पहिलो कृतिका रूपमा आख्यान विधाको कृति प्रकाशनमा ल्याएर नेपाली साहित्य-संसारमा प्रवेश गरेका नवोदित लेखकका लागि खुशीको खबर । डेब्यु आख्यान विधाको कृति (कथा, उपन्यास, नाटक आदि) का लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८१’ का लागि उत्कृष्ट ११ आख्यान कृतिहरूको सूची सार्वजनिक गरेका छौँ ।

यो सूची नयाँ लेखकहरूका २०८१ सालमा प्रकाशन भएकामध्ये हामीलाई प्राप्त ४४ आख्यान कृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो । पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

छानिएका आख्यान विधाका कृतिहरूमा अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’, रमणको कथासङ्ग्रह ‘कथा हुन् कथा होइनन्’, महेन्द्र नेउपानेको लघुकथासङ्ग्रह ‘चिन्द्रविनोद’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, पुरुषोत्तम बजगाईंको उपन्यास ‘नीलो प्रेम’, ज्ञानेन्द्रराज काफ्लेको उपन्यास ‘नौला शिक्षकहरू’, बालिका बान्तावाको उपन्यास ‘प्याउली’, ममता मिश्रको उपन्यास ‘पहिचान’, दिपक समिरको कथासङ्ग्रह ‘मुना-मदनको डिभोर्स पार्टी’, राजकुमार श्रेष्ठको उपन्यास ‘रोयल चारघरे’ र किरण नेपालीको उपन्यास ‘सुप्रिम सुप्रिया’ रहेका छन् ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ भने तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल गैरआख्यान कृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।

‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप अघिल्ला वर्षहरूझैँ यसपटक पनि तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो,‘नवोदित लेखकहरूमा आख्यानप्रतिको झुकाव लोभलाग्दो छ । सूचीमा रहेका आख्यान कृतिहरूले यो विधाको सुनौलो भविष्यतर्फ संकेत गरेका छन् । लेखनका हिसाबले नयाँ पुस्ताको आख्यान लेखन समृद्ध बन्दै गएको हामीले महसूस गरेका छौँ ।’

कोइरालाका अनुसार लामो सूचीमा रहेका ११ वटा आख्यानकृतिले नयाँ पुस्ता के लेख्दैछ, आख्यानमा कस्तो प्रयोग गर्दैछ र नेपाली काव्यसाहित्यको भविष्य कस्तो छ भन्ने भन्नेतर्फ सङ्केत गरेका छन् ।

०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।

०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । त्यस्तै गत वर्ष देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थमाको निधारबाट बागमती बग्छ’, सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ्’ र उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।

अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।

‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भन्नुभयो, ‘लेखकको पहिलो पुस्तक नै स्तरीय बन्नुपर्छ भन्नेमा सम्बद्ध निर्णायकहरू कटिबद्ध हुनुहुन्छ । यी ११ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको छ । जापानको सागा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएका अधिकारी पोखरेली युवा सांस्कृतिक परिवारको सचिवसमेत हुनुहुन्छ । अधिकारीका ‘जुद्ध शमशेरका नाममा’ र ‘झरीको किनार’ कवितासङ्ग्रह प्रकाशित छन् ।

साहित्यपोस्ट उत्तम काव्य र गैरआख्यान पुरस्कारको लामो सूची यसअघि नै प्रकाशित गरिसकिएको छ ।

प्रस्तुत छ, २०८१ सालका उत्कृष्ट ११ डेब्यु आख्यान विधाका कृतिहरूको सूची:

१. उज्यालो औँसी – अनिता कोइराला

पछिल्लो समय आख्यान र गैरआख्यान विधामा सशक्त कलम चलाइरहेकी युवा साहित्यकार हुन् अनिता कोइराला, र उनको पहिलो पुस्तक हो उपन्यास ‘उज्यालो औँसी’ । पुस्तकमा मूल पात्रको क्रमिक शिक्षाले फराकिलो हुँदै गएको दृष्टि, यौवनको बतास, असल गुरुको सङ्गत, जीवनका अँध्यारामा आध्यात्मिक प्रकाशले पारेका प्रभावहरू प्रखर रूपमा प्रस्तुत भएका छन् । उपन्यासमा कोइरालाको दार्शनिक आयाम र जीवनदृष्टि परिपक्व देखिन्छ भने कल्पनाशक्तिको भरपूर प्रयोग भएको पाइन्छ ।

सरल, सहज र प्रभावकारी कथ्य भाषाको प्रयोगबाट पाठकलाई पात्रको दुःखमा भावुक र सुखमा प्रशन्न बनाउन सक्नु उपन्यासकारको विशेषताको रुपमा देखिएको छ । पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

२. कथा हुन् कथा हैनन् – रमण

एक दशक बढी समयबाट जर्मनीमा रहेका युवा साहित्यकार रमणको कथाकृति हो “कथा हुन् कथा हैनन्” । विशेषगरी कथा तथा नियात्रा विधामा सशक्त कलम चलाउँदै आएका रमणको यो पहिलो पुस्तक हो । पुस्तकमा सङ्ग्रहित उनका कथाहरू फरक आयाममा लेखिएका छन्, जसले पाठकलाई आकर्षित गर्छ । सरल र सरस भाषाशैलीमा बुनिएका कथाहरूमा कतै प्रेम फुलेको छ भने कतै जनयुद्धको व्यथा झुलेको छ ।

रमणका कथा समाजको आवाज बोल्छन्, पात्रहरु यथार्थको धरातलमा उभिएका छन् । कथाहरु नेपालहरुले नेपालदेखि जर्मनीसम्मको परिवेश र कथानक समेटेको छ । १३ कथा सङ्ग्रहित पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

३. चन्द्रविनोद – महेन्द्र नेउपाने

कथाकार महेन्द्र नेउपानेको पहिलो पुस्तक हो लघुकथासङ्ग्रह ‘चन्द्रविनोद’ । नेउपानेका लघुकथाहरुको विषयमा विविधता, भावमा गम्भीरता तथा सन्देशमा बौद्धिकता पाइन्छ । कथाकारले व्यङ्ग्य र बिम्बको उचित प्रयोग गर्दै कथामा संवाद र वर्णन शैली दुवै शैली अपनाएका छन् । लघुकथाहरुमा मानव र मानवेत्तर पात्रहरुको उपस्थिति रहेको छ ।

कृषि इन्जिनियर नेउपानेले प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका छन् । नवीकरणीय उर्जाको क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर काम गर्दै आएका उनका लघुकथाहरुमा पर्यावरणीय सचेतना प्रभावकारी रुपमा सम्प्रेषण भएको छ । पुस्तकलाई हाम्रो लघुकथा केन्द्रले प्रकाशनमा ल्याएको हो ।

४. धीमहि – जयराम तिमल्सिना

पूर्व तबलावाधक, छापा व्यवसायमा लामो समयदेखि सक्रिय जयराम तिमल्सिनालाई आख्यानकारका रुपमा उभ्याउने उपन्यास हो ‘धीमहि’ । लेखक तिमल्सिनाले उपन्यासमार्फत् आत्माद्वन्द्व व्यवस्थापनका विकल्पहरूको खोजी गर्दै नयाँ विमर्शका लागि प्रशस्तै ठाउँ छोडेका छन् । आत्मद्वन्द्वका आयाम र परिणामहरूलाई उपन्यासकारले मिहीन र कलात्मक तवरले पुस्तकमा प्रस्तुत गरेका छन् ।

तिमल्सिनाले उच्च कल्पना तथा विशृंखलित सपनाहरुको समागमबाट उपन्यास तयार गरेका छन् । वैदिक समाज, संस्कार र संस्कृतिमा निरन्तर ह्रास आइरहेको वर्तमानप्रति उपन्यासकार असन्तुष्ट देखिन्छन् । पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।

५. नीलो प्रेम – पुरुषोत्तम बजगाईं

युवा साहित्यकार पुरुषोत्तम बजगाईंको प्रेम र प्रणय रसले भरिएको उपन्यास हो ‘नीलो प्रेम’ । उपन्यासमा केन्द्रमा साँगा पुलिस स्कुलको पृष्ठभूमि बनाएर उभिएका एक प्रेमिल जोडीको प्रेमकथा छ । प्रेमिल जोडीको वरिपरि मित्रता, परिवार, समाज, सम्बन्ध र जीवनका आरोह–अवरोहका कथाहरु छन् । किशोरवय तथा युवावय उमेर समूहले उपन्यास तथा पात्रहरुसँग अपनत्व महसूस गर्नेछन् ।

आदर्श प्रेमको पक्षमा उभिएको उपन्यासले समाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुका बारेमा समेत बोलेको छ । काभ्रेमा जन्मिएका बजगाईं हाल अमेरिका छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

६. नौला शिक्षकहरू – ज्ञानेन्द्रराज काफ्ले

नेपाल सरकारका पूर्व उप–सचिव ज्ञानेन्द्रराज काफ्लेको पहिलो साहित्यिक कृति हो उपन्यास ‘नौला शिक्षकहरु’ । नाम जस्तै उपन्यासले नौलो शैली र धारलाई समाएको छ । उपन्यासमा धेरै ठाउँ लेखक काफ्ले आफैँ समाहित भएको पाठकले महसूस गर्छ, तसर्थ काफ्लेको सिकाइ र अनुभवकै आख्यानीकृत रुपमा यो पुस्तकलाई लिन सकिन्छ । उपन्यासकारले विधामिश्रणको उचित नमूना कृतिमा प्रस्तुत गरेका छन् । उपन्यासभित्रै निबन्ध, संस्मरण, दैनिकी, प्रतिवेदन, कविता, लोककाव्य आदि अटाउनसक्नु उपन्यासकारको लेखनको शक्तिका रुपमा देखापरेको छ ।

काफ्ले उपन्यासलाई सात खण्डमा विभाजन गरेका छन्, जसमध्ये पहिलो र अन्तिम खण्डमा उनी आफ्नै कथा भन्छन् । बीचमा पाँच खण्डमा घर, परदेश, यात्रा, स्वदेश तथा जीवनरुपी नौला शिक्षकहरुका कथा छन् । पुस्तकलाई सोपान मासिकले प्रकाशनमा ल्याएको हो ।

७. प्याउली – बालिका बान्तावा

निडर, कर्मशील तथा स्वाभिमानी महिलाको जीवन–सङ्घर्षको कथा हो उपन्यास ‘प्याउली’ । लामो समयदेखि हङकङलाई कर्मभूमि बनाएकी स्रष्टा बालिका बान्तावा उपन्यासकी सर्जक हुन् । उपन्यासले केन्द्रीय पात्रमार्फत एक महिलाले जीवनमा भोग्नुपरेको आरोह–अवरोहको कथा कहेको छ । पारिवारिक विछोड, सम्बन्धहरुका उल्झन तथा परदेशमा हुनुको पीडालाई आख्यानको माध्यमबाट सरल र सहज सम्प्रेषण गर्न उपन्यासकार सफल देखिएकी छिन् ।

उपन्यासमा प्रेमबाट शुरु भएका सम्बन्धहरुले दिएका अनेकन सास्ती, हैरानीहरु छन्; र छन् वियोगका सुस्केरा र ऐंठनहरु । उपन्यासमार्फत बालिकाले पुरुषको अहंतापूर्ण पुरुषार्थप्रति निर्मम प्रहार गरेकी छन् । पुस्तकलाई कलरव, धरानले प्रकाशनमा ल्याएको हो ।

८. पहिचान – ममता मिश्र

नवोदित साहित्यकार ममता मिश्रको उपन्यास हो ‘पहिचान’ । मिश्रले उपन्यासमार्फत नारी मनोविज्ञानलाई केलाउँदै अध्यात्मको महत्त्व स्थापित गर्ने प्रयास गरेकी छिन् । महिला सशक्तिकरण प्रमुख मुद्धाका रुपमा देखिएको उपन्यासमा दर्शनको भरपूर प्रयोग भेटिन्छ । आख्यानमा आउने मोड र आश्चर्यमा पार्ने पात्रका भोगाइ तथा घटनाले पाठकमा रोमाञ्चकता पैदा गर्छ ।

अस्टे्रलियामा बसोबास गर्दै आएकी उपन्यासकार नेपाली र अंग्रेजीमा उत्तिकै सशक्त किसिमले कलम चलाउँछिन् । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

९. मुना–मदनको डिभोर्स पार्टी – दिपक समिर

‘मुना–मदनको डिभोर्स पार्टी’ नेपाल टेलिभिजनमा कार्यरत सञ्चारकर्मी दिपक समिरको कथासङ्ग्रह हो । समिरका कथाहरु मौलिक छन्, र सिमान्तकृत समुदाय तथा वर्गको प्रतिनिधित्व गर्छन् । उनका कथाहरुमा नारीवादी चेतना र चिन्तनको भरपूर प्रयोग देख्न सकिन्छ । समाजबाटै पात्र टपक्क टिपी आख्यानमा कल्पनाको उडान भर्नु उनको विशेषता रहेको छ । सङ्ग्रहका अधिकतर कथाहरुमा समिरको स्वैरकल्पनाको फराकिलो क्षितिज देखाएका छन् ।

कथा, कविता, नाटक तथा गीतमा कलम चलाउँदै आएका समिरसँग रेडियो नाटक तथा एफ.एम. कार्यक्रमहरु चलाएको अनुभव छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

१०. रोयल चारघरे – राजकुमार श्रेष्ठ

साहित्यकार राजकुमार श्रेष्ठको पहिलो कृतिका रूपमा प्रकाशनमा आएको उपन्यास हो ‘रोयल चारघरे’ । उपन्यासमा सुदूरपश्चिम र कर्णालीको रोदन, रोग, शोकको कथाव्यथा छ । साथै, नेपाली युवाले भविष्य खोज्न विदेश जानुपर्ने भयावह अवस्थाको चित्रण गरेको छ । नेपाली समाजमा विद्यमान वर्गीय र जातीय विभेद, आर्थिक असमानताका साथै बेरोजगारीको समस्यालाई समेत उपन्यासले प्रखर रुपमा उजागर गरेको छ ।

साथै, वैदेशिक रोजगारीमा गएकाहरु तथा उनीहरुका परिवारको पीडालाई पनि उपन्यासमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । पुस्तकलाई जन बिहानीले प्रकाशनमा ल्याएको हो ।

११. सुप्रिम सुप्रिया – किरण नेपाली

चलचित्र निर्माता तथा कलाकार किरण नेपालीको उपन्यासकार अवतार हो ‘सुप्रिम सुप्रिया’ । यो युवापुस्ता केन्द्रित प्रेमिल उपन्यास हो जसले गहिरो प्रेम तथा अकल्पनीय धोकाहरु शृङ्खलाहरु प्रस्तुत गर्छ । भौगोलिक रुपमा काठमाडौंलाई इपिसेन्टर बनाएको उपन्यासमा प्रेमसँग भूगोल, समाज र राजनीति आएका छन् । साठीको दशकलाई पृष्ठभूमि बनाएको उपन्यासले त्यसपछि भएका केही राजनीतिक आन्दोलनहरुका प्रसंगहरुसमेत उपन्यासमा अटाएका छन् ।

लेखन र चलचित्र निर्माणसँगै उपन्यासकार नेपाली राजनीतिमा पनि सक्रिय छन् । डोली, पोइ पर्यो काले, दुई नम्बरी, हात्तीछाप लगायतका आधा दर्जन चलचित्र निर्माण गरेका उनी नेपाल चलचित्र निर्माता सङ्घका सचिव समेत हुन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।