सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?

सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?

बिस्तारै फोनलाई कानमा लगिन् र बोलिन्, ‘हेल्लो !’
उतापट्टिबाट मसिनो पुरुष आवाज आयो ।

कृष्ण धरावासी

मोबाइलको आवाजसँगै उनको हिँडाइको गति धिमा भएको थियो । उनको हिँडाइको गतिलाई असहयोग गर्दै म अघि बढेँ ।

बिहानको कलिलो घामसँगैको सहनसकिने चीसो हावा शरीरका विभिन्न भागलाई र्स्पर्श गर्दै बगिरहेको थियो । बाटाका दुवै किनारमा आधाशताब्दि उँभो उमेर खाएका स्त्रीपुरूषहरू एक्लाएक्लै वा संयुक्त यात्रामा देखिन्थे । कोही खोच्याउँदै, कोही लट्ठी टेक्दै, कोही दौडँदै, कोही छिटोछिटो अघि बढिरहेका देखिन्थे । छिटै पुग्न खोजेझैँ देखिन्थे प्रायः सबैजना । नमस्ते गर्दै, हात उठाउँदै, कुकुर पच्छयाउँदै, धमाधम भएको थियो बिहानलाई । प्रायः एकै प्रकारका परिचित अनुहारहरू, एउटै समयमा भेट हुन्थ्यो, तै पनि कतिसँग चिनजान, परिचय आदि बिनै पनि बितिरहेको थियो समय । धेरैजसो परिचित बोल्ने सर्न्दर्भमा बन्द-हडताल र महँगीको विषय शिर्षकमा देखिन्थ्यो ।

मीरा र मेरो यो ‘प्रातयात्रा’ सुरू भएको पनि झन्डै चार वर्षभइसकेको छ । उमेरको हदले जागिरबाट अवकास पाएपछि पूर्णकालीक गृहवासपछि यस यात्राले निरन्तरता पाएको हो । जागिरे अवधिमा बसाइको अव्यवस्थाले गर्दा प्रायः खटाइएको ठाउँमा एक्लै बस्ने गरेको थिएँ । आफूसँगसँगै भुरालाई पनि स्कुल सरुवा गरिरहँदा उनीहरूको पढाइ बिग्रने हुनाले आमा र केटाकेटीलाई घरमै छाडेँ । प्रायः लामै जागिरे जीवन मैले एक्लै बिताएँ भने पनि हुन्छ । यस एक्लो जागिरे यात्रामा खाने, सुत्ने, कुनै कुरा पनि व्यवस्थित थिएनन् । साथीभाइहरूका लहैलहैमा लागेर खाने, खेल्ने कुरा पनि सिकियो । मनले बेठीक ठान्दाठान्दै पनि घरलाई ढाँटेर बेकामे कुरामा पैसा खर्च गरियो । पैसा खर्च भएको अर्को दिन मनमा निराशा र पश्चाताप झाँगिएर आउँथे । श्रीमती र छोराछोरीको अनुहार आँखामा नाच्दथ्यो । साथीभाइका अघि नजरशर्मी हुने भएर बेकारमा गरिएको खर्चको हिसाब आज दिमागमा बारम्बार आइरहन्छ ।

श्रीमती र छोराछोरीहरूमाथि अगाध स्नेह र प्रेम हुँदाहुँदै पनि आँखाको बाटो हुँदै मनको पर्दामा अनेक अनुहारहरू स्थापित हुँदै आउँथे । इच्छा र रहर नहुँदानहुँदै पनि कताकताबाट प्रेमजस्तो कुरा उम्रिदै आएको हुन्थ्यो । कुनै बेला कार्यालयका महिला साथीहरू, कुनै बेला डेरा वा घरपटीका छिमेकीहरू, कुनै बेला खाना वा खाजा खाने क्यान्टिनका सेविकाहरू आँखाबाट मनतिर ओर्लिंदै गरेको अनुभव हुन्थ्यो । उनीहरूको आफूसँग हुने प्रस्तुतिले कतिकति बेला आफूलाई सबैभन्दा धेरै माया गर्ने तिनै हुन् कि जस्तो लगी मन बहकिने गर्दथ्यो । महिलाको नबाँधिएको फुकेको कपालजस्तो जति बेला पनि असरल्ला छरिने यस मनले कैयौँ रूप र सौर्न्दर्यको यात्रा गर्‍यो । मानसिक रूपमा आकषर्णको यात्रामा घुम्दाघुम्दै एकाएक नराम्रो गरी अल्झिएको मन एउटा पीडाको लामो यात्रामा हेलिन पुग्यो । छोप्दाछोप्दै पनि त्यो कुनै कुनाबाट बिस्तारै देखिँदै गएछ । प्रेम एउटा यस्तो अनौठो र अप्ठ्यारो अनुभूति हो, जसलाई सकेसम्म लुकाउन मन लाग्छ र लुकाउनु नै पीडापूर्ण पनि हुँदै जान्छ । प्रेम कहाँ उम्रिन्छ र त्यो कसरी झाँगिदै जान्छ भन्ने कुरा कसैले भन्न सक्छ जस्तो मलाई लाग्दैन । कुनै काल, स्थान र उमेर विशेषले नबाधिने यस अनुभूतिले आक्रान्त हजारौँ मनस्थितिहरू जतासुकै असरल्ल देख्छु, अचेल म । सबै कुरा थाह भईभईकन पनि खेल्न मन लाग्ने कस्तो अप्ठ्यारो खेल हो यो । जब म एकान्तमा हुन्छु, एक्लै हुन्छु, उमेरको यस खुडि्कलामा अप्ठ्यारो गरी टेकेर पनि विगतको रङसँग खेल्न मन लाग्छ ।

घरमा भएका श्रीमती र छोराछोरीहरू गृहस्थीका महान् सदस्यहरू रहे पनि तिनीहरूका अतिरिक्त यस मनमा अर्कै स्वतन्त्र पात्रसत्ताको अनुभूति भइरहन्छ सधैँ । पत्नीबाहेक अरू कसैसँग शरीरसुखको अनुभव साटासाट गरेको नभए पनि मनको तहमा प्रेमका अनेक पर्दाहरू खुल्दै बन्द हुँदै गरिरहन्छन् ।

जोगिँदाजोगिँदै पनि प्रेमको अनौठो जालमा म फँसेछु नराम्रै गरी । उमेर, अवस्था र स्तर केही पनि मिल्दोजुल्दो थिएन । तिनीसँग बिहे गर्ने, घरजम गर्ने वा सँगै जीवन बिताउने इच्छा पनि थिएन । कहिलेदेखि कसरी म एकोहोरिएछु थाहै भएन । आफूलाई साधारणजस्तो लागेको कुरा देख्नेलाई असाधारण हुँदै गएछ । एक दिन एकाएक श्रीमती बिनाखबर डेरामा आइपुगिन् । उनको यो आगमन मेरा लागि ठूलै आपत्तिजस्तो भयो । उनी यसरी एकाएक बिनासूचना आउनाको कारण सोधेँ, उनले त्यस प्रश्नको खासै उत्तर दिइनन् । केवल मुसुक्क हाँसेर भनिन्, ‘दिक्क लाग्यो, एक्लै बस्न, अनि…।’
केही दिन त्यत्तिकै बित्यो तर उनले घर फिर्ने लक्षणै देखाइनन् । एकदिन सोधेँ, ‘मीरा ! घर जाने होइन – भुरा एक्लै छाडेर यहाँ कतिन्जेल बस्ने – उनीहरूको पढाइ बिग्रेला नि फेरि ।’

‘भुराको पढाइ बिग्रिए अर्को वर्षसप्रिन्छ, ठूलाको बानी बिग्रिए कहिले सप्रिन्छ – म त अब नजाने गरी आएकी ।’

म झसङ्ग भएँ । अग्लो ठाउँबाट खसेझैँ । जुन कुरा लुकाउन म कत्ति प्रयत्न गरिरहेको थिएँ, उनले त्यसलाई निर्णय जस्तै सुनाइन् । आफैँसँग लाज, घिन र शरम उम्लिएर आयो । उनको अनुहार हेर्न कत्ति कठिन भयो त्यस क्षण । तर, उनको बुद्धिमानीको अगाडि म नतमस्तक भएँ । यस्तो अनौठो उपचार गरेकी थिइन् तिनले म आफैँभित्र पग्लिएर पानीपानी भएँ । त्यो साँझ मैले मीरालाई भनेँ, ‘मलाई माफ देऊ, मैले आफैँलाई बिर्सिएँछु ।’

उनले भनिन्,’मैले किन माफ दिनु नि ! तपाईं आफूले आफैँलाई सम्झे भइगयो नि । म तपाईंलाई तपाईं को हो भन्ने सम्झाउन आएकी थिएँ । अब भोलि नै जान्छु ।’
नभन्दै भोलि बिहानै उठेर उनी बाटो लागिन् । आमा माइत गएको परबाट रुँदै हेरिरहेको भुराभुरी जस्तो मनको भएँ म त्यो दिनभरि । वास्तवमै मलाई त्यो दिन आफ्नो स्थितिको ज्ञान आफैँलाई झस्काउने गरी भयो ।

त्यसको एक हप्तापछि मैले त्यस कार्यालयबाट सरुवा लिइसकेको थिएँ । हिँड्ने बेलामा राधिका साह्रै रोइन् । मसँग उनलाई सम्झाउने कुनै शब्द थिएन । म उनलाई फेरि कुनै दिन लिन आउने कुरा पनि थिएन । हाम्रो प्रेमलाई झन्झन् झाँगिएको पार्ने रहर पनि थिएन । कुनै आश्वासन नै थिएन मेरो उनका लागि । खालि यत्ति मात्र भन्न सकेँ मैले, ‘प्रेम र गृहस्थी एउटै कुरा होइन रहेछ राधिका ! मानिसले अन्तिम क्षणमा रोज्नुपर्दा गृहस्थी नै रोज्नुपर्ने रहेछ । प्रेमलाई छातीभरि निमोनियाजस्तो पालेर कहाँकहाँको गृहस्थीमा प्रवेश गर्नुपर्ने रहेछ । तिम्रो गृहस्थीको लागि शुभकामना ।’

उनी रोइरहेकी थिइन् । म लुरुलुरु गएर बसको सिटमा भरिएको थिएँ । यात्राभरि मेरा आँखा राधिकाकै आँशुले भिजेका थिए । कुनै बेला आफैँसँग रिस उठ्थ्यो, किन मैले त्यो कलिली केटीलाई सपना बुनिरहेको बेला भत्काउने आदेश दिइन । आमाले काखमा टाउको अड्याएर जुम्रा खोजिरहँदा फुस्स निदाएजस्तो म किन निदाएँ उनको अनौठो आग्रहसँग । मैले उनीमाथि सपना ओच्छ्याएको थिएन, तर के उनले मैलेजस्तै निरपेक्ष सपना बुनेकी थिइन् होला त ?

जे होस्, एउटै घटनाले म दुई नारी हृदयबाट फालिएको थिएँ । मीराको मनभित्र म एउटा प्राविधिक ‘लोग्ने’मात्र थिएँ । राधिकाको मनमा म निष्ठुरताको प्रतीक । आज पनि मीराका अघि मलाई गहिरा भावुक कुराहरू गर्न लाज लाग्छ । मेरो भावको नाङ्गो रूप देखिसकेकी उनका अघि मैले आफ्नै उपस्थितिलाई उभ्याउन सकिन । केवल कर्तव्यको एउटा दिग्दार लाग्दो यात्रामा हिँडिरहेकी जस्तो लाग्छ मलाई उनी । मुखले आजसम्म एक शब्द तलमाथि नबोलेकी भए पनि उनका आँखामा गृहस्थीको निरसता सधैँ उभिएको देख्छु । कैयौँपल्ट मैले माफी मागिसकेँ, तर उनी मुसुक्क हाँसेर यसरी टार्छिन्, मलाई लाजको बर्कोले गम्ल्याङ्ग छोप्छ घरीघरी ।

निकैबाटो हिँडिसकेछु, आफ्नै हिजोको स्मृतिको लौरो टेकेर । पछि र्फकेर हेरेँ, मीरा निकै पर बिस्तारै हिँड्दै आइरहेकी थिइन् । आफूभन्दा पाँच वर्षकान्छी तिनी पनि तीन बीसको छेउछाउ पुगिसकेकी छिन् । बाईस वर्षीय चन्चले केटीलाई बेहुली बनाएर आफ्ना घरमा भित्र्याएका दिन तिनको अनुहार हेरेर कहिले अघाउँला र म, जस्तो लागेको थियो । वास्तवमा जीवनमा कहिल्यै विरक्तिको भाव उत्पन्न भएन उनीप्रति । उनको अनुपस्थितिमा मभित्र सलबलाएको स्वच्छन्द लोग्ने मान्छेप्रति सधैँ व्रि्रोह गर्थें म, तर त्यत्तिकै थाकेको हुन्थेँ ।

मेरो घरगृहस्थी सम्हाल्न आएकी यिनले वास्तवमा पार लगाइन् एउटा ठूलै डुङ्गा । दुई छोरा र दुई छोरी आ-आफ्नै गृहस्थीमा प्रवेश गरिसके । जागीर र गृहस्थीका सिलसिलामा कोही देशभित्र कोही देशबाहिर कर्मक्षेत्रमा व्यस्त छन् । हामी बुढाबुढीलाई आवश्यक खर्च र टेलिफोनमाया दिन उनीहरू कन्जुसी गर्दैनन् । आज हामी एकअर्काको भर भएका छौं ।
जति हेर्छु त्यति माया लाग्छ उनको । मैले यिनीसँग प्रेम त गरिन, तर माया भने सुरु देखि नै गरेँ । जतिबेला पनि माया लागिरहन्थ्यो, तर त्यो माया कहिल्यै प्रेमजस्तो थिएन । सम्झौताको संसारमा प्रेमको उपस्थिति नहुँदोरहेछ । कहिलेकाहीँ लाग्छ, मानिसले हजारौं वर्षेखि जपेर ल्याएको यो प्रेमको आखिर के उपयोगिता छ – के अर्थ छ ?

छेउमा आइपुगेकी तिनलाई नियालेर हेरेँ । अनुहार एकदम निराश र दुःखीजस्तो थियो । बिहान घरबाट निस्कँदाको उज्यालो अस्ताइसकेको थियो, यो प्रात भ्रमणको रङ थिएन अनुहारमा । हेरेँ तिनको अनुहारको रङमा कुनै गृहस्थी वा पारिवारिक पीडाबाट उत्पन्न अभिव्यक्ति थिएन । त्यो सदाको भन्दा अनौठो र अपरिचित थियो । पहिला पनि बेलाबेला त्यस्सै उदाउँथ्यो उनको अनुहारमा त्यस्तो उदासी । अनि बिस्तारै हराउँदै गएको देखिन्थ्यो । उनको अनुहारमा उदाउने खुसी वा उदासी दुवैको कारण सोध्ने आँट मलाई कहिल्यै आएन । मैले उनको अनुहारमा हेरिरहँदा, उनले आफ्नो अनुहार भुइँतिरमात्र घोप्ट्याउँदै हिँडिरहिन् ।

घरमा आइपुग्दा पनि उनको उदासी हराएको थिएन । बाटामा मैले उनलाई भुलाउन के-के, के-के, भनिरहेँ तर ती कुनै कुरा पनि उनले मन दिएर सुनेजस्तो लागेन । यही बेला खेरीखेरी के सोधिरहनु, पछि आफैँ भन्लिन् नि भन्ने सोचेँ ।

साँझमा घर आइपुग्दा पनि मीराको अनुहार झन् अँध्यारो थियो । मनमा चीसो पस्यो । उनलाई केले त्यस्तो पार्‍यो होला ! सधैँ कस्ताकस्ता पीर लुकाएर हाँस्न सक्ने उनी झन्झन् अँध्यारिएकी थिइन् ।

मैले दुइटा मात्र रोटी खाएँ आज । सदा चारवटा खान्थेँ । उनले त एक गिलास दूधमात्र खाइन् । त्यत्तिकै घरको वातावरण अप्ठ्यारो भएको थियो । सोचेँ, ‘अब धेरैबेर चुप लाग्नु हुँदैन, सोध्नुपर्छ ।’

तर मैले केही सोध्नै परेन । छेउमा आएर बसेकी उनी एकाएक मेरो कुममा टाउको अड्याएर रुन थालिन् । अलमल्ल भएँ म । मनमा चीसो पस्यो । केही ठूलै कुरा भएको हुनुपर्छ भन्ने लाग्यो । एकैचोटि मनमा अनेकौँ शङ्का उपशङ्काहरू उम्रिएर आए । आफैँबाट यो कुनै गल्ती भयो कि भनी चारतिर मन डुलाएँ ।

उनको टाउकोमा हात खेलाउँदै भनेँ,’किन यसरी रोएकी मीरा ! बिहान फोन आएदेखि नै तिमी दुःखी देखिन्छ्यौ, कसको फोन थियो त्यो ?’

अनौठो पाराले हेरिन् उनले मेरो अनुहार । पहिलोपल्ट उनी मलाई राम्ररी चिन्न खोजिरहेकी छिन् जस्तो लाग्यो । मेरा दुबै हात समातेर बडो दयनीय अनुहारले अनुनयपूर्वक बोलिन्, ‘आज ३ बजे उनको देहान्त भयो । भोलि बिहानै हस्पिटल जौँ न है ।’

एकदम नै दबिएको र डराएको जस्तो थियो उनको आवाज ।
म अलमल्ल भएँ । सोधेँ, ‘कसको देहावसान भयो ?’
मेरो आँखामा एकोहोरो हेरिरहिन् । तिनका आँखा कस्ताकस्ता अनौठा र एकोहोरो जस्ता थिए । कुनै प्रेत लागेको बिरामी धामीका अघि एकोहोरिएजस्तै एकोहोरी भएकी थिइन् तिनी । विस्तारै भनिन्, ‘कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो । बिरामी छु भन्थे, तर यति चाँडै सकिएलान् भन्ने सोचेकी थिइनँ ।’

कहाँकहाँ हेरेर एक्लै आफैँसँग बोलेझैँ भन्दै गइन्, ‘सधैँ जीवनका बारेमा सम्झाइरहन्थे । गृहस्थीको महत्व दर्शाइरहन्थे । प्रेमको अर्थ बुझाइरहन्थे । तपाईं नहुँदा पनि फोनबाट तपाईंका बारेमा सोधिरहन्थे, तपाईंको ख्याल राख्नु भनिरहन्थे । मलाई एक्लै एकान्तमा रमाइरहन पुग्ने उनी साथी थिए । तपाईंको गृहस्थीले टम्म भरिएकी म, उनको प्रेमले रमाएकी थिएँ ।’

पागल बरबराएझैँ गर्न लागिन् । मैले दुबै हातले उनको कुम हल्लाएँ ।
झसङ्ग भइन् उनी । एकछिनपछि आँखाको आँसु पुच्छदै भनिन्, ‘मैले सारा जिन्दगी तपाईंलाई दिएँ । यो घरलाई संसार बनाएँ । तपाईंको सुखका लागि समर्पित भएँ । भोलि एकपल्ट तपाईं मेरा लागि समय दिनोस् । म उनको अन्तिमपल्ट अनुहार हेर्न चाहन्छु ।’
उनी मेरो काखमा घोप्टिएकी थिइन् । म कत्तिबेलासम्म रनभुल्लमा परेँ । निकैबेरपछि के भयो के भयो । त्यस्सै मन बटारिएर आयो । आँखा त्यत्तिकै भरिए आँसुले । उनको टाउको उठाएर अनुहार हेर्दै भनेँ, ‘हुन्छ साथी ! भोलि बिहान म तिम्रो प्रेमीको मलामी जानेछु । तिमीसँगै यो शोकमा सामेल हुनेछु ।’

राति ब्युझिदा पनि उनी भित्तातिर फर्किएर ठूलोठूलो सास फेरिरहेकी थिइन् । नाक पुछिरहेकी थिइन् ।