भोट दिनुस् मैले जिते रात नै दिन भइदिन्छ
बालुवाको घरले पनि नौ रेक्टर भूकम्प सहिदिन्छ
त्यति मात्र कहाँ हो र म प्रधानमन्त्री भएँ भने
दूध हैन भैँसीले सिधै ठेकीभरि दही दिन्छ ।
सांसदको सपथपछि प्रधानमन्त्रीको सपथ खाँदा
त्यति बेलै देशबाट बेरोजगारी झर्छ आधा
सुन्दा विश्वास नलाग्ला हजुर भोट दिइ मात्र हेर्नुस्
चुट्कीभरमा हटाइदिन्छु देशका सबै विध्न बाधा ।
खेतभरि धान होइन सिधै चामल फलाइदिन्छु
पकाउनुपर्ने नै छैन दाल बोटमै गलाइदिन्छु
होइन पकाई मात्र खान्छु भन्नुहुन्छ भने पनि
आलीमाथि डाली राखी चुलो त्यहीँ बालिदिन्छु ।
हेर्नु होला मैले जिते सुक्खा खोला बहिदिन्छ
पैरो रुक्छ धुवाँ धुलो देशबाटै गइदिन्छ
त्यसैले त भन्छु भोट नबिराइदिनु मलाई
अनि देश दुई वर्षमै सिङ्गापुरझैँ भइदिन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला