तराईको ठाँउ,  हेमन्त ऋतुको समय छ । शीतलहरपछि झुल्केको  घामले  मान्छेमात्र नभई प्रकृतिमा रहेका फूल, बोटबिरुवाले समेत घामको न्यानो स्पर्शका लागि तछाडमछाड गरिरहेको जस्तो देखिन्छ । मानौँ बर्सौँपछिमात्र सूर्यनारायणले आफ्नो कृपादृष्टि त्यस ठाउँमा पारेकोजस्तो देखिन्छ । आँगनमा विभिन्न रङ्गीचङ्गी फूलहरू फुलेर आँगनको शोभा बढाएका छन् । पर्खालको छेउमा आकर्षक तरिकाले रुखहरू लगाइएको छ । एक तलाको घरको आँगनमा अन्दाजी साठी वर्षकी अनुराधा जो बर्सौँ प्राध्यापन पेशामा आबद्ध रहेर अहिले अवकाशको जीवन बाँचिरहेकी छिन् । उनको  कपाल लगभग पूरै सेतो भैसकेको छ । मान्छे  बुढी भए पनि सफा र सुकिला लुगा लगाएर घाम ताप्दै बसेकी छिन् ।

लगभग साढे एघार बजेको हुँदो हो, त्यो समयमा  पर्खालबाहिर गेटनजिकै एउटा सरकारी प्लेटको गाडी आएर घ्याच्च रोकिन्छ। सरकारी पोसाक लगाएका तीनजना मानिस उनको घरको गेट खोलेर भित्र पस्छन् ।तीनैजनाले “आमा नमस्कार!”  भन्दै नजिक पर्छन् । एकछिन त उनी सोच्नै सक्दिनन् के गरौँ कसो गरौँ हुन्छ । “नमस्ते !बाबुहरूलाई मैले चिनिनँ नि।” भन्दै कुर्सी राखेर “बसौँ न “भन्छिन् ।

मदनको मुहारमा खुसीको झल्को अपार देखिन्छ । “चिनजान त गर्दै गरौँला नि आमा , पहिला भन्नु त सन्चै त हुनुहुन्छ  नि।”

“सन्चै छु बाबु , तर तपाईँहरू यहाँ आएको कारण बुझ्न सकिनँ नि , मबाट केही गल्ती  त भएको छै

पुष्पा शर्मा

न ?”

“भएको छैन आमा ,हजुरजस्तो मान्छे  जस्ले सधैँ अरूलाई सन्मार्गमा हिँड्न सिकाउँछ  त्यस्तो व्यक्तिबाट पनि केही गल्ती होला त ?”

“मेरो बारेमा बाबुलाई कसरी थाहा भयो ? मलाई कसरी चिन्नुहुन्छ?”

“एउटा यस्तो अनुशासनहीन,पढ्नलेख्न नआउने , पढाउने बेलामा एक्लै झोक्राएर बस्ने ,  कसैले केही भन्यो कि झगडा गर्न जाने , विद्यालयको छात्रवासमा बस्ने खाइलाग्दो केटा, हजुरलाई सम्झना  छ ?”भन्दै गर्दा अनुराधा पहिलाको त्यो समयमा पुग्छिन् जुन समयमा उनले कक्षा चारमा पढ्दै गरेको मदनलाई सम्झन पुग्छिन् ।

उनी कक्षामा प्रवेश गर्नासाथ सबै विद्यार्थीलाई नियाल्ने क्रममा ऊ बेग्लै देखिन्थ्यो ,मानौँ शरीर कक्षामा छ मन चाहिँ कोसौँ टाढा कतै घुमिरहेको छ । उसको बारेमा विद्यालय प्रशासनबाट  जानकारी पाएपछि थाहा भयो । सानै उमेरमा बाबा आमाको दिनहुँ झगडा पर्ने गरेको अनि सधैँजसो बाबा रक्सी खाएर आउने र आमालाई कुट्ने गरेको दृश्यले त्यो बाल मस्तिष्कमा निकै आघात परेको थियो । बाबाको डरले ऊ ननिदाए पनि निदाएकोजस्तो गरी सुत्ने गर्थ्यो । कति रात त ऊ बाबाको नजरबाट बच्न खाटमुनि  चिसो जमिनमा लुगलुग काँप्दै निदाएको थियो । सानै उमेरमा उसका आँसुले कति सिरानी चिसिएका थियो ।

बाबाको ज्यादती सहन नसकेर उसकी आमाले उसलाई लिएर मामाघरमा गइन् । केही समयपछि बाबा लिन आउँदा पनि उसकी आमा फर्कन नमानेपछि मदनको बाबाले अर्की श्रीमती भित्र्याएछन् ।

त्यसपछि आमाका लागि बाटो खुल्ला भयो तर मदनको कलिलो मनमा हजारौँ प्रश्न उब्जिए । उसकी आमा छोरालाई विद्यालको छात्रवासमा राखेर कामका लागि विदेश जाने कुरा आयो ।त्यो सुनेर ऊ , छात्रवास नजानका लागि रोइकराइ गऱ्यो तर उसको बिलौना सुन्ने त्यहाँ कोही थिएन ।

यसरी एउटा बालक जो बाबा र उहाँको मायाबाट वञ्चित थियो त्यो बिस्तारै आमाको माया र आफन्तबाट  पनि टाढा हुन बाध्य भयो । नचाहेरै पनि रुँदै छात्रवासमा बस्नुपर्ने भयो ,जतिबेला ऊ जम्मा सात वर्षको थियो ।

बिस्तारै छात्रवासको वातावरणमा ऊ भिज्दै गयो । प्रायः ऊ एकान्तमा बस्ने ,टोलाउने गर्थ्यो । त्यहाँका गुरुहरूको माया र सद्भावले छात्रवास आफ्नै घरजस्तो लाग्न थाल्यो ।कति चाडपर्व आउँदा पनि उसलाई घर जान पटक्कै मन लाग्दैन्थ्यो ।”मलाई भेट्न कोही नआए हुन्थ्यो “भन्ने गर्थ्यो बेलाबेलामा ।

उता विदेश गएदेखि आमाले फोनमा प्रत्येक वर्ष आउँछु छोरा भन्दै झुठो आश्वासन दिइरहन्थिन् । केही समयपछि  आमाको कुरामा पनि उसलाई विश्वास लाग्न छोड्यो । आमाप्रतिको आशा पनि हराएपछि ऊ निकै निराश भयो ।

यसैक्रममा त्यस विद्यालयमा मेरो प्रवेश हुन्छ । आफूले बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्ने, सबैलाई छोराछोरी जस्तै  माया गर्ने भएकाले कति चाँडै  बालबालिका  घुलमिल भएका थिए  भने मदनले त आफ्नै आमाजस्तै गरेको थियो।

मदन बिस्तारै कक्षा चढ्दै गयो, उसको उमेर पनि बढ्दै गयो अनि उसको बानी र स्वभावमा समेत निकै परिवर्तन भयो । पछिपछि त ऊ कक्षामा नजानेको प्रश्न सोध्ने भैसकेको थियो । प्रश्न सोध्ने क्रममा कैयौँ पटक जानेर वा नजानेरै  मलाई  मम्मी भनेको थियो । त्यो सुनेर मैले   पनि मुसुक्क हाँस्दै “हो त नि तिमीहरू पनि मेरा छोराछोरी जस्तै  त हो नि “भन्थेँ।

पटक पटक मदनलाई एक्लै राखेर सम्झाएको एकएक घटना  आँखाअगाडि आउँछ । “मदन तिमी पढेर के बन्छौ ?” भनेर सोध्दा “खोई गुरुआमा के बन्छु ,भाग्यले कता डोऱ्याउँछ तर एउटा असल मान्छे भने पक्कै बन्नेछु।”

“राम्रोसँग पढ्नुपर्छ बाबु , ज्ञान लिन ,आफ्ना सन्ततिलाई असल संस्कार दिन र एउटा जिम्मेवार नागरिक बन्नका लागि पनि पढ्नैपर्छ । तिमीले आफ्नो बाल्यकालदेखि अहिलेसम्म जेजे भोगेका छौ, के ती सब परिस्थिति पनि आफ्ना सन्तानले भोगून् भन्ने चाहन्छौ ?

“अहँ सपनामा पनि चाहँदिनँ , म जसरी मायाको अभावमा तड्पिएँ त्यसरी त संसारका कुनै पनि बालक तड्पिनु नपरोस् ।”

“हो, त्यसका लागि भए पनि तिमीले एउटा उद्देश्य लिनैपर्छ र मिहिनेत गरेर पढ्नैपर्छ ।”

“हुन्छ , हजुरले मेरो आँखा खोलिदिनुभयो ,अब म एकदमै ध्यान दिएर पढ्नेछु ।”उसको कुराले मेरो मन हर्षित बनेको थियो ।

यसैक्रममा उसकी आमा पनि विदेशबाट फर्किन् र अर्कैसँग विवाह गरिन् । अब यस्ता कुराले उसलाई फरक पर्न छोडिसकेको थियो। उसलाई त एउटामात्र चिन्ता थियो; जुन ठाउँमा आफ्नो बालापन बिताएको थियो ; जस्लाई आफ्नो घर संसार ठानेको थियो ; हो त्यो ठाउँ छोडेर जानुपर्ने समय आएको थियो । उसले एस .इ.इ दिइसकेको थियो ।”बाबा आमासँग जानुभन्दा बरु आफैँ काम गरेर खाँदै भए पनि पढ्छु ।” भनेर विद्यालयबाट बिदाइका हात हल्लाएको स्मरण हुन्छ ।

त्यसपछि ऊ कहाँ गयो ,के गऱ्यो जस्ता कुराबाट म अनभिज्ञ भएँ । यस्तैमा मदनले “आमा ! आमा ! कहाँ हराउनुभएको ?”प्रश्न गर्छ।

“कहीँ  होइन, बाबु ,बितेका दिन सम्झना आयो ।”

आज अचानक यत्रो वर्षपछि मदनको बारेमा सुन्दा खुसी र आश्चर्य दुवै लाग्छ ।

“किन नहुनु ? त्यो मदन, उसको बारेमा तिमीले किन यति नराम्रो  कुरा गरेको ? ऊ पनि  अरू बालबालिकाजस्तै ज्ञानी र बुझक्की थियो । गलत थियो मात्र उसको परिस्थिति अनि ऊप्रतिको मायाको अभाव । हामीजस्ता शिक्षित भनाउँदाहरूले त उसलाई बुझ्न समय लाग्यो भने अरू कस्ले बुझ्छ उसलाई ?”

“हो गुरुआमा , हजुरको यस्तै सकारात्मक सोच ,माया र प्रेरणाले त म आज हजुरसामु यसरी उभिन सक्ने भएको छु ” भन्दै ती आमैको काखमा टाउको राख्दै भुईँमा घुँडा टेकेर रुन थाल्छ ।

“मदन , तिमी ?”

“हो आमा , म हजुरकै मदन।”

अनुराधाको आँखाबाट पनि खुसीका आँसु झर्छन् र पुछ्दै भन्छिन्, “मैले तिमीलाई जुन रूपमा देख्न खोजेको त्यो भन्दा धेरैमाथि पुगेछौ खुसी लाग्यो। हामीले त असल बाटामा लाग्न प्रेरित गरेका मात्र हौँ , तिम्रो अथक परिश्रम नै तिम्रो सफलताको कारक  हो । तिमीले आज जस्तोसुकै परिस्थितिमा पनि मान्छेभित्रको आत्मबल दह्रो भयो भने देखेको सपना पूरा गर्न सक्छ भन्ने कुरालाई चरितार्थ पाऱ्यौ ।  देश र जनताको सुरक्षामा खटिने जुन इनिस्पेक्टरजस्तो पद पाएका छौ ,त्यसलाई इमानदारीताका साथ निभाउनू र सधैँ प्रगतिपथमा अगाडि बढ्नू ,मेरो आशीर्वाद तिमीलाई सधैँ रहिरहने छ । आफ्ना सन्तानलाई अभिभावकको मायाबाट कहिल्यै वञ्चित नगराउनू ” भन्दै मदनको टाउकामा हात राख्छिन् ।

                       समाप्त