पहेँलो माटो र गोबरले पोतेको चुल्होमा सुवास छैन,
रातो माटाले रातै हुने गरी पोतेको भुईँमा रङ्ग छैन,
कमेरो माटाले सेतै बनाएको माटे भित्ताभरि दसैँ छैन,
केराका सुत्लाभरि काँचोधागाको बत्तीमा तिहार छैन,
किनकि यतिबेला आमा ती कुनैमा तिम्रो हात हुने छैन।

तीजको अचारमा स्वाद छैन,
आधारातमा ब्युँझाएर खुवाउने दरको प्रतीक्षा छैन,
पटुकीबाट निकालेर दिने पुराना नोटसँगै;
तीजको मेलामा दौडिएर जान उत्साह छैन,
किनकि यतिबेला आमा ती सबैमा तिम्रो साथ हुने छैन।

दसैँको सेलरोटीमा स्वाद छैन,
सुवास छैन,
खसीको भित्र्याँसमा सुकमेल,  अलैँची र गरम मसलाको बास्ना छैन, सुगन्ध छैन,
टीका लगाएर पाउने एक/दुई मोहरको लोभ छैन;
आशीर्वचन र वात्सल्य प्रेम छैन
किनकि यतिबेला आमा तिम्रो उपस्थिति हुने छैन।

राजेन्द्र रानाभाट

तिहारमा नाङ्ग्लाभरिका सयपत्री फूलहरू बेरङ्गी छन्,
तिम्रा अराइ-सिकाइ बिनाका कर्महरू बेढङ्गी छन्,
पिसेको दुबो हरियो छैन,
कुटेको चामलको रङ्ग सेतो छैन,
निधारमा केराको पात अड्याइदिएर
दिदी-बहिनीहरूलाई यसो र उसो गर भन्ने मेसो छैन,
हामी रमाइलामा निधारभरि भाइटीका लगाएर चिच्याइरहँदा,
प्रायः सालहरूमा खाली निधार हामीसँगै रमाइरहने
यसपटक आमा तिम्रो मुहारमा सशरीर हाँसो हुने छैन।

असार पन्ध्रको दहीचिउरा स्वादिलो छैन,
साउने सङ्क्रान्तिको खिरमा स्वाद छैन,
पुसे पन्ध्रको लट्टेमा स्वाद छैन,
खिचडीमा कालो मास र अदुवाको स्वाद र सुवास  छैन
माघे सङ्क्रान्तिको तरुल र सक्खरखण्डको मेसो छैन,
फागु पूर्णिमाको त के कुरा आमा
सातै रङ्गहरू बेरङ्गी देखिनेछन्,
किनकि अबदेखि आमा यी कुनैमा पनि तिम्रो उपस्थिति हुने छैन।

खेतका आलीहरूमा तिम्रा पाइलाहरू नहुँदा,
घाँस काट्ने चौरहरूमा तिम्रा चुराहरू नबज्दा,
भैँसीको गोठतिर तिम्रा पदचापहरू नपुग्दा ,
कुलाको पानीमा तिमीले कोदालो नचलाउँदा,
यी सबै सबैतिर जान र हेर्न मनै मान्दैन आमा,
तिमी हैनौ केवल तिम्रा यादहरू मात्रै छन् भनेर
यो मनले कसैगरी मान्दै मान्दैन आमा !

तिमीले रोपेका लिचीका रूखहरू सुक्दै गएका छन्,
त्योसँगै तिनका स्वादहरू पनि बिटुलिँदै गएका छन्,

तिमीले रोपेका, हुर्काएका नास्पातीका रूखहरू
आँपका रूखहरू
कटहरका रूखहरू
धारैनिरको निबुवाको रूख
सयौँ केराका घारीहरू,
सबै सबै बुढा भएर, ठहरै हुन लागेजस्ता भएका छन्,
तिम्रो हातको स्याहार नपाएरै होला आमा, तिनले दिने स्वादहरू बेस्वादिला भएका छन्, फेरिएका छन्।

सबैतिर असरल्ल पारेर,
सबैलाई भुतुक्कै मारेर,
हरेक पल पलमा सम्झिरहने असङ्ख्य मायाहरू फैलाएर,
भए जति सबैलाई जोड्ने तिमी एउटै डोरी,
कति चाँडै चटक्कै चुँडेर गयौ है आमा !

तिमीसँग झगडा गर्ने मन थियो
सँगै बसेर कति धेरै कुरा गर्ने मन थियो,
तिमीलाई घुर्क्याउन मन थियो,
केही खुसी दिएर फुर्क्याउन मन थियो,
एकदुई अरू तिर्थ सँगै जाउँला भन्ने थियो,
पिँढीमा बसेर आमाछोरा सँगै चिया खाउँला भन्ने मन थियो,
तिमी लौरी टेकेरै भए पनि हिँडेको हेर्ने मन थियो,
तिम्रो मनमा के के थियो नि आमा ?
दुर्भाग्य म तिमीसम्म पुग्दा तिम्रो बोली नै बन्द थियो।

हिजैजस्तो लाग्छ, त्यो तुलसाको मठअघि
तिमीलाई पञ्चपात्रले पानी खुवाएको,
तिम्रो वियोगमा अविश्रान्त नयनबाट धाराहरू बगाएको,
यी पापी हातहरूले
सागरमा तिमीलाई रुँदै रुँदै जलाएको,
कति निष्ठुर भएछ यो समय,
कति छिट्टै एक साल पूरा भएछ है आमा
तिमीलाई अन्तिमपटक हेरेर बिदाइ गरेको,
तिमीलाई अन्तिमपटक हेरेर रुँदै रुँदै जलाएको ।

हे आमा !!!