त्रिशूली गङ्गा, वेत्र गङ्गा र रुद्र गङ्गाको त्रिवेणीको बीचमा समथर भूभाग माथितिर हरियो जङ्गलले शोभा दिएको अत्यन्तै सुरम्य ठाउँ बेत्रावती । जुन ठाउँ उत्तरगयाको नामले प्रसिद्ध छ ।

त्यस्तो मनमोहक र पवित्र स्थानमा पाँच ओटी छोरीपछि धार्मिक अनुष्ठान गरी जन्मिएको छोरो समृद्ध थियो । एसएलसी परीक्षा उत्तीर्ण भएकै दिन उसले आफूखुशी आफ्नी सहपाठी शिलालाई घरमा भित्र्यायो । बूढा भएका बाबुआमासँग एकवचन पनि नसोधी विवाह गरेकोमा उसका बुबाआमा साह्रै दुखी भए । आँगन पोलेर, लगनगाँठो कसी आफ्ना इष्टमित्रलाई बारीको पाटामा राखेर टपरीमा खसीको मासु र भातको भतेर खुवाई छोराको बिहे गरिदिने सपनामा कुठाराघात भएपछि छोरासँग मन दुखाए ।

केही समयपछि एउटा छोरोसँग पनि के चित्त दुखाउनु भनेर बल्‍लतल्‍ल मन के बुझाएका थिए छोराले गाउँमा नराखी सबैको सपनाको संसार काठमाडौं लगेर आफ्नी श्रीमती राख्ने मनशाय व्यक्त गरे । त्यसपछि भने बाबुआमा साँच्चिकै मर्माहत भएका थिए । आफू बुढाबुढी भइसकेकाले यस्तो नगर्न छोरालाई सुझाए । आफ्नो सेखपछि जहाँ गए पनि हुने बताए । तर समृद्धले टेरपुच्‍छर नलगाई श्रीमती र आफ्नो कपडाको झोला लिएर बाहिरियो । बुबाआमाले सन्तानको खुशी नै हाम्रो खुशी भन्दै पीडाको आँसुलाई आँखाको डीलमा नै रोकेर आशीर्वादको हात हल्लाए । समृद्ध शिलालाई लिएर काठमाडौं हिंड्‍यो ।

समृद्धले ठमेलमा आएर होटलमा काम गर्‍यो । ‍शुरूशुरूमा उसलाई साह्रै गाह्रो भएको थियो । घरमा दूधभात ओकल्‍ने गरेर बसेको ऊ अरूको जुठा भाँडा त्यसमाथि ठसठस गह्नाउने रक्सीको गिलास माझ्नुपर्दा मरेतुल्‍य हुन्‍थ्‍यो । आफूले मन पराएर ल्याएकी श्रीमतीको हर इच्छा पूरा गर्न ऊ जस्तोसुकै दुःख पनि सहन तयार थियो ।

एक वर्षपछि शिलाले छोरी जन्माई । छोरी जन्मिएपछि समृद्ध छोरो र श्रीमानबाट बुबाको भूमिका निर्वाह गर्नुपर्ने स्थानमा पुगेको थियो । उसले साह्रै दुःख गर्‍यो तर छोरी र श्रीमतीलाई केही अभाव हुन दिएन ।

एक दिन एक जना ग्राहकले समृद्धलाई भने, “तिमी अठार-उन्‍नाइस वर्षको लक्‍काजवान पनि होटलमा भाँडा माझेर हुन्छ ? यसरी तिम्रो जिन्दगी कसरी बन्छ ?”

समृद्ध ग्राहकको मुखमा हेरेको हेर्‍यै भयो । ग्राहकले फेरि भने, “मेरो गाडी बनाउने, गाडी धुने र राख्ने ग्यारेज छ । तिमी पनि मेरोमा काम गर्दै सिक्दै गरी स्वरोजगारी बन्न सक्छौ, के छ तिम्रो विचार ?”

उसले चाहेको पनि त्यही नै थियो । त्यसैले उसले ग्राहकको ठेगाना माग्यो र पछि भेट्न आउने बतायो । केही दिनपछि ऊ ती मालिककहाँ पुगेर काम गर्दै सिक्न थाल्यो ।

करीब दुई वर्षपछि  आफू दक्ष कारिगर भयो । मालिकसँग स्वीकृति लिएर आफैँ मोटर राख्ने मोटरघर (ग्यारेज) खोल्यो जहाँ कार धुने, बनाउने र आवश्यकता अनुसार राख्ने व्यवस्था पनि थियो । ऊ आफू  स्वरोजगार बनेकोमा निकै खुशी थियो र यसको श्रेय आफ्नी श्रीमती शिला र छोरी समृद्धिलाई दिन्‍थ्‍यो ।

उसले बूढा भएका बुबाआमाले तारनतार घर आउन गरेको आग्रहलाई बेवास्ता गरी आफ्नो परिवारप्रति मात्र ध्यान केन्द्रित गरेको थियो । बूढा भएका बुबाले नातिनातिना खेलाउने इच्छा राख्दाराख्दै परलोक सुधार्न गए । उसले बूढी भएकी आमालाई कान्छी दिदीको जिम्मा लगाएर आफ्नो कर्तव्य भुलेर आफ्नो सांसारिक जीवन मग्‍नमस्‍त भयो । ठूली छोरी पाँच वर्षको भएपछि अर्की छोरी जन्मिई । उसले दुई छोरीको पालनपोषण राम्रोसँग गर्‍यो ।

तर उसको नजीकै उसको जस्तै व्यवसाय अरू पनि खुलेको र प्रतिस्पर्धा बढेकाले आम्दानी कम र खर्च बढी हुन थालेपछि परिवारको आवश्यकता पूरा गर्न हम्‍मेहम्‍मे पर्‍यो । अप्ठ्यारो परिस्थितिसँग झेल्न श्रीमतीसँग सल्लाह गर्‍यो र विदेश उड्यो ।

विदेश जानुअघि यति राम्रो परिवार छोडेर विदेश जाँदा घर लथालिङ्ग पो हुने हो कि भन्ने सोच आएकै हो । तर नियतिको अगाडि घुँडा टेक्न बाध्य भई मुटुलाई गाँठो पारेर कतारको उखरमाउलो गर्मीमा काम गर्न थाल्यो । रातिको समयमा पनि काम गरेर पैसा जम्मा गरी श्रीमतीलाई खर्च पठाउँथ्यो । दुई छोरी र श्रीमतीलाई राम्राराम्रा मोतीका माला, लुगा र चक्‍लेट पनि पठाउँथ्यो । ऊ दिनदिनै परिवारसँग कुरा गर्थ्यो ।

तर उसले भुसुक्कै बिर्सेको थियो आमालाई । आफ्नो ज्यानको बाजी लगाई आफूलाई जन्माउने विधवा आमालाई फोन गर्दैनथ्यो ।

एवम् रीतले दिन बिते वर्ष बिते । करीब सात वर्षको उखरमाउलो गर्मीलाई सहेर ऊ घर फर्किनका लागि श्रीमती र छोरीहरूलाई लुगा, चक्‍लेट र खेलौना किनेर पोको पारेको मात्र के थियो उसकी दिदीले फोन गरिन् र रुँदै भनिन्, “भाइ ! तिमीले जसका लागि आफ्ना आमाबुबाको मन दुखाएका थियौ, ऊ त दुई छोरी लिएर पोइल गइछे ।”

ऊ छाँगाबाट खसे झैं भयो । आफूले टेकेको जमीन भासिएको महसूस गर्‍यो । दुई हातले मुख छोपेर धेरै बेरसम्म रोइरह्यो । श्रीमतीलाई बोलाएर सम्झाइबुझाइ गरी छोरीहरू सहित बेत्रावती गएर बस्ने योजना बनाई नेपाल फर्कियो । ठूली छोरी तेह्र वर्षकी र सानी छोरी आठ वर्षकी भइसकेका थिए ।

ऊ नेपाल फर्किएर आफू बसेको ठाउँमा आयो । उसलाई त्यो ठाउँमा बिरानो लाग्यो । छिमेकी ग्यारेज धनीसँग आफ्नो परिवारको विषयमा सोध्यो । उनीहरूले बताएअनुसार उसको ग्यारेज हुँदा सधैं कार धुन र कहिलेकाहीँ कार राख्न आउने गुरुङ जसलाई शिलाले दाजु बनाएर भाइटिकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएकी थिई, उसैसँग गइछे भन्ने पत्ता लगायो ।

ती गुरुङ पहिले पनि शिलासँग जिस्किने, घुम्न लैजाने, छोरीहरूलाई कपडा, खेलौना, चक्‍लेट आदि ल्‍याइदिन्थ्‍यो । समृद्ध टीका लगाएको दाजु भनेर शङ्का गर्दैनथ्यो र सधैं जेठानको व्यवहार गर्थ्यो । कोठामा हुने आवतजावतलाई सहज रूपमा स्वीकार्थ्‍यो । उसले यस्तो होला भन्ने सोचेको पनि थिएन । उसले छिमेकीले दिएको ठेगाना सबै ठाउँमा खोज्यो तर नभेटेपछि ऊ घरमा आमालाई भेटेर फेरि विदेश फर्क्यो ।

फेरि चार वर्ष विदेशको घाममा आफ्नो मन डढायो । अब त छोरीहरू ठूला भए छोरीहरू पनि बुबाको खोजी गर्छन् होला भन्ने उसले सोच्‍यो । यति लामो समयसम्म आफ्नो सन्तान भेट्ने अभिलाषा पूरा हुन सकेको थिएन । उसकी आमाको मृत्‍युको खबरले ऊ नेपाल फर्कियो ।

आमाको काजक्रिया गरी छोरीहरूको खोजीमा लाग्यो । ठूली छोरी १७ र सानी १२ वर्षकी भएकी थिइन् । ऊ प्रत्येक दिन छोरीहरूका उमेर गनेर बस्थ्यो । उसले छोरीले पढ्ने कलेज पत्ता लगायो र एक दिन कलेजमा नै भेट्न गयो । छोरी समृद्धि यति राम्री भएकी रहिछे । हुन त आफ्नो सन्तान कसलाई राम्रो लाग्दैन र ?  छोरी असाध्यै राम्री थिई । छोरीलाई भेट्न कलेजको प्रतीक्षालयमा बसेको थियो ।

छोरी परैबाट आएको देख्दा उसका आँखा सजल भए । मुटु गाँठो पर्‍यो तर बर्साउन सकेन । छोरीले पनि चिनी । उसले छोरीसँग कुरा गर्‍यो । सानी छोरीको  बारेमा सोध्यो र उनले पढ्ने विद्यालयको ठेगाना माग्यो । उसले आफ्नो प्राणभन्दा प्यारी पूर्व पत्नीका बारेमा पनि सोध्यो ।

छोरीले काठमाडौंमा दुई ओटा घर र कार भएको दोस्रो बुबा महाजन रहेको र उहाँको अर्को परिवारले पनि उनीहरूलाई माया गर्ने कुरा बताउँदा समृद्ध मनमनै दुःखी भयो । आफूहरू धेरै खुशी र सुखी रहेको कुरा बताई । छोरीका खुशीमा ऊ पनि खुशी त भयो तर उसले आफूसँग गएर छोरीको नागरिकता बनाइदिने कुरा गरेपछि भने ऊ फेरि छाँगाबाट खसे झैं भयो । छोरीले आफ्नो नाम समृद्धि गुरुङ भएको र सबै प्रमाणपत्रमा पनि त्यही भएकाले काठमाडौंबाट नै १६ वर्ष पूरा हुने बित्तिकै गरिकता बनाएको बताई ।

उसले १२ कक्षा उत्तीर्ण भएपछि विदेश जाने योजना सुनाई र भनी, “बुबा अब हामीलाई बिर्सनुहोस् । हामी अर्को बुबासँग नै खुशी छौं । हामीले पाएको सुखसुविधा तपाईं हामीलाई दिन सक्‍नुहुन्‍न र मलाई विदेश जानका लागि लगानी गरिदिने तपाईंको हैसियत छैन । त्यसैले हामीलाई बिर्सनुहोस् बुबा । माया नै सबै कुरा होइन बुबा र यसमा रुमल्लिएर सुखी जीवन जिउन सकिंदैन । तपाईंले बिहे गरिसक्नुभयो होला ? आफ्नो परिवारसँग हाँसीखुशी बस्नुहोस् बुबा । अब हामी बच्चा होइनौं । हाम्रा पखेटा लागिसकेका छन् । हामी उडेर जहाँ पनि जान सक्‍ने भएका छौं । आर्थिक रूपमा पनि समस्या छैन । त्यसैले बुबा सानी बहिनीलाई र मलाई अब उपरान्त भेट्ने कोशिश नगरिदिनुहोला । यसैलाई म मेरो जन्मदिने बुबाको माया सम्झिनेछु ।”

यत्ति भनेर समृद्धि सरासर कक्षाकोठातिर गई । समृद्ध कलेजको प्राङ्गणमा घोप्टो परेर रुन थाल्यो । रोइरह्यो…रोइरह्यो… । सन्तानको मायामा आँखाबाट वर्षाको झरी झैं बर्साइरह्यो…।