भगवान्‌ सूर्यले पश्चिमतर्फको पर्वतपछाडि आफ्नो मुख लुकाए तापनि तिनको लाज कालो पहाडको श्रृङ्खलाहरूमा फैलिन गएको थियो । खोलाहरू आफ्नो अविराम गीत गाएका गाएकै थिए । उनीहरूलाई जगतको चिन्तामा केही रस, अनुरक्ति थिएन । धमिलोपना अन्धकारतिर डुब्दै गइरहेको थियो ।

मधेसबाट आउन लागेको एउटा यात्रीले, यौवनको सिँडीमा खुट्टा अडाई घरको द्वारमा उभिएकी सानीसँग सोध्यो- “यहाँ बास पाइन्छ ?”

“कुन्नि ! आमासँग सोध्नुपर्छ ।”

“आमा ? तिम्री आमा कता छिन्‌, को हुन्‌, मैले त चिनेको छैन । कोसँग सौध्ने ?”

अनि- “आमा, ए आमा !” पुष्ट कण्ठबाट निस्केको त्यो मीठो र तीव्र स्वर पर्वतको कुना-कुनामा पस्न गयो । तर कोही पनि आएन । एकैछिन प्रतीक्षा गरेपछि, “पर्खनोस्‌ है, म अहिल्यै आमालाई डाकी ल्याउँछु” – भन्दै सानी एकातिर गई र अलिबेरमै एउटी बूढीसँग लागी यात्रीका सम्मुख आइपुगी ।

“लौ, आमा यिनै हुन्‌, तपाईंका भरियाहरू कता छन्‌ ?”

“भरिया एउटै छ। त्यो पनि बूढो, हिँड्नै नसक्ने । यसले गर्दा त यहाँ बस्नुपर्यो । नत्र आज चितलाङ पुग्ने विचार गरेको थिएँ । त्यहाँ चिनाजानी भएका पसलेहरू पनि छन्‌ । बास पनि राम्रो ठाउँमा पाइन्थ्यो । तर खोइ ! यो त भट्टीपसल पो हो क्यारे ?”

“हो…” स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षामिश्रित स्वरमा उत्तर दिई ।

“भट्टीपसल भएर के हुन्छ ? चिलताङमा पनि त त्यही हो नि । छेउको कोठा त सफै छ ।” -सानीले तुरुन्त भनी ।

“होइन” -बूढीले सोधी- “केही खानपिन पनि गर्नुहोला कि?”

“पिउन त होइन, खान मात्रै । भाँडाबर्तन सँगै छन् ।”

सानीले आफ्नी आमाको मुखनेर मुख लाएर भनी-”किन आमा,चामल, दाल, घ्यू, दाउरा त किन्ने नै छन्‌; नून, तेल, मसला, तरकारी…। पल्लो कोठामा भान्छा र छेउको कोठामा सुते त भइहाल्यो नि ।”

“एकपल्ट कोठा हेरुँ । सफा छ कि, सफा नभए त… ।”

“किन हुन्नथ्यो । हेर्नोस्‌ कोठामा के छ र ? भर्खर लिपिराखेको कोठा, चाहिए एउटा सुकुल पनि ओछयाइदिउँला । लौ, भरिया पनि आइपुग्यो । बस्नुहुन्छ कि ?”

“ए सानी, आइज” भन्दै बूढी माथि उक्ली । सानी द्वारमै उभिएकी थिई । आइपुगेको भरियाले मुखबाट एउटा सुस्केरो हाली भारी बिसाउँदै भन्यो- “यति गह्रुँगाे भारी, यस्तो उकालो, नौ सुका ज्याला, उसैमा भरियानाइके पनि, बाटोखर्च पनि इसोर !”

चूपचाप उभिएकी सानीको मुखमा छचल्किरहेको जिज्ञासामा अलि आशा, विश्वास र सन्तोषको पनि आभा देखियो ।

कोठासोठा हेरिसकेपछि यात्रीले त्यहाँ बास बस्ने निश्चय गर्यो र सानी पनि अलि स्वस्थझैँ भई । भरियाको सहायताले एउटा कोठामा सुकुल हाली, भुइँमै आफ्नो ओछ्यान ओछ्याएर त्यसले अलिअलि निश्चिन्तताको सास फेर्न लागेको के थियो, भरियाले भन्यो- “लौत, म अब जाँऊ हजूर… थाकिराखेको छु, केही खानपिन पनि गर्नुपर्ला, खाजा खानलाई दुई-चार आना दिनुपर्ने हो…।”

”ला…” भनेर यात्रीले चार पैसा फ्याँकिदियो । यसमा एउटा सन्तोषको दृष्टिले बूढो भरिया भूइँबाट पैसाहरू टिपी जान लागेको थियो । फेरि त्यो सानीले सोधी- “भान्छालाई के-के कुरा ल्याउनुपर्ला ? भन्नोस्‌ न । रात पर्न आँट्यो, तपाईंसित लालटिन त छँदैछ, मट्टीतेल पनि चाहिन्छ कि ?”

यस प्रश्नको उत्तर नदिएर त्यसले जान लागेको भरियालाई भन्यो- “ए बूढा, डोकोबाट भाँडाहरू झिकेर खोलामा पखाली ल्याऊ ।” अनि सानीतिर फर्केर भन्यो- “पानी ल्याउनलाई एउटा गाग्री त दिनुपर्ला, पानी पनि ल्याइहालोस्‌ । अब यो पनि आफ्नो खानपिनमा लाग्नेछ ।”

”हुन्छ, म अहिल्यै माथिबाट ल्याइदिन्छु ।”

“तर गाग्री सफा हुन्छ ?”

“लौ ! गाग्रीमा के लागेको छ र ? चित्त बुझ्दैन भने खोलामा माझेर पानी ल्याउन भनेपछि त भइहाल्यो नि ।” बालिकाको अनुहारमा अलि सङ्कोच निख्रन लागेको थियो ।

भरियाले डोकोबाट भाँडाहरू झिकिसकेको थियो । सानीले माथिबाट तुरुन्तै एउटा सानो पित्तले गाग्री ल्याइदिई । त्योसमेत लिएर भरिया खोलातिर गयो । त्यसपछि युवक यात्रीले सन्ध्याको धमिलो प्रकाशमा हेर्यो- त्यो भट्टीपसलेकी छोरीको परिच्छेद बाह्य आवरण मैलो र दरिद्रताको विज्ञापन भए पनि त्यसको अनुहार नराम्रो थिएन । गालामा पर्वतीय वायु र परिश्रमको सुन्दर उपहार, स्वाभाविक लाली र यौवनको सिँढीमा उक्लिरहेकी अवस्था छ । आँखा गोल उज्ज्वल र भित्रको नानी निक्कै काला र चञ्चल छन्‌ । उनीहरूमा अपार जिज्ञासा र उत्सुकता क्रीडा गरिरहेका थिए ।

“तब…भान्छाको निम्ति के ल्याऊँ ?” प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो । यात्रीले भन्यो- “असल पुरानो मसिनो चामल एक माना, एक चौथाइ दाल, दुई पैसाको यहाँ पाइने तरकारी र दुई आनाको घ्यू, -बस, यति मात्रै भए पुग्छ ।”

कुरा सुनेर त्यो माथि उक्ली र अलिबेरमै भनेजति जम्मै थोक ल्याइदिई । भरियाले पनि भाँडो र पानी पल्लो कोठामा राखी गइसकेको थियो । त्यस कोठामा लिपी पोतिएको चूह्लो र ठाउँ दुवै सफा थिए ।

चामल हेर्दै यात्रीले भन्यो- “खोइ, यो त राम्रो चामल भएन ।”

“तर यसभन्दा राम्रो चामल त यहाँ कतै पनि पाइन्न । भएदेखि त म आफैँ ल्याइहाल्ने थिएँ । तरकारी पनि आलुबाहेक अरू केही पाइँदैपाइन्न ।

अलि हाँसेर यात्रीले भन्यो- “ए, त्यसो हो भने के लाग्छ, पाएजत्तिकैमा सन्तोष गर्नुपर्ला ।

“अब म जाऊँ त ?” सानीले सोधी ।

“हुन्छ” भन्दाभन्दै युवकलाई कुन्नि किन फेरि एकपल्ट त्यस सानीको मुखमा दृष्टि फेर्नाको आवश्यकताको अनुभव भयो । दुबैका आँखा जुधे । बालिका लज्जानत भएर भाथि उक्लन लागी । तर तुरुन्तै फर्केर त्यसले अलि साहसको स्वरमा स्वाभाविकता ल्याएर सोधी- “तरकारी पकाउनलाई भुटुन र दाउरा चाहिन्यैछ । नून, मसला र लालटिनमा मट्टीतेल पनि ल्याउनुपर्छ कि पर्दैन ?’

‘ए ! यो त बिर्सेकै रहेछु । तरकारी त ध्यूमै भुटिहालुँला । मसला चाहिँदैन, एक पैसाको अलिकति बेसार र नून दुवै ल्याऊ र चार पैसाको दाउरा तथा लालटिनमा चाहिँ छ पैसाको तेल भए पुग्छ ।’

एकैछिनपछि सबै थोक ल्याई सानी माथि उक्ली । आफ्नी आमासँगै केही खानपिन गरेर पन्ध्र-बीस मिनेटभित्रै आफ्नो सुत्ने कोठामा पसी, भित्रबाट ढोका थुनिहाली ।

अहिले साँझको साढे सात मात्र बजेको थियो, तैपनि निकै अँध्यारो भएको थियो । सघन र विशाल पर्वततरुको अङ्कमा भएका ती पुतलीझैँ दुई-चारवटा घर यस्तो स्तब्ध उभिइरहेका थिए, मानौँ शरीरभित्रबाट प्राणै निस्केको छ । खोलाको श्रृङ्खलाबद्ध गर्जन एकनाससित ध्वनित भइरहेको थियो, तर त्यसबाट पनि त्यो शून्यपनाको भयानकता बढिरहेकै थियो ।

ओछ्यानमा पल्टेकी कुन्नि के-के सोचिरहेकी सानीले हठात्‌ यात्रीको कोठाभित्र आइरहेको ध्वनि सुनी । त्यो त्यही कुरा सोच्नमा मग्न भई- ‘अहिलेसम्म त्यसले खानपिन गरिसकेको रहेनछ क्यारे । भात पकाउन जान्दो हो कि होओइन, पकाइसकेको तिहुन-तरकारी चूलाबाट उतार्दा खसाल्या पो हो कि ! लोग्नेमान्छे भात पकाउन कहाँ जान्दो हो र ! तर त्यो त सधैँ मधेसैमा बसिराखेको मान्छे हो । त्यहाँ कसले भात पकाई ख्वाउँदो हो नि ! अथवा कोही भान्छे बाहुन राखेको होला । तर कैले हुन्थ्यो मधेसमा खर्च निकै पो लाग्छ; यसो हेर्दाखेरि यो कुनै साहू-महाजनजस्तो पनि छैन । त्यसो भए, यतातिर धमाधम आउनेहरूको जस्तो, ठूल्ठूला टिनका भरिभराउ भएका गह्रुँगाे बाकसहरू हुनुपर्थ्यो, छालाका तीन-चारवटा साना-ठूला ब्याग, भाँच्ने खाट, नोकर, धेरै जना भरिया, आफू तामदान वा कारपेटमा बसेर आउनुपर्ने; खोइ, त्यो त केही पनि छैन । यो मधेसमा कतै जागिरे पो होला जस्तो छ । आफू नोकरी गर्नेले बाहुन कहाँ राख्न सक्छ र ?’

विचारधारा अर्कैतिर बग्यो- यसो भए त्यसकी स्वास्नी होली । अनि मुटुमा थपक्क एउटा थपडीजस्तो लाग्यो । च्याप्प गरेझैँ त्यो आफ्नो अन्तरमा निस्तब्ध भई । बाहिर त्यहाँ अविराम स्वरले गर्जिराखेको थियो खोलाको हररर ध्वनि । जम्मा भइरहेका विचारहरू अलि विश्रृङ्खलजस्ता भए । त्यसले एउटा लामो सास फेरी तर त्यो अवस्था एकछिन पख्ता-नपख्ता लोभ्याइराखेका ती मधुर कल्पनाहरू फेरि छोप्न थाले ।

सासपर्यन्त अलि थामेर त्यसले सुत्ने प्रयत्न गरी- “यात्री भातसात खाई सुत्यो कि !” तलबाट केही आवाज सुनिएन । “त्यसो भए त्यो सुत्यो ।” तर फेरि त्यही खटपट । “मुसाहरू होलान्‌; होइनन्‌, त्यही हो बिचरा अझ…” तर अघि नै तर्सिसकेका ती मूक सहानुभूतिहरूलाई विचारहरूले समात्न साहस गरेनन्‌ । एकछिनपछि ओछ्यानबाट जुरुक्क उठेर सलाई कोरी र सिह्रानतिरको खोपामा राखेको टुकी बाली । धूम्रयुक्त क्षीण प्रकाशले अन्धकारमा छाप्न थाल्यो ।

टुकी लिएर बिस्तारै त्यो तल ओर्ल्ही । त्यसको छाती हान्न लागेको थियो- “बूढी सुतिरहेकी छ कि ?’ एउटा अव्यक्त र क्षीण डरले अन्तरको धेरै टाढाबाट चियाउने जस्तो प्रयत्न पनि गर्याे । त्यो तल पुगी । ‘तर…किन ओर्ल्हेकी हुँली ! केही काम छैन ।’ यात्रीको कोठामा लालटिनको नीरव र मन्द प्रकाश थियो । त्यसतर्फ यसो फट्ट एकपल्ट हेरी आँखा फर्के । त्यो आफ्नो सेतो ओछ्यानमा सुतिरहेको थियो… निश्चिन्त, निरुद्विरन, निर्विकार प्राणपर्यन्तलाई तीव्रताका साथ तानिलिने एउटा भयानक लोभ त्यसको भित्र मुटुको हनाइको साथै हान्न लाग्यो र कनै अव्यक्त उल्लास, साहस, डर र पीडाको भन्न नसकिने मिश्रण त्यसका नसा-नसामा दगुर्न थाल्यो, प्रवाहित भयो । त्यही हलचल, त्यही प्रवाह लिएर त्यो माथि पुगी र आफ्नो शूत्य ओछ्यानमा लडी ।

गाग्री चाइने बिहानै उठेर गइहाल्यो । सानीका आँखामा आइबसेका र छचल्किरहेका मूक माेह र कुन्नि र कस्ता अव्यक्त आकाङ्क्षाहरू त्यसलाई निकै टाढासम्म पहाडको टप्पामा पुर्याई फर्के । कुन्नि केले हो, त्यसको मन भारी हुँदै आयो, हृदयमा आई भावनाहरूको गह्रुँगाे प्रवाह बग्न थाल्यो’। त्यसको भित्र मनमा लगातार एउटा प्रश्न उम्लन थाल्यो- ‘त्यो फेरि फर्कला ?’

तर सानीको त्यस प्रश्नको समाधान भएन । त्यो यात्री फर्केन । केही दिनपछि सानीको बिहा पनि भयो, त्यो आफ्नो घरमा गई । घर-गृहस्थीको कर्तव्य र लोग्नेको प्रेम, माया, ममता इत्यादि पनि साधारण नियमजस्तै समातिन थाले । उनीहरूका कानमा सानीबाट केही अस्वाभाविकता पनि परेन । तर सानीको गाउँले संस्कृति भएको सुदूर अन्तरको एउटा मनले भगवानको वरदानजस्तो समातेको त्यो प्रश्न- त्यो फेरि फर्कला ?’ ले दिनमा दुई-चार पटक अवश्यै चियाउने प्रयत्न गरिहाल्थ्यो ।

लोग्नेको घरमा रहेको बखत कहिलेकाहीँ एउटा शङ्काले भयानक अन्तरसङ्ग्राम मच्चाइदिन्थ्यो- ‘म यहाँ छु, यात्री फर्केर गइहालेको भए..?’ तर यस प्रश्नको विश्लेषण गर्ने साहस त्यस बखतसम्म त्यसमा रहनै जान्नथ्यो । कस्तो गह्रुँगो, कस्तो भयानक, कस्तो पीडाप्रद शङ्का हो । बरु यात्री कहिल्यै पनि नफर्कोस्‌, त्यसको पथ हेर्दाहेर्दै यस जीवनको अन्त पनि भइजाओस्‌, तर सानीलाई नभेटी त्यो त्यसै गइहाल्ला भन्ने विधि-विधानको स्वागत गर्ने शक्ति त्यसमा थिएन । त्यो तृष्णा, त्यो अन्तकालिक प्रतीक्षा, त्यो दिनहुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिलिसकेको थियो । त्यही त्यसको जीवन थियो, त्यही, त्यसको जीवन-क्रम; त्यसैलाई समातेर त्यो आफ्नो गृहस्थीको गृहिणी थिई, आफ्नी सासूकी बुहारी र पोइकी जोई । तर कदाचित्‌ कुनै हठात्‌ अभिशापले त्यही छिन्नभिन्न गरिदिएको अवस्थामा पनि त्यो सानी चाइने गृहिणी, बुहारी र लोग्नेकी स्वास्नी भइरहन सक्ली ? कुन हृदयबाट यस्तो आशा गर्ने ?

यति भए पनि सानीबाट लोग्नेको प्रति पत्नीत्वमा केही बाधा-व्याघात परेको थिएन र त्यस पत्नीत्वमा कुनै छल थियो, कतैबाट त्यसमा छिद्र थियो, यो कुरा भन्नेलाई भयानक शाप दिने शक्ति पनि त्यस सानीमा अवश्य थियो । नारीको विशाल हद बालककाे प्रति, आमा-बाबुका प्रति, माइतका साथीभाइका प्रति, पतिगृहमा सासू, ससुरा, जेठाजु, देवर, भतिजा इत्यादि सबको प्रति ममता रहन सक्छ भने सानीको हृदयमा त्यमै यात्रीको प्रति पनि कुनैु प्रतिध्वनि थियो । नारी चाइने पतिको स्वास्नी हो यो कुरा प्रदीप्त सूर्यझैँ सत्य छ, तर पत्नीत्वको हदसम्म मात्र । किन्तु नारी एकमात्र पत्नी नै त होइन । त्यो पत्नीभन्दा बाहेक पनि केही हो; बहिनी हो, दिदी हो, बुहारी हो, भाउजू हो आमा हो र यी सबैभन्दा पर नारी मूर्तिमान्‌ ममता हो । समस्त जगतमा नारीकै महान ममता छरिन नगएको भए यो विशाल विश्व शुष्क रूखझैँ निर्जीव काठ मात्रै रहन जान्नथ्य ?

जाने बखतमा यात्रीले पन्ध्र दिनमा फेरि फर्कनपर्ला भन्ने करा गरेको थियो । त्यो पन्ध्र दिनको प्रतीक्षा सानीलाई अझसम्म पनि याद छ । छ-सात दिन एउटा भयानक उदासीनता, महान्‌ शून्यतामा समाप्त भएको थियो । आठाैँ दिनदेखि आजैको दिनमा त्यो फेरि फर्कला भन्ने आशाले अलिअलि चियाउने प्रयत्न गर्यो । सानीलाई सम्झना छ, त्यस दिन गाईलाई खुवाउने घाँस काट्न जाँदा कुन्नि कुन भावना, कुन आशा, कुन उत्साहले त्यो पहाडको टुप्पासम्म पुगिछ । घाँसको भारी भूइँमा राखी एउटा ढुङ्गामा बसी आफ्नो अन्तरको सुखद कल्पनामा मग्न भइछ । आँखा एकाग्र भएर नेपालबाट आउने बाटो हेरिरहेका थिए । त्यतातिरबाट आउनेहरूलाई देख्ता त्यसको भित्री कल्पनामा एउटा उत्साह भरिन जान्थ्यो- अत्यन्त सुखद र प्राणप्रद !

‘त्यस्तै आजैका दिन त्यो पनि संसारैको प्रसन्नता आफ्ना अङ्ग-प्रत्यङ्गमा सञ्चित गरी आउला, आफ्नो पूर्व-परिचयको प्रसन्नता अलिअलि हाँसोमा छरिदेला र फेरि एक दिन त्यहीँ बास बस्ला । तर नबसेदेखि त ? छि: यस्तो दुष्कल्पना ! त्यसलाई कत्ति पनि त असुविधा र दु:ख मकहाँ परेको थिएन । मैले जम्मै काम गरिदिएकी थिएँ, राम्ररी पकाई-खाई सुतेको थियो । किन नबस्नु ! किन नबस्नु ?’ यस्तै प्रकारले नित्य नयाँ-नयाँ कल्पनाहरू त्यसको आशालाई प्रदीप्त तुल्याउँदै, दिवसहरूलाई बिताउँदै गए ।

अन्तत: त्यो चिर अभीप्सित पन्ध्रौ दिन पनि आयो। सानीलाई सम्झना छ, त्यस दिन बिहान हुनुभन्दा तीन घण्टाअगाडि राति नै त्यसको निद्रा खुलिहाल्यो । ढोका खोलेर एकपल्ट बाहिरतिर हेर्दा रात धेरै बाँकी थियो । जून टहटह लागिरहेको र आकाश स्वच्छ थियो । खोलाको ‘हरर’ ध्वनि उत्फुल्लताको स्वागतगानझैँ लाग्यो । भगवानको बास गर्ने आकाश आफ्नो निर्मल जूनमा हाँसिरहेको जस्तो प्रतीत भयो । ‘दुई-तीन घण्टामै प्रदीप्त सूर्य निस्कनेछन्‌, पहाडका टुप्पामा तिनका सुनौला किरणहरू फैलिन जान्छन्‌ । यही दिन त्यो आउने शुभोत्सव हुन्छ । त्यो आउला, भोलि नै त्यो आउला, बिहान हुनेबित्तिकै
त्यो हिँड्छ र सुखको भण्डारझैँ भएर सानीलाई भेट्टाउला !’ धेरैबेरसम्म त्यो त्यसै विचारमग्न, सुखकल्पना-विभोर भएर बसिरही; अनि एउटा आत्तिएजस्तो लामो सास फेरी आफ्नो कोठामा गएर ओछ्यानमा ओल्टेकोल्टे गर्न थाली । त्यसपछि बिहान पनि भयो, सूर्य पनि उदाए, सानीले उद्विग्न प्रतीक्षा पनि गरी; साँझ भयो, रात पनि पर्याे; तर तर पन्ध्र दिनको अत्यन्त उद्विग्न प्रतीक्षाको परिणामस्वरूप सानीले पाई- ‘त्यो आएन ।’ आँखामा आँसु, हृदयमा वेदना, प्राणमा अन्धकार, कण्ठमा भक्कानु र रोम-रोमपर्यन्तमा आर्द्र रुदन भरेर त्यस यात्रीको सट्टामा सानीले यही चार अक्षरको स्वागत गरी आफ्नो मुटुमा बसाली- ‘त्यो आएन !’

कठैबरी ! नारीको निर्बल हृदय ! तँमा उत्सर्गको परिणाम कति छ ! उत्सर्ग गर्नालाई तैँले कति रस, कति माया, कति बन्धन र कुन्नि कति के-के सञ्चित गरिराखेकी छस्‌ ?

त्यस्ता कैँयौँ पन्ध्र दिन बिते । जीवनमा र जीवनचक्रमा आद्यन्तझैँ भिन्नता आइलाग्यो र फेरि ‘त्यो आएन’ को साथै ‘त्यो फेरि फर्कला ?’ भन्ने पनि सम्बद्ध भई अभ्यन्तर-यात्रा गर्न थाल्यो । यस यात्राको विराम कहाँ छ, लक्ष्य कहाँ छ र अन्त कहाँ छ, जीवनको शेषमा कि त्यसभन्दा पनि पारि, कुन्नि ?

क्रमशः अग्लो हुँदै गएको कष्टप्रद, कठोर पहाडको क्षीण पथलाई आँखाले भेटेसम्म हेर्दा मान्छे पो हो कि भन्ने भ्रम पार्न एउटा धब्बाजस्तो पनि केही देखिएन ।

हुँदा-हुँदा युगैको परिवर्तन भयो । सानीकी आमा पनि अनन्तसँग भेट्न गइहाली जहाँ गएर कोही पनि फर्कन्न । सानीले आफ्नो माइतकै घरमा त्यही पुरानो व्यवसाय थामी बसी । त्यो लोग्नेको घरमा भएको बखत “यात्री गइहालेछ कि ?” भन्ने सानीको साह्रै सम्भवनीय शङ्काको टुङ्गो लाग्यो । त्यसपछि नेपालबाट लाखौँ यात्रीहरू त्यही मार्खुको बाटो भई तल मधेसतिर ओर्ल्हे, तर ‘त्यो यात्री !’

“कहिल्यै त फर्कला ” त्यसका निराश आशालाई दोहोर्याउँदै एउटा क्षीण मसिनो धागोको छेउ प्राप्त हुन गयो र त्यसलाई त्यसले लम्म्याउँदै गई तर..! कति सुकुमार, कस्तो सुन्दर, कस्तो लोभ्याउने र कति लामो हुन्छ यो निराश-आशाको मसिनो धागो । त्यस धागोको बदला कसैले त्यसको जीवन, यौवन दुवैको धागो चाँडचाँडै तान्दातान्दै गइरहेको थियो; तर सानीलाई यसको पत्ता थियो ? त्यो त आफ्नो अतीतको मनोरम स्मृति, केवल एक दिन मात्रको क्षणिक स्वप्नमा व्याप्त थिई । त्यो स्वप्निल सुकुमारता, त्यो मधुरिमा, प्रथम यौवनको पहिलो उपहारमा कृतज्ञतास्वरूप त्यसले गरेको उत्सर्गको साथ कतै कहिले ‘फेरि पनि आउला !’ यही विधिलाई नित्य-निरन्तर नयाँ तुल्याउँदै तहलाइराख्नामा नै त्यो व्यस्त थिई । त्यसलाई जीवनसूत्र तानेको थाहै कसरी हुन्थ्यो र ? प्रेम जीवनको बाटो हो र उत्सर्गको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।

एक दिन साँझका बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्यमनस्क उभिरहेकी थिई । यस्तै उभिरहेको अवस्थामा, यस्तै शान्त-क्लान्त सन्ध्याको धमिलोपनमा, अनुरागको प्रतीकझैँ आएको थियो ‘त्यो यात्री ।’ तर आजै मात्र होइन कि जीवनका अनेकौँ भग्न आकाङ्क्षा, पुर्याइराखेको आशा, मुटुको उदासीन पीडा लिई कति-कतिपल्ट यसै द्वारमा उभिई आशाहीन व्यर्थ प्रतीक्षा गरी, तर त्यो नआएको नआएकै भयो । यस्तो जम्मै मिथ्या स्वागतको उत्तर त्यसले पाएकी थिई तलबाट उम्लने एउटा नीरव आर्द्रता र गहभरि आँसु । आज पनि त्यो त्यसै उभिरही, यात्रीको होइन कि त्यसको चिरपरिचित त्यही आर्द्रता, त्यही आर्त, मूक रुदन र आँसुको प्रतीक्षा गरिरहेकी थिई र एउटा यौवनपारि पुगिसकेको मानव-देहले त्यसकाे सामुन्ने आइपुगी सोध्यो- ‘यहाँ बास पाइन्छ ?’

हृदयमा बगिरहेको रक्त थामिन गएजस्तो हुन लाग्यो । एउटा वज्रप्रहारझैँ अतीतको मुड्की हानिन गयो ‘ढुक्क’ । आउनेको मुख हेरेको हेरेकै भइछ त्यो सानी ।

“यहाँ बास पाइन्छ कि पाइँदैन ?” फेरि प्रश्न भयो । सानीको मुख एकपल्ट झन्‌ प्रदीप्त भएर तत्क्षणै कालो निर्जीवझैँ भइहाल्यो । त्यसले अन्तरिक्षतिर हेर्दै अत्यन्त कष्टसाथ भनी- “पाइन्छ, भरियाहरू कता छन्‌?”

“आउन लागेका छन्‌”-यात्रीले एउटा ढुङ्गामा बसेर भन्यो- “धेरै दिन भइसक्यो मधेसबाट नेपाल गएको, फर्कनै सकिनँ । आज बल्ल फर्कन लागेको छु । देख्छु- बाटो, पहाड जम्मै नयाँजस्ता भइसकेका रहेछन्‌ । नेपाल जान लागेको बखत पनि यसै घरमा बास बसेको थिएँ । आज पनि त्यो घर भएदेखि त्यसैमा बसुँला भन्ने विचार गरी घरबाट हिँडेको, बल्ल आइपुगेँ । खोइ त्यो बूढी ? सानी चाइने त तिमी नै हौ कि ?’

बज्रादपि कठोर र प्रलय-गर्जनभन्दा पनि तीव्र कोलाहलमय त्यस आउनेको उपर्युक्त कुरा सानीको अन्तरमा उत्रिन गयो । त्यो त्रस्त भइहाली । यतिका दिनको दीर्घ प्रतीक्षा, यस्तो रौँ-रौँलाई कल्पाइराख्ने नैराश्यको रुदनको अन्तलाई यस्तरी सजिलोपनामा स्वागत गर्न त्यो तयार थिइन ।उफ् मानव ! सानीको यस्तो जीवनव्यापी समस्त आकाङ्क्षा, आशा, पीडा, सुदन, नैराश्य, तृष्णा, कल्पना, सुख, दु:ख र समस्त आह्वानको प्रतीक जम्मै तिमी नै हौ, यो तिमीलाई थाहापर्यन्त पनि छैन ! तिम्रो यो सजिलो प्रश्नमा, तिम्रो यो अप्रत्याशित आगमनमा, यो जीवनव्यापी कथासमष्टिमा एउटा नारीहृदय के- के, कति-कति चूर्ण-विचूर्ण भइसकेको छ, तिमी किन, कसरी अनुमान गर्न सक्तछौ !

सुदूर क्षितिजबाट आएको ध्वनि सानीको मुखबाट निस्क्यो- “अँ, सानी मै हुँ।”

“हो, मैले चिनिसकेकै थिएँ । तर तिमी त बूढी भइसकिछौ ! ” आउनेले मुसुमुसु हाँस्तै भन्यो ।

बल्ल सानीका आँखा उघ्रे । त्यसलाई आफ्नो अङ्ग-प्रत्यङ्गकाे खुम्चिन लागेको छाला देखेर बितेको दीर्घसमयको सम्झना भयो र झन्‌ प्रत्यक्षमा त्यसले देखी, यात्राको तीन चौथाइ पूरा भएपछि त्यसले पाइन्छ आशा-समाप्तिको साथसाथै जीवन -सन्ध्या पनि आइपुगेको रहेछ । दुनियाँ अर्कै भएको रहेछ, यस वर्तमानसँग त्यस सानीमा कुनै प्रकारको सामञ्जस्य रहेनछ ! आशाले अझसम्म बुद्धिलाई धोका दिइरहेको थियो; सानी शिथिल, क्लान्तझैँ हुन गई । उभिरहनामा शरीर साह्रै गलेको जस्तो भान हुन लाग्यो र त्यसै त्यही द्वारमा थचक्क बसी ।

बिहान हुनेबित्तिकै- त्यही अतीतकै जस्तो यात्री फेरि हिँडिहाल्यो । त्यसै दिनदेखि त्यसको जीवनको उद्देश्यै हरायो । त्यसले अझसम्म आफ्नो अन्तरमा समाती, आफ्नो आशामा झुन्डयाइराखेको त्यसका उमङ्ग, उत्साह र यौवनपर्यन्तलाई यात्रीको त्यही एउटै वाक्यले खाइदियो- ‘तर तिमी त बूढी भइसकिछौँ !’

त्यसपछि त्यो नारी त्यो जीवनपर्यन्तको मूक आशा, त्यो आफैँमा निहित भइरहने गह्रुँगाे वेदना, त्यो सानी आफ्नो दीर्घप्रतीक्षामा आफैँमा समाप्त भइहाली । तर त्यति मात्रै होइन, आह ! प्राणभन्दा पनि बढ्ता माया गरी तहलाइराखेको त्यसको जीवनव्यापी परिचित, प्रिय त्यो प्रश्न पनि एउटा भयानक विषादको अन्धकारमा विलुप्त हुन गयो- “त्यो फेरि फर्कला ?”