आज पाँच कोठाको लामो घर एकदमै रौनक छ । घरको नातागोता र गाउँका गोत्रहरूको गमगमी छ । घरको उत्तरपूर्वको कोठा डिहुरार देवताको पातामा करुवाको दियो बालेको छ । त्यसको अगाडि सतरङ्ग गुन्द्री ओछ्याएको छ । जसमा एउटा नयाँ अनुहार, गोरीमा गोरी कलसाउँदो तर देखिनमा सुन्दर दुलही र छेउमा उही घरको कान्छो बुधना बसेको छ । उनीहरूको छेउमा दुईजना पाको व्यक्तिहरू आफ्नो सुरमा माँगर गाइरहेका छन् ।

मधुर माँगर गीतले घर गुन्जयमान छ । ससाना भुराभुरी, बुढापाका सबैजना घरको बहरी पिहरीमा कमिलाका ताँतीझैँ सगबगाउँदै छन् । आँगनमा ढोल, पिङ्री र सहनाईको मिठो धुन बज्दैछ । केटाकेटीहरू यताउती कुद्दै गरेको देखिएका छन् र सँगै मदमा लठ्ठीएकाहरू उही धुनमा झुम्मिएका छन् । लाग्छ, आज सबैजना आ–आफ्नो धुनमा कोही हर्षविभोर छन् त कोही मदविभोर, कोहि मनविभोर त कोही गानविभोर भएका छन् । हो, यस्तै कोही सङ्गीतमा भुलेका छन् ।

तर अफसोस, “यदि तिमी हाँस्यौ भने संसार हाँस्छ, यदि तिमी रोयौ भने तिमी एक्लै रुनेछौ”

भनेझैँ दुखनीको भएको छ । सबैजना मदहोस छन् । दुखनी मुर्झाएकी छे । खै किन विगतका दिनले उसलाई खोतली राखेका छन् । ठरभिट्वाको कट्कौरामा आलुको लेछरा सुखाउँदै छे । वर्षाको पानीझैँ चुहिएका आँसुले उसका जिउ भिजाएका छन् । पलपलमा खसेका ती बलिन्द्र आँसुका धारा कहाँबाट आउँदै छन्, उसलाई स्वयं थाहा छैन । झिसमिसे अँध्यारो भइसक्यो । बहिसक्यो फाल्गुनी बतास उसका दुखका पोका लिएर । आफ्नो पोका खोल्ने सुर गर्छ तर थाहा छैन उसलाई कहाँको कुन गाँठो फुकाउने ।

“ऐया ! मरेँ आमा । ऐया …………….मरेँ…….आमा ।” को चिच्याहट उसको कानमा पर्छ । ऊ टाउको उठाएर हेर्छ । अघि अघि छ सात वर्षकी केटी भाग्दै गरेकी देख्छ । पछिपछि एउटी अधबैँसे महिलाले उसलाई लखेटेको देख्छ । देख्तै थाहा हुन्छ कि त्यो महिला उसको आमा थिइनन् अरू कोही थियो । त्यो सानी केटी टुहुरी हो भन्नेमा कुनै कठिनाइ थिएन । किनकि उसका कपडा च्यातिएका थिए । च्यातिएर पेट, पिठ्यू निस्केका, टाँकाबिनाका कपडा । ठाउँ ठाउँमा फाटेका फराक र स्कट । अनि च्यातिएको पछ्यौरा लपेटिएको । मानौ ऊ टुहुरो हो तर पनि उसलाई विवश भएर बाँच्नुपरेको छ ।

यो दृष्यले दुखनीलाई उसको विगततिर बहकाउन यति सजिलो भयो कि जस्तो पानीलाई माथिबाट तल बग्न सजिलो हुन्छ । ऊ सोच्न थाल्छे । “म पनि कुनै दिन बच्चा स्याहार्ने केटी थिएँ । मेरो पनि यस्तै हाल थियो तर के गर्ने विवशतामा बाँच्नुपऱ्यो ।” यस्तै यस्तै कुरा यसको आत्माबाट धारा प्रवाह बग्न थाल्यो । विगतले उसलाई ढाक्यो । ऊ जिउबिनाको जराजस्तो भयो । ऊ आफ्नो अतीतमा पौडिन थाल्यो ।

“मेरी आमा भएको भए………….. हिजोबाट मेरो टाउको दुखिरहेको छ । ज्वरो पनि आइरहेको छ । मेरी आमा मलाई ओछ्यानमा सुताएर ललाई फकाई केही खान भन्थिन् तर खै…………..मेरी आमा कहाँ गएकी छिन् ? धेरै दिन भइसक्यो तर अझै आउँदिनन् । हिजो कान्छो दाइसँग सोध्दा महारानीले लगिहालिन् हाम्री आमालाई भन्नुभो । खै त्यो महारानी कति टाढा छिन् ? त्यत्तिबेला देखि नै जेठी भाउजूले मलाई र कान्छो दाइलाई ढोकानेरै सुताइदिन्छे । कान्छो दाइ निदाइहाल्नुहुन्छ, मलाई डर लाग्छ । बिछ्यौनाका लागि गुन्द्री र बोरा छ । ओढ्नलाई फाटेको कम्बल दिएकी छे । सारा पिठ्यू निस्केको हुन्छ । खोक्रो ढोकाबाट सिरेटो चल्छ, एकदमै चिसो लाग्छ । यही चिसाको कारण आज मेरो टाउको दुखेको छ । लगलगी भएको छ । मेरो देह नै झम्झमाउँदै छ ।”

एवंरितले उसको निश्चल शरीरबाट भाव प्रवाहित हुँदै थियो । लाग्दै थियो, उसले आफ्नो शरीरका आकृति झन् छोटो बनाउँदै छ । ठिक यसैबेला अनायास उसको कानमा कर्कश आवाज ठोक्किन्छ ।

“कुकुर्नी ह्याँआएर बस्या छेस् । कामचोर्नी खानेबेला अघिपछि गर्छेस्, गर्ने बेला यताउता ।”

ऊ झस्किन्छे । टाउको उठाएर माथि हेर्छे । रातोपिरो अनुहार, मन्जैराजस्तो आँखा तिर्मिराउँदै हातमा लठ्ठी लिएर आफूतिर आएको देख्छे । ऊ अस्ति भर्खरै कुटाइ खाएर सारा जिउ दुखेको सम्झिन्छे । आज पनि त्यही हाल होला भनेर उसको जिउ सिरिङ्ग हुन्छ । टाउको फुकेजस्तो लाग्छ । ऊ डराएर उठ्छे ।

“अझै यहीँ अड्डिन्छेस् ?”

भाउजूले उसको लामो जगल्टो समातेर घिसार्दै, लठ्ठीले पिट्दै लग्छे । ढिकीको चुक्कामा दुखनीको टाउकोलाई तीन चारपटक ठ्वाक ठ्वाक लडाइदिन्छिन् ।

“पोइ कस्तो पाउँछे ? खान्छेस् यही ढङ्गले बित्ताभरि जिब्रो काढेर भातको डल्लो । यति धेरै कुट्नु छ देख्तैनेस् ? कुकुर्नी धान कुटे पो खान पाउँछेस् ।”

गाली गर्दै ठूली भाउजू घरभित्र जान्छे । एक त रातभर जाडोले कक्रक्क भएर ज्वरो आएको थियो । जिउ सन्चो थिएन । त्यसमाथि भाउजूले लठ्ठी पिटाइ गर्दै ढिकीको चुक्कामा ठोक्काइन् । निधार नै फुटिहाल्यो ।

घाउ बनेर रगत बग्न थाल्यो तर मैले थाहा नै पाइनँ । झम्म शरीर झम्झमायो । घर घुमेजस्तै देखेँ । ढिकी, चकिया उल्टो भएजस्तो देखेँ । धर्ती नै धसेजस्तो लाग्यो । बालुवामा भएको रुख ढलाएझैँ त्यो चोटले मलाई ढिकीमा पछाऱ्यो । लगभग बीसतीस मिनेटपछि हल्का होस आएपछि अर्धचेतनमै मेरो जिब्रो फड्कियो ।

आमा पानी पिउँछु ।
कुकुर्नी, कामचोर बठिन्या, एकचोटि पनि ढिकीको पुच्छर दाब्या छैन पानी घिच्न मन लागिसक्यो । मरेकी तेरी आमा तँलाई पानी दिन आउँछे ? पानीको सट्टा ल मेरो मूत पिइहाल् ।

यी सबै कुरा मलाई सहनुपर्ने थियो । नसहेर मैले के पो गर्न सक्थेँ र ? बिस्तारै उठ्ने कोसिस गर्दै भाउजूले दिएको कामतिर लागेँ । ढिकीको पुच्छरमा चढेँ तर ढिकीको टाउको उठ्ने त कुरै थिएन । ढिकी चालचुल पनि गरेन । हुम्केर बल गरेँतर ढिकी चालचुल गरेन । त्यो ढिकीको अगाडि मेरो बल आँधीअगाडि बेना हम्केजस्तो भयो ।

भनिन्छ, आँधीले रुखलाई जति सजिलोसँग हल्लाए पनि पहाडलाई हल्लाउनसमेत सक्तैन । बस, त्यही थियो ढिकीको चाल र मेरो हाल । जब ढिकी उठ्तैन तब भाउजूले आफ्नो दुई वर्षको छोरालाई मेरो बुईमा कसिदिन्छिन् र भन्छिन्ल पत्तुर्नी कुट । बिहानै उठ्नेबित्तिकै भातको चेपा खान्छे । दिनभरि थालीको भात भुसा हसुरेझैँ खान्छे तैपनि मर्ने न मोटाउने । अझै ढिकी डाब्न सक्तैने । ल कामचोर्नी दुइटा बेर्री टाउकामा राखिहाल् ।

मेरो टाउकोमा थचक्क दुइटा बेर्री राखिदिइन् । सकी नसकी कुट्नै पऱ्यो जबसम्म कुट्ने सबै सकिएन । आखिर कोही पनि थिएन मेरो रोदन सुनिदिने, मेरो पीडा बुझिदिने । थियो त केबल मेरो कान्छो दाइ । उसलाई त जेठी भाउजूले पिटी-पिटी उठाएर बासी नखाएरै गाई र बाख्राको पछिपछि लगाइदिइन् । भए पनि के नै गर्न सक्नुहुन्थ्यो र ? केही गरे म सँगसँगै रोइदिनुहुन्थ्यो, केवल रुन सक्नुहुन्थ्यो । आमाबुवा भइदिएको भए टाउका सुमसुम्याइदिनुहुन्थ्यो । आँसु पुछिदिनुहुन्थ्यो तर हाम्रो बुवाआमा त महारानीकहाँ रातो मुला लिन त्यही बेलै गइसक्नु भयो, जहाँबाट फेरि फेरि फर्किनै सक्नुहुन्न जुनी-जुनी सम्म ।

फगनी बतास आफ्नो गति बढायो । त्यो बतासले उसको लामा लामा केश फहराइदिन्छ । कपाल तानेजस्तो लाग्छ । त्यो झट्काले उसलाई त्यही दिनको याद दिलाउँछ । त्यो दिन उसका सारा परिवारका सदस्य पस्का वरिपरि आगो ताप्तै थिए । त्यहीबेला कसैले यही किसिमले झटाक्क कपाल तानेको थियो । उसले टाउको फर्काएर हेर्छे । जेठो दाइ बसेको हुन्छ ।

के हेर्छेस् बोक्सिनी, मान्छे हेर्न नपाएझैँ ?

के हेर्छे, कपाल तानी दिएपछि ?
कान्छो दाइले भनिदिए । सायद दया लाग्यो र सहन सक्नु भएन ।
मैले तानेको हो र तेरो बोक्सिनी बहिनीको कपाल ?
हो नी त मैले देखेँ । उहाँ सानो स्वरमा भन्नुभयो ।

धेरै बर्ता बोल्छस् भन्दै जेठो दाइले कान्छो दाइको टाउकोमा बल्दै गरेको ठेटनाले हान्यो । कान्छो दाइको टाउको र जिउभरी आगो नै आगो भयो । कमिज भित्र अङ्गेठा र झिल्का पनि पसिहाल्छ । कान्छो दाइ चिच्याउँदै आँगनतिर भाग्नुभयो । एकछिनमा कमिज र कट्टु जलेर भ्वाङ्ग पर्छ । अझै पुगेन भनेर फरुवाको बेतले पिट्न जान्छ । त्यो देखेर मैले सहन सकिनँ । म रुँदै चिच्याएँ ।

दादा, कान्छो दाइलाई नमार्नुस् ।

तँ पनि अझै खोज्छेस् भन्दै मेरो गालामा चड्कन दियो । एक लाता हानेर ढलाइदियो । म त्यहीँ नै ढलिहालें ।
यस्तै सोच्ता सोच्तै दुखनीलाई चक्कर लागेजस्तो भयो । ऊ मुढामा खस्न थाल्छे । ऊ सम्हाल्न खोज्छे । जाँघ कचाक्क गर्छ । तब मनमनै सोच्छे, यही हो त्यो दिन जेठो दाइले धकेलेको खत् । ऊ आफ्नो जिउ सम्हाल्दै बेचालमा बस्छे । आँगनमा ढोलकहरूले ढोलको धुन बदल्छन् । टिम्की र सहनाईको सुरताल बदल्छन् । झ्याम् कुटी………………झ्याम् कुटी……………. झ्याम्………… झ्याम्…………….  यो आवाज उसको कानमा पर्छ । आवाजले उसको सोचाइको प्रवाह अन्तैतिर तान्छ । ऊ मनमनै सोच्छे ।

आज पनि यो घरमा अर्को भोज छ । त्यो दिन पनि यस्तैगरी ढोल बज्दै थियो । त्यत्तिबेला पनि यहाँ भोज थियो । त्यो दिनको भोज र आजको भोजमा फरक यत्ति छ कि त्यो बेला एक आठ नौ वर्षको केटी र एक लक्का जवान पुरुषको बिहा गरिएको थियो तर आजको भोजमा एक बाँझो पतोहरी र छिप्पिएको पुरुषको विवाह गरिँदैछ । त्यो आठ नौ वर्षको दुलही मै थिएँ तर आज त्यही ठाउँमा एक नयाँ दुलही छे जो मेरो सौतेनी बन्दै छ । दुलहा त त्यही हो जुन दिन ऊ थियो र आज पनि ।

जब मेरो सानै उमेरमा बिहा भयो तब माइतीको बात पतिको लात भनेझैँ थप एक अध्याय मेरो जीवनमा थपिएको थियो ।

मेरो भनाइको अर्थ विवाहपछि पनि मेरो दिनचऱ्यामा कुनै परिवर्तन आएको थिएन भए पनि केवल त्यो घरको परिवर्तन । जेठी भाउजूको ठाउँमा जेठानी । जेठो दाइको ठाउँमा आफ्नै पति । हो परिवर्तनको नाउँमा यही थियो ।

केही समयपछि मलाई त्यो घरको भान्से बनाइयो । एकदिनको कुरा हो, जब म कुवामा भाँडा माझ्न गएँ । सायद धेरै बेर नै भइसकेको थियो । भात डढेर माम्री भइसकेको थियो । त्यहीकारण घरका सबैसँग नमजासँग गाली खानुपऱ्यो । आफ्नो पतिको लात र बात खानुपऱ्यो । यतिमात्र कहाँ हो र, पतिबाटै माइती लखेटिएँ । माइती टाढा थियो । रुँदै आँसु पुछ्तै थकित भएर माइतीघर पुगेँ । आँगनमा के पुगेको थिएँ कर्कश आवाज मेरो कानमा ठोक्कियो ।

“जाँगर सकियो क्यारे, कहाँ भहराउन आछे ? जाँगर पुगे पो घरजम गरी खाने । यसैकारण टुम्माझैँ हलुङ्गो, पानीझैँ पातली भा होली ।

मैले सोचेँ माइती जाँदै छु । राम्रो होस् या बेकार, माइती भनेको माइती नै हो । दाइभाउजू जस्तो भए तापनि आफ्नै दाइभाउजू हुन्, उठ्ने बस्ने, भोक प्यासका बारेमा जरुर सोध्नेछन् तर त्यसो भएन । बरु भर्खरै निको हुँदै गरेको घाउमाथि झन् पीडा थपियो । कसरी सोचेँ बडो चित्त दुख्यो, खुबै रोएँ । कुनै चिज छाती फुटेर निस्केझैँ लाग्यो । सकी नसकी आफ्नो मन थाम्ने कोसिस गरेँ । दिल सब्र गराउन खोजें । आफ्नो पुरानो फाटेका बोरा र गड्डा ओछ्याएर भोकै सुतिहालेँ ।

के सोचेँ के सम्झें ? आधा रातसम्म निन्द्रा नै परेन । मनभरि वेदना र रोदन, आँखाभरिआँसु लिएर पल्टिरहेँ । एक मनले भन्थ्यो यो पनि तेरो के जिन्दगी, जा कुवामा कुदेर मरी हाल् । अर्को मनले भन्थ्यो मर्न यति सजिलो कहाँ छ र जति जिउन सजिलो छ । तेरो त कर्म नै यस्तै छ । यही तेरो दैवको लेखा हो । तँलाई यसरी नै बाँच्नुपर्छ ।

अचम्म छ यो दुनियाँको नियम । न यो ज्यानलाई मर्न दिन्छ न राम्रोसँग बाँच्न दिन्छ । ढोकाको पिस्नीमा बसेको धुलो जस्तै लगाउने बेला र खोल्ने बेला पिसिनुपर्ने । के यही हो र महिलाको जिन्दगी ? के महिलाको अङ्गमा दिल हुँदैन ? होइन भने कहाँ सम्मको अन्याय र अत्याचार ? यो कस्तो जिउ दुहुने, मन दुहुने ? यो मान्छेको खेल । धन्य छ यो दुनियाँको नियम ।
यस्तै यस्तै सोच्तासोच्तै म कतिखेर निदाएँ थाहै पाइनँ । अर्को दिन हुँदा मलाई एउटा कुरा सुन्नुपऱ्यो । म आएको कारण आज मेरी माइली भाउजू आफ्नो माइती भागिहालिन् रे । उनी भाउजू मेरी सटही थिइन् । मेरो र भाउजूको सट्टा पट्टा गरिएको थियो ।

आएको तेस्रो दिन मलाई पठाउने सुरसार गर्न थाले दाइभाउजूले । मलाई पठाउने चाल पाएर जेठो दाइसँग आग्रह गरेँ ।
दाइ म त्यहाँ जान्नँ । मलाई श्रिमान्ले खुबै पिट्नुहुन्छ । घरका मान्छे पनि जे पायो त्यही गाली गर्छन् ।

नगई छुट्टी पाउँछेस् कामचोर ? यहाँ बसेर लैयामा अण्डा पार्छेस् ? अर्को नाथेसँग जान्छु भन्या होलिस् । बीस भतारी ।
भाउजूको यस्तो कटुवचन सुनेर मेरो मन छियाछिया भयो । मन रोक्न सकिनँ । आँसुको बाँध फुट्यो । म डाँको छोडेर रुन थालें । मलाई रोएको देखेर सायद बरघरान हजुरआमालाई टिठ लाग्यो क्यारे उहाँले मेरो तर्फबाट वकालत गर्न लाग्नुभो ।
बच्ची भर्खर हिजो त आयो । पठाउन लाग्यो बिचरीलाई ? अझै त सानै छे । एक दुई रात अझै रहन देऊ न । दिल सबुर भएपछि पठाइदेऊ ।

न यसको मूतले दियो बल्छ न यसको गुले राश लाग्छ । किन रहन दिने सासुमा दानापानीको नाशमात्र ।

के कुरा गर्छौ बुहारी, बिचरीले जे सक्छ त्यही त गरिराखेकी छ । जबदेखि जान्ने सुन्ने भएको छ तबदेखि बसेरै त खाएको छैन । यसका सहपाठी अझै काममा लागेका छैनन् । जिउ न जन्तर तिमीहरूले खाऊँ खाऊँ जस्तो गर्छौ बुहारी ।

काग काँ काँ गर्दै गर्छ सुकुन सुक्तै गर्छ भनेझैँ बरघरान हजुरआमाले भन्दै गर्नुभयो उता मेरा दाइभाउजूले मेरो हात खुट्टा बाँधेर लह्र्यामा बसाइदिए ।

मेरी आमाको खट्रयाङ्ग खुट्रङ्ग राख्ने सानो भौँकी थियो । दाइले लठ्ठीमा गुठेर मैसँगै त्यौ भौँकी पनि राखिदियो । सायद त्यही थियो मेरो माइतीले दिएको सबैभन्दा ठुलो दाइजो । लर्हेन्ह्वाले लर्हिया दौडाए उहीदिशातिर जुन दिशाबाट अस्तिमात्रै म लखेटिएको थिएँ । म जाँदिनँ भनेर अनेक कोसिस गर्दै विवशताको यात्रा गरिरहें । लर्हिया गाउँदेखि केही टाढा पुगिसकेको थियो । पछिबाट मेरो कान्छो दाइ मेरी बहिनी मेरी बहिनी भन्दै रुँदै आफूतिर आएको देखेँ । मेरो भक्कानो फुट्यो । म चिच्याई चिच्याई रुन थालेँ ।

मेरो कान्छो दाइ रुँदै लर्हिया नजिकै पुग्नुभयो । मेरो टाउको सुम्समाउँदै नरोऊ बहिनी नरोऊ बहिनी भनेर आँसु पुँछिदिनुभयो । हात खुट्टा बाँधिएको डोरी खोली दिनुभयो । म झन् झन् जोडले कान्छो दाइको काँध समातेर रुन थालेँ । मेरो दाइ मलाई मनसाउन भावबिह्वल गीत गाउन थाल्नुभयो ।

नरोऊ बहिनी नराऊ बहिनी
दुनियाँको तिमी र म हौँ टुहुरा ।
नारीको जात हृदयमा रोदन र वेदना
भाबीले लेखेको यही हो मैले तिमीलाई भन्ने
नरोऊ बहिनी नराऊ बहिनी
दुनियाँको तिमी र म हौँ टुहुरा ।
पराई घर आफ्नो बनाउने
माटाको घर सुन बनाउने
नरोऊ बहिनी नराऊ बहिनी
दुनियाँको तिमी र म हौँ टुहुरा ।
एक एक गरेर नौ लाख जोडिन्छ
जिन्दगीको नयाँ फूलबारी बनाइन्छ
नरोऊ बहिनी नराऊ बहिनी
दुनियाँको तिमी र म हौँ टुहुरा ।

गीत गाएर मेरो दाइले मलाई सम्झाउँदै हुनुहुन्थ्यो । हामी टाढै पुगिसकेका रहेछौँ हामीलाई पत्तै भएन । केहीबेर पछि मलाई जानुपर्ने ठाउँ मेरो ससुराली पुगिसकेका रहेछौँ । त्यही घरको आँगनबाट मेरो कान्छो दाइले मसँग बिदा लिनुभयो । त्यो दिनको बिदाइ सायद अन्तिम बिदाइ थियो हाम्रो । त्यसपछि अझैसम्म पनि भेट भएको छैन । मेरो कान्छो दाइको विशाल हृदयमा मेरा लागि ठुलो ठाउँ थियो जहाँ म सजिलैसँग अटाउन सक्थेँ । उन्मुक्त रमाउन सक्थेँतर खै उहाँ बाच्नुभाछ या मर्नुभयो ? यदि बाँचेको भए यत्रो ठुलो संसार जहाँ म कुद्न फन्किन सक्थेँ । कसरी लुटियो ? सायद ती पापी दाइभाउजूको कटु वचनसहन नसकेर यो संसारबाट बिदा लिनुभयो होला । कान्छो दाइको सिकाइले पराई घरलाई आफ्नो घर सम्झेँ । एक एक गरेर लाख जोडेझैँ घर जोडेँ । दुखको आँसुलाई पानी सम्झी पिई बाँचे । दर्दको आँधी बेहरीलाई आफ्नो सास मानी स्वीकार गरेँ । एउटा पत्नीले गर्नुपर्ने हरेक काम कर्तव्य पूरा गर्दै आएँ । एउटा पतिलाई पत्नीको कुनै पनि किसिमको कमी कमजोरी नहोस् भनी कोसिस गर्दै आएँ तर आज पतिको पत्नीप्रति यति ठुलो विश्वासघात ! जब कि म एउटा बच्चाको आमा र अहिले अर्को बच्चाको आमा पाउने तर्खरमा छु । आजबाट त्यो पति अर्को पत्नीको पति । म जिउँदै छँदा ममाथि सौता । यो कस्तो चाल हो ?  के यही हो मेरो जिन्दगीको कडी ? के भोलिका दिनमा मेरा बच्चाहरूमाथि यस्तै हाल बित्छ ? जुन मैले आजसम्म भोग्दै आएकीछु । नहोस् यस्तो कहिल्यै, कदापी नाइँ ।

ए ! कान्छी भाउजू त ह्याँ आएर बस्नुभएको छ ।
दुखनी झस्किन्छे । उसको मानसिक सोचाइको त्यान्द्रा खलबलिन्छ । सोचाइको धाराप्रवाह बन्द हुन्छ । हड्बडाउँदै भन्छे ।
किन नानी ?

हजुरलाई घरमा बोलाउँदै हुनुहुन्छ । तपाईँ बिना दुलही पर्छिन् बनेको छैन । पहिली श्रीमतीबाट पातामा दोहोलो कटाउनुपर्छ र बल्ल अर्कीलाई पर्छिन् बन्छ रे । त्यसैले बोलाउँदैछन् ।

दुखनी आफ्नो कान्छी नन्दसँगै डिहुरार कोठातिर लाग्छन् । जब उनी डिहुरारको ढोकामा पुग्छिन् अनायास दुखनीको पाइला रुक्छन् । ऊ ढोकामा झुक्काझैँ ठिङ्ग उभिई डिहुरारको दृष्य आक्रोश र रोदन मिश्रित अनुहारले हेर्छिन् । धेरै बेरसम्म हेरेको हेर्यै हुन्छिन् । नयाँ दुलही र आफ्नो पति बुधनालाई पाता अगाडिको गुन्द्रीमा बसेको देख्छिन् । दुईचार जना बुढापाकाहरू माँगर गाउँदै मन्त्रमुग्ध हुन्छन् । नातागोता, गोत्र र गाउँका केटाकेटीहरूले कोठा खचाखच भरिएको देखिन्छ । सबैको अनुहारमा एक नयाँ दृष्य देख्न पाइने आशाको धैर्यता अटल देखिन्छ । दुखनी मनमनै भन्छिन् ।

अचम्म छ दुनियाँ । कोही हेर्नमा दङ्ग छ र कोही देखाउनमा । कति मजा आइरहेको छ उनीहरूलाई । चराको हाही केटाकेटीको खेलवाड । कति अनौठो चाल यो संसारको । धन्य भगवान् ।

आऊ न नातिनी के हेर्दैछ्यौ ?  कतिबेर पर्खाउँछ्यौ ? धेरैबेर भइसक्यो । रीत पुऱ्याउनेमात्र त हो । अलिअलि दुइटै बेहुला बेहुलीलाई लातले छोइदेऊ भैहाल्छ ।

एकजना पाकाको आवाज खस्न नपाउँदै अर्की बुढी मान्छेको बोली फुट्छ ।

हो हो बुहारी, रीत पुऱ्याउने त हो नि । हान एक एक लात ।

दुखनी बिस्तारै आफ्नौ पाइला अगाडि बढाउँछे तर उनीहरूसामु पुग्दा उसको पाइला रोकिन्छ । तब एक किसिमको कठोर र आदेशात्मक आवाज कम्पायमान हुन्छ ।

हान बुहारी । सधैँझैँ मार खायो, आज तिमीले मौका पाएकी छौ । पुरुषको जात नै घिनमर्दौ । हान बुहारी ।

दुखनी लात उठाएर दिन्छिन् दुवैलाई । दुवै पाता अगाडि घोप्टिन्छन् । अगाडिको भुईँ नै हप्किन्छन् । उसको लोग्ने बुधना मुरमुरिदै उठ्छ र दुखनीलाई पिट्नका लागि रातोपिरो अनुहार गराएर मन्जैराजस्तो तिरमिराउँदै उसतिर झम्टिन खोज्छ तर कठोर आवाजमा प्रतिउत्तर आउँछ ।

रुक्नुस् । यो सबै म सहँदै आएकी छु । सहँदा सहँदा यतिका वर्ष भयो । जब कुनै चिज सीमा नाँघ्छ तब त्यो बेकम्मा भैहाल्छ । आज हजुर मेरो जिन्दगीसँग यस्तो खेलवाड गर्दा गर्दा धेरै अगाडि बढिसक्नुभयो । म सानै छँदा हजुरसँग मेरो विवाह भएको थियो । यदि हजुर मान्छे भएको भए मेरो काँचो उमेर बुझ्नुपर्थ्यो । हाम्रो अनमेल विवाहको प्रतिकार गर्नुपर्थ्यो । त्यो दिन तपाईँ छैठौँइन्द्रियले परिपक्व भरिभराउ हुनुहुन्थ्यो भने तपाईँमा सोच्न र बुझ्न सक्ने अक्कल ज्ञान थिएन ? यदि थियो भने किन यो कुरा सोच्न र बुझ्न भन्दा पहिले तपाईँ मलाई कठ्पुतली बनाउन सुरु गर्नुभयो ? गर्ने नगर्ने असहाय पशु व्यवहार गर्नुभयो । चार लात चार बात सहेर म दुखियारी सयान हुँदा मलाई कामुकताको स्वार्थ पूरा गर्ने साधन बनाउनुभयो । म आफ्नो जिन्दगीको आधार मानी स्वीकार गरेँतर खै तपाईँ कहाँ गर्नुभयो प्रेम ? कहिले गर्नुभयो एक पतिले गर्ने व्यवहार ? कहाँ छ तपाईँको पतिको कर्तव्य ?

सबैकाअगाडि यसरी सुन्दा बुधनालाई असह्य हुन्छ । ऊ कराउँदै बोल्छ ।
चुप लाग्, नत्र खान्छेस् लात राम्रै गरी ।

यो तपाईँको लात र बात त मेरा लागि राम कहानी बनेको छ । यो पाउने र खाने मेरा लागि ठुलो कुरा होइन तर आज म कसरी चुप लागेर बस्न सक्छु । जब कि म आजसम्म जे भन्नुहुन्थ्यो त्यही गर्दै आइरहेँ । जुन हातले उठाएर दिनुभयो त्यसैमा चित्त बुझाएँ । आफ्नो मनबाट कुनै चिजका लागि कर गरिनँ । हजुरको घर आफ्नै घर सम्झेँ । एक एक लाख जोडेजस्तै घर व्यवहार जोडेँतर आज ममाथि सौता राख्तै हुनुहुन्छ । के तपाईँले पतिको नाताले आफ्नो पत्नीलाई दिने सौगात यही हो?
दुखनीको आँखाबाट आँसु बग्न थाल्छ । ऊ सुँकसुँक गर्दै आफ्नो पतिको खुट्टा समातेर रुन थाल्छे । डिहुरार कोठाभरि सन्नाटा छाउँछ । सबै पाहुना र गोत्रहरू चुपचाप हुन्छन् । केहीछिन पछि दुखनी आफ्नो टाउको उठाउँछे र सुँकसुँक रुँदै आफ्नो श्रिमान्लाई आफ्नो व्यथा पोख्छे ।

हो, सन्तोषको बाबा म कहिले हजुरको मन बुझ्ने कोसिस गरिनँ र? हजुरको मान मर्यादामा आँच आउने काम कहिले गरेँ ? कहिले हजुरको दुखमा रोइनँ? कहिले हजुरको सुखमा हाँस्ने कोसिस गरिनँ? आखिर म के खराब र बिगार काम गरेँ र आज म जिउँदै छँदा अर्को बिहे ? ममाथि सौता आखिर किन सन्तोषको बाबा ?  बोल्नुस् न ? म हजुरसँग सबै किसिमको दुख दर्द पचाउन सक्छुतर यो तपाईँको कामलाई सहन म सक्तिनँ ।

बुधना जरजर हेरिरह्यो । रुखझैँ ठिङ्ग उभिएर हेरिरह्यो तर पनि उसमा केही परिवर्तन देखिएन । फेरि दुखनीले आफूले आफैँसँग भन्छे ।

सानोमा आमाबुवाको टुहुरो थिएँ । सयान हुँदै गर्दा दाइभाउजूको मायाबाट वञ्चित भएँ । विवाहित भएँ अब जिउँदै श्रिमान्बाट उपेक्षित भएकी छु । आपत्विपत।मा सहारा दिने मेरो एउटा कान्छो दाइ हुनुहुन्थ्यो उहाँ पनि यो संसार रहनु भएन । अब यो संसार मेरा लागि शून्य र बिरानो भयो । यस्तो संसारमा जिउनु भन्दा त मर्नु बेस छ ।

यस्तै भन्दै दुखनीले आफ्नो पतिको अनुहारमा हेर्छे । उसले मर्ने भनेर त्यहाँबाट हिँड्छे । मेरो कान्छो दाइतपाईँ कहाँ जानुभयो । आज म तपाईँकहाँ आउँदैछु भन्दै पाइला अगाडि सार्दै जान्छे । जब कान्छो दाइ भन्ने शब्द बुधनाको कानमा पर्छ, उसलाई आफ्नो बच्पनको याद आउँछ ।

त्यो दिन म पनि आफ्नो बहिनीको कान्छो दाइ थिएँ । हाम्रो बाबा बितेपश्चात् म र मेरी बहिनी थियौँ । ऋण खाएको बहानामा एउटा बाहुन मालिकले हामीलाई समातेर लग्यो । मेरी बहिनी ५ महिनाकी मात्र थिई । नुन र चटनीसँग मात्र खाना खानुपर्थ्यो । मलाई घोडालाई हान्ने कोर्राको पिटाई खाएर बाच्नुपर्थ्यो । एकदिन मालिकको घरबाट भाग्ने बेला आफ्नो बहिनीलाई नदीमा बगाएर झन्नै मारिनँ । म पनि झन्नै मरेको थिएँ । त्यत्तिबेला हाम्रा लागि कोही थिएन । आखिर हामी पनि एक बिधवा बुढीको छोराछोरी थियौँ । हत्तेरिका म कस्तो मान्छे हुँ ? आफ्नो टिठलाग्दो अतीतलाई भुलेर अर्काको दुख दर्द बुझ्न नसक्ने कहाँसम्मको मेरो बेबुझी हो ? आफ्नो दुख दर्दमा खारिएकी श्रीमतीको मर्मलाई बुझ्न नसक्ने म कति पतित पति हुँ ? म मूर्ख हुँ । म पापी हुँ । म एक राक्षस हुँ । म आफ्नो श्रीमतीसँग तुरुन्तै अहिले नै माफी माग्नुपर्छ ।

यो कुराले उसको मनमा एक किसिमको आँधी आउँछ । निश्चल शरीरमा भुईँचालो आउँछ । दिमाग घुमेजस्तै हुन्छ । टाउको फुकेजस्तो लाग्छ । आँसुका थोपा सलबलाउन थाल्छन् । उसको पाइला आफसे आफ अगाडि बढ्न थाल्छ । ऊ कराई कराई दुखनीलाई आग्रह गर्न थाल्छ ।

सन्तोषकी आमा, सन्तोषकी आमा नजाऊ मलाई छोडेर । तिमी रुकिहाल । सन्तोषकी आमा म तिमीलाई छोड्न सक्तिनँ । तिमीबिना म बाँच्न पनि सक्तिनँतर दुखनी अगाडि बढी रहन्छे । तिमी आत्महत्या गर्न नखोज सन्तोषकी आमा । तिमी आफ्ना विगतका पीडा सोच । हाम्रो एउटा छोरा छ । उसको लागि बाँच्ने सोच । हाम्रो छोरा टुहुरो हुनेछ । हाम्रो छोरालाई पनि हामी जस्तै दशा भोग्नुपर्ने हुन्छ । तिमी यस्तो बेबुझीजस्तै नगरस नजाऊ तिमी । सन्तोषकी आमा तिमी नजाऊ ।

बुधना दौडेर गई दुखनीलाई समात्छ । अँगालोमा समात्छ र उसको आँसु पुछिदिन्छ ।

सन्तोषकी आमा अब तिमी मलाई कहिल्यै छोडेर नजाऊ । म तिमीप्रति ऋणी छु । अबदेखि मलाई त्यो ऋण तिर्न देऊ जुन ऋण मैले यत्तिका वर्षदेखि खाँदै आएको छु ।

दुखनी नजर उठाउँछे । त्यो नजरमा बुधनाको नजर पनि जुध्छ । अनायासदुवैको ओठमा मुस्कान प्रस्फुटित हुन्छ । दुखनीको जिब्रो चल्मलाउँछ ।

सन्तोषको बाबा हजुर मलाई यति लज्जित नबनाउनुस् ।
हो मलाई माफ गरिदेऊ सन्तोषकी आमा । आज मलाई मनभरिको माया गर्न देऊ । आज तिमीले मेरो मनभित्र रहेको पापी राक्षसलाई मारेर मेरो जिन्दगीको नयाँ उज्यालो बाटो देखाइदिएकी छौ । म अथाह खुसीछु । सायद मेरो बच्पनभरिको तपस्याले तिमीजस्तो दीलाई पत्नीको रूपमा पाएँ । भगवान् खुसी भएर नै बरदान स्वरूप मैले तिमीलाई पाएँ । तिमी मैले पाएको वरदान हौ सन्तोषकी आमा ।

भयो अब सन्तोषका बाबा । हजुर हाम्रो सन्तोषका बाबा हुनुहुन्छ तर हजुरको आँखामा पानी ?
हो सन्तोषकी आमा यो पानी हो तर यो खुसीको पानी हो । आज बहन देऊ यो पानीलाई । बन्न देऊ नदी जसमा हामी जिन्दगीभरि नुहाउनेछौँ । तबसम्म नुहाउनेछौँ जबसम्म हाम्रो जिन्दगीको सीमा मेटिँदैन ।

दुखनी र बुधना धेरै बेरसम्म एकआपसमा अँगालोमा बेरिइ रहन्छन् । दुवैजना एक अर्काप्रति नजरले धेरैबेरसम्म के के कुरा गर्दै थिए । के के बाचा खाँदै थिए । यो कुरा त केवल उनीहरू नै जानून् । आखिर म त विवाह हेर्न गएको दर्शक थिएँ । जुन नयाँ दुलहीको विवाह हेर्न गएको थिएँ ऊ त उत्तिबेलै भागिसकेकी थिइन् । कतिखेर भागी ? कहाँ भागी ? मलाई केही थाहा भएन । अन्त्यमा मलाई उही पुरानै जोडीको विवाह पुन हेर्नुपऱ्यो । नयाँ दुलहीको विवाह हेर्न पाइएन ।

दुखनी र बुधनाको जोडी हातको माला जोडेर घरभित्र प्रवेश गरे । हामी सबै आफ्नो घरतिर लाग्दै सोच्यौँ ।
कुकुर र बिरालोको जात, पति र पत्नीको बात ।

(साभारः “अस्तित्व” कथासङ्ग्रह । अस्तित्व कथासङ्ग्रह थारु भाषामा लेखिएको “हमार जुनी” कथासङ्ग्रहबाट सोम डेमनडौराद्धारा नेपालीमा अनुवाद गरिएको हो ।)