यात्रा जीवनको वियोग बनी नाना थरी बाधा भयो ।
चाहना खुसीको थियो जीवनमा बितेर गाथा भयो ।।
देखाई तमासा गरी प्रकृतिले बेहाल सारा गरी ।
लानेभो अनमोल जीवन बिनासैको चितामा परी ।।
।१।

तेर्सियो दुखको दिवाल सबको औकात जाँचेर यो ।
सन्त्रासै चुलियो उजाड गरी मान्छेमा खुसी खोसियो ।।
पीडाले भरियो सधैँ हृदयमा गोप्ने ती काँढा भयो ।
यात्रा जीवनको वियोग बनी नाना थरी बाधा भयो ।। ।
।२।

बाटो बिर्सी हिँडेर मानिस सधैँ भौतारी दङ्गै परी ।
मान्छेको क्षमताबिचै प्रकृतिले विश्वास भङ्गै गरी ।।
विश्वासै सकिने भयो जगत्‌मा मान्छे र मान्छे बिच।
स्वार्थी भै जनमा कुबुद्धि धनमा गर्दै छ कामै निच ।।

कृष्ण तामाङ्ग

।३।

टाढा भो मनको मिलान दूरी भो आकाश भन्दा पनि।
छेकियो खुसीको बिहान मुटुमा साचौँ कि भन्दा पनि ।।
सोचेनौँ कहिलै कतै प्रकृतिमा आश्रित हामी भनी ।
भस्मै भो धरती उजाडी हरियाली मासी बन्ने धनी ।। ।
।४।

हावामा हिँडियो घमण्ड गरियो आखिर पीडा दियो ।
चाहाना खुसीको लुछेर लगिगो त्यैमाथि ज्यानै लियो ।।
यात्रामा सजिलो भएन हँसिलो मुस्कान छोप्ने कति ।
धर्तीको धमिरो भएर मनुमा हुङ्कार आयो कती ।।
।५।

कैदीझैँ दुनियाँ थुनी मिलनमा आफन्त बन्दी भयो ।
अँध्यारो मनमा नदेखी खुसीको जुनेली भाग्ने भयो ।।
अस्ताए तनको अपार ममता बाँधेर राख्ने कता ।
सुस्ताई बसियो पराजय भएझैँ माफि माग्ने कता ।।
।६।

मान्छेको लुटियो खुसी प्रकृतिमा धावा बोलेरै कति ।
आँखाकै अघि खोसियो रहर हौसियो वितन्डा गति ।।
आक्रन्त मन पेटमा जीवन पाल्न भारी मुस्किल भो ।
यात्रा जीवनको वियोग बनि नाना थरी वाधा भयो ।।
।७।

छल्केरै सकियो अपार खुसी नाना थरी दर्दै थपी ।
भूगोलैभरिको सबै जीवन थाकी बसे पीडा खपी ।।
सन्नाटा भरियो कति जीवनमा संस्कार बिर्सी कति ।
बाँच्नुमा सजिलो नभै जिउनुमा पीडा भएरै अति ।।
।८।

सच्चा मानिस देखिएन कहिले संसारमा आज यो ।
सोचाइ ठिकमा चलेन दुखमा अल्झेर सास्ती भयो ।।
बहाना गरिए विकास भनी धर्ती जोती तमाम भो ।
यात्रा जीवनको वियोग बनी नाना थरी बाधा भयो ।।
।९।

बेलैमा नबुझे अझै जीवनमा पाइन्छ पीडा कति ।
खेलाँची कहिले नगर्नू अति भो सुधार तिम्रो मति ।।
कान्ति भै छरियोस् मङ्गल मति फैलेर शान्ति यो ।
यात्रा जीवनको वियोग बनी नाना थरी हान्ती भयो ।।
।१०।

भोजपुर