कोठा सानो छ।
अँध्यारो हुनुपर्ने हो, तर …
झ्यालबाट घाम आइरहेको हुनाले उज्यालो छ अलिकति ।
चारवटा भित्ता छन्‌ । सेता छन्‌ ।
एउटा भित्तामा यस वर्षको क्यालेन्डर छ । अर्को भित्तामा गत वर्षको पनि छ।

एउटा भित्तामा दराज छ किताबहरू राखिएका । अर्को भित्तामा वायरिङ नगरिएको बिजुलीको तार छ – तुन्द्रङ्ग एउटा चालीस वाटको बल्ब लिएर झुन्डिएको ।

ढोका खोल्दा जहिले पनि ठ्वाक्क बाकसहरूमा ठोकिन्छ खापा ।

“त्यो बाकस अलिकति सार्नुपर्ने” – ऊ सधैँ यस्तै भन्छ जब ठोकिन्छ खापा बाकसमा ।

बाकसमाथि असरल्ल केही लुगाहरू राखिएका छन्‌ ।

लुगाको छेवैमा ओछ्यान छ । ओछ्यानमाथि अर्को एउटा थुप्रो छ किताबको । त्यो किताबमा मार्क्स पनि छ, गान्थी पनि छ । कोलम्बस पनि छ, हिटलर पनि छ। इलियट पनि छ, मुकुन्द इन्दिरा पनि छ।

झ्यालको छेवैमा टेबुल छ एउटा पुरानो, जसको एउटा खुट्ला भाँचिएर इँटले अड्याइएको छ। त्यसको अघिल्तिर एउटा मेच छ। त्यसका चारवटै खुट्टा साबुत छन्‌ ।

टेबुलमा केही कागतहरू छन्‌ फ्याँकिएजस्ता राखिएका । चारवटा मोटामोटा किताबहरू छन्‌ । एउटा सानो प्लाष्टिकको गिलास छ । त्यसभित्र एउटा सिसाकलम, एउटा रातो साइनपेन, केही नलेखिने डटपेनहरू र म छु।

यो कोठामा एउटा लेखक बस्छ। म उसकै हुँ । जहिले पनि केही लेख्नपर्यो कि त्यो गिलासको भीडबाट र मलाई नै निकाल्छ । उसको हातमा नलिउन्जेल कहिले म त्यो प्लाष्टिकको गिलासमा हुन्छु त कहिले टेबुलमा त्यसै राखिएको हुन्छु ।

यो घरमा लेखकसँग लेखकी श्रीमती पनि रहने गर्छे । श्रीमतीलाई ऊ प्रायःजसो ‘पारो’ भनेर बोलाउँछु । वास्तविक नाम के हो मलाई थाहा छैन ।

*******

पारो कोठाभित्र छिरी । ढोका बन्द गरी र ओछ्यानमा उत्तानो परेर पल्टी ।
खुइय्य … सास फेरी । तकियामुनि केही खोजेझैँ गरी । सुतेको सुत्यै रेडियोतिर हात पुर्याई, रेडियो खोली । अनि एकछिन आँखा चिम्ली ।

आँखा चिम्लँदा पारो निकै राम्री देखिन्छे – मलाई थाहा छ । मैले उसलाई गिलासबाटै हेरिरहेँ । राम्रो चीज सबैलाई मन पर्छ । मलाई पनि ।

एकछिनपछि पारो सायद सुती । झ्यालबाट बिस्तारै चिसो हावा आयो । पारोको अनुहारमा उसका कपालले चिप्लेटी खेल्न थाले । मैले त्यो चिप्लेटी खेलेको हेरिरहेँ

त्यो हावामा उसले लगाएको कुर्तासुरुवाल पनि उसको नितम्ब र ढाडद्धरा किचिएर छटपट छटपट गर्न थाले । मैले त्यो छटपट छटपट गरेको पनि हेरिरहेँ ।

उसले अब अलिकति कोल्टो फेरेर निद्रामै एउटा सानो नरम तकियालाई आफ्नो घुँडा बीचमा राखी । मैले त्यसरी तकिया राखेको पनि हेरिरहेँ ।

सिरानी र टाउकोको बीचमा हात राखेर निद्रामै मुसुक्क मुस्काई ऊ । मैले त्यसरी मुस्काएको पनि हेरिरहेँ ।

पारोप्रतिको मेरो यो आकर्षण कति ढीठ छ, कति दुस्साहसपूर्ण काम हो – एउटा जाबो कलमलाई एउटी स्वास्नीमान्छेप्रति … धत्‌ ! … त्यो पनि आफ्नै मालिककी श्रीमतीप्रति … !!

आकर्षणको पहिलो चरणको सुरुवात मलाई किनेर ल्याइएको छैटौँ दिनमा भएको थियो । त्यो दिन यही गिलासमा बसेर मैले पारोको अर्द्धनग्न रूप देखेको थिएँ । लेखकद्वारा राखिएको म गिलासमा थिएँ । पारो कोठामा आई । ढोकाको छेस्किनी र झ्यालको पर्दा लगाई । अनि अति सरल रूपमा आफूले लगाएका लुगाहरू फुकालेर अर्को नयाँ लुगा लगाई । मैले जिन्दगीमा देखेको नग्न नारीआकृति त्यही थियो । र, म पारोप्रति नजानिँदो पारामा आकर्षित भएँ।

त्यसको केही दिनपछि …

त्यसको केही दिनपछि त पारोलाई मैले सर्वाङ्ग नग्न पनि देखेँ र त्यसमाथि यस्तो परिस्थितिमा कि म यहाँ लेख्न पनि साहस गरिरहेको छैन किनभने पारो मेरो मालिककी श्रीमती हो र मेरो मालिक प्रायःजसो मद्वारा आफ्नी श्रीमतीको बारेमा लेख्ने गर्छ –

“…. जिन्दगीमा मैले एकजना मान्छेलाई माया गरेको छु – ऊ पारो हो। पारो निकै सुधी छे। मेरो हेरचाह गर्छे । …”

ऊ यस्तो कुरा लेख्ने गर्छ डायरीमा – “… आज मैले पारोलाई अफिसबाट लिएर आएको सम्पूर्ण तलब दिएँ । पारो निकै खुसी भई। ऊ खुसी भएको मलाई निकै मन पर्छ। …”

यसले यस्ता कुराहरू डायरीमा लेखेको छ कति कति। मलाई थाहा छ सबै, किनभने लेखिने मै हुँ। लेखकका डायरीहरू, लेखहरू, कविताहरू, चिठीहरू – जे पनि म नै त लेख्छु त्यसैले लेखकका धारणाहरू, उसका मनका कुराहरू – थाहा छ सबै मलाई ।

उसकै घरको टेबुल अथवा भनूँ प्लाष्टिकको गिलासमा छु। त्यसैले थाहा छ मलाई उसको जीवनशैली, पारिवारिक स्थिति – सबै सबै ।

(१) जीवनशैली : बिहान ६ बजे उठिसकेको हुन्छ । उठेपछि लेख्छ । लेखेपछि अफिस जान्छ । अफिस कहिल्यै समयमा                               पुग्दैन किनभने उसको अफिस जाने समय लेखनले निधो गर्छ । राति कुन बेला सुत्छ, मलाई थाहा छैन ।                              जहिले पनि लेखिराखेको हुन्छ ।

(२) पारिवारिक स्थिति : राति ऊ लेखिरहेको हुन्छ र पारो ओछ्यानमा कोल्टे परेर निदाइराख्नेकी हुन्छे । कहिलेकाहीँ चाहिँ                                       पारो र लेखक राति माया पनि गर्छन्‌ तर पारो भन्छे मायाको अन्तमा -: “छ्या, हजुर त बूढो                                                  हुनुभइसकेछ ।” यस्तो कहिलेकाहीँ, कहिलेकाहीँ मात्र हुन्छ । निःसन्तान छन्‌ उनीहरू ।

**********

केही दिन भयो पारोले एकनाससँग झ्यालबाहिर हेर्ने गरेको ।

किशोर पहाडी

झ्यालबाहिर के छ ?

– एउटा हलुवाबेदको बोट छ।
– एउटा जस्तापाता छ त्यसै फालिराखेको ।
-बाटो छ।
– इँटको थुप्रो छ बाटोको छेउमा ।
– झ्याङ छ चमेली फूलको ।
– अलि पर सेफटीट्याङ्क छ घरकै । कहिलेकाहीँ गन्हाउँछ ।

“गन्हाउन त अचेल जहाँ पनि गन्हाउँछ ।” – एकदिन लेखकले कतै लेखेको वाक्य मलाई सम्झना छ राम्ररी ।

कहिलेकाहीँ गिलास झ्यालमा राखिएको बेला देखेको – यो झ्यालको अगाडि ठ्याक्कै अर्को घरको झ्याल छ । ठ्याक्कै त ठ्याक्कै तर अलि पर ।

एकदिन त्यो झ्यालतिर हेरेर पारो मुसुक्क मुस्काई ।

अर्को दिन पनि मुस्काई ।

अर्को दिन पनि ।

त्यसपछिको दिन पारोले हात हल्लाई ।

अनि कुन्नि किन हो, दिउँसो-दिउँसो पारो हराउन थाली त्यो झ्यालबाट । यो घरबाट । केही दिन ।

*********
र एक दिन…

पारो कोठाभित्र आई । अनुहार खुसीले धपक्क बलेको । ओँठ भर्खर रसाएझैँ चिल्लो, चिप्लो । आँखा मात लागेझैँ नशालु भएर रसाएको ।

ऊ आई र झम्म ओछ्यानमा बसी । त्यसको लगत्तै एकजना आयो भर्खरको ठिटो कपाल तलास्दै हातले । चुप लागेर उभियो अगाडि पारोको ।

पारोले हात समातेर तानी त्यो ठिटोको । ठिटो पारोको काखमा बस्यो घप्लक्क । (मेरो मालिक ! यो के भइरहेछ ? तपाईंकी श्रीमती जसलाई तपाईं अति माया र विश्वास गर्नु हुन्छ, छ ऊ…

हरे ! घरमा झ्याल किन हुन्छ ?)

ठिटोका लुगाहरू छोडाउन थाली पारो बिहान तरकारी काट्दा प्याजको बोक्रा छोडाएझैँ – कमीज, गन्जी, जीन प्यान्ट, कट्टु – सबै।

अनि आफ्नै छोडाई उसले पत्र-पत्र लुगाका – कुर्तासुर्ता सबै । त्यो दिन हो मैले देखेको पारोलाई नग्न । पूरा नग्न । पारोका शरीरका भीर, पाखा, पोखरा, डाँडा, काँडा सबै देखेँ । र्‌ काँडा उम्रयो ममाथि यही गिलासमै बसेर ।

– काँडा त्रासको
– काँडा उत्तेजनाको
– काँडा घृणाको
– काँडा आकर्षणको

यही एकदिन मैले उसलाई नग्न देखेँ । यहीँ सुरु भयो आकर्षणको सिलसिला । भीरप्रतिको आकर्षण, डाँडाप्रतिको आकर्षण, पाखाप्रतिको आकर्षण, काँडाप्रतिको आकर्षण । आकर्षणै आकर्षण ।

***********

राति लेखक आयो र बस्यो मेचमा मलाई समाएर । लेख्न थाल्यो एउटा नयाँ उपन्यास विषयगत ।

पारो निश्चिन्त ओछ्यानमा सुतेकी थिई । मधुरो उज्यालो । उसले लगाएका लुगाहरू घुँडाभन्दा माथि, आधा तिघ्रासम्म । लेखक उपन्यास लेख्न छोडेर हेर्न थाल्यो पारोलाई, पारोका चिल्ला छालालाई र थपक्क डायरी समाएर लेख्यो – “मेरी स्वास्नी धेरै राम्री छे तर ऊ मलाई बूढो भन्छे। भन्छे – मरेको छ जाँगर बूढो मान्छेमा । जाँगर छैन अब मेरो यौवनमा, त्यो बूढो भइसक्यो । … आजै देखेँ – मेरी स्वास्नी निदाएकी बेला झन्‌ राम्री देखिँदी रहिछ । उसको मप्रतिको इमान्दारीपन उसका मसिना ओँठहरूले छर्लङ्ग पारेको छ । पारो …”

लेखक लेखिरहेथ्यो – तर मलाई पारोको बारेमा लेख्न आँटिएका प्रशंसाहरू लेख्न मन लागिरहेको थिएन ।

पारो इमान्दार छैन महाशय ! – लेख्न मन लागिरहेथ्यो स्वयम्‌ मलाई । र लाग्थ्यो – लेखकले माया नगरोस्‌ पारोलाई । पारोले माया नगरोस्‌ लेखकलाई । पारोले माया नगरोस्‌ त्यो ठिटोलाई ।

जसरी ठिटोले खाएथ्यो म्वाइँ पारोको छातीमा, त्यो छातीमा मन लागिरहेथ्यो – म्वाइँ खाउँ म पनि ।

जसरी ठिटोले माडेथ्यो दिउँसो पारोको जीउ, त्यसरी नै माड्न मन लागिरहेथ्यो मलाई पनि ।

र, लागिरहेथ्यो – म पनि सास फेरूँ उनीहरूजस्तै स्वाँ, स्वाँ, स्वाँ । … थकित । तर निर्जीव म।

कलम।
लेखक लेख्छ – मद्वारा उसको बिचार । म उसकी स्वास्नीलाई हेरिरहन्छु निर्विकार ।

कपालले चिप्लेटी खेलेको ।

लुगा किचिएर छटपटिएको ।

घुँडाबीचमा नरम तकिया राखेको ।

सबै थाहा छ। मलाई । यहाँदेखि त्यहाँसम्म । सबै ।

तर टेबुलमा गिलास छ र हरे, गिलासमा म छु ।

 

(२०२० सालमा बागलुङ जिल्लामा जन्मनु भएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ । 

पाँच पुस्तक लेखिसक्नु भएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।

लक्ष्मणप्रसाद गौतम
उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)