मेरो प्रियकविवर !
तिम्रो सम्झना किन आइरहेछ आज धेरै
तिम्रो अनुपस्थिति अभिशाप लागिरहेछ धेरै किन
हे युग कवि !
युगको मर्म बोल्यौ युगद्रष्टा युग कवि थियौ
क्रान्तिको झिल्को बाल्यौ क्रान्तिको कवि थियौ
प्रगतिका कुरा गर्याौ प्रगतिशील कवि थियौ
भविष्यको कुरा लेख्यौ द्रष्टा कवि थियौ
सांस्कृतिक जागरणको गीत गाउने तिमी एक्लो बृहस्पति जस्ता कवि
जन्मँदा बोलेको भाषाको लागि यातना र जेल सहने कवि
धन्य हे कवि सिद्धिचरण थियौ सिद्धिचरण रह्यौ
हो क्रान्ति बिना शान्ति हुँदैन बुझेको तिमीले युवाहरूलाई
जो कठिन गिरिमा पनि चढ्न सिपालु साहसी थिए
हे युग कवि चम्कन चम्कनका लागि आव्हान गर्यौ
विगुल फुक्दै सडकमा मङ्गलमानहरू
इन्द्रचोक रत्नपार्क बागबजार हुँदै चक्रपथ घेराउ गर्दै बढे
प्रतिबन्धित घेरा तोड्दै जंगी ऐन तोड्दै
कतिले बार भत्काउँदै कतिले ईट्टा हान्दै लाठो खाँदै गोली खाँदै
अस्पताल भरे जेल भरे च्यामे पोडे देखी कुचिकारको आन्दोलन
खुर्सानी काण्डदेखि
सात साल सत्र साल र छयालीस साल हुँदै बईसठ्ठी त्रिसठ्ठी सालको
जनआन्दोलनसम्म आइपुग्दा
बगेका रगतले घर गाउँ र सहादतले साटेको उपलब्धि
सङ्घर्ष र बलिदानले ल्याएको परिवर्तन तर खोक्रो सतहमा किन पुग्दछ
आदर्श हाम्रो नेतृत्व किन दिग्भ्रमित र भ्रष्टमा रूपान्तरित हुन पुग्छ हे युग कवि
मात्र सत्ता नायणहिटीबाट सिंहदरबार स्थानान्तरित भएछ
वंशानुगतबाट अब दलगत बहुमतमा बहुमतमा रूपान्तरित मात्र हुन पुगेछ
तर निरंकुशता बलियो र जिउँदो ठडिएका छन्
नयाँ सडक र टुँडिखेल वरिपरि शालिकमा मात्र कविजी

सामाजिक न्यायका र समानताका लागि
जतपात र जातीय भेदभावका विस्द्ध
शोषन र असमानताका विरुद्ध
मानवताको गीत गाउने प्रजातन्त्रका उन्नायक कवि
देशभक्तको गीत गाउने राष्ट्रवादी कवि
तिम्रा ती ऐतिहासिक र स्वच्छन्द भाव र विचारका ओजस्वी कविता
तिम्रो प्यारो आजको ओखलढुङ्गाझैँ मरुस्थलमा उम्रेका साना पोथ्रा
जलकणका मात्र मायावीओएसिस भए

हे युग कवि तिमीसँग पैसा थिएन र
उर्वशीझैँ तिम्रा छोरीहरू अरब पुगेर बलात्कृत हुँदै खाली हात फर्किए घर
छोराहरूविदेश पुगेर ठगिँदै रित्तो हात फर्किए घर
कतिको लास सडेको मात्र फर्किए
तर धेरैजसो देशभित्र नै लुटिए चुसिए ठगिए
अझ कति आन्दोलन र क्रान्ति देखि वाक्क व्याक्क भएर भाग्दैछन् अरबको मरुभूमितिर

महाकालको दुलोमा अनन्तको पुच्छर तिम्रा सन्तानहरु ठगिने र बलात्कृत हुने क्रमको अनन्तताको अनन्त अनन्तता
जस्ता कोलाहलको बीच फेसबूकमा तिम्रो स्टाटस भर्खरै सबैले पढे
नानीहरूले लोकतन्त्र गणतन्त्र र नयाँ नेपाल
हामी सबैको हाम्रो नेपाल
ब्याक टु मङ्गलमान
रातभरि करायो दक्षिणा त नाइँ
माछो माछो भ्यागुतो भो मङ्गलमानलाई

सिंहदरबार, बालुवाटार हुँदै शीतलनिवास
कहिले महाराजगञ्ज, बल्खु हुँदै प्येरिस डाँडाको बाटो
लोकतन्त्रको डाँडोमा पुर्याउन बोकेको
मङ्गलमानले बोकेको काँधमा त्यो क्रान्ति र आन्दोलनको दायित्व
सिसिफसको ढुङगा भएर लुड्किन्छ
दलको दलदलबाट निर्दलको भासभित्र फेरिमा किन
है युग कवि हजारौं शहीदको रगतले साटेको लोकतन्त्र
ज्यानआहुती दिने संघहरू नै जो थियो शक्ति हाम्रो सँधै
किन निर्दलको खोजीमा सत्ता र शक्ति कुम्लो पारेर कुदे
अभिशापको यो निरन्तरताको अनन्नता महाकालको दुलोमा अनन्तको
पुच्छर
छ दशकको यो हिँडाइ
समानता र सामाजिक न्याय
पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान
परिवर्तन विरोधी र परचक्रीको भकुन्डो भो
कि सुदूरबाट नियन्त्रकले हाम्रा नेतृत्व र बुद्धिजीविको
मन र मस्तिष्कबाट सदाका लागि डिलिट गरिदियो
न कतै न कहिले पहुँच पाउने भए निरीहले हरिपले अबलाले
सीमान्तकृतले
न कहिले तिनको पहिचान हुने भो कायम इतिहासमा
अभिशप्त छ मङ्गलमान केवल मङ्गलमान हुन कुरा
सदालाई किन कुन कालतक ?