हल्लैहल्लाको देश
भ्रमको खेती गर्नेहरू
संगठित अफवाह फैलाउँदै
फिल्डमा उत्रनेहरू
आपराधिक मगजे मनस्थिति
अस्थिर समाज बनाउन तल्लिन
हावामा हमला बोलेर
फाइदा लिन तल्लिन
समाजको नागरिक हुँ म ।

कसैको स्वार्थमा
गोटीझैँ चल्न सक्ने
विवेकहीन रिमोट कन्ट्रोलहरू
कठपुतलीझैँ नाच्नेको जमात
औकातहीन बहुरुपि अवतार
बोलीमा ठेगान नहुने चरित्र
छेपारे रुपी गुणेन
नेतृत्व भएको देशमा
जन्मेको नागरिक हुँ म ।

मोहन सिंह साउद

स्वार्थमा समाहित नैतिकहीन
खुट्टा तान्ने प्रवृत्ति भएकाहरू
परेड खेलमा झैँ रणभूमिमा
रडाको मच्चाउन दृढहरू
ईर्ष्यालु मनोभावना बोकी हिँड्ने
क्रुर शिक्षितहरू भएको
खेलाडीहरू बस्ने सहरमा
बसोबास गर्ने एक
संघर्षशील बेसहारा हुँ म ।

प्रपोगाण्डा रच्दै
संगठित गिरोहहरू मिलेर
आकासकोलाई पातालमा झार्ने
पातालकोलाई आकासमा पुर्याउने
अगाडि बढेकाको घाँटी ङ्याच्ने
भूइँमा नपछारुञ्जेल पछि लागिपर्ने
कथित सभ्य जमातहरू
बसोबास गर्ने समाजको
एक निरीह नागरिक हुँ म ।

भ्रमको खेती फस्टाएको
जनमानसलाई गुमराहमा पार्दै
अफवाह फैलाएर माछा मार्न अग्रसर
सत्यलाई बङ्याउँदै राम्रोलाई नङ्ग्याउँदै
गर्न चाहनेलाई अगाडि आउनै नदिने
खप्पिस खेलाडीहरू भएको
उन्नानसय गुण गुमराहमा पार्दै
एक अवगुणलाई उन्नानसयमा
गणना गर्न सक्ने क्षमतावानहरू बीचको
अवगुणी अनागरिक हुँ म ।

सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी