तिमीले बुझेको अग्रगमनको मिथ
थाहै नपाई नेपालमा गाउने
एउटा रटाने गीत भएपछि तिमीले देखेको अग्रगमनको दम्भ
थाहै नपाई आत्मारतिको
बाँदर नाच भएपछिअग्रगमनमाथि प्रश्न उठ्ने गर्छ मनभरि
के हो अग्रगमन?
म त भन्छु सुकरात र गेलिलियोलाई गएर सोध्दा हुन्छ
चेतको राग बुद्ध र कार्ल मार्कसँग बुझ्दा पुग्छ

तीर्थ निरौला

क्रमभङ्गको शब्द फलाक्दै हिँड्नेहरू हो!
अब्राहम लिङ्कन र नेल्सन मन्डेलालाई
पढे के बिग्रिन्छ ?

अब च्यातिदेऊ तिम्रा चिट चोरिएका
भ्रामक दस्ताबेजहरू
भ्रष्टताको धमिराले खाएको
खोक्रिएका ती नग्न अनुहारहरू
भाँचिदेऊ निरीहका ढाडमाथि कुल्चने
तिम्रा हात्तीपाइले पाउहरू
कुप्रिएका रक्तिम काँडे हातहरू

म त भन्छु;
कुटिलताको खियाले भुत्ते भएका
तिम्रा खोपडीको अब औचित्य छैन
किनकि जनताले गोडेको उर्वर मैदान
अब त कहिल्यै फूल नफुल्ने बगर बनाइसक्यौ
माटाको स्वाधीनता विदेशीको पाउमा चढाइसक्यौ ।