुल्न बाँकी थियो । फिस तिर्ने पैसा त त्यहाँबाट पनि आउँथ्यो नि !”
“त्यो छात्रवृत्ति यस्तालाई दिन राखेको हो र ?”
“कस्तालाई त ?”
“थाहा भएर पनि किन सोधेको ? नेतालाई, वा तिनका मान्छेलाई ।”
तिनीहरूको त्यो संवाद जारी थियो । म बाहिर निस्केर हिँडेँ एउटा भारी बोकेर, त्यो पनि उचाल्नै नसक्ने ।
एउटा सुन्दर मान्छे आफ्नो सुन्दर भविष्य बनाउन भन्दै बन्दुकको काखमा खेल्न पनि जाँदो रहेछ । इराक हिंसात्मक घटनाले सजिने मुलुक हो । अभय त्यहीँ गएको छ ।
बन्दुकको काखमा वास बस्न गएछ तर माया गरोस् त्यो बन्दुकले उसलाई, चोट नदेओस् उसलाई । ऊ सुन्दर भविष्य बनाउन गएको छ, बनाओस् त्योभन्दा सुन्दर भविष्य । उसको जिन्दगीको बगैँचामा लटरम्म फूलहरू फुलून् ।
अब त उसले पैसा निकै कमायो होला, सेलफोन पनि किन्यो होला अनि फेसबुक अकाउन्ट पनि खोल्यो होला । म फ्रेन्ड रिक्वेष्ट पठाउनेछु । उसले स्वीकार नगर्न पनि सक्ला, एक्सेप्ट गरेन भने म्यासेन्जरमा बोलेर भए पनि साथी बन्न अनुरोध गर्छु । क्याम्पसमा भएका तमाम घटनाको जिम्मेवारी लिन्छु र माफी माग्छु ।
उसले माफी दिएन भने पनि उसको फेसबुकवाल खोलेर सेतो सर्टमा खिचेको उसको पुरानो फोटो खोजेर “ह्यान्डसम” भनेर कमेन्ट गर्नेछु ।
उसले के “रेस्पोन्स” कसरी गर्ला, थाहा छैन ।

दमक, झापा

 

 

दमक, झापा