हो ! सुनिता, तिमी यसपालि गाउँमा धान रोप्तै असारे गीत गाउन आइनौ । सदाझैँ तिमीले धान रोपेको हेर्ने रहर मेरो मनमै सीमित रह्यो । सुनिता, तिम्ले धान रोप्तै गाएका सुरिला असारे गीत आज पनि एकनास कानमा गुन्जिरहन्छन् । हामीले धेरै वर्ष दब्दबे हिलामा धान रोपेर बिताएका छौँ । माना रोपेर मुरी फलाएका छौँ । वर्षातको दर्के झरीमा स्यागु ओढेर खेती किसानी गरेको कहाँ बिर्सिन सकिन्छ र ?
मलाई याद छ सुनिता ! तिम्रो गैह्रीखेतमा पञ्चेबाजाका साथमा मैले हलो जोतेको, तिमीहरूले धान रोप्तै असारे गीत घन्काएको र बेठे, ठिङ्गारेहरूले हिलो छयाप्तै हामीलाई हिलोमा गाडेको आजैजस्तो लाग्छ तर यसपालिको रोपाइँमा तिमी आइनौ र ती अतीतका दृश्यहरू मेरा आँखाबाट ओझेल पर्न पनि सकेनन् ।
सुनिता ! तिमीले मलाई धान रोप्न जसरी नि आउँछु भनेकी थियौ तर किन आइनौ ? तिम्रो जाँच थियो कि तिमी बिरामी पऱ्यौ या हिलोसँग खेल्न घिन लाग्यो ? तिमी नआएपछि सयौँ पटक मोबाइलमा कल गरेँ तर तिमीले फोन उठाइनौ । अब त मेरो मोबाइलप्रति पनि घृणा जाग्यो है ?
तिमीले मलाई काठमाडौँ बोलाएकी थियौ भेट गर्न तर आर्थिक अभावका कारण आउन सकिनँ । त्यसपछि तिमीले मलाई सम्पर्क पनि कम गर्दै गएकी थियौ । गाउँ आएपछि मेरो दुखेसो सुनाम्ला भन्ने मनको इच्छा
मा पनि तिमी नआएपछि बिर्को लाग्यो । हो ! सुनिता तिमी र म गाउँकै माविबाट कक्षा १२ पास गरेका हौँ । तिमी उच्च शिक्षाका लागि राजधानी काठमाडौँ ताक्यौ तर म भने गाउँकै स्कुलमा नीजि स्रोतको शिक्षक बन्न बाध्य भएँ ।
गाउँलेहरूले उठाएर दिएपछि खाने तलब न हो नीजि स्रोत शिक्षकको । यसपालि गाउँमा खडेरीले मकै उब्जिएन । गाउँलेहरूले मेरो तलब दिन सकेनन् अनि मैले तलबविहीन अवस्थामा तिम्लाई भेट्न सकिनँ काठमाडौँमा ।
तर सुनिता ! तिम्रो र मेरो माया मक्केको धागो त थिएन नि ? यति छिटै टुट्ने ? सुनिता, हामीले आ–आफ्ना मनमा प्रेमका बिउ रोपेका छौँ । जुन नजानिँदो रूपमा हुर्किरहेको छ । पोहोर साल धान रोप्तै गर्दा तिम्रा पाखुरामा ट्याटु देखेको थिएँ । मैले घोरिएर हेरेको थिएँ त्यस ट्याटुलाई । त्यो ट्याटुमा मेरै फोटो थियो । धान रोपेर साँझ फर्किएपछि तिम्लाई जुम्ले चौतारोमा सोधेको थिएँ –सुनिता, किन तिमीले पाखुरामा मेरै ट्याटु बनाएकी ? मेरो कुरो तुरिन नपाउँदै तिमीले मलाई ग्वाम्म अँगालो मारेकी थियौ । धेरैबेर चौतारोमा हामी दुई, मायाको न्यानो अँगालोमा बेरिएका थियौँ । हाम्रो मायाको साक्षी बरपीपलबाहेक अरू थिएनन् ।
गाउँको उन्नति र प्रगतिका लागि हामीले थुप्रै सामाजिक काम गरेका थियौँ । गाउँमा मर्दापर्दा अग्रसरता देखाउँथ्यौँ । सायद त्यतिबेला देखिको नजानिँदो मायाले आजसम्म ल्याइपुऱ्यायो तर सुनिता आज किन मबाट टाढा हुने कोसिस गर्दैछ्यौ ? के तिमीले चौतारोमा मारेको अँगालो बिर्सिन सक्छ्यौ ? के तिमीले द्यौसी,भैलो खेल्दा सेलरोटी खोसेर खाएको भुल्न सक्छ्यौ ? स्कुल जाँदा बाटोमा छुनेबाजी खेलेको बिर्सिन सक्छ्यौ ? म काठमाडौँ नआउँदैमा तिम्रो मनमा पहिरो गयो है ? तिम्रो र मेरो माया सिद्धबाबा नजिकै रहेको कुहिरे भिरको पहिरो त हैन नि छिनछिनमा खसिरहने ?
गाउँलेहरू मेरै मुख हेरेर भन्दै थिए–यसपालि सुनिता किन आइन ? त्यतिबेला मेरो अनुहार नुन खाएको कुखुराजस्तै भाथ्यो रे ! साथीहरूले भनेका थिए । हामीबीच माटो र पानीको जस्तै अगाध सम्बन्ध थियो । तिमी मेरी नै थियौ र म तिम्रै । हाम्रो व्यवहारले देखाउँथ्यो । तिम्रो मेरो घरमा अर्मपर्म र ऐँचौपैँचोको कुनै हिसाब हुन्थेन । एकै परिवारजस्तै थियौँ घरको धुरी फरक भए नि, चुल्हा अलग भए नि !
खोई किन हो ! अस्तिमात्र तिमीले मलाई एउटा एस्एम्एस् गरेकी थियौ जहाँ लेखिएको थियो– आफ्नो बाटो गर्नू !
त्यही एस्एम्एस् हेरेर मन बुझाएको छु हिजोआज । आँसु पुछेको छु । सुनिता, तिमीले मलाई भुलौली,मेरो मायालाई भुलौली ,मसँगको प्रेम यात्रा भुलौली तर मेरै फोटो भएको ट्याटु के गर्छ्यौ नि ? सक्छ्यौ मेटाउन ? मेरो माया त मेटाउली तर मेरो फोटो भएको ट्याटु कसरी मेटाउछ्यौ ?
तिमी जोसँग बिहे गरेर जानेछ्यौ अनि तिम्रो पाखुराको ट्याटु उसले देख्ने छ । अनि, के जवाफ दिन्छ्यौ उसको प्रश्नको ? मनको पीडा लुकाउन सकिन्छ सुनिता तर अनुहारको पीडा लुकाउन गाह्रो हुन्छ । मनको माया त्याग्न सकौली तर पाखुराको मायाको चिनो ट्याटु चाहेर पनि मेटाउन सक्ने छैनौ ?
हो ! सुनिता कहिलेकाँही आफ्नै विगतले आफ्नैलाई दोषी देखाउँछ । आफनै अतीतले आफ्नैलाई पागल बनाउँछ । मलाई थाहा थियो–हाम्रो माया कुनै सोकेसको फूल होइन । जसलाई जतिबेला नि देखाइरहन पाइयोस् । तिमीले त्यसै गऱ्यौ र त आज त्यही नियति भोग्दै छ्यौ । मैले त तिम्रो प्रायश्चितमा के गर्न पो सक्छु र ? दुई थोपा पीडाका आँसु चुहाउनबाहेक !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।