कुरा २०४८ सालतिरको हो । म मुस्ताब होटलबाट हिँड्दा झलमल्ल घाम लागिसकेको थियो । हटिया
लाइनमा मान्छेको चहलपहल निकै बढिसकेको थियो । उता बजारका सटर कवलहरू पनि धमाधम खुल्दै
थिए । अगरबत्तीको मिठो बास्ना बजारमा यत्रतत्र फैलिएको थियो । काँधमा झोला बोकेका एक हुल मान्छे
मब्गलगढी बसपार्कतिर जाँदै थिए । मचाहिँ जुम्लीकाँदे झोला भिरेर उँभो लाग्दै थिएँ । आँखा
सालघारीको घना जङ्गल हुँदै लादे पुग्थे र माथि सिद्धपाइला गएर रोकिन्थे । त्यो कहालीलाग्दो उकालाले
मलाई नचढ्दै थकाइसकेको थियो । चढ्दो घाममा दुई घण्टा लगातार हिँड्नु कम चुनौतीपूर्ण थिएन र
पनि जानु त थियो नै । किन कि मैले भोलिपल्टै स्कुलमा हाजिर हुनु पर्थ्यो ।
माथिल्लो बजारको पीपल चौतारीमा मैले एक जना आफ्नै गाँउले दाजुलाइ भेटेँ । रित्तो डोको चौतारीमा
बिसाएर कछाडजस्तै थिए उनी । म उनको नजिकै गएँ र जुम्ल्याहात गरेँ । उनले मलाई पुलुक्क हेरे अनि
टाउको हल्लाएर उनीप्रतिको मेरो आदरलाई सकारे र भने, “कैले आइस्, कान्छा ?”
म तीन दिनअघि सुर्खेत झरेको थिएँ । खासै काम त थिएन, तीनचार दिन बिदा परेकाले न्यास्रो मेटूँजस्तो लागेर हिडेको थिएँ । दुई दिन बजार घुमेँ । होटलको भात मारेँ । साँझ साँझ भिडियो हेरेँ । अनि
पर्सिपल्ट म उकालो लाग्दै थिएँ फेरी ।
“काँ? घरतिर हिँड्या हो, कान्छा?” उनले सोधे । भन्दै थिए, “घरतिर जान लाग्या हो भन्या सँगै जाउँला
दुइभाइ गफ अर्दै ।”
उनी रित्तो डोको बोकेर अघि लागे । म उनको पछि पछि हिँडे । मेरो झोलामा कट्टु, गन्जी, तौलिया र
मन्जन बुरुस थिए । काँधमा पानासोनी रेडियो झुन्डिएको थियो । भनूँ भने त्यसबेलाको मेरो हितैषी भनेकै
त्यही रेडियो थियो । म जहाँ जान्थेँ, रेडियो पनि सँगसँगै लिएर जान्थेँ ।
उनीचाहिँ आलु बेच्न आका रे । अघिल्लो साँझ आइपुगेका रहेछन् । त्यही साँझ हटियामा आलु बेचेर दुर्गाप्रसाद दाइको होटलमा बसेछन् । बिहान आठ बजेतिर हिँड्न कछाड कस्तै गर्दा म टुप्लुक्क आइपुगेँ ।
उनलाई भेट्दा मलाई पनि बेसै लाग्यो ।
दुवैजना रित्ता, फाँट काटेर उकालाको सँघारमा पुग्न बेरै लागेन हामीलाई । जब उकालो लाग्यौँ, उनको
गफ सुरु भयो । उमेरले झन्डै दोब्बर, अनुभवका पक्का त्यसमाथि बिष्ट जातका, मैले त बोल्नै परेन ।
उनीमात्र बोलिरहे । बैँसबेलाका कुरा गरे, बलबुताका कुरा गरे, परदेशका कुरा गरे अनि गाउँ समाज,
रीतिथिति, धर्मकर्म आदि सबै समेटे । अन्तमा उनले कुरा मतिर घुमाए; भन्दै थिए, “तँ त चाइन्या हाम्रो
गाउँको गहना होस् । गाउँमा कसैले अर्न नसक्या काम तैँले अरिस् । नाम राखिस् चाइन्या जो । बाउन बिष्ट कसैले पढ्न सकेन, कामीको छोरो भैकिन पनि तैँले एसेल्सी पास अरिस्; मास्टर भइस् । बहुत धन्यवाद छ तँलाई ।”
त्यति सुनेपछि म पनि मक्ख । नाक फुलेर घिरौँलाजत्रो भयो । कद पनि हलक्क बढेजस्तो लागेर आफ्नै
छाया हेर्न खोजेँ तर घना सालघारीभित्र घाम पस्न पाए पो छाया देख्नु । छाया थिए त केवल रूखका ।
जता हेऱ्यो त्यतै छाया ।
सालघारी नटुप्किउन्जेल गर्मीको त्यति अनुभव भएन । जब रूख पातलिँदै गए, गर्मी बिस्तारै बढ्दै गयो ।
कटुकादेखि माथि जाँदा त खलखली पसिनै आयो । घाम पनि निकै माथि आइसकेको थियो । तल पैतला
पोल्थे माथि तालु पोल्थ्यो । पसिना कानपछाडिको खहरे हुँदै घाँटी उँधो बग्दै थियो । बिहान चिया पनि
नखाई हिँडेको, भोकले रनथन्याउँदै थियो । फट्कै चल्न नसकुँला जस्तो पो लाग्दै थियो मलाई त । तैपनि
उभिंदै, सुस्केरा हाल्दै बल्लतल्ल हामी लादेको गल्छेनासम्म पुग्यौँ । खाना त्यहीँ खाने सल्लाह भयो । तल्लो
होटलमा सोधेको, साहुले खाना छैन भन्यो । अलि मास्तिर अर्को होटल थियो । त्यहाँ त कसो नपाइएला
भनी हामी माथि उक्ल्यौँ । होटलमा त्यस्तै तीस, बत्तीसकी महिला कुच्चाले भुईँ बढार्दै थिई । ग्राहक त
उसकामा पनि कोही थिएन । त्यहाँ पनि खाना नपाइए माथि सिद्धपाइला नै पुग्नु पर्थ्यो । सिद्धपाइला पुग्न
त्यहाँदेखि अझै आधी घण्टा उकालो चढ्नुपर्थ्यो । त्यति ताकत हामीमा थिएन ।
“खाना छ, साउनी?” वर बाटाबाटै सोधेँ मैले ।
“खै, छ भनूँ कि छैन भनूँ ।” ऊ अन्कनाई । भन्दै थिई, “दाल र तरकारी त थ्यो कि, भात चैँ पकाउनुपर्छ ।
छन त छ अलिकति । दुई जनालाई पुग्दैन ।”
मैले दाजुलाई हेरेँ । दाजुले मलाई हेरे । भोक दुवै जनालाई उत्तिकै लागेको थियो । त्यसैले खाएरै जाने निधो
गऱ्यौँ । दाजुले डोको होटलको खाँबोमा अड्याएर राखे । मैले झोला काखमा राखेँ र दुवै जना खाँबा गाडेर
बनाएको बेन्चमा बस्यौँ । प्यास अति धेरै लागेकाले मैले पानी मागेँ । साउनीले अम्खोराभरि पानी दिई् ।
मैले दुई हात लाएर अम्खोरा समातेँ । पछि पो मलाई याद आयो दाजु पनि पिउँछन् होला भन्ने । अनि
सोधेँ, “दाजु, पानी…….?”
उनले टाउको हल्लाएर नखाने भने । त्यसपछि मैले ठाडो घाँटी लाएर अम्खोरा आधा रित्याएँ । मनमा भने
कस्तो कस्तो लाग्दै थियो, “यिनी मसँगै बसेर भात के खालान् खै! यिनकै कारणले अलक्क बसेर खानु
त पर्ने होइन कतै? खाको भाँडा माझ्नु पर्ने त होइन कतै?” मन भित्रभित्रै पोल्न थाल्यो । पकाउन
लगाइहालियो, नखाई हिँड्नु पनि भएन । खान बसूँ, क्षेत्री न परे उनी, प्वाक्क भनिहाले भने…….!”
डोरीले टन्टनी बाँधिएजस्तो महसुस गर्दै थिएँ म ।
बस्ता बस्तै भात पनि पाकिसकेछ । साउनीले अगेनाको छेउमै गुन्द्री फिजाउँदै भनी, “यतै आउनुस् ।”
म बाठो हुँदै खुरुक्क गएर गुन्द्रीमा बसिहालेँ तर दाइ उठेनन् ।
“दाइ पनि यतै आउनुस् । त्यहाँ अप्ठेरो होला नि । खाना राख्ने बेन्ची बनाकै छैन ।” साउनी उनलाई
बोलाउँदै थिई ।
दाइ मसँग बस्न मानेनन् । भने, “यतै ल्याउनुस् । म ह्याइँ बसिकिन खान्छु ।”
त्यसपछि साउनीले मछेउ आएर सोधी, “वाँ के, भित्र नआउने जात हो र?”
“खै, था छैन । त्यहीँ तल्तिर भेट भा हो । सोध्न भ्याइनँ ।” मैले पनि उसैगरी भनेँ
खाना खाइवरी दुई भाइ फेरि बाटो लाग्यौँ । उनी त्यो घटनाबारे पक्कै कुरा झिक्छन् जस्तो लाग्दै थियो ।
अहिले झिक्छन् कि, पछि झिक्छन् कि भनी कान थाप्तै हिडेँ म । मनमा जग्जगी लागिरह्यो ।
उकालो काटेर हामी सिद्धपाइला पुग्यौँ । त्यसपछि रातानाब्ला, त्यहाँबाट जिल्लाने, अनि बुबैराखे हुँदै
बेलुकीपख गाउँ पुग्यौँ तर उनले त्यो कुरा कहिल्यै झिकेनन् । गाउँ पुगुन्जेल राम्ररी बोल्दा पनि बोलेनन् ।
खै! था’छैन उनले त्यो कुरा किन झिकेनन्, किन राम्ररी बोलेनन् त्यति लामो बाटोभरि!
वीरसिंह विश्वकर्मा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।