दुई प्वाइन्ट रगत किनेर ब्लडबैङ्कबाट बाहिर निस्केपछि उसको मगजमा एक्कासि चक्कर आए जस्तो हुन्छ ।

उसका आँखाहरू धमिला र सारा इन्द्रियहरू शिथिल भएजस्ता हुन्छन् । अघिसम्मको फराकिलो सडक खुम्चिँदै जान्छ । सारा मोटरहरू काला हुँदै जान्छन् र ऊ सोच्तछ यो रगत बोकेर अस्पतालसम्म पुग्न ऊ सक्तैन । उसकी स्वास्नी त्यहाँ छटपटाइरहेकी छे, कराइरहेकी छे, उफ्रिरहेकी छे । ऊ भने बाटो नपाए जस्तो भएर त्यो सिसी बोकेर उभिएको उभियै छ ।

यति रगत नपाए अब एकै घण्टापछि उसकी स्वास्नी मर्नेछे । उसका सारा छोराछोरीहरूले चारैतिरबाट उसलाई घेर्नेछन् । टाउकोमा हात राखेर उसले छटपटाई बाँकी वर्षहरू बिताउनुपर्नेछ । उसका खुट्टाहरू अघि सर्न खोज्छन्, तर कतैबाट ब्रेक लागे जस्तो हुन्छ ।

उसका आँखामा बिगतका सारा कुराहरू आउँछन् । उसले ती प्रसङ्गहरूलाई कहिल्यै सम्झन चाहेन । तर कहिलेकाहीं यस्तो भइदिन्छ र उसको दिमाग ठीक हुँदैन । आफूलाई जन्माउने बा-आमादेखि, आफू हुर्किआएको समाजदेखि उसलाई किनकिन घृणा लागेर आउँछ । यही शहर हो, जहाँ कुनै दिन ऊ कलेजमा पढ्ने एउटा जेहनदार केटो ठानिन्थ्यो । यिनै सडकहरू हुन् जहाँ ऊ छाती फुकाएर हिंड्न सक्थ्यो । जहाँको माटोमा उभिएर उसले सपनाका थुप्रै रङ्गीन बिरुवाहरू रोपेको थियो- राम्ररी पढ्ने, राम्रो जागीर खाने ? राम्री शिक्षिता युवतीसँग जिन्दगी काट्‌ने । तर नियतिलाई त्यस्तो केही हुनु थिएन ।

उसलाई आमा सिकिस्त बिरामी भएको बहानाले घरमा बोलाइएको थियो । उसले पढाइलाई बीचैमा छाडेर थुप्रा पहाडहरू उक्लनुपरेको थियो, खोलाका थुप्रै जँघारहरू तर्नुपरेको थियो र घरमा पुगेकै साँझ निराश भएर उसले आफूबाट निस्केर आफूलाई हेर्न बाध्य हुनुपरेको थियो ।

“तँ धन्य आइपुगिछस् । हामी त तर्सिरहेका……” बा भन्नुहुन्छ । ऊ आज्ञाकारी बालक झैं उभिएको छ र बाको आशीर्वाद लिन तयार छ ।

“उमेर पुगेको छोरालाई घरानकी केटी दिन आएको वेला…” त्यसपछि बाका शब्दहरू उसले सुनेन ।

बाले त्यस प्रसङ्गलाई निक्कै व्याख्या गर्नुभयो, सपार्नुभयो र थुप्रा आश्वासनहरूको पुल बाँध्नुभयो । उसले धेरै सुन्यो, तर कम बुझ्यो । उसका अगाडि कलेजका सारा व्याख्याहरू, सारा कोठाहरू, साथीभाइहरू फनफनी घुम्न लागे । उसले सोचेको पनि थिएन कि ऊ बिहे गर्ने उमेरको भइसकेको छ, घरव्यवहारका सिक्रीहरूले उसका खुट्टाहरू बाँधिने समय आइसकेको छ । कलेज पढ्दा उसले रोपेका सपनाका बिरुवाहरू त शहरमा जन्मने, शहरमा हुर्कने र शहरमा भव्य महलहरू हुनेहरूका लागि हो । ऊ त पहाडको एउटा सानु गाउँको ठिटो । ससाना खोलाखोली र थुम्काथुम्कीले घेरिएको । ससाना कलिला बाँसहरूले बुनेका निरर्थक सपनाहरू लिएर जवानीमै बूढो हुनुपर्ने बाध्यताले जन्माइएको ।

“हाम्रो इज्जतको प्रश्न छ, तैंले हुन्न नभनिदे” यो अन्तिम वाक्य सुनेपछि ऊ कोठामा पुगेको थियो । बाल्यकालमा पढेका सारा किताबहरूलाई अँगालो मारेर किन हो ऊ क्वाँक्वाँ रोएको थियो । बाको आज्ञालाई हुन्न भन्ने हिम्मत उसमा थिएन । आमाको इच्छालाई भताभुङ्ग पार्ने शक्ति उसमा थिएन ।

अनि त उसको बिहे भएको थियो, साधारण गाउँघरमा जसरी अरूको बिहे हुन्छ । ऊ खुशी थियो, न बेखुशी । उसको खुशी हुनु र बेखुशी हुनुसँग अरू कसैको सरोकारको विषय पनि थिएन । उसलाई थाहा थियो । उसभित्रको रामप्रसाद अब मरिसक्यो । उसभित्रका सपनाका बोटहरू ढलिसके ।

“यो ग्रुपको रगत तुरुन्तै ल्याउनोस् । तपाईंकी श्रीमतीको अवस्था चिन्ताजनक छ ।” भर्खरै डाक्टरले कडा चेतावनी दिएको थियो र ऊ केही नबोली अस्पतालबाट बाहिर निस्केको थियो ।

साथीभाइहरूसँग सहयोगको लामो व्याख्या दिएर केही नोटहरू झरेका थिए र तिनैलाई रगतमा साटेर ऊ सडकमा छ । ऊ सडकमा छ र अघि आफू आएको बाटो भुलेर ऊ अलमलिएको छ । कुन बाटोबाट ऊ त्यस ठूलो अस्पतालसम्म पुग्न सक्छ ? त्यहाँको कुन मूल ढोकाबाट पसेर ऊ बेड नं. ३५६ सम्म पुग्न सक्छ ? ऊ सम्झन खोज्छ तर अहँ उसलाई त चक्कर लागिरहेछ । उसकी स्वास्नीको नं. ३५६ हो के त ? ४५६ होइन ? फेरि त्यही रगत ले भन्ने डाक्टर छ कि छैन ? उसले प्रेस्क्राइब गरेअनुसारको रगत हो होइन ? रगत मिलेन भने ? रगत मिलेन भने शारदा मर्छ ।

शारदा मर्छे सँगै उसका तीन-तीन केटाकेटीहरूका अनुहार देखा पर्छन् र ती अनुरोध गर्छन्- हाम्री आमालाई अहिल्यै मर्न नदिनोस् । हाम्रो बिजोक हुन्छ । डेरामा ती भोकाइरहेका होलान् । काम गर्ने बूढी आई कि आइन ?…।

फेरि शहरमा त ऊ फर्केको थियो, थुप्रै बासी र रित्ता सपनाका भ्याडहरू बोकेर । जेनतेन सानु नोकरी, सानु कोठा र सानु गोरेटो । ससाना आँखाहरू ससाना विश्वासहरू लिएर उसले थुप्रै वर्ष काटेको थियो । एक दिन वा तीर्थयात्रामा आउनुहुँदा साथमा शारदा थिई र शारदा फर्केर जान मानिन ।

रामप्रसादका अगाडि रोएर उसले भनेकी थिई, “मलाई तपाईं मात्र भए पुग्छ। तपाईंको भात पकाइदिन्छु, तपाईंको लुगा धोइदिन्छु । तपाईंको आराम-विराम हेर्छु ।”

उसले फेरि हुन्न भन्न सकेन । ऊ फेरि त्यही पोखरीमा डुब्यो, जहाँबाट उत्रन उसले खोजेको थियो, जहाँबाट उत्रन ऊ गाउँबाट भागेर टाढाटाढा आएको थियो, जहाँबाट मुक्त हुन उसले परिस्थितिहरूसँग सङ्घर्ष गरेको थियो । जहाँबाट घाम शुरू भएको थियो, त्यहीँबाट फेरि उसले आफूलाई प्रारम्भ गर्यो, त्यही क्षितिजबाट, जसलाई ऊ घृणा गर्थ्यो ।

ऊ किन हात दिएर टेक्सी रोक्न सक्तैन ? किन रगतको बोतल त्यहाँसम्म पुऱ्याएर आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्तैन ? शारदा लामोलामो सास फेरिरहेकी छे मृत्युको छायामुनि । ऊ किन त्यस छायालाई हटाउन सक्तैन ? यो अन्तिम समयमा आएर फेरि कस्तो घृणा हुन सक्छ ? यो अन्तिम किनारामा आएर फेरि कस्तो प्रतिशोध हुन सक्छ ? यो कससँग प्रतिशोध लिइरहेछ रामप्रसाद ? आफ्नो बासँग, आफ्नी आमासँग अथवा शारदासँग ? शारदा अब एक्ली छैन, उसका पछि तीन-तीन जीवनहरू छन् रामप्रसादले छाया दिनुपर्ने । रामप्रसाद हडबडाउँछ । रामप्रसादलाई सारा आकाशले एकैचोटि थिच्न आए जस्तो हुन्छ । टाउको गहुङ्गो छ । इच्छाका सारा लहरहरू एकै फन्को घुमिरहेछन्, एकै ढुङ्गामा गई ठोकिरहेछन् । कुनै पनि टेक्सीले उसलाई ठक्कर दिएर जान सक्छ, कुनै पनि मोटरसाइकल आएर उसलाई सडकपारि हुत्त्याइदिन सक्छ ।

त्यो बोतल हातबाट खस्ला जस्तो भइरहेको छ । त्यसभित्रका रगतका सारा थोपाहरू सरसराउन लागेका छन् । यो रगत… यो रगत पनि कुनै मान्छेको हो । यस रगतसँग पनि सपनाहरू थिए होलान्, इच्छाका भव्य महलहरू थिए होलान् । जीवनभर उसले जुन शारदालाई घृणा गरेर स्वीकार्यो, जुन शारदाका ओठहरूमा आफ्ना अल्छीलाग्दा ओठहरू जोड्यो, त्यही शारदालाई बचाउन ऊ रगत किनेर जान लागेको छ । ऊ आफैलाई सोध्छ के साँच्ची ऊ शारदालाई घृणा गर्दै आइरहेछ, के साँच्ची शारदालाई ऊ माया गर्दैन ? तीन-तीन केटाकेटी भइसकेकी शारदालाई के साँच्ची ऊ घृणा गर्छ ? के साँच्ची ऊ माया गर्दैन ? के साँच्ची ऊ आदर्शमा बाँचिरहेछ ? उसलाई थाहा छैन रगतको यस बोतल हातमा लिएपछि किन उसभित्र सारा पुराना कुराहरूले यसरी बिझाउन आइरहेका छन् ? यो मृत्युको सञ्जीवनी बोकेर ऊ यति निष्ठुर भएर गइरहेको छ ? किन यत्ति कठोर भएर गइरहेको छ ? मृत्युको सन्त्रास बोकेर बाँचेकी शारदालाई उसले पहिले किन भन्न सकेन । “म तिमीलाई घृणा गर्छु शारदा । त्यो बन्धन मलाई स्वीकार्य थिएन । त्यसमा स्वाङ थियो, बनावटी थियो ।”

र अहिले जीवनभरको प्रतिशोध ऊ लिन लागेको छ । जीवनभरको रिक्ततालाई कसैको मृत्युबाट पूरा गर्न लागेको छ । शारदाको मृत्युले कुन नयाँ वसन्तको आशा ऊ राख्न सक्छ ? शारदाको अभावले कुन नयाँ विश्वासको बिरुवा ऊ रोप्न सक्छ… शारदाको मृत्युले । शारदा नहुनुले शारदाको अभावले…।

रामप्रसादलाई लाग्छ, बोतल उसको हातबाट खस्नै लागिसकेको छ र सकिनसकी ऊ थाम्ने मात्र प्रयत्नमा छ । समयले फट्का नाघिसकेको छ र ऊ आफूभित्रै टोलाइरहेछ- हुन सक्छ यो रगत पुगुन्जेल शारदाको मृत्यु भइसकोस् । शारदाको अन्त्य भइसकोस् ।

ऊ हतारहतार टेक्सीलाई रोक्न हात दिन्छ ।

(परशु प्रधानको ‘प्रतिनिधि कथाहरू’बाट)