”  न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई ……..”

गीतले अतीतहरू बोकी ल्यायो र गाडीभित्र छरपस्टै छरिदियो । पहिलोचोटि बज्दै थियो त्यो गीत, त्यो दिनको, त्यो बिहानीमा । प्रदीप्त हुँदै थियो ग्रीष्मकालीन पूर्वी क्षितिज ।

मोबाइलको रिङ्ग टोनमा त्यही गीत राखेको थियो उसले । उसलाई मन पर्ने गीत । गाडीको अग्र भागमा झुन्डिएको थियो मोबाइल । गाडी दौडिरहेको थियो । साइट पुग्ने हतारोमा । क्याम्प छोडिसकेको थियो निकै पर । गाडीभरि कामदारहरू थिए ।

गीत बज्दै गर्दा उसको आधा आँखा सडक र आधा आँखा मोबाइलमा थियो । घरबाट सन्तुले फोन गरेकी थिई । ऊ आफ्नी स्वास्नीलाई सन्तु भन्थ्यो । उसले मात्र होइन गाउँलेले नै त्यही नामबाट चिन्थे । भनौँ भने गाउँलेले नै न्वारन गरिदिएको नाम हो सन्तु । अर्थात् सन्तेको स्वास्नी सन्तु । माइतीमा भने अर्कै नाम थियो ‘कमला’ ।

मरुभूमिबिचको सडक पछ्याउँदै गाडी दक्षिणबाट पूर्व लाग्यो ।

सन्तेले मनमनै भन्यो “बेला न कुबेला गर्छ फोन पनि ।” त्यति बेला झुल्किँदै गरेको घाम सिधै ठोक्किन आइपुग्यो उसको अनुहारमा । उसले सन वाइजर तान्यो आफ्नो निधार अगिल्तिर । अनि झर्केर बोल्यो “हेलो?”

” अहिले कता?” उताबाट पनि झर्केरै बोली । हुन त उसको बोली त्यस्तै थियो । नझर्की बोल्नै नजान्ने ।

” कता हुनु नि? गाडी हाँक्दै छु ।” कठोरता थियो पहिलो वाक्यमा ।

शंकर थापामगर

” मान्छेहरू पुऱ्याउनु पऱ्यो नि साइटतिर । काम गर्न आ’को मान्छे काम गर्नु परेन?” दोस्रो र तेस्रो वाक्यको लवजमा पनि केही रुखोपन थियो ।

” अनि भुराहरू स्कुल गए?” सन्तेको चौथो वाक्य भने केही सामान्य हुने क्रममा थियो ।

” गयो गयो । सानुलाई खेलाएर बस्दै मचाहिँ ।”  सन्तु केही नरम भएर बोली ।

” ल ल म गाडी हाँक्दै छु । अहिले साइटमा पुगेर कुरा गरौँला ।” त्यति भन्दै च्वाट्ट फोन काटिदियो ।

उता सन्तुलाई झनक्क रिस उठ्यो । एकछिन पनि कुरा नगरी फोन काटिदिएकोले । फेरि फोन गरी तुरुन्तै ।

यता गीत बज्न सुरु गऱ्यो ।

” नबिर्सेँ तिमीलाई नपाएँ तिमीलाई ……….. ”

” किन? म गाडी हाँक्दै छु भनेको सुनेन ?” आक्रोशपूर्ण तवरले बोल्यो । झन्डै तर्सिएको थियो पछाडि बसेको कामदार ।

” एकछिन पनि बोल्न नहुने झैँ के को च्वाट्ट काटेको ?” सन्तु पनि क्रोधले कुपित भएर बोली ।

” कस्तो नबुझ्ने मान्छे रैछ है । म गाडी हाँक्दै छु क्या । एकछिनपछि फोन गर्छु ।” सन्ते नरम भएर बोल्यो । नरम त हुनै पर्थ्यो । यसपाला चाहिँ सन्तुले फोन काटी ।

” गाडी चलाउँदा पनि मुखै थुनेजस्तो, आँखै छोपेजस्तो बोल्नै नहुनेजस्तो पो गर्छ त । ओइ सानु यता आइज।” उसले छोरालाई काखमा बोलाउँदै फत्फताई ।

सन्तुको मनमा अनेकौँ कुराहरू खेलिरह्यो । मनमा सधैँ कुराहरू खेलिरहे नै । कैले छोरा खेलाउँदा । कैले मनमा कुरा खेलाउँदा । अनि अलिकत घरको धन्दा गर्दा । १ घण्टा बितेको पत्तो पाइन । ऊ झल्याँस्स ब्युँझिएजस्तो गरी सन्तेलाई सम्झिई ।

” बुढाले फोन गर्छु भनेको थियो तर अहिलेसम्म गरेन त के हो ।” मनमनै गमी । मन चिसो भयो । यस्तो चिसिने र तातिने क्रम उपक्रम यथावत् थियो १० – १५ वर्षदेखि र तुरुन्तै फोन गरी सन्तेलाई ।

त्यतिखेर सन्ते ट्याङ्कर लिएर पानी लिन जाँदै थियो । सन्तेको फोन बज्यो ।

” न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई ……..

सन्तेले यसो हेऱ्यो । फोन कल सन्तुको थियो । उसले मनमनै भन्यो “ज्या फोन गर्छु भनेको थिएँ बिर्से पो छु । लौ कराउँछे फेरि ।”

त्यसपछि उसले फोन उठायो “हेलो ।”

” फोन गर्छु भनेर किन नगरेको ?” सन्तुले सात्तो जाने कराई।

” त्यै त नि पानी छिट्टो ल्याइज भन्यो । मैले त फुर्सद पाइनँ । हेर्न, अहिले म ट्याङ्कर चलाउँदै छु बाटामा । के भो र ? भरे कुरा गरौँला नि त ।” स्पष्ट पार्दै बोल्यो ।

” होला होला । तरुनीसँग पो गफ गर्न लाग्यो कि !” सन्तुको मनभित्र खेलेको चिसो कुरालाई बाहिर तातोमा ल्याइदिई ।

” नचाहिने कुरा नगर्न हो । चर्को घाममा मरीमरी डल्लिएर काम गर्नु पऱ्या छ । को तरुनी ल्याउँछौ हो बिचमा ?” खासै झर्किएन । रिसलाई काबुमा राखेरै बोल्यो सन्ते ।

” दाइले एउटा खबर राख्या रैछ नि फेसबुकमा ।” सन्तुको रहस्यात्मक कुराले सन्ते सतर्क भयो ।

” के हो के ?” जिज्ञासा थियो लवजमा । उसलाई उछिनेर एउटा गाडी हुइँकिँदै गयो अघि ।

” भो भन्दिनँ ।” सन्तुले सन्तेको मन चिमोट्न थाली ।

” भन् न भन् । के हो? मैले त हेर्ने फुर्सद पनि पा’छैन ।” सन्तेको मन झन् कौतुक हुँदै थियो । उसको अघिअघि एउटा गाडी बिस्तारै गुड्दै थियो । उसले हर्न बजायो ।

” एउटा केटीको लागि १० – १२ जना केटाहरूको बिच कुटाकुट पऱ्यो रे नि त त्यहाँ ।”

” हा…… म त के के न होला भनेको त । ती दाइले पनि क्यै काम पाउँदैन के के राख्छ के के फेसबुकमा । अनि तँलाई चाहिँ के को चासो नि ?” सन्तेले सोध्यो । अनि हर्न बजायो फेरि । ट्याँ ट्याँ………….

” चासो हुन्न त ? कतै तिमी पनि पऱ्यौ कि भनेको नि ।”

” ल ल ल जथाभावी बोल्ने होइन । नचाहिने कुरा सोच्यो । नचाहिने कुरा बोल्यो ।”

” के का जथाभावी नि ? बानी त तिम्रो के राम्रो छ र ? थाहा नपा’को हो र ? तरुनी भनेपछि हुरुक्कै हुन्छौ ।”

” ल ल ल मलाई बिना काममा रिस न उठा । हिँड्नु न के गर्नु त्यत्‍तिकै जहिल्यै पनि आरोप मात्र लाउँछे ।” सन्ते झनक्क रिसाउँदै फोन काट्यो । अगाडि झन्डै उसले अर्को गाडीलाई ठोकेको ! उसले बेसरी हर्न बजायो र गाली निस्फिक्री दियो तर त्यो अर्को गाडीको ड्राइभरले भने सन्तेलाई कुनै वास्तै गरेन ।

फोन काटेपछि सन्तु झन् क्रुद्ध बनेकी थिई । किन झगडा गर्नु भनी आफैँले आफैँलाई सम्हाली ।

 

पहिले पहिले भावनाहरू, चिठ्ठीको अक्षरहरूमा व्यक्त हुन्थ्यो । चिठ्ठीको पानाहरूमा बसेर शब्दहरू, गाउँ सहर डुल्दै विदेशसम्म र विदेशबाट त्यस्तै गाउँ घरसम्म पुग्थ्यो । चिठ्ठीहरूले नै माया प्रेम बोकेर हिँड्थ्यो । हाँसो, खुसी, सुख, दु:ख, आसुँ बोकेर हिड्थ्यो । समय परिवर्तन भयो । जमाना स्मार्टफोनको आयो । कुराकानी पनि स्मार्ट तबरले । चिठ्ठीको स्वरूप बद्लियो । आमुन्ने सामुन्ने, भिडियो, च्याट, फोन आदिमा । जतिखेर मन लाग्यो उतिनखेर कुरा । भर्चुअलको दुनियाँले चिठ्ठी पत्रहरूको अस्तित्व धरासायी बनाइदियो तर सामीप्यताको अभाव भने थियो नै ।

सन्तु – सन्तेसँग भिडियो कलमा कुरा गर्दा गर्दै कैले रुन्थी । कैले हाँस्थी । कैले बाझा बाझ गर्थी । जति झगडा गरे पनि उस्तै माया गर्थे दुवैले । “यो माया भन्ने चिजै यस्तो हो” कसैले भन्थ्यो ।

कुराकानीका क्रममा एकदिन सन्तुले भनी-

” ओइ बुढा ।”

” के ?”

” घर कैले आउने हो ?”

” आउँला नि बिस्तारै ।”

” कति बस्ने विदेशमात्रै ?”

” अब धेरै नबस्ने ।”

” गएको पनि दुई वर्ष भइसक्यो । मलाई अत्यास लागिसक्यो ।”

” अब एक वर्ष बस्छु क्या । नआत्ती न हो ।”

” नआत्ती भनेर मन मान्छ र ?”

” तलको गैह्री खेत किनौँ कि भनेको । त्यो भएदेखि दुई भाइ छोरालाई पुग्थ्यो ।”

” हामीले कमाएकाले उनीहरूलाई के पुग्छ र ? न्वागी खाने खेत भइहाल्यो । उनीहरूलाई राम्रोसँग पढाउने हो । कमाउने जोड्ने काम त उनीहरूकै हो नि । मलाई अत्यास लागिसक्यो क्या । कम्पनी पनि राम्रो छैन भन्छौ । छोडेर आऊ ।”

” किन अत्यास मान्नुपऱ्यो ? पहिला जसरी बस्या छ त्यसरी बस्ने नि ।”

” के सधैँभरि म एक्लो जीवन काट्ने त?”

” के को एक्लो नि ? छोरी छ, छोराहरू छ । म पो विदेशमा एक्लो हो त ।”

” तरुनीहरू होला नि । त्यै भएर त घर आउन मन नलाग्या होला !”

” फेरि त्यै कुरा । रिस नउठा है । ल ल अर्को दसैँमा ।”

” खुरुक्क आजै राजिनामा देऊ । छोडेर आऊ ।”

” यो आइमाई कति एउटै कुरामा ढिपी गऱ्या ! म एक वर्षमा आउँछु भन्या सुनिनस् ? धेरै नकरा राम्रोसँग बस् ।” सन्ते झनक्क रिसाउँदै सन्तुको कानलाई विदीर्ण पार्ने गरी झोक्कियो । सन्तु पनि दावानल भई ।

” बस् त बस् सधैँ त्यतै बस् । झन् छिटो आइज भनेको एक वर्षको एक वर्ष भन्छ । मलाई फोन नगर् अब ।” सन्तुले फोन काटी । त्यो घुर्की थिएन । एक्लो हुनुको पीडा बोलेको थियो र आँखाबाट बरर आसुँ खसाली । एक लोग्नेलाई तथानाम भनेँ भनेर पश्चात्तापले । दोस्रो लोग्ने अझै एक वर्ष आउँदैन भन्ने अत्यासले । आँखाबाट आसुँ बगे पनि डाँको छोडेर रुन भने सकिन र निकैबेर सम्म अमुक भएर झोक्राइरही । त्यतिखेर छोरीले भने आमालाई केही भन्न नसकेर आँखामात्र गाडिरही ।

सन्तेको मन उद्विग्न भयो । तथापि मन भने गैह्री खेतमा अल्झिराखेको थियो । औँला भाँचेर गन्ती गऱ्यो । मनले जोड, घटाउ, गुणन, भाग, सबै गऱ्यो । करिब एक वर्षमा गैह्री खेत किन्न सक्नेमा ऊ ढुक्क भयो ।

सन्तुले धेरै दिनसम्म फोन गरिन । हार मानेर नै सन्तेले फोन गऱ्यो फेरि ।

 

दिन बित्दै गयो । दिन बितेर हप्ता भयो । हप्ता बितेर महिना । एउटा ऋतुबाट अर्को । अर्कोबाट फेरि अर्को ।

” कति वर्ष पुग्यो था’छ ?” सन्तुले सोधी । बेला बेलामा त्यसरी नै सोध्ने गर्थी ।

” के ?” के सोध्दै छ भनेर बुझे पनि नबुझेझैँ गऱ्यो सन्तेले ।

” गएको कति वर्ष भो भनेको नि ।”

” वर्षहरू बित्दै जान्छ ।”

” तीन पूरा भएर चार लाग्यो । यसपाला दसैँमा जसरी भए पनि आऊ । काम छोडेरै आऊ ।”

” तिमीहरूको कामचाहिँ त्यही वर्ष गन्दै बस्ने त हो नि ।”

” हुन त मेरो कुरा सुन्ने भए पो ।” सन्तुले सन्तेको कुरा बिचैमा काटेर बोलेकी थिई ।

” कस्को सुन्छ त हो ?”

” मैले भन्द्या छु । दसैँमा जसरी नि आऊ ।” फेरि पनि सन्तुले सन्तेको कुरा बिचैमा काटेर बोली । मानौँ सन्तेले जे भनोस् त्यो सुन्ने धैर्य थिएन ।

” ल ल ।” सन्तेले जवाफ दियो ।

” ल ल मात्र होइन पक्का ।”

वार्तालाप विच्छेद भएपछि सन्ते धेरैबेरसम्म घोत्लिएर बस्यो । निकैबेरको मननपछि काम छोडेर जाने निचोडमा पुग्यो । अनि ऊ लाग्यो आफ्नो साइटको अफिसतिर ।

ऊ अफिसभित्र गयो । आफ्नो हाकिमको अफिसको कोठाभित्र ढोकाछेउमा उभ्भियो ।

” सर ! म काम छोडेर जान्छु ।” अलिकत कामेको स्वरमा बोल्यो ।

” मनोज ! यस्को निवेदन लेखिदे ।” अफिसरले मनोजलाई निर्देशन दियो ।

” हस् सर ।” मनोजले जवाफ दियो । मनोज अफिसरको असिस्टेन्ट थियो ।

मनोजले सन्तेको राजिनामा पत्र अर्थात् दरखास्त लेखिदियो । अह्राएबमोजिम सन्तेले कागजातमा हस्ताक्षर गऱ्यो । “काम गर्दै गर्नू राजिनामा पास भएपछि खबर गरौँला” मनोजले भन्यो । सन्तेको मुहार एकचोटी खुसीले धपक्क बल्यो ।

“छिट्टै पास गरिदिन भन्नोस् है” मनोजलाई नमस्कार गर्दै आग्रह गऱ्यो । त्यसपछि उसले अफिसमा सबैलाई नमस्कार गर्दै ओठभरि मुस्कान बोकेर बाहिरियो । उसले त्यो दिन सन्तुसँग धेरै बेरसम्म कुरा गऱ्यो । योजनाका लामालामा मालाहरू बुने दुवै मिलेर । उता सन्तु पनि खुसी भई । अब लोग्नेले काम छोडेर आउनेछ र सँगै बस्न पाइनेछ भनेर रोमाञ्चित भएकी थिई ।

समय फेरि दिन, हप्ता, महिना हुँदै अनवरत उस्तै अघि बढिरह्यो । उसको राजीनामाको स्वीकृति अस्वीकृतिको खबर भने बेखबर थियो । ऊ अफिसमा बेला बेलामा फोन गर्थ्यो । अफिसको कर्मचारीले एउटै जवाफ दिन्थ्यो “अन्डर प्रोसेसिङ ।”

सन्तेको धैर्यको बाँधमा धाँजो फाट्तै थियो । असह्य भएर एक दिन गयो ऊ अफिसमा ।

” सर मेरो राजिनामा के भयो ?”

” बद्लामा मान्छे पाएपछि पठाइदिउँला ।”

” बद्लामा कोही पाइएन भने म जिन्दगीभर घर नजाने ?”

” बिनापैसा जाने भए जाऊ ।”

” बिनापैसा कसरी कसरी जाने ? तिमी छोड्न सक्छौ आफ्नो पैसा ?” सन्तेले चिच्याएर भन्न खोज्यो तर प्रकट गर्न सकेन । उसको अनुहारमा कालो बादल मडारिँदै आयो । घनघोर वर्षा हुनु अगाडि जस्तो ।

” मेरो घरमा समस्या छ सर बुझ्नोस् न ।” सानो स्वरमा अनुनय विनय गऱ्यो ।

” ल ल काममा जाऊ अहिले । यहाँ आइरहने होइन । खुरुखुरु काम गर । नत्र पदमजस्तो हल्लिनुपर्ला बिनाकाम एक वर्ष ।”

अफिसरको धम्कीपूर्ण भाषाले ऊ झन् खुम्चियो । के गर्ने के भन्ने असमञ्जस्य हुँदै अफिसबाट बाहिरियो । मन अमिलो, आँखा धमिलो र मुख निन्याउरो भयो ।

” काम छोडेर आउने भनेको बद्लीमा नपाएसम्म न छोड्ने रे ।” उसले सन्तुसमक्ष उजुर गऱ्यो ।

” कैले आउँछ रे त बद्लीमा अर्को मान्छे ?” सन्तुले जाहेरी लिई ।

” खै थाहा छैन ।” अनभिज्ञता प्रकट गऱ्यो ।

” तिमीमात्र हो कि अरू पनि त्यस्तै हो ?” तथ्य प्रमाण तलास गर्दै थिई सन्तु ।

” चार-पाँचजना त पाँच-छ महिना भयो । एकजना त एक बर्सै भयो त्यत्‍तिकै बसिराख्या छ ।” प्रमाण पेस गऱ्यो सन्तेले ।

” कसैलाई भनेर हुँदैन ? आफ्नो मान्छे कोही छैन ?” साक्षी प्रमाण सोध्दै थिई ।

” त्यसरी भनेर हुने भए त भन्थे होलान् नि अरूले पनि ।” लामो निःश्वास फाल्यो सन्तेले ।

दुवैको मनमा पीडाको उफान छचल्किदै थियो । असमञ्जस्यता र बिनानिर्णय स्थगित भयो वार्ता ।

राजिनामा पत्र रोकिइरह्यो तर समय भने रोकिएन । दसैँ रोकिएन, तिहार रोकिएन, छठ रोकिएन, माघेसङ्क्रान्ति रोकिएन । कुनै चाड पर्वले पनि सन्तेको राजिनामा पास भा’को छैन । पास भएपछि आउँला भनेन । कल्पनामात्र गर्थे सन्तु र सन्तेले सँगसँगै दसैँ मनाउने कुरा । तिहार र माघे सङ्क्रान्ति मनाउने कुरा । जे होस् सन्तुले भन्न भने छुटाएकी थिइन “छिट्टै आऊ” भन्ने कुरा ।

संसारमा एउटा नयाँ आतङ्कको सुरुवात हुँदै थियो । कोराना नामको जीवाणुले बिस्तारै सन्त्रास फैलाउँदै थियो । त्यो सन्त्रासको खबर सन्तुको कानमा पनि पऱ्यो । सन्तुलाई पहिले केही लागेको थिएन तर जब समाचार घनीभूत हुँदै गयो र सञ्चारको दुनियाँमा आफ्नो साम्राज्य फैलाउँदै गयो तब सन्तु पनि चिन्तित र आतङ्कित बन्न थाली । सन्तुले आत्तिएर नै भनी ” पैसा सैसा माया मारेर आऊ ।” तर सन्तेले कसरी माया मार्न सक्थ्यो र? आफ्नो श्रमको मूल्य लिएर घर जान पाइने कुरामा ऊ निश्चिन्त थियो । अफसोच त के भने अफिस धाउँदा धाउँदै उता र यता दुवैतर्फ लकडाउन भयो । विमानस्थल बन्द भयो ।

एकदिन एउटा दु:खद समाचार प्रसारित भयो कम्पनीमा । त्यो खबर रेडियो वा टि.भि.बाट थिएन । न थियो पत्रपत्रिकाबाट । त्यो त एकले अर्कोलाई, अर्कोले अर्कोलाई सुनाउँदै सुनिँदै आइपुगेको समाचार थियो । समाचार के भनौँ त्यो अफवाह हल्ला थियो । त्यो के थियो भने “लकडाउनभरि आधामात्र तलब दिइने” तर काममा भने कुनै कटौती थिएन । त्यसैले सबैले वाहियात हल्ला भनेर उडाइदिए र उसलाई पनि त्यस्तै लाग्यो ।

अब अफिसरले निहुँ पाएको थियो । विमानस्थल खुलेको छैन भनेर । अफिसरले उसलाई काम लगाउनुपर्दा भने  “धन्दा नमान विमानस्थल खुल्नेबित्तिकै घर पठाइदिन्छु ।” भन्ने गर्थ्यो ।

विमानस्थल कैले खुल्छ भन्ने अज्ञात थियो ।

एकदिन अफिसरले अफिसमा बोलायो । हाल खबर लियो ।

अफिसरले उसै गरी सहानुभूति देखायो । जसरी कहिलेकाहीँ देखाउने गर्छ । अर्थात् आवश्यक पर्दा । उसलाई पनि थाहा थियो कि यो केवल देखावटी हो भन्ने कुरा ।

” धन्दा नमान । धन्दा नमान । विमानस्थल खुल्नेबित्तिकै सबैभन्दा पहिले तिमीलाई पठाइदिन्छु ।” अफिसरले भन्यो ।

” एक, डेढ वर्ष भइसक्यो । म के भनौँ ?” व्यग्र हुँदै भन्यो ।

” धन्दा नमान । धन्दा नमान । म कुरा बुझ्छु । साँच्ची आज २ – ३ जना बिमारी पऱ्यो । अरू कोही छैन । तिनीहरूलाई अस्पताल लिएर जाऊ ।”

सन्ते केही बोलेन । घर जान नपाएको पीडाले मन चसक्क दुखेर कुँडिँदै थियो । आँखाबाट निस्कन लागेको अन्तर्वाष्पलाई परेलाभित्रै लुकायो र ऊ काम तामेल गर्न हिँड्यो ।

” मान्छेहरू तयार छन् । जाऊ जँचाएर ल्याऊ ।” हिँड्दै गर्दा अफिसरले भनेको कुरा कानमा आएर ठोक्किँदै थियो । उसले फर्केर हेरेन । ऊ गाडीतिर लम्कियो ।

ऊ क्याम्पमा पुग्यो र बिरामी कामदारहरूलाई गाडीमा राख्यो । २-३ जना भनेको थियो तर १०-१५ जना थिए ।

अर्को दिनजति जना गएका थिए, अस्पतालमा जँचाउन । तिनीहरू सबै सङ्क्रमित भइसकेका थिए र परिणाम सकरात्मक निस्क्यो ।

अरू क्वारिन्टाइन गएकै दिन सन्ते पनि अस्पातल जानुपऱ्यो । उसको स्वास्थमा एक्कासी गम्भीर समस्या देखा परेको थियो ।

घर जान नपाएको चोट । तलब कटौतीको पीडा । सन्तुको याद । रोगका बारेमा सुनिएको अतिरञ्जित हल्ला । सबैको समिश्रण भएर रोग प्रबल र ऊ दुर्बल हुँदै थियो ।

 

सन्ते अस्पतालको सघन कक्षको एक शय्यामा थियो । ऊ उत्तानो परेर लम्पसार सुतिरहेको थियो । उसले आफूमाथिको सिलिङ्ग हेऱ्यो । सिलिङ्गले उसलाई पनि हेऱ्यो । दुवै अमुक थिए । एक सजीव प्राणी थियो । अर्को निर्जीव छत । ऊ सजीव थियो, किनकि उसको मुटु ढुकढुक गर्दै थियो । वातावरण नीरव र सुनसान । चकमन्नतालाई चिर्दै कहिलेकाहिँ भेन्टिलेटर मेसिन टिकटिक, टिकटिक, टीँ…….. गर्थ्यो । जब मसिनको आवाज बन्द हुन्थ्यो तब फेरि शून्यताले निलिदिन्थ्यो सम्पूर्ण परिवेशलाई ।

नीरवको सघनमा उसको घाँटी निचोरिएजस्तो भयो । मनमा पश्चात्‍तापको ज्वालाले पोल्दै थियो । किन पहिल्यै घर गएनछु भनेर ।

गाउँघर, मेलापात, छोराछोरीको याद गऱ्यो । त्यहीबेला उसका आँखाअगाडि सन्तु आई । सधैँ आउँथी र त्यस दिन पनि आई । सन्तु निन्याउरो देखिएकी थिई । फुङ्ग उडेको अनुहार । उदास र उजाड । आँधीले लछारेको बिरुवाजस्तो देखिन्थी । सन्तुका हातका औँलाहरूले उसको हातलाई स्पर्श गर्दै करुण स्वरमा बोली “निर्दयी” ।

त्यति भनेर सन्तुले सन्तेको आँखामा निर्निमेष हेरिरही । त्यो गहिरो हेराइमा प्रेमको सहस्र मूल फुटिरहेको थियो । सन्तेले आँखा हटाउन सकेन । उसले पनि निर्निमेष हेरिरह्यो सन्तुलाई । उसले कण्ठ अवरुध्द पार्दै सोध्यो “कसरी ?”

” आउँछु भनेर किन आएनौ घरमा ?” सन्तुले निराशाको उच्छवास फ्याँक्दै भिजेको गलामा सोधी ।

उसले बोल्न खोज्यो । जबाफ निस्केन । “के भनौँ ?” ऊ व्यग्र भएर त्यतिमात्र भन्यो । भन्ने कुराहरू त सागरको छालझैँ उर्लिरहेथ्यो मनमा ।

सन्तु फेरि भावविह्वल भएर सोधी “मेरो आँसु देखेनौ ? के मेरो मायाले तिमीलाई तानेन ?” गहभरि आँसु पारी । दुवै आँखाबाट आँसुका ढिक्का टिलपिलाउँदै गालातिर झऱ्यो ।

” तेरो मायाले तानेकै हो तर विवशताले भाँजो हाल्यो आउने बाटामा ।” उसले दबिएको रोदन स्वरमा भन्यो । ओठ नखोलीकन । त्यति भन्दा उसको आँखाबाट पनि भल बग्न सुरु गऱ्यो । सन्तु पनि केही बोलिन । आँसु पुछिरहीमात्र ।

केहीबेर उनीहरूबिच सन्नाटा छायो । दुवैका मनभित्र अनेकौँ भावनाहरू उद्वेलित भइरह्यो । दुवैका छातीभित्र कालो बादल मडारिइरहेको थियो ।

“तैँले कसरी आफूलाई सम्हालेकी छेस् सन्तु मेरो अभावको पीडा ? मलाई माफ गर् है” त्यसो भन्दा उसको छाती बेसरी चर्कियो ।

सन्तु बोल्न नसकी टोलाइरही ।

” म तँलाई असाध्यै प्रेम गर्छु सन्तु ।” सन्तेले त्यसो भन्दै सन्तुको हात समायो ।

” यो पनि भन्ने कुरा हो र ?” सन्तुले भनी ।

सन्तुले उसलाई बेस्सरी कसी आफ्नो अँगालोमा । उसको आँखाबाट निस्केको आँसु बग्न थाल्यो सन्तेको निधारमा र दुवैका आँसु मिसिएर बग्दै थियो कोशीको भेल भएर र त्यही भेलमा ऊ बग्दै थियो । सन्तुको बाहुबाट फुत्किएर, जाँदै थियो अनन्त यात्रातर्फ ।

हप्ता दिन भएथ्यो फोनमा सम्पर्क नभएको ।

हरेक दिन, हरेक रात, हरेक पल । एउटा आशा बोकेर आउँथ्यो र निराशामा छोडेर जान्थ्यो । हजारौँचोटि फोन गरी सन्तेलाई । फोनमा जवाफ थिएन । न फोन कल आउँथ्यो न फोन गर्दा उठाउँथ्यो । हरपल आँखा र कान फोनमा टाँसिरही । कोही थिएन । खबर दिने । कसलाई सोध्ने । मन बेठेगानमा उडिरह्यो । सन्तुको होस हवास थिएन । अनेकौँ शङ्का उपशङ्काले गल्दै थिई । रातोदिन छटपटिरहन्थी । भए भरको जाने बुझेको देवी देवतालाई गुहारिरही । विक्षिप्त थिई, सन्तेको एक वचन सुन्नलाई ।

अचानक एक हप्तापछि एउटा अन्जान नम्बरबाट फोन आयो ।

सन्तेको फोन हो कि भनी विलम्ब नगरी फोन उठाई । जब अन्जान व्यक्ति बोल्यो । सन्तु तर्सिई । ऊ काँप्न थाली । त्यो व्यक्तिले जे भन्यो । त्यसपछि सन्तु मूर्च्छित भई ।

सन्तु कहिले मूर्च्छित हुन्थी । कहिले आर्तनाद, रोदन, चीत्कार गर्थी । जब ऊ चीत्कार गर्थी साथमा उसको छोरा छोरीहरूले पनि कोकोहोलो मच्चाउँथे । स्तब्ध थियो गाउँघर ।

केही दिनपछि सन्तुको हातमा सन्तेको फोटो र मृत्युको प्रमाण पत्र पुग्यो । पैसा पछि दिइनेछ भन्ने जानकारीमात्र पायो ।

सन्ते भने धर्तीको कुनै अन्जान बिरानो भूमिको माटामुनि विलुप्त भइसकेको थियो ।