शोभा बेलुकीपख कौसीमा उभिएर सुकाएका लुगाहरू बटुल्न लागेकी थिइन् । रामु भऱ्याङ्मा ढ्वाङढ्वाङ गर्दै हतारहतारसँग उक्लेर आयो र शोभाका जीउमा टाँसिएर उनको औंला समाउँदै भन्यो, “भाउजू, तपाईंले टेलिफोन सुन्नुभाको छ ? सुन्न हिंड्नोस् त, हामीले कति राम्रो टेलिफोन बनाएका छौं, बाबै !”

शोभाले रामुको कपाल सुमसुम्याउँदै भनिन्, “कस्तो टेलिफोन रामु ?”

रामुले पार लाउँदै भन्यो, “बाँसको ढुंग्रामा धागो बाँधेर एउटा ढु‌ंग्रा हाम्रो भोकटेको बोटमा बाँधेको छ, एउटा कमलको हलुवाबेतको बोटमा । कमलले उहाँबाट बिस्तार बोलेको ढुंग्रामा टड्कारै सुनिन्छ भाउजू !”

“जान्नँ म त्यस्तो जाबो टेलिफोन सुन्न ।”

“हिंड्नोस् न हिंड्नोस्, साँच्चै सुनिन्छ । मैले कमललाई ‘कपाल कन्या’ भन्दा उसले कपाल कन्यायो, अनि उसले ‘कान समात्’ भन्यो मैले कान समाएँ, टड्कारै सुनिन्छ ।”

शोभा सुनेको नसुन्यै गरेर कपडा पट्याउन लागिन् । रामु जाऊँ कि जाऊँ भनेर गोडा भुइँमा बजार्दै शोभाको औंला समातेर तान्न थाल्यो ।

“आफ्नू कति काम बितिरहेछ, यो केटो नानावलीको उल्का गरेर डाकिरहन्छ” भनेर शोभा मुसुमुसु हाँस्दै रामुका पछिपछि लागेर बगैंचामा पुगिन् ।

रामुले शोभालाई ढुंग्रामा कान थाप्न लगाएर भन्यो, “म परको ढुंग्राबाट जेजे भन्छु तपाईं त्यहीत्यही गर्नुस् है भाउजू ।”

रामु दगुर्दै कमलको बगैंचामा गयो र ढुंग्रोबाट बोल्न लाग्यो । रामुले “दाहिने हात उचाल्नुहोस्” भन्यो, शोभाले हाँसेर देब्रे हात उचालिन् । रामुले “नाक समाउनुहोस्” भन्यो, शोभाले कान समाइन् । यसरी शोभाले विपरीत काम गरेको देखेर रामुले भुइँमा गोडा बजारेर रुन्चे मुख लाएर भन्यो, “नाइँ, म बोल्दिनँ अब तपाईंसँग, म नाक समाउन भन्छु तपाईं कान समाउनु हुन्छ !”

शोभाले हाँसेर भनिन्, “भो बा भो ! अब तिमी जहाँ-जहाँ समाउनु भन्छौ म उहीं समाउँछु !”

अनि रामुले “कपाल समाउनोस्” भन्यो शोभाले कपाल समाइन्, रामुले “गालामा हात राख्नुहोस्” भन्यो, शोभाले गालामा हात राखिन् । आफूले भनेअनुसार शोभाले गरेको देखेर रामुले खुशी भएर शोभालाई भन्यो, “भाउजू, अब तपाईं मलाई भन्नुहोस् त !”

शोभाले ढुंग्रामा मुख लगाएर भनिन्- “अब हिंड बा जाऊँ, तिमीलाई भोक लागिसक्यो होला !”

रामुले दगुर्दै आएर शोभाका जीउमा टाँसिएर उनको सारीको सप्को समाउँदै भन्यो, “अँ, कसो हुँदो रहेछ हामीले भनेको, सुनियो कि सुनिएन ? तपाईं सुनिंदैन भन्नुहुन्थ्यो नि !”

रामुको गालामा म्वाइँ खाएर उसको हात समातेर शोभाले भनिन्, “हिंड जाऊँ माथि, लुगा त्यसै असरल्ल छ ।”

माथि लगेर शोभाले एउटा कचौरामा चिउराजुलेवी हालेर रामुका हातमा दिइन् र आफू लुगा उठाउन कौसीतिर गइन् ।

रामु शोभाको सौतेनी देवर हो । शोभा दुलही भएर यस घरमा आउँदा रामु डेढ वर्षको थियो; शोभा सोह्र वर्षकी थिइन् । त्यसै वर्ष रामुलाई शोभाका जिम्मा लाएर रामुकी आमा नफर्कने बाटो लागिन् । त्यस वेलादेखि रामुलाई शोभाले नै पालेर हुर्काइन् । अहिले रामु सात वर्षको भो; शोभा बाइस वर्षकी भइन् । घरमा रामु, उसकी भाउजू र दाज्यू निर्मलबाहेक अर्को प्राणी कोही छैन । रामुका बाबु त ऊ वर्षदिन नपुग्दै मरिसकेका थिए । आमा पनि डेढ वर्षमा गैहालिन् । अब यस पितृमातृहीन शिशुका मातापिता शोभा र निर्मल नै छन् । घरमा उसका निम्ति सदा बालसाम्राज्य छ । शोभाबाट उसले प्रशस्त मातृत्व सुख पाइरहेको छ । शोभाको यस अलौकिक गुणको प्रशंसा टोलछिमेकका समस्त नरनारीले गरिरहेका छन् ।

– – – – –

लगभग पन्ध्र वर्षपछिको कुरो हो । रामु बाइस वर्षका भए । यसै साल उनले प्रथम श्रेणीमा एमएस्सी पास गरे र रिजल्ट निक्लेको दिन रामुले हस्याङफस्याङ गर्दै तलामा उक्लेर शोभालाई बोलाएर भने, “भाउजू, म एमएस्सी पास भएँ, सबैभन्दा पहिला भएछु ।”

रामु कुर्सीमा बसेर शोभालाई पास भएको विवरण सुनाइरहेका थिए । शोभा कुर्सीपछाडि उभिएर आँखाबाट हर्षाश्रु झार्दै रामुको कपाल सुमसुम्याइरहेकी थिइन्; आँसुका थोपा रामुका पिठ्यूँमा खसिरहेका थिए । एउटा साधारण गरीब बाहुनका छोराले यति सफलताकासाथ एमएस्सी पास गरेको सुनेर सबैले प्रशंसा गरे । मानिसहरूले विशेष गरेर यसको प्रधान श्रेय निर्मलचन्द्रलाई दिए । महीनाको साठी रुपियाँ खाने भाषा पाठशालाको एउटा मामुली अध्यापकले भाइ, उसमा पनि सौतेनी भाइलाई आफ्नू अनुपम त्याग र तपस्याद्वारा यत्रो उच्च शिक्षा दिलाए भनेर इष्टमित्र नसनाता सबैमा खूब चर्चा भइरहेको थियो ।

यता भाइ फस्ट भै पास भएको देखेर निर्मलको पनि आनन्दको सीमा थिएन । चिनेजानेका जुनसुकै मानिससँग भेट हुँदा पनि “थाहा पाउनुभो ! हाम्रो रामु फस्ट भएर एमएस्सी पास भो नि ।” भनेर सुनाउँदै हिंड्थे । उता खुशीका मारे शोभाका पनि भुइँमा गोडा थिएनन् । टोलछिमेकका आइमाईसँग भेट हुँदा सबैलाई रामु पास भएको कुरा सुनाउँथिन् । यस कुरामा उनले आफ्नू ठूलो विजय सम्झेकी थिइन् ।

पास भएको दोस्रो साल गुरुपुरोहित उन्मत्तराज पण्डितले रामुलाई छोरी दिए । पुर्खाहरूले पनि आजसम्म आँक्न नसकेको त्यति ठूलो खानदानमा आफ्नू सम्बन्ध जोरिने भएकोले निर्मलका हर्षको सीमा रहेन । दरिद्र निर्मलले घर धितो राखेर खूब मन फुकाएर बिहेको सर्जाम जोरे । दुलाहा अन्माउने बेलामा रामुले शोभाका गोडामा रुपियाँ राखेर ढोगिदिए । शोभाले गहभरि आँसु पारेर रामुलाई दही ख्वाइदिइन् । बिहेको काम धन्दाले गर्दा शोभालाई न्वाउनेधुने फुर्सद थिएन ।

भोलिपल्ट बेलुकीपख बरियाँत फर्क्यो । शोभा सियाँलीको सर्जाम लिएर ढोकामा उभिएकी थिइन् । अप्सराजस्ती दुलही अगाडि लाएर रामु बिस्तारै आएर ढोकानेर उभिए । शोभाले दुलहीको घुम्टो पन्छाइन्, अनि गहभरि हर्षाश्रु पारेर हाँस्दै रामुका मुखप‌ट्टि हेरिन् र सियाँली गर्न लागिन् ।

पर्सिपल्ट दिउँसो शोभा टोलछिमेकका आइमाईहरूलाई बोलाएर भोज ख्वाउन लागेकी थिइन्, उनको सारी र पछ्यौरा अस्तव्यस्त भैरहेको थियो । टोलका बूढी आइमाईहरूले भने, “नानी बज्यै, रामुबाबुको उस जन्मकी आमा तपाईं नै हुनुहुँदो रहेछ, टुहुरो देवरलाई पढाइगुनाइ मानिस तुल्याएर उनको घरजम गरिदिनुभो । तपाईंको ऋण रामुले सात जन्म सेवा गरे पनि तिर्न सक्दैनन् ।”

शोभा गहभरि आँसु पारेर निम्तारुहरूलाई खानेकुरा थप्न लागिन् । रामु आफ्नो कोठामा पल्टेर यी सबै कुरा सुनिरहेका थिए ।

बिहे भएका दुई-तीन महिनापछि रामु त्रि-चन्द्र कलेजमा साइन्सका प्रोफेसर भए । महीनाको साठी भित्रिने निर्मलका घरमा अब पाँच सय साठी रुपियाँ भित्रिन लाग्यो । दरिद्रदानव कुम्लोकाम्लो कसेर निर्मलका घरबाट बिदा भो । रामु हरेक महीनाको पहिलो सातामा पूरा पाँच सय रुपियाँको थैली ल्याएर शोभाका हातमा राखिदिन्थे । पहिलो पटक रामुले तलब थन्क्याउन दिएका दिन शोभाले कोठाभित्र पसेर हर्षाश्रु झार्दै मनमनमा भनिन्, “मानिसहरू रामुलाई मेरो देवर भन्छन्, देवर होइन छोरो हो । हाम्री जीआमाले पन्ध्र वर्षको उमेरमा बालाई पाउनुभएको अरे भन्थे, दुलही बज्यैले रामुलाई मेरा जिम्मा लाएर जाँदा म सोह्र वर्षकी थिएँ । त्यस वेला रामु डेढ वर्षको हुँदो हो” इत्यादि कल्पना गर्दै आँचलका छेउले आँसु पुछेर शोभाले दामको पोको थन्क्याएकी थिइन् ।

रामुले पनि आफ्ना उपर निर्मल र शोभाले लगाएको ऋणको हिसाबकिताब बिर्सेका थिएनन् । दाज्यूभाउज्यूका प्रति बहुतै आदर र स्नेह गर्थे । यस बीचमा निर्मलका पनि दुई जना सन्तान जन्मे, छोरी वसुधा र छोरो हरि । उनीहरू आफ्नो बाबुआमालाई भन्दा कान्छा बाबुलाई बर्ता पछ्याउँथे । रामु पनि दाज्यूका यी दुई जना छोराछोरीलाई असाध्य माया गर्थे । दुवैलाई आफैं पढाउँथे । हरि राति रामुसँगै सुत्थ्यो । कुनै दिन ठट्टा गरेर “आमासँग सुत्न जा” भन्यो भने ठुस्सिएर झ्यालमा गएर उभिइरहन्थ्यो । अनि रामु हाँस्दै गै बोकेर ल्याएर आफूसँग सुताउँथे । रामु बाहिर डुल्न जाँदा हरि खूब ठाँटिएर रामुको औंला समातेर सँगसँगै जान्थ्यो । साथीहरूले ‘यो को हो ?’ भनेर सोधे रामु ‘छोरो’ भनेर उत्तर दिन्थे ।

एक दिन रामुले कताबाट हो एउटी आइमाई लिएर आएर शोभासँग भने, “अब पनि दिनहुँ आगामा पिल्सिएर कति पकाइरहनु हुन्छ भाउज्यू ! तपाईंको जीउ सुकेर आधा भैसक्यो । आज मैले एउटी भान्से बाहुनी खोजेर ल्याएको छु, अबदेखि यिनैलाई पकाउन लाउने गर्नुहोस् । सिकाएसधाएपछि अलि दिनमा तालिम हुन्छिन् ।”

शोभाले भनिन्, “हुन्छ बा । मैले पनि साह्रै बर्कत भएर कहाँ पकाउने गरेकी हुँ र ? जीउमा अघिजस्तो तागतै छैन, हात-गोडा करकरी खाइरहन्छ ।” त्यस दिन पनि शोभाको आँखाबाट दुई थोपा आँसु खसे ।

घरमा नोकरचाकर पनि थपिए । शोभाले अब उस्तो कामधन्दा गर्नु पर्दैनथ्यो । निर्मलचाहिं आफ्नू कोठामा बसेर गुडगुडीमा तमाखु खाँदै जजमानहरूका चिन्हा लेख्दै गर्थे । कुनै मानिस घरव्यवहारका कुरा सोध्न आए भने “म केही जान्दिनँ, जे भन्ने हो ऊ सानू बाबुसँग भन” भनेर आँखीभौंले रामुको कोठापट्टि इशारा गरेर देखाउँथे ।

रामुसँग भेट गर्न ठूलाठूला मानिस आउँथे । पढ्न आउने विद्यार्थीहरूको पनि ताँती लाग्थ्यो । शोभा र निर्मलका सन्तोषको पारावार थिएन । अस्तिको दरिद्र घर आज सम्पन्न देखियो । रामुको चकचकी देखेर मानिसहरू भन्थे, “देख्यौ, टुहुराको दिन फिर्दा यसरी फिर्छ !”

– – – – –

रामुकी दुलही दुई-चार महीना, दुई-चार महीनामा आएर दुई-चार दिन बसेर जान्थिन् । यसरी दुई-चार दिन बसेर गइन्जेल त उस्तो गडबडी केही भएको थिएन । परन्तु एक वर्षपछिचाहिं बस्ने गरेर आइन् । आफू ताम्दानमा बसेकी थिइन्, पछिपछि कोसेली र मालतालको खर्पन बोक्ने डोलेहरूको लर्को थियो । ताम्दानका साथमा खूब नक्कल पारेर सारी-किलिप लाएका दुई जना आइमाई पनि आए । हरि र वसुधा झ्यालमा बसेर आगन्तुकहरूलाई हेरिरहेका थिए । गरीब निर्मलका घरमा अघि कहिल्यै पनि नपसेको यो नौलो हूल एकएक गरेर पस्यो । तलामा घुइँचोले तिल राख्ने ठाउँ भएन । शोभा माथिल्लो तलामा बसेर बुहार्तन गरिरहेकी थिइन् । दुलही रामुको खाटमा बसेर सुनका कल्ली फुकाल्न थालिन् । आएका दुई जना आइमाईचाहिं हरिवसुधा बस्ने लम्पटमा ढसमस्स परेर बसे । त्यसरी नौला आइमाई आफ्ना बिछ्याउनामा बसेको देखेर हरि र वसुधा भागेर आफ्नी आमा भएका ठाउँमा गए । रामु त्यस बेला कलेजबाट फर्केका थिएनन् ।

रामु बेलुकीपख फर्कन्थे । घरमा पस्ने बेलामा उनी सधैं बाटोदेखि नै हरि र वसुधालाई बोलाउँदै भित्र पस्थे । हरि र वसुधा पनि ‘बा आउनुभो, बा आउनुभो’ भन्दै दौडेर छिँडीमा पुग्थे । रामु आफ्नू जेबमा कहिले चकलेट, कहिले पेडाका सानासाना दुई पोका लिएर आउँथे र एक पोका हरिका हातमा एक पोका वसुधाका हातमा दिन्थे, अनि हरिको हात समाउँदै बिस्तारै भऱ्याङ उक्लेर आफ्नो कोठामा पस्थे । रामुको टोपी र छाता थन्क्याउने काममा दिदीभाइको लुछाचुँडी पर्थ्यो । रामु परम आनन्दमा निमग्न भएर हरिका गालामा च्वाक्क म्वाइँ खान्थे र खाटमा उत्तानू परेर अंग्रेजी अखबार हेर्न थाल्थे । एकछिनपछि शोभा एक हातमा खानेकुराको प्लेट र अर्को हातमा एक गिलास पानी ल्याएर रामुको टेबुलमा राखेर जान्थिन् । नित्य अविराम गतिले यही क्रम चलिरहेको थियो । यसमा कहिल्यै त्रुटि हुँदैनथ्यो ।

नित्यका झैं आज पनि रामुले चोकबाट हरि र वसुधालाई बोलाए; तर आज उनलाई लिन छिंडीसम्म कोही आएन । उनी आश्चर्य भएर तलामा उक्ले, अनि उनलाई सबै कुरा ज्ञात भो । हरि र वसुधालाई खोज्दै उनी विनयले बोल्न छाडे । टोलछिमेकका आइमाईहरू निर्मलका घरको कुरा उठाएर कानेखुसी गर्न लागे ।

एक दिन दुलहीको कुरालाई लिएर दाजुभाइको सामान्य हिसाबसँग ठाकठुक पनि भो । रामुले “दाजु, म छुट्टिएर बेग्लै बस्छु” भने । रामुको कुरा सुनेर निर्मलले गहभरि आँसु पारेर भने, “पर्खी बा । एक पटक भाउज्यूलाई लिएर तीन धाम गरेर आऊँ, अनि छुट्टिएलास् । जिन्दगीभर दुःख गर्दागर्दै बूढो भैहालें । भाउज्यू पनि रोगी छ । हामी दुवै जना उतै मर्यो भने तैले छुट्टिने कामै परेन । वसुधाको बिहे गर्ने बेला भैसक्यो, उसलाई एउटा बाहुनको छोरो खोजेर जिम्मा लाइदिनू । हरि बालखै छ, उसलाई जे गर्नुपर्छ आफैं जान्नू; म आफ्ना रापले आफैं पिल्सिराखेको मानिसलाई किन घोच्छस् ?”

शोभाचाहिं अर्काप‌ट्टि फर्केर देवर र पतिका कुरा सुन्दै आँसुका थोपा खसाल्दै गर्न लागेकी थिइन् ।

केही महीना यही क्रम चल्यो । एक दिन बिहानै एउटा कार र एउटा लरी घुइँघुइँ गर्दै निर्मलका ढौकामा आएर उभिए । ज्यामीहरू रामुका कोठाका मालताल ओसारेर लरीमा लान लागे । दुलही बजैले माइतबाट ल्याएका मालमत्ताहरू एउटा सिन्कासम्म नराखेर लरीमा लान लगाइन् । मालमत्ता लादिसकेपछि रामुले कोठामा गएर दाजुभाउजूलाई ढोगिदिए । अनि, दुलहीलाई लिएर मोटरमा बसे । मोटर हिंडिसकेपछि टोलछिमेकका मानिसहरूले भने, “देख्यौ, सौतेनी भाइको चाला ! देवताको घरमा नभएको कुरो मानिसको घरमा किन हुन्थ्यो ?”

– – – – –

रामु आफ्ना ससुराको जुद्धसडकको घरमा बसेर नयाँ गृहस्थी चलाउन थाले । चाडबाडमा पनि दाजुका घरमा आउँदैनथे । पाँच-छ महीनापछि दुलहीले छोरो पाइन् । धूमधामसँग छोराको पास्नी गरे । त्यसमा पनि दाजुभाउजू, हरिवसुधा कसैलाई बोलाएनन् । पास्नीका दिन शोभा कौसीमा बसेर धेरैबेरसम्म एक्लै रोइरहिन् । मनमनमा भनिन्, “हामीलाई नडाके पनि यी बालक छोराछोरीलाई त अवश्य डाक्नुपर्थ्यो । यी अजान बालकहरूले के बिराएका थिए र आफूले हुर्काएका छोराछोरीलाई पनि चटक्क बिर्से । अहो ! संसार कति मतलबी छ ।”

निर्मलका घरमा फेरि उही अघिकै दुःख र दारिद्रको पुनरागमन भो । उही मासिक साठी रुपियाँको आय, खोपामा उही टुकीको धमिलो बत्ती, उहीं फाटेका काने जुत्ता, उही घुँडा टालेका सुरुवाल, उही पुरानू एकाहार । दुःखले पुनराक्रमण गरे पनि उनी कत्ति विचलित भएनन् । किनकि जान्ने भएदेखि नै उनलाई दुःख र अभावले कुनै दिन छाडेका थिएनन् । त्यसो हुनाले दुःख सहनमा उनी अभ्यस्त भइसकेका थिए । यसबीचको दुई-चार वर्षको सुखसन्तोषलाई उनले बादलको छायाजस्तो मानेका थिए ।

बिहान झिसमिसैमा उठेर खेसको एकसरो बर्को ओढेर बाग्मती पुग्थे । न्वाएर सूर्योदयसम्म जप गरेर घर फर्कन्थे, अनि पूजा गर्थे र शोभाले बनाएको दुई गाँस रुखासुखा खाएर पाठशाला जान्थे । परमेश्वरले धनदौलतमा ठगेको भए पनि लक्ष्मीजस्ती पतिपरायणा पत्नी पाएका हुनाले उनले सबै दुःख र अभावलाई बिर्सेका थिए ।

यस दारुण दुःखले निर्मल र शोभाका शरीरमा त उति परिवर्तन गर्न सकेको थिएन, किन्तु हरि र वसुधाचाहिं ओइलाएका फूलझैं कान्तिहीन देखिए, किनकि नित्यप्रति अनेक प्रकारको अभावले गर्दा यी कलिला बालकहरूका पेटमा पौष्टिक आहार कहिल्यै पर्न पाउँदैनथ्यो ।

– – – – –

दुई वर्षपछिको कुरो हो । एक दिन बिहान शोभा भान्साको तर्खर गर्न लागेकी थिइन् । त्यस्तैमा एउटी तरुणी आइमाई निर्मलको घर सोध्दै तलामा उक्ली । अचानक एउटी नौली आइमाईलाई देखेर शोभाले उत्सुकतापूर्वक सोधिन्, “कहाँबाट आएकी नानी ?”

“जुद्धसडक मास्टरबाजेको घरबाट ।”

“को मास्टर बाजे ?”

“मास्टरबाजे क्या, हजुरका देवर ।”

देवर भनेको सुन्नेबित्तिकै शोभा झसङ्ग भइन् । उनका हृदयमा अनेक प्रकारका अमङ्गलसूचक भावनाहरू उठ्न लागे । सशङ्कित भएर सोधिन्, “मास्टरबाजेलाई सन्चै छ ?”

आगन्तुक आइमाईले गहभरि आँसु पारेर भनी “साद्वै बिरामी हुनुहुन्छ बज्यै । डाक्टर-वैद्यहरू पनि ‘खोइ, तर लाग्न गाह्रो भो’ भन्न लागे । आज बिहान झिसमिसैमा ‘म मर्न लागें, भाउजूलाई बोलाई देऊ’ भनेकाले लिन आएकी बज्यै । ‘नली नआउनू’ भन्नुभाको छ । आजकल खालि ‘भाउजूभाउजू’ भनेर रोइरहनुहुन्छ ।”

शोभाका आँखाबाट आँसुका थोपा झर्न लागे । आँचलका छेउले पुछ्‌दै रुन्चे स्वरले भनिन्, “यस्तो हुने रहेछ र पो आज दश-बाह्र दिनदेखि तारन्तार छाती चर्किरहन्छ ।”

यति भनेर शोभा घरमा गर्नुपर्ने कामकुराहरू वसुधालाई अह्नाउन सिकाउन लागिन् ।

– – – – –

दश बजेतिर शोभा रामुका घरमा पुगेर उनको कोठामा पसिन् । त्यस वेला रामुलाई निद्रा परेको रहेछ । रामुका कोठाको छाँटकाँट देखेर शोभा दुःखी भइन् । कोपरा नमाडेर कालो भैराखेको, फिकदानीमा दिँगा भन्किराखेका, ठाउँठाउँमा कसिङ्गर थुप्रिराखेका, मैला लुगाहरू यताउति छरिइराखेका, किताब र छापाहरू जथाभाबीसँग मिल्किरहेका, ओछ्यानमा मैलो तन्ना ओछ्याइराखेको; रामु पनि मैलो कमिज-सुरुवाल लगाएर मैलो दोलाई ओढेर सुतिरहेका, दुब्लाएर हात गोडा सिन्काजस्ता भएका, शरीर रक्तहीन, केश रुखो, अनुहार फुङ्ग उडेको, दाह्री जुंगा र हात-गोडाका नङ लामालामा भैराखेका, कोठामा बिरामी कुर्ने मानिस कोही पनि नबसेका, पल्लो कोठामा सानु छोरो रोइरहेको । घरको यस्तो बीभत्स दृश्य देखेर शोभाको मन एकतमासको भो । पल्लो कोठामा गएर छोरालाई बोकेर ल्याइन् र कोठामा छरिएका मालताल सोहार्न लागिन् । मैला लुगाहरू सबै एकएक गरेर बटुलेर पोको पारिन् । किताब छापाहरू पनि जम्मा पारेर टेबिलमा थाक लगाएर राखिदिइन् । कोपरा लगेर कोठा बाहिर बरन्डाको कुनामा राखिन् र छोरालाई काखमा लिएर रामुको ओछ्यानअगाडि चकलामा बसिन् ।

एकछिनपछि रामु ब्युँझे । आफ्ना अगाडि अप्रत्याशित जननी जस्ती भाउजूलाई देखेर रुन्चे मुख लाएर आफ्नू कपाल घिसार्दै भाउजूका गोडामा पुऱ्याएर छातीमा भक्कानु पारेर रुँदै क्षीण स्वरले भने, “भाउजू, म मर्न लागें, मेरा हरि र वसुधा कहाँ छन् ?”

शोभाले आँसु झार्दै रामुको कपाल तकियामाथि राखेर उनको निधार छामिन्ः भुङ्ग्रोजस्तो जरो रहेछ । अनि शोभाले रामुको कपाल सुम्सुम्याउँदै रुन्चे स्वरमा भनिन्, “नरोऊ बा ! म आइपुगें । अब तिमीलाई बिसेक हुन्छ ।”

एकछिनपछि मयलले कालो भएको धोती र मैलो जनै लाएको एक जना मानिसले एउटा मैलो गिलासमा बार्ली लिएर आयो र रामुका अगाडि राखिदियो । बार्ली पनि कालोकालो रहेछ । शोभाले मनमनमा भनिन्, “बिरामीको पथ्य आधा दिनमा तयार भएर आउँछ, उसमाथि यस्तो मैलो; लोग्नेको गति यस्तो छ, स्वास्नीचाहिं एक पटक पनि कोठामा पसेको देखिंदैन; घरमा स्वास्नी अगतिली भएपछि लोग्नेको यस्तै दुर्दशा हुन्छ ।”

शोभाले बार्ली ल्याउने मानिसका मुखपट्टि हेरेर भनिन्, “बार्ली के ताप्केमा पकाउने गरेको छ ?”

उसले लाज मानेजस्तो गरेर भन्यो, “हजुर ।”

“दुलही बजै खै नि ?”

“आज मुमासँग दक्षिणकाली जान्छु भनेर बिहानै माइत जानुभो ।”

– – – – –

अब शोभाले रामुको सुश्रूषा आफ्ना हातमा लिइन् । बाकसबाट धोएका लुगाहरू झिकेर रामुका लुगा फेरिदिइन् । ओछ्यानमा पनि धोएका तन्ना, खोलहरू हालिदिइन् । धोबी बोलाएर मैला लुगाहरू धुन दिइन् । कोठामा दिनको दुई पटक बढारकुँढार हुन लाग्यो। कोपराफिक्दानीहरू रोजै माझिन लागे । कोठामा बिहान-बेलुका दुई टाइम धूप सल्काइदिन्थिन् । औषधि र पथ्य टाइममा पर्न थाले । दिन-रात रामुका सिह्राननेर बसेर रुमालले हम्किरहन्थिन् । आफ्नो दैनिक जीवनमा यति ठूलो परिवर्तन भएको देखेर रामु अपार आनन्दमा निमग्न भैराखेका थिए ।

भोलिपल्ट बिहान डाक्टर आए । कोठाको रौनक नै बदलिएको र एक जना प्रौढा नारी रामुका सिराननेर रुमाल हम्किरहेको देखेर डाक्टरले आश्चर्य भएर सोधे, “उहाँ को हुनुहुन्छ ?”

रामुले रुन्चे मुख लाएर भने, “आमा !”

शोभाले गहभरि आँसु पारेर सारीको सप्को कपालतिर तानिन् ।

शोभाको अविराम सुश्रूषा पाएर रामु आरोग्य हुँदै गए । रामुको बालक छोरो दिनेश शोभालाई एकछिन छोड्दैनथ्यो ।

अब रामु राम्रो प्रकारले आरोग्य भए । जीउ पनि निकै फेरियो । भान्साकोठासम्म गएर खाएर आउन लागे । आफ्ना कोठा र बार्दलीमा टहल्न पनि थाले ।

एक दिन बेलुकीपख एउटा कार आएर रामुको ढोकानेर उभियो । त्यस वेला शोभा भान्साकोठामा रामुलाई चिया बनाइरहेकी थिइन् । रामुचाहिं कोठामा बसेर शोभाको न्वाउने सारी, पछ्यौरा, आफ्नू धोती-रुमाल, एउटा तन्ना, एउटा तकिया हालेर पोको बाँध्न लागे । पोको बाँधिसकेपछि रामु तारन्तार ‘भाउजू ! भाउजू !’ भनेर बोलाउन लागे ।

एकछिनपछि ‘छोराछोरीको बाबु होइसक्दा पनि यस केटाको जिद्दी र हत्पते स्वभाव कत्ति गएन ।’ भनेर गुनगुनाउँदै शोभा एउटा प्लेटमा चिया कप र एउटा प्लेटमा पाँच-छ टुक्रा तारेको आलु, चारवटा बिस्कुट लिएर आइन् र प्लेटहरू टेबिलमा राखेर कुर्सी सोझ्याउँदै उनले भनिन्, “आज चिया तयार पार्न अलि अबेर भो बा ! लौ खाऊ !”

रामु छोरालाई अर्को कुर्सीमा राखेर आफू पनि कुर्सीमा बसेर चिया खान लागे । बीचबीचमा आलुका एक-दुई टुक्रा छोरालाई पनि दिन्थे । शोभा कुर्सीनेर उभिएर रुमाल हम्किरहेकी थिइन् । रामु लुगासुगा लगाएर तयार भैराखेको देखेर शोभाले भनिन्, “तिमी डुल्न जान आँट्यौ क्यारे बाबू ! जीउमा तागत भरिएको छैन, अहिल्यै डुल्न जान हुँदैन बा !”

रामु केही बोलेनन् ।

चिया खाइसकेपछि, हात-सात धोएर मुख पुछे । अनि छोरालाई उचालेर शोभालाई समाउन दिएर भने, “लौ भाउजू, अब घर जाऊँ, मोटर ल्याएको आधा घण्टा भइसक्यो ।”

शोभाले आश्चर्य मानेर भनिन्, “कहाँ घरमा जाने बाबू ?”

“आफ्ना घरमा, जहाँ तपाईं बस्नुहुन्छ, जहाँ दाजु हुनुहुन्छ, जहाँ हरि र वसुधा छन् । मेरो घर त्यही हो भाउजू । यहाँ यिनीहरूले मलाई अकालमा मार्छन् !”

शोभाले गहभरि आँसु पारेर भनिन्, “दाजुसँग एक वचन नसोधीकन जाने ?”

“मेरो देवता जस्तो दाजुले मलाई कुन दिन घरबाट निकाल्नुभाको थियो र आज सोध्ने ? आफैं उम्लिएर हिंडेको थिएँ, आफैं फर्केर जान्छु, उहाँको स्वभाव मैले जानेको छु ।”

लुगा बाँधेको पोको झुन्ड्याएर रामु हिंडे । शोभा छोरो काखी च्यापेर पछिपछि लागिन् । रामु र शोभा मोटरनेर पुगेपछि ड्राइभरले मोटरको ढोका उघारिदियो । देवर र भाउज्यू मोटरमा बसे, अनि मोटर हिंड्यो । रामुकी दुलहीचाहिं झ्यालमा बसेर फतफताउन लागिन् ।

केहीबेरपछि मोटर निर्मलका ढोकामा पुगेर उभियो । रामु लुगाको पोको झुन्ड्याएर तलामा उक्ले । खोपामा टुकीको धमिलो बत्ती बलिरहेको, निर्मल, हरि र वसुधाहरू मैला लुगा लगाएर खाटमुनिको सुकुलमा बसेर तर्कारीसँग चिउरा फाँक्न लागेका । निर्मल अत्यन्त दुब्ला, छुस्स दाह्री पालेका, हरि र वसुधा पनि ओइलाएका फूलजस्ता कान्तिहीन, घर एकदम श्रीहीन ।

यी सबै दृश्य देखेर रामुका गहभरि आँसु भो, मनमनमा भने, “शिव ! शिव ! मैले आफ्ना परिवारको कति ठूलो अनिष्ट गरें । परमेश्वर, म कृतघ्न हूँ ! मेरा पौरखलाई धिक्कार छ !”

(गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’बाट)